Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भानुभक्त र ‘रामराज्य’

भानुभक्तले कृष्ण गाथालाई परित्याग गरी रामगाथालाई किन अनुशरणको विषय बनाए , कृष्ण भक्तिको मौलिकता र भक्तिको सन्दर्भबाट किन बाहिरिन खोजे उनी? रामायणका कथा राजषी कथासँग जोडिएको सन्दर्भ हो। कृष्ण वृन्दावन्दका किसान हुन्। किसान वर्गका पात्रलाई भन्दा राजषी वर्गका पात्रलाई भानुले महत्व दिन चाहन्थे। राजर्षी चाकरीमा जीवनको सौन्दर्य देख्थे उनी। सीता, जनक, जनकपुरदेखि रामगाथासँग जोडिएका कथाहरूमा जोडिन चाहन्थे उनी। रामराज्यको राजनीतिक आदर्श स्थापित गर्ने चेष्टाकै परिणाम थियो त्यो।

nepal_readers nepal_readers
असार २९, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -परशुराम कोइराला

    १. आरम्भ

    वि.सं. १८७१ असार २९ गते तनहुँका चुँदी रम्घामा जन्मेका भानुभक्त आचार्य आफ्नै हजुरबुबा श्रीकृष्ण आचार्यबाट सानैदेखि पाएको अनौपचारिक अध्यात्मिक ज्ञान, पुरेत्याइँ जीवन र पूर्वीय संस्कृत साहित्यका प्रभावबाट मुक्त देखिँदैनन् । उनीभित्रको राजतन्त्रप्रतिको मोह, धार्मिक, नैतिक, आध्यात्मिक विचार र संस्कारका मूल जड पारिवारिक पृष्ठभूमि र पृथ्वीनारायणकालीन राज्य विस्तार अभियान र खस आर्य सम्प्रदायको प्रभाव आदि नै मुख्य देखिन्छ ।

    २. तात्कालीन समाज र भानुभक्तका परिवेश

    पृथ्वीनारायण शाह र बहादुर शाहका विजय अभियानका अतिरञ्जित गाथासँग अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर आदिको वीरगाथाबाट नयाँ पुस्तालाई तान्नुपर्ने त थियो नै त्यसमाथि राजतन्त्रको महिमागानका लागि ईश्वरावतार प्रमाणित गराउने उद्देश्यले आरम्भ भएको भक्ति परम्पराहरूलाई छोडेर भानुको आदिकवित्व आएको छ । पूर्वीय दर्शनका आध्यात्मिक ज्ञानका प्रभावमा हुर्कदै गरेका धार्मिक, नैतिक, आध्यात्मिक र सामाजिक वर्चस्वका प्रभावकै परिवेशमा भानु जन्मन्छन् ।

    पूर्वीय दर्शन र आध्यात्मिक प्रभाव बाहेकको अरू संसारको कल्पनासम्म तत्कालीन समयमा हुँदैनथ्यो । पृथ्वीनारायण शाहदेखि राजेन्द्रविरविक्रम शाहसम्मले एकात्मक राज्य सत्ताको स्थापना अभियान चलाइरहेका थिए । अङ्ग्रेजसँगका युद्धका प्रव्रिmया, अङ्ग्रेजी आव्रmमणको खतराबाट वाइसे चौबिसे कमजोर राज्यहरू सङ्कटमा परेको परिवेश थियो । १८७३ को सुगौली सन्धि र त्यसले अर्धऔपनिवेसिक मुलुकका रूपमा कायम हुन पुगेको नेपाली पहिचानको परिवेश बनिसकेको थियो ।

    युद्ध र विजय अभियानलाई प्रोत्साहन गर्ने वीरगाथा केन्द्रित रचनाहरूले जनमानसमा सिर्जित निराशा कमगर्ने प्रयत्न पनि चलिरहेको थियो । दासप्रथा, सतिप्रथा, जातभात, बहुविवाह, बालविवाह, अनमेल विवाह र चरम कुरीति र चेतनाहीन अन्धकारका परिणामसँगै समाजमा शोषण, दमन थियो उत्तिकै । अमेरिकी स्वतन्त्रता सङ्ग्राम (वि.सं. १८३३), फ्रान्सेली राज्यक्रान्ति (वि.सं. १८४६) आदिबाट सिर्जित स्वतन्त्रता, समानता र नयाँ चेतनाको उठानका प्रभाव, भारतमा मुगल राज्यबाट सत्ता हत्यउान सफल अङ्ग्रेजहरूका सफलता र साम्राज्य विस्तार देखेर पनि नेपाली सत्ताधारी वर्ग सत्ता अन्तरविरोधमा चुर्लुम्बिदै थियो ।

    कोतपर्व, भण्डारखाल पर्व जस्ता शक्ति सङ्घर्ष र दरबारभित्रका हत्याकाण्डको परिवेशले सिर्जिएको त्राससँगै अङ्ग्रेजभक्त तानाशाह जङ्गबहादुर राणाको उदय भएका स्थिति थियो । समाजमा संस्कृत पण्डितहरूका वर्चस्व थियो । नेपाली भाषामा रचना गर्दा पण्डित्याइँमाथि नै प्रश्न उठ्लाका त्रासले संस्कृतको वर्चस्व र हिन्दी प्रभावका विरुद्ध दृढता साथ उभिन सक्ने जमाना थिएन त्यो । तर पनि भानुभक्त उभिए ।

    ३. भानुभक्तीय रचनाहरूका पृष्ठभूमि र प्रवृत्ति

    राजा, मालिक, व्यक्ति, शक्ति र ईश्वर पूजामा विश्वस्त तत्कालीन समाज राजनैतिक शब्दमा सामन्तवादी थियो । राजनीतिमा सर्वशक्तिमान भएका पात्रहरूले पनि वीरधाराको युग समाप्त भएपछि पृथ्वीनारायण शाहका कुटनीति, तथा सामाजिक नीतिलाई सरोकार राखेको देखिन्नथ्यो । वीरधाराकालीन युग समाप्त भएर भक्तिधाराकालीन युग आरम्भ गर्ने भानुभक्त पूर्व पनि धेरै कविहरू थिए । अनुदित रामायणले थोरै मद्दत पुर्यायो अलग कुरा हो । भानुले नेपाली भाषाको एकीकरण गरेका होइनन् उनले नेपाली भाषा जन्माएका पनि होइनन् ।

    सतम्र केन्तुम् जस्ता भारोपेली भाषा परिवारका दुई भेद मध्ये सतम् वर्ग अन्तर्गत विक्रमको एघारौँ शताब्दीमा जुम्ली वा सिँजालीका रूपमा नेपाली भाषा जन्म्यो । सतम्रभित्रको आर्य इरानेली भाषिक शाखाभित्रको आर्य (संस्कृत) भाषा इ.पू. १५०० (आजभन्दा ३५ सय वर्ष अघि) अस्तित्वमा देखिन्छ । इ.पू. १५०० देखि इ.पू. ८०० बीचका वैदिक संस्कृतअन्तर्गत बेद, उपनिषद्, ब्राह्मण ग्रन्थहरू देखिन्छन् । लौकिक संस्कृत अन्तर्गत इ.पू. ८०० देखि ५०० बीचमा लेखिएका रामायण, महाभारतलाई उपजीव्य ग्रन्थ मानेर मध्यकालमा पाली, अभिलेखीदेखि वि.सं. १०३८ का दामुपालका अभिलेखदेखि भानुभक्तसम्म आइपुग्दाका फैलँदो विस्तारित भाषिक र साहित्यिक पृष्ठभूमिकै प्रभाव धेरै थोरै भानुमा पनि परेको यो देखिन्छ ।

    घाँसीको अर्ती, अमरावती कान्तिपुरी, बालाजी, जेल, ठिट्ठा विचारी, रामगीता जस्ता मौलिक रचना र अध्यात्म रामायणको अनुदित नेपाली रामायणसम्मका दुई रुपका रचना कृतिहरू उनका देखिन्छन् । वधूशिक्षालाई कतिपय समीक्षकहरूले मौलिक मान्दैनन् । अनुदित रचनाहरूलाई पनि मौलिक जस्तो बनाउनुमा पनि भानुको विशेषता अब्बल देखिन्छ । अर्काेतिर भानुभक्तीय रामायण पुराण विषय केन्द्रित र अनुवादित रामकथा केन्द्रित काव्य नै भए पनि नेपाली महाकाव्य परम्पराकै पहिलो महाकाव्य मानिन्छ । आर्य वर्णाश्रम व्यवस्था, वेदान्त दर्शन, मनुसँग सम्बन्धित इक्ष्वाकु राजवंश, विष्णुको सातौँ अवतारका रूपमा अयोध्याका राजा दशरथपुत्र रामको अभ्युदय, मर्यादा पुरुषोत्तमका रूपमा रामको चित्रण, राम र जनकपुत्री सीताको विवाह, रामको बनवास, रावणद्वारा सीताहरण, बाँदर राजा सुग्रीवसँग रामको मितेरी, रामरावण युद्धमा रावणको पराजय, रामका राज्यभिषेक, सीता परित्याग र धर्तीमै सीताको विलय जस्ता कल्पना र मिथकीय कथाहरूलाई भक्ति, वीरता र करुणाको भावधारामा केन्द्रित देखिन्छन्।

    भानु रामायणले नेपाली भाषालाई एकीकरण गर्नमा मद्दत पु-याएका निष्कर्षहरू पनि आज विवादमा छन् । दार्शनिक, धार्मिक, राजनैतिक र सांस्कृतिक कोणबाट तत्कालीन समाज सापेक्षताको अभिव्यक्ति बन्यो रामायण । त्यसमा शङ्का छैन । अद्वैत वेदान्त दर्शनको महावाक्य, परब्रह्म (आत्मा र परमात्मा बीचको एकत्व) को आदर्श वेदान्त दर्शनकै उपज मानिन्छ । भानुले रामायणको उल्था गर्दा वाल्मिकी रामायणको गरेनन्। कृष्ण द्वैपायन वा स्वामी रामानन्द वा अन्य कुनै कविको अध्यात्म रामायण अनुवाद गर्ने भानुको मूल चरित्र नै आध्यात्मिक थियो । भानुको पहिलो कविताका रूपमा लिइने ‘घाँसीको अर्ती’ मौलिक हो-होइनमा पनि समालोचकहरूमा मतभेद देखिन्छ । चैतन्य आदि समालोचक (चैतन्य, २०६५:१६१) का विचार उनका सन्दर्भमा फरक देखिन्छन् ।

    चैतन्यले दार्शनिक, धार्मिक, राजनैतिक र सौन्दर्यपरक रूपमा उत्तरकाण्ड, युद्धकाण्ड, सुन्दरकाण्डका अनेक सन्दर्भलाई आफ्नो ‘समीक्षा र सौन्दर्यमा’ अभिव्यक्त गरेका छन् (चैतन्य, २०६५:१५७) । वालचन्द्र शर्मा सुगौली सन्धिमार्फत अङ्ग्रेजहरूबाट पराजय भोगेका निराशा, त्रास, भय, न्युन चेतनागत स्थितिलाई अध्यात्मवादका रङमा उठेका रामको आदर्शमा लोकलाई डो-याएको मध्यकालीन भारती वैष्णवाचार्य रामको अध्यात्म रामयाणवाला रूप शत्रुदमनका आदर्श छोडेर इन्द्रिय दमनका पाठ पढाउने बौद्धिक अगुवाको भूमिका तत्कालीन समयमा भानुभक्तले खेलेको देखिन्छ ।

    यो भानुभक्तका लागि स्वाभाविक थियो । रामानन्द लिखित अध्यात्म रामायण इशाको पन्ध्रौँ शताब्दीतिर संस्कृतमा लेखिएको सम्भवत रामभक्ति धाराकै पहिलो महाकाव्य मानिन्छ । इसापूर्व छैटौँ शताब्दीतिरैरचित वाल्मिकी रामायणभन्दा करिब इसाको पन्ध्रौँ शताब्दीतिर, सम्भवत: रामभक्तिका प्रथम प्रचारक रामानन्दद्वारा लिखित अध्यात्म रामायण पौराणिक अर्थमा बढी प्रभावित देखिन्छ । वाल्मिकी रामायणतिर भानु लागेनन्। भक्त दार्शनिकताका कारण थियो त्यो । पूर्वीय संस्कृत दर्शन, भक्ति र वेदान्त दर्शन मोहको परिणाम थियो त्यो (त्रिपाठी, २०६१: १७४–१७५) । बालचन्द्र शर्माका दृष्टिमा सुगौली सन्धिपछिको पीडा समनका लागि वाल्मिकी रामायणको रामका भन्दा अध्यात्म रङमा डुबेका रामका आदर्शले लोकलाई डोर्याउन सक्थ्यो मानियो (चैतन्य, २०६५:१५९) भानु त्यही निष्कर्षमा पुगे ।

    यसै क्रममा वैष्णवाचार्यद्वारा अध्यात्मरामायणको रूप खडा गरियो । पूर्वीय काव्य चिन्तन परम्परा कृष्ण र रामका गाथामा काव्य रचना परम्परा समृद्ध छ । भानुभक्तले कृष्ण गाथालाई परित्याग गरी रामगाथालाई किन अनुशरणको विषय बनाए , कृष्ण भक्तिको मौलिकता र भक्तिको सन्दर्भबाट किन बाहिरिन खोजे उनी? रामायणका कथा राजषी कथासँग जोडिएको सन्दर्भ हो । कृष्ण वृन्दावन्दका किसान हुन्। किसान वर्गका पात्रलाई भन्दा राजषी वर्गका पात्रलाई भानुले महत्व दिन चाहन्थे। राजर्षी चाकरीमा जीवनको सौन्दर्य देख्थे उनी । सीता, जनक, जनकपुरदेखि रामगाथासँग जोडिएका कथाहरूमा जोडिन चाहन्थे उनी। रामराज्यको राजनीतिक आदर्श स्थापित गर्ने चेष्ठाकै परिणाम थियो त्यो । आर्यहरूका वर्णाश्रम व्यवस्था, मनुप्रतिको सद्भाव, उपनिषद् र वेदान्त दर्शन, राजवंश र मर्यादा पुरुषोत्तम चेष्ठाकै परिणतिका कारण कृष्णगाथाका परित्याग गरियो भानुभक्तबाट । रामायण उनको मौलिक कृति नभएर अनुदितै भए पनि परम्पराभन्दा भिन्न हुन खोज्ने भानु प्रवृत्तिको उपज थियो त्यो ।

    ४. भानुभक्तको मौलिक व्यक्तित्व

    घाँसीको अर्ती, कान्तिपुरी नगरी, वालाजी, जेल, ठिट्ठा विचारी जस्ता फुटकर कविताहरू भानुभक्तीय जीवनका मौलिकता देखिन्छन् । पूर्वीय काव्यपरम्पराकै निरन्तरतामा आएका यी कविताहरू मध्ये कान्तिपुरी नगरी वार्णिक छन्दमा रचित नेपाली सरल जीवन, स्वाभाविकता र राष्ट्रिय स्वाभिमानको छनक पाइने कविता हो । भोट, चीन, लण्डन, भारतका विभिन्न सहरहरूसँग नेपाललाई तुलना गर्दै नेपाली वीरतालाई विश्वमै अतुलनीय देखाउनु जस्ता विशेषताले देशभक्तिको भाव समेत झल्कन्छन् कवितामा । शासकप्रतिको कटु व्यङ्ग्य प्रहार, राणा शासनप्रतिको विमतिका सन्दर्भ जेल कवितामा अभिव्यक्त छ ।

    भानु स्वयम् कुमारी चोकमा कैदी जीवन विताउँदाका क्षण रचना गरिएको यो कविता मौलिक देखिन्छ । तत्कालीन न्याय व्यवस्थालाई डिट्ठा विचारी, कवितामा उनले सरलीकृत गरेका छन् । काठमाडौँबाट घर फर्कदा तारापतिको घरमा बास बस्दा सासु बुहारीको झगडा सुनेपछि भानुले रचना गरेका बधू शिक्षा कवितामा पतिलाई ईश्वर र पतिव्रता धर्मलाई ठूलो धर्म मानिएको छ । नारी बुहारीलाई दासीका छ रूपमा लिइएको छ । हाँस्न प्रतिबन्ध लगाइएको छ । राणा सरकारबाट समेत विरोधको विषय बनिसकेको सतीप्रथाको समर्थक बनेका छन् भानुभक्त ।

    मानवीय स्वत्वको अपहरण गरिएका सामन्ती युगका नीतिशास्त्र भित्रका पितृसत्तावादी सोचका परिणाम पछिका नारी जीवन यथार्थको अभिव्यक्ति कवितामा प्रकट भएको छ । आँशु कविजस्ता देखिए पनि भानुभक्त सामन्तवादी पितृसत्तात्मक समाज व्यवस्थाकै निरन्तरता कायम राख्न चाहने कवि हुन् । औषधीमूलो, जन्मकुण्डली, जुवा–पाशा, धर्मकर्म, झैँझगडा अनेक विषयमा लेखिएका उनका फुटकर रचनाहरूबाट पनि उनको मौलिकता र विशिष्ट कवित्वका पहिचान हुन्छ नै । भक्तमाला, प्रश्नोत्तरमाला र रामगीताका धार्मिक, नैतिक महत्व राम भक्तिमै आधारित देखिन्छ । भाषाका आधारमा जातीय वा राष्ट्रिय कवि भानुलाई मानिँदै आए पनि यस विषयमा प्रशस्त विवादहरू देखा पर्न थालेका छन् । संस्कृत पण्डितहरूका वर्चस्व रहेका बेला नेपाली भाषामा रचना गर्नुलाई निम्न कोटिका काम भनेर बुझिने समयका बीच नेपाली भाषामा भानुभक्तले लेख्ने प्रयास गर्नु नै प्रशंसनीय छ । संस्कृतको वर्चस्व र हिन्दीको प्रभाव न्यून गर्नलाई पनि त्यो जरुरी थियो देखिन्छ ।

    ५. भानु र उनको मूल्याङ्कन सन्दर्भ

    सत्ता नेपालीकरणको अभियानमा लागेको बेला थियो । राजभक्ति, देशभक्ति वीरताको गाथा, पूर्वीय संस्कृत दर्शन संस्कृति प्रतिको मोह अतिरिक्त गोर्खाली सेनाहरूले सिर्जेको परिणाम र सानो कमजोर राज्यमाथिको त्रास र मगर, गुरुङ, ठकुरी, राई आदि जनजाति सेनाहरूका बदला भाव आदिलाई न्यून गर्न पनि सत्ताले चाहँदै गरेको समय थियो। साहित्यिक र भाषिक क्षेत्रमा भानुका योगदान मूल्याङ्कनका क्रममा अनेक मतहरू देखिन्छन् । हृदयचन्द्रसिंह प्रधान आशिर्वादका लागि लेख्ने अभिशाप देख्छन् भानुभक्तलाई ।

    गोविन्द भट्टको तर्क फरक देखिन्छ । नेपालीमा भक्तिवादका आदर्शवादी रचना लेख्नुका सट्टा दुरुह क्लिष्ट संस्कृत भाषामै लेखेका भए जनता वेदान्ती विचारको विषालु प्रभावबाट जोगिन्थे होला भन्ने गोविन्द भट्टको तर्क देखिन्छ । निनु चापागाई भानुलाई संस्कृत भाषाको पक्षपोषण गर्न खोजेको आरोप लगाउँछन् । ‘जुन साहित्यको अन्तर्वस्तुले समाजमा ठूलो सामाजिक विभाजनको खाडल खन्ने विचारलाई प्रवाहित गर्यो, त्यस्तो भाषाचाहिँ के आधारमा राष्ट्रिय एकताको जग हाल्न उपयोगी देखिने ?’ जस्ता निनु चापागाईंका प्रश्नले विचार अभिव्यक्ति र सम्प्रेषणका माध्यम भाषा हो भन्ने पनि बिर्साएको देखिन्छ ।

    विचारको स्वरूप वर्गीय भए पनि भाषाको हुँदैन । मातृभाषाको माया आवश्यक छ । गोविन्द भट्टले झर्राेवादका जनक, जनजिब्रोका समर्थक, नेपाली भाषाका सेवक, अनुवादकबाट पश्चिमा साहित्य र भाषाको सांस्कृतिक अतिक्रमण रोक्न भानुले जे गरे ठिकै देख्छन् उनी । भट्टको यो मूल्याङ्कन सही देखिन्छ नै। भानुको भाषिक योगदानलाई नकार्न हुँदैन नै। सामन्तवाद, अर्धऔपनिवेशिक तथा अर्धसामन्ती व्यवस्थाका बीचमा रहँदा सामन्तवादका पृष्ठपोषक दार्शनिक, नैतिक, राजनीतिक दृष्टि उनमा रहनु अशोभनीय मानिँदैन । अद्वैत वेदान्तमा आधारित विश्व दृष्टिकोण वाल्मिकी, शङ्कराचार्य हुँदै अध्यात्म रामायणसम्म आउँदा जसरी आयो, त्यसले ‘ब्रह्म सत्य जगत् मित्थ्या’को निष्कर्ष दिएको छ।

    वीर भावनाका विकल्पमा भक्ति परम्परा र मानसिक शान्तिको बाटो खोज्ने भानुभक्तका चिन्तन भौतिकवादीहरूका लागि आज चुनौतीको विषय बन्न सक्छ । नैतिक रूपमा भानु ब्राह्मणवादी नै हुन् । उनी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र जस्ता चार वर्ण व्यवस्था, ब्रह्मचार्य, ग्राहस्थ्र्य, बानरप्रस्थ्य र सन्यास जस्ता चार आश्रम व्यवस्था, आत्मापरमात्मा, स्वर्ग नर्क, पाप–पुण्य, जन्म–पुनर्जन्म, पितृसत्तावादमा आधारित महिलाप्रतिको सोच (वधू शिक्षा) मा राख्ने सामन्ती वर्गका पृष्ठपोषक देखिन्छन् । बुहार्तन पीडा, महिलाहरूका अपमानजनक र कष्टपूर्ण स्थिति, सतिप्रथा, अनमेल र बालविवाह, अन्धविश्वास आदिप्रतिको संवेदनामा भानु कमजोर देखिन्छन् ।

    त्यो स्थिति तत्कालीन परिस्थितिको उपज पनि थियो । यद्यपि ‘लोकको गरुँ हित भनी….’ लोकहितका पक्षमा रामायणमै उभिएका देखिन्छन् उनी । राजतन्त्रका समर्थक भएर आदर्श रामराज्यका पक्षमा भानु देखिन्छन्। उत्पीडित जाति वर्गप्रति उनको चासो देखिँदैन कतै। समकालीन कविहरूका तुलनामा भानुको भाषा सरल, र सजीव देखिन्छ । प्रकृतिको यथार्थ, नेपालीपन, अलङ्कार-बिम्बहरूका प्रयोग र प्रस्तुति, रागात्मक र गीतिमय पण्डित्याइँ प्रस्तुति भानुबाट भएका देखिन्छन् । देवकोटाका भाषामा भानु हृदयका छन्दोबद्ध कवि हुन् (चैतन्य, २०६५: १६७) । अन्तरवस्तु र रुपको सङ्गति उनका मौलिक र अनुदित कृतिगत विशेषता हुन् ।

    ५.१ सफल अनुवादक भानुभक्त

    बेलायती माक्र्सवादी चिन्तक कडवेलका शब्दमा कविताको अनुवाद कार्य सहज मानिँदैन । तर भानुले रामायण लगायतका अनुवादमा विजय आर्जेका छन्।

    ५.२ विद्रोही र देशभक्त कवि

    तत्कालीन समयका राणाविरोधी स्वर खुला रूपमा कुनै कविबाट निस्कन कठिन थियो। तर पनि जनविरोधी र समाजविरोधी सत्ता गतिविधिसँग उनको विमती देखिन्छ। उनले सामाजिक यथार्थलाई तठस्थ भएर चित्रण गरेका छन्  राणा शासक र सरकारको स्तुतिगान नगर्ने, सरकारको विरोध गर्ने भानुभक्तलाई कुमारी चोकमा बन्दी हुनु पर्यो। ‘जेल’ सम्बन्धी कविता र डिट्ठाविचारी जस्ता सरकार विरोधी कविता, कान्तिपुरी नगरीजस्ता देशभक्ति भावका रचना भएका कविताहरू, बालाजी कविताको देशभक्तिका वावजुद पनि उनी सारमा पश्चगामी धाराकै सेवामा केन्द्रित देखिन्छन् । शासक गाथामै केन्द्रित देखिने भानुभक्त नारी र उत्पीडित वर्गका पक्षमा उभिएनन्।

    ६. आदिकवित्वको प्रश्न

    भानुभक्त पूर्व प्रशस्त कविहरूले नेपाली मौलिकतामा वीर धाराका कविताहरू लेखेको देखिन्छ। सुवानन्द दास, शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल, सुन्दरानन्द वाँडा, राधावल्लब अज्र्याल, गुमानी पन्त, यदुनाथ पोखरेल, रघुनाथ, वसन्त शर्मा, इन्दिरस, वीरशाली पन्त आदि कविहरूलाई वास्तै नगरी मोतीराम भट्टले भानुभक्त आचार्यको जीवन चरित्र (१९४८) मा आदिकवि उपाधि दिए सर्वप्रथम । भानुभक्त पूर्वका नाम चलेका कविहरूभन्दा श्रेष्ठ कवि भानुभक्त देखिएकाले उनलाई यो सम्मान दिइएकोमा ठिकै मान्नेहरू पनि धेरै देखिन्छन् । पृथ्वीचन्द्रोदय जस्तो बृहत्महाकाव्य लेख्ने उदयानन्द अज्र्याल समेतलाई वास्ता नगरी भानुभक्त स्मारक ग्रन्थका लागि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले आदिकविको उपाधि दिँदै राज्यतर्फबाट लेख दिएका र अनुमोदन गरेका तर्क पनि नउठेका होइनन्।

    मोतीराम भट्ट भानुपूर्व प्रशस्तै कविहरू भए पनि कविताको मर्म बुझी पद्य भाषामा कविता लेख्ने भानुभक्तलाई आदिकवि भन्नु स्वभाविक मान्दछन् । भानुपूर्वका कविहरू र नेपाली साहित्यको इतिहासका ढोकै बन्द गर्ने भोलारामले भानुको जन्मसँगै नेपाली भाषाको उदय भएको चर्चामा रमाएका छन् । दीनानाथ सापकोटाका भाषामा भानुभक्त पूर्व आदिकवि रघुनाथले रामायणको सातै काण्डको सर्गवद्ध श्लोकानुवाद गरेका भए पनि १९४५ मा सुन्दरकाण्डमा छापिएको उक्त अनुवाद प्रति साहित्यसेवी अनभिज्ञ हुनुले भानुभक्तलाई आदिकविको उपाधि दिइएको तर्क आएको देखिन्छ । दीनानाथ सापकोटाका मतमा रघुनाथ पोखरेल आदि कवि थिए । काव्यलक्षणले भरिएको रामायणको अनुदित रुपबाट आदिकवित्व स्वभाविक देख्छन् बाबुराम आचार्य । वासुदेव त्रिपाठी पूर्ववर्ती भन्दा महान कविका रूपमा भानुभक्तलाई स्वीकार गर्छन् तर आदिकवि स्वीकार गर्दैनन्।

    सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यसमेत भानुपूर्वका कविहरूबारे मौन देखिन्छन्। यी दुवैले भानुभक्तलाई नै आदिकविका पगरी भिराएका छन् (अधिकारी, २०७१:११)। पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेन थापाजस्ता लौकिक चरित्रहरूलाई छोडेर राम र कृष्णजस्ता अलौकिक चरित्रहरूका केन्द्रियतामा भानु किन उभिए, जवाफ प्रस्टै छ । हृदयचन्द्रसिंह प्रधान वसन्त शर्मालाई आदिकवि मान्नुपर्छ भन्छन्। आनन्ददेव भट्ट भानुभक्तपूर्वका कविहरूका देन मान्छन् भानुभक्तलाई। रामकृष्ण शर्मा भानुभक्तलाई नेपाली प्रथम कविका स्थानमा राख्न तयार देखिँदैनन् । ‘आदिकवि’ शब्द अवैज्ञानिक भएकाले भाषाका आधारमा आदिकवि खोज्न भविष्य पर्खनु पर्ने धारणा ताना शर्माको देखिन्छ।

    लाक्षणिक अर्थमा भानुभक्तप्रति श्रद्धा र आदर जनाउन उनलाई आदिकवि भनिएको हुन सक्ने तर्क मोहनराज शर्माको देखिन्छ। चैतन्यका दृष्टिमा संस्कृतको वर्चस्व र हिन्दीको प्रभाव विरुद्ध नेपाली भाषाको स्वत्व रक्षामा भानुभक्तको योगदान महत्वको मानिन्छ। गोविन्द भट्ट भक्तिवादी प्रसंगका आदर्शवादी नेपाली रचनाका सट्टा समूह र क्लिष्ट संस्कृत भाषामै लेखिएको रचनाहरू भानुभक्तले लेखेका भए वेदान्ती विचारको विषालु प्रभावबाट नेपाली समाज जोगिन्थ्यो भन्ने तर्क राख्छन्। निनु चापागाईले भानुका भाषिक योगदानलाई पूरै नकारेको आरोप (चैतन्य, २०६५:१६५) चैतन्यको देखिन्छ। भानुभक्तका साहित्यका अन्तर्वस्तुबाट नेपाली समाजमा ठूलो खाडल खनिएका दावी सहित उनको आदिकवित्वमाथि प्रशस्त प्रश्नहरू नउठेका होइनन्।

    ‘सामाजिक विभाजनका खाडल खन्ने साहित्यले राष्ट्रिय एकताको जग कसरी हाल्यो?’ का तर्कहरू पनि निनु चापागाईँ आदिमा नदेखिने होइन । नेपाल बाहिरका दार्जिलिढ, सिक्किमतिर भानुभक्तको सम्मान देखिन्छ। गोविन्द भट्टका मतमा उनी ‘आदिकवि’ नभएर झर्राेवादजनक र जनजिब्रोका समर्थक हुन् । नेपाली भाषाका सेवक र राम्रा अनुवादक पनि हुन् । संस्कृत भषाका दास बन्दै आएका नेपाली बुद्धिजिविका निम्ति भानुभक्तले चालेको कदम जुनसुकै रुपको भए पनि पश्चिमी सांस्कृतिक अतिक्रमण विरुद्ध भानु उभिएकै मान्छन् धेरैले। चैतन्यको समर्थन पनि यही कुरामा छ। भानुलाई आदिकवि मान्न प्रायः समीक्षकहरू तयार देखिँदैनन्। नेपाली कविताका इतिहासमा सर्वप्रथम लघुत्तम, लघु, मझौला र बृहत् कविताहरूको रचना गरेकै आधारमा पनि आदिकवि उपाधि शोभनीय नदेखिएला। भानुपूर्वका कवि र कविता परम्परालाई पनि मूल्याङ्कनको विषय बनाइनु पर्छ। रामायणको पौराणिक विषयमाथि भाषिक एकीकरणका माध्यमबाट नेपाली राष्ट्रियता, जातीय र सांस्कृतिक एकता कायम गर्न पहिलो प्रयास गर्ने व्यक्ति भानुभक्तलाई मान्न सकिन्छ ।

    ६. निष्कर्ष

    भानुभक्त पूर्वका सुवानन्द, शक्ति वल्लभ, उदयानन्द, इन्दिरस, विद्यारण्य केशरी, वसन्त शर्मा, यदुनाथ पोखरेल आदि कविहरूलाई आदिकवि नमानी भानुभक्तलाई मानिनुमा विशिष्ट कारण भने हुनुपर्छ । राजा शासक र वीरहरूका स्तुतिगानमा रम्दै आएका यी कविहरूभन्दा भानु पृथक् कवि हुन खोजे । उनले भारतीय भूमिको संस्कृति र सभ्यतालाई नेपाल भित्र्याए । रामकथासँग आद्यात्मिक आस्था रोपेर हुर्काए नेपाली भूमिमा। हिन्दूस्थानमा फैलिएको वर्णाश्रम व्यवस्था जङ्गबहादुरकै पालादेखि नेपालमा साम्राज्य बढाउन चाहन्थ्यो । भानु त्यस अभियानकै सहयात्री देखिन चाहन्थे त्यतिबेला। कारण विनाको उपाधि निरर्थक हुन्छ। खोज अन्वेषणका क्रमले नयाँ तथ्यको उद्घाटन त गर्छन् निरन्तर। प्राथमिककालीन रामभक्ति सम्प्रदायका केन्द्रीय कवि हुन सक्छन् उनी। अनुवादित कृति वा रचनाका आधारमा आदिकवि मानिँदा उनीपूर्वका सर्जकहरू माथि साँच्चिकै न्याय हुन्न कि?

    सन्दर्भ ग्रन्थ:

    अधिकारी, कृष्णराज (२०७१ असार), साहित्यिक अवलोकन, पोखरा : गण्डकी साहित्य सङ्गम । चापागाई, निनु (२०६४ वैशाख), “भानुभक्त र लोकतन्त्र”, गरिमा, गरिमा साहित्यिक मासिक, काठमाडौँ । चैतन्य (२०६५), समीक्षा र सौन्दर्य, घण्टाघर : पाठ्यसामग्री पसल । ढुङ्गेल, भोजराज र दुर्गाप्रसाद दाहाल (२०६६), नेपाली कविता र काव्य, काठमाडौँ : एम.के. पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स । लामिछाने, यादवप्रकाश (२०५७), नेपाली कविता, काव्य र साहित्य तत्व, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार । न्यौपाने, दीपकप्रसाद (२०७०), उपप्राध्यापक परीक्षा मार्ग निर्देशिका, कीर्तिपुर : सनलाइट पब्लिकेसन । ढकाल, घनश्याम (सम्पा. २०६२), यथार्थवादी नेपाली समालोचना, पोखरा : गण्डकी साहित्य सङ्गम । पौडेल, गोपीन्द्र (२०५९), सौन्दर्य बोध र समीक्षा विविध, काठमाडौँ : उर्मिला पौडेल । श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०४६), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, (तृ.सं.), काठमाडौँ : साझा प्रकाशन।

    (उपप्राध्यापक, पृथ्वीनारायण क्याम्पस)

    -साभार : navadristi.com

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.