सरप्राइज’
तपाईंले शुभकामना पठाउनु भो
परेडमा हिड्न उर्दी जारी नगरी
रेडियोमा, टेलिभिजनमा
जताततै छरिए
‘श्रमिक दिवस’का शुभकामना,
म भने राहतको खोजिमा चोक-चोक,गल्ली-गल्ली भौतारिदै थिए।
तपाईंका शुभकामना सन्देशहरु
घन्कदै थिए रेडियोबाट, टेलिभिजनबाट
म, ‘श्रमिक दिवश विशेष मान्छे’
राहतको लाइनमा बसेर सुन्दै थिएँ
सधैं झैं सुने
‘हाम्रा’ दिनहरु आउनेछन्
त्यसपछि,
तपाईंको हामीभित्र आफुलाइ खोजे,
धेरैबेर खोजिरहे
यसरी घोत्लिनुको कारण हो-‘हाम्रो विगत’
‘म’ हरु तपाईंहरुका संगतिया भएको बिगत
संगतिया भएर लडिएको बिगत
संगतिया भएर गरिएको उकाली-ओराली
संगतिया भएर फेरिएको ब्यवस्था
संगतिया भएर जितेको लडाइ
तर,
जब हामीले सँगै जित्यौं
तपाईं हुलको अघि पुग्नु भो
जहाँ पुग्नु नै थियो तपाई एकदिन
बस! मेरो भूल यति मात्र हो कि
म आफ्नो सपनाहरू तपाईंका कर्महरुमा खोज्न थाले
हो,
आफ्नो सपनाहरू तपाईंलाई सुम्पिएर भूल गरे
बदलिदो ब्यवस्थाका कारण तपाइको ओहोदा मात्र बदलिएन,
हाम्रो सम्बन्ध पनि बदलिएको हो
यो सब नबुझेरै भुल गरे
तपाईं दिने, म लिने
तपाईं मालिक,म याचक
थापीरहेको छु
‘श्रमिक दिवस’ को शुभकामना
मानौ, तपाईंले दिनु हुन्छ र मैले थापिरहनु पर्छ ।
यही ठानेर नै, नबुझेरै भूल गरें
मेरो सपनाभन्दा तपाईको दुनिया ठूलो हो
मेरो सपनाभन्दा तपाईंको दुनियाँ ठूलो हो
ब्यवस्था फेरिदा किन पो मेरो जीवन फेरिन्थ्यो र !
म उस्तै छु
म मुक्त छैन
मेरा काँधले तपाईंको शुभकामना थाम्न सकिरहेका छैनन्
हो, प्रीयजनहरुको शुभकामना थाप्न असमर्थ छु यतिबेला
आफ्नै जीवन धान्न ब्यस्त छु यतिबेला
हाम्रा मनका खाता खोलिएकै छैनन्
नखोलिएको खातामा तपाईंको शुभकामना राख्न सकिदैन
‘सरप्राइज’
तपाईंले शुभकामना पठाइदिनु भएछ
मेरा काँधले तपाईंको शुभकामना थाम्न सक्दैनन्
परिवर्तित व्यवस्थामा नखोलिएको खातामा
तपाईंको शुभकामना राख्न सकिदैन।
मई २, २०२०