Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

दासताको डरलाग्दो कथा : मान्कुर्त

मान्कुर्त कुकुरजस्तै आफ्ना मालिकलाई मात्र चिन्थ्यो। अरुसित उसलाई कुनै मतलब नै हुँदैनथ्यो। उसका विचारहरू पेटसित मात्र सम्बन्धित हुन्थे। अरु कुनै चिन्ताले सताउँदैनथ्यो। ऊ उसलाई दिएको काम दायाँबायाँ नसोची मन लगाएर र एक सुरले गर्दथ्यो।

चेङ्गिज आइत्मातोभ चेङ्गिज आइत्मातोभ
असार १८, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आना–बेइत चिहानको आफ्नै इतिहास थियो, त्यसबेलादेखि, जब जुहान–जुआनहरू सारोजेकमाथि कब्जा गर्ने क्रममा थिए र बन्दी योद्धाहरूसित अत्यन्तै क्रूर व्यवहार गर्थे। त्यसकारण छिमेकी देशहरूमा बेचिनेहरूलाई भाग्यमान मानिथ्यो। किनकी उनीहरूले ढिलो–चाँडो भाग्न र आफ्नो देश फर्किन सक्थे तर जुआन–जुआनहरूले आफ्नै दास बनाएकाहरूको भने ठूलो दुर्गति नै हुन्थ्यो। भयावह यातना दिएर उनीहरू तिनको स्मृति लोप गरिदिन्थे। उनीहरूले आफ्ना बन्दीको टाउकोमा शिरी लाइदिन्थे। युद्धमा समातिएका तन्नेरीहरू यो दुर्भाग्यको शिकार हुन्थे।

    सबैभन्दा पहिला तिनलाई पूर्णतः मुडिन्थ्यो, एक्ला रौंलाई जरैदेखि उखेलिन्थ्यो र यति गरिसकेपछि हत्यारा जुआन– जुआनहरू नजिकै बाँधिएको सुत्केरी उँट मार्थे र छाला काड्थे। सबभन्दा पहिला उनीहरू त्यसको भरिलो कल्चौंडोलाई रौंसमेत छुट्याउथे। त्यसपछि त्यसलाई कैयौं टुक्रा पार्थे र तात्तातै, बन्दीहरूको मुडिएको टाउकोमा तन्काएर टाँस्थे। त्यो एकैपटक स्टिकरमा टाँसिएझैँ टाँसिन्थ्यो, र झण्डैझण्डै आजकाल पौडी खेल्दा लगाउने टोपीजस्तो देखिन्थ्यो। त्यसपछि उक्त व्यक्तिलाई जुन यातना दिइन्थ्यो, त्यसलाई सहन नसकेर कि त उ मर्थ्यो कि त अतितका सबै कुरा बिर्सिन्थ्यो। त्यसपछि उ मान्कुर्त अर्थात आफ्नो विगत जीवन नसम्झिने दास बन्थ्यो।

    एउटा कल्चौंडाबाट पाँच–छवटा शिरी बन्थ्यो। शिरी लगाइएपछि प्रत्येक बन्दीलाई नेल ठोकिन्थ्यो र घाँटीमा तुरुङग लगाइन्थ्यो, जसले गर्दा ऊ टाउकोले भूइँ छुन सक्तैनथ्यो।

    एउटी नाइमन–आना मात्र यस्ती निस्किन् (कथामा उनको नाम नाइमन–आना उल्लेख छ) जो आफ्नो छोराको यस्तो प्रारब्ध स्वीकार्न तयार भइनन्। सारोजेकका प्रचलिन कथामा यो कुरा उल्लिखित छ र आना–बेउत (आमाको विश्रामस्थल) चिहानको नाउँ पनि यही कथासित सम्बन्धित छ।

    स्मरण शक्ति गुमाएका दास

    दारुण यातना भोग्न भूइँमा लडाइएका मानिसहरू सारोजेकको घाममा सुकेर धेरैजसो मर्दथे। यसरी यातना दिइएका पाँच छ जनामा एक वा दुई मात्र बाँच्थे–मान्कुर्तको रूपमा। ती भोकले मर्दैनथे, न तिर्खाले मर्थे। ती त ऊँटको काँचो छाला सुक्नाले पर्ने चापले गर्दा मर्थे। भतभताउँदो घाममा निर्ममतापूर्वक सुकेर, शिरीले भावी दासको मुडिएको टाउकोलाई बेसरी अँठ्याउथ्यो र तान्थ्यो, फलामे मुन्द्रीलाई कस्दै लगझैँ । भोलिपल्टदेखि बन्दीहरूको खौरिएका कपाल बढ्न थाल्थे। कडा, दरा एशिसयाली रौं ऊँटको काँचो छालाभित्र बस्थे तर धेरैजसो छालालाई छेड्न नसकेर घुम्रिन्थे र मानिसकै टाउकाको छालाभित्र घुस्थे, पीडाले बन्दीलाई पागलपनको सीमासम्म, अझ त्यो भन्दा पर पुर्‍याउँथ्यो।

    पाँचौं दिन मात्र जुआन–जुआन आफ्नो बन्दीहरूमध्ये को जीवित छ, को छैन हेर्न आउँथे। यातना दिइएकाहरूमध्ये एक जना मात्र पनि जीवित भेट्यो भने सन्तोषजनक परिणाम हासिल भएको मानिन्थ्यो। उनीहरू उसलाई पानी खान दिन्थे, बन्धन दोलिदिन्थे र केही समयसम्म राम्रो हेरविचार गरेर बलियो बाङ्गो बनाउँथे। परिणामस्वरुप जबरजस्ती स्मृतिहरण गरिएको र त्यसैले अत्यन्तै मूल्यवान मान्कुर्त दस जना स्वस्थ, उपचार नगरिएका बन्दीहरूको बराबर मानिन्थ्यो। कुनै लडाइँ–झगडामा कुनै मान्कुर्त संयोगवश मारिन पुग्यो भने उसको क्षतिपूर्ति स्वतन्त्र, उपचार नगिरिएका तीनजना बराबर निर्धारित गर्ने त कानून नै थियो।

    मान्कुर्तलाई ऊ को हो, कहाँको हो, कुन जातको हो केही जान्दैनथ्यो, उसलाई आफ्नो नाम थाहा हुँदैनथ्यो, आफ्नो बाल्यकाल, बाबुआमा कसैको सम्झना हुन्नथ्यो। संक्षिप्तामा ऊ आफूलाई एक मानिसका रूपमा चिन्न समेत सक्तैनथ्यो। स्वयम्को बोधबाट बञ्चित मान्कुर्तमा उसको मालिकका दृष्टिमा, थुप्रै गुणहरू हुन्थे। ऊ मूक पशुको बराबर हुन्थ्यो, त्यसैले पूर्णतः आज्ञाकारी र निरापद।

    यन्त्रमानवजस्तै दास

    ऊ भाग्ने प्रयास कहिल्यै गर्दैनथ्यो। कुनै पनि दासस्वामीका लागि दासहरूद्धारा विद्रोहको भावना सबभन्दा डरलाग्दो कुरा हुन्छ, किनभने प्रत्येक दास सम्भावित विद्रोही हुन्छ। तर मान्कुर्त यसको अपवाद थियो, उ विद्रोहका निम्ति कुनै पनि प्रेरणाप्रति पूर्णतः संवेदनहीन हुन्थ्यो। उसलाई त्यस्ता भावनाहरू के हुन् भन्ने थाहै हुन्थेन। परिणामतः उसलाई छेकथुन गरेर राख्ने, निगरानी गर्ने आवश्यकता नै पर्दैनथ्यो, कुनै कुटिल अभिप्राय लिइरहेको छ कि भनेर शंका गर्ने त झनै कुरै थिएन।

    मान्कुर्त कुकुरजस्तै आफ्ना मालिकलाई मात्र चिन्थ्यो। अरुसित उसलाई कुनै मतलब नै हुँदैनथ्यो। उसका विचारहरू पेटसित मात्र सम्बन्धित हुन्थे। अरु कुनै चिन्ताले सताउँदैनथ्यो। ऊ उसलाई दिएको काम दायाँबायाँ नसोची मन लगाएर र एक सुरले गर्दथ्यो।

    मान्कुर्तहरूलाई सबभन्दा फोहरी र गाह्रो काम वा पूर्णतः नीरस, कठोर अभिभारा दिइन्थ्यो, जसमा मूक धैर्यको आवश्यकता पर्दथ्यो। पूर्णतः अलग र उँटको बथानबाहेक संगतका लागि अरु केही नभएको सारोजेकको अनन्त मौनता र रिक्तता सहन मान्कुर्तले मात्रै सक्थ्यो। उ एक्लैले धेरै कामदारहरूका ठाउँ लिन्थ्यो। उसलाई खानेकुराको व्यवस्था गरिदिनुपथ्र्यो, अनि त ऊ हिउँद होस् वा ग्रीष्म, पालोसमेत नफेरि पटमैदानमा बसिरहन सक्थ्यो। एक्लोपन उसको चिन्ताका विषय थिएन, अनि यो पुगेन या यसो भएन उसलाई कुनै सिकायत नै हुँदैनथ्यो।

    मान्कुर्तका लागि उसको मालिकको आदेश नै सबभन्दा ठूलो कुरा थियो र केही खानेकुरा र पटमैदानमा कठाङ्ग्रिएर नमरेसम्मको लुगाबाहेक उ अरु थोक केही चाहन्नथ्यो।

    बन्दीलाई गिँड्नु वा अधिनता स्वीकार्नका लागि भयभित बनाउन अरु कुनै क्षति पुर्‍याउनु धेरै बढी सरल कुरा हुनेथियो। तर यसको सट्टा जुआन–जुहानहरूले उसको स्मृति निर्मूल गर्न विवेक नष्ट गर्नु र त्यो कुरालाई जरैदेखि उखेल्नु बढी बेस माने। जुन मानिस अन्तिम समयसम्म उसैसित हुन्छ, पूर्णतः उसको आफ्नो हुन्छ र उसँगै मर्छ र अरुले हात पार्न सक्तैनन्।

    फिरन्ते जुआन–जुआनको अन्धकार अतीतबाट पुनः स्थापित, बर्बरताको सबभन्दा क्रुर रूपले मानिसको पवित्र सत्वमा नै अतिक्रमण गर्‍यो। किनभने तिनले दासहरूबाट तिनको जीवन– स्मिृति मेट्न र यसप्रकार मानिसलाई अकल्पनीय सबै क्षतिहरूमध्ये सबभन्दा डरलाग्दो क्षति पुर्‍याउने साधन विकास गरेका थिए।

    दासकी आमा

    आफ्नो मान्कुर्त बनाइएको छोराको सम्झनामा विलाप गर्दै नाइमन–आनाले शोक र निराशाको वेगमा बहँदै भेनकी थिइन्ः ‘तिनले तेरो स्मिृतिलाई सरौताले सुपारी च्यापेझैँ तेरो टाउकोलाई च्यापेर सुक्दो ऊँटको छालाको मन्द ऐंठनको चाप कसेर हरण गर्दा, तिनले तेरो टाउकोमा त्यो अदृश्य घेरालाई कसेर तेरा आँखालाई भयद्धारा विस्फारित तुल्याउँदा, तलाई असह्य सारोजेक तिर्खाले सताउँदा र कतैबाट एक थोपा पानी नपाउँदा– के त्यो सब कुरालाई जीवन दिने सूर्य तेरो निम्ति घृणास्पद, आँखा खाने चमक, सृष्टिमा भएका सम्पूर्ण आकाश पिण्डहरू मध्ये सबभन्दा दुष्ट कुरा बनेन?’

    ‘यातनाले सताइएको तेरो चित्कारले मरुभूमि प्रतिध्वनित हुँदा, तैँले दिनरात भगवान गुहारेर चिच्याउँदा, छटपटिंदा, ईश्वरबाट मद्दतको आशा गरेर कुरिरहँदा, तेरो ऐंठिएको शरीर आफ्नै मलमूत्रमा लटपटिंदा र तँ तिनमा निस्सासिँदा, त्यो फोहरमा डुबेको तँलाई झिंगाको बथानले छोप्दा र टोक्दा र तँ विवेक शून्य हुँदा– के तैंले त्यो ईश्वरलाई सरापिन: जसले हामी सबलाई आफूले त्यागेको जगतमा सृष्टि गरे?’

    ‘जब तेरो मनलाई अँध्यारोले सदाको लागि छोप्यो, यातनाले चकनाचुर तेरो स्मृति जबर्जस्ती नष्ट गरियो र त्यसले सदाका लागि अतीतसितको सम्बन्ध गुमायो, जब तनमनले संघर्षरत तैँले आफ्नी आमाको अनुहार बिर्सिस्, केटाकेटीमा खेलेका खोलाहरूको कलकलाहट बिर्सिस्, आफ्नै र आफ्नो बाबुको नाम बिर्सिस्, जुन मानिसहरूबीच हुर्किस् तिनको अनुहार धमिलिँंदै गए, त्यस्तै तलाई मीठो मुस्कानले स्वागत गर्ने केटीहरू बिर्सिस्– के तैँले विस्मृतिको त्यो अनन्त खाडलमा खस्दै जाँदा तेरी आफ्नै आमालाई कडाभन्दा कडा सराप दिइनस्? किनकि उसले तँलाई गर्भमा लिने र आजको यो दिनसम्म जिउँदै रहन यस संसारमा ल्याउने धृष्टता गरेकी थिई।’

    यो कथा त्यस समयको हो जब जुआन–जुआन फिरन्ते एसियाको दक्षिणी भागहरूबाट धपाइएका थिए र उत्तरतर्फ फैलिँदै गइरहेका थिए। सारोजेकमाथि कब्जा जमाएर त्यहाँ निकै लामो समयसम्म टिकेपछि तिनले आफ्नो इलाका बढाउने र बढी दासहरू प्राप्त गर्ने हेतुले अनगिन्ती युद्धहरू गरे। पहिला, असावधान अवस्थाको लाभ उठाए, तिनले सारोजेकसँग जोडिएका क्षेत्रहरूमा धेरै बन्दी बनाए, महिला र केटाकेटीहरू लगायत। तर परदेशी आक्रमणहरूविरुद्ध प्रतिरोध बढ्यो र घोर–घमासान युद्ध हुन थाल्यो।

    जुआन– जुआन सारोजेक छोडन चाहँदैनथे, बरु यी विस्मृत खुला पटमैदानमा आफ्नो प्रभुत्व अरु दरिलो बनाउन चाहन्थे। उता स्थानीय जनजातिहरू पनि अफ्नो जग्गा– जमिनको क्षति सहन तयार थिएनन्, अतः ढिलो–चाँडो आक्रामकहरूलाई धपाउने आफ्ना अधिकार तथा कर्तव्य पूरा गर्न कटिबद्ध थिए। साना–ठूला भीडन्तहरूमा दुवै पक्षका नोक्सानीहरू भए तर यिनै शिथिल बनाउने भीडन्तहरूबीच शान्तिका समय पनि आउँथे। शान्तिको यस्तै एक समयमा नाइमन परदेशमा मालसामानको जथ्ता (कारवाँ) लिएर केही व्यापारीहरूले चिया खाँदै कुरा गर्दै उनीहरूले सारोजेक पटमैदान पार गर्दा जुआन–जुआनहरूको हस्तक्षेपको सामना गर्नु नपरेको बताए।

    व्यापारीहरूसँगको जम्काभेटले जगाएको आशा

    उनीहरूले सारोजेकमा ऊँटहरूको एक ठूलो बथानको रेखदेख गरिरहेको तन्नेरीसित भेट भएको पनि बताए। व्यापारीहरूले ऊसित कुरा पनि गरेका थिए, ऊ मान्कुर्त भएको थाहा पाएका थिए। ऊ बलियो र स्वस्थ देखिन्थ्यो। र, उसले त्यस्तो दुर्भाग्य भोग्नुपरेको थाहा पाउँदा व्यापारीहरू छक्क परेका थिए।

    निःसन्देह कुनै बेला ऊ पनि अरु जात्तिकै हँसिलो र फरासिलो थियो, उ भर्खरको थियो, दाह्री जुँगाका रेखी भर्खर बसेका थिए र शरीर गठिलो थियो। तर कुरा गर्दा यस्तो लाग्यो, मानौँ हिजैमात्र जन्मिएको होस्। त्यो बिचरो आफ्नो नाउँसमेत सम्झिन सक्तैनथ्यो, न आफ्ना बाबुआमाको न त जुआन–जुआनहरूले उसलाई के गरे, न ऊ कहाँको हो भन्ने नै सम्झन्थ्यो। कसैले कुनै प्रश्न गर्दा उसँग हो वा होइन भन्ने प्रश्नको मात्रै जवाफ हुन्थ्यो र हर समय आफ्नो टोपीलाई बलियोसित समातिरहन्थ्यो।

    टोपी उसको टाउकोमा सकेसम्म कोचेर लगाइएको थियो। पाप हो, तथापि मानिसहरू यस्तो दुर्भाग्यमा यदाकदा हाँस्थे, तिनीहरू मान्कुर्तहरूका टाउकोमा मान्छेका छालाका ठाउँमा ऊँटका छाला उम्रेका हुन्छन् भन्ने कुरामा पनि हाँस्थे। त्यस्ता मान्कुर्तका लागि, तिनका टाउकालाई बफाउँछु भनेर तर्साएनु नै सबभन्दा ठूलो सजाय हुन्थ्यो। उनीहरू तपाईँलाई टाउको छुन नदिएर जङ्गली घोडा झैं भिड्न अग्रसर हुन्थे। उनीहरू दिनरात टोपी फुकाल्दैनथे, सुत्दा पनि टोपी लगाएरै सुत्थे।

    व्यापारीहरूले आफ्नो कथा जारी राखे– यो मान्कुर्तको विवेकबुद्धि हराएको हुन सक्थ्यो तर आफ्नो काममा ऊ निरन्तर लगनशील थियो। मान्कुर्त उँटहरू चरिरहेको ठाउँबाट पर नपुगुन्जेल उसले चनाखो दुष्टिले त्यसलाई हेरिरह्यो। एउटा घोडचढीले आफू जान अघि मान्कुर्तलाई जिस्क्याउने विचार ग¥यो।

    ‘हामी धेरै टाढासम्म जाँदैछौँ। कसैलाई कुनै सन्देश दिनु छ कि? कुनै केटीलाई, कहाँ? भन्। तिम्रो तर्फबाट एउटा रुमाल पो पु¥याइदिने हो कि?’

    मान्कुर्तले धेरै बेरसम्म चुपचाप ती परेदशीलाई हेरिरह्यो। अन्त्यमा भन्यो– ‘हरेक रात म चन्द्रमामा हेर्छु र तिनी मलाई हेर्छिन्। तर हामी एक अर्काका कुरा सुन्दैनौं। त्यहाँमाथि कोही छ.।’

    व्यापारीहरूले यो कथा सुनाउँदा पालमा एक महिला उनीहरूलाई चिया खुवाइरहेकी थिइन्, तिनी नाइमन–आना थिइन्। अतिथिहरू छउन्जेल नाइमन–आनाले कुनै प्रतिक्रिया देखाइनन्। कथाले उनलाई कति गहिरो प्रभाव पार्‍यो वा उनको भावाभिव्यक्ति कति परिवर्तन भयो भन्नेमा पनि कसैको ध्यान गएन। उनले व्यापारीहरूसित यस मान्कुर्तबारे केही सोध्न चाहेकी थिइन् तर उनी यसो गर्न, जे –जति बताइसकिएको थियो, त्यो भन्दा बढी जान्न डराइन।

    उनी चुप बस्न जान्दथिन् र आफ्नो उर्लँदो आशंकालाई पीडाले चित्कारिरहेका घाइते पंक्षीलाई जस्तै काबूमा राख्न जान्दथिन्।

    यसैबीच उता कुराकानीको विषय बदलिइसकेको थियो। अब मान्कुर्तको प्रारम्भप्रति कसैलाई कुनै सरोकार थिएन। त्यस्ता दुर्भाग्यहरू जीवनमा सामान्य कुरा हुन्छन्। तर नाइमान–आना अझै आफूमा उर्लेको डरको लहर र हातको कम्पनमाथि काबू पाउने प्रयास गरिरहेकी थिइन्।

    यस्तो लाग्थ्यो, मानौँ उनी त्यो घाइते चरालाई साँच्चै अंगालोमा लिइरहेकी हुन् तर प्रकटमा चाहिँ उनले आफ्नो टाउकाको कालो शोकसूचक रुमाललाई अनुहारमा अझ तल तानिन्। यो रुमाल उनले आफ्नो सेतै फुलेको टाउकोमा धेरै अघिदेखि लगाउन थालेकी थिइन्।

    छट्पटिएकी आमा र त्यो युद्ध

    व्यापारीहरू र तिनको कारवाँ आफ्ना बाटो लागे। त्यसपछि निन्द्राहीन रातहरूमा नाइमन–आनाले के अनुभव गरिन् भने सारोजेकको त्यो मान्कुर्त गोठालोलाई खोजेर ऊ आफ्नो छोरा होइन भन्ने पुष्टि आफूले नगरेसम्म उनको मन शान्त हुने छैन।

    उनको मुटुमा त्यो कटकटी खाने, डरलाग्दो विचार फेरि उठ्यो– त्यो शंका जसलाई उनले धेरै अघिदेखि अन्धकार आशंकाको रुपमा लुकाउँदै आएकी थिइन्। उनको छोरो उनलाई बताइएअनुसार लडाइंँमा मारिएको होइन भन्ने शंका छ। अनि निरन्तर डर, निरन्तर पीडा र निरन्तर शंका–उपशंकाद्धारा व्यथित हुनुभन्दा उसलाई दोस्रोपटक समाधिस्थ गर्नु कता हो कता राम्रो हुनेथियो।

    उनको छोरा जुआन–जुआनविरुद्ध लड्दा सारोजेकमा मारिएको थियो। उनका पति त्यसको एक वर्षअघि मारिएका थिए। उनी नाइमनहरूबीच प्रख्यात मानिस थिए। त्यसपछि आफ्ना बाबुको मृत्युको बदला लिन उनको छोरो पहिलो योद्धा टोलीसित गएको थियो। मृतकहरूलाई रणक्षेत्रमा छाड्नु हुँदैन थियो, लासलाई घर ल्याउनु त्यस जातिका अन्य मानिसहरूको कर्तव्य थियो। त, यसो गर्न सम्भव भएन क्यार।

    त्यो समग्रका धेरै योद्धाहरूले बताएअनुसार शत्रुसँग भिडन्त भइरहेका बेला उनको छोरा घोडाको पिठ्यूँबाट चिप्लेको थियो र उत्तेजित र लडाइँको होहल्लाले बिच्किएको घोडा त्यसैबेला बेतोडले कुँदेको थियो। त्यसपछि उ काठीबाटै खस्यो तर एउटा खुट्टा रिकाबमा अल्झेकाले ऊ घोडाको एउटा पाखामा झुन्डिरह्यो। यसले त्यस घोडालाई अरु बिच्कायो र त्यसले त्यो असहाय मानिसलाई घिसार्दै पूर्ण वेगमा पटमैदानमा दौडियो।

    अझ खराब त के भयो भने त्यो घोडा शत्रुक्षेत्रतिरै दौडिएको थियो। घमासान र डरलाग्दो लडाइँ भइरहेको र प्रत्येक व्यक्ति लडाइँमा आवश्यक भएको भए तापनि दुई जना त्यो बिच्केको घोडालाई समात्न र साथीको शरीर फिर्ता ल्याउन त्यसतर्फ दौडे। तर, उपत्यकामा घात लगाएर बसेका जुआन–जुआनको एक घोडसवार टोलीले तिनको बाटो छेक्यो। एक नाइमान वाण लागेर मरे, अर्का नराम्ररी घाइते भए र आफ्ना साथीहरूकहाँ फर्कन सक्नु अघि नै जमिनमा लडे। यो घटनाले नाइमनहरूलाई जुआन–जुआनहरूले लडाइँको निर्णायक समयमा अगल–बगलबाट घेर्ने चाल चल्नुअघि नै तिनले घात लगाएर बसेको ठाउँ पहिल्याउन सहायता ग¥यो। अतः पुन समूहबद्ध भएर लडाइँमा नायमनहरू झटपट पछि हटे। निश्चय नै यसबेला कोही पनि आफ्नो तन्नेरी साथी, नाइमन–आनाको छोरोको प्रारब्धबारे सोचिरहन सक्तैनथ्यो।

    अन्त्यमा जसोतसो गरेर फर्कन समर्थ भएको घाइते नाइमनले पछि बताएअनुसार उसले छोराको घोडालाई फकाउन भरमग्दुर प्रयास गरको थियो। तर अन्तमा त्यो घोडा कता हरायो कता।

    नाइमनहरूले कयौँ दिनसम्म लासको खोजी गरिरहे तर कुनै नामनिसाना फेला परेन, न उसको घोडा फेला प¥यो, न हतियार न अरु कुनै सुराक। ऊ घाइते मात्र भएको भए पनि वर्षाको यो याममा, पटमैदानमा ऊ या त तिर्खाले या रगतको अभावले मरिसक्ने थियो। उनीहरूले उसको शोक मनाए। सारोजेकका पटमैदानमा उनीहरूको तन्नेरी साथी अलपत्र परिरहेकोमा अफसोस गरे। यो सबैका लागि लाजमर्दो कुरा थियो। महिलाहरू नाइमन–आनाको पालमा गएर रोए र आफ्ना पति र भाइहररूलाई यसप्रकार धिक्कारे, ‘उसलाई गिद्धहरूले लुछे होलान्, स्यालहरूले चुँडे होलान्, तिमीहरू कस्ता पुरुष हौ?’

    यसप्रकार नाइमन–आनाको रित्तो धरतीका रित्ता दिनहरू बित्दै गए। लडाइँमा मानिसहरू मारिन्छन् भन्ने कुरामा उनी अभ्यस्त भइसकेकी थिइन् तर उनको छोरो रणक्षेत्रमा परित्यक्त अवस्थामा लडिरहेको, उसलाई समाधिस्थ नगरिएको कुराको सम्झनाले उनलाई उद्धिग्न बनाइरह्यो। आमाको मनलाई निरन्तर उठेका कटु विचारहरूले कुटुकुटु खाइरहे।

    विचार पोख्ने र त्यस शोकलाई सह्य बनाउने उनका निम्ति कोही थिएन, अनि सहाराका लागि फर्कने ठाउँ कल्पनाका भगवानसिवाय कोही थिएन।

    यी सब विचारबाट मुक्ति पाउन उनले अफ्नो छोरो मरिसकेको कुरा आफ्नै आँखाले देख्न पाउनुपर्दथ्यो। त्यसपछि प्रारब्धको लेखासित को विवाद गथ्र्यो र? सबभन्दा बढी त उनको छोरोको घोडा बेपत्ता भएकोमा उनी चकित परेकी थिइन्, घोडा आफू घाइते थिएन त्यो बिच्किएको मात्र थियो। बथानका अन्य घोडाहरूजस्तै ढिलो–चाँडो त्यो आफ्नो परिचित ठाउँमा फर्किनुपर्दथ्यो, आफ्ना मालिकको रिकापमा झुन्डिएको शरीरलाई घिसार्दै।

    काँडो झिक्ने रहर

    निःसन्देह यो अत्यन्तै दुःख लाग्दो दृश्य हुने थियो, तर कम्तीमा उनी छोरोका लासलाई छाँद हालेर रुन, विलाप गर्न त पाउने थिइन्, आफैँलाई भुत्ल्याउँदै, चिथोर्दै भगवान स्वयम् वाक्क नभएसम्म बिलौना गर्न त पाउने थिइन्।

    त्यस अवस्थामा कम्तीमा उनले हृदयको अन्तरभागमा अनेक विचारलाई गुम्स्याएर राख्नु त पर्ने थिएन, आशाको झीनो त्यान्द्रो समातेर जिइरहनुको सट्टा शान्त मनले कुनै पनि बेला मर्न तयार त हुन सक्थिन्। तर उनको छोराको लास पाइएन, न त घोडा नै फर्कियो।

    आम हृदयलाई शंका–उपशंकाहरूले अझै सातइ नै रहेका थिए, यद्यपि जातिका अन्य मानिसले भने युद्धलाई अलिअलि गरे बिर्सन थाले। सबै क्षतिहरू केही समयपछि कम कष्टकर बने र क्रमश: बिर्सिदै गए। तर छोराकी आमाले चित्त बुझाउन र बिर्सिन सकिनन्। उनका विचारहरू एउटै वृत्तमा घुमी नै रहे: उसको घोडालाई के भयो? त्यसलाई झुलुक्क मात्र देख्न पाए उनको छोरालाई के भयो भन्ने किटान गर्न सकिने थियो।

    हुनसक्थ्यो, सारोजेक बाहिर कतै जुआन–जुहानहरूले त्यो घोडालाई भेट्टाएका थिए, त्यो शिथिल र समात्न सक्ने भइसकेपछि। राम्रो काठी कसिएको घोडा राम्रो आर्जन थियो नै। तर रिकापमा अल्झेको उनको छोरालाई उनीहरूले के गरे होलान्? गाडिदिए कि जंगली पशुहरूका कृपामा त्यसै फालिदिए? अनि त्यस बेलासम्म कुनै चमत्कारवश ऊ जिउँदै भएको भए नि? करुणावश मारिदिए होलान कि आफैं मरोस् भनेर फालिदिए होलान्? मानौँ, उनका आशंकाहरूको सीमा नै थिएन।

    अनि व्यापारीहरूले चिया पिउँदै सारोजेकमा भेटेको मान्कुर्तका बारेमा कुरा गर्दा तिनलाई आफूले नाइमन–आनाको व्यथित हृदयमा एउटा राँको सल्काएको आशंकै भएन। अब उनको हृदय कष्टकर आशंकाले झन् उमेठिन थाल्यो। त्यो पक्का पनि उनको हराएको छोरा नै हुनुपर्छ भन्ने विचारले उनको मनमस्ष्तिकलाई झन्झन बलियोसँग अँठ्याउँदै गयो।

    उनले यो मान्कुर्तलाई फेला पारेर र उसलाई हेरेर यो उनको हराएको छोरो हो वा होइन भन्ने निश्चित नगरेसम्म अब उनी शान्त रहन सक्ने छैनन् भन्ने ठहर गरिन्।

    नाइमन–आना गर्मीमा पटमैदानको छेउमा डाँडाहरूबीच बस्थिन्। त्यहाँ ढुङगेइलो बगर भएका स–साना खोलाहरू बग्थे। रातभरि नाइमन–आना पानीको कलकलाहट सुनेर पल्टिरहिन्, त्यसपछि सारोजेकको निस्तब्धताभित्र पसिन्। मरुभूमिमा एक्लै बस्नु कति खतरनाक हुन्छ, उनी जान्दथिन्, तर आफ्नो योजना कसैलाई बताउन चाहिनन् उनले।

    कसैले बुझ्ने पनि थिएन। उनका हितैषी र शुभेच्छुकहरू कसैले पनि हुन्छ भन्ने थिएनन्। धेरै अघि मरिसकेको छोराका खोजीमा कसरी जाने हँ? संयोगवश जीवितै रहेको र मान्कुर्त बनाइएको रहेछ भने त खोजी गर्ने कुरा झन् अचिन्त्य थियो, व्यर्थमा मन दुखाउनुहुन्थ्यो, किनभने मान्कुर्त त पहिलेको मानिसको बाहिरी आवरण, अर्थात् छालामात्र हुन्थ्यो।

    नाइमन आना सख्खारै हिँड्छिन्

    त्यसरात, उनी हिँड्नुअघि, उनी आफ्नो पालबाट कैयौं पटक बाहिर निस्किन् र चारैतिर हेरिन्, कान थापिन्, आफ्ना विचारहरूलाई एकाग्र गर्ने र समेट्ने प्रयास गरिन्। मध्यरातको चन्द्रमा निर्मल आकाशमा उनको शिरमाथि नै थियो र पृथ्वीमा एकनासको अलिअलि धमिलो प्रकाश छरिरहन्थ्यो। डाँडाहरूका फेदीमा छरिएका अनेकौं सेता पालहरू थिए र ती कलकलाउँदा खहरेका किनारमा बास बसेका ठूल्ठूला चराहरूका बथानजस्ता देखिन्थे।

    गाउँका छेउमा जहाँ भेंडाहरू राखिएका थिए र त्योभन्दा पर खोँचपारि जहाँ घोडाहरू चरिरहेका थिए, कुकुर भुकेको र मानिसहरूले कुरा गरेको अस्पष्ट आवाज सुन्न सकिन्थ्यो। यो सबलाई छिचोलेर केटीहरूको स्वर आइरहेथ्यो, गाउँको यतातिरको छेउमा उनीहरू सहर्ष गीत गाइरहेथे। यो स्वरले नाइमन–आनाको दृश्य स्पर्श गर्‍यो।

    कुनैबेला राति गाइने यस्ता गीत उनी आफैँले गाएकी थिइन्। यहाँ दुलहीको रूपमा पहिलो पटक आएदेखि उनलाई सम्झना थियो उनी हरेक ग्रीष्ममा यहाँ बसेकी थिइन्। उनको सम्पूर्ण जीवन नै यही भेगमा बितेको थियो। परिवार बढ्दै गएपछि यहाँ उनीहरूका चारवटा पाल भएका थिए–एउटा खाना पकाउने, एउटा पाहुना भेट्ने र दुईवटा आफू बस्ने।

    अहिले, जुआन–जुआनहरूको हमलापछि एउटामात्र पाल बाँकी रहेको थियो। अहिले उनी त्यही एक्लो पाललाई पनि छाडिरहेकी थिइन्। अघिल्लो साँझ उनले यात्राको तयारी गरेकी थिइन्। उनले खानेकुराहरू पोको पारिन र अतिरिक्त पानी लिइन्, दुइ थैलाभरि, सारोजेकमा सजिलै कुनै कुवा नपाइएको अवस्थाका लागि। उनको पालसँगै उनको ऊँट बाँधिएको थियो। उँटको नाम आक्माया थियो। यही उनको आशा र उनको साथी थियो। आक्माया नभएको भए त्यसको शक्ति र वेग नभएको भए एक्लै निस्तब्ध सारोजेक पस्ने आँट गर्न उनी सक्ने थिइनन्।

    त्यसवर्ष आक्माया बाँझै थिइ, दुइ बेतपछि। उ सवारीका लागि राम्रो अवस्थामा थिई। दुब्ली, बलिया खुट्टा र खुर भएकी। उसको जिउ ठूलो भारी बोकेर बिग्रिएको थिएन, उसका दुई बलिया जुरा थिए र बलियो, गठिलो गर्धनमाथि टाउको बसेको थियो। उसका नाकमा पोरा सधैँ चलिरहन्थे, ती हलुका थिएनन् र पुतलीको पखेटाजस्तै फड्फडाउँथे। त्यो सेतो पोथी ऊँट सामान्य पशुका पूरै बथान बराबर थिई।

    आफ्नो युवावस्थामा भएकी त्यस्ती छिटीछरिती पशुको सट्टा मानिसले कैयन् तन्नेरी ऊँट दिन सक्थे। त्यो नाइमन–आनाको आखिरी सम्पत्ति थियो–सुखका दिनको सम्झना गराउने। अरु सब हराएका थिए, हात धोएपछि धूलो हराएझैं। कर्तव्यहरूमा बाँकी रहेका थिए–४० दिने श्राद्ध र वार्षिक स्मृतिप्रार्थनाहरू, मृतात्माहरूका लागि, उनका छोराका लागि, जसलाई उनी खोज्न हिंडेकी थिइन्। नाइमन–आना अझै पनि ज्यादै थकाइ र शोक अनुभव गरिहेकी थिइन्, किनभने अन्तिम स्मृति प्रार्थना केही समयअघि मात्र धेरै मानिसका माझ वरपरका सबै नाइमनहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

    बिहान सबैरै उनी आफ्ना पालबाट निस्कन्, यात्रामा हिँड्न तम्तयार संघार नाघेपछि उनी अढिइन्, ढोकाको लट्ठामा अडेस लागेर निन्द्रामा मस्त गाउँलाई सर्सर्ती हेरिन्, छोड्नुअघिको अन्तिम दर्शन। अझैसम्म राम्रै शरीर र पहिलेको पूरै सौन्दर्य कायम रहेकी नाइमन–आनाले कम्मरपेटी बाँधेकी थिइन्, यो लामो यात्रामा जाँदा गर्ने चलन थियो। उनले बुट, चौडा मोहताको सुरुवाल, लुगामाथि छोटो बाहुला नभएको कोट अथवा काम्जोल लगाएकी थिइन् र काँधमा ओढ्ने हालेकी थिइन्, उनले आफ्नो टाउकोमा सेतो रुमाल बाँधेकी थिइन्, टुप्पाहरूलाई उनले घाँटीको पछाडिपट्टी लगेर घुसारेकी थिइन्। यो निर्णय उनले अघिल्लो रात गरेकी थिइन्, किन शोकवस्त्रमा जाने? अनि उनको आशा पूरा नभएमा कालो रुमाल बाँध्ने समय मिली नै हाल्थ्यो।

    बिहानको मिर्मिरे उज्यालोले उनको फुलेको कपाल र अनुहारमा कोरिएका सन्तापका गहिरा रेखाहरूलाई लुकाएको थियो–ती रेखाहरूले उनको उदास–आमा–अनुहारमा गहिरा ड्याङहरू पारेका थिए। त्यसबेला उनका आँखा चिसा थिए। उनले लामो सुस्केरा हालिन्, यस्तो अवस्था पनि भोग्नुपर्ला भन्ने विचार वा आशंका कहिल्यै गरेकी थिइनन्। तर अब उनले आफ्नो सम्पूर्ण चारीत्रिक शक्ति समेटिन्। उनी ऊँट छेउ गइन् र त्यसलाई बस्न लगाइन्।

    हलुका प्रतिरोधमा घुर्दै आक्माया विस्तारै भूइँमा बसी। अनेक थरी पोकापन्तरालाई काठीको दायाँबायाँ झुन्ड्याएर नाइमन–आना ऊँटमाथि चढिन् र ऊँटलाई खुट्टाले घुच्चाएर उठ्न र हिँड्न आग्रह गरिन्। आफ्नी मालिक्नीलाई जमिनबाट निकै माथि उचाल्दै यात्रामा जाँदैछन् भन्ने कुरा आक्मायाले बल्ल बुझी।

    नाइमन–आनाको प्रस्थानबारे गाउँमा कसैलाई केही थाहा थिएन। उनी कसैले केही सोध्न नपाओस् भनेर सकेसम्म सबेरै प्रस्थान गरिरहेकी थिइन्। आउलबाट केही पर पुगेपछि नाइमन–आना सारोजेकको दिशामा मोडिइन्, जसको रिक्तताले अगाडि के आउने हो, कुनै संकेत दिँदैनथ्यो।

    त्यो सेतो ऊँट आक्माया समतल सारोजेक र खोंचहरूबीच खुर्खुर्ती दौडिरहेको निकै बेर भइसकेको थियो। अब ऊ अघि बढ्दाबढ्दै एकनासले घोरिरहेकी थिई, उसका खुट्टाहरू झण्डै झण्डै निशब्द घिस्रिरहेका थिए। उता उसकी मालिक्नी चाहिं उसलाई निरन्तर अघि बढाइरहेकी थिइन्, त्यो भत्भताउँदो मरुभूमि पार गर्न हौस्याइरहेकी थिइन्। यही ठाडो, रातो–बलौटे मालाकुमदा इलाका नजिक पर्ने क्षेत्रमा व्यापारीहरूले मान्कुर्त गोठालोलाई भेटेका थिए।

    डर 

    जसलाई अहिले नाइमन–आना खोजिरहेकी थिइन्। मालाकुमदानजिक र यसको वरपर उनले खोज गर्न थालेको झण्डै दुई दिन भइसकेको थियो। उनी जुआन–जुआनहरूसित भेट होला भनेर भयभित भइन् तर जता हेरिन, जहाँ गइन्, रित्तो पटमैदान र भ्रामक मृगमरिचीकाबाहेक केही भेटिएन। एकपटक उनी त्यस्तै मृगमरिचीकाद्वारा छलिइन् र लामो बाटो घुमेर मिनार र अग्ला पर्खालहरू भएको हावामा झिल्मिलाइरहेको शहरतर्फ बढ्नि–त्यहाँ दास बजारमा उनको छोरो भेटिने हो कि …उनी उसलाई आक्मायामा आफ्नो अगाडि चढाउने थिइन्, भेट्टाउन त …मरुभूमिमा मन साह्रै खिन्न भयो, सके यसैले उक्त दृश्य त्यति यथार्थ लागेको होला।

    हो, सारोजेकमा एउटा खास व्यक्ति फेला पार्न कठिन थियो। यहाँ मानिस मरुभूमिमा बालुवाको गेडाजस्तो हुन्थ्यो। तर ऊ ठूलो लौरो लिएर फराकिलो ठाउँमा पशु चराइरहने मानिस हो भने ढिलो–चाँडो कुनै पशुमाथि आँखा नपर्ने कुरै थिएन, अनि अर्कोमाथि पर्ने थियो, अनि अलि–अलि गरेर बथानैमाथि। त्यसपछि त गोठालो छुट्ने कुरै थिएन। जे होस्, नाइमन–आनाले यही सोचेकी थिइन््।

    तर अझै उनले कहीँ केही देखेकी थिइनन्। ऊँटको बथान अन्तै पो लाग्यो कि वा जुआन–जुहानहरूले सबै ऊँट खिभा वा बुखारामा बिक्री गर्न पठाएकी भन्ने डर पनि लाग्न थालिसकेको थियो। त्यस अवस्थामा के गोठालो त्यति टाढाको ठाउँबाट फर्केर आउला त? चिन्ता र आशंकाले ग्रस्त उनी आउलबाट हिँड्दा उनको एउटै मात्र सपना थियो–छोरालाई जिउँदो देख्ने सपना, मान्कुर्तको रूपमै भएपनि। हो, ऊ केही नसम्झेला, केही नबुझ्ला तर उनको छोरो त हो, जिउँदो जिइरहेको।

    यो धेरै ठूलो आशा थियो। तर उनी जति–जति सारोजेकभित्र पस्दै गइन्–जहाँ केही समयअघि व्यापारीहरूको जत्थाले गोठालो भेटेको थियो, छोराको दिमाग बिग्रिएको पाइने पो हो कि भन्ने आशंकाले उनको मन झन्–झन् बढी खल्बलिँदै गयो। हुँदाहुँदा यो डरले उनको मुटुलाई थिच्न थाल्यो र उनी त्यो गोठालो उनको छोरा नभएर अरु नै भइदेओस् भनेर ईश्वर भाक्न थालिन्। आफ्नो छोरो नरहेको र ऊ जीवित रहन नसक्ने कुरालाई समेत आनाकानी नगरी नगरीकनै त्यस त्यस्तो तथ्यलाई मान्न तयार भइन् उनी। तर यस मान्कुर्तलाई एकपटक मात्र भए पनि हेर्न र आफ्ना आशंकाहरू निराधार थिए भन्ने कुरामा विश्वस्त हुन उनी अघि बढ्दै गइन्।

    यसरी विश्वस्त भएपछि सम्भवतः उनी घर फर्किन र बाँकी जीवन सन्तापबिना नियतिको रेखाअनुसार बिताउन सक्ने थिइन्। तर फेरि उनको मनलाई सारोजेकमा अरु कसैलाई होइन, उनकै छोरोलाई भेट्ने इच्छाले कोतर्न थाल्यो। उनी यसका लागि जुनसुकै कुरा पनि सहन–भोग्न तयार भइन्।

    यिनै परस्पर विपरीत भावनाहरूसित जुध्दैजुध्दै उनी एउटा ओरालो पार गरिरहेकी थिइन्। उनका आँखा विशाल उपत्यकाभरि छरिएर चरिरहेका ऊँटहरूको बथानमाथि परे। ती खैरा मोटा ऊँटहरू स–साना झाडी र काँढेझारहरूबीच घुम्दै, तिनका मुनामुना खाँदै गइरहेथे। नाइमन–आनाले आक्मायालाई पूर्ण गतिमा अघि बढाइन्। पहिला त खुसीले गर्दा उनको सासै अड्केला जस्ता भयो, हुन पनि उनले ऊँटका बथान फेला पारेकी थिइन्, त्यसपछि उनी भयाक्रान्त भइन्, सारा शरीर जिरिङग भयो।

    उनले आफ्नो मान्कुर्त छोरो देख्नेछिन् भन्ने विचार साह्रो भयावह थियो। तर त्यसपछि उनी फेरि प्रसन्न भइन्, र उनको मनमा यो के भइरहेको हो भन्ने बुझ्ने प्रयास गर्न नै छाडिदिइन्।

    बथान त्यहीँ चरिरहेको थियो, तर छोरो खोई त? कतै नजिकै हुनुपर्छ। त्यसपछि उपत्यकाको उपल्लो छेउमा एउटा मानिस देखिन् उनले। टाढा भएकाले उनले उसलाई ठम्याउन सकिनन्। गोठालो एउटा हातमा लामो लौरो र अर्कामा उसको सवारी ऊँटको लगाम समातेर उभिएको थियो। उसको ऊँट उसको ठीकपछाडि थियो, भारीहरू लादिएको। ऊ आँखा–आँखासम्म तानिएको टोपीको बिटमुनिबाट उनी आएको चुपचाप हेरिरहेको थियो। नजिक आइपुगेर छोरालाई चिनेपछि, उनी आफ्नो ऊँटबाट कसरी ओर्लिन्, नाइमन–आनाले पछि सम्झिनै सकिनन्। घुप्लुक्क ढलेकी हुनुपर्छ, तर उनलाई यसको चिन्ता थिएन।

    छोरासँगको भेट

    ‘मेरो छोरा, मेरो आफ्नै छोरा! हेर त, म तँलाई खोजेर कति भौतारिइरसकेँ।’ उनी ऊतिर दौडिन्– म तेरी आमा हुँ। तत्कालै उनले सब कुरा बुझिन् र रोइन्, साह्रै चिच्याईकराई गर्दै छाती पिटेर। उनले रुवाइ रोक्ने प्रयास गरिरहेकी थिइन् तर सकिरहेकी थिइनन्, फलतः उनका ओठ बटारिइरहे। सीधा खडा हुन उनले आफ्नो जडवत् छोरोको काँधको आड लिइन् र रोइरहिन्, रोइिरहिन्। उनी त्यो शोक र वेदनाले अभिभूत भएकी थिइन्, जुन धेरै दिनदेखि गुम्सिएर रहेको थियो र अहिले बाटो पाएर एकैपटक बाहिर निस्किरहेथ्यो।

    रुँदारुदै उनी आँसुको अघिल्तिर झरेका–भिजेका सेता कपालका आँठाहरूको पर्दाभित्रबाट, थर्थरी कामिरहेको औंलाका अन्तरबीचबाट आफ्नो छोराको परिचित आकृतिलाई एक–टक हेरेकी थिइन्। आँसुले गर्दा यात्राको धूलो अनुहारभरि फिँजिइसकेको थियो। उनी छोरोका दृष्टि समाउन खोजिरहेकी थिइन् तर आशा गर्ने ठाउँ नै थिएन। तथापि छोराले चिनिहाल्छ कि भन्ने आशा लिइरहेकी थिइन् उनी। साँच्चै, उसकी आफ्नै आमालाई चिन्न त्यति सरल थियो र?

    तर उनीसितको यो साक्षात्कारको उसमा कत्ति पनि असर परेन, मानौं उनले यहाँ अक्सर आइरहने, पटमैदानमा ऊसित दिनहूँ भेट गरिरहेकी हुन्।

    उसले उनी को हुन् र किन रोइरहेकी भन्ने समेत सोधेन। बरु उनको हातबाट आफ्ना पाखुरा छुटायो र छेउतिर गयो–बाछाबाछी उफ्रँदै र कुद्दै धेरै टाढा त गएनन् भनी हेर्न थाल्यो। नाइमन–आना जहाँको तहीँ अडिइन्, दुई हातले मुख छोपेर रुँदै घोप्टो परिन्। यसैगरी केही समय बित्यो, फेरि आफ्नो सम्पूर्ण शक्ति सँगालेर शान्त बन्ने प्रयास गर्दै उनी छोरातिर गइन्।

    उनको छोरो मान्कुर्त विचार वा भावनाशून्य प्रतीत हुन्थ्यो र फेरि टोपीमुनिबाट उनलाई हेरिरहेथ्यो। त्यसपछि उसको पातलो, खस्रिएको र हावाले खाएर कालो भएको अनुहार क्षणभर एक मन्द मुस्कान तैरिएको जस्तो देखियो। तर उसका कुनै पनि कुरामा रुचिको अभाव प्रतिबिम्ति गर्ने आँखा पहिलेजस्तै बिल्कुल निर्भाव रहिरहे।

    वार्ता

    ‘बस्, कुरा गरौँ,’ नाइमन–आनाले लामो सुस्केरा हाल्दै भनिन्।। उनीहरू त्यही भूइँमा बसे।

    ‘मलाई चिन्छस्?,’ आमाले सोधिन्।

    मान्कुर्तले टाउको हल्लायो।

    ‘तलाई यहाँ के भन्दछन्?’

    ‘मान्कुर्त,’ उसले जवाफ दियो।

    ‘यो अहिलेको नाउँ हो। के तलाई तेरो पुरा नाउँको सम्झना छ? आफ्नो साँच्चैको नाउँ सम्झने कोसिस गर् न।’

    मान्कुर्त मौन रह्यो। उसकी आमाले उसले आफ्नो नाउँ सम्झन भरमग्दुर प्रयास गरेको देखिन्–उसको नाकका डाँडीमा पसिनाका ससाना थोपा उम्रे, आँखा मानौँ वाफले ढाकियो। तर उनीहरूबीच एक अदृश्य छेका खडा भएको थियो, जसलाई उसले पार गर्न सकेन।

    ‘तेरो बाबुको नाम के थियो? तँ को होस्? कहाँको बासिन्दा होस्? जन्म कहाँ भएको थियो, थाहा छ?’

    अँह उसले कुनै कुरा सम्झन सकेन, उसलाई केही थाहा थिएन।

    ‘ओहो, तिनले के गरे तलाई?’ उसकी आमा फेरि फुस्फुसाइन् र फेरि नचाहँदा नचाहँदै पनि उनका ओठहरू काम्न थाले। अतः रिस, घृणा र दुःखले पनि फेरि उनको रुवाई फुट्यो। साथै उनी आफूलाई शान्त बनाउने प्रयास पनि गर्दै गइन्। आमाको यो बिलौनाले मान्कुर्तलाई भने पटक्कै छोएन।

    ‘मानिसले अरुको जमीन, सम्पत्ति र ज्यानसमेत लिन सक्छ तर मानिसको स्मृतिमाथि हमला गर्ने कुरा कसले सोचेको, कसले आँट गरेको थियो होला र? हे भगवान! तँ छस् भने कसरी तैँले मानिसलाई यस्तो शक्ति दिइस्?  के यसबिना नै धरतीमा प्रशस्त दुष्टता थिएन र ?’

    अनि आफ्नो मान्कुर्त छोरालाई हेरेर, उनले बिलौनाका ती शब्दहरू उच्चारण गरिन् जसलाई सारोजेकको इतिहासको चर्चा हुँदा मानिसहरू आज पनि सम्झना गर्छन्। उनी बिलौना गर्न थालिन्ः

    ‘मेन बोतासी ओल्गन बीज माया, तुलीबीच केलेप इस्केगेन…’

    (म त्यो उँट हुँ जसको बच्चा मरेको छ, र पराल कोचिएको बाच्छाको छाला सुँघ्दै हिँडिरहेको छ….)

    त्यसपछि उनी हृदयविदारक बिलौना गरी रुन थालिन्। उनको रुवाइ त्यो निस्तब्ध र अनन्त सारोजेकमा परपरसम्म गुन्जियो।

    तर यो पनि उनको छोरा मान्कुर्तलाई छोएन।

    अब नाइमन आनाले प्रश्नहरू नगरेर विभिन्न संकेतहरूद्वारा आफ्नो छोरालाई उ को थियो, के थियो सम्झाउने प्रयास गरिन्।

    ‘तेरो नाम जोलामन हो। सुन्छन्? तँ जोलामन होस्। तेरो बाबुको नाम दोनेन्बाइ हो। बाबुलाई पक्कै सम्झिन्छनस् होला नि? तँ केटाकेटी छँदा उनले तलाई बाण हान्न सिकाएका थिए। म तेरो आमा हुँ। तँ मेरो छोरो। तँ नाइमन जातको होस्, बुझिस्! नाइमन जातको!

    उनले बताएका यी सबै कुराहरूलाई उसले कत्ति पनि रूचि नलिई सुन्यो। मानौँ उनी केही भनिरहेकी नै किन नहुन्। मानौँ उ घाँसमा फट्याङ्ग्रो कराएको सुनिरहेको होस्। अनि नाइमन आनाले उनको छोरो मान्कुर्तसित सोधिन्–‘तँ यहाँ आइपुग्नुअघि के भएको थियो?’
    ‘केही भएको थिएन,’ उसले जवाफ दियो।

    ‘दिन थियो कि रात?’

    ‘केही थिएन।’

    ‘तँ कोसित कुरा गर्न चाहन्छन्?’

    ‘चन्द्रमासित। तर एक अर्काले बोलेको सुन्दैनौँ, त्यहाँ माथि बसिरहेको छ।’

    ‘जीवनमा केही चाहन्छस् कि?’

    ‘टुप्पी चाहन्छु, मेरो  मालिकको जस्तै।’

    ‘खै त हेरुँ, तिनले तेरो टाउकामा के–के गरे?’ यसो भन्दै नाइमन–आनाले उतिर हात पसारिन्।

    मान्कुर्त बुर्लुक्क उफ्रेर पछि हट्यो, टोपीलाई बलियोसित समायो र आमाबाट आँखा हटायो। नाइमन –आनाले तत्कालै आफ्नो गल्ती महसुस गरिन्।

    ठीक त्यही बेला टाढा एउटा मानिस देखियो, उ उँट चढेर आइरहेको थियो।

    ‘के हो त्यो?,’ नाइमन आनाले सोधिन्।

    ‘मलाई खाना ल्याउने मान्छे,’ छोराले उत्तर दियो।

    नइमन आना चिन्तित भइन्। त्यो जुआन् जुआनले देख्नुअघि नै उनले लुक्नुपर्थ्यो। उनले आफ्नो उँटलाई बसाइन् र चढिन्।

    ‘केही नभन्नु है, म फेरि आउनेछु,’ उनले बचन दिइन्।

    उनको छोराले केही जवाफ दिएन। उ पहिलेजत्तिकै निष्प्रभावित रह्यो।

    दुष्टागमन

    चरिरहेको उँटको बथान बीचबाट उँट चढेर हिँड्नु आफ्नो गल्ती थियो भन्ने कुरा नाइमन आनाले छिटै महसुस गरेकी भएपनि ढिलो भइसकेको थियो। सेतो उँट चढेर परतिर गइरहेकी उनलाई त्यो नवआगन्तुक जुआन जुआनले नदेख्ने प्रश्नै थिएन। उनले चरिरहेको पशुहरूको ओट दिँदै पैदल नै हिँडेको भए राम्रो हुन्थ्यो।

    बथानबाट केहि पर गएपछि नाइमन आना होचा झाडीहरूले ढाकिएको गहिरो खोँचभित्र पसिन्। उनी उँटबाट ओर्लिन्। उँटलाई खोँचको पीँधमै छाडेर आफू उकालो लागिन् र मान्कुर्त छेउ के भइरहेछ भनेर हेर्न थालिन्। हो, त्यो मानिसले उनलाई देखेको रहेछ। उ उँटलाई दौडाएर छिटै आइपुग्यो। उसले धनुवाण भिरेको थियो र स्पष्टै चिन्तित देखिन्थ्यो। उ चारैतिर आँखा दौडाइरहेको थियो–त्यो सेतो उँट सवार मानिस कता बिलायो?

    उसले कतातिर पच्छ्याउनु ठीक पर्ला, ठम्याउन सकेन। पहिला एकातिर लाग्यो, अनि अर्कातिर। पछिल्लो पटक त उ खोँचको धेरै नजिक आइपुग्यो। तै नाइमन आनाले आक्मायाको थुतुनोमा रुमाल बाँधिदिएकी थिइन्। उनको उँटले सानो शब्दमात्र निकालेको भए, बस्! सब खत्तम हुनेथियो। भीरको छेउमा झाडीपछाडि लुकेकी नाइमन आना जुआन जुआनलाई राम्ररी देख्न सक्थिन्। उ एउटा झ्यापुल्ले उँटमा चेढेको थियो र यताउता हेर्दै अघि बढिरहेथ्यो। उसको अनुहार पुक्क परेको र एकाग्र देखिन्थ्यो। टाउकामा माथि दुई छेउलाई फर्काएको डुँठाजस्तो टोपी लगाएको थियो। पछाडि चम्किलो, कालो र सुक्खा चुल्ठी बाटेको टुप्पी थियो।

    जुआन जुआन हातमा भाला हातमा लिएर तम्तयार भएर रिकाममा उभिएको थियो, शिकारलाई खोज्दै चम्किलो आँखालाई चारैतिर घुमाइरहेको थियो। सारोजेकलाई कब्जा गर्ने, अनेकौँ मानिसलाई दासतामा बाँध्ने र उनको परिवारमाथि अकथनीय दुःख खन्याउने शत्रुहरूमध्येको एउटा अहिले उनको सामुन्ने थियो। तर त्यो डरलाग्दो जुआनजुआनलाई उनी एउटा निरस्त्र महिलाले के गर्न सक्थिन् र? यी मानिसहरूलाई दासको स्मृति नै लोप गर्नेजस्तो क्रुर र बर्बर केले बनाएको होला? उनी सोच्न थालिन्।

    आफ्नो उँटलाई केही समयसम्म यताउता दौडाएपछि जुआनजुआन बथानतिर गयो। साँझको समय थियो, सूर्यास्त भइसकेको थियो। तर पनि यसको आभास पटमैदानमाथि अरु धेरै बेरसम्म झुल्यो। त्यसपछि एकाएक अँध्यारो भयो र रातको निस्तब्धता छायो। नाइमन आनाले त्यो रात पटमैदानमा एक्लै बिताइन्, आफ्नो दुःखी मान्कुर्त छोरोभन्दा केही पर। उसकहाँ जान उनलाई डर लाग्यो किनकि त्यो जुआन जुआन बथानसँगै रात बसेको हुनसक्थ्यो।

    उनले आफ्नो छोरालाई दासतामा नछोड्ने बरु सम्झाई–बुझाई आफूसँग लिएर जाने निर्णय गरेकी थिइन्। अहिले उ मान्कुर्त थियो, बिलकुलै केही बुझ्न सक्दैनथ्यो। तापनि उसको अवस्था त्यो रित्तो सारोजेकमा गोठालाका रूपमा जुआन जुआनको सेवा गर्नुभन्दा आफ्नाहरूबीच, घरमै बढी राम्रो हुनेथियो। एउटी आमाको आत्मामा उनलाई यसै गर्न प्रेरित गरिरहेको थियो। उनी आफ्नो रगतको अंशलाई दासतामा छाड्न सक्दैनथिन्। परिचित वातावरणमा पुगेपछि उसको स्मृति फर्किन र उ आफ्नो बाल्यकाल सम्झन सक्थ्यो।

    पूनरागमन

    भोलिपल्ट नाइमन आनाले फेरि आक्मायामा चढिन् र लामो र घुमाउरो बाटोको चक्कर लगाउँदै, उँटको बथानछेउ पुगिन्, जुन रातभरमा पर पुगिसकेको थियो। बथानलाई भेट्टाएपछि, उनले नजिकै कतै कुनै जुआन–जुआन त छैन भन्ने निश्चित गर्न चारैतिर आँखा दौडाइन्। यस कुरामा निश्चित भएपछि उनले उनको छोरालाई नाउँ काढेर बोलाइन्।

    ‘जोलामन, ए जोलामन।’

    उनको छोरोले उनीतिर हेर्यो। आमाको हर्षको सीमै रहेन, तर यो ध्वनिप्रतिको स्वभाविक प्रतिक्रियामात्रै थियो भन्ने कुरा बुझ्न उनले धेरै बेर कुर्नु परेन।

    नाइमन आनाले फेरि एक पटक आफ्नो छोराको लोप भएको स्मृतिलाई जगाउने चेस्टा गरिन्।

    ‘आफ्नो नाम सम्झना गर्! सम्झने कोसिस त गर्।’ ‘तेरो बाबुको नाम दोनेन्बाइ हो, तलाई थाहा छैन?  तेरो नाम मान्कुर्त होइन, तलाई थाहा छैन? जोलामन हो र तेरो नामको अर्थ ‘भगवानले यात्रामा मद्धत गरुन्’ भन्ने हो। नाइमन जातको बसाँइ–सराईको बेला यात्रामा हुँदा तेरो जन्म भएकाले हामीले तेरो यस्तो नाम राखेका हौँ। तँ जन्मेपछि खुसियाली मनाउन हाम्रो यात्रा तीन दिन रोकिएको थियो।

    यो सबले उनको मान्कुर्त छोरामा कुनै असर पारेन, तर उसकी आमाले उसको अवचेतन मनमा चिनजानको प्रकाशको झिल्को बलिहाल्छ कि भन्ने आशाले आफ्नो प्रयास कायमै राखिन्। वास्तवमा उनी टम्म बन्द गरिएको ढोका घच्घच्याइरहेकी थिइन्।

    ‘तलाई आफ्नो नामको सम्झना छ?,’ उनले पटक–पटक दोहोर्याइन्। तेरो बाबुको नाम दोनेन्बाइ थियो।’ त्यसपछि उनले उसलाई खाना खुवाइन्, आफ्नो थैलोबाट पानी खुवाइन् र लोरी गाएर सुनाइन्। उसलाई यी गीतहरू मन परे। यिनलाई सुनेर उसको मन आनन्दित भयो र उसको घाम पानीले डढेको अनुहारमा एक जीवन्तताको, हार्दिकताको क्षणिक अभिव्यक्ति देखियो। अब उसकी आमाले उसलाई त्यो ठाउँ छोडेर हिँड्न, जुआन–जुआनहरूलाई छाडेर उनीसँग आफ्नै घर फर्काउन मनाउन थालिन्। जुरुक्क उठेर हिँड्न कसरी सम्भव हुन्छ र, मान्कुर्तले बुझेन। बथानलाई के गर्ने नि? अहँ, उसको मालिकले उसलाई सधैँ बथानसँगै रहन भनेको थियो, त्यसै भनेको थियो। उ बथान छाडेर जान सक्दैनथ्यो।

    नाइमन आनाले आफ्नो छोराको ध्वस्त स्मृतिको ढोका फोड्न पकट–पटक कोसिस गरिन्। ‘तँ कसको छोरा होस्, सम्झन्छस्? तेरो नाम के हो? तेरो बाबुको नाम के हो? तेरो बाबुको नाम दोनेन्बाइ हो।’

    यी व्यर्थ प्रयासहरूमा कति प्रयास गयो, नाइमन आनालाई पत्तै चलेन। बथानको उपल्लो छेउमा, उँट चढेको जुआन–जुआन फेरि एकाएक देखा परेपछि मात्र उनलाई फेरि यसको सम्झना भयो। यस पटक उ निकै नजिक आइपगेको थियो र द्रुत गतिमा आइरहेको थियो। उ उनलाई समात्न चाहन्थ्यो भन्ने स्पष्ट देखिन्थ्यो। नाइमन आनाले समय खेर फालिनन् र आक्मायामाथि चढिन् तर त्यसैबेला अर्को दिशाबाट अर्को जुआन–जुआन आइरहेको देखियो।

    दुष्टागमन २

    नाइमन आनाले आक्मायालाई दौडाइन्। सेती आक्मायाले उनलाई ती दुवैलाई उछिनेर अगाडि लिएर गई। जुआन–जुआनहरू भाला उज्याएर चिच्याउँदै उनको पछि लागे। उनीहरूले आक्मायालाई भेट्टाउने कुनै सम्भावना नै थिएन। उनीहरूका भद्धा उँटहरू आक्यामाभन्दा झन्झन् पछि पर्दै गए, उता द्रुत गतिकी आक्मायाले नाइमन आनालाई उनको पछि लागेका जुआन–जुआनहरूबाट झन–्झन्–झन्–झन् पर लिएर गई।

    परन्तु नाइमन आनालाई एउटा कुरा थाहा भएन। रिसले चुर भएका जुआन–जुआनहरू फर्केपछि उनीहरूले मान्कुर्तलाई नराम्ररी कुटे। तर मान्कुर्तले एउटै मात्र कुरा भन्योः ‘भन्थिन्, उनी मेरी आमा हुन् रे।’

    ‘उ तेरी आमा होइन। तेरी आमा नै छैन। उ किन आएकी थाहा छ? उ तेरो टोपी खोसेर टाउको बफाउन चाहन्छे।’

    यसरी उनीहरूले त्यो बिचरो मान्कुर्तलाई भयभीत बनाए। उनीहरूको कुरा सुनेपछि मान्कुर्त कालोनिलो भयो र यसै उसको कालो उसको अनुहार खरानीजस्तो फुस्रो बन्यो। उसले दुबै कुम उचालेर घाँटीलाई भित्र छिरायो, टोपीलाई बलियोसित समायो र डरले दच्किएको पशुझैँ चारैतिर आँखा दौडाउन थाल्यो।

    ‘नडरा ल, यो ली’ जेठो जुआनजुआनले आफ्नो टोपी हावामा फ्याँक्दै हौस्यायो। बाँणले टोपीलाई छेडेर गयो। वाह वाह! टोपीको मालिक छक्क पर्यो। ‘तेरो हातले आफ्नो सम्झना गुमाएको रहेनछ।’

    गुँडबाट बिच्काएको पंक्षीजस्तै, नाइमन आनाले के गरूँ के गरूँ भएर सारोजेकको त्यस भेगलाई फन्को मारिरहिन्। अब के हुने हो, उनले ठम्याउन सकिनन्। के उनीहरू उनको छोरो मान्कुर्तलाई उनले भेट्टाउन नसक्ने ठाउँमा उनीहरूको आफ्नै बथानको नजिक त पठाइदिने छैनन्? कि उनको सुराक लगाएर पकड्ने कोसिस गर्लान्? यस्तै अनुमानहरूमा रन्थँिनदै उनी आँखा छलेर घुमिरहिन्। अन्त्यमा जुआन–जुआनहरू फर्किसकेको देखेर उनी प्रसन्न बनिन्। हो, एक जना अझै नजिकै थियो तर उनलाई खोजिरहेको थिएन। नाइमन आनाले तिनलाई निकै बेरसम्म हेरिरहिन्।

    मुक्ति!

    उनीहरू टाढा हुँदै बिलाएपछि उनले आफ्नो छोराकहाँ फर्कने निर्णय गरिन्। अब जे आइपरेपनि उसलाई आफूसित लान दृढ थिइन्। उ जे होस् र जे बनोस्–भाग्य उसको विपरित होस् र उसका शत्रुहरूले हाँसो उडाउन् वा खिसी गरुन्, उसकी आमा उसलाई दासतामा छाड्नेछैन। नाइमनहरूले देखुन् त! आक्रामकहरू बन्दी बनाएका जीवितहरूसित कस्तो व्यवहार गर्छन्, कसरी अपाङ्ग बनाउँछन्, कस्तो बेइज्जत गर्छन् र विवेकबाट बञ्चित गर्छ्न्। यस्तो दृश्यले तिनलाई क्षुब्ध बनाएर हतियार उठाउन प्रेरित गर्नेछन्। जग्गाजमिनको कुरामात्र थिएन, त्यो त सबलाई पर्याप्त पुग्नेथियो, जुआन–जुआनको दुष्टता नै असह्य थियो, उनीहरूसित सम्पर्क नै नभएकाहरूका लागि पनि।

    यही सब सोच्दै नाइमन आना उनको छोराकहाँ फर्किन्। बाटाभरि उनी आजै राती उसलाई आफूसँगै भाग्न मनाउन के–के भन्नेछिन् सोच्दै गइन्।

    विशाल सारोजेकमाथिबाट दिनको प्रकाश विदा लिइसकेको थियो र अतीत र भविष्यका रातहरूको असंख्य ताँतीको एउटा रात पर्दैथियो, खोँचहरू र डाँडाहरूमाथि विस्तारै अघि बढ्दै त्यो अहिलेको साँझको रातो–रातो प्रकाश छर्दै थियो।

    सेती उँट आक्मायाले आफ्ना मालिक्नीलाई हलुका र सजिलोसित त्यो विशाल बथानतिर लिएर गई। रातो घाममा उँटका दुई जुराबीच बसेकी उनी टाढैबाट स्पष्ट देखिन्थिन्। सदा सतर्क र अत्यन्तै चिन्तित नाइमन आना फुस्री र कठोर देखिन्थिन्। उनको फुलको कपाल, अनुहारका चाहुरीहरू, उनको निस्क्रिय भाव, उनका आँखाको भावसित मिल्दोजुल्दो थियो र सारोजेकको गोधूलीजस्ता ती उनको अनन्तः पीडाका साक्षी थिए।

    बथानमा पुगेर उँटहरूबीचबाट बघि बढिरहेकी उनी चारैतिर हेर्न थालिन् तर छोरालाई कतै देखिनन्। उसको उँट भारीसमेत नै स्वतन्त्र चरिरहेको थियो, लगाम पछिल्तिर भुईँमा लत्रिरहेको थियो। तर छोरो त्यहाँ थिएन। के भयो हँ त्यसलाई?

    ‘जोलामन, ए जोलामन, तँ कहाँ छस्?’

    नाइमन आना उसलाई बोलाउन थालिन्। कोही सामुन्ने आएन, कसैले जवाफ दिएन।
    चिन्तित दृष्टिले चारैतिर हेरिरहेकी उनले उनको छोरो, मान्कुर्त उँटको ओटमा घुँडा मारेर लुकेको थियो र ताँदोमा बाँण चढाएर निसाना बाँधिरहेको थियो भन्ने देख्दै देखिनन्। अस्ताचलको घामले उसको निसाना बिगारिरहेको थियो र उसले उपयुक्त मौका पर्खिरहेको थियो।

    ‘जोलामन, मेरो छोरा’, नाइमन आनाले कहीँ उसलाई केही त भएन भन्ने आशंकाले ग्रस्त हुँदै बोलाइन्, त्यसपछि उनी काठीमै पछाडि फर्किन् र छोरालाई फ्याट्टै देखिन्। ‘नहान्,’ उनले उँटलाई अघि बढाउन अर्कोतिर फर्किनुपर्थ्यो तर उनले त्यत्ति गर्न नपाउँदै बाण सुसायो र उनको पाखुरामुनि, देब्रे कोखामा पस्यो।

    घातक प्रहार थियो त्यो। नाइमन आना अगाडितिर घोप्टिइन् र खस्दै गइन्, उँटको घाँटीमा समातेको समात्यै। तर उनको टाउकोबाट उनको सेतो रुमाल खस्नुअघि, त्यो सेतो चरामा परिणत भयो र कराउँदै उड्यो र चराले भन्न थाल्यो, ‘तँ कसको सन्तान् होस्? तलाई थाहा छ? तेरो नाम के हो? तेरो बाबु दोनेन्बाइ हुन्। दोनेन्बाइ। दोनेन्बाइ!!’

    त्यस बेलादेखि मानिसहरू भन्छन्, ‘राती राती सारोजेकमाथि दोनेन्बाइ नाउँको चरा उड्ने गर्दै आएको छ। कुनै यात्रीलाई देख्नासाथ त्यो उछेउ जान्छ र भन्छ–‘तिमी कसका सन्तान हौ, थाहा छ? को हौ तिमी, नाम के हो? तिम्रो बाबु दोनेन्बाइ।’ नाइमन–आनालाई समाधिस्थ गरिएको ठाउँ सारोजेकमा ‘आना–बेइत’ (आमाको विश्रामस्थल) नाउँले विख्यात भयो।

    (प्रलेसको अनुवाद)

    कथाकार चेङ्गिज आइत्मातोभ विश्वविख्यात रूसी साहित्यकार हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      चेङ्गिज आइत्मातोभ

      चेङ्गिज आइत्मातोभ

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.