म काठमाडौँ आएको ४०/४५ वर्षजति भयो होला। त्यो बेला धेरै पोखरी, हिटी र ढुंगेधाराहरू हुन्थे । तर विस्तारै–विस्तारै ति पोखरीहरू पुँरिदैछन् । त्यसको ठाउँमा कंक्रिटका पोखरी बनाइँदैछन् । यति मात्रै होइन, राजनीतिक पार्टीका शिर्षस्थ नेताहरू, भूमाफियाहरू र सम्बन्धित निकायका कर्मचारीहरू मिलेर सार्वजनिक जग्गाहरू समेत हडपिरहेका छन् । यो दुःखलाग्दो कुरा हो ।
पोखरी हाम्रो मौलिकता हो । हामी विदेशीको सभ्यता सजिलै अनुकरण गर्छौँ । तर आफ्नो कला र सम्पदाको संरक्षण गर्न सकिरहेका छैनौँ। कमलपोखरीको कुरा गर्ने हो भने त्यहाँ कंक्रिटको संरचना बनाउने काम हुदैछ, यो विकृति हो । त्यहाँ टेनिस कोर्टलगायतका संरचना पनि बनाउने कुरा भइरहेको छ । त्यो पनि भूमाफियाको हातमा पर्न सक्छ । त्यहाँ परम्परागत शैलीकै पोखरी हुनुपर्छ । बरु पोखरी वरिपरी रुखहरू रोपिनुपर्छ ।
पहिलाका मान्छेहरू वातावरणप्रेमी थिए । हाम्रो पुस्ताचाहिँ पैसाप्रेमी भयो । नेताहरूमा पनि कसरी पैसा कमाउने भन्ने मात्रै चिन्तन छ । किनभने देशमा दण्डहिनता छ र कसैलाई जवाफदेही बनाइने चलन छैन । प्रधानमन्त्री नै ‘जो अगुवा उही बाटो ….’भनेजस्ता छन् । तर हामीले पोखरीलगायत हाम्रा सम्पदाहरूको जगेर्ना गर्नुपर्छ।
प्रतिगमनले यस्ता सम्पदाहरूमा ‘कंक्रिटाइजेसन’ गरेको छ । त्यो गलत कुरा हो । प्रतिगमनका नेता प्रधानमन्त्री केपी शर्मा ओली हुन् । हामी कुनै गुट, समूह, पक्ष वा विपक्षमा छैनौँ । हामी जनताको पक्षमा छौँ । हामी जनताको भाषा बोल्छौँ । केपी ओलीले अहिले देवत्व प्राप्त गरिसकेका छन् । हामी त रैतीहरू हौँ । उनी भन्छन्, ‘सडकमा चिच्याएर मात्रै हुन्छ ? यो त हाम्रो तजबिजको कुरा हो, सिंहदरबारको तजबिजको कुरा हो ।’ यसको मतलव यो सरकारले आफैंलाई तानाशाह भनेको छ ।
नेताहरूमा पनि कसरी पैसा कमाउने भन्ने मात्रै चिन्तन छ । किनभने देशमा दण्डहिनता छ र कसैलाई जवाफदेही बनाइने चलन छैन । प्रधानमन्त्री नै ‘जो अगुवा उही बाटो ….’भनेजस्ता छन् ।
सडककै भाषा सुनेर २००७ सालमा प्रजातन्त्र आएको हो। जनआवाज सुनेर ०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भएको हो र सडक आन्दोलनबाटै गणतन्त्र आयो । त्यो बेलाको शासकले सुन्ने तर अहिलेको शासकले नसुन्ने भनेपछि ओली कुन स्तरको तानाशाह हुन् भन्ने बुझिन्छ ।
तानाशाह भए पनि ‘अलिकति इमान्दार तानाशाह’ भइदिएको भए हुन्थ्यो । ओली बेइमान तानाशाह हुन् । कतिपय तानाशाहमा थोरै भएपनि संवेदनशीलता हुन्छ । जनताप्रति अलिकति सहिष्णुता हुन्छ । तर ओलीमा संवेदनशीलता छैन, इमानदारिता पनि छैन । उनले तानाशाही प्रवृत्ति थोपरिरहेका छन् । प्रत्येक दिन विभिन्न काण्ड, धाँधली, भ्रष्टाचार र अपराध भइरहेका छन् ।
जनताले रगत, पसिना र ज्यानको अहुति दिएर ल्याएको संविधान तोडमोड गरेर उनले संसद विघटन गरे। संविधानले नदिएको अधिकार प्रयोग गरे । त्यसैले म भन्दैछु, राणा कालमा पनि प्रजातन्त्र आयो र श्री ५ को पालामा पनि प्रजातन्त्र आयो । त्यसैले सडकलाई नसुन्ने र संविधानभन्दामाथि उठेर काम गरिसकेका केपी ओली श्री ५ वा श्री ६ मात्रै होइन, यी त श्री ७ महाराजधिराज हुन् ।
संविधानअनुसार हामी सार्वभौम नागरिक हौँ । हामीलाई भोट दिने अधिकार छ, हामीले उनीहरूलाई भोट दियौँ भने उनीहरूलाई सडकमा ल्याउन पनि हामीले जानेका छौँ, यो हाम्रो अधिकार र कर्तव्य हो । संविधानका केही अंगमध्ये एउटा त उनले ‘डिजल्भ’ नै गरे । अर्कोलाई उनले दबाब दिइरहेका छन् । न्यायपालिकालाई दबाब दिइरहेका छन् । उनी भन्छन् ‘यो राजनीतिक विषय हो, त्यसकारण संसद विघटन बदर नगर ।’
त्यसैले सडकलाई नसुन्ने र संविधानभन्दामाथि उठेर काम गरिसकेका केपी ओली श्री ५ वा श्री ६ मात्रै होइन, यी त श्री ७ महाराजधिराज हुन् ।
प्रधानमन्त्रीका रूपमा संविधानको रक्षा गर्ने कर्तव्य ओलीको पनि हो । तर उनले रक्षा गरेनन्, उनले भक्षण गरे । उनी संविधानको भक्षक भए । संविधानको रक्षा गर्ने मुख्य कर्तव्य न्यायपालिकाको हो । र, जनता सार्वभौम नागरिक हुन्, संविधानमा भएका प्रावधानहरू जनताको हकहितका लागि बनाइएका हुन् । र, संविधानलाई नष्ट गर्न खोजिँदैछ भने त्यसलाई रक्षा गर्ने कर्तव्य न्यायालयको हो ।
त्यसैले, अदालत जनताको निगरानीमा छ । अदालत हाम्रो निगरानीमा छ । यदि संविधानको रक्षा भएन भने जनता सडकमा उत्रिन्छन् । अदालतमा विद्धान न्यायधिशहरू हुनुहुन्छ । त्यसैले उहाँहरूलाई मैले भनिररहनु पर्दैन । तैपनि खबरदारी गरिराहनुपर्ने जरुरत छ, हामी खबरदारी गरिरहन्छौँ । संविधानको रक्षा हुनुपर्छ र ओलीले सडकको भाषा सुन्नैपर्ने हुन्छ ।
(सोमबार नागरिक आन्दोलनका क्रममा टंगालस्थित पिपलबोटमा डा. गोविन्द केसीले दिएको मन्तव्य।)