जुत्ता लगाउनेलाई त्यसभित्र कहाँनेर पोल्छ भन्ने कुरा थाहा हुन्छ भनेजस्तै पश्चिमा साम्राज्यवादी शक्ति कस्ता हुन्छन् भन्ने प्रश्नको सटिक उत्तर अरब देशलाई थाहा हुन्छ । तेलमा धनी अरब देशलाई आफ्नो तखतमा राख्न पश्चिमा देशहरूले अरबको भूगोलमा फैलाएको अशान्ति, विभाजन र विग्रहको घाउ अझै चहराउन कम भएको छैन । अरब जसको हातमा हुन्छ, संसार उसैको हातमा हुन्छ भन्ने यथार्थ बुझेका पश्चिमा शक्तिले त्यो भूगोलमाथि आफ्नो निगरानी बलियो बनाउन प्यालेस्टाइनी जनतालाई आफ्नो थातथलोबाट लखेट्दै इजरायल नामको अर्को देश नै बनाए । दोस्रो विश्वयुद्धयता संसारकै सबभन्दा अस्थिर र विभाजित भूगोल हो अरब । पश्चिमा शक्तिले त्यो भूगोलमा आफ्नो हात सधैँ माथि राख्न कतिबेला मानवअधिकारको डण्डा चलाउने अनि कहिले आर्थिक समृद्धिको आधार भनी फुर्काउने ‘लट्ठी र गाजर नीति’ अवलम्बन गर्दै आएको छ ।
पश्चिमाहरूले भनेजस्तो गर्न तयार नहुँदा र आफ्नो देशसँग भएका प्राकृतिक स्रोतसाधन उनीहरूको हातमा दिन नमान्दा इरानमाथि पश्चिमा देशहरूको कडा नाकाबन्दी आज पनि उस्तै छ । इतिहासमा सभ्यताको केन्द्र इराक आज पश्चिमा हस्तक्षेपको कारण अराजकता र अशान्तिको भुँवरीमा फसेको छ । दोस्रो विश्वयुद्धपछि उपनिवेशवादको विरोधमा समाजवादी आन्दोलन अघि बढाएका अरब देशहरू आज फेरि पनि पश्चिमा प्रजातन्त्रको दावानलमा डुबेका छन् ।
अरब देश प्राकृतिक स्रोतसाधनले धनी भएर पनि त्यहाँ शासक वर्ग पश्चिमा शक्तिको पछि लाग्दा आज अरबी जनताले कदाचित भोग्न नपर्ने कठिन समय भोग्न बाध्य छन् । उनीहरूबिच आपसमा विभाजनको विष फैलाएर बाह्य शक्तिले त्यहाँको प्राकृतिक स्रोत आफ्नो नियन्त्रणमा पारेको छ । अरबको तेलको मूल्त्न्दा बढी संरा अमेरिकाले त्यहाँ हातहतियारको अथाह आपूर्ति गर्दा मानव सभ्यताको त्यो आदिभूमिको आकाशमा सधैँ युद्धको बादल मडारिरहेको छ ।
समय बगिरहन्छ । तर, समयले सधैँ सिक्नको लागि केही न केही पाठ छोड्दै गएको हुन्छ । अरब देशले भोगेको पश्चिमा देशहरूको ‘फुट गर र राज गर’ को नीतिको दुष्परिणामबाट सिक्दै आज उनीहरूले धेरै कुरा सिकिसकेका छन् ।
पश्चिमा साम्राज्यवादी शक्तिले जन्मजात बोकेको हस्तक्षेप, विभाजन र आक्रमणको अन्त्यहीनताबाट त्राण पाउन आज अरब विश्व सबल विकल्पको खोजीमा छ । पूर्वबाट उदाइरहेको चीनसँगको सहकार्यलाई अरबले आफ्नो भविष्यको सहकार्यको बाटो बनाउन चाहेको पछिल्ला घटनाक्रमले पुष्टि गरिरहेका छन् । चीनका राष्ट्रपति सी चिनफिङ गत साता साउदी अरबको राजधानी रियादको भ्रमणमा हुनुहुन्थ्यो । प्रथम चीन–अरब देश शिखर सम्मेलन र चीन–खाडी सहकार्य परिषद् शिखर सम्मेलनमा सहभागी बन्न उहाँ रियाद पुग्नुभएको थियो । कोभिड–१९ महामारीको कारण लामो समयदेखि देश बाहिर नहिँडेका सीको अरब भ्रमण कोभिडपछिको दोस्रो अन्तर्राष्ट्रिय भ्रमण हो । रियाद भ्रमणको क्रममा भएका अन्य धेरै बहुपक्षीय र दुईपक्षीय भेटघाट र बैठकले आगामी दिनमा अरब र चीनबिचको आपसी सहकार्य र संवाद अझ घनीभूत बन्दै जानेछ । सीको अरब भ्रमणबारे प्रतिक्रिया दिँदै संयुक्त अरब इमिरेट्सका रणनीतिविद् इब्राहिम हासेमले आगामी पाँचदेखि दस वर्षसम्मको चीन–अरब सम्बन्धलाई सीको भ्रमणले निर्देशित गर्ने बताए ।
सीको अरब भ्रमणले प्रस्टतः पश्चिमा शक्तिहरू, विशेषतः संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनले ‘प्रजातन्त्र’ को नाम फलाक्दै संसारलाई फेरि पनि विभाजन गर्ने नीति खारेज गरेको छ । ‘प्रजातन्त्र’ र ‘गैरप्रजातन्त्र’ भन्दै विश्वलाई विभाजित गर्ने र आफ्नो रुग्न विश्व व्यवस्थालाई फेरि पनि अक्षुण्ण राख्ने बाइडेन नीतिलाई सीको भ्रमणले गतिलो उत्तर दिएको छ । उहाँको भ्रमणले निषेध होइन, सहकार्यले मात्र विश्वको कल्याण हुने सन्देश प्रवाह गरेको छ ।
दोस्रो, सीको भ्रमणले पश्चिमा दबाब, कोभिड महामारी र आर्थिक सङ्कटको कारण सुस्त बनेको बेल्ट एन्ड रोड परियोजनालाई गतिवान् बनाउन भूमिका खेल्नेछ । राष्ट्रपति सीले सन् २०१४ मा विश्वभरको विकास र समृद्धिको लक्ष्यसहित अघि बढाउनुभएको बीआरआई परियोजना कार्यान्वयनमा आए संसारमाथिको आफ्नो प्रभुत्व कमजोर हुने सङ्कीर्ण निष्कर्षसहित पश्चिमा शक्तिले त्यो परियोजनाप्रति वैरभाव राख्दै आएको छ । कोभिड महामारीको कारण बाध्यतावश पनि यो परियोजनाले अपेक्षित गति लिन नसके पनि आगामी दिन यसको गतिलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बलियो आधार सीको अरब भ्रमण भएको छ । अरब देश र खाडी सहकार्य परिषद्सँगको शिखर सम्मेलनमा बीआरआईलाई कार्यान्वयनमा लाने विषयमा महत्वपूर्ण सहमति भएका छन् । वास्तवमा बीआरआई परियोजनाको कार्यान्वयनले सिङ्गो अरब देशलाई बहुआयामिक लाभ हुनेछ । यसले अरबको अर्थतन्त्रलाई पश्चिमा शक्तिमा मात्र निर्भर रहने अवस्थाको अन्त्य गर्नेछ । अरबको तेलले अझ फराकिलो बजार पाउनेछ । फलतः अरब देश आर्थिकरूपमा अझ सबल हुनेछन् । साथै, चीनसँगको सम्बन्ध बिस्तार हुँदा अरब देश राजनीतिकरूपमा पनि बलियो बन्न मद्दत गर्नेछ । अरबसँग चीनको यो सम्बन्धले सन् २०४९ सम्ममा संसारको शक्तिशाली विकसित समाजवादी देश बन्ने चिनियाँ लक्ष्य पूरा गर्न मद्दत गर्नेछ ।
रियादमा राष्ट्रपति सीले दिनुभएको मन्तव्यले अरबका जनताले हिजो पश्चिमा शक्तिसँगको सहकार्य र आज चीनसँगको सहकार्यबिच तात्विक अन्तर हुने अनुभव गरेको हुनुपर्छ । पश्चिमा देशका नेताहरू अरब भ्रमणमा आउँदा अरबी शासकहरूलाई आदेश दिएर जान्थे । मानौँ, पश्चिमा साम्राज्यवादी शक्तिका राष्ट्रप्रमुखहरू सम्राट हुन् र अरबका शासक उनीहरूको तखतमा चल्ने छोटे राजाहरू हुन् । त्यस्ता बैठकमा आपसी सम्मान र हितको कुरा कम, पश्चिमाहरूका चाहना बढी हाबी हुन्थ्यो । तर, सीले त्यसको ठीक विपरीत अरबलाई रणनीतिक साझेदारको रूपमा लिएर समानता र आपसी हितलाई जोड दिनुभएको छ । उहाँले अरब र चीनबीचको सम्बन्धलाई दुई सभ्यताबिचको सम्बन्धका रूपमा ‘ऐक्यबद्धता र आपसी सहकार्य, समानता र आपसी लाभ र समावेशी र आपसी सिकाइ’ को भावनाबाट मलजल गर्नुपर्ने धारणा राख्नुभयो ।
चीनले अरू देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै, सही अर्थमा बहुपक्षवादको अभ्यास गर्ने र विकासशील देशका वैध अधिकार र हितको रक्षा गर्नेमा जोड दिँदै आएको छ । उसले कुनै पनि देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानप्रति बलियो समर्थन गर्दै आएको छ । चीनको यो नीति अरब देशसँग बलियो सम्बन्ध बिस्तार गर्ने दरिलो आधार हुनेछ ।
संसारकै ठूला अर्थतन्त्र मानिएका चीन र अरब विश्वबिच हरित र न्यून कार्बन उत्सर्जन हुने विकास, स्वास्थ्य र चिकित्सकीय सेवा, लगानी र वित्तको क्षेत्रमा हुँदै आएको सहकार्यमा प्रगति गर्दै हवाई उड्डयन, अन्तरीक्ष, विद्युत्तीय अर्थतन्त्र र आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगका नयाँ सम्भावनाको खोजी गर्ने शिखर सम्मेलनमा सहमति भएको छ ।
सीले आफ्नो भाषणमा प्रस्टतः पश्चिमा देशहरूलाई औँल्याएर मध्यपूर्वका जनता नै सो क्षेत्रका मालिक भएको बताउनुभयो । यसबाट उहाँले सो क्षेत्रका राजनीतिक, आर्थिक आदि समस्याको समाधानको मुख्य कडी अरबी जनता हुनुपर्ने प्रस्ट पार्नुभयो । यो वाक्य आफै पनि पश्चिमा शक्ति र चीनबिचको फराकिलो अन्तरको दसी हो । सीले प्यालेस्टाइनी जनतामाथि भएको इतिहासका अन्यायहरूलाई बेवास्ता गर्न नसकिने भन्दै प्यालेस्टाइन मुद्दाको हलबिना मध्यपूर्वमा शान्ति र स्थायित्व ल्याउन नसकिने पुरानै अडान दोहो¥याउनुभयो ।
अरबलाई पश्चिमा शक्तिहरूले आफ्नो आँगन सोच्न छोडेका छैनन् । अरबका प्राकृतिक स्रोत साधनमाथि आफ्नो हतियारले पहरा दिने उनीहरूका पुराना मान्यता अझै बदलिएको छैन । अर्को शब्दमा भन्दा पश्चिमा देशका सरकारमा जोसुकै सत्तासीन भए पनि संसारमाथि एकध्रुवीय प्रभुत्व जमाउने चिन्तन अद्यापि कायम नै छ । अनि आफ्नो प्रभुत्वलाई चुनौती दिन खोज्ने शक्तिलाई ऐनकेनप्रकारेन कमजोर बनाउने दाउपेच खेल्न उनीहरूले छोडेका छैनन् । आजको विश्वमा पश्चिमा प्रभुत्ववादलाई चुनौती दिने सामथ्र्य भएको शक्ति चीन भएको वास्तविकता उनीहरूले धेरै अघि नै थाहा पाएका हुन् । तसर्थ, चीनलाई चारैतिरबाट घेरेर सोभियत सङ्घलाई जस्तै असफल बनाउने उनीहरूको रणनीति हो । तर, इतिहासका कठिनभन्दा कठिन परिस्थिति सामना गरेर आजको उचाइ हासिल गरेको चीन र चिनियाँ जनताको अनुभवले पश्चिमाहरूको यो भेउ पाइसकेका छन् । त्यसकारण, चीनलाई सोभियत सङ्घलाई जस्तै विफल बनाउन पश्चिमाहरूलाई सजिलो छैन । पश्चिमाहरूले चीनलाई घेराबन्दी गर्नु त परको कुरा, अहिले चीनले पश्चिमा शक्तिका कथित प्रभाव क्षेत्रसँग समेत आफ्नो सकारात्मक प्रभाव बिस्तार गर्दै छ । सीको अरब भ्रमणलाई पश्चिमा देशहरूले आफ्नो मुटुमाथि सुइरो रोपेको अनुभव गर्न सक्छन् । चीनसँग सम्बन्ध बिस्तार गर्ने अरब देशहरूलाई उनीहरूले प्रजातन्त्र नभएको, तानाशाही, मानवअधिकार हनन गरेको जस्ता अनेकन बहानामा आरोप लगाएर बदनाम गर्र्नेछन् । आफ्नो कुरा मान्दा प्रजातन्त्र भएको र मानवअधिकार पालना भएको मान्ने अनि त्यसो नगर्दा प्रजातन्त्र र मानवअधिकार नभएको दोषारोपण गर्ने पश्चिमा शक्तिको पुरानो दोहोरो नीति हो । तर, आज संसारलाई उनीहरूको पाखण्डीबारे पनि राम्ररी थाहा भइसकेको छ । तसर्थ, आज उनीहरूका यस्ता आरोपलाई पनि कसैले पत्याउने अवस्था छैन । अब अरब देशहरूलाई पश्चिमा तखत नस्वीकार्ने सार्वभौम अधिकारबाट कसैले रोक्न सक्नेछैन । आफ्नो हित कुन देशसँग सम्बन्ध बिस्तार गर्दा हुन्छ भन्ने कुराको बोध अरब देशलाई छ ।
अरब देश कतारमा फिफा विश्व कपका खेलहरूको मचामच चलिरहेको बेला रियादमा चीनका राष्ट्रप्रमुखको भ्रमणले अन्तर्राष्ट्रिय समुदायमा राजनीतिक तरङ फैलाइरहेको थियो । विश्व कपको विजेता को हुने हो, अब केही दिनपछि टुङ्गो लाग्ला । तर, रियादबाट चीनका राष्ट्रपति सीले भने अरबी जनताको मन भने जितेर फर्किसक्नुभएको छ ।
– नीरज लवजूको लेख अनलाइन मजदूरबाट साभार