त्रिलोचन ढकाल राजाको निरंकुश शासनकालमा नयाँ जनवादी क्रान्तीको लक्ष्य राखेर तत्कालिन नेकपा मालेले थालेको भूमिगत राजनीतिका एकजना सक्रिय पेशेवर नेता थिए। २०५१ सालको निर्वाचनमा स्याङ्जाबाट प्रतिनिधि सभामा निर्वाचित ढकाल २०५४ मा स्थानीय विकास मन्त्री भएका थिए। नेकपा एमालेको पोलिटब्युरो सदस्य समेत भएका ढकाल अहिले जन्मथलो फापरथुममा बसेर अध्ययन तथा लेखनमा सक्रिय छन्। उनले लेखेको काजक्रिया र धर्म संस्कृतिबारेको रचना हाम्रा पाठकहरुलाई पनि सान्दर्भिक हुने ठानेर यहाँ प्रकाशित गरिएको छ। (-सम्पादक)
१. काजक्रिया
’वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीताको मृत्युभएपछि किरिया गरेनन्। पहिला छोरा प्रकाश मर्दा पनि काजक्रिया गरेका थिएनन्।‘ अहिले यो चर्चाले व्यापकता पाइरहेको छ। यति मात्र होइन कुनै एउटा ट्याक्सी ड्राइभर आठ दिनपछि क्रियापुत्रीको भेषमा क्रिया बसेका छन् भन्ने कुरासमेत सामाजिक सञ्जालमा प्रचारित भएको छ। पुष्पकमलले काजक्रिया नगरेको हुनाले आफू क्रिया बसेको भन्छन् रे उनले।
मेरो माओवादी पार्टी र पुष्पकमल दहालसँग कुनै नाता सम्बन्ध बनेको छैन तापनि सबै जसो “कम्युनिष्ट” र “कम्युनिष्ट पार्टी” मार्क्सवादी दर्शन द्वन्दात्मक भौतिकवादबाट च्यूत भएको समयमा उनले काजक्रियाका सम्बन्धमा द्वन्दात्मक भौतिकवाद कार्यान्वयन गर्ने आँट गरेको हुँदा उनको यो कदमको समर्थनमा पाइला चलाएको छु।
सही कुरा गर्ने हो भने काजक्रिया गर्ने भनेको शोक मनाउने हो। आफन्तको मृत्यु हुँदा सबै हुन्छन् शोकमग्न। पुष्पकमल पत्नीको मृत्यु हुँदा सबैले भन्दाबढी शोक उनैले मानेको प्रमाणित छ। उनका छोरीहरू र बुहारीहरू शोक मनाउनमा उत्तिकै समर्पित छन्। उनीहरूले आफ्नै विधि अनुसार काजक्रिया गरेका छन्। आरोप कर्ताको विधि अनुसार किरिया गरेन भनेर लाञ्छित गर्नु घोर तानाशाही स्वभाव र चरित्र हो भनेर बुझ्नु पर्दछ।
यहीँ नेर बुझ्नैपर्ने कुरा के छ भने मान्छे मर्ने भनेको के हो? मान्छे मर्दा मर्ने को हो ? सीता दहालको अवसान कहाँ भएको थियो ? त्यहाँ कसको मरण भएको थियो ? यी प्रश्नको उत्तर खोज्नको निम्ति मरणको वास्तविक धरातलमा अवतरण गर्न आवश्यक छ। सीता दहालको मृत्यु नर्भिक अस्पतालमा भएको थियो। सबैले देखेका छन् कि नर्भिक अस्पतालमा सीताको शरीर होइन आत्मा मरेको थियो। शरीर त त्यहीं लम्पसार भएर सुतिरहेको थियो। केही घण्टापछि उनको शरीर आर्यघाटमा लगेर चितामा राखी आगोले डढाएर नष्ट गरिएको थियो।
दुई पक्षको संयोजनबाट मानिस बन्दछ। पहिलो पक्ष हो शरीर र दोस्रो हो आत्मा वा जीवात्मा‚ जे भन्नुहोस्। आगोको स्वभाव तातो‚ पानीको स्वभाव शीतलता‚ हावाको स्वभाव शीतल स्पर्श भने जस्तै पूर्णाङ्ग शरीरको स्वभाव हो आत्मा।
सक्षममस्तिष्क‚ मुटु‚ फोक्सो‚ कलेजो‚ मृगौला‚ हाड‚ मासु‚ नसा‚ आदि अङ्गहरूको संयोजनबाट बनेको आत्मा‚ तीमध्येका महत्वपूर्ण अङ्ग असक्षम भएपछि वा मरेपछि आत्मा स्वतः मर्दछ। आत्मालाई मार्न न हतियारले काट्नापर्दछ‚ न आगोले जलाउनु पर्दछ‚ न बाढीले बढार्नु पर्दछ र न हुरीले उडाउनु पर्दछ।
माटो‚ पानी‚ हावा‚ वायुलगायतका तत्वहरूको संयोजन भएपछि बनेको शरीरमा आत्मा स्वत⁚ प्रकट हुन्छ। ती तत्त्वहरू कमजोर भएपछि वा मरेपछि आत्मा स्वतः नष्ट हुन्छ। पुरातत्वले गरेको अनुसन्धानको निचोड यही हो। विज्ञानको अनुसन्धानद्वारा प्राप्त परीणाम पनि यही हो। मार्क्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादको निष्कर्ष पनि यही हो।
आफ्ना पिता माता आदि आफन्तको मृत्यु हुँदा सम्पूर्ण मानिसहरूले किरिया गर्दछन्। मानिसले यस सम्बन्धमा विविध विधिहरू बनाएको छ। यी विधिहरू मुख्यगरी अन्धविश्वासमा आधारित धर्मका मार्ग दर्शनमा छन्। हिन्दू धर्मावलम्बीहरूको आफ्नै विधि छ। क्रिश्चेन‚ इस्लाम बुद्ध‚ जैन‚ शिख आदि धर्महरूका पनि आ-आफ्नै विधि छन्। जात‚ जाति‚ जनजाति र भूगोलका आधारमा पनि किरियाका विधिहरूमा फरकपन देखिन्छ।
पुष्पकमल दहाल जस्ता अन्धविश्वासलाई अस्वीकार गर्ने तथा विज्ञान र भौतिकवादमाथि विश्वास गर्नेहरूले अन्धबिश्वासमाथि आधारित भएर काजक्रिया नगर्नु स्वाभाविक हो। आफ्नै विधिले शोक मनाउन दाजुभाइ‚ इष्टमित्र र आफन्तसहित भएर मौनधारण गरी श्रद्धाञ्जली दिदै केही समय वा केही दिन शोक मनाउनु काजक्रियाको एउटा विधि हो। नेपाल कम्युतिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले यस्तो विधि लागु गर्ने घोषणा मात्र गरेका थिएनन् दृढतापूर्वक कार्यान्वयन पनि गरेका थिए।
अरूको विधि नअपनाएर आफ्नै तरिकाले किरिया गर्नेहरूलाई ‘किरिया गरेनन्’ भनेर लाञ्छित गर्नु अज्ञानता‚ मूर्खता र तानाशाहीद्वारा सिर्जित ”नर्क“मा चुर्लुम्म डुब्नु हो।
अन्धविश्वासको गर्भबाट जन्मेका धर्म‚ मानिसद्वारा निर्मित विभिन्न जात‚ प्रकृतिका उपज जाति जनजाति र भूगोलका आधारमा शव समाधि गर्ने विधिहरू पनि फरक फरक छन्। काजकिरिया र शबसमाधिका विधिहरूमा संसोधन गर्ने प्रयत्न भएको पनि देखिएको छ। क्रियाको अवधि सातदिन या तिनदिन बनाउनु‚ मृत्यु भएको आठौं दिनबाट मात्र किरिया सुरु गर्नु‚ विद्युत शबदाह गृहमा दाह संस्कार गर्नु‚ छोरीले पनि छोराको सट्टामा किरिया गर्नु‚ एक वर्ष दुःख बोक्नुको को सट्टा छ महिना वा ४५ दिन वा अन्त्यष्ठी समापनको दिन देखिनै फुकाउनु यसका केही उदाहरणहरू हुन्।
अन्धविश्वासको जन्म कहिलेदेखि भयो? पुरातत्व र विज्ञानले यसको अनुसन्धान गरेका छन्। यो अनुसन्धान अनुसार पृथ्वीमा मानिसको विकास आजभन्दा एक करोड विसलाख वर्षअगाडि देखि सुरु भएको हो। त्यसको लाखौं वर्षसम्म मृत्युलाई बुझ्ने मानव चेतना अरू पशुहरूकोभन्दा माथि उठेको थिएन। लाखौं वर्षपछि आफ्नो समूहको मानिसको मृत्युलाई लिएर तर्क वितर्क हुन थाल्यो। केहि बेर अगाडिसम्म खाँदै‚ हिँड्दै‚ बोल्दै र ख्यालठट्टा गर्दै गरेको मान्छे सासै नफेरीकन निष्क्रिय भएर पछारिएको छ। यसको उत्तर खोज्दा सर्वसम्मतिले के निष्कर्ष निस्कियो भने मानिसको शरीरबाहेक यसलाई सक्रिय पार्ने अरू केही पनि हुँदोरहेछ।
मानिस मर्दा त्यो के भयो भन्ने बारेमा भने विवाद भयो। एउटा पक्षले त्यो मर्यो भन्यो र त्यहीँ आँखाको अगाडि मरेको देखायो। अर्को पक्षले त्यो मरेको छैन स्वर्ग या नरकादि सुख(दुख उपभोग गर्न परलोकमा गयो भन्यो। त्यही दिनदेखि अन्धविश्वासको जन्म भयो।
त्यसको लाखभन्दा बढी वर्षमा त्यसले धर्ममा विकास गर्यो। अन्धविश्वासको जन्म हुँदाको दिनदेखि मानव शरीर सञ्चालन गर्ने तत्व मरेको होइन परलोक गएकोछ भन्नेहरूले प्रमाणित गर्न अनुसन्धानमा लागे भने त्यो आफ्नै अगाडि मरेको भन्नेहरू पनि अनुसन्धानमा केन्द्रीत भए। आजसम्म स्वर्ग‚ नर्क‚ परलोक‚ अरूलोकहरु केहि पनि भेटिएका छैनन्। भएको भए पो भेटिन्थे।
पहिला विश्व मानव समुदायले स्वीकार गरेको एउटै धर्म ‘सनातन धर्म’ थियो। चारहजार वर्ष अगाडिदेखि भारतमा आएर खसआर्य हरूले वेदको रचना गर्न थालेपछि वेद अश्विकार गर्नेहरूले आआफ्ना सम्प्रदायहरू बनाए। वेदको रचना गर्नेहरूले त्यसको हजार वर्षभन्दा पछि हिन्दुधर्मको प्रारूप खडा गरे। अरूले जैन‚ इस्लाम‚ बुद्ध आदि धर्मको स्थापना गरे। कुनै पनि धर्म अस्वीकार गर्नेहरूले चार्वाक दर्शनलाई जारी गरे। यही दर्शनको प्रकाशमा युरोपमा मार्क्सवादी दर्शनको विकास भयो।
के काजकिरिया गर्नु पर्दैन?
जगतमा पृथ्वी‚ जल‚ अग्नि‚ वायुआदि परमतत्व छन्। यिनकै समन्वयबाट शरीर बन्दछ। त्यस्ता तत्व संयोजित भएपछि बनेको देहमा चैतन्य स्वतः प्राप्त हुन्छ। ती तत्वमध्ये सबैमा वा कुनैमा कमजोरी आयो वा मरे भने मानिस मर्दछ। मानिसको मृत्यु हुनु भनेको आत्मा मर्नु हो। मरिसकेको आत्मा प्रेत कसरी हुनु ॽ हुँदै नभएको प्रेतलाई प्रेतत्वबाट मुक्त गर्न भनेर ‘काजकृया’ गरी सम्पत्ति र सुख किन नष्ट गर्नु र गर्न लगाउनु ॽ
यसको मतलब आफन्तहरूको मृत्यु हुँदा क्रिया गर्नु पर्दैन भन्ने होइन। आफन्तकोमृत्यु भइसकेपछि शोक उत्पन्न हुनु स्वाभाविक हो। शोक गर्नु नै क्रिया गर्नु हो। आफन्तका परिवार वा समाजप्रति मरेकाले दिएको योगदानको स्मरण गर्नु‚ उनले सुरु गरेका समाजोपयोगी कामहरू पूरा गर्ने प्रतिज्ञा गर्नु‚ उनको सम्झनामा दुखि गरिबहरूलाई दान दिनु‚ गच्छे अनुसार विद्यार्थी‚ सिर्जनाकार तथा रचनाकारहरूको सम्मान गर्नु‚ सम्पन्न हरूले मृत्यु वरण गरेकाहरूको नाममा विद्यालय तथा अस्पताल आदिको स्थापना तथा संचालन गर्नु काजकृया हो। शोकसभा गर्नु पनि एक किसिमको किरिया नै हो। तर “आत्मा” प्रेत भएको छ भन्ने गलत कुरामाथि विश्वास गरेर पिण्ड दानादि अन्धविश्वासी प्रक्रिया अपनाउने किरिया आवश्यक छैन। यस्ता किरिया त पुरेतहरूको लुट र यजमानको दरिद्रता वृद्धि गर्ने अन्धविश्वासी काममात्र भएका छन्। यस्ता किरियाको कुनै प्रयोजन छैन।
यस सम्बन्धमा महान पूर्वीय दार्शनिक माधवाचार्यले ’सर्वदर्शनसङ्ग्रह‘मा लेख्नुभएको छ–
”त्यसकारण मरेकाको निम्ति गरिने भनेका प्रेत कार्यादि पुरेतहरूले आफ्नो जीवीकाको उपाय बनाएका हुन्। योभन्दा बढता कुनै फल छैन।“
“ततश्च जीवनोपायो ब्रामणैर्विहितस्तिह।
मृतानं प्रेतकार्य्याणि न त्वन्यद्वियते क्वचित्।।” (माधवाचार्य‚ सर्वदर्शनसङ्ग्रह-खेमराज कृष्णदास प्रकाशन बम्बई-४ पेज ११ श्लोक २४)
हिन्दू कर्मकाण्ड अनुसार माता पिता र अफन्तको मृत्यु भएको बेलामा काजकृया गर्ने चलन छ। त्यति बेला तर्पण र पिण्ड दान गरेर प्रेतको खाना र शरीर निर्माणको प्रबन्ध गर्ने भनिन्छ। के दिएको पिण्ड तर्पण प्रेतले प्राप्त गर्न सक्छन् ॽ पिण्ड पानी पाउने कुनै सम्भावना छैन। यो त यजमानलाई उल्लु बनाएर कर्मकाण्डीहरूले लुटको धन कमाउने उपाय मात्र हो।
पहिलो कुरा आत्मा मानिस को मृत्यु हुँदा मर्दछ। मरिसकेको आत्मा कसरी प्रेत हुन्छ ॽ पूर्णाङ्ग मानव शरीरबाहेक आत्मा बस्ने अरू कुनै ठाउँ छैन। हुँदै नभएको आत्मारूपी प्रेतले कहाँबाट खानु पिण्ड पानी ॽ अर्को कुरा प्रेत बस्ने भनेको प्रेतलोक र परलोकको अस्तित्व छैन। कहाँ बसेर किरियाको भाग खानु।
प्रेतले‚ घरमा बसेर दिएको पिण्ड पानी खान पाउने भए एउटा पक्षमा निकै सुविधा हुने थियो। यात्रामा जानेहरूले खर्च बोक्नु पर्ने थिएन। खाना र बासका निम्ति होटल‚ रेष्टुरा र लजहरूको व्यवस्था गर्न पर्ने पनि थिएन। घरमा बस्नेले यात्रारत व्यक्तिको नाममा पिण्ड पानी दिएपछि यात्रारत व्यक्तिले जहाँ पुगेका ‚छन् त्यहीँ चाहना अनुसारको सामग्री पाउने थिए। अचेल रोजगारीका निम्ति विदेश जाने चलन व्यापक छ। विदेशबाट यहाँ घरमा पैसा पठाउन निकै अप्ठ्यारो छ। पिण्ड पानी दिँदा प्रेतले पाउने भए विदेशबाट बा ∕ आमा ∕ पति ∕ पत्नीका नाममा पिण्ड दान दिँदा पैसा यहाँ पाइनु पर्ने। यस्तो सम्भव भएको देखिएको छ ॽ छैन। त्यसकारण मर्नेको खानपानको निम्ति भनेर किरिया गर्नु अनुपयुक्त छ। यो पनि कर्मकाण्डीहरूको लुटलाई प्रोत्साहन गर्ने साधन मात्र बनेको छ। यसले जीवित मातापिताको सेवा गर्नबाट सन्तानहरूलाई हतोत्साहित गरेको छ। सन्तानले जीवित छँदा पिता माताको सेवा नगर्ने र मृत्युपछि पिण्ड तर्पण गरेर कर्तब्य पूरा गरेको ठान्ने गलत नजिर बसालेको छ।
यदि आत्मा छ र लोकान्तरको भ्रमणमा गएको हो भने पितामाता‚ पति ∕ पत्नी र बालबच्चा आदिका मायाले ऊ फर्केर आउँथ्यो। विधवा पति ∕ पत्नी‚ टुहुरा सन्तान र पीडामा भएका आफन्तले आफ्नो अनुपस्थितिमा दुख पाएको कसरी सहन गर्न सक्नु ॽ तर कोही पनि आएका छैनन्। भए पो आउनू!
२. धर्म र संस्कृति
केही समयअगाडि ‘काजकृया’ शीर्षकको लेख लेखेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थिएँ। त्यसमाथि प्रशस्त टिप्पणीहरू आउनु स्वाभाविक थियो। तीमध्ये अधिकांश सकारात्मक थिए। केही मित्रहरूले धर्म संस्कृतिमाथि हमला भयो भनेर दुखेसो पनि पोख्नु भएको थियो। ती सबै पक्ष मनन गरी धर्म संस्कृतिका सम्बन्धमा रहेका ज्ञानको सीमितता लाई केही सहयोग मिलोस् भनेर यो लेख लेख्ने प्रयत्न गरेको छु।
१ परिभाषा
क. धर्म
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित बृहत् नेपाली शब्दकोशमा धर्मको परिभाषा यसरी दिइएको छ-
धर्म भनेको⁚–
१. व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति‚ प्रवृत्ति‚ स्वभाव।
२. स्वभाविक गुण‚ सहज वृत्ति।
३. स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्यकार्य‚ पुण्यकर्म।
४. कुनै जाति‚ वर्ग‚ पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार‚ लोकको हित वा
व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य (जस्तो मानवधर्म‚ नारीधर्म‚ युगधर्म इत्यादि)
५. असल आचरण‚ सदाचार‚ नियम
६. पुण्य‚ सत्कर्म।
७. ईश्वर वा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म।
८. कुनै महापुरुषले चलाएको मत‚ सम्प्रदाय।“
बुँदा नम्बर ३ र ७ मा उल्लेखित परिभाषाबाहेक अरू धर्म अनादि र अनन्त छन्। बुँदा नम्बर ३ र ७ मा भने अनुसारको धर्मको गर्भादान त्यतिबेला गराइएको हो जतिबेला मानिसको मृत्युको रहस्य बुझ्ने प्रयत्न हुन थालेको थियो। सुरुमा मृत्युको रहस्य बुझ्ने प्रयासले अन्धविश्वासको जन्म गरायो। कालान्तरमा त्यो अन्धविश्वास बुँदा नं ३ र ७मा भनेजस्तो धर्ममा विकास भयो।
धर्मको परिभाषा निकै फराकिलो छ तापनि धर्म भन्दाबित्तिकै अन्धविश्वासमाथि उभिएको धर्मलाई बुझ्ने गरिएको छ। यसलाई बिज्ञानयुक्त क्षेत्रले अस्वीकार गर्नु स्वाभाविक हो।
ख. संस्कृति
संस्कृति मानवका साथसाथ विकसित भएको हो र यो अनादि र अनन्त छ। मानवले उत्पत्तिकालदेखि नै खानपान‚ बसोबास‚ हिँडडुल लगायतका दैनिकी सञ्चालनको निम्ति प्रकृतिसँग निरन्तर संघर्ष गर्दै आएको छ। यो अभियानमा लाग्दा मानिसले खाना‚ भेषभुषा‚ रहनसहन‚ हिँडडुल‚ चाडबाड‚ प्रकृतिमा रहेका रहस्यहरूको निराकरण आदि गरी संस्कृतिको जन्म र विकास गराउँदै आएको छ। सुरु सुरुमा यसमा समूह र भूगोलका आधारमा विविधता थियो। जस्तो काठमाडौँको संस्कृति‚ कर्णालीको संस्कृति‚ चिनिया संस्कृति‚ अमेरिकी संस्कृति‚ इण्डियन संस्कृति आदि। मानिसले अन्धविश्वासमाथि आधारित धर्मको जन्म गराएपछि संस्कृति धर्मका आधारमा पनि भिन्न भिन्न नाममा प्रकट हुन थाल्यो। जस्तो हिन्दु संस्कृति‚ क्रिश्चियन संस्कृति‚ इस्लाम संस्कृति‚ बुद्ध संस्कृति आदि। हिन्दू समाज जातजातिमा विकास हुन थालेपछि जातका आधारमा पनि संस्कृतिको विकास हुन थाल्यो। जस्तो ब्राह्मण संस्कृति‚ क्षेत्रीय संस्कृति आदि। जनजातिहरूमा आफ्नै संस्कृतिको जन्म र विकास भएको देखिन्छ। जस्तो किरात संस्कृति‚ गुरुङ् संस्कृति‚ थारू संस्कृति आदि। अन्धविश्वास माथि उत्पत्ति भएका धर्मले हस्तक्षेप गर्न थालेपछि संस्कृतिभित्र पनि अन्धविश्वासले ठाउँ लिन थालेको भेटिन्छ।
२. दृष्टिकोण
धर्म र संस्कृतिलाई हेर्ने र बुझ्ने विभिन्न दृष्टिकोणहरू प्रकट भएका देखिन्छन्। तिमध्ये दुई दृष्टिकोण बढी चर्चामा छन्। यी दुवैले अतिवाद प्रस्तुत गरेका छन्। एउटाले तिनको हुबहु संरक्षण गर्ने कुरा गर्दछ भने अर्कोले तिनलाई समूल नष्ट गर्ने कुरा गर्दछ।
अन्धविश्वास भनेको पुरातत्त्व र विज्ञानद्वारा सत्य प्रमाणित हुन नसकेका कुराहरूमाथिको विश्वास हो। यो मानिसको अज्ञानताको गर्भबाट जन्मेको हो। मानव सचेत भइसकेपछि त्यसको अन्त्य हुनु स्वाभाविक छ। मानव चिन्तनबाट अन्धविश्वासको उन्मूलन भएपछि त्यस द्वारा प्रादुर्भाव भएका धर्म र संस्कृति नरहनु अस्वाभाविक हुनेछैन। वास्तविकता यस्तो भएपनि यो राजनीतिक क्रान्ति जस्तो फड्का हान्ने हुन सम्भव छैन। फड्का गुणात्मक परिवर्तन हो। धर्म संस्कृतिमा हुने गुणात्मक परिवर्तन‚ मात्रात्मक परिवर्तनको लामो प्रक्रियाद्वारा सम्पन्न हुनु अनिवार्य छ।
हुबहु संरक्षण गर्ने कुरा असम्भव भएरै आएको छ। यस्तो परिवर्तन आगामी दिनमा पनि सम्भव छैन। त्यसको संरक्षण होइन विकास गर्दै जानुपर्दछ। पुरै संरक्षण गर्ने भनेको सारत⁚ नष्ट गर्नु हो। उदाहरणको निम्ति पैशा लिन सकिन्छ। मानिसले खल्तीमा पैसा जम्मा गर्छन्। त्यसको संरक्षण गर्न मात्र ध्यान दिने हो भने केही हराउँछ‚ केही चोरी हुन्छ‚ केही खर्च हुन्छ र सकिन्छ। त्यसकारण मानिसले खल्तिमा पैसा थप्दै जाने कुरा गर्दछन्। त्यसै गरी धर्म र संस्कृतिको विकास गर्ने कुरा उपयुक्त छ। हुबहु संरक्षण गर्न खोज्दा यसको अन्तिम बिन्दु भनेको ध्वस्त हुनु हो। पछौटे चिन्तनयुक्त मानिसहरूसमेत पूर्ण सचेत भएपछि यस्ता संरचनाहरू नास हुनु स्वाभाविक हुनेछ।
३. विकास
क. विगतदेखि वर्तमानसम्म
विगतदेखि वर्तमानसम्म हेर्दा हुबहु संरक्षण र समूल नाश दुई वटै अतिवादी दृष्टिकोण हरू भएको प्रमाणित भएको छ। अहिलै समूल नष्ट गर्ने कुरा अलोकप्रिय र अव्यवहारिक भएको छ भने हुबहु संरक्षण प्राकृतिक विकासको अबरोधक छ। भावी विकासका बारेमा यही शीर्षकको अर्कै अंशमा छलफल गरौंला। पहिला यिनको विगतमा कसरी विकास हुँदै आएको छ भन्ने कुरामा चर्चा गरौं।
यहाँ म हिन्दू धर्मसँग सम्बन्धित कुरा गर्द छु। किनभने मेरो उपरोक्त लेखको प्रगतिशील विचारमाथि यही पक्षले प्रहार गर्न खोजेको थियो।
वेद र मनुस्मृतिले विभाजन गरिदिएको जात मध्ये ब्राह्मण‚ क्षेत्री र वैश्यको ब्रतबन्ध गरिन्छ। त्यसपछि उसको दैनिकीमा परिवर्तन हुन्छ। बिहान उठ्नेबित्तिकै स्नान गर्नु र गायत्री मन्त्र जप गर्नु व्रतबन्ध गरेका हिन्दूहरूको निम्ति अनिवार्य छ। गायत्री मन्त्र जप गर्दा छातीमा जनै हुनु र टाउकोमा शिखायुक्त टुप्पी हुनु अरू बढी अनिवार्य छ। यतिमात्र होइन आधाकपाल९कल्पी०काट्नु हिन्दूधर्मको विपरीत मानिन्छ। भन्नुहोस् त हुबहु संरक्षणका पक्षधरहरू‚ नेपालमा हिन्दुहरू कतिजना छन्?
यतिबेला बिहान स्नान‚ गायत्री जाप‚ जनै धारणा‚ शिखायुक्त टुपी‚ आधा कपालकटाइ आदि क्षेत्रमा प्रसस्त परिवर्तन र विकास भएको छ। यो विकास स्वाभाविक गति हो। यो विकासबाट हुबहु संरक्षण पक्षधरहरूले शिक्षा लिन जरुरी देखिन्छ।
एक पुस्ता अगाडिसम्म हिन्दु ब्राह्मणहरूका बिचमा मदिरापान‚ कुखुरा–सुँगुरको मांस भक्षण‚ “तल्लो जात“ले पकाएको भोजन‚ अन्तर्जातीय विवाह आदि वर्जित थिए। घर होस् वा बाहिर धोती नफेरी खान मिल्दैनथ्यो। जन्त जाँदा सबै जन्तीको धोति बोक्न बेग्लै भरियाको व्थवस्था गरिनु पर्थ्यो। यो प्रचलन तोड्नेहरू जातच्युत हुन्थे। अहिले मदिरा‚ कुखुरा र सुँगुर अधिकांश ब्राह्मणका निम्ति खानपानको वस्तु भएको छ। जो सुकैले पकाएको होस् वा बासी त्यासी होस्‚ सार्वजनिक होटल र क्याटरिङको भोजन सर्वप्रिय भएको छ। धोतीले त बजारैमा मृत्युवरण गरिसकेको छ। आफूले लगाएका शुट–बुट सहितको पोसाकमा सबैजशो ब्राह्मणलगायत तागाधरीहरूले भोजन ग्रहण गर्दछन्। यसरी धर्म र संस्कृतिको यो क्षेत्रमा प्रशस्त विकास हुँदै आएको छ।
दाशप्रथा‚ सतिप्रथा जस्ता कुप्रथाहरू सयवर्ष अगाडिसम्म हिन्दू धर्मका प्रमुख अङ्ग थिए। तिनको विरोध गर्नेहरू धर्म विरोधी घोषित हुन्थे र कडा दण्डका भागी हुन्थे। अहिले सती व्यवस्था लागू गर्नेहरूमाथि ज्यानमाराको जस्तो कडा दण्ड हुन्छ। यो स्वाभाविक परिवर्तन र विकास हो।
म अहिले ७५ वर्षको भएँ। मभन्दा अघिल्लो पुस्ताका जमानामा जुत्ता थिएनन्। जनता साराका सारा खालि खुट्टा हिड्थे। मैले पनि दश वर्षको उमेरसम्म जुत्ताको मुख देखिन। ठण्डि मौसममा घुम्न आएका हिमाली जनता (भोटे वा टोपे)हरूका खुट्टामा मात्र पसुको छाला र बक्खु सिलाएर आफैले तयार गरेका जुत्ता देखिन्थे। आमजनताको मुख्य पोशाक दौरा(तराईमा कुर्ता)‚ भोटो‚ कछाड‚ जाँगे र अस्कोट थिए। महिलाहरूमा चौबन्दी चोलो‚ तालुमा एउटा चुल्ठो‚ घलेक‚ मुजेत्रो‚ गुनियो मुख्य पोसाक थिए। अहिले पुरुष मात्र होइन महिला समेत जुत्ता–बुटजुत्ता‚ शुट(कमिज–कोट–पाइण्ट)‚ कुर्ता–पाइजामा‚ हाफपाइण्ट र टिसर्ट–पाइन्ट मा भेट हुनु स्वभाविक भएको छ। केही वर्ष अगाडिसम्म विधवा महिला सेतो पहिरनमा सिँगारपटार बिहिन हुनुपर्थ्यो। सेतो बाहेकको पहिरन वर्जित थियो। विधवा विवाह बहिस्कृत थियो। यस्तो थियो हिन्दू धर्म र संस्कृति। अहिले रातो बस्त्र‚ सिँगारपटार‚ गरगहना विधवाहरूको निम्ति सर्वस्विकार्य भएको छ। विधवा विवाहलाई समाजले स्वीकार गर्न थालेको छ। धर्म र संस्कृतिमा भइरहेको विकास हो यो।
मैले अक्षर चिन्दा कापी र आधुनिक कलम)मसी थिएन। काठको फलिको वा ढुङ्गाको छपनीमा माटाको धुलो राखी बाँस वा दाउराका छेस्काले कोरेर अक्षर‚ अङ्क आदि लेख्ने अभ्यास गरिन्थ्यो। त्यसै गरी ज्योतिषका सारा गणितको कृयाकलाप गरेर निस्कर्ष निकालिन्थ्यो। जडिबुटी पकाएर मसि बनाइन्थ्यो। निगालो या हाडेउनियो काटेर कलम बनाइन्थ्यो। आधुनिक कागज पनि पाइँदैनथ्यो। जडिबुटीबाट बनाइएको घरेलु कागजलाई चामलको माँडद्वारा जमाएर चाहे अनुसार बाक्लो बनाई लेख्नमा प्रयोग गरिन्थ्यो। हाम्रो घरमा सबैजसो पुस्तकहरू(वेद‚ पुराण‚ ज्योतिष) हस्तलिखित थिए। पढन आएका विद्यार्थीहरूले आफूलाई आवश्यक पर्ने पुस्तक लेखेर लैजान्थे। विदेश वा टाढा गएका आफन्तसँग लिखित चिठीद्वारा समाचार आदानप्रदान गरिन्थ्यो। अहिले पढन‚ लेख्न‚ समाचार)सामग्री आदानप्रदान गर्न कम्युटर‚ इमेल‚ फेसबुक‚ युट्युब‚ टिकटक आदि अत्याधुनिक साधन प्रयोग गरिन्छ। लौ भन्नुहोस् त पठन‚ लेखन‚ समाचार आदानप्रदान आदि क्षेत्रको धर्म र संस्कृतिको विकास कसरी भएको छ। अनि आँफूले देखे जानेकोलाई मात्र सर्वश्व ठानेर त्यसको हुबहु संरक्षण गर्न खोज्ने कुराबाट सत्यताको पहिचान गर्न सफल हुन सकिन्छ?
पहिला जैन धर्मलाई वेद निन्दक मानेर (नगच्छेत् जैन मन्दिरम्) जैनको मन्दिरमा नजानु भनिन्थ्यो। माउण्ट अबु‚ शाहीबाबा‚ ओशो‚ आदि सम्प्रदायको त नामै थिएन। अहिले नेपालबाट भारतका जैन मन्दिरहरू र माउण्ट अबु जस्ता ठाउँहरूमा हिन्दुहरू धाईरहेका हुन्छन्। यो पनि धर्म र संस्कृतिमा भएको स्वाभाविक विकास हो।
केही पण्डित र पुरेतबाहेक सबै पुरुष र महिलाहरू निरक्षर थिए। महिला र तल्लो जातलाई ब्राह्मण–गायत्री मंत्र सुन्न पनि अनुमति थिएन। ब्राह्मणहरूले पनि वेद पढ्न व्रतबन्ध गर्नु पर्थ्यो। अहिले गायत्री र वेद रेडियो‚ टिभी र सामाजिक सञ्जालबाट घन्काईरहेको सुनिन्छ। अहिले हाम्रो सेरोफेरोमा सबैजसो मानिस साक्षर छन्। ठुला विद्वान र दार्शनिक पनि जन्मेका छन्‚ सर्वसाधारणको बिचमा। यो विकास पनि स्वभाविक हो। यसले धर्म संस्कृतिमा पारेको प्रभावबाट कोही पनि मुक्त हुन सम्भव छैन।
अहिले समुद्रपारि बिदेशजान मानिसहरू हुरुक्क हुन्छन् र जान्छन्। त्यहाँ जान पाउँदा विजयध्वजा फहराइरहेझैँ मान्दछन्। २०४६ सालभन्दा अगाडिको राजतन्त्रात्मक व्यवस्थामा यो असम्भव थियो। भारतबाहेक अरू देशमा जान छुट थिएन। ब्रिटिस भारत फौजमा लडाकु मानिएका जातका नेपाली नागरिक र त्यहाँ पण्डित भएर ब्राह्मणहरू जान्थे। यसरी जानेहरूले यहाँ आएर पतिका (पुनः ब्रतबन्ध) गर्नुपर्छ भन्थे। अरबको त नामै सुनिदैनथ्यो। यस्तो थियो धर्म र संस्कृति। अहिले के स्थिति छ‚ व्यवहारमा कार्यान्वयन भइरहेको छ।
मानिसहरू गाउँमा बस्थे। खेतीपाती गर्थे। धर्मका नाममा व्यक्तिहरूले बाटो‚ पुल बनाउँथे। पाटीपौवा निर्माण गर्थे। चौतरा पोखरी बनाउँथे। पानीपँधेराको निर्माण गर्दथे। यसलाई धर्म र संस्कृति मानिन्थ्यो। अहिले मानिस सहरकेन्द्रित छन्। यतिसम्म कि सेवानिवृत्त भएपछि पनि सहरको प्रदूषणभित्र स्याँस्याँ फ्याँफ्याँ गर्दै भौँतारिरहेका छन्। चौतरा पोखरी गायब भइसकेका छन्। बाटोघाटो पानी पँधेरो आदि सबै सरकारले बनाउँछ। यतिसम्म कि घरबाट आफ्नै गोठमा जाने बाटो बनाउन पनि व्यक्तिले सरकारी ढुकुटी चाहार्दछन्। मानिस पैदल हिँड्थ्यो। अहिले उड्ने र गुडने साधनबाहेक चल्न नसक्ने निर्जीव भएको छ मान्छे। अहिले देश निर्माणमा अगुवाइ गर्ने जिम्मा लिएका नेता र सरकारी हाकिमहरू समेत पश्चिमा देशको ग्रिनकार्ड लिन लालायित छन्। अमेरिकी ग्रीनकार्ड पाउन डिभी भर्नेहरूको लाइनको लम्बाई नाप्नु असाध्य भएको छ। यो हो धर्म र संस्कृतिमा भएको विकासको कुरुप अनुहार।
नेपालमा शाहवंशीय राजतन्त्रभित्र राणाशासन जन्मियो। जनताले त्यसको उन्मूलन गरेर प्रजातन्त्रको स्थापना भयो। पुन निरङ्कुश पञ्चायतको खोलसहितको राजतन्त्र आयो। त्यसको उन्मूलन भएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ र समाजवाद उन्मूख संविधानद्वारा देश धर्मनिरपेक्ष घोषित भएको छ। के प्रत्येक शासन व्यवस्थाको परिवर्तनका साथमा धर्म र संस्कृतिमा परिवर्तन भएको छैन? यो विकासको गति बुझ्न अनिवार्य छ।
काठमाडौँ उपत्यकामा गोरूले जमिन जोत्नु धर्म र संस्कृति विरोधि मानिन्थ्यो। किसानहरूले कोदालोले खनेरै सारा खेतमा खेतिपाती गर्थे। देशमा अन्यत्र गोरु र तराईमा कतै कतै रागाँले जोत्नै काम भइरहेको छ। हलो काठको बनाउने चलन थियो। विस्तारै फलामको हलो पनि प्रयोग हुन थालेको थियो। यस्ता औजारमाथि विकसित थियो धर्म संस्कृति। अहिले काठमाडौँ होस् वा पहाड वा तराई आधुनिक मेसिनका साथ विकसित भंइरहेको छ धर्म संस्कृति।
उत्पादनका औजारद्वारा मात्र होइन लडाइँका हतियारले पनि धर्म संस्कृतिमा फरकपन प्रस्तुत गरेको कुरा सबैलाई थाहा छ। ढुङ्गे‚ धातुका‚ बारुदका र आँणविक सबै हतियारको समयमा धर्म र संस्कृतिमा प्रसस्त परिमार्जन र विकास हुँदै आएको छ।
मलाम जाँदा खाली खुट्टा जानुपर्छ भनिन्थ्यो। घाटमा पुगेपछि लगाएका कपडा धुनुका साथ नुहाउनु अनिवार्य थियो। अहिले मलाम जान मात्र होइन चितामा श्रद्धाञ्जली दिँदा पनि जुत्ता सर्वस्वीकार्य भएको छ र लगाएका कपडा नधुँदा र ननुहाउँदा पनि फरक नपर्ने भएको छ। तिर्थ जाँदा खाली खुट्टा नगए धर्म हुँदैन भनिन्थ्यो। अहिले जुत्ता मात्र होइन गुड्ने र उड्ने बेगर तिर्थ जान सम्भव छैन। धर्म संस्कृतिको स्वाभाविक विकास हो यो।
यो एउटा लेख भएको हुनाले मुलत⁚ मभन्दा एक पुस्ता अगाडिदेखि धर्म र संस्कृतिमा भएको विकासको चर्चा गरेँ। मानिसको उत्पत्ति कालदेखि नै धर्म र संस्कृतिमा भएको विकासको बारेमा छलफल गर्दा पुस्तकको ठेली नै बन्न सक्ने छ।
धर्म र संस्कृतिका क्षेत्रमा विगतदेखि वर्तमानसम्ममा भएको विकासको सामान्य झलकको प्रस्तुति दिइयो। यो जानकारी‚ हुबहु संरक्षण गर्ने र सुधारको कुरा सुन्दा कन्सिरीका रौँ ठाडा हुने मानसिकतालाई विकासको गति बुझ्न केही सहयोग गर्न सक्ला भन्ने लागेको छ।
ख. भविष्य
धर्म र संस्कृतिको विगतदेखि वर्तमानसम्म जस्तै भविष्य पनि विकासमय छ। क्रमिक विकासमा ध्यान नदिने हो भने न यसको संरक्षण हुन सक्छ न समुल नष्ट नै। त्यसकारण विकासको अग्रगतिमा उर्जा थप्नको निम्ति आधुनिक मानवले निम्न विषयमा ध्यान दिन आवश्यक छ⁚
शोषण
मानिसद्वारा मानिसमाथि हुने शोषण अहिले पनि व्यापक छ। एउटै धर्म र संस्कृतिभित्र रमाईरहेका मानिस मानिसका बीचमा भइरहेको यसले दैवी मान्यता समेत पाइरहेको छ। अहिलेको उन्नत समाजले आपसी शोषणलाई स्वीकार गर्न सक्दैन। जसरी कमाएको भए पनि धनी मानिसलाई लक्ष्मीपति (विष्णुको अंश) र राजालाई विष्णुको अवतार मान्ने शास्त्रीय मान्यता अझै जारी छ। यसरी धनीले गरिबलाई‚ धुर्तले सुधालाई‚ पढेकाले नपढेकालाई‚ हाकीमले तल्ला कर्मचारीलाई‚ शोषण गरिरहने हो भने धर्म र संस्कृतिभित्रको भिडन्तले तिनलाई अलोकप्रीय बनाउनेछ र नष्ट गर्नेछ। त्यसकारण धर्म र संस्कृतिभित्रबाट शोषण जारी गर्ने प्रावधान र व्यवहार यथाशक्य छिटो हटाउन अनिवार्य भएर आएको छ।
सामाजिक विभेद
एउटै धर्म र संस्कृतिभित्र निर्मम सामाजिक विभेद अहिले पनि जारी छ। महिला र पुरुष‚ धनी र गरिब‚“माथिल्लो जात” र “तल्लो जात”, दलीत र गैरदलीत‚ विकसित क्षेत्र र अविकसित क्षेत्र‚ पढेका र नपढेका‚ बृद्ध र युवा‚ प्रौढ र बालबृद्ध आदिका बीचमा गहिरिरहेको सामाजिक विभेद निकै क्रुर र लाजलाग्दो छ। धर्म र संस्कृतिभित्र रहेका यस्ता जङ्गली विभेदहरू विकसित समाजको निम्ति अश्विकार्य छन्। यिनलाई समूल नहटाएसम्म धर्म र संस्कृतिको संरक्षण हुनु सम्भव छैन।
विदेश भक्ति
हिन्दू धर्म र हिन्दू संस्कृति इण्डियामाथि आधारित छन्। यज्ञ सुरु गर्दा गरिने संकल्प‚ दैनिक नुहाउँदा पढिने श्लोक‚ धाम‚ तिर्थ‚ धार्मिक गुरु‚ धार्मिक उपाधि‚ धार्मिक कार्य भनेर लगाइने पुराणहरूका कथा‚ आदि अधिकांश पक्ष इण्डियाको गुणनमा समर्पित छन्। यसले गर्दा नेपाली धार्मिक गुरुहरू इण्डियाको भक्त हुनु परेको छ। परिणामस्वरूप उनीहरूका चेला राजनीतिक नेतामा पनि इण्डिया भक्ति लचप्प भिजेको छ। यतिमात्र होइन श्राद्ध गर्दा दक्षिणतिर फर्कनुपर्ने र यज्ञादि गर्दा शिरको टोपी हटाउनु पर्ने आदि कुरा इण्डियाभक्तिका चरम रूपहरू हुन्। पित्रिहरू दक्षिण(भारतमा) छन् भन्नु र यज्ञादिमा टोपी फाल्नु इण्डियन हुनु हो। नेपालीहरूले नेपाली ढाँचामा सिलाइएको भादगाउँले कालो टोपी वा नेपाली ढाँचामा कहीँ पनि सिलाइएको ढाकाटोपी टाउकोबाट हटाउनुलाई उचित मानिँदैन। नेपालका विभिन्न धर्म‚ क्षेत्र र जातजातिहरूका आआफ्ना ढाँचाका टोपीहरू पनि नेपाली टोपीहरू नै हुन्। जटा पाल्नुबाहेक टोपी नलगाउनुमा विदेशी प्रभाव प्रष्टसँग झल्कन्छ।
धर्म र संस्कृतिभित्र रहेको विदेस भक्ति हटाउनु अनिवार्य छ। यस्तो गर्न नसकेसम्म नेपाली राजनीति‚ अर्थतन्त्र र समाजका सबैजसो अङ्गहरूमा विदेशी हस्तक्षेप भइरहने छ। धर्म र संस्कृति मार्फत जन्मैदेखि र अझ भनौं भने आमाको गर्भदेखि विदेशभक्ति रुपी विष पिलाइरहने गरिन्छ भने व्यक्तिहरू देशभक्त भएनन् भनेर गुनासो गर्नु स्वाभाविक मानिँदैन।
अलोकतान्त्रिक‚ अगणतान्त्रिक र असमाजवादी
विकासको अग्रोन्मुख प्रवाहमा हेलिँदै नेपाली समाज लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। यतिमात्र होइन समाजवाद निर्माण गर्ने प्रतिज्ञाका साथ समाजवाद उन्मुख संविधानको युगले नेपालभित्र पदार्पण गरिसकेको छ। त्यसकारण धर्म र संस्कृतिहरू पनि लोकतन्त्रिक‚ गणतन्त्रिक र समाजवाद उन्मुख हुन अनिवार्य छ। यस्तो नहुने प्रावधानहरू स्वतः ओइलाउँदै जानेछन् र मृत्युवरण गर्नेछन्। त्यसकारण धर्म र संस्कृतिको संरक्षण गर्ने शुभचिन्तकहरूबाट यो विकासको काम योजनाबद्धरूपमा अगाडि बढाउनु समयको माग भएको छ।
अन्धविश्वास
पुरातत्व र विज्ञानद्वारा प्रमाणित हुन नसकेका विषयमाथिको विश्वास अन्धविश्वास हो। आधुनिक विकासको अवरोधक भएर अन्धविश्वास खडा भएको छ। यो हर क्षेत्रबाट तिरस्कृत गरिनु युगको माग भएर आएको छ। धर्म संस्कृतिभित्र रहेका अन्धविश्वासका प्रावधानहरूलाई बिना माया हटाउन आवश्यक छ।
अव्यवहारिक पक्ष
कुनै समयमा सामयिक भए पनि विकासक्रममा आउँदा अव्यवहारिक ठहरिएका छन् भने तिनलाई पनि बिना मुलाहिजा हटाउन सक्नुपर्दछ। गाई दान‚ कन्यादान (छोरीलाई वस्तु ठान्ने कुरा)‚ पैदल हिँडेर लामो यात्रा जस्ता अव्यवहारिक कुरालाई पनि धर्म र संस्कृति भनेर बोकेर हिँड्नअनुचित छ।
२०२६ सालमा म आइएस्सी पढ्न हवाइजहाज मार्फत काठमाडौं जान भनेर पोखरा एयरपोर्टमा गएको थिएँ। जहाज पर्खने कक्षमा धेरै यात्रीहरू थिए। तीमध्ये डोल्पाबाट राष्ट्रिय पञ्चायतका सदस्य (नाम सम्झिन)का छोराछोरी पनि काठमाडौंमा पढ्न जाने जहाज पर्खेर बसेका थिए। उनीहरू १९ दिन पैदल हिँडेर डोल्पाको आफ्नो घरबाट पोखरा आइपुगेका थिए। अहिले डोल्पाबाट १९ दिन हिँडेर पोखरा जान खोज्नेलाई संस्कृतिको संरक्षक मानिदैन‚ मुर्ख मानिन्छ।
राणा शासनका समयमा हाम्रा पिताजी पशुपति–गुहेश्वरीमा शतबीज छर्न भनेर एकोहोरो सात दिन र दोहोरो १५ दिनको पैदलयात्रा‚ खाने खर्चको ढाकर बोकेर गर्थेँ भन्नुहुन्थ्यो। त्यतिबेलाको धर्म र संस्कृति त्यही थियो। अहिले काठमाडौ जानेले ढाकर बोकेर पैदल यात्रा गर्छ भने त्यसलाई धर्म संस्कृतिको संरक्षक होइन पटमूर्ख मानिन्छ।
४. हमला
धर्म र संस्कृतिमाथि मात्र होइन‚ देखिने र नदेखिने प्रत्येकमाथि हमला हुन्छ र प्रतिकार हुन्छ। यो प्राकृतिक नियम हो। प्रकृति अनुरूप बनाउन सक्ने पक्षको विकास भएको छ र त्यसको प्रतिकूल रहने पक्षको नास भएको छ। यही द्वन्दात्मक प्रक्रियाद्वारा प्रकृतिको विकास हुन्छ‚ मानव इतिहास बन्छ। यस्तो विकासको अग्रोन्मुख प्रवाहमा समाहित भएर मानव‚ मानव समाज‚ मानव चिन्तन‚ जीवनकला लगायतका जड र चेतन सबैको विकास भएको छ। मानवको उत्पत्ति हुनुभन्दा पहिला र पछि पनि यो प्रक्रियाले निरन्तरता पाइरहेको छ। धर्म र संस्कृतिको विगतदेखि वर्तमानसम्मको विकास प्रवाहले पनि यही मार्ग अनुसरण गर्नु अनिवार्य भएर आएको छ। भविष्यमा पनि यो क्रियाकलाप जारी भइरहनु अनिवार्य छ। प्राकृतिक विकासको यस्तो प्रवाहमा गतिशील भइरहेका कुरालाई समातेर जस्ताको तस्तै संरक्षण गर्न खोज्नु मूर्खता मात्र हो। यस्तोमा पर्ने वस्तुहरूको छिटो नास हुनु अनिवार्य छ।
५. अन्त्यमा
धर्म र संस्कृतिमाथि हमला भयो भनेर कुनामा बसेर गरिने गिडगिडाहटबाट संरक्षण हुन सम्भव छैन। संरक्षण गर्ने हो भने त्यसलाई आफ्ना जमानाका ब्रुस्लि र दारासिंह जस्ता पहलवान बनाउनु पर्दछ। यसको निम्ति आफैंभित्रको शोषण‚ सामाजिक विभेद‚ अलोकतान्त्रिक–अगणतान्त्रिक–असमाजवादी प्रावधान‚ विदेश भक्ति‚ अन्धविश्वास र अव्यवहारिक पक्ष जस्ता असाध्य रोगहरू (यतिबेलाको क्यान्सर जस्ता) लाई निर्मम भएर धर्म र संस्कृतिबाट हटाउनु पर्दछ। घातक रोगबाट मुक्त धर्म र संस्कृति‚ तब मात्र मानवधर्म र मानवसंस्कृति हुनेछन्। यस्ता धर्म र संस्कृति स्वतः संरक्षित हुनेछन्। धर्म र संस्कृति लगायत वस्तु र घटनाहरूलाई पोखरीको पानी जस्तो बनाएर सधैँ जीवित प्राप्त गर्न असम्भव छ। यी सबैलाई निरन्तर प्रवाहित भइरहने अग्रोन्मुख प्रवाहका रूपमा मात्र बुझ्न र महसुस गर्न सकिन्छ।