Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भुत्ता कम्युनिष्ट, विज्ञान र भौतिकवाद

त्यसपछि घुँडा या भुँडीमा हात राखेर खाने वर्गले नै प्रश्न गर्न थाल्छ, ‘यो आकाश कसले बनायो होला? यो पृथ्वी कसले बनायो होला?, यो ब्रम्हाण्ड कसले बनायो होला?’ आदि। त्यसको जवाफ त थिएन। अनि उनीहरूले देवताको कल्पना गर्न थाले, ‘होला कुनै अज्ञातमा बसेको परम तत्व या कुनै परम पुरुष।’

रोशन जनकपुरी रोशन जनकपुरी
बैशाख १६, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कम्युनिष्ट विचार विचार जान्नु र त्यसलाई आत्मसात गर्नु दुई भिन्न चिज हुन्। जबसम्म हामी वैज्ञानिक विचारलाई आत्मसाथ गर्दैनौँ, हामीभित्रका समस्याहरू हल भएर जाँदैनन्, बरु समस्या बढ्छन्। तथ्यका कारण नबुझ्नु नै विज्ञान नबुझ्नु हो। एउटा कालखण्ड थियो, जतिबेला सामाजिक परिवर्तनका आन्दोलनहरू जनताका निकट हुने गर्थे। त्यतिबेलाका नेताहरूले समाज र समाजका अन्तरविरोधहरूलाई चिने। उनीहरूले विज्ञान र अध्यात्मबीचको टकरावहरूलाई पनि बुझे।

    तर, जतिबेलासम्म कम्युनिष्ट आन्दोलन जनताबीचको संघर्षमा जीवित हुन्छ, जनताबीचका अन्तरविरोधहरूलाई समाधान गर्नका लागि आन्दोलनले नयाँ–नयाँ खोजी गरिरहनुपर्छ। त्यो दृष्टिकोणबाट नेता वा कार्यकर्ता स्वयं आफैँभित्र आत्मसंघर्षको प्रक्रियामा हुन्छ। त्यसकारण चीजहरू जीवन्त हुन्छ। र, जब उ आन्दोलनबाट माथि उठ्दै जान्छ, उभित्र नयाँ विचारको खोजी, विज्ञान र नयाँ चिन्तनहरू कमजोर हुँदै जान्छ। नयाँ खोजको आवश्यकता नभएपछि व्यक्तिले खोज र अन्वेषणलाई छोड्दै जान्छ। उभित्र जुन आत्मसंघर्षको प्रक्रिया चलिरहेको हुन्छ, त्यसलाई पनि छोड्दै जान्छ।

    त्यसपछि हजारौँ वर्षदेखिका पुरातन चिन्तन जुन व्यक्तिको मनमा गडेर बसेको हुन्छ, त्यो फेरि हावी हुन्छ। माओले एक ठाउँमा भनेका छन्, ‘मानिसभित्र एउटा बाँदर बसेको हुन्छ, उसले त्यसलाई थिचेको थिचै गर्नुपर्छ, जतिबेला थिच्न छोडिदिनुभयो, त्यो बाँदर फेरि उफ्रिएर आउँछ।’ यहाँ बाँदरलाई प्रवृत्ति भन्न खोजिएको हो। जबसम्म समाजमा वर्ग विभेद र असमानताहरू रहन्छन्, त्यतिबेलासम्म नयाँ चिन्तन र पुरानो चिन्तनबीच टकरावको स्थिति रहिरहन्छ। यी विभेद र असमानताका रुपहरू परिवर्तन हुन सक्छन्।

    कम्युनिष्टहरू जब संघर्षबाट निस्किएर जब कुनै सत्तामा प्रवेश गर्न जान्छन्, उनीहरूको उद्देश्य पुरानो सत्ता भत्काउने र नयाँ सत्ता बनाउने हुन्छ। यदि त्यस प्रक्रियामा जान थालियो भने उसले विज्ञानका चिन्तन र नयाँ वैज्ञानिक खोजहरूलाई उसँगै लिएर आउँछ। नयाँ बनाउन त नयाँ चीज चाहिन्छ। तर जब पूरानै सत्तामा उ डुब्न थाल्छ, उभित्रका वैज्ञानिक चिन्तनहरू हराउन थाल्छ। त्यसपछि उ कुनै जातको हुन्छ, देशको हुन्छ र अन्त्यमा मात्रै उ कम्युनिष्ट हुन्छ। विस्तारै–विस्तारै उसमा कम्युनिष्ट आदर्श र भावना हराउँदै जान्छ। उसमा पुराना चिन्तन हावी हुँदै जान्छन् र उसको स्वरुप नै परिवर्तन हुन्छ।

    विज्ञान 

    भौतिक नियमहरूको आधारमा भौतिकवाद निर्मित हुन्छ। भौतिक नियम, भौतिक विचार र भौतिक कार्यविधिहरू या भौतिक पदार्थहरूमा भौतिकवाद आधारित हुन्छ। यी सबै आधारमा हामी जे व्याख्या गछौँ, त्यो विज्ञान हो। र, यसमा आधारित विचार नै वैज्ञानिक विचार हो। तर अध्यात्म पनि एउटा लामो प्रक्रियाबाट जन्मेको हो। त्यो पनि मानिसको विकासक्रममा एउटा खास चरणबाट जन्मिएको हो। मुख्यतः अध्यात्मका पछाडि केही अज्ञानता पनि छन्।

    जतिबेला मानिसहरू विज्ञान राम्रोसँग बुझ्दैन थिए, उनीहरू बलेको आगो हेर्थे र चकित पर्थे। आगो किन र कसरी बल्छ, उनीहरूलाई थाहा हुँदैन थियो। ठूलो रुख किन ढल्छ, उनीहरूलाई थाहा हुँदैन थियो। जमिनमूनिबाट बिरुवा किन उम्रन्छ, त्यो पनि थाहा थिएन। सुकेको नदीमा कहिलेकाहिँ अकस्मात बाढी आउँथ्यो। तर यस्ता प्राकृतिक विषयका कारणबारे उनीहरूलाई थाहा हुँदैन थियो। सुरुमा त यिनीहरूलाई यस्ता विषयबारे मतलवै थिएन।

    मान्छेहरू जतिखेर फिरन्ते जीवन जिउँथे, त्यतिखेर उनीहरूको वसोवास ठूल्ठूला नदी तथा फलवाला ठूला जंगलहरूमा हुनेगर्थ्यो। फलहरू सकिएपछि उनीहरू अर्कै ठाउँमा सर्थे। तर जब खेती गरेर मान्छेहरू एकै ठाउँमा समुदायका रूपमा बस्न थाले, घुमन्ते जीवन छाडेर जब मान्छे स्थिर समुदायमा परिणत भयो, त्यसपछि भने उनीहरूले प्रकृतिमा यस्ता अनौठा घट्ना किन घटित हुन्छन् भनेर सोच्न थाले। तर उनीहरूले सहजै जवाफ त पाउन सक्ने कुरै थिएन।

    त्यसकारण अब उनीहरूले अनुमानका भरमा प्राकृतिक घटनाहरूबारे जवाफ खोज्न थाले। ती जवाफलाई मान्छेले अध्यात्मसँग जोड्यो। सुरुमा त मान्छेलाई अध्यात्मको पनि मतलव थिए। आगोले पोलेको महशुस गर्दा पनि त्यहाँ कुनै महाशक्ति होला भन्ने अनुमान गर्यो मान्छेले। हुरीले उडाउँदा पनि त्यो उडाउने कुनै महाशक्ति नै होला भन्ठान्यो। प्राकृतिक शक्तिहरू डरलाग्दा छन् र हितकारी पनि थिए। जस्तो कि आगोले पोल्थयो, सँगै मासु र कन्दमुल पोलेर खान काम लाग्थ्यो। अँध्यारो हटाउन काम लाग्थ्यो।

    प्राकृतिक शक्ति

    मान्छेको चेतनामा यी विषयहरू साविक क्रममा जन्मँदै गएपछि तिनको जवाफ खोज्न थाले र त्यही क्रममा केही अज्ञात सत्ताहरू जन्मिए। त्यतिबेला प्रकृति स्वयं नै देवता थिए। आगो, पानी, हावा, रुख, पहाड र त्यसपछि दुध दिने गाईहरू आदिलाई देवता मान्यो। अज्ञानले उतिबेला जन्माएको सत्तालाई उनीहरूले स्वीकार गरे। जमिन खोस्रिएर खेती गर्ने समय थियो त्यो। पूर्वीय परम्पराको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदमा समेत केही यस्ता कुरा उल्लेख छन्।

    त्यसभन्दा पहिले मानवका विभिन्न समुदायहरू खाने कुराकै लागि एक आपसमा लडे। त्यसमा जित हार हुने नै भयो। मान्छेले पछि खेती गर्न थालिसकेपछि ‘हारेका पक्षका मान्छेहरूलाई मार्नु भन्दा त बरु खेतीको काममा लगाइदिउँ’ भनेर तिनलाई कामदारका रूपमा प्रयोग गर्न थालियो। यसरी एउटा समूह, जसलाई प्रारम्भिक आर्य भनिन्छ, उनीहरूमध्येको एउटा समूह बसेर खाने भयो र अर्को समूहचाहिँ मेहेनत गरेर खाने भयो। बस्ने, खाने र सुखभोग गर्ने समुहले अब सोच्न थाल्यो, ‘यो आकाश कसले बनायो होला? यो नदीमा पानी कहाँबाट आउँछ होला? यी रुखविरुवाहरू कहाँबाट बने होलान्? यो तुफान कहाँबाट आयो होला?’ स्मरणीय छ, ऋग्वेदको प्रारम्भमा देउताक प्रसंग भेटिँदैनन्। त्यहाँ बढीमा अग्नी, वायु, आकाश, जमिन, सुर्य र जलका स्तुतीहरू छन्।

    किनभने ती सबै विषयहरू प्रकृतिसँग जोडिएका थिए। जब जंगलमा डढेलो लागेर जंगली जनावरहरू मर्थे, त्यो सबै ‘अग्निदेवताको कमाल’ थियो। पहिले त जंगलमा बस्ने हाम्रा पुर्खाले काच्चै मासु अथवा अन्य कन्दमुल खान्थे। तर जब आगो लागेको जंगलमा मरेका प्राणी र पोलिएका कन्दमुल खाए, ति झनै स्वादिस्ट लागे होला हाम्रा पुर्खाहरूलाई। ऋग्वेदमा एउटा श्लोक छ, जहाँ भनिएको छ, ‘हे अग्नीदेवता, जब हामी जंगलमा हराउँछौँ। तिमीले नै हामीलाई बाटो देखाउँछौ।’ आगो र धुवाँहरूले मान्छे बस्ने स्थानहरूको संकेत गर्ने हुनाले मान्छेहरू आगो र धुवाँदेखि पनि कृतज्ञ हुने गर्थे।

    जब ऋग्वेदको दशम् मण्डल अर्थात् सिद्धिने सिद्धिने बेला आउँछ, त्यहाँ आइपुग्दा पहिलाका घुमन्ते समाज खास कुनै स्थानमा स्थिर हुन थालेको संकेत मिल्छ। त्यसपछि घुँडा या भुँडीमा हात राखेर खाने वर्गले नै प्रश्न गर्न थाल्छ, ‘यो आकाश कसले बनायो होला? यो पृथ्वी कसले बनायो होला?, यो ब्रम्हाण्ड कसले बनायो होला?’ आदि। त्यसको जवाफ त थिएन। अनि उनीहरूले देवताको कल्पना गर्न थाले, ‘होला कुनै अज्ञातमा बसेको परम तत्व या कुनै परम पुरुष।’

    पुरुष पनि हावि भयो त्यहाँ। त्योभन्दा पहिले आदिशक्ति या महामायाहरू ब्रम्हाण्डका सर्जककका रूपमा कल्पना गरिएका हुन्थे। मातृशक्तिलाई सृष्टिका सर्जकका रूपमा कल्पना गरिएका हुन्थे त्यहाँ। र, ऋग्वेदमा मानवीय चरित्रको एउटामात्रै देउता छ। त्यो हो इन्द्र। ऋग्वेदमा सबैभन्दा बढी स्तुति भएको देवता इन्द्र हो। ऋग्वेदको प्रारम्भमा प्रकृृति छ, त्यसपछि अज्ञात शक्ति छ। पछि स–साना गाउँहरू बन्न थाले, सामाजिक जटिलताहरू आउन थालेपछि सत्ता बन्यो। समाजमा सत्ताको उदय भएपछि त्यहाँ अरुभन्दा बढी जान्ने पुरोहित निस्कियो।

    तीन जाति

    त्यतिबेला यस क्षेत्रमा तीनवटा मात्रै जाति(वर्ण) थिए : पुहोहित/ब्राह्मण, क्षत्री र विन्स थिए। त्यतिबेला खेती गर्नेलाई विन्स भनिन्थ्यो। विन्सबाटै विकसित भएर पछि वैश्य भएको हो। आर्यन समुदायबाट जो बाहिर थिए, तिनीहरूलाई नै शुद्र मानिन्थ्यो। आर्यभन्दा बाहिरबाट आएकालाई पहिले शुद्र भनिन्थ्यो। त्यसको मतलव प्रारम्भमा आर्यहरूमा शुद्र थिएनन्, विन्सलाई नै सबैभन्दा तल्लो जातिको मानिन्थ्यो। पछि विन्सभित्रै पनि एउटा थियो, जसले उत्पादनलाई सत्तासम्म पुर्याउँथ्यो, उ विस्तारै व्यापार गर्नेवाला अथवा वैश्य भयो। त्यसो भएपछि खेती किसानी गर्नेहरूलाई पनि तल झारेर शुद्र बनाइयो।

    मैले ईश्वर कहाँबाट आयो भन्ने प्रसंगमा यी सब भनेको हुँ। त्यसैले सुरुमा प्रकृति नै ईश्वरका रूपमा चिनिन्थ्यो, जसमा अज्ञात सत्ताका प्रश्नहरू आउँथे। पछि राजाहरू नै देवता कहलाउन थाले। राजाहरू स्वयंले आफूलाई देवताका प्रतिनिधि घोषणा गरे। जस्तैः राजतन्त्र हुँदा नेपालका राजाका नाममा पनि ‘विर विक्रम शाहदेव’ झुण्ड्याइन्थ्यो। राजाहरूलाई देउता मानिन्थ्यो भन्नेतर्फ त्यसले संकेत गर्छ। प्रारम्भिक आर्यहरू जो पछि गएर ब्राह्मण भए, उनीहरू नै देव कहलाए। पछि यसरी शासन गर्नेहरूले कसैले आफैँलाई देवता भने र कसैले आफूलाई देवताको दुता या छोरा भने। रोमन सम्राटहरूले पनि आफूलाई देवताको रुपमा उभ्याएका हुन्।

    पहिला त पेशाका रुपमा सामान्य वर्ग थियो। पछि कामका प्रकृतिहरू बढ्दै गए। अनि शुद्रहरूका पनि स्वरुपहरू बढ्दै गए। सुरुमा त कामको आधारमा हाइरार्की छुट्याएको थियो, पछि गएर त्यही सोपान नै सामाजिक संरचना बन्न थाल्यो। सानो र ठूलो भनेर छुट्याउन थालियो। पछि शुद्रहरूले आन्दोलन गर्न थाले र उनीहरूलाई कसरी दबाउने भनेर उपाय पनि खोज्न थलियो। र, जन्मजात रूपमा अपनाइएका पेशालाई अध्यात्मीकरण गर्न थालियो, यो धार्मिक धुत्र्याई हो। जो जुन ‘जात’मा छ र जुन जात अनुसारको पेशा छ उनीहरूलाई त्यही पेशा अँगाल्न निर्देश गरियो। ब्राह्मणको कर्म पूजा गर्ने, क्षेत्रीको काम राज्यको रक्षा गर्ने(लडाईँ गर्ने) र राज्य सम्हाल्ने, वैश्यले व्यापार र व्यवसाय गर्ने तथा शुद्रले अन्य समुदायको सरसफाइ र सेवा गर्ने आदि। ‘शुद्रले अरुको सेवा गर्नु नै धर्म हो र त्यसो गरेमा शुद्रले मरेपछि पुण्य पाउँछ’ भन्ने खालको भाष्य खडा गरियो।

    तर समाजमा अर्को अर्को धार पनि थियो, उसले प्रकृतिका नियमहरू बुझ्न थालेपछि समाजका सोपानहरू गलत र शोषण हो भन्न थाल्यो। उसले शोषणको चरित्र बुझ्न थाल्यो र उसले वैज्ञानिक दृष्टि राख्न थाल्यो। जान्न त अध्यात्म जान्नेले पनि विज्ञान जानेको थियो, तर उसले धुत्र्याईँ गरेर ज्ञानमाथि आफ्नो अधिकार जमायो। अनि प्रश्न गर्नेलाई बहस र विमर्शबाटै प्रतिबन्ध लगाइदियो र भन्न थालियो, ‘तिमी आफैँ धेरै नसोच, तिमीलाई मुक्ति दिने त ईश्वर त छँदै छन्। बरु सेवा गर, राजा, पुरोहित र क्षेत्रीको सेवा गर’ भनियो। यतिसम्म गराइयो कि शुद्रलाई त मन्दिरमा समेत पस्न दिइएन, जुन कतिपय ठाउँमा आज पर्यन्त जारी छ। तर राज्यचाहिँ यसबाट परिचित थियो।

    अनिश्वरवादी चाणक्य

    चाणक्यलाई अध्यात्मवादीका रूपमा चिनिन्छ तर यदि चाणक्यको अर्थशास्त्र पढ्ने हो भने थाहा हुन्छ, उनी देवता मान्दैन थिए। एक सन्दर्भमा उनले राजालाई भनेका छन् कि ‘तिमी यो अन्धविश्वासमा पर्नु हुँदैन।’ यो कुरा ईसापूर्व २०० को कुरा हो। उनले राजालाई ‘आफू अन्धविश्वासमा नपर्न तर जनतामा भने ईश्वर छन् भन्ने विश्वास दिलाउने कर्म गरिरहनुपर्छ’ भनेका थिए। चाणक्यले ‘पूजा गर, तर पूजामा विश्वास नगर’ भनेका थिए। पूजा गर्दा पूजाका नाममा ब्राह्मणहरूले कर उठाउन पाउँथे। जनतालाई ईश्वरमाथि विश्वास भएन भने त उनीहरूले दान र बली दिँदैनथे। फेरि बली भनेको त केबल पशु र मान्छेको हत्याकमात्रै होइन, उब्जनीको हिस्सा दान दिनु पनि हो। यस्ता अनेक प्रपन्च रचेर जनसमुदायभित्र अन्धविश्वास जगाइएको छ।

    यस्तै, राजाका सत्तामा गुप्तचरहरू पनि हुन्थे। उनीहरू समुदायमा गएर कसैले ईशनिन्दा गरिरहेको छ वा छैन, अविश्वास गर्ने काम गरिरहेको छ भने भनेर पनि बुझ्ने काम गर्थे। त्यसलाई रोक्नका लागि उनले कुनै गुप्तचरलाई अध्याँरो रातमा कुनै रुखमा राखेर राक्षसजस्तो बनाएर त्रसित बनाउने विधिहरूसमेत चाणक्यले सुझाएका छन्। तर ईश्वरका बारेमा चाणक्य तटस्थ थिए भन्ने बुभ्mन सकिन्छ।

    एउटा निरंकुश राजतन्त्रलाई कसरी कायम राख्न सकिन्छ भन्ने चिन्तन चाणक्यमा थियो। उनले धर्म, अर्थ, काम र मोक्षमध्ये सबैभन्दा बढी अर्थ जरुरी छ भन्ने कुरा गरेका थिए। तिमीसँग अर्थ छ भने धर्म पनि हुन्छ, काम पनि हुन्छ भन्थे उनी। कामभित्र ईच्छा, मनोरञ्जन आदि पनि पर्छन्। चाणक्यले धनको शक्तिबारे बोलेको कुरा सत्य हो। तर फरक के थियो भने उतिखेर अर्थको सिद्धान्तका साथै निरंकुश राज्यको पनि पालन गर्नु थियो। कार्ल मार्क्सले पनि त्यही कुरा भने तर उनले आम जनतालाई शोषणका कारणहरू पनि बताइदिए। उत्पादनमाथि आम जनताको पकड छैन भनिदिए।

    चार्वाक

    चार्वाक लोकमतका थिए। लोकमत अघि प्रकृतिवादी दर्शन थियो। प्रकृतिवादी दार्शनिकहरूले जीवनका सबै परिवर्तनहरू प्राकृतिक नियमका आधारमा हुन्छन् भनेका पूर्वीय दर्शनमा मात्रै नभएर सो कुरा ग्रीसेली दर्शनमा पनि छ। ग्रीसको दर्शनकोसुरुवात नै प्रकृतिवादी दर्शनबाट हुन्छ। यीमध्ये कसैले जललाई जीवन भन्यो, कसैले भौतिक पदार्थलाई जीवन भने। जल(पानी)को सन्दर्भमा एउटा कथा छ, छान्द्योग उपनिषदको।

    कथा

    सम्भवतः ईसापूर्व ११ औँ वा १२ औँ शताब्दि तिरको हो। त्यसमा केही वैचारिक टकरावहरू छन्। श्वेतकेतु नामका ऋषि हुन्छन्। उनका पिता आरोणी गौतम हुन्। आरुणीका छोरा स्वेत केतु हुन्। स्वेत केतुलाई हिन्दू समाजमा वैदिक वाङमयभित्र एउटा पत्नी राख्ने नियम चलाउने श्रेयसमेत जान्छ। तिनी कतैबाट दिक्षित भएर घर आए। घर फर्केपछि उनका बुवा आरुणीले सोधे, ‘छोरा सबै कुराहरू पढेर आयौँ ?’ उनले भने, सबै पढेर आएँ। त्यसपछि आरोणीले सोधे, ‘के पढ्यौँ त ? यो ब्रह्माण्ड केबाट चल्छ भन्ने कुरा पढेँ। र यो ब्रम्हाण्ड त मन या प्रत्ययले चल्छ भन्ने कुरा थाहा पाएँ।’ प्लेटोले पनि प्रत्ययवादको गर्दै ब्रह्माण्डको कारण नै मन हो भनेका छन्। विचार नै प्रमुख ठान्छन् प्लेटो पनि।

    त्यसपछि आरोणीले उनका छोरालाई भने, ‘अब तिमी ब्रह्मचर्यबाट गृहस्थमा प्रवेश गर्दैछौ। यसका लागि तिमीले नयाँ प्रक्रियाबाट गुज्रनुपर्छ। अब यसो गर, भोलिदेखि खान छोडिदिउ र व्रत बस।’ श्वेत केसु व्रत बसेको केही दिनसम्म त उनको हालत ठीकै रह्यो। तर विस्तारै उनी गल्न थाले। विस्तारै उनलाई पानीसमेत दिन छाडियो। श्वेतकेतुको हालत झनै जिर्ण हुनथाल्यो। उनी कतिसम्म कमजोर भए भने पाँचौ दिनसम्म आइपुग्दा त उनले आफ्ना गुरुले दिएका ज्ञानहरूको समेत सम्झना आउन छाड्यो।

    छोराको हालत कमजोर भएपछि बुवाले मुखमा पानी हालिदिए। पानीको थोपा हाल्ने बित्तिकै श्वेतकेतुको शरीर जाग्यो। त्यसपछि बाउले छोरालाई अन्न समेत खान दिए र सोधे, ‘अहिले तिमीलाई कस्तो छ?’ त्यसपछि उनले आफू तन्दुरुस्त हुँदै गएको बताए। अब त गुरुले दिएका ज्ञानहरूको पनि सम्झना हुन थालेको बताए। त्यसपछि उनका बुवाले उनलाई सोध्छन्, ‘त्यसो हो भने यो ब्रह्माण्ड के ले चल्दो रहेछ?’ त्यसपछि श्वेतकेतुले जवाफ दिए, ‘पिताजी, मेरो अध्ययन पूरा भएको रहेनछ। यो पूरै ब्रह्माण्ड त भौतिकताले चल्दो रहेछ। मैले यो कुरा भने मेरो जीवनकै प्रयोगबाट सिद्ध भयो।

    मठ-मन्दिरमा कम्युनिष्ट

    विचारलाई त्याग्नेहरू मठमन्दिर धाउने गर्छन्। जसले विचारलाई त्यागिसकेको छ, उनीहरूले विचारभन्दा मठ मन्दिरतिर जाने कुरा स्वभाविक छन्। हिजो आत्मसंघर्ष गर्न नसकेकाहरू, लहैलहै या आवेशमा आन्दोलनमा लागेकाहरू तथा अरुका लागि परिवर्तनका लागि लडिदिनुपर्ने बोध गरेर आएका हरूमा भौतिक चिन्तनको विकास भइसकेको हुँदैन। भौतिक धारभित्र पनि त्यस्तो प्रवृत्ति हुन्छ। यो समाजको विभेद र दुःखलाई हटाइदिनुपर्छ भनेर त्यस्ता मान्छेहरू आन्दोलनमा त आएका हुन्छन् तर तिनले मार्क्सवादलाई आत्मसात् गर्न सकेका हुँदैनन्।

    आजको भोटको राजनीतिका कारण पनि मान्छेहरूले भौतिकवादभन्दा मठमन्दीरलाई प्राथमिकता दिन थालेको छ। कतिवयले भित्रैबाट मार्क्सवाद बोध गरेका होलान् तर स्कुल बनाएर भोट आउँदैन भन्ने उसलाई थाहा छ। मन्दिर बनाएपछि धेरै भोट आउँछ भन्ने थाहा छ। चाणक्यले भनेजस्तै उ आफू ईश्वरमा विश्वास गर्दैन भोट माग्नका लागि मन्दिर बनाउँछ र आफैं पूजाको ढोँग पनि गर्छ। आध्यात्मिक कार्यक्रमहरूमा जान्छ, रामदेव वा सद्गुरुहरूकहाँ पुगेर माला जप्न थाल्छ।

    तेस्रो, मार्क्सवादी विचारबाट केही फेसनेवल विचारहरू पनि जन्मिरहेका छन्। किनकि सबै विधामा मान्छेहरू नयाँ आविस्कार गर्न खोज्दैछन्। र, नयाँ धारवालाहरू भौतिकवाद र अध्यात्मवाद दुवैलाई जोडेर लैजान चाहन्छन्। पूरै भौतिकवादी हुन सकिँदैन भन्दै उनीहरूमा यस्तो विचित्रको अवसरवादी चिन्तन हावि भइरहेको छ। उसो त अध्यात्ममा पनि सदगुरुजस्ता धुर्तहरू छन्, जसले जति पनि विज्ञानका आविस्कार र व्याख्याहरू छन्, तिनलाई आफ्ना प्रवचनमा हुल्छन्। यतिसम्म कि स्टेफन हकिंस्स र क्वान्टम थ्योरीका कुराहरूलाई अध्यातमसँग जोडेर मान्छेहरूलाई अल्मल्याइरहेका हुन्छन्।

    यसैले, मार्क्सवादी आन्दोलनभित्र पनि यस्ता अन्तरविरोधहरू हुन्छन्। गहिरो अध्ययन नगरेका र सामाजिक अन्तरविरोधहरूका जटिलताहरू बुझ्न नसकेकाहरूलाई तिनै सदगुरुहरूका विचारहरू नयाँ र ठिक लाग्छन्। मैले कैयौं आफूलाई मार्क्सवादी चिन्तक बताउनेहरूसँग कुरा गर्दा उनीहरू ‘सदगुरु त ठिक छन्’ भन्छन्। कतिले दैनिक सदगुरुका प्रवचन सुन्ने गरेको बताउँछन्। ‘सद्गुरुका कुरा चित्त बुझ्छ, त्यसले मन शान्ति हुन्छ’जस्ता कुरा गर्छन्। तर मार्क्सवादले त्यस्तो झुटो शान्तिको कुरा गर्दैन। दुनियाँभारी आगो लागेका बेला कहाँबाट आउँछ शान्ति?

    यसर्थ, यो प्रवृत्ति खतरनाक हो। किनकि आँखा चिम्लेर त समाजका अन्तरविरोधहरू समाधान हुँदैनन्। त्यसका लागि काम गर्नुपर्छ, गम्भीर भएर जुट्नैपर्छ। सत्ता बसरी बन्छ भन्नेबारे त विभिन्न सिद्धान्तहरू छन्। तर अध्यात्मको त एउटै सिद्धात छ : जगत रहस्यपूर्ण छ, यसको हर्ताकर्ता कोही छ, जो लुकेर बस्छ।

    सामाजिक अन्तरविरोधका कुरा रुसोको कन्ट्राक्ट थ्योरीमा पनि छ। लेनिन र एंगेल्सले पनि त्यसलाई पछ्याएका छन्। त्यहाँ भनिएको छ, ‘जब समाजभित्र अन्तरविरोधहरू जटिल हुँदै जान्छ, र समाजले आफैं त्यसको हल गर्न सकिरहेको हुँदैन। त्यस्तो बेला समाजले आफैंभित्रबाट आफूभन्दा माथिको संरचना खडा गर्छ। त्यसलाई उसले न्याय गर्ने र अन्तरविरोध हल गर्ने अधिकार दिन्छ। अराजक अन्तरविरोध र अनुशासनहिनतालाई नियन्त्रण गर्न सेना र पुलिस बनाउने अधिकार दिन्छ। त्यो पनि आफैंभित्रबाट दिन्छ। अनि समाजले आफैंलाई नियन्त्रण गर्ने दायित्व लिन्छ। समाजभित्रको अराजकताको समाधान गर्न मूल रूपमा राज्य बनाइएको हुन्छ।’

    शसस्त्र ग्याङको सत्ता

    यसरी हेर्दा, जुन राज्यले समाजका अन्तरविरोधहरू हल गरेको हुन्छ, त्यो नै राज्य योग्य राज्य हो। जसले समाजका तनाव र समस्याहरूको हल गर्दैन, त्यो योग्य राज्य हुन सक्दैन। त्यहाँबाट निस्किसकेपछि जब त्यो राज्य जनताको तहबाट पार हुन्छ, तब नयाँ समाज निर्माण हुन्छ, राजनीतिक समाज, नागरिक समाज हुन्छ। त्यतिले मात्र पुग्दैन, त्यो राज्यलाई त जनताले भत्काइदिन सक्छ, त्यो भयका कारण जनताले दिएको सशस्त्र शक्ति, सेना र प्रहरी, त्यो अब जनताको शक्ति रहदैन। उ त सत्ता बचाउन ‘सशस्त्र ग्याङ’मा परिणत हुन्छ। ‘सशस्त्र ग्याङ’, लेनिनले यही शब्द प्रयोग गरेका छन्।

    वर्तमान सत्ता तिनै सशस्त्र ग्याङहरूद्वारा चलाइएका सत्ता हुन्। किनभने त्यस्ता ग्याङले जनताको लागि काम गरिरहेको छैन। भन्न त जनताका अगाडि ‘म यो गर्छु र त्यो गर्छु’ भन्छ तर उ आफ्नै हितका लागि मात्रै गर्छ। उदाहरणका लागि, मलाई कुनै यस्तो मजदुर र मालिकबीचको आन्दोलन भनिदिनुहोस्, जसमा मजदुरले मागेको भन्दा बढी पाएको होस्। वा मालिकले उसले भनेजति पाएको होस्। जब एउटा मालिक र मजदुरबीच द्वन्द्व उत्पन्न हुन्छ, त्यहाँ अन्य विचौलियाहरू आउँछन्। मजदुर नेता नामको एउटा दलाल पनि आउँछ। उसले अनेक गरेर दुई वटालाई सम्झौता गर्न लगाउँछ, जसमा मजदुरहरूले मागेजति पाउँदैनन्। त्यसमा मजदुरले मागे भन्दा बढी दिलाइदिएको हुँदैन, बरु घटी दिलाउँछ। न नेताले दिलाउँछ, न राज्यले।

    जब मालिकले दिन नसक्ने अवस्था आउँछ, तब राज्यले पूँजिपतिविरुद्ध होइन, मजदुरमाथि नै डण्डा प्रयोग गर्छ। मजदुरले मागेको भन्दा घटी माग्नुको अर्थ खुम्चिनु हो। यसको अर्थ समाजका अन्तरविरोधहरू, विभेद र असमानताहरू बुझ्नका लागि पनि हामीले विज्ञान बुझ्न आवश्यक छ। समाज बुझ्ने विज्ञानचाहिँ सामाजिक विज्ञान हो। यसमा पनि भौतिकवादकै जस्तै नियम हुन्छ।

    त्यसैले, भौतिकवादभन्दा बाहिर गएर कुनै परमात्मा वा कुनै ईश्वरले हाम्रा समस्याहरूको हल गर्दैनन्। ईश्वरको कल्पनाले केही क्षणका लागि स्वैर कल्पनामा लैजान सक्छ। मन्दिरमा भजन गाइरहेको मान्छको आँखाबाट आँशु बगिरहेको हुन्छ, उ मुक्तिको विलाप गरिरहेको हुन्छ तर त्यो विलाप कसैले सुन्नेवाला छैन। सामान्य मान्छेको अज्ञानता हो त्यो। हजारौँ वर्षदेखिको विचार उसको दिमागमा बलियो भएर बसेका कारण उ ईश्वर वा परमात्माले आफ्ना दुख हल गरिदेला भन्ठान्छ। तर त्यतिले मात्र उसको समस्याको हल हुँदैन, बरु झनै जटिल भएर जान्छ। अन्ततः त्यस्तै नियतिमा बाँच्न थाल्दछ त्यो मान्छे। ‘केही भइहाल्छ कि’ भन्दाभन्दै अन्ततः त्यसबाट पनि उ निराश भइसक्छ। केही हुँदैन भन्ने बोध भएर नै ‘काम गर्दै जाऊ, फलको इच्छा नगर’ भन्ने त उपदेश नै दिइन्छ।

    अतः विज्ञान नबुझ्नुको अर्थ आफ्नो दुःख बढाउनु हो। बुद्धले एकठाउँ भनेका छन्, ‘यदि ईश्वर छन् भने यहाँ दुःख किन छ?’ ईश्वर त आनन्दमय छन् भनिन्छ। ईश्वरमा स्वर्गीय आनन्द र सम्पूर्णता छ भनिन्छ। यदि ईश्वर छन् भने त ‘सच्चिदानन्द’ त हुनुपर्यो। र, फेरि बुद्धले भन्छन्, यदि दुःख छ भने र मानिसले आफ्नै प्रयत्नबाट दुःखको हल गर्छ भने ईश्वरको आवश्यकता किन छ ?

    तर सामान्य मान्छेमा यो चेतना बुझ्ने र पहिल्याउने क्षमता हुँदैन। केही सचेत वर्गमा मात्र हुन्छ यस्तो चेतना। मार्क्सले एकठाउँमा भनेका छन्, ‘पूँजीवादले मानिसलाई आफैँबाट अलग गराइदिन्छ। जब मान्छे आफैँलाई मालमा परिणत गरेर आफैँलाई बजारमा बेचिरहेको हुन्छ। र, यस्तो बजारमा आफूले चाहेको मूल्यमा आफैँलाई बेच्न पाउँदैन मान्छे। खरिददारले दिएको मूल्यमा उसले चित्त बुझाउनुपर्छ।

    अध्यात्मले पनि यही गर्छ, मान्छेलाई मान्छेबाटै अलग्याउँछ। सोच्न पनि दिँदैन। अध्यात्मलाई लामो समयदेखि सत्ताले प्रयोग गरेका कारण संसारभर यो बलियो हुँदै गएको हो। त्यसकारण, दुःखबाट बच्नका लागि विज्ञानलाई बुझ्नुपर्छ। विज्ञान बुझ्नु भनेको दुःखमय स्थितिलाई भत्काउनका लागि प्रेरित गर्नु हो। विज्ञानबाट विमुख हुनु भनेको आफ्नो दुःख बढाउनु हो, समाजको दुःख पनि बढाउनु हो।

    भिडियो –

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      रोशन जनकपुरी

      रोशन जनकपुरी

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.