Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कसरी बाँच्छ कम्युनिस्ट पार्टी? : घनश्याम भूसाल

‘वर्गशत्रु सफाया’देखि जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको लामो र कठिन तालिमबाट निस्केका, जनताकै लागि भनेर घरबार बिगारेका, आफन्त गुमाएका हजारौं कार्यकर्ता र तिनलाई माया गरेका, तिनको भोकतिर्खा देखेका लाखौं समर्थक–शुभचिन्तकको पङ्क्ति छ । पार्टीको एउटा उद्देश्य, एउटै कार्यभार र एउटै नाराको झण्डामुनि ती सबैलाई समेट्न सक्दा अजस्र शक्ति उत्पन्न हुन्छ ।

घनश्याम भूसाल घनश्याम भूसाल
चैत्र २३, २०७७
- रिडर्स डिस्कोर्स, विचार, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपाका एमालेका उपमहासचिव घनश्याम भूसालले कान्तिपुर दैनिकमा केही वर्षअघि ‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी?’ शिर्षकको लेख लेख्नुभएको थियो । सो लेखको सार्न्दभिकता आज पनि उस्तै छ :

    प्राचीन युनानी मिथकका दुई पात्रबाट छलफल सुरु गरौं । एउटा पात्र नार्सिसस् हो, जसको जिन्दगीका अपार सम्भावना छन्, तर एउटा श्रापले गर्दा उसले आफ्नो अनुहारको प्रतिविम्ब हेर्नु हुँदैन । कुनै दिन जङ्गलमा पानी खोज्दै जाँदा उसले पोखरीमा आफ्नो अनुहार देख्छ । उसको सुन्दरता यति आकर्षक थियो कि त्यो दृश्यबाट उसले आफूलाई हटाउनै सकेन, हेरिरह्यो, हेरिरह्यो र मर्‍यो । अर्को पात्र फिनिक्स चरो हो । यो चरोको आयु ५/७ सय वर्ष छ । तर जब उसको आयु पुग्छ, आगोमा जलेर खरानी हुन्छ र त्यही खरानीबाट त्यो ब्युँतिन्छ । र फेरि जीवनको अर्को चक्र पहिलेझैं सुरु गर्छ । नार्सिसस्ले आत्मरतिको घेराबन्दीमा कसरी व्यक्ति र संस्थाहरू मर्छन् भन्ने बताउँछ भने फिनिक्सले हरेक नयाँ युगमा आफूलाई अनुकूलन गर्दै कसरी व्यक्ति र संस्था बाँच्न सक्छन् भन्ने बताउँछ । नेकपाले अहिले पाएको राजनीतिक सफलता इतिहासमा कुनै पनि कम्युनिस्ट पार्टीले संसदीय निर्वाचनमा पाएको भन्दा ठूलो छ । यो सफलताले नेकपा ‘आफ्नो रूप हेरी–हेरी, आफैं हुन्छु दङ्ग’ हुँदै नार्सिसस्जस्तै सकिने त होइन ? वा नयाँ शक्ति र जीवनका साथ फिनिक्सझैं अगाडि बढ्छ? नेकपाका अगाडि यी दुइटै सम्भावना एकसाथ खडा छन् ।

    नार्सिसस्को बाटो

    जबसम्म लम्ब्याइनुको ‘खास’ उद्देश्य पूरा हुँदैन, तबसम्म पार्टीको एकता प्रक्रिया लम्बिँदै जानेछ, हिजो सङ्गठित रहेका लाखौं सदस्य फाजिलमा परेका कर्मचारीजस्तो काम नपाएर टोलाइरहनेछन् ।

    स्थायी कमिटी केही होइन, संसदीय दल केही होइन, खास व्यक्तिमात्रै सबैथोक हुन्, तिनको स्वार्थ नै सबै थोक हो भन्ने कुरा स्थापित हुँदै जाँदा तलका कमिटी र जनप्रतिनिधिले आफ्नो हैसियत के रहेछ भन्ने थाहा पाउँदै जानेछन् ।

    सरकार सरकारजस्तो हुने छैन, प्रदेश र स्थानीय सरकारहरू रामभरोसे चल्नेछन्, बिग्रे–भत्केको जिम्मा कसैले लिने छैन, सरकारवाला र पार्टीवालाले दोषादोष गर्नेछन्,आफ्ना नालायकी ढाक्न कर्मचारीले ‘क्रान्ति रोकेको’ कथ्य–रचना हुँदै जानेछ, भ्रष्टाचार अझ बढ्दै जानेछ, अन्तरविरोधका अनगिन्ती स्वरूपहरू देखिँदै जानेछन्, त्यसलाई देखाएर अनुशासनका एकपछि अर्को कारबाही गरिनेछ, स्पार्टाकसको पल्टनलाई झुन्डयाएर बाँचेका दासहरूलाई तर्साएको इतिहास नेकपामा दोहोर्‍याइनेछ ।

    गुटबन्दीले नश्लको रूप लिनेछ, नश्लीय विधान बन्नेछ, त्यसमा सत्ताधारी गुटका लागि कर्तव्यको महल हुने छैन, सत्ताको बलेनीभन्दा बाहिरका लागि अधिकारको महल हुने छैन, अर्को गुटविरुद्ध जति निर्मम र आततायी हुनसक्नेहरूको बढुवा हुँदै जानेछ, हिजोका एमाले–माओवादीका बीच र माओवादीहरू र एमालेहरूका गुटबीच अन्तरविरोध र सहकार्यका नयाँ–नयाँ रूप देखिँदै जानेछन् । यसरी पार्टी र सरकार मुर्झाउँदै जानेछन् ।

    नेकपा अकर्मण्य बन्दै जाँदा हाम्रा भूअर्थराजनीतिक मामिला उठ्न थाल्नेछन्, संविधान संशोधनको मुद्दा पुनर्जागृत हुनेछ, मधेसी पार्टीहरूले आफ्ना एजेन्डा सम्झिनेछन् र बाटोमा धुनी बाल्न थाल्नेछन् । ‘दलाल पुुँजीवादी राज्यसत्ता’मा देखिने सङ्कटलाई कमरेड विप्लवको पार्टीले ‘क्रान्तिकारी अवसर’ भनेर सैद्धान्तीकरण गर्नेछ र अगुल्टो बोकेर गाउँ–बस्ती चहार्नेछ ।

    एकातिर सङ्घीयताको मर्मको नारा उचालिनेछ भने अर्कोतिर सङ्घीयताले राष्ट्रियता खतरामा परेको शोक–गीत गाउन थालिनेछ । सीके राउतहरूलाई ‘आस्थाका योद्धा’ भनेर लेख्न थालिनेछ, जगेडामा राखिएका विशिष्ठ व्यक्तिहरू आफूलाई लि क्वान यु, महाथिर, फ्रान्स्वाँ म्याक्रोनको नेपाली अवतार भनेर प्रचार गर्न थाल्नेछन् । केही गर्ने आफ्नै ल्याकत हराएको नेपाली काङ्ग्रेसले लोकतन्त्र खतरामा पर्दै गएको देख्नेछ र डिलमा बसेर हारगुहार गर्नेछ । यसरी नेकपाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न प्रयास गरिनेछ ।

    नेपाली सेनालाई ‘चुप नलाग्न’ वीररसका कविता लेखिनेछ । विभिन्न तिथि पारेर पूर्वराजाले वक्तव्य प्रसारित गर्नेछन् । नागरिक अवज्ञाका आह्वान हुनेछन् । आजका विश्व राजनीतिक प्रवाहमा आएको पपुलिस्ट दक्षिणपन्थले हामीलाई अझ दबाबमा राख्नेछ । हाम्रो सामाजिक–सांस्कृतिक–क्षेत्रीय बनोटको विविधतामा गरिबीसमेत मिसिएपछि आउन सक्ने उग्र क्रान्तिकारी र दक्षिणपन्थी अनुहारका अनेक शक्तिले यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन थाल्नेछन् ।

    साँझ–बिहान बालुवाटार गएर प्रधानमन्त्रीको ‘दृढता’ र ‘दूरदर्शिता’को आरती उतार्नेहरूको एकपछि अर्को राजकीय पदमा आरोहण हुनेछ । यसरी ठूलो मूल्य र लामो प्रतीक्षापछि आएको स्थिर लोकतान्त्रिक विकासको सपना तुहिँदै जानेछ । नेकपा र त्यसको सरकारले आफ्नो ऐतिहासिक भूमिका खेल्न नसक्ने परिस्थिति बन्दै जानेछ ।

    फिनिक्सको बाटो

    परिस्थितिको गम्भीरतालाई नेकपाका नेताहरूले, खासगरी कमरेड ओली र प्रचण्डले बुझ्नेछन् वा उनीहरूलाई बुझाइनेछ, पार्टी एकीकरणको प्रक्रिया आरम्भ भएपछि खुम्चिँदै गएको आन्तरिक लोकतन्त्र पुनर्बहाली हुनेछ, स्थायी कमिटी र केन्द्रीय कमिटीका अधिकार फिर्ता गरिनेछ, हुलमुलमा भए–गरेका गल्ती सच्याइनेछ, पार्टीको एकीकरण विधिसम्मत रूपमा पारदर्शी ढङ्गले सम्पन्न गरिनेछ ।

    पार्टी र क्रान्ति गुट र त्यसका नेताका जिमदारी होइनन् भन्ने कुरा बहाल हुनेछ, पार्टीलाई व्यक्तिवाद, गुटवादी नश्लवादतर्फ होइन, माक्र्सवादतर्फ र पार्टीको घोषित सिद्धान्ततर्फ फर्काइनेछ, त्यसका आधारमा लाखौं सदस्य, समर्थक, शुभचिन्तकका बीचमा एकता स्थापित गरिनेछ, सबै नागरिकमा भविष्य निर्माणको आशा जागृत गरिनेछ ।

    राष्ट्रिय एकतालाई बलियो बनाइनेछ, सबै राजनीतिक पार्टीसँग लोकतान्त्रिक सम्बन्धका आधारमा न्यूनतम राष्ट्रिय सहमति स्थापित गरिनेछ, विदेश सम्बन्धलाई पारदर्शी र स्वाधीनतामा आधारित बनाइनेछ । नागरिकका मागप्रति सरकारलाई सहिष्णु र सहानुभूतिशील बनाइनेछ ।

    यस सन्दर्भमा नेकपाले दुइटा ऐतिहासिक भूमिका पूरा गर्नेछ– एक, ७० वर्षको शासकीय अस्थिरतापछि पहिलोपटक स्थिरताका साथ लोकतान्त्रिक विकासको सम्भावनालाई नेकपाको सरकारले यथार्थमा रूपान्तरण गर्नेछ ।

    दुई, एक सय वर्षको दुनियाँको इतिहासमा निर्वाचनद्वारा संसद् र सरकारमा सर्वाधिक बलियो बनेको कम्युनिस्ट पार्टीले समाजवाद ल्याउँछ भन्ने कुरालाई सिद्धान्त र व्यवहारमा स्थापित गर्नेछ ।

    नार्सिसस्को बाटोका लागि नेकपाले केही नगरे पुग्छ, आत्मरतिमा रमाइरहे पुग्छ, जे गर्नुछ, अरूले नै गरिदिन्छन्, अरू नै हिँडिदिन्छन् । फिनिक्सको बाटो आफैले हिँड्नुपर्छ, हिँडेको अभिनय गरेर हुँदैन, प्रमाणित गर्नुपर्छ ।

    नेपाल: कहाँ छ सङ्कट?

    माक्र्सवादी साहित्यमा उत्पादक शक्ति भनिने अवधारणा मूलभूत रूपमा श्रमजीवी जनगण हो । यो दन्त्यकथाको यस्तो महावीर–दैत्य हो, जसलाई कज्याउन सक्दा पहाड–पर्वत सम्याउँछ, ठूलठूला नदीमा बाँध हाल्छ, समुद्रमा बस्ती बसाल्छ, रेल–रकेट कुदाउँछ ।

    त्यो क्रुद्ध भयो भने विशाल साम्राज्यका किल्ला गल्र्याम–गुर्लुम ढलाउँछ, शासक–सत्तालाई धुलोपिठो पार्छ, आफ्ना अगाडि आउने सबै चिज भत्काउँछ । माक्र्सका अनुसार श्रमजीवी जनता आफ्नो जिन्दगीसँग असन्तुष्ट हुनथालेपछि र नयाँ जिन्दगीको खोजीमा आङ तन्काउन थालेपछि पुरानो समाजका सत्ता, कानुन, रीति–परम्परा, सोच–विचार चर्मराउन थाल्छन् ।

    संसारको इतिहासले त्यही भन्छ । राजा महेन्द्रले केही समय अलमल्याएको त्यो दैत्यले वीरेन्द्रलाई हरायो र बहुदल ल्यायो, त्यसैले २०४७ सालको प्रजातन्त्र खायो । त्यही शक्ति हो, जसले माओवादीलाई असाधारण हर्षबढाइँका साथ सिंहदरबार पुर्‍यायो, २०६४ सालमा नेकपा एमालेलाई भुइँमा पछार्‍यो । फेरि त्यसैले २०७० सालमा माओवादीलाई जोरलात्ती हान्यो ।

    २०७४ सालको निर्वाचनमा वाम गठबन्धनलाई जिताउने र नेपाली काङ्ग्रेसले इतिहासमा कहिल्यै नखाएको झापड हानेर मिल्काउने महावीर दैत्य–शक्ति पनि त्यही हो । आज त्यही शक्ति नेकपाको सरकारका अगाडि उभिएको छ, नेकपाले उसलाई नयाँ जिन्दगी दिनेछ भन्ने आशा र विश्वासका साथ ।

    मानिस आफ्नो सुविधाका लागि बगेको खोला फर्किन्न भन्छन्, तर सङ्कट फर्किन्छ । भूमिसुधारबाट आन्तरिक पुँजी निर्माण गर्ने राजा महेन्द्रको घोषणा असफल भयो, औद्योगीकरणले खुट्टा नटेक्दा रोजगारीका नयाँ क्षेत्र खुलेनन्, व्यापार घाटा बढ्दै गयो, अर्थतन्त्रमा विदेशी ऋण–सहयोग बढ्दै गयो र त्यो पनि उत्पादक क्षेत्रमा लगानी भएन, भएकै लगानी पनि भ्रष्टाचार र अव्यवस्थाले प्रतिफल दिन सकेन ।

    यसले गर्दा नयाँ जिन्दगीको खोजीमा उठ्दै गरेका गुजारा कृषिमा आश्रित किसान, भूमिहीन, निम्न मध्यम वर्गको पल्टनले पञ्चायतलाई आफ्नो शत्रु देख्न थाल्यो । तर अर्थतन्त्र र राजनीतिमा दलाल पुँजीवादले जरा हाल्दै गयो, दरबार दलाल पुँजीवादको नेता बन्न थाल्यो । पञ्चायत दलाल पुँजीवादका कारिन्दाहरूको राजनीतिकसङ्गठनमा रूपान्तरित हुँदै गयो ।

    भत्किसकेको सामन्ती समाजबाट नयाँ औद्योगिक र लोकतान्त्रिक जीवनको खोजीमा निस्केको जनसङ्ख्याले आन्दोलनको बाटो लियो । अर्थात् महावीर जाग्न थाल्यो । उता राजाका कारणले नेपालमा आफ्ना सबै योजना लागु गर्न नसकेका भारत र पश्चिमी दुनियाँले पनि मौका पाए, आन्दोलनलाई साथ दिए । पञ्चायत ढल्यो ।

    २०४६ सालपछि सत्तामा आएको नेपाली काङ्ग्रेस राजाले सुरु गरेको दलाल पुँजीवादकै बाटोमा हिँड्न थाल्यो । पहिलेको मध्यम वर्गीय काङ्गेस पार्टी, जसमा समाजवादको आकर्षण थियो, क्रमशस् दलाल पुँजीवादी हुँदै गयो । विरोधबाट नतर्सिने, नडराउने, गर्नु–नगर्नु सबै गर्नसक्ने, समाजवाद, मूल्य, नैतिकता, आदर्शजस्ता रुढीग्रस्त विचारले प्रभावित नहुने विशुद्ध ‘आधुनिक’, ‘वैज्ञानिक’ जमात नेतृत्वमा भरिन थाल्यो । सरकार, संसद्, अदालत, कर्मचारितन्त्र सबै ठाउँमा तिनीहरूको वर्चस्व स्थापित हुँदै गयो ।

    कहीं कतै असन्तुष्टि थिए भने तिनीहरूलाई कोइराला परिवारका गिरिजाबाबुको शक्तिशाली नेतृत्वले ठिकठाक पारिदियो । प्रजातन्त्रका नाममा झुन्डयाइएका, निर्वासित भएका, जेल–नेल भोगेका, पञ्चायतको जत्थाको आक्रमणमा परेका काङ्ग्रेसीलाई अपमानपूर्वक पछिल्लो कित्तामा नधकेलिकन, उनीहरूलाई हुतिहारा घोषणा नगरिकन, दुनियाँका सामु समानता–न्याय–अनुशासनको खिल्ली नउडाइकन, पुरानो सङ्गठनको दोहोलो नकाढिकन नयाँ र ‘विश्व स्तरको प्रजातन्त्र’को इज्जत स्थापित हुन सक्दैनथ्यो ।

    त्यसका लागि नयाँ कीर्तिमानी काङ्ग्रेसीहरू चाहिन्थ्यो । तिनै काङ्ग्रेसले जे सोच्छन् वा जे गर्छन्, त्यही राष्ट्रियता, त्यही प्रजातन्त्र, त्यही समाजवाद हुँदै गयो । यसरी नेपाली इतिहासको एउटा ज्युँदो–जाग्दो पार्टी क्रमशस् विचारहीन, सिद्धान्तहीन, उद्देश्यहीन हुँदै गयो । जुन अनुपातमा पुरानो ‘प्रजातान्त्रिक समाजवादी’ नेपाली काङ्गेस मर्दै गयो, नयाँ दलाल पुँजीवादी काङ्ग्रेस झन्–झन् जवान हुँदै गयो ।

    नेपाली काङ्ग्रेसमा प्रजातान्त्रिक समाजवादमा विश्वास गर्नेहरू धेरै थिए । तर एकातिर पुराना समाजवादीहरूभन्दा नवउदारवादले भर्खर तालिम दिएका तन्नेरी रिकुटेहरूको पाल्कीमा बसेका गिरिजाबाबु बलिया हुँदै गए, अर्कातिर ‘समाजवादको इतिहास मरिसक्यो’ भन्ने बोलको अन्तर्राष्ट्रिय गीतमा घन्केका गगनभेदी स्वरले ती समाजवादीहरू किंकर्तव्यविमुढ भए ।

    नवउदारवादको यार्चागुम्बा खाएर सिंहदरबारमा चैतेहरूले छाती तन्काउन थालेपछि नेपालीकाङ्ग्रेसको ऐतिहासिक प्रगतिशील भूमिका अन्त्य भैसकेको थियो । जुन कारणले नेपालको इतिहासमा राजतन्त्रले आफ्नो औचित्य समाप्त गरेको थियो, त्यही ठाउँमा नेपाली काङ्ग्रेस आइपुग्यो । त्यसपछि उसका अगाडि ओरालो बाटोमात्रै बाँकी रह्यो ।

    आज नेपाली काङ्ग्रेस श्रीमान देउवाको नालायकीका कारणले मात्रै अचानक भुइँमा पछारिएको होइन, बरु स्वयं नेपाली काङ्ग्रेसका नालायकीका वैध सन्तानका रूपमा देउवाजी नेता भएका हुन् । अब के कुरा ढुक्कसँग भन्न सकिन्छ भने अहिलेको बनिबनाउ नेपाली काङ्ग्रेस फेरि ब्युँतिन्न ।

    विश्व विजेता ठानिएको बजार अर्थतन्त्रको सडकमा नेपाली काङ्ग्रेसले आफूलाई पछारेको थाहा पाएपछि नयाँ जिन्दगी खोज्ने महावीर दैत्य क्रुद्ध भयो र २०४७ सालको प्रजातन्त्र नै मिल्काइदियो । नयाँ जिन्दगीका आकर्षक नाराबाट प्रभावित भएर त्यसले माओवादीलाई अगाडि राखेर विजय जुलुस निकाल्यो, तर त्यो पनि लामो टिकेन । भारतको नाकाबन्दी आफ्नै जीवन विरुद्ध भएको र त्यस विरुद्ध उभिएको देखेर त्यसले वाम गठबन्धनलाई बोक्यो । र आज कमरेड ओलीको नेतृत्वमा सरकार बनेको छ ।

    यसरी आज नेकपा राजा वीरेन्द्रकै गद्दीमा छ, गिरिजाबाबुकै शासनासनमा छ । हाम्रा अगाडि तिनैका सन्तानहरू छन्, जो गएका ४० वर्ष नयाँ जिन्दगी खोजी गर्दागर्दै मरेका थिए, आज विदेशी भूमिमा नारकीय जीवन बाँचेका छन्, देशभित्र पनि तन्नम गरिबी, अलगाव, विभेदमा परेका छन्, मानवीय जीवनको मर्यादाका लागि तड्पिरहेका छन् ।

    सङ्क्षेपमा, राजा र काङ्ग्रेससँग विकास र समृद्धिको सपना नभएर तिनको हरिविजोग भएको होइन, अनेकथरी विज्ञले तयार गरेका असाध्यै राम्रा योजनाहरू थिए । उदाहरणका रूपमा राजा वीरेन्द्रले हरेक नेपालीको प्रतिदिन खानाको क्यालोरी, वर्षमा कति मिटर कपडा, कति चौडा घर, कति आयु, कस्तो स्वास्थ्य र शिक्षाजस्ता सबै कुराको चित्र भएकाको एसियाली मापदण्ड बनाएका थिए ।

    लोकप्रिय प्रचारको कुरा गर्ने हो भने राजा महेन्द्रको गाउँफर्क जत्तिको व्यापक कुनै अभियान भएन होला, शक्तिशाली नेतृत्वको कुरा गर्ने हो भने गिरिजा जत्तिको शक्तिशाली को होला ? मुलुकको विकासका लागि राजा–काङ्ग्रेससँग सबै थोक थियो । तर विकासको सङ्गठन थिएन, पार्टी थिएन । उनीहरूले विकासका नाममा आफ्नो पार्टीलाई राज्य दोहन गरेर खाने केन्द्रदेखि गाउँसम्म फैलिएको दलाल पुँजीवादको कारिन्दा संयन्त्र बनाए । केही समय उनीहरूको जयजयकार पनि भयो । तर जब प्रलयको दिन आयो, ती सबै दुलामा पसिकेका थिए ।

    एच जी वेल्सको एउटा मार्मिक कथा छ, ‘प्रेमको मोती’ । एउटा राजकुमारले असाध्यै माया गरेकी राजकुमारीको मृत्यु हुन्छ । शोकसन्तप्त राजकुमारले प्रेयषीको सम्झनामा उनको लास मणिमाणिक्य जडित बाकसमा राख्छन् र त्यो बाकस राख्ने एउटा भव्य स्मारक बनाउन लगाउँछन् । बनाउँदै जाँदा त्यो स्मारक आफैमा यति भव्य बन्छ कि लासको बाकस त्यहाँ राख्दा स्मारकको भव्यता कम हुने भयो । शोकाकुल राजकुमार स्मारकको भव्यता रोज्ने कि प्रेयसीको लास भन्ने द्विविधामा पर्छन् । अन्ततस् राजकुमार स्मारकको सौन्दर्यका लागि लासको बाकस हटाउने निर्णय गर्न पुग्छन् । दलाल पुँजीवादको भव्यताले नेता र पार्टीलाई विस्तारै ख्वाउँदै–पिलाउँदै, नाच्दै–हसाउँदै आफ्नो दरबारको ढोकामा पुर्‍याउँछ, जहाँबाट हेर्दा आफ्नो उद्देश्य वा सिद्धान्तभन्दा दलाल पुँजीवादको तिरिमिरी जीवनको महानतम उपलब्धि लाग्छ । वस्तुतस् ‘प्रेमको मोती’ राजा–काङ्ग्रेसको उत्थान र पतनको कथा हो, दलाल पुँजीवादसँग लहसिने भविष्यका राजा–काङ्ग्रेसको पनि कथा हो ।

    कस्तो छ, नेकपा?

    सङ्गठनात्मक व्यवस्थापनको हिसाबले नेपालकै सबैभन्दा राम्रो पार्टी नेकपा एमाले थियो । आफ्नो सिद्धान्त जनताको बहुदलीय जनवाद भनेको चुनाव जित्नु हो, त्यसका लागि जनतासँग एकाकार हुनुपर्छ भन्दै जाँदा यो सङ्गठन जन्ती–मलामी जाने, पूजा–पाठ–स्वस्थानी व्रतकथा संगठित गर्ने, मन्दिर–गुम्बा–मस्जिद बनाउने, वन–पानी–विद्यालय उपभोक्ता समितिमा चुनाव जित्ने र गाउँ र संसदीय निर्वाचन जित्ने ध्याउन्नमा सीमित हुँदै गयो ।

    सङ्गठन जनतासँग एकाकार हुँदै गयो, तर माक्र्सवाद र जनताको बहुदलीय जनवादसँग छुट्टिँदै गयो । जनताको बहुदलीय जनवादबाट उसले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा मदन भण्डारीको ‘जीवनका लागि सिद्धान्त हुनुपर्छ, सिद्धान्तका लागि जीवन होइन’ थियो । मदन भण्डारीले त्यो कुरा मानव जीवनका सन्दर्भमा भनेका थिए ।

    समय क्रममा एमालेका नेता–कार्यकर्ताले जीवन भनेकोआफ्नो निजी जीवन बुझे र आआफ्नै जनताको बहुदलीय जनवाद बनाए र त्यो बुढाबुढी–केटाकेटी सबैलाई हुने च्यवनप्रासको विज्ञापनजस्तो हुँदै गयो । सामाजिक–राजकीय जिम्मेवारी निभाउने क्रममा माथिदेखि तलसम्मको एउटा हिस्सा ‘मह चाट्ने’ काममा अभ्यस्त हुँदै गयो, ठूलाले ठूलै हात चाटे सानाले साना हात । यसरी नेकपा एमालेको त्यो हिस्सा दलाल पुँजीवादको ड्राइभर–खलासी भैसकेको थियो ।

    नेकपा माओवादी केन्द्र सशस्त्र विद्रोहको अभ्यासबाट आयो । त्यो पार्टी दमन, उत्पीडन, शोषण, विद्रोह, विभेद, क्रान्तिजस्ता अवधारणामाथि बनेको थियो । सामाजिक रूपान्तरणका विषयले त्यो पार्टीका कार्यकर्ता अरू पार्टीभन्दा छिटो आकर्षित हुन्थे । मृत्यु नाचिरहेको माओवादी पार्टी र त्यसका सदस्य हरेक क्षण बाँच्नका लागि नयाँ–नयाँ विकल्पको खोजीमा अभ्यस्त भए । गर्दै जाँदा विकल्पमात्रै खोज्ने राजनीतिक संस्कार विकास हुँदै गयो । राम्रो–नराम्रो विचार गर्नै नपर्ने भयो, नयाँ भए पुग्यो ।

    त्यस अस्थिरताले गर्दा माओवादी पार्टीको राजनीतिक संस्कृति नै बनेन । ‘माक्र्सवाद–लेनिनवाद–माओवाद–प्रचण्डपथ’को असली भाष्य ‘जता भत्क्यो, त्यतै दैलो’ भयो । ‘पेसेवर क्रान्तिकारीहरूको’ ढाँचामा बनेको हुँदा नकमाउने तर राम्रै जिन्दगी बाँच्ने कला सिक्न तिनीहरूलाई धेरै समय लागेन । संक्षिप्तमा, ती दुवै पार्टीको एउटा हिस्सा एकीकरण दलाल पुँजीवादका मझेरीमा भैसकेको थियो ।

    यसको अर्को पाटो पनि छ । नेकपाको साङ्गठनिक संरचना चानेचुने कुरा होइन । आजको नेकपा संघीय र प्रदेश सरकारहरू, स्थानीय तह र संसद्मा करिब २० हजार जननिर्वाचित प्रतिनिधि, हजारौं सामाजिक, व्यावसायिक तथा पेसागत सङ्घ–संस्थामा यसको फैलावट, केद्रदेखि टोलसम्म झाङ्गिएको यसको पार्टी र जनसङ्गठनको संरचना, कुनै जिम्मेवारीमा नभए पनि आफूलाई पार्टीको जिम्मेवार कार्यकर्ता ठान्ने र जिम्मेवारी पूरा गर्ने हजारौं कार्यकर्ता र करिब ७ लाख सङ्गठित सदस्य, विदेशमा रहेका र अनेकन तरिकाले पार्टीलाई सघाइरहेका समर्थक–शुभचिन्तकको भीमकाय पार्टी हो र छ ।

    ‘वर्गशत्रु सफाया’देखि जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको लामो र कठिन तालिमबाट निस्केका, जनताकै लागि भनेर घरबार बिगारेका, आफन्त गुमाएका हजारौं कार्यकर्ता र तिनलाई माया गरेका, तिनको भोकतिर्खा देखेका लाखौं समर्थक–शुभचिन्तकको पङ्क्ति छ । पार्टीको एउटा उद्देश्य, एउटै कार्यभार र एउटै नाराको झण्डामुनि ती सबैलाई समेट्न सक्दा अजस्र शक्ति उत्पन्न हुन्छ ।

    भनिएझैं नेकपा एमालेको सङ्गठनात्मक व्यवस्थापन र नेकपा माओवादी केन्द्रमा बाँकी रहेको रूपान्तरणकारी चेतनालाई एकैठाउँमा ल्याएर परिचालित गर्दा ५/१० वर्षमा यस मुलुकमा असाधारण परिवर्तन सम्भव छ । त्यसरी मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ सम्भव हुन्छ ।

    कुन बाटो हिँड्छ?

    नेकपाको यो विराट शक्तिलाई एउटा सुस्पष्ट सिद्धान्त वा विचार–शृङ्खला र जनवादी पार्टी पद्धति बाहेक गुट, गुटको नेता कुनै पनि चिजले एकीकृत गर्न सक्दैन । रुमाल हालेर परेवा निकाल्ने जादु हेरेर हुर्केका हामीमध्ये कैयौंलाई समृद्धिको सिद्धान्त हुन्छ, सङ्गठन हुन्छ भन्ने कुरा मन पर्दैन । तर कुरा त्यही हो ।

    हाम्रो समाज, वर्ग, तिनका स्थार्थ, राज्यसत्ता, राजनीतिमा आइरहने सङ्कटजस्ता प्रश्न र तिनको समाधानको समाजवादी प्रस्ताव सबैभन्दा राम्रोसँग माक्र्सवादले नै दिन्छ । नवउदारवादका हिजोका प्रवक्ताहरूसमेत अहिले कुनै न कुनै खालको समाजवादको कुरा गर्न थालेका छन् । र ती सबैले अहिलेको वर्चस्वशाली आर्थिक चरित्रको विकल्प खोज्न थालेका छन् ।

    यसरी अहिलेको दलाल पुँजीवादका ठाउँमा उत्पादकरराष्ट्रिय पुँजी विकास गर्ने र उत्पादित राष्ट्रिय वैभवको न्यायपूर्ण वितरण गर्ने र समाजवादको तयारी गर्ने कुरामा पनि प्रायस् सहमति छ । यस विचार–शृङ्खलालाई माक्र्सवादी सिद्धान्तको ढाँचामा व्याख्या गरेर नेकपाले ‘राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने’ कार्यभार निर्धारण गरेको हो । त्यस्तो पार्टी–सिद्धान्तले ‘काम गर्न सक्नेलाई काम र नसक्नेलाई संरक्षण’को प्रत्याभूति गर्ने राज्यको परिकल्पना गर्छ ।

    त्यस्तो राज्य निर्माणको कार्यभार बोक्नेसङ्गठनले मात्रै नेकपालाई राजा–काङ्ग्रेसबाट छुटयाउँछ । त्यसो गर्न नसक्दा नेकपाको सङ्गठन पनि राजा–काङ्ग्रेसको जस्तै हुनेछ, राष्ट्रिय ढुकुटीमा जुकाझैं टाँसिएको परजीवी सङ्गठन! स्वर्गको ठेगाना, नर्कको बाटो! फेरि अस्थिरता ! फेरि महावीर दैत्यको रौद्र ताण्डव!

    राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्ने पार्टी कस्तो हुन्छ भन्नेबारे हामीले बेला–बेला चर्चा गर्दै आएका छौं । त्यसका तीनवटा मुख्य विशेषता हुन्छन्– एक, हरेक सदस्य आफ्नो उत्पादनमा बाँच्छन् ।

    दुई, ती सबैले राज्यलाई कर तिर्छन् । तीन, आफूले कर तिरेर चलेको राज्य हो भन्ने सचेत दाबीका साथ ती सबैले राज्यलाई श्रमजीवी, पिछडिएका, दलित, जनजाति, महिलाप्रति जिम्मेवार हुन दबाब दिइरहन्छन् ।

    हरेक सदस्य आफ्नै कमाइमा बाँच्ने कुराले पार्टीलाई भ्रष्टाचारबाट मुक्त गर्ने आधार दिन्छ । आफै करदाता हुने भएको हुँदा हरेक सदस्य आर्थिक अनियमितताप्रति जागरुक भैरहन्छ, राज्यप्रति नागरिक दायित्व स्थापित गर्छ । राज्यले लिने करको उपयोग श्रमजीवी वर्गको पक्षमा छ वा छैन भन्ने कुरामा पार्टी सदस्यको प्रत्यक्ष संलग्नताले उसलाई सबै प्रकारका सामाजिक विभेद विरुद्ध सक्रिय राख्छ । त्यस्तो सक्रियताले सदस्य र कमिटीहरूलाई माक्र्सवादी बनाइरहन्छ ।

    स्थानीय तहले राष्ट्रिय पुँजी र न्यायपूर्ण वितरणका लागि आआफ्नो क्षेत्रमा काम गर्छन् । प्रधानमन्त्री, मन्त्री, सांसद, मुख्यमन्त्री, नगर र गाउँपालिकाका पदाधिकारीले सम्बन्धित तहका पार्टीका योजना अनुसार आआफ्नो तहको जिम्मेवारी बहन गर्छन् ।

    गाउँ–नगरसम्मका पार्टी कमिटीमा हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वातावरण कसरी सप्रिन्छ, सामाजिक विभेदहरू अन्त्य कसरी हुन्छन् जस्ता एजेन्डामाथि छलफल हुन्छ । पार्टीमा गुटका नेताको आशिर्वाद महत्त्वहीन हुँदै जान्छ, सबै सदस्य चाकरीमा होइन, आफ्नै कर्ममा विश्वास गर्न थाल्छन् । र चुनावका टिकट वितरण, ठेक्का वा पदको वितरण र बढीमा चियापान कार्यक्रम आयोजनामा खुम्चिएको अहिलेको पार्टी जीवन्त पार्टी–समृद्धिको राजनीतिक सङ्गठनमा रूपान्तरित हुन्छ ।

    त्यस्तो पार्टीले नेतृत्व गरेपछि राज्यका अन्य निकाय र कर्मचारीतन्त्रले भ्रष्टाचार गर्न सक्दैन, मुलुकमा वास्तविक सुशासन आउँछ । सार्वजनिक, निजी र सहकारी लगानीको उपयुक्त वातावरण बन्छ । उत्पादन बढ्छ र सबै क्षेत्र र जातजातिका नागरिकको जीवनस्तर बढ्छ । सबैतिर फैलिएको बलियो सङ्गठन र राज्यको संरक्षणले कसैले हल्लाउनै नसक्ने बलियो नेपाली राष्ट्रियता सम्बद्र्धन हुँदै जान्छ ।

    त्यस्तो पार्टीका जनसङ्ठन पनि रूपान्तरित हुन्छन् । पढ्नेहरूको सङ्गठन विद्यार्थी सङ्गठन हुन्छ, अगुवा अनुसन्धाताको बुद्धिजीवी सङ्गठन हुन्छ, युवाको उत्पादक क्षमता बढाउन विभिन्न अभियान चलाउने नौजवानको युवा सङ्गठन बन्छ । महिला सङ्गठनले किशोरी–युवतीलाई आफ्नै खुट्टामा बाँच्न सक्ने, सामाजिक–राजनीतिक क्षेत्रमा नेतृत्व गर्न सक्ने बनाउन थाल्नेछ, पढाउनेहरूको सङ्गठन शिक्षक सङ्गठन हुनेछ । पत्रकारिता गर्नेहरूकै पत्रकार सङ्गठन हुनेछ । सेवा दिने क्षमता वृद्धि गर्नु कर्मचारी सङ्गठनको एकमात्र काम हुन्छ ।

    घुँडा टेक्ने–टेकाउने वा प्रसस्ति लेख्ने–लेखाउने प्रचलनका ठाउँमा सांस्कृतिक सङ्गठनले मान्छेको स्वतन्त्रता र गरिमा, श्रमको सिर्जना र मर्यादा, लोकतन्त्र र समानताको महत्ताको प्रगतिशील संस्कृति निर्माणमा योगदान गर्छ । र यसरी आजको तेस्रो विश्वमा समाजवाद उन्मुख बलियो लोकतान्त्रिक नमुना नेपाल राज्यको निर्माण हुन थाल्नेछ ।

    अन्त्यमा,
    माक्र्सले दर्शनशास्त्रमा गरेको एउटा महान योगदान के हो भने उनले इतिहास कस्तो छ, भविष्य कस्तो हुन्छ भन्ने प्रश्नको अकाटय र असाध्यै सजिलो उत्तर दिए– मान्छेले जस्तो बनाए इतिहास त्यस्तै बन्यो, मान्छेले जस्तो बनाउँछन् भविष्य त्यस्तै बन्छ । नेकपा नार्सिसस्को बाटो हिँड्ला कि फिनिक्सको बाटो भनेर सोधिएको भए माक्र्सले निस्सन्देह भन्ने थिए– यो प्रश्न तिनीहरूलाई नै सोध, उनीहरू कुन बाटो हिँड्न चाहन्छन् ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      घनश्याम भूसाल

      घनश्याम भूसाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.