कोभिड – १९ का धेरै थरिका खोपहरूको प्रतिस्पर्धात्मक दौड अब सकिन लागेजस्तो देखिन्छ, तर हामीसँग विजेतालाई फूलमाला लगाएर उत्सव मनाउने समय छैन । नयाँ दौड शुरु गरिहाल्नु पर्नेछ– किनकि दुनियाँ खोप लगाउनका लागि लाम लागेर उभिएको छ। औषधि कम्पनीहरू खोप बनाउनका लागि अत्यधिक तीव्रतासहित उदाहरणीय सहकार्य र असाधारण योग्यता दुवै प्रदर्शन गर्दै दौडेका थिए। लाग्छ अब दौड शुरु हुनेछ- वितरणको।
वैज्ञानिकहरूले त आफ्नो काम गरिसके तर अब के हुन्छ प्रश्न उठेको छ: हामी कसरी सीमित मात्रामा भएका खोपहरू विश्वभर वितरण गर्नेछौं ? महामारीले विश्वव्यापी रूपमा असमानताको विद्यमान खाडललाई तीव्रताका साथ बढाइरहेको महशुस गरिदैंछ। त्यसमाथि खोप वितरणले विश्वका ‘हुने’ र ‘न–हुने’का बीचमा रहेको खाडललाई उजागर गर्ने र तीव्रता दिने उत्तिनै खतरा छ।
यस विश्वमहामारीले सबैभन्दा गरीब र जोखिममा रहेकाहरु बीचमा अत्यन्त क्रुरतापूर्वक आक्रमण गर्यो। विश्व बैंकको अनुमान अनुसार २०२१ मा १५ करोड मानिसहरु चरम गरीबीमा फस्न सक्छन्। दुई दशक यता, यति ठूलो संख्यामा गरीबी वृद्धि हुने यो पहिलो पटक हुनेछ। यति मात्र होइन, हालैपनि एशिया र अफ्रिकाभरि कमजोर मध्यम वर्गबाट भर्खरै स्नातक गरेकाहरू पुनः गरीबीमा परिसकेका छन्।
यसैबीच, जूमका ज्ञान भएकाहरुले आफ्ना रोजगारीलाई कायम राखेका छन् किनकि उनीहरूले नै अव्यवस्थितरूपमा लगानी गरिएका पोर्टफोलियोहरु विश्वव्यापी महामारीको बीचमा पनि रखवारी गरेका थिए। यस कुराले मात्र जूममार्फत काम गर्न सक्नेहरु भाग्यमानी हुन् भन्न सकिदैन। विकसित अर्थतन्त्रहरूका सम्पन्न धनी परिवारहरूले स्कुलबन्द हुँदा पनि राम्रो पहुँच भएका र ब्रोडब्यान्ड भएका कारण अनलाइन क्लासहरुमा निर्वाध भाग लिन सके तर अन्य मुलुकका गरीव परिवारहरुलाई यस्तो पहुँच हुन सकेन।
कुन विश्व बढी सुरक्षित ?
खोपहरू विकसित भएका कारण हामीमा एक किसिमको सञ्त्रास कम भएको छ। तथापी खोपको आम वितरणपछि पनि हामीलाई सामान्य अवस्थामा फर्कियौं कि भन्ने अनुभूति हुन भने लामो समय लाग्न सक्छ र विश्वमहामारीको क्षतिको असर भने दशकौंसम्म रहनेछ। यसका साथै अर्को मुख्य प्रश्न उठेको छ: कुन “विश्व” पहिले सुरक्षित हुनेछ? वा सामान्य अवस्थामा फर्किनेछ?
२०२१ को अन्त्यसम्म हामीले धेरैप्रकारका अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ। जस्तो कि ‘कोभिड १९ को धेरै कम खतराका रुपमा रहेका धेरै धनी, विकसित मुलुकहरु – जसले आफ्नो आर्थिक हैसियतका कारण खोपको प्रारम्भिक आपूर्ति अन्य मुलुकका लागि बन्द गर्नेछन् – र तथाकथित दक्षिणी गरीब मुलुकहरु मुर्मुरिएर बस्नु पर्नेछ।’ –जोन हप्किन्स युनिभर्सिटी स्कूल अफ एडभान्स्ड इन्टर्नेशनल स्टडीजका मेरा एक सहपाठि हेल ब्रान्डले ब्लूमबर्गको ओपिनियन स्तम्भमा यस्तो भनाइ राखेका छन्।
पिपुल्स भ्याक्सिन एलायन्सले उल्लेख गरेको छ – ६७ वटा अति नै गरीब देशहरुमा, १० जना मध्ये एक जनालाई मात्र अर्को वर्षको अन्तसम्म खोप प्राप्त हुनेछ। यस एलाइन्सले विश्वको १४ % जनसंख्या भएका – अधिकांशतः पश्चिमी, अतिविकसित अर्थतन्त्रहरू – ले उत्पादन हुने प्रमुख खोपहरूका आधाभन्दा बढी उत्पादन अगावै खरीद गरिसकेका छन्।
९५% प्रभावकारीता भएको भनिएको फाइजर-बायोएनटेक खोप संयुक्त राज्य अमेरिकामा फ्रन्टलाइन स्वास्थ्यकर्मीहरुलाई र ब्रिटेनमा वृद्धहरूका बीच दिइने योजना तयार छ। फाइजरले संयुक्त राज्य अमेरिकालाई १० करोड डोज दिने वाचा गरेको छ। २०२१ को अन्तसम्ममा अमेरिकाको ठूलो जनसंख्याले खोप प्राप्त गरिसक्नेछ र यो देश चाँडै सामुहिक प्रतिरोधात्मक क्षमताको यात्रामा अग्रसर होला।
युरोपमा वर्षभरि नै यस्तै आम खोप अभियानहरु भइरहलान्। तर “पश्चिमा” र “बाँकी” विश्वका बीचमा रहेका परम्परागत असमानताबारे पनि आवाज उठिरहनेछन्। अर्कोतर्फ, विश्वका “दक्षिण” का मानिने कम विकसित मुलुकहरुले विश्वमहामारीलाई उल्लेखनीयरुपमा व्यवस्थापन गरेका छन्, विशेष गरी भियतनाम, ताइवान र संयुक्त अरब इमिरेटले। तर यस मामलामा धेरैजसो तथाकथित विश्व “उत्तर” का धनी मुलुकहरुमा भद्रगोलको अवस्था छ।
सिंगापुर, युएई वा ताइवान जस्ता साना, सुशासित देशहरू पश्चिमी देशहरूको तुलनामा अझ राम्रो स्थितिमा हुनसक्छन् किनभने तिनीहरुको जनसंख्यामा खोप लगाउन आवश्यक पर्ने संख्याहरू कम छन्, र त्यसमाथि ती मुलुकहरुको स्वास्थ्य-उपचारसेवा र सरकारी प्रणालीसमेत महामारीको सामना गर्नमा कुशल देखिएका छन्। अष्ट्रेलियास्थीत ग्लोबल रेसपोन्सको संक्रमित रोग सूचकांकमा ती ३ मुलुकहरु कोभिड १९ को प्रतिकार्य गर्ने विश्वका शीर्ष १० देशभित्र पर्छन्।
चीनकाे खाेपले गरीबकाे उद्धार गर्ला ?
तर महामारीको चपेटामा परेका अफ्रिका, एशिया र ल्याटिन अमेरिकाका विशाल क्षेत्रहरुको अवस्था के हुन्छ केही भन्न सकिँदैन। के ती मुलुकहरुको चीनका सिनोफर्म र सिनोवाक कारखानामा विकसित भइरहेका दुई खोपहरुले उद्धार गर्लान्? चीनले विश्व खोप अभियानको महत्वाकांक्षी लक्ष्यहरू राखेको छ। सिनोफर्मले अर्को बर्षमा एक अरब डोज उत्पादन गर्ने बताएको छ र अन्य आशलाग्दोगरी विकसित भइरहेका चिनियाँ खोपहरूले थप ३ अर्ब डोज विश्व बजारमा ल्याउन सक्छन्।
फाइजर र अमेरिकास्थीत मोडर्नाका खोपहरूलाई अत्यन्त चिसो भण्डारणमा राख्नुपर्ने र आपूर्ति गर्न जटिल श्रृंखलाहरू पार गर्नु पर्ने हुन्छ। यसरी नै विकासोन्मुख देशहरूले बढी मूल्यको किन्न चाहेपनि आमजनसमुदायमा वितरण गर्ने अवस्था हुन सक्दैन। यसैले विकासोन्मुख देशहरूले अन्य खोपहरुको विकल्पमा रसियाको स्पुतनिक–५, चीनको एउटा खोप वा “विश्वका लागि खोप” सुलभ मूल्य हुने प्रतिज्ञा गरेको एस्ट्राजेनेका भ्याक्सिन रोज्न सक्नेछन्।
वास्तवमा, सन् २००२१ मध्यमा, हामीले भ्याक्सिन “हुने” र “नहुने” बीच विभाजित भएको एकदमै स्पष्टरूपमा देख्न सक्नेछौं। पश्चिमका धनी देशहरू र एसिया तथा ल्याटिन अमेरिकाका विकसित मुलुकहरूले आफ्नो जनसंख्याको अधिकांशलाई खोप दिन सक्नेछन् तर अन्य मुलुकहरु भने खोप प्राप्त गर्न लामबद्ध रहेका देखिनेछन्।
सिनोफर्मले गर्ला उद्धार ?
सिनोफर्मले युएईमा खोपलाई आम जनसमुदायमा परीक्षण गरेपछि यसको प्रभावकारिता ८६ % प्रमाणित भयो। यसपछि यसले विश्व जनसमुदायमा व्यापक ध्यानाकृष्ट गर्यो। यो खोपको युएईमा स्वीकृत हुनुले सिनोफर्म खोप सुरक्षित र प्रभावकारी छ भन्ने जानकारी विकासोन्मुख देशहरूमा पुगेकोछ।
खोप विकासको यो ऐतिहासिक दौडले आजको शक्ति भनेको वैज्ञानिक र विश्वभरका राष्ट्रराष्ट्रबीचको सहकार्य हो भन्ने शिक्षा दिएको छ। विभिन्न खोपहरू वितरण गर्नका लागि पनि यस्तै समान सहकार्यको भावना अति आवश्यक हुन्छ।
नैतिक, राजनीतिक तथा आर्थिक कुनैपनि हिसाबले हामी विद्यमान जनताहरुबीच रहेको खाडललाई अझ गहिराउन सक्दैनौं। यसैले शक्तिशाली भाइरसलाई मार्ने काम गर्नु भन्दा बढी खोपहरूलाई प्रभावकारी वितरण गर्नाले यो महामारी नियन्त्रणमा ल्याउन सकिन्छ।
लेखक जोन हप्किन्स युनिभर्सिटी स्कूल अफ एडभान्स्ड इन्टर्नेशनल स्टडीजका एक वरिष्ठ अनुसन्धाता हुन्।
साभारः डिसेम्बर १६, २०२० मा एशिया टाइम्समा प्रसारित।