भारतमा साम्प्रदायिकताको कुरा आउनेबित्तिकै हामी हिन्दू–मुस्लिम सम्बन्धमा आपसी द्वेष एंव घृणालाई सम्झिन्छौँ। हिन्दू मुस्लिम विरोधलाई समाप्त पारेर नै भारतमा साम्प्रदायिक समस्याको समाधान हुन्छ भन्ने हाम्रो आशय हुन्छ। वास्तवमा भारतमा सम्प्रदायको अर्थ हिन्दू–मुस्लिम धर्म विभाजनसँगै जोडिएको छ, जुन १४–१५ अगस्ट १९४७ को भारत – पाकिस्तान विभाजनसँग प्रत्यक्ष जोडिएको छ।
१९१४–१५ का शहीदहरूले धर्मलाई राजनीतिसँग अलग गरिदिएका थिए। उनीहरू धर्म व्यक्तिगत मामला भएको र यसमा दोस्रो व्यक्तिले दख्खल दिन नहुने भन्ने कुरामा विश्वास राख्थे। धर्मलाई राजनीतिमा घुसाउनु हुँदैन भन्ने उनीहरूको मान्यता थियो। किनकि धर्मले समस्त भारतीय जानतालाई एकठाउँमा मिलेर काम गर्न दिँदैन। यसकारण गदर पार्टीको जस्तो आन्दोलन एकजुट भयो। जसमा सिखहरू फाँसिमा चढे र हिन्दू मुसलमान पनि पछि रहेनन्।
मुस्लिम सेनानीहरू
यदि धर्मलाई हामीले अलग गरिदियौँ भने राजनीतिमा हामी सबै एकजुट हुन सक्छौँ। धर्ममै रहँदा भने हामी अलग–अलग नै रहन्छौँ। इतिहासका पानामा अनगिन्ति भारतीय मुस्लिमहरू छन्, जसले स्वतन्त्रता संग्राम सेनानीका रूपमा आफ्नो नाम दर्ज गराए र भारतीय स्वतन्त्र आन्दोलनमा हिन्दू स्वतन्त्र योद्धाहरूका साथसाथै लडेर बहुमूल्य योगदान दिए।
अंग्रेजविरुद्ध भारतको संघर्षमा अनेक मुस्लिम क्रान्तिकारीहरू, कविहरू र लेखकहरूको योगदान उल्लेखनीय छ। तितु मीरले ब्रिटिश सरकारविरुद्ध विद्रोह गरेका थिए। मौलाना अबूल कलाम आजाद, हकीम अजमल खान र रफी अहमद किदवई पनि यस संघर्षमा सामेल थिए।
शाहजहांपुरका अशफाक उल्ला खानले काकोरी (लखनऊ) मा रहेको ब्रिटिश राजकोषलाई लुट्ने योजना बनाएका थिए। भोपालका बरकतुल्लाह विद्राही पार्टीका सैयद शाह रहमतले फ्रान्समा एक भूमिगत क्रान्तिकारीका रुपमा काम गरे र सन् १९१५ मा असफल गदर(बिद्रोह) मा उनको भूमिकाका लागि उनलाई फाँसीको सजाय दिइयो।
फैजाबाद (उत्तर प्रदेश) का अली अहमद सिद्दीकीले जौपुरका सैयद मुजतबा हुसैनका साथ मलाया र बर्मामा भारतीय विद्रोहको योजना बनाए र सन् १९१७ मा उनलाई फाँसीमा झुण्डाइयो। केरलका अब्दुल वक्कोम खदिरले सन् १९४२ को ‘भारत छोडो’ आन्दोलनमा भाग लिए र सन् १९४२ मै उनलाई फाँसीको सजाय दिइयो।
उभर सुभानी मुम्बईका एक करोडपति उद्योगपति थिए। उनले गान्धी र कांग्रेस स्वतन्त्रता संघर्षका लागि आर्थिक सहयोग गरेका थिए र अन्ततः उनले स्वतन्त्रता आन्दोलनमा आफ्नो ज्यानको बलिदान गरे। मुसलमान महिलाहरूमा हजरत महल, असगरी बेगम, बाई अम्माले ब्रिटिश शासनका विरुद्ध स्वतन्त्रताको संघर्षमा महत्वपूर्ण योगदान दिए।
खान अब्दुल गफ्फार खान (उनी सीमान्त गान्धीका रूपमा प्रसिद्ध छन्) एक महान राष्ट्रवादी थिए, जसले ९५ वर्षको जीवनकालमा ४५ वर्ष त जेलमै बिताए। अफसोच, आज हामी आफ्ना शहीदहरूको योगदानलाई सम्झिरहेका छैनौँ।
अंग्रेजहरूबाट साम्प्रदायिकताको बिउ
यसपछि राष्ट्रिय राजनीतिक चेतनाका बहसमा साम्प्रदायिक दंगामाथि लामो छलफल चल्यो। साम्प्रदायिकतालाई समाप्त गर्नुपर्ने आवश्यकता सबैले महशुस गर्छन्। कांग्रेसी नेताहरूले हिन्दू–मुस्लिम नेताहरूबीच सम्झौता गरेर दंगालाई रोक्ने प्रयास गरे।
हिन्दू–मुस्लिम वैमनस्यता बढाउन सुरुमा अंग्रेजहरूको योजनाबद्ध रणनीतिले भूमिका खेल्यो। अंग्रेजहरूले यो रणनीति हिन्दू र मुसलमानलाई प्रदान गरिने जिम्मेवारी, शिक्षा र संस्कृतिलाई उपयोग गरेर सम्पन्न गरे। अंग्रेज आफ्नाविरुद्ध भारतीयहरूको विद्रोही भावनालाई निस्तेज पार्न चाहन्थे, त्यसैले उनीहरूले साम्प्रदायिकताको बिउ रोपे। यसपछि कट्टर हिन्दूवादीहरूले पनि आफ्ना गतिविधिलाई अझै तेज बनाए।
योद्धाहरूको वक्तव्य
भारतीय क्रान्तिकारी आन्दोलनका योद्धाहरूले साम्प्रदायिक दंगाविरुद्ध आफ्नो विचार प्रस्तुत गरेका थिए। शहीद भगतसिंह र उनका साथीहरूको वक्तव्य जून, १९२८ मा ‘किरती’ मा छापिएको थियो। यसको केही अंश यहाँ उदृत छ–
“धर्मले हिन्दुस्तानको गतिलाई बर्बाद पारिदियो। थाहा छैन, धार्मिक दंगाले भारतवर्षको कहिले पिछा छोड्ने हो, थाहा छैन। यस दंगाले संसारको नजरमा भारतलाई बदनाम गरिदिएको छ। र, हामी देखिरहेका छौँ कि यस अन्धविश्वासको बहावमा सबै मान्छे बगेका छन्। कोही त्यस्ता हिन्दू, मुसलमान वा सिख बिरलै होलान, जो आफ्नो दिमागलाई ठन्डा राख्छन्।
बाँकी सबैले आफ्नो ‘धर्म’लाई बचाउन भन्दै डण्डा, लाठी, तलवार र छुराजस्ता हतियार समातेका छन् र आपसमा टाउको फुटाउने मात्रै होइन, ज्यान लिन पनि पछि पर्दैनन्। कोही फाँसीमा चढ्न पनि तयार छन् भने कोही जेलमा जीवन बिताउन तयार छन्। यति रक्तपात हुँदा यी ‘धर्मजनहरू’ माथि अंग्रेज सरकारको डण्डा वर्षिन्छ र फेरि यिनको दिमागको ‘किरा’ ठेगानमा आउँछ। यहाँसम्म देखियो कि यी दंगाहरूको पछाडि साम्प्रदायिक नेताहरू र अखबारहरूको समेत हात छ।
यस समय हिन्दूस्तानका नेताहरूले यस्तो नेतृत्व गरे कि अहिलेलाई चुप रहनु नै भलो हुन्छ। त्यही नेता जसले भारतलाई स्वतन्त्र गराउने बीडा आफ्नो टाउकोमा उठाएका थिए र जो ‘समान राष्ट्रियता’ र ‘स्वराज्य–स्वराज्य’ को नारा दिएर थाक्दैनथिए, तिनै नेता आज कि आफ्नो शिर लुकाएर चुपचाप बसेका छन् या यसै धर्मान्धताको बहावमा बहन्छन्।
यस्तो अवस्थामा शिर लुकाएर बस्नेहरूको संख्या पनि कम छैन। तर, साम्प्रदायिक आन्दोलनमा मिसिएका नेताहरूको खोजी गर्ने हो भने सयौं निस्किन्छन्। हृदयबाट नै सबैको भलो चाहने नेता धेरै कम छन्। र, साम्प्रदायिकताको बाढी यति प्रबल भएर आयो कि यि केही नेताले चाहेर पनि रोक्न सकेनन्। यस्तो लागरिहेको छ कि भारतको नेतृत्व असमर्थ बनिरहेको छ।
दोस्रो प्रकारका मानिसहरू साम्प्रदायिक दंगालाई भड्काइरहनमा विशेष भूमिका खेल्छन्, ति हुन्, अखवारवाला। पत्रकारिताको व्यवसायलाई कुनै समय उच्च सम्मान दिइन्थ्यो, तर आज यसको छवि धमिलिँदै गएको छ। अखवारहरूमध्ये केहीले आफ्ना ‘बोल्ड’ शिर्षकहरूबाट मानिसहरूको भावनालाई भड्काउने काम गर्छन्।
स्थानीय अखबारहरूले उत्तेजनापूर्ण खबर लेखिदिएकै कारण एक दुई ठाउँमा मात्रै होइन, धेरै ठाउँमा साम्प्रदायिक दंगा भइरहेका छन्। दंगा भइरहेको यस्तो समयमा दिल र दिमाग शान्त राखेर लेख्ने लेखक÷पत्रकार धेरै कम हुन्छन्। अखबारको असली कर्तव्य शिक्षा दिनु, मानिसहरूबाट संकीर्णता निकाल्नु, साम्प्रदायिक भावनालाई हटाउनु, परस्पर मेल–मिलाप बढाउनु र भारतको साझा राष्ट्रियता बनाउनु हो।
तर अहिलेको समयमा यिनको कर्तव्य अज्ञानता फैलाउनु, संकीर्णताको प्रचार गर्नु, साम्प्रदायिक बनाउनु, लडाइँ–झगडा गराउनु र भारतको साझा राष्ट्रियतालाई नष्ट गर्नु बनेको छ। यही कारणले भारतवर्षको वर्तमान अवस्थामाथि विचार गर्दैगर्दा आँखाबाट रगतको आसु बग्न थाल्छ र मनमा सवाल उठ्छ, ‘भारतमा के हुनेवाला छ ?’
ब्रिटिसविरुद्धको असहयोग आन्दोलनका दिनमा आपसी मेलमिलाप र जोश जाँगरलाई सम्झिने मानिसहरू आजको यो स्थिति देखेर रुन थाल्छन्। उनीहरू भन्छन्– ‘ती दिनमा स्वतन्त्रताको झलक आफ्नै अगाडि देखिन्थ्यो, तर आज यस्तो दिन आयो कि स्वराज्य एउटा सपना मात्र बन्यो।’ यस दंगाबाट कसैलाई लाभ मिलेको छ भने, ती अत्याचारीहरू नै हुन्। जसको अस्तित्वलाई खतरा थियो, आज त्यही नोकरशाहीले आफ्नो जरा यति मजबुद बनाएर गाडेको छ कि यसलाई हल्लाउन अब सामान्य बलले केही गर्न सक्दैन।
यदि यी साम्प्रदायिक दंगाहरूको जरा खोतल्ने हो भने हामीले आर्थिक कारणलाई नै भेट्टाउने छौँ। अंग्रेज सरकारविरुद्ध असहयोगको आन्दोलनका दिनमा नेता तथा पत्रकारहरूले धेरै योगदान दिए। सहयोगकै कारण उनीहरूको आर्थिक अवस्था बिग्रिएको थियो।
असहयोग आन्दोलन सुस्त हुनुको कारण नेताहरूमाथिको अविश्वास हो। जसका कारण धेरै साम्प्रदायिक नेताहरूको धन्धा चौपट भयो। हामीकहाँ त्यस्तो कुनै कानून छैन, जसले कुनै घटना घट्नुभन्दा पहिले नै त्यसलाई रोक्छ या दण्डित गर्छ। यहाँ घटना भइसकेपछि मात्रै कानूनको काम सुरु हुन्छ।
वास्तवमा भारतका आम मानिसहरूको आर्थिक अवस्था पनि बिग्रँदै गइरहेको छ। अहिले यहाँ एक व्यक्तिले अर्कोलाई थोरै धन राशि दिएर पनि अरुको अपमान गर्न सक्छ। भोक र दुःखबाट आतुर भएर मानिस आफ्ना सबै सिद्धान्त दाउमा राखिदिन्छ। एउटा भनाई छ –‘ मरता क्या न करता’ अर्थात् एउटा हार खाइसकेको मानिस जस्तोसुकै काम गर्न पनि तयार हुन्छ।
तर वर्तमान स्थितिमा आर्थिक अवस्था सुधार हुन अत्यन्त कठिन छ। किनकि विदेशी सरकार छ, त्यस सरकारले मानिसको स्थितिलाई सुधार्न दिँदैन। यसकारण मानिसहरू हात धोएर यिनको विरुद्ध लाग्नुपर्ने छ। र, जबसम्म सरकार बदलिँदैन, चैनको सास फेर्न पाइँदैन। मानिसहरूबीचको परस्पर लडाइँ रोक्नका लागि वर्ग–चेतनाको जरूरत छ।
रुसको इतिहास जानेकाहरूलाई थाहा छ, त्यहाँ जारको शासनकालमा पनि यस्तै समस्या थियो। त्यहाँ पनि केही समुदायबीच परस्पर लडाइँ झगडा हुने गथ्र्यो। तर, श्रमिक–शासन सुरु भएको दिनदेखि रुसको ‘नक्शा’ नै बदलियो। फेरि त्यहाँ कहिल्यै दंगा भएन।
धर्म, जाति र लिंगसम्बन्धी श्रेष्ठताको मानसिकता हाम्रो साम्प्रदायिक भावनालाई बढाउनका लागि जिम्मेवार छ। श्रेष्ठताको मानसिकता दोस्रो मानिसको अस्तित्वलाई स्वीकार गर्न चाहँदैन। यदि तथाकथित श्रेष्ठले कसैको अहंमा ठेस पु-याउँछ भने त्यहाँ साम्प्रदायिकता सुरु हुन्छ। धर्म, जाति र लिंगसम्बन्धी श्रेष्ठताको मानसिकता एक सामन्ती मनोवृत्ति हो। यो समानताको भावना विपरीत छ र यो मनोवृत्ति धेरै धार्मिक सम्प्रादायहरूमा छन्।
समकालीन दुनियाँमा यी सबै समानान्तर रूपमा सक्रिय छन्। यी सबै ‘धर्म’मा स्वर्गको कल्पना गरिएका छन्। बौद्ध धर्मलाई छोडेर लगभग सबैमा आ–आफ्नै किसिमको ईश्वरको कल्पना गरिएको छ। तर ईश्वर, देवी–देवता, स्वर्ग र कर्म–काण्डको धारणा तथा विधि सबैको अलग–अलग छ।
धर्म जुन भौगोलिक र ऐतिहासिक परिस्थितिबाट जन्मिएको हो, उसैबाट प्रतिमा, कल्पना, मूल्य, विश्वास र रीति–रिवाज लिएर आएको हुन्छ। उदाहरणका लागि विश्वको उत्पत्तिसँग सम्बन्धित धारणालाई लिऔँ। वेदमा उत्पत्ति सम्बन्धि धेरैँ धारणाहरू छन्। कहीँ जललाई मूल तत्व मानिएको छ, कहीँ ब्रह्म या कहीँ आत्मालाई।
पौराणिक कालदेखि नै उपनिषद्वाला निराकार ब्रह्मको ठाउँमा निश्चित रूप–रेखावाला ब्रह्मालाई नै विश्वकै अभिभावक बनाइएको छ। बुद्धका अनुसार संसारको उत्पत्ति ‘अविद्या’बाट भयो। बाइबलमा ईश्वरले सात दिनमा सारा विश्वको रचना गरेको बताइएको छ। त्यसैले सारा धर्म, धारणा, विश्वास र कर्म–काण्डको अलग ढाँचा छन् र एकै धर्मका भिन्न सम्प्रदाय पनि परस्पर भेद राख्छन् भन्ने कुराको प्रमाण दिन यी उदाहरणहरू काफी छन्।
धार्मिक अन्धताले कसैलाई अनुभव, बुद्धि, विकेक र प्रयोगको अनुमति दिँदैन। तर विवेकले धर्मको धारणालाई समेत प्रश्न गर्छ र विज्ञानले जस्तै सार्वभौम निष्कर्षमा पुर्याउँछ। धर्मले आफ्ना अनुयायीहरूमार्फत आफ्नो मतलाई जस्ताको तस्तै स्वीकार गर्न आग्रह गर्छ। एउटा धर्मले अर्को धर्मको भिन्न धारणाप्रति सन्देह, उपेक्षा र निषेधलाई अपनाउँछ। यसरी धर्म परस्पर एकांगीपन, संकीर्णता र यस हदसम्मको साम्प्रदायिकताको दृष्टिकोण बनाइराख्छ।”
धर्मः आध्यात्मिक कवच
कवि गोरख पाण्डेका अनुसारः
‘धर्मले हजारौं वर्षदेखि वर्ग र वर्णमा विभाजित समाजको आध्यात्मिक कवचको काम गर्दै आइरहेको छ। अभाव, दुख र पराधीनताको शिकार रहेका आम जनताका लागि यो आशाको केन्द्रबिन्दुका रूपमा रहेको छ। जब तमाम श्रम गर्नुका बावजूद जनता यस समाजमा सुख र मुक्तिको कुनै उपाय देख्दैनन्, प्राकृतिक तथा सामाजिक शक्तिको अगाडि निसहाय महशुस गर्छन्, तब एक यस्तो लोकको कल्पना गरिन्छ, जहाँ मानिस रमाउन बाध्य हुन्छ, जहाँ सुख र स्वतन्त्रताको अतिरञ्जित सम्भावनाहरू हुन्छन्।
असहाय मानिसको सारा प्रतिबन्धित इच्छाहरू, सारा आशाहरू र सारा सपना धार्मिक चेतनामा केन्द्रित हुँदै बनेका हुन्छन्। धार्मिक चेतनाविरुद्ध कुनै प्रकारको प्रहार, जीवनको सारा वाञ्छित इच्छा, आशा, विश्वास र सपनाको केन्द्रबिन्दुमाथि र यस प्रकारको पूरा जीवनमाथिकै प्रहार जस्तो लाग्छ।
यो स्थिति उत्तेजना र आवेश पैदा गर्नका लागि काफी हुन्छ। यदि कुनै समुदायको धार्मिक भावनालाई अर्को समुदायविरुद्ध प्रेरित गर्दै भनिन्छ,– ‘तिम्रो इच्छा, आशा, विश्वास र सपनाको केन्द्रमाथि त्यसले आक्रमण गरिरहेको छ।’ यस्ता तर्कले दुवै समुदायलाई भावनात्मक उत्तेजना र उन्मादको यस्तो स्थितिसम्म लैजान सक्छ, जहाँ उसले आफूलाई जीवनको मूल भौतिक रूपको संहार गर्ने दंगामा बदल्न सक्छ।”
केही भ्रमहरू
वरिष्ठ आईपीएस एवं महात्मा गान्धी अन्र्तर्राष्ट्रिय हिन्दी विश्वविद्यालयका पूर्व कुलपति विभूति नारायण रायका अनुसारः
‘साम्प्रदायिक दंगाको बारेमा सोच्दा भारतको बहुसंख्यक समुदाय यस तथ्यलाई ओझेल पारिदिन्छन् र उनीहरूका मन दुई पूर्वाग्रहमा ग्रस्त रहन्छन्। औसत हिन्दूहरूमा यो भ्रम छ कि दंगाको सुरुआत मुसलमानले गर्छन् र यसमा मारिनेहरूमा धेरै हिन्दू हुन्छन्। दंगाको सुरुवातको बारेमा बहस गर्ने ठाउँ छ, तर दंगामा मृत्यु हुनेहरूको संख्याको बारेमा कतै छैन।
मृत्यु हुनेहरूमा मुसलमानहरूको संख्या बढी मात्रै हुँदैन, हरेक दंगामा मृत्यु हुने मुसलमानहरूको संख्या ९० प्रतिशत भन्दा बढी हुन्छ। दंगाको सुरुवातको मुद्दामा कुरा गर्नुभन्दा पहिले मृत्यु हुनेको संख्याका बारेमा छानबिन गरौं।
सन् १९६० पछि हाम्रो देशमा भएका साम्प्रदायिक दंगाहरूका चरित्र सन् १९४७ को आसपास भएको विभाजनसँग सम्बन्धित दंगाको चरित्र भन्दा फरक छ। १९६० सम्म विभाजनबाट उत्पन्न भएका कारणहरू लगभग समाप्त भइसकेका थिए।
तत्कालीन पूर्व पाकिस्तानबाट भागेर आएका हिन्दूहरूको मुखबाट सुनिएको ज्यादतिको प्रतिक्रियामा भएका दंगालाई छोडेर हेर्ने हो भने लगभग अधिकतम दंगाका कारण विभाजनको स्मृति भन्दा टाढा थियो। यी दंगा विभाजन लगत्तै क्षीण भएको मुस्लिम र हिन्दू साम्प्रदायिक संगठनको पुनर्गठन र राजनीतिक हितका लागि दंगा गराउने बढ्दो प्रवृत्तिका कारण भएको हो।
सबै दंगामा मृत्यु भएकामध्ये तीन चौथाई मुसलमान हुन्छन् भन्ने कुरा सरकारी तथ्यांकबाट प्रष्ट हुन्छ। दंगाका कारण नष्ट भएका सम्पत्तिमा लगभग ७५ प्रतिशत मुसलमानहरूको हुन्छ। यतिमात्र होइन, दंगाबाट गिरफ्तार गरिएकाहरूमा पनि मुसलमानहरूको संख्या अविश्वसनीय हदमा धेरै हुन्छ।
आउनुहोस्, हामी ठूल्ठूला ५/६ वटा दंगामा मृत्यु भएका मानिसहरूको संख्यालाई हेरौं। सन् १९६० पछि सबैभन्दा ठूलो दंगा अहमदाबादमा भयो। राज्य सरकारले न्यायमूर्ति जगमोहन रेड्डीको जाँच आयोगलाई अहमदाबादको दंगाका बारेमा दिएको आँकडाअनुसार यस दंगामा ६,७४२ घर र पसल जलाइएको थियो। यसमा हिन्दूहरूको ६७१ मात्र थियो भने बाँकी ६,०७१ मुसलमानको घर र पसल नष्ट भएको थियो।
नष्ट भएको कुल सम्पत्तिको मूल्य रु. ४,२३,२४,०६८ मध्ये हिन्दूहरूको सम्पत्ति रु. ७५,८५,८४५ को थियो भने मुस्लिमको सम्पत्ति रु. ३,४७,३८,२२४ थियो। यस्तै ५१२ मृतकहरूमा २४ जना हिन्दू थिए भने बाँकी ४१३ जना मुसलमान थिए। बाँकी ७५ को सनाखत हुन सकेको थिएन।
यसपछिको सबैभन्दा ठूलो दंगा सन् १९७० मा भिवंडीमा भएको थियो। यसमा ७८ जना मारिएका थिए। जसमध्ये १७ जना हिन्दू थिए भने ५९ जना मुसलमान थिए, बाँकी दुईजनाको सनाखत हुन सकेको थिएन। भिवंडी दंगाको जाँचका लागि नियुक्त न्यायमूर्ति डी.वी. मेननले जाँच आयोगमा दिएको बयानमा भनिएको छ कि यस दंगामा ६ जना मुसलमान महिलाको बलात्कार भयो। हिन्दू महिलाले भने बलत्कारको शिकार हुनुपरेन।
भिवंडी दंगाको परिणामस्वरुप भएको जलगांवको दंगामा ४३ जना मारिए, जसमा एक हिन्दू थिए, बाँकी ४२ जना मुसलमान। नष्ट भएको कुल सम्पत्तिमा मुसलमानको सम्पत्ति रु. ३३,९०,९७७ मूल्य बराबरको थियो भने हिन्दूहरूको सम्पत्ति रु. ८३,७२५ मूल्यको थियो। सन् १९६७ मा रांची–हटिया र नौशेरामा भएको दंगामा मृतकहरूको कुल संख्या १८४ थियो। जसमा १६४ मुसलमान थिए भने हिन्दूहरू १९ जना थिए। एकजनाको सनाखत भएन।
उपरोक्त तथ्यहरूलाई मध्यनजर गरियो भने यो सबै दंगा कांग्रेसको शासनकालमा भयो र हामी उसैलाई धर्म निरपेक्ष दलका रूपमा मान्यता प्रदान गरिरहेका छौँ।
तर बहुसंख्यक समुदाय दंगामा मृत्यु हुनेमा अधिकांश हिन्दू हुन्छन् भन्ने धारणा राख्छन्। यो धारणाले यति बलियोसँग जरा गाडेको छ कि यी तमाम सरकारी आंकडाका बावजूद औसत हिन्दूहरु यस्ता दंगामा हिन्दू नै बढी आक्रमक हुन्छन् भन्ने तथ्यलाई मान्न तयार छैनन्।
यदि यस कुरालाई गहिरिएर हेर्ने हो भने हामी यसको पछाडिको कारणका रूपमा सानै उमेरदेखि बुझाई र धारणलाई पाउँछौँ। हरेक हिन्दूको घरका बालबालिकालाई मुसलमान क्रुर हुन्छन् र उनीहरू कसैको पनि ज्यान लिन हिच्किचाउँदैनन् भन्ने कुरा सिकाइन्छ।
यसको विपरीत हिन्दू धेरै कोमल हृदयका हुन्छन् र हिन्दूहरूलाई एउटा सानो कमिलाको ज्यान लिन पनि मुस्किल हुन्छ भन्ने कुराको प्रभाव बालबालिकाहरूमा पारिन्छ। तपाईँले अक्सर हिन्दूहरूले यही भनेको सुन्नुभएको होला– ‘हिन्दूका घरमा त सब्जी काट्ने छूरीका अलवा कुनै हतियार भेटिँदैन।’ हिन्दूहरूले मुसलमानहरूका घरमा हतियारको भण्डार नै हुन्छ भन्ने कुरालाई प्रकारान्तरदेखि नै मान्दै आएका छन्। तर अहिले वस्तुस्थिति उल्टिएको छ। ”
एक औसत हिन्दूको मानसिकता यस्तो बनाइएको छ कि उनीहरू मुसलमानहरूले पाकिस्तानलाई लिएर आफ्नो हिस्साको भू–भाग पनि लिइसकेका छन् र अब मुसलमानहरूलाई भारतमा रहनुको कुनै अधिकार छैन भन्ने धारणा राख्छन्। यदि मुसलमानलाई भारतमा रहनु छ भने हिन्दूहरूकै अधिनमा रहनु पर्छ भन्ने ती हिन्दूहरूको धारणा छ।
साम्प्रदायिकताबाट ग्रसित राजनीति
हाम्रो यस प्रकारको साम्प्रदायिक सनक मौलाउनुमा कानूनी व्यवस्थाको अभाव तथा विधायिका र न्यायपालिकाको संवैधानिक निष्क्रियता दोषी छ। ६०–७० सालदेखि हाम्रो संविधान साम्प्रदायिकतालाई नै उत्प्रेरकको रूपमा प्रयोग गर्ने शक्तिको हातमा भएकाले यो निष्क्रिय छ। र, आज त यसको खुल्ला खेल भइरहेको छ, कुनै पनि कुरा लुकेको छैन।
आज हाम्रो पूराका पूरा राजनीति नै साम्प्रदायिकताको वरिपरि घुमिरहेको देखिन्छ। यहाँसम्म कि समाजवादी तथा वामपन्थीजस्ता संसदीय–राजनीतिक दलले पनि फासिजम्, पूँजीवाद, कर्पोरेटाईजेसन, गरीबी, साधनबिहीन र बेरोजगारीको कुरा नगरी विगत ६ दशकदेखि सत्तामा कब्जा जमाएको कांग्रेस पार्टीको विचार पद्धतिलाई अपनाइसकेको छ।
यी दलका लागि अब साम्प्रदायिकता नै देशको मूल समस्या हो, बाँकी सब गौण छन्। अब यसबाट भन्न सकिन्छ कि सबै साम्प्रदायिकताको मसाल लिएर मैदानमा छन्। तर यस्ता गतिविधिबाट साम्प्रदायिकता कम हुँदैन, बरु उल्टै बढ्छ।
दुर्भाग्य नै भन्नुपर्छ, हाम्रा केही बुद्धिजिवीहरूका लागि साम्प्रदायिकता एउटा यस्तो बन्धन हो, जसबाट उनीहरू जहिले पनि र जहाँ पनि ‘ठिकठाक’ बनिदिन सक्छन्। साम्प्रदायिकतामाथि उनले यति विस्तृत अध्ययन गरिसके कि उनीहरू अब रिसाउन थालेका छन्। किनकि पूरै भारतीय समाजको हरेक समस्यालाई उनीहरू साम्प्रदायिकता भन्दा कम आँक्छन्। यो पनि कुनै राम्रो स्थिति होइन।
एकपटक अग्रज कथाकार स्वयंप्रकाशको एउटा कथा पढेर मैले एउटा टिप्पणी गरेको थिएँ। त्यस टिप्पणीमा मैले केही मानिसहरूले भारतमा साम्प्रदायिकता भन्दा अतिरिक्त अरु कुनै समस्या नदेख्ने गरेको उल्लेख गरेको थिएँ। यसबाट उनी यति आक्रोशित भए कि उनले मेराविरुद्ध एक पत्रिकामा तिखो टिप्पणी गरे, जुन कुनै विशेष कुरा थिएन। तर उनी जीवनपर्यन्त मसँग रिसाए।
कुनैपनि समस्याको पछाडि व्यवहारिक कारण हुन्छ, जो सम्पूर्णतामा एक वस्तुगत विश्लेषणको सरोकार राख्छ, तब मात्रै हामी सही नतिजामा पुग्न सक्छौँ। तर दुर्भाग्यः हामी आफ्नो आलोचना सुन्न सक्दैनौँ। हामीले यो पनि बुझेका छौँ कि भारतको संघीय सरकारले पछिल्लो सात दशकमा साम्प्रदायिक सौहार्दलाई बचाउनुको सट्टा यसको खाल्डोलाई झनै बढाएको छ।
संविधानमा स्पष्ट लेखिएको छः कुनै पनि धार्मिक संगठनलाई सांस्कृतिक र शैक्षणिक कार्यको अतिरिक्त अन्य कुनैपनि प्रकारको साम्प्रदायिकता बढाउने काम गर्न अनुमति दिइँदैन। तर साम्प्रदायिकता भने सधैँ पनि उचालिन्छ, यो हामीले बारबार देखिरहेका छौँ। र, यसरी हामीले संविधानलाई धरापमा पारेका छौँ।
यहाँ राजनीतिज्ञहरूले अल्पसंख्यक समुदायलाई सदैव भोट बैंकका रूपमा देखेका छन्। उनीहरूले त्यस्ता समुदायमा सामाजिक बोध र वैज्ञानिक चेतनालाई विकसित नगरेर नितान्त रूढिवादी र संकीर्णताको दायरामा कैद रहन दिनुमा नै आफ्नो स्वार्थ देखेका छन्।
[सत्यहिन्दीबाट मेनुका बस्नेतको अनुवाद]