गत मंसिरतिर वसन्त (थापा) दाइको इमेलबाट आएको निम्तो मान्न नेपाल एकेडेमीको पारिजात हलमा पुग्दा थाहा भयो लेखक पिटर जे कार्थकको मृत्यु भएको तीन वर्षपछि उनको अन्तिम पुस्तक पहिलो पटक छापिएर निस्कदै रहेछ। अंग्रेजीमा छापिएको र कभरमा भने अनुसार अ योङ वण्डरिङ मडलार्क इन ओल्ड काठमाण्डू अ फ्याक्ट एण्ड फिक्सन नोवल। म पुग्दा कार्यक्रम निकै अघि बढी सकेको थियो, त्यसैले प्रोफेसर अभि सुवेदीले पुस्तकका विषयमा के के बोले सुन्न पाइएन। कार्थक विश्वविद्यालयमा अभिका सहपाठी रहेछन् र पाटन क्याम्पसमा सँगै अध्यापन पनि गरेका रहेछन्। कार्थक पत्नीले भावुक हुँदै के के भनिन् अहिले सम्झना छैन। पछि पुस्तक पढिसक्दा भने पुस्तकमा आरआरपी नामले चिनाइएकी कार्थक पत्नी (रञ्जना)ले आफ्ना श्रीमानका सायद पहिले नभनिएका कतिपय कुरा पढेर के कसरी लिएकी होलान् भन्ने खुलदुली लागिरह्यो। दुई महिना जति पुस्तक यतिकै र्याकमा थन्किएपछि एक रात निद्रा गायव भएको बेला मलाई यहि पुस्तक दुईचार पेज पढेर टेष्ट गर्न मन लाग्यो। पढ्न थालेपछि तान्दै लग्यो, बन्द गर्न मन लागेन। मेरो ढिलो पढ्ने बानी भएकाले पढिसक्न केही साता लाग्यो। पढिसक्दा लाग्यो यो पुस्तक नपढेको भए एउटा महत्वपूर्ण पुस्तक पढ्न छुट्ने रहेछ। लाग्यो पुस्तकका बारेमा नेपाली पाठक माझ काठमाडौंदेखि दार्जिलिङसम्म जति हुनुपर्ने हो त्यति चर्चा भएन।
मेरो पुस्तक ब्रिटिश साम्राज्यका नेपाली मोहरा, गोर्खा भर्तिको नालिबेलीको नारद वाग्लेले गरेको अंग्रेजी अनुवादको सम्पादन पिटर जे कार्थकले गरेका थिए। त्यसक्रममा म उनको घरमा दुईपटक पुगेको थिएँ। कुपण्डोलको दक्षिणी मोहडाको भिरालोको फेदमा रहेको उनको घरजाँदा घर धमाधम निर्माण भइरहेको थियो र कान्लामा एउटा टहरोजस्तोमा पिटर दाई चिकनगुनियाले अलिअलि सुनिएका गोडा तेर्साएर लेखपढमा व्यस्त थिए। हामीले लेखकहरुका दुःख र प्रकाशकहरुका व्यवहारबारे अलिकति कुरा गरेका थियौं। पिटर दाइले सम्पादन गरेर तयार भएको मेरो पुस्तक The Flipside of British Empire, The Inside Out Of the Gurkha Recruitment छापिएर आउनु अघि नै उनको निधन भएको थियो।
उहिले यिनलाई टाइम म्यागाजिन ले दि विटल्स अफ सिक्किम भनेर नाम दिएको रहेछ उनले स्थापना गरेको संगीत व्याण्ड र सिक्किमको राजाको राज्यारोहणमा गरेको पर्फमेन्सको प्रभावले। यी कार्थक पछि नेपालमा बसेर क्यासिनोको क्रुपियर, रेडियो नेपालको वाध्यवादक, अध्यापन, लेखन र सम्पादनका अनेक घुम्ती पार गरेर एउटा पहिचान छाडेर चारवर्ष अघि (अप्रिल २०२०) कोरोनाकालमा विते। सन् १९६० को वरपर दार्जिलिङको उत्तर औपनिवेशीक जागरण, कला, साहित्य, कस्मोपोलिस बन्दै गएको शहरी जीवन, त्यसलाई प्रभावित गर्ने हलिउड, युरोपेली साहित्य र संगीत, (विटल्स र अरु) घालमेल गरेर यी हुर्केका रहेछन्। आफ्ना क्षेत्रमा स्थापित नामहरु होउन् या संघर्षरत होउन् त्यताको सानो संसारमा अटाएनन्। केही बोलाइएर नेपाल आए र स्थापित भए केही उनीजस्ता जीजिविषाको खोजीमा यता प्रवेश गरे र जमे। भारतीय सरकारले अल्पसंख्यक समुदायलाई दिने आरक्षणले दिएका तरक्की गर्ने अवसर र सम्भावना छाडेर उनी नेपाल पसेका रहेछन्। केही महिना विरगञ्जको एउटा विद्यालयमा पढाएपछि काठमाडौं छिरेको रहेछ उनी र उनको १० जनाको पल्टन नै ।
पुस्तकमा उनले काठमाडौं र यहाँको आँखीझ्यालबाट देखिने विश्वको परख गरेका छन्, काठमाडौंको वर्तमान र दार्जिलिङका विगत बीच ओहोर दोहोर गरेका छन्। आएको केही समयमा नै क्यासिनो नेपालमा काम थालेका उनले सँगै रेडियो नेपालमा वाध्यवादन गर्ने, विश्वविद्यालयमा अंग्रेजीमा एमए पढ्ने र आफ्नो पहिलो उपन्यास प्रत्येक ठाउँ प्रत्येक मान्छे लेख्ने काम सँगसँगै गरेका रहेछन् । सन् १९६८ को फेब्रुअरीबाट सन् १९७२ को फेब्रुअरीसम्म उनले विताएको र भोगेको समयको गाथा हो यो अनुभवन्यास ।
नेपाली समाज, यहाँको राजनीति, शहर र मान्छेहरुप्रति रुची राख्ने पाठकका रुपमा म उनको पुस्तकबाट निकै प्रभावित भएँ। यो ४१३ पेजको पुस्तक पढेपछि मलाई प्रभाव पारेका केही सन्दर्भ र विषय आफ्नै भाषामा यहाँ शेयर गर्दैछु।
क्यासिनो काठमाडौं र दासो लेन
पिटरका अनुसार दासो लेन भुटानी शरणार्थीका रुपमा नेपालमा बस्थे। उनको दाजुको हत्यापछि केही समय भूटानको प्रधानमन्त्री बनेका दासो राजनीतिक उठापटक पछि बेलायत पुगेको थिए। विदेशी पत्नी सहित दासो काठमाडौंमा शरण लिन आइपुगे। दासोसँग लगानीका लागि पैसा थियो। उनको व्यवस्थापनमा महेन्द्रका भाइ हिमालयसँग मिलेर ताहचलमा होटल हिमालय हाइट खुल्यो (यस्तो व्यवसाय खोल्दा दरवारलाई हिस्सा नदिई सम्भव थिएन)। दासोले विदेशी व्यवस्थापकहरु बोलाएर क्यासिनो नेपाल खोले। तर केही वर्ष पछि माइली सरकार अर्थात हिमालयकी पत्नी अधिराजकुमारी प्रिन्सेप शाहले दासोलाई होटल र क्यासिनोबाट निकाल्छीन र व्यवसाय कब्जा गर्छिन्। त्यतिबेला दरवारीयाहरुलाई धन आर्जन गर्न राजा महेन्द्रले प्रोत्साहित गर्थे । यस्तो आर्जन दासोहरुलाई ठगेर पनि हुन्थ्यो, ट्याक्स छलेर या सार्वजनिक जमिन कब्जा गरेर पनि गरिन्थ्यो। नेपालमा क्यासिनोको पहिलो परिकल्पनाकार दासोले काठमाडौंमा फेसनको रुप लिन लागेको क्रिकेटमा हात हालेका थिए जेण्टलम्यान क्रिकेट क्लब खोलेर । जोन उर्फ दि न्यारेटर आफ दिस फ्याक्ट एण्ड फिक्सनले यही क्लबको खेलाडी हुँदै क्यासिनोमा प्रवेश पाएको थियो।
यो क्यासिनोले काठमाडौंको नाइट लाइफमा एउटा नयाँ हलचल ल्याएको जस्तो थियो। नाइट लाइफ मनोरञ्जन आम मान्छेको लागि बेड आफ्टर डिनर र साँझको भट्टी यात्रामा सिमित रहेको समयमा खुलेको क्यासिनोले नयाँ अवसर दिएको थियो । धन हुने सो कल्ड मोडर्न एलिट पुरुष र सिमित संख्यामा महिलाहरुका लागि। तर पनि क्यासिनो चैं मुलतः अमेरिकीहरुको विलासस्थल थियो रे। युएसआइस, युएसएआइडी, फोर्ड फाउण्डेशन, टम डुली फाउण्डेशन, युनाइटेड मिसन टु नेपाल, पिसकोर्प्स भोलेण्टियर्सका रुपमा नेपाल आउने अम्रिकानेहरु उताको जीवनको न्यास्रो मेटाउन र थर्ड वर्ल्डको यो गरिब र पिछडिएको देशमा बस्नुपरेको पीडा भुल्न आफ्नो अतिरिक्त आय यता आएर खर्चिदा रहेछन्। जोनको भाषामा यीनिहरु नयाँ उपनिवेशवादी थिए, छुच्चा अमेरिकीहरु जो ‘अंकल साम’का लागि राजनीतिक शक्ति र क्षमताको प्रदर्शन गर्थे। भियतनामबाट त्यहाँको लागि अमेरिकी राजदुतले नेपालस्थित अमेरिकी राजदुत रहेकी आफ्नी पत्नी भेट्न आउँदा चार्टर्ड गरेर ल्याउने अमेरिकी सैनिकका अधिकारीहरु पनि आइपुग्थे।
त्यहि समयमा अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्न्यु नेपाल आएका थिए। नेपालमा गाँजाको खेती नष्ट गर्ने भनेर डेढ करोड डलर दिएर गएको थिए। जसको प्रयोग परिवार नियोजन र केही रकम कृषिको आधुनिकिकरणमा खर्च गरिएको थियो भनेर काठमाडौंमा चर्चा थियो। एग्न्युको नेपाल भ्रमणका समयमा आएका अमेरिकी गुप्तचार संस्थाका उच्च सुरक्षा अधिकारीहरु समेत क्यासिनोमा पुगेका थिए। भारतीय धनाढ्यहरुको गन्तव्यमा पनि क्यासिनो काठमाडौं पर्थ्यो। केही युरोपेली र जापानीहरु पनि आउँथे जो नेपालमा विभिन्न हैसियतमा काम गरिरहेका हुन्थे।
नेपालको पहिलो क्यासिनो, दरवारको संलग्नतामा खुलेको भएकपनि नेपालीहरुलाई कुनै रोकटोक थिएन्। ए, बी र सी क्लासका पैसा भएका राणाहरु, व्यापारीहरु, भारतीय धनाढ्य जुवाडेहरु, नेपालका उच्चपदस्थ कर्मचारी र संस्थानका महाप्रवन्धकहरु जुवा खेल्न आउँथे। असनतिरको व्यापारमा जमेको तिब्बतबाट फर्केको एउटा परिवारका हजुरबाउदेखि नातिसम्मका तीनपुस्ता हरेक दिन आइपुग्थ्यो। जुवा दुईखालको थियो। क्यासिनो र बाह्रमासे कौडा।
यही क्यासिनोमा देवानन्दले ‘हरे कृष्ण हरेराम’को केहीहिस्सा सुटिङ गरेको थियो र जोनले बम्बैया सिनेमाका केही प्रख्यात नामहरुसँग गफगाफ गर्ने मौका यतैबाट पाएको थियो। क्यासिनोले काठमाडौंको परम्परागत समाज कसरी आधुनिकतातिर जाने बाटो खोल्न सहयोग गरेको थियो भन्ने अध्ययनको विषय बन्न सक्छ।
मुख्य व्यापारमा विदेशी
सबै फष्टक्लास होटलमा विदेशी म्यानेजर छन्, ट्रेकिङ एजेन्सीहरु बेलायतीले नेतृत्व गरेका छन्, जसको थालनी एकजना पूर्व व्रिटिश गोर्खा अफिसरले गरेको थियो । सफारी रिसोर्टहरु अमेरिकीहरुले चलाउँछन् त्यसमध्येको एकजना सिआइएको एजेण्ट (Toddy Lee Wynn र Herb Klein कुनप्रति लक्षित हो थाहा भएन) हो। नेपालमा चिन विरुद्ध खम्पाहरुलाई सिआइए ले नै चलाएको हो । पहिलो पर्यटकीय होटल रसियाली (वोरिस)ले चलाएको र गोवाकोले व्यवस्थापन गरेको थियो। हाइ अल्टिच्युडको होटल एउटा जापानीले चलाउँछ (सायद स्याङ्वोचेमा ताकासी मियाहाराले खोलेको होटलको प्रसङ्ग थियो यो)।
अनि नेपाली नि ?
यिनीहरु सब कपिक्याट हुन्। यता शाही मुवर्स एण्ड शेकर्सहरु स्थानीय उद्यमीलाई उठ्न दिदैनन्, सबै व्यापारिक क्षेत्र आफै ओगट्न चाहन्छन्। (दरवारीयाहरु नै) नेपालका नयाँ बनिया व्यापारी वर्ग हुन्। तिनले संविधानमाथि रहेको फाइदा उठाउँछन्, कर कम तिर्छन्, आयातका लागि अन्धाधुन्ध लाइसेन्स पाउँछन्, आफुलाई मन लागे अनुसार कर तिर्छन, मन्त्रालयले केही गर्न सक्दैन।
क्यासिनोका क्रुपीयरहरुका बिचको कुनै फुर्सदको समयमा भएको सम्वाद हो यो । यसले नेपालको राजनीतिक शक्ति दरवारको हातमा हुँदा कसरी नेपाली उद्यमीहरुलाई ठिम्रिन बाध्य पारियो र विदेशीहरुका नियन्त्रणमा नेपालको व्यापार व्यवसाय गयो भन्ने संकेत गर्छ ।
राजा महेन्द्रका कान्छो भाइ बसुन्धराले मोजमस्तीका लागि बारबरा एडम्स नामकी एकजना अमेरिकी महिलालाई अघोषित पत्नी बनाएर राखेका थिए। यी बारबरालाई गाली दिएको सन्दर्भ पनि छ । उनका बारेमा पात्रहरुका विच सम्वादले के देखाउँछ भने दरवारका अधिराजकुमारहरुले गर्ने पुरातात्विक वस्तु र लागुपदार्थको तस्करी र अरु अवैध कार्यकलापबारे बारबारालाई सबै थाह भएकोले उनलाई निकाल्न सक्दैनन्। बारबरा एडम्स १९९० पछिको काठमाडौंमा सोसियलाइटहरुका बीचमा देखिइरहने र पत्रिकाले निकै स्थान दिने गरिएकी एकजना पात्र थिइन्। यिनको नाम अनेक व्यक्तित्वहरुसम्म जोडिएको थियो।
पेदेन, माया र कार्थक
हाइस्कुल सक्नेबित्तिकै जोनको सम्बन्ध एकजना सिक्किमे राजपरिवारकी सुन्दर युवती पेदेनसँग रहेको देखिन्छ। पेदेन सुन्दर थिई, जोन भन्दा उमेरमा जेठी थिई र बम्बैबाट अर्थशास्त्रमा एमए पढेकी थिई। दुवैको सम्बन्ध प्लेटोनिक लव हो या त्यसभन्दा अघि बढेको भनेर खुलाउन चाहेका छैनन् लेखकले । यी दुईको जीवन यात्राले फरक बाटो लिएको देखिएपनि उनीहरुको सम्बन्ध भावनात्मक र दैहिक दुवै रुपमा प्रेमी प्रेमिका बनेर अघि बढेको तर दुवैले त्यसलाई सहज रुपमा लिदै आफ्नो बाटो रोजेको जस्तो देखिन्छ।
एकजना ब्रिटिश गोर्खा अफिसरकी पत्नी मायासँग जोनको प्रेम सम्बन्ध दार्जलिङ भरि चर्चामा रहेको छ। जोनकी क्याथोलिक आमा अर्काकी पत्नीसँगको प्रेम पापकर्म हो भनेर जोनको र मायाको जोडी छुटाउन प्रयत्नरत देखिन्छिन्। माया काठमाडौंसम्म आएर जोनसँग दैहिक प्यास मेटाइरहेकी हुन्छे। अघिल्लो पति र मायाको डिभोर्स भएको हुन्न । डिभोर्स गर्न लोग्ने तयार छैन। बच्चाहरु हुर्कदै छन्। जोन भन्दा निकै जेठी र बच्चाहरुकी आमा माया जोनका बच्चाहरु गर्भमा हुर्काउन चाहन्छे तर कतै गएर पाठेघर सफा गरिरहनुपर्छ। मायाको जीवन वियोगान्त छ तर काठमाडौंमा आरआरपीसँग विहे गरेर बसे पछि र बच्चा समेत भइसकेपछि पनि जोन दार्जलिङ गएको बेला मायालाई भेटेर सिक्रि दिन्छ र बिहे गर्न नसकेपनि प्रेम गरिरहेको जनाउ दिन्छ। केही दिनका लागि जोन दार्जलिङ पुगेको बेला यसरी मायालाई भेटेर सिक्रि दिएको केही दिनमैं मायाले आत्महत्या गर्छे जतिबेला जोन दार्जलिङमै छ र मायाको भाइले उसको लास नहेर्न जोनलाई सम्झाउँछ। अजिवोगरिव सम्बन्धमा देखिन्छन् यी स्त्री र जोन।
फ्रिकस्ट्रिट र हिप्पीहरु
जसरी सिआइएको एजेण्टले टाइगर टप्स स्थापना गरेको थियो । रसीयाली शरणार्थी वोरिसले काठमाडौंमा पहिले रोयल होटल र पछि याक एण्ड यती खोलेर होटल व्यवसायलाई आधुनिकता दिएको थियो । त्यसरी नै च्याङ काई सेकको सेनामा वायु सेनाको क्याप्टेन रहेको मिष्टर वाङले झोंछेको गल्लीमा पर्यटकहरुलाई सन्तुष्ट पार्ने रेष्टुरेण्ट व्यवसायलाई स्थापित गर्न अगुवाइ गरेको थियो । यो वाङ माओको जनसेनासँग च्याङकाइ सेक पराजित भएर ताइवान पलायन भएपछि भागेर वर्मा हुँदै भुटानमा शरण लिन पुगेको रहेछ। त्यहाँबाट कोलकता हुँदै काठमाडौं आएर जमेको र दौरा सुरुवालमा ठाँटिएर हिँड्ने गरेको । वाङसँग हिँडेर जोनले फ्रिक स्ट्रिट र हिप्पीहरुको कथा भनेको छ। र वाङलाई काठमाडौंमा सहज वातावरण बनाउन दासो लेनको पनि भूमिका रहेछ। शरणार्थीले नै शरणार्थीको मर्का बुझ्छ। अर्थात् भूटानी शरणार्थी दासो, रसीयाली शरणार्थी वोरिस र चिनीया शरणार्थी वाङ नेपालको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पुर्याउनेमा पर्दा रहेछन्।
कहिल्यै ननुहाउने, दाँत नमाझ्ने, झुत्रेझाम्रे लुगा लगाउने, गाँजा धतुरो र रक्सीले मातिरहने, लामो कपाल भएका मैलाधैला गन्हाउने र खुला रुपमा प्रेमक्रिडा प्रदर्शन गर्ने हिप्पीहरु दोस्रो विश्वयुद्ध पछिको युरोप र खासगरि संयुक्त राज्य अमेरिकाका पढालिखा मध्यम र उच्च वर्गीय परिवारका युवायुवती थिए। जोनको भाषामा भियतनाम युद्धमा लड्न जानबाट तर्केर भागेका यी युवाहरु साहित्य, कला, र संगीतका पारखीहरु पनि थिए। तिनले आफुसँग ल्याएका पुस्तक पढिसकेर न्युरोडको कुनै व्यापारीलाई सस्तोमा बेच्थे। तिनीहरु सामान्यतया आफ्ना बाबु आमाले पठाउने र ढिलोगरि आइपुग्ने खर्चमा आश्रित थिए। कोही कोही त तातो पानी मागेर टेबलमा हुने चिनीको भाँडोबाट विस्तारै चिनी हाल्दै पिएर हप्तौं बाँच्ने प्रयास गर्थे र हेर्दा हेर्दै अहिल्यै मर्लान् जस्ता देखिन्थे।
हिप्पीहरुका बारेमा अभि सुवेदी, नारायण ढकाल र अरुहरुले लेखेका कतिपय सन्दर्भ मैले पहिले पढेको छु। मारियो भार्गिस लोसाले आफ्नो उपन्यास दि व्याड गर्लमा पनि काठमाडौं र हिप्पीको चर्चा गरेको छ। फक योर एटम बम लेख्ने विश्वप्रसिद्ध अमेरिकी कवि एलेन गिन्सवर्ग यी हिप्पीहरुका एकजना आदर्श र हिप्पी दर्शनका संस्थापक थिए। यहुदी परिवारका गिन्सवर्गले हिन्दु र बौद्ध दर्शनबाट प्रभावित भएर जीवनको परिभाषा बदल्ने प्रयास गरेका थिए र पछिसम्म त्यसलाई जीवनशैली बनाएका थिए। हिमाल आरोहणका सन्दर्भहरु बाहेक नेपाललाई पश्चिमा दुनियामा चिनाउने एउटा महत्वपूर्ण पक्ष हिप्पीहरु नै थिए।
यी हिप्पीहरु युरोपबाट टर्की, इरान, अफगानिस्तान या पाकिस्तान हुँदै भारत र नेपाल आइपुग्थे। यिनीहरुलाई ल्याउने पर्यटन व्यवसाय जमेको थियो। काठमाडौंमा कतिपय बसहरु यसरी हिप्पी यात्रीहरुलाई युरोपबाट ल्याउने गाडी सस्तोमा किनेर कर छल्दै बसका रुपमा परिवर्तन गरेर चलाइएका थिए। जुन बाटोबाट आएपनि नेपालमा यिनीहरुलाई खासगरि गाँजा र चरेसको सहज उपलब्धताले तान्थ्यो। आधुनिक नभैसकेको समाज र भौतिक विकासको अवस्थाले तान्थ्यो। यो जेनेरेशनको पलायन रोक्न अमेरिकाले गाँजा पाइने देशहरुलाई आर्थिक सहयोग दिएर गाँजा खेती रोक्ने उद्यम गरेको थियो। यता नेपालमा गाँजा र चरेसको निर्वाध आपूर्तिका लागि दरवारीयाहरुकै संलग्नतामा लागुपदार्थ ओसारपसारको धन्दा मज्जाले चलेको थियो।
हिप्पी र उनीहरुसँग जोडिएको फ्रिकस्ट्रिटसम्म जोनले हामीलाई धेरैपटक लैजान्छ र घुमाउँछ।
राणाहरुको पारिवारिक जीवन
कार्थकसँगै क्यासिनोमा काम गर्ने राणा परिवारका सदस्य पनि छन्। प्रिन्सेपका माइतितिरका आफन्त पनि पर्छन्। उनका बाबुलाई चैं जुद्ध शमसेरले छोराहरुलाई पढाएको कारणले दण्डित गर्ने धम्की दिएपछि ती यताको परिवारै छाडेर कलकत्ता गएका रहेछन् र उतै व्यवसायमा जमेका पनि। ती राणाले भने अनुसार राणाहरुको दरबारमा यौनजन्य सम्बन्ध आम नेपालीहरुको भन्दा भिन्न प्रकारको थियो। उनको भनाइमा आफ्नै आमा र एउटै कोखबाट जन्मेका दिदिबहिनीबाहेक परिवारका सबै स्त्रीपुरुषबीच राणाहरुको यौनसम्बन्ध हुन्थ्यो। त्यसमा साइनोले भाउजु, बुहारी, आण्टी, फुपु, भाञ्जी भतिजि सबै पर्थे। यी राणा दार्जीलिङ पढेर फर्केका थिए। उनले राणा परिवार र आफन्तभित्र त्यही कारणले बिहे गरेनन्। एरिष्टोक्र्याट्सहरुको जीवन लीला र साधारण मध्यमवर्गको जीवन शैली या रक्त सुद्धता खोज्ने हिन्दु आर्य समाज भित्रैको यो सन्दर्भ पनि समाज अध्ययनको गजव विषय बन्न सक्छ।
प्रत्येक ठाउँ प्रत्येक मान्छे
मेरो पुस्तकको र्याकमा वर्षौंदेखि रहेर पनि नपढिएको किताब मध्ये पर्छ “प्रत्येक ठाउँ प्रत्येक मान्छे”। त्यसको कथाभूमि लेखिएको छ यो पुस्तकमा । सन् १९६७ को एउटा उत्सवमय रातमा दार्जिलिङको कुनै चर्चित कलेजमा अध्ययनरत आसमी धनाढ्य परिवारकी एकजना सुन्दर युवतीलाई उसको प्रेमीको हातबाट छुटाएर बलात्कार गरिन्छ। एकवर्षसम्म पनि बलात्कारी पत्ता लाग्दैन। ती युवतीलाई उसको प्रेमीले विहे गर्छ। यता जोनहरु बलात्कारी पत्ता लगाउन आफै पनि प्रयास गर्छन् र निराश हुन्छन्। त्यसैलाई आधार बनाएर उक्त उपन्यास लेखिएको रहेछ। कार्थकले उक्त घटनालाई दार्जिलिङको पतनको संकेतका रुपमा लिएका छन्। मलाई अब “प्रत्येक ठाउँ प्रत्येक मान्छे” पढ्नुपर्ने लागेको छ।
एउटा प्रसङ्ग ज्ञानेन्द्र शाहको
पूर्व र झन् पूर्व राजा ज्ञानेन्द्र शाहका बारेमा त्यहाँ एउटा प्रसङ्ग छ पुस्तकमा। आजका ज्ञानेन्द्र शाहलाई चिन्न यसले पर्याप्त सहयोग गर्छ। प्रिन्सेप शाह अर्थात् माइला सरकारकी पत्नी अधिराजकुमारी (अगाडि महारानी भनिएकी र पछाडि चैं हात्तीनी, हस्तिनि, डल्ली भनिएकी) प्रिन्सेपले राष्ट्रसंघीय मानवाधिकार उच्चआयोगबाट नर्वेली मानवअधिकार पुरस्कार (नान्सेन) पुरस्कार पाएकी रहिछन्। नेपाल रेडक्रसका अध्यक्षका रुपमा तिब्बतियन शरणार्थीलाई व्यवस्थापन गर्न सहयोग गरेकोले यस्तो पुरस्कार दिइएको रहेछ। यो पुरस्कारको प्रसङ्ग आउनु अगाडि नै दुईवटा प्रसङ्ग छन् महारानीका विषयमा। एउटा एकान्तकुनामा स्थापना गरिएको शिविरमा बस्ने तिब्बतीयन शरणार्थीका लागि आँखाको उपचार गर्न पैसा दिइएको थियो। त्यो पैसा धेरैले क्यासिनोमा आएर सकेका थिए आँखाको उपचार नगरी। पछि आँखाको डाक्टरले नै आएर क्यासिनोमा एकदिन चेक गरेको थियो र त्यसबेला नै कसरी हजार हजारका नोट लिएर शरणार्थी आइपुगे भन्ने भेद खुलेको थियो। यसरी शरणार्थीलाई दिइएको सहयोग नेपाल रेडक्रसका अध्यक्षले चलाएको क्यासिनो नेपालसम्म घुमिफिरी आउनु संयोगमात्र थिएन।
दोस्रो, बाङ्लादेशमा स्वतन्त्रताका लागि भएको लडाइँका क्रममा विस्थापितहरुलाई सहयोग गर्न युरोपतिरबाट आएका सामानहरु खासगरि लत्ता कपडा, लेडिज व्याग, श्रृङ्गारका सामान समेत नयाँ नयाँ ब्राण्डेड सामानहरु नेपाल रेडक्रसमा पनि आइपुगेको थियो। रेडक्रसकी अध्यक्ष प्रिन्सेपले आफैले निकटका मानिसहरुलाई खबर गरेर त्यस्ता सामान सस्तोमा बेचेकी थिइन्। ती सामान किन्न यसरी बोलाइनेमा क्यासिनो नेपालका कर्मचारीहरुसँगै जोन पनि परेका थिए। प्रिन्सेपले आफुलाई राम्रा लागेका कुरा आफ्ना संगीनी या दिदी बहिनी या सम्भ्रान्त वर्गका महिला मित्रहरुलाई केही उपहार पनि दिएकी थिइन्। केही किन्न लगाएकी थिइन्। त्यो पनि आफै बसेर। यी सबै काम राजा महेन्द्रको जानकारीमा नै हुन्थे। (अहिले दरवारीया चम्चाहरुले महेन्द्रका पालामा देश स्वर्ग थियो भनेर बखान गरेको पनि हामीले सुनिरहनुपर्छ।)
र पनि प्रिन्सेपले नान्सेन पुरस्कार पाएकी थिइन्।
त्यही पुरस्कार घोषणा भएको खुशियालीमा भव्य पार्टीको आयोजना गरियो। काठमाडौंमा भएका सबै विदेशी कुटनीतिक नियोगका मानिसहरु, युयस एड, युएनडिपी लगायत संस्थाका प्रतिनिधिहरु र काठमाडौंका सबै “हु इज हु” हरु आएका थिए। आउनेमा एकजना थिए २२ वर्षे तन्नेरी अधिराजकुमार ज्ञानेन्द्र शाह पनि। कार्यक्रममा आएपछि भेटिएका आफ्ना माइला बाउ र माइली आमा अर्थात् हिमालय विक्रम र प्रिन्सेप (जसका नाममा पार्टी आयोजना भएको थियो) लाई अभिवादन नमस्ते केही गरेनन्। दरवारीया संस्कारमा हुर्केको दासो लेनलाई लागेछ यो अलि मिलेन, यसो नमस्कार दुआ सलाम त गरे हुने। उसले ज्ञनेन्द्रलाई नजिकै गएर भनेछ सरकार आखिर तपाईंका काका काकी हुन् सम्मान त गरे हुन्थ्यो। ज्ञानेन्द्रले भनेछन् लुक लेनी, डन्ट फर्गेट द्याट आइ वाज किङ फर फोर्टी डेज। पानी पानी हुने पालो दासो लेनको थियो। तर ज्ञानेन्द्रको उक्त घमण्डी मनोविज्ञान र हठ उनैका लागि कति महँगो पर्यो भन्ने चैं २०६५ जेठ १५ गते रातको ११ बजे दुनियाँलाई थाहा भयो । र यो मान्छे अहिले पनि आफ्नो घमण्डतन्त्र फर्काउन मान्छेलाई उक्साउँदै हिँडिरहेको छ।
दि गसिप्स
खुसुखुसु गर्दै कुनै काल्पनिक या अर्धसत्य कुरालाई साँच्चै हो कि झैं छरछिमेक, चिनाजानका मानिसहरु, साथिहरु र चिया पसल हुँदै दुनियाभर फैलाउनु मान्छेको एउटा महत्वपूर्ण विशेषता हो भन्ने कुरा केही वर्ष पहिले दि सेपियन्समा हरारीले भनेका छन्। तर यो त मान्छेले हजारौं वर्ष र पुस्ता पहिले सिकेको कुरा हो। काठमाडौं हल्लाहरुका लागि थप बद्नाम छ। र तर्क र तथ्यहरु नखोजी हल्ला गर्ने र पत्याउनेहरु पहिले भन्दा अहिले झन् बढेजस्तो लाग्छ। यस्तै २०२८ तिर राजा महेन्द्रको मृत्युसँगै एउटा हल्ला चलेको रहेछ। विरेन्द्र शाह युवराज छँदै दिपेन्द्र जन्मेका थिए। उनी जन्मदाका ग्रहहरुको संयोगले हजुरबाउलाई पुरा एकवर्ष नातिको मुखै हेर्न हुँदैन भनेर ज्योतिषहरुले भनेका रहेछन्। तर महेन्द्रले मानेनन्। उनले नातीलाई नहेर्न मात्र मानेनन् काखमै खेलाए। त्यसको केही महिना पछि शिकार खेल्न चितवन झरेको बेला दियालो वंगलामा उनको निधन भयो। यी मुटुका रोगी थिए। जोनको यो भनाइ २०५८ सालमा मानिसहरुले सम्झेका भए या कसैले उठाइदिएका भएमात्र दरवार हत्याकाण्डको पपुलर न्यारेटिव सायद अर्कै बन्थ्यो होला।
कार्थकको सार्थक जीवन
आफ्ना किरात पुर्खाहरुले उहिले शासन गरेको काठमाडौं उपत्यकामा अहिले आफू बिरानो परदेशी बन्नु परेको सन्दर्भ कोट्याउँदै यी लेप्चा जनजातिका कार्थकले काठमाडौंको सामाजिक साँस्कृतिक विविधता, वाह्य दुनियासँगको यसको साँघुरो सम्बन्ध, शहर र घरहरुको बनोट, बासिन्दाहरुका विभिन्न चरित्र र संस्कृतिका विभिन्न पाटा तथा स्त्रीपुरुष सम्बन्धका भित्री तहहरु केलाउने देखाउने प्रयास पनि गरेका छन्।
जोन या दार्जिलिंगेहरु उतिबेला नै हलिउडको सिनेमा, जोन लेनन, विटल्स लगायतको आधुनिक संगीत, युरोपेली साहित्यका घागडान लेखकहरुका पुस्तकको सँगतमा पुगेको तर काठमाडौं त्यसमामिलामा धेरै पछि रहेको उनको अनुभूतिले हामी अहिले पनि दुनियामा पछि पर्नाका आधारभूत साँस्कृतिक कारणहरुको झल्को आएझैं लाग्छ। उनले रेडियो नेपाललाई कसरी पञ्चायतको भजन गाउने मण्डलीमा परिवर्तन गरिएको थियो, वाध्यवादनका साधनहरुको कति अभाव र दुःख थियो भन्ने विस्तारमा चर्चा गरेका छन् र कार्थकले काठमाडौंको पिपलबोटे साहित्य र समग्र साँस्कृतिक चेतनाको स्तरमाथि निर्मम व्यंग्य गरेका छन् ।
केही क्लासिकल लाग्ने रसिलो र स्वादिलो उनको भाषा र शैली गजव छ। कतिपय शब्द अनुभवन्यासमा कम प्रयोग गरिन्छ जस्तो लाग्थ्यो तर यिनले कुनै अमेरिकी क्यासिनो खेलाडीले बोल्ने भाषामा मजाले लेखेका छन्। आफ्नो जीवनका खासगरि प्रेम सम्बन्धका अन्तरंग क्षणलाई अर्गानिक भाषामै लेखेका छन्। त्यतिबेलाको नेपाली समाज र नेपाली समाजको विस्तारित रुप तर अर्कै संस्कृतिको दार्जिलिङका अनेक पाटा चिनाएका छन्।
समग्रमा यो पुस्तक नपढी यसको स्वाद लिन सकिन्न। उनलाई मृत्यु पछि पनि हामीलाई यो पुस्तक उपहारस्वरुप छाडेर गएकोमा धन्यवाद।
(नोटः यहाँ जोन र कार्थक छ्यासमिस भएर आएका छन्। पुस्तकको टेक्स्टमा जोन मुख्य न्यारेटर छ, कथा लेखक कार्थक हो, त्यसैले मैले जानेरै नै छ्यासमिस गरेको हो)