आदरणीय अक्षय कुमारजी,
इतिहासकार, विश्व गुरु भारत।
भारत राष्ट्र यतिखेर संकटमा छ र संकटको यस घडीमा म तपाईँलाई हरक्षण सम्झिरहेको छु। गोदी–मीडियामा संलग्न एक कुमारको एक कार्यक्रममा प्रस्तुत भएको धारणाका कारण भारतको साखमै यतिखेर धब्बा लाग्न पुगेको छ। ती कुमारको कार्यक्रममा यस्तो केही कुरा भनियो, जसका कारण कुबेत र कतारका मान्छेहरू हामीदेखि रिसाए। त्यहाँको सरकारसमेत भारतसँग रिसायो। यतिसम्म कि ती देशहरूमा भारतीय सामानलाई बहिस्कार गर्ने अभियानहरूसमेत चलिरहेका छन्। त्यतिमात्रै होइन, भारतीय राजदूतहरूलाई बोलाएर पुछताज गरिएका समाचारहरू पढिरहँदा मलाई तपाईँ अक्षय कुमारको याद आइरहेछ। मलाई यो थाहा छ कि अहिले भारतमाथि भएको यो घट्नाको बदला तपाईँले अबको तीन वर्षपछि कुनै फिल्म बनाएर अवश्य लिनुहुनेछ। तर यतिखेर पनि तपाईँको आवश्यकता खड्किएको छ। अहिले नै तपाईँको आवश्यकता देशका लागि छ।
भारतीय जनता पार्टी विश्वकै सबैभन्दा ठूलो पार्टी हो। कतार र कुबेतको जनसंख्याभन्दा कैयौँ गुणा बढी त बिजेपीकै सदस्य छन्। तर यति हुँदाहुँदै पनि अरब देशहरू रिसाउनेबित्तिकै भारत डरायो। आफ्ना दुई प्रवक्तालाई तिनको पदबाट निस्कासन गरायो। विचरा, ती प्रवक्ताहरू यी दिनहरूमा मुगल शासनको समयमा भएका कामहरूलाई बराबर बनाउनकै लागि भिडिरहेका थिए। तर दुःखको कुरो मुगलविरुद्धको हाम्रो लडाईँ कन्फ्युजनको ‘शिकार’ बनेको छ। पछिल्ला कैयौँ दिनदेखि मुगलले गरेका कामहरूको बदला लिनकै लागि प्रवक्ताहरू नामका हाम्रा घोडाहरूलाई मैदानमा छोडिएको थियो, धर्मगुरुहरूलाई छाडिएको थियो। तर दुःखको कुरा, अरबी घोडा देख्नेबित्तिकै भाजपाले आफ्ना प्रवक्ताहरूलाई नै निकालिदियो। भन्नुस् त, यस्तो पनि कहीँ हुन्छ? यो त भाजपा समर्थकहरूको भावनाको घोर अपमान हो।
आखिर जुन देश मोबाइल ‘एप’हरू डिलेट गरेर वा या पटका बहिस्कार गरेर नै चीनजस्तो देशलाई तर्साउन सक्छ भने त्यस्तो देश कसरी कतार र कुबेतजस्ता देशले आफ्ना सामानहरू बहिस्कार गर्दैमा डराउँछ? डु यु गेट माइ पोइन्ट? आज भाजपाका समर्थकहरू भ्रमित भइरहेछन्। के उनीहरू अरबबाट भारत आउने पेट्रोलीयम पदार्थहरू बहिस्कार गर्न सक्दैनन्? ट्यांकरहरूमा लेखिएको ‘इराकको पानी’लाई मेटेर त्यसको ठाउँमा किन गौमुत्र लेख्न सक्दैनन्? उनीहरू किन साइकल चलाएर यात्रा गर्न सक्दैनन्?
किन उनीहरू पैदल हिँड्न सक्दैनन्? विजेपीका समर्थकहरूमा त्यागको असीम सम्भावनाहरू छन् तर बीजेपीले आफ्ना प्रवक्ताहरूलाइ अपमानपूर्वक प्रवक्ता पदबाटै निकालेर आफ्ना करोडौँ समर्थकहरूको भावनालाई आघात पुर्याइदिएको छ। जब तपाईँहरू पुराना दिनका मुगलहरूसँग बदला लिन सक्षम हुनुहुन्छ भने मलाई भरोसा छ कि तपाईँहरू अरब देशहरूसँग पनि राम्रैसँग बदला लिन सक्नुहुन्छ। र, भारतका लागि यो अत्यन्तै गम्भीर मोड हो र यतिखेर भारत महासंकटमा परेको देखिँदैछ।
तपाईँ ‘कुमार’ नभएको भए शायद मैले यो चिठी लेख्ने थिइनँ। म जान्दछु कि एउटा कुमारले नै अर्को कुमारको मर्म बुझ्नसक्छ। जेसकुै होस्, यतिखेर देशका लागि गोदी मिडियाको सख्त जरुरी छ। तब पो त गोदी मिडियालाई बचाउनका लागि देशको छविलाई यतिखेर दाउ लगाइँदैछ। महंगी र बेरोजगारीबाट त्रस्त्र जनताको दिमाग बोधो बनाउनका लागि यस्तो काम आवश्यक छ।
अक्षयजी, यतिखेर गोदी मिडियालाई बचाउन जरुरी छ। गोदी मिडियाले वास्तविक पत्रकारिता गर्न थाले भने तपाईँ पनि बच्नुहुनेछैन। यसकारण गोदी मिडियाले तत्कालै फेरि अर्को चरणको प्रोपागाण्डा गर्न जरुरी छ। गोदी मिडियाले समाजमा अझै धेरै विष फैलाउनुपर्छ नत्र भने त उसको कुनै भूमिका नै हुँदैन। मालिकले उसलाई त्यही जिम्मेवारी दिएकै छन्। गोदी पत्रकारले अब पत्रकारिताका पुरस्कारहरू पनि पाउन थालेका छन्। अक्षयकुमारजी, त्यस कारण तपाईँले अब अवार्डको पनि चिन्ता नगर्नुहोला। फिल्मफेयर अवार्डमा भन्दा धेरै अब्बल अवार्डहरू छन् यहाँ।
मेरो तपाईँसँग विशेष आग्रह छ कि तपाईँले अब इतिहासकारको काम छाडिदिनुस्। इतिहासले त्यसै पनि तपाईँलाई राम्रैसँग याद राख्नेछ। इतिहास पढाउने जिम्मा रिटायर्ड अकंलहरूले उसै पनि आफ्ना ह्वाट्सएप ग्रुपमा धेरै नै स्तरीय ढंगले गर्दैछन्। उनीहरू पनि निशुल्कमै काम गरिरहेका छन्। तपाईँ त फिल्ममा काम गर्दा पैसा लिनुहुन्छ होला। त्यसकारण अब तपाईँ सम्पूर्ण गोदी मिडिया र हाफ गोदी मिडियाको समूहको सम्पादक बन्नुहोस्। यतिखेर गोदी मिडियाका लागि नयाँ कुमारको आवश्यकता पनि छ।
र, मलाई सो प्रयोजनका लागि अक्षयकुमारभन्दा अरु कुनै कुमार उपयुक्त छन् जस्तो लाग्दैन। काम त त्यही गर्ने हो तर नयाँ अनुहारले काम गर्दा फरकपनको आभास हुनेछ। हुनलाई त म पनि कुमार नै हुँ तर म त फेल भइसकेको छु। मेरो टिआरपी जिरो छ। र, यो मसला राष्ट्रहितको लागि छ। यसकारण आफ्नो स्वार्थभन्दा माथि उठेर म देशका बारेमा सोचिरहेको छु। वास्तवमै, यो कामका लागि तपाईँभन्दा ठूलो कुमार कोही हुनसक्दैन।
किनकि तपाईँ पत्रकार बनेर आउनुभयो भने तपाईँको एउटै प्रस्तुतीलाई प्रत्येक च्यानलले एकै पटक चलाउनेछन्। फेरि यतिखेर त आँपको सिजन पनि छ। यदि तपाईँ गोदी मिडियाको सम्पादक बन्नुभयो भने तपाईँले जति आँप माग्नुहुन्छ, त्यति नै आँप खुवाउनेछ। अक्षयकुमार, कृपया तपाईँ इतिहासकार होइन, अब पत्रकार बन्नुहोला।
तपाईँकै रवीश कुमार
दुनियाको पहिलो जिरो टीआरपी ऐंकर
(यो खुला चिठी भारतका वरिष्ठ पत्रकार तथा एनडीटीबीका प्रबन्ध सम्पादक रबीश कुमारले आफ्नो फेसवुक पेजमा ‘प्रेस रिलीज–समाचार प्रकाशनका लागि– अरबीयनहरूसँग लड्नका लागि रवीश कुमारले अक्षय कुमारसँग गरे अपील, लेखे पत्र’ शीर्षकमा गरेका थिए। स्मरणीय छ, अक्षय कुमार तिनै कलाकार हुन्, जसले केही वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्तवार्ता लिँदै ‘तपाईँ आँप कसरी खानुहुन्छ, ताछेर खानुहुन्छ कि चुसेर खानुहुन्छ?’ भन्नेजस्ता वाहियात प्रश्नहरू गरेका थिए। र, त्यो सुनियोजित अन्र्तवार्ता थियो। ख्याल गर्न लायक कुरा यो छ कि मोदीले स्वतन्त्र पत्रकारहरूसँग दोहोरो सवाल जवाफ नै गर्दैनन्। भारतमा अहिले पनि धेरैजसो भारतीय मिडियाहरूलाई विज्ञापनको लोभ देखाएर होस् या राज्यले दमनको त्रास देखाएर, स्वतन्त्र ढंगले काम गर्न दिइएको छैन। यस्तोमा एकाध पत्रकारहरूले त्यहाँ राज्यसँग नडराइकन पनि पत्रकारिता गरिरहेका छन्। केही औँलामा गन्न सकिने पत्रकारमध्ये रवीशकुमार एक हुन्। उनले सन् २०१९ मा भारतमा व्यवसायिक पत्रकारिता निडर भएर काम गरेको भन्दै रोमन म्यागासेसे अवार्ड पाएका थिए। म्यागासेसे पुरस्कारलाई एसियाको नोबल पुरस्कारसमेत भन्ने गरिन्छ।)