Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार

श्रीमानको उपचार गर्न लिएको पाँच लाख रूपैंया ऋणको पासोमा परेकी एक दलित महिलाको ८० लाख रूपैंयाको घरजग्गा जाली तमसुकका भरमा कब्जा भयो। यति मात्रै होइन, उनीमाथि सामूहिक बलात्कार पनि भयो।

सागर चन्द सागर चन्द
साउन १२, २०८०
- विमर्शका लागि, समाज, सिफारिस
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ६ महिनाअघिको एउटा चिसो रात सपना (नाम परिवर्तन) को जिन्दगीको सबैभन्दा लामो रात बन्यो। उनी विछ्यौनमा त पसिन् तर निदाउन सकिनन्। मन बेचैन थियो। आँखा बन्द हुन मानेका थिएनन्। भर्खर ३४ वर्ष पुगेकी उनलाई लाग्यो- यो रात उनको जिन्दगीको अन्तिम रात हो।

    विगत चार वर्षदेखि उनले जे भोगिरहेकी थिइन्, अब थप सहन सकिन्न भन्ने ठाउँमा उनी पुगिन्।

    यो गत वर्ष पुषको कुरा हो। चिसो रातमा उनले ओढेको कम्बलले कुनै न्यानो दिन सकेन। शरीरभन्दा धेरै मन कठ्याङ्ग्रिएको थियो। काठमाडौं उपत्यका हिउँदको चिसो तुँवालोले ढाकेको थियो। झिसमिसे उज्यालोमै चिसोले ठिहिर्‍याएका उनका पाइलाहरू अन्जान गन्तव्यतिर अघि बढे। यी पाइलाले कता लाँदैछन्? सपनाले निर्क्यौल गर्न सकेकी थिइनन्। ललितपुरको कुनै गाउँबाट अगाडि बढेका सपनाका पाइला चोभारको मन्जुश्री गल्छीमा पुगेर टक्क रोकिए।

    चोभारको यही गल्छीबाट बाग्मतीको पानीले उपत्यकाबाट निकास पाउँछ। सपनाले सोचिन्, अब उनको जिन्दगीले पनि यहीँबाट निकास पाउँछ। बाग्मतीमाथिको डिलमा उभिएर एकपटक विगत सम्झिइन्। भर्खरै स्कुल सकेकी छोरी सम्झिइन्। अरू प्रीयजन सम्झिइन्। तर, केहीले पनि उनलाई रोक्न सकेन।

    बाटोमा उनको फोन बजिरहेको थियो। पहिले त उनले फोन हेर्दा पनि हेरिनन्। तर, तारन्तार बजिरहेपछि उनले फोन हेरिन्। फोन दिदीले गरेकी थिइन्।

    फोन उठाउँदा सपनालाई लागेको हुनुपर्छ, उनी दिदीसँग अन्तिमपल्ट कुरा गर्दैछिन्।

    ‘तिमी कहाँ छौ ?’ दिदीले सोधिन्।

    ‘यतै छु,’ झर्को मान्दै उनले जवाफ फर्काइन्।

    ‘मिटरब्याजको समस्या ठिक गर्ने मान्छेको नम्बर पठाईदिन्छु फोन गर है,’ दिदीबाट उनले यस्तो सन्देशको अपेक्षा गरेकी थिइनन्।

    उनले आश मारिसकेकी थिइन्। केही नभिनकन फोन राखिन्। एकैछिनमा दिदीको म्यासेज आयो। उनले म्यासेजबक्स खोलेर हेरिन्। त्यहाँ एउटा मोबाइल नम्बर थियो, अनि नाम लेखिएको थियो- बसन्त जैशी।

    फोन गरौं कि नगरौं ? उनले तत्काल कुनै निर्णय गर्न सकिनन्। आफ्नै पाइलाले ठेल्दै-ठैल्दै उनलाई चोभारको गल्छीमा पुर्‍याइसकेका थिए। गल्छीको एउटा चट्टानमा उभिएर बाग्मतीको फोहोर पानीमा हेर्दै उनले मनमा अनेक कुरा खेलाइन्।

    अन्तत: उनको मनले उनलाई भन्यो, ‘एकपटक फोन गर् !’

    उनले दिदीले पठाएको नम्बर डायल गरिन्। केही रिङ गएपछि फोन उठ्यो। उताबाट ‘हेलो हेलो’ भनेको आवाज आइरह्यो। तर, सपना केही बोल्न सकिनन्। आँखामा जम्मा भएर बसेका आंशु पोखिए। उनी रून थालिन्।

    यसबेला बसन्त कुनै कार्यक्रमका लागि चितवन पुगेका थिए। अपरिचित नम्बरबाट फोन आएको छ र कुनै महिला फोनमा लगातार रोइरहेकी छिन्। बसन्तलाई के भइरहेको छ भन्ने नै थाहा भएन।

    बसन्तले धैर्य गरे। केहीबेर उनलाई रून दिए। अनि बिस्तारै सोधिरहे, ‘के भएको हो ?’

    मनको तापले जलिरहेकी सपनालाई बिहानको चिसो हावाले शीतलता दिइरहेको थियो भने बसन्तको आवाजले भरोसा। उनले बिस्तारै हिम्मत सम्हालिन् र कुरा गर्न थालिन्।

    ‘दिदीले मिटरब्याज पीडितको समस्या समाधान गरिदिनुहुन्छ भनेर तपाईंको नम्बर दिनुभएको थियो,’ सपनाको कस्सिएको मनको गाँठो बिस्तारै फुक्न थाल्यो।

    बसन्त सोध्दै गए। सपना सुनाउँदै गइन्। सुनाउँदै जाँदा उनले आफू आजित भएर आत्महत्या गर्न चोभारको गल्छीमा आइपुगेको समेत सुनाइन्।

    यति सुन्दा बसन्त एकपटक थर्रर काँपे। तर, सम्हालिँदै उनलाई सम्झाउन थाले।

    ‘उहाँले म चोभारमा आत्महत्या गर्दैछु भन्नुभयो,’ बसन्तले त्यो क्षण हामीलाई सुनाए, ‘मैले उहाँसँग आधा घण्टा जति फोनमा कुरा गरेँ। आत्महत्या गर्नु हुँदैन भनेर सम्झाएँ।’

    यही एउटा फोन संवादले उनको बाटो मोडियो। उनले आत्महत्या होइन, संघर्ष गर्ने निर्णय लिइन्। उनी चोभारबाट फर्किइन्।

    संघर्ष त गर्ने तर कसरी? सपनालाई केही थाहा थिएन। उनका लागि मिटरब्याजविरूद्ध चलिरहेको आन्दोलन फगत समाचार मात्रै थियो।

    के गर्ने त? उनले यो प्रश्न तिनै बसन्तलाई सोधिन्। बसन्तले उनलाई मिटरब्याज विरूद्धको आन्दोलन संगठित गर्न हिडिरहेका विद्यार्थी निर्ग नवीनको नम्बर दिए।

    तीन दिनपछि सुर्जमान फेरि त्यसरी नै सपनाको घरमा आइपुगे। यो ७२ घण्टा सपनाको जीवनको त्यस्तो लामो र निसास्सिँदो ७२ घण्टा हो, जुन उनले यसअघि कहिल्यै आफ्नो जीवनमा ब्यहोर्नु परेको थिएन। त्यसदिन सुर्जमानले सपनालाई सिधै धम्क्याए। ‘कि मैले भनेको मान्, होइन भने मेरो पैसा अहिलेको अहिल्यै ब्याजसहित फिर्ता गर।'

    त्यसपछि उनी निर्ग नवीन लगायतका अन्य आन्दोलनकारीहरूको सम्पर्कमा आइन्। आन्दोलनकारीहरू मधेशका विभिन्न जिल्लाका मिटरब्याज पीडितसँग आन्दोलनमा थिए। आन्दोलन बिस्तारै मधेशबाट काठमाडौं आइपुग्यो। कहिले माइतीघर त कहिले रत्नपार्कमा मिटरब्जाज पीडितहरू आन्दोलन गरिरहेका हुन्थे। सपना पनि बिस्तारै आन्दोलनकारीको हुलमा मिसिन थालिन्।

    आन्दोलनमा जान थालेपछि मिटरब्याजबाट पीडित आफूमात्रै नभएको थाहा पाइन्। यसले उनको आत्मविश्वास बढ्दै गयो। तर, उनले जुन कहर भोगेकी थिइन्, सायद त्यस्तो अरू कसैले भोगेको छैन भन्ने उनलाई लागिरह्यन्थ्यो। जे भएको छ, त्यो सुनाउने हिम्मत जुटाउन उनले सकेकी थिइनन्।

    गत असार ५ गते शुक्रबार काठमाडौंकी मिटरब्याज पीडित महिला आरती महर्जन ‘चेक बाउन्स’को मुद्धामा पक्राउ परिन्। मिटरब्याजविरुद्ध आन्दोलन गरिरहेका पीडितहरूले तत्काल विरोध गरे। भोलिपल्ट बिहानै उनीहरू कालिमाटी प्रहरी वृत्त घेरा हाल्न गए। आरतीलाई थुनामुक्त गर्न प्रहरी बाध्य भयो। आरतीलाई माइतीघर मण्डलमा ल्याएर आन्दोलनकारीले अबिरले रङ्ग्याए।

    यो घटना हुँदा सपना पनि आन्दोलनकारीहरू सँगै थिइन्। यो सबै देखेपछि उनलाई आन्दोलनको शक्तिमाथि विश्वास भयो।

    यसपछि उनले आफ्नो समस्याका केही हिस्सा आन्दोलनकारी साथीहरूलाई सुनाइन्। उनीहरूमार्फत नै सपनासँग हाम्रो सम्पर्क भयो। र, एकदिन उनले रत्नपार्कको शान्तिबाटीकामा राखिएको आन्दोलनकारीको त्रिपालमुनि बसेर आफूले भोगेको कथा सुनाइन्। सुनाउँदै गर्दा उनी बीचबीचमा थर्रर काँप्थिन्। उनको बोली बन्द हुन्थ्यो र आँखाबाट आंशुको भेल बग्थ्यो। केहीबेर रून्थिन्, आफूलाई सम्हाल्थिन्। यसैगर्दै उनले हामीलाई विगत चार वर्षसम्म सहेको बज्रपात सुनाइन्।

    उनले २०६१ सालमा प्रेम विवाह गरेकी थिइन्। ०६३ चैतमा छोरी जन्मिइन्। छोरी जन्मिएपछि उनी घर नजिकैको गलैंचा उद्योगमा काम गर्न थालिन्। ‘२ वर्षजति मैले गलैंचा बनाउने काम गरेँ,’ यतिञ्जेलसम्म उनको जीवनमा ऋण लागेको थिएन्।

    ०६५ मा उनका श्रीमानले अर्को विवाह गरेपछि उनको जीवनले दु:खको बाटो समात्यो। ‘श्रीमानले घरमा कुल देउता भित्र्याउने भन्दै अर्को विवाह गरे, म तल्लो जात भएँ रे,’ सपनाले सुनाइन्। दलित महिला सपनाले अन्तर्जातिय विवाह गरेकी थिइन्।

    श्रीमानले सौता हालेपछि सपनाकी आमालाई नमिठो लाग्यो। छोरीले दु:ख पाउली भनेर साढे दुई आना जग्गामा बनेको तीन कोठाको घर दिइन्। तीनमध्ये एउटा कोठामा सटर थियो। त्यही सटरमा उनले सानो चिया पसल सुरु गरिन्। ‘छोरीलाई माइतीमै राखेर आमाले दिएको घरमा म चिया पसल चलाउँथे,’ सपना सम्झिन्छन्।

    दुःखसुख सपनाको जीवन चलेकै थियो। श्रीमानको परिवारले आग्रह गरेपछि उनी श्रीमानको घर फर्किइन्। ससुरा बिरामी भएका थिए। उनले आग्रह टार्न सकिनन्। जे भए पनि आफ्नो परिवार यही हो भन्ने भयो।

    यतिञ्जेलमा उनका श्रीमान रक्सीको कुलतमा नराम्रोसँग फसेका थिए। घरव्यहार सबै उनको थाप्लोमा आइलाग्यो। ‘बुढो बिहानैदेखि रक्सी खाने, सबै मैले गर्नुपर्‍यो,’ सपना सुनाउँछिन्।

    ससुराको उपचारका लागि सपनाको आम्दानीले पुगेन। उनीहरूसँग बचत पनि थिएन। त्यसैले उनले चिनजानका सुर्जमान मालीसँग ५० हजार रुपैयाँ मागिन्। सुर्जमानले महिनाको पाँच हजार रुपैयाँ ब्याज लिने शर्तमा उनलाई ५० हजार रुपैयाँ दिए। यो लेनदेनको कुनै तमसुक गरिएको थिएन।

    एक महिनापछि सपनाले स्वाबलम्बन लघुवित्तबाट ऋण लिएर  सुर्जमानलाई ५५ हजार रुपैयाँ फिर्ता गरिन्। तर, लघुवित्तबाट ऋण लिएपछि सपना ऋणको दुष्चक्रमा पर्न थालिन्।

    मिटरब्याजी सुर्जमान माली।

    लघुवित्तबाट लिएको ५० हजार ऋण बढेर ७० हजार पुग्यो।  ऋण तिर्नलाई उनीसँग आम्दानीको बाटो थिएन। बिरामी ससुरा स्याहार्न थालेपछि चिया पसल हेर्ने समय भएन। उनले पसल बन्द गरिन्। त्यसैले, ऋण तिर्न ऋणै लिनु पर्‍यो। उनले फेरि सुर्जमानलाई गुहारिन्। सुर्जमानले कुनै नाइँनास्ति गरेनन्। कागज पनि गरेनन्। पुरानै शर्तमा ७० हजार रूपैंया उनलाई दिए। ‘महिनाको ७ हजार ब्याज तिर्ने शर्तमा ७० हजार दिएको थियो,’ उनी सुनाउँछिन्।

    झन्डै ६ वर्ष बित्यो। ब्याजसहित जोडेर ७० हजार ऋण ५ लाख पुगिसकेको थियो। यति धेरै पैसा कसरी तिर्ने ? सपनाको मन आत्तियो। उनले माइती पुगेर आमालाई सहयोग मागिन्।

    ‘आमाले जग्गा बेचेको पैसा ल्याएर मैले सुर्जमानलाई पाँच लाख दिएकी थिएँ,’ यतिबेला सपनाको मन ढुक्क भएको थियो। ‘आमालाई त सकेको बेला फिर्ता गरौंला, परिवार भित्रैको कुरा न हो,’ सपना सम्झिन्छिन्, ‘कम्तीमा अब बाहिर ऋण छैन भन्ने भएको थियो।’

    यो ऋण लिएको र दिएको केही पनि कागजात छैनन्। उनलाई ऋण तिरेको स्थान भने सम्झना छ, ‘चापागाउँको बुलुमा भोज थियो। म भोजमा गएकी थिएँ, त्यो मान्छे (सुर्जमान) ले त्यही आएर पाँच लाख लिएर गएको हो।’

    सपनालाई एकपछि अर्को समस्याले सताउन छोडेन। ०७५ सालमा सपनालाई फेरि आपत आइलाग्यो। ‘बुढो बिरामी भयो,’ उनले श्रीमानलाई ग्वार्कोको बी एण्ड बी अस्पताल ल्याइन्। ‘डाक्टरले बुढोको कलेजो नै फेर्नुपर्छ भन्यो,’ रक्सीले उनका श्रीमानको कलेजो खाइसकेको थियो।

    सपनालाई पैसा चाहियो। उनले अरू विकल्प देखिनन्। फेरि सुर्जमान कहाँ पुगिन्।

    पाँच लाख रुपैंया बोकेर सुर्जमान माली अस्पतालमै आईपुगे। कागज नगरिकनै सधैं कारोबार गरिरहेकी सपनाले यसपटक पनि पाँच लाख रुपैंया लिएको कागज गरेकी थिइनन्।

    बी एण्ड बी अस्पतालले उपचार गर्न नसक्ने बताउँदै महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा पठायो। मनमोहन अस्पतालमा एक महिना उपचार गरेपछि सपनाले श्रीमानलाई घर ल्याइन्। घर ल्याउने बित्तिकै श्रीमानको समस्या फेरि बल्झियो। थप १५ दिन अस्पतालमा राख्नुपर्‍यो। सुर्जमानले दिएको पाँच लाख रुपैंया उपचारमै सकियो।

    केही समयपछि सुर्जमानले सपनासँग सावाँ र ब्याज माग्न सुरु गरे। पाँच लाख रुपैंयाको महिनाको ५० हजार रुपैंया ब्याज तोके सुर्जमानले। सपनालाई ब्याज तिर्नै धौ-धौ भयो।

    सुर्जमानकै आग्रहमा सपनाले स्वाबलम्बन लघुवित्तबाट ऋण लिएर २ लाख रुपैंया फिर्ता गरिन्। ‘त्यो २ लाख त उसले ब्याज भनेर कटायो,’ सपना उम्किनै नसक्नेगरी ऋणको पासोमा जेलिँदै थिइन्। सुर्जमानको पाँच लाख र लघुवित्तको २ लाख गरी सात लाख रूपैंया ऋण पुगिसकेको थियो।

    एकातिर रोगी श्रीमान्‌को उपचार र छोरी पढाउनुपर्ने जिम्मेवारी। अर्कातिर प्रत्येक महिना आधा लाख बढिरहेको सुर्जमानको ऋण। व्यवहार सम्हाल्नै नसक्ने गरी बिग्रिइरहेको थियो।

    कति समयपछि हो सपनालाई ठ्याक्कै सम्झना छैन, एकदिन बिहानै सुर्जमानले उनलाई फोन गरे।

    ‘तिम्रो श्रीमान घरमा छ कि छैन ?’ सुर्जमानले सोधे।

    ‘छैन,’ सपनाले छोटो जवाफ फकाईन्।

    ‘तिमीसँग कुरा गर्नुछ म आउँछु,’ यति भनेको केही बेरमै सुर्जमान सपनाको घरमा आइपुगे।

    घरमा आइसकेपछि सुर्जमानले सपनालाई भने, ‘तिमी पैसा तिर्न नसक्ने भयौ। तिम्रो ब्याज भएपनि कम गरिदिन्छु तर मैले भनेको काम गर्नुपर्छ।’

    ‘के काम ?’ सपनाले कुरा बुझिनन्।

    ‘मसँग सुत्नुपर्छ,’ सुर्जमानले सीधै मुख खोलेका थिए। सपनालाई सुर्जमानको कुरा सुनेर छाँगाबाट खसेजस्तो भयो। आफूले दाइ भनिरहेको मानिसले गरेको प्रस्ताव सुनेर उनी काँपिन्। केही बोल्न सकिनन्।

    ‘सोचेर मलाई खबर गर,’ भन्दै सुर्जमान सपनाको घरबाट निस्किए।

    तीन दिनपछि सुर्जमान फेरि त्यसरी नै सपनाको घरमा आइपुगे। यो ७२ घण्टा सपनाको जीवनको त्यस्तो लामो र निसास्सिँदो ७२ घण्टा हो, जुन उनले यसअघि कहिल्यै आफ्नो जीवनमा ब्यहोर्नु परेको थिएन।

    त्यसदिन सुर्जमानले सपनालाई सिधै धम्क्याए। ‘कि मैले भनेको मान्, होइन भने मेरो पैसा अहिलेको अहिल्यै ब्याजसहित फिर्ता गर्,’ सुर्जमानको धम्की थियो।

    ‘मलाई केही समय दिनुस्, म जसरी भएपनि तपाईंको पैसा तिर्छु,’ सपनाले हात जोडेर बिन्ती गरिन्।

    सुर्जमान केही नबोली फर्केर गए। तर, भोलिपल्ट बिहान ११ बजेतिर फेरि सुर्जमान सपनाको घरमा आइपुगे।

    ‘मसँग हिँड्, होइन भने मेरो पैसा अहिले नै चुक्ता गर,’ सुर्जमानले सपनाको हात ताने।

    सपनाको होसहवास् उड्यो। के गर्ने के नगर्ने उनले सोच्न नपाउँदै सुर्जमानले उनलाई तानिसकेका थिए। ‘केही सोच्नै सकिनँ’ एकैछिन टोलाएर उनले सुनाइन्।

    सुर्जमानले सपनालाई आफ्नो मोटरसाइकलमा राखे। ललितपुर पाटन अस्पताल अगाडि रहेको लुम्बिनी गेष्ट हाउसको ढोकामा पुर्‍याए।

    ‘मलाई माथि जाँदै गर भनेर त्यो तलै अल्झियो,’ सपना सम्झिने प्रयास गर्छिन्। गेष्ट हाउसको दोस्रो तल्लामा रहेको कोठाभित्र लगेपछि सुर्जमानले अप्राकृतिक मैथुनका लागि दबाब दिएको सपना बताउँछिन्।

    ‘मैले सक्दिनँ भनेँ,’ सपनालाई यो घटना सम्झिदा पनि भाउन्न छुट्छ। सुर्जमानले सपनाको शरीरमा मनलाग्दी हात चलाउन सुरु गरे। सपना रुँदै सुर्जमानको पाउ परिन्। तर उनको केही लागेन । सपनामाथि पहिलोपटक बलात्कार भयो ।

    करिब आधा घण्टापछि सुर्जमानले भने, ‘तँ मलाई काम लाग्दिनस्, मेरा साथीहरूलाई काम लाग्छेस्।’

    तत्कालका लागि सुर्जमानबाट छुट्कारा पाइयो भन्ने सोच्दै सपना गेष्ट हाउसबाट बाहिरिइन्। ‘म लगनखेलबाट बस चढेर जान्छु भनेको थिएँ, उसले मानेन,’ सपनाले सुनाइन्, ‘हात तान्दै मलाई आफ्नो मोटरसाइकलमा बसायो,’ सपनालाई सुर्जमानले नै उनको घर नजिकै छोडिदिए।

    पीडितलाई पहिलो पटक बलात्कार गरिएको लगनखेलस्थित गेष्ट हाउस।

    गेष्ट हाउस घटनाको दुई महिनासम्म सुर्जमानले सपनालाई फोन सम्पर्क गरेनन्। उनले पनि सुर्जमानलाई फोन गरिनन्। सुर्जमान फेरि कहिले आउने हो भन्ने डरैडरबीच सपना आफूलाई सामान्य जीवनमा फर्काउन प्रयत्न गर्दै थिइन्। सुर्जमानसँग कहिल्यै भेट्न नपरोस् भनेर भगवानसँग प्रार्थना गर्थिन्।  तर, उनी सुर्जमानको चक्रव्युहमा फसिसकेकी थिइन्। अपराधिक मानसिकता बोकेका सुर्जमान उनलाई यत्तिकै छोड्न तयार थिएनन्।

    दुई महिनापछि फेरि एकदिन सुर्जमानको फोन आयो। पहिलो फोन उनले उठाउन सकिनन्। तर, तारन्तार बजिरहेपछि उनले फोन उठाइन्। फोनमै सुर्जमानले प्रस्ताव गरे, ‘धापाखेलमा मेरो साथी छ, त्यसले भेट्न खोजेको छ, त्यहाँ जाउ।’

    यो सुन्ने बित्तिकै सपनाले फोन काटिन्।

    तुरुन्तै सपनालाई नयाँ नम्बरबाट फोन आयो। फोन गर्नेले आफ्नो नाम उमेश साही भएको र सुर्जमानले नम्बर दिएको बतायो।  सुर्जमानले भनेको मान्छे यही हो भनेर सपनाले कुरा बुझिहालिन्।

    निरिह बनिसकेकी सपनाले गर्नसक्ने केही थिएन। उनी सरासर धापाखेल पुगिन्। धापखेलमा पुगेर उमेशले भनेको ठाउँमा गइन्। ‘त्यसको मासु पसल थियो,’ उनी अतातयी विगत कोट्याउँछिन्।

    उमेशकहाँ पुगेर उनले आफ्नो सबै दुःख सुनाइन्। यसको केही दिनपछि फेरि सुर्जमानले फोन गरे, ‘तँलाई त्यहाँ दुःख सुनाउन पठाएको हो र? जे भनेको छ त्यही गर्।’

    सुर्जमानले घरमै आएर बेइज्जत गर्ने धम्की दिएपछि सपना साँझ चार बजे धापखेलमा रहेको उमेशको मासु पसल पुगिन्। ‘मासु पसलमा भीड थ्यो, म एक घण्टा जति बसेर फर्किएँ,’ उनले भनिन्। त्यसदिन जोगिएर आएपछि उनले शान्तिको सास फेरिन् तर यो धेरै दिनका लागि थिएन।

    केही दिनपछि सुर्जमान सपनाको घरमै आईपुगे। उनले धम्क्याउँदै सपनालाई मोटरसाइकलमा राखेर धापखेलमा रहेको उमेशको मासु पसल पुर्‍याए।

    सपनाले सुनाइन्, ‘साँझको ४ बजेको थ्यो होला। मलाई मासु पसलमा छाडेर सुर्जमान हिड्यो। मासु पसल पछाडि एउटा सानो ठाउँ रहेछ, मासु पखाल्ने जस्तो। त्यो उमेशले मलाई तानेर त्यहीँ लग्यो र चिसो भुईंमा लडायो. . . ।’ सपनाको आवाज मलिन हुँदै गयो।

    आँखा खोल्दा उनी चिसो भुईंमा लम्पसार थिइन्। उनको जिउभरी नंग्रा र दाह्राका डाम थिए। उनको तल्लो शरिरको लुगा एउटा कुनामा फ्याँकिएको थियो।

    सपनामाथि दोस्रोपटक बलात्कार भयो।

    कसैगरी उनले आफूलाई सम्हालिन् र अध्याँरोमा मुख छोप्दै घरतिर आइन्। तर, उनको नियती यतिमा सकिएन। झनभन्दा झन् आततायी घटना उनले व्यहोर्दै जानुपर्‍यो।

    घर आएर पनि उनले सुख पाइनन्। ‘उमेशलाई त मज्जा आएन रे, तैले केही गरिनस् कि क्या हो?’ राती फोन गरेर सुर्जमानले सपनालाई हपारे। उनी रोइरहिन्…।

    यो घटना भएको करीब एक हप्तापछि सुर्जमानले फोन गरेर सपनालाई फेरि बोलाए।

    ठेँचोमा सुर्जमानको किराना पसल छ। ‘मेरो पसलको सामान लिन जानु पर्नेछ, आइज भन्यो,’ सपना सम्झिन्छिन्।  डर र अपमानले थिचिएर उनी लुरुलुरु सुर्जमानको पसल पुगिन्। उनका पाइला पसलतिर भन्दापनि सुर्जमानको षडयन्त्रको जालतर्फ अघि बढिरहेका थिए। सपना बिस्तारै-बिस्तारै सुर्जमानले रचेको चक्रव्युहमा जेलिँदै जान थालिन्।

    मोटरसाइकलमा राखेर सुर्जमानले उनलाई तरकारी बजार पुर्‍याए। तरकारी बोकेर फर्किँदै गर्दा सुर्जमानले भने, ‘तैले अरु मान्छेकहाँ पनि जानुपर्छ, तेरो सावाँ, ब्याज सबै मिनाहा हुन्छ।’

    सपना किँकर्तव्यविमुढ थिइन्।

    यसको दुई महिनापछि सुर्जमानले सपनालाई फेरि बोलायो।

    यसपटक सपनाले अलिकति हिम्मत जुटाइन् र आफू कतै नजाने प्रतिक्रिया दिइन्।

    ‘मैले भनेको मानिनस् भने तँ सुतेको कुरा गाउँभरी हल्ला गर्दिन्छु,’ अब सुर्जमानले ब्ल्याकमेल गर्न सुरु गरिसकेका थिए।

    डराउँदै सपना सुर्जमानको मोटरसाइकलमा बसिन्। सुर्जमानको मोटरसाइकल धापाखेलको ‘शंकर हेयर कटिङ’ मा आएर रोकियो। यही शैलुनको अगाडि छ उमेश साहीको मासु पसल।

    ‘सुर्जमान कपाल काट्न गयो। मलाई बाहिर बस्दै गर भन्यो,’ उनी सुनाउँछिन्, ‘त्यो अगाडिको उमेशले नदेखोस् भनेर म अर्कोतिर गएर बसेँ।’

    कपाल काटिसकेपछि सुर्जमानले सोधे, ‘पानी खाने?’

    ‘खान्नँ,’ सपनाले भनिन्।

    त्यसपछि सुर्जमानले सपनालाई भित्र बोलाउने नियतसहित भने, ‘मलाई त साह्रै गर्मी भयो। म भित्र बस्छु। तँ पनि आएर चिसो खा न त।’

    कोठा अध्याँरो थियो। सपना फेरि यौन पिपाषु हिंस्रक नङ्ग्राको शिकार भइन्। सपनामाथि चौथोपटक बलात्कार भयो। यो पटक उनी सामूहिक बलात्कारमा परेकी थिइन्। उनी चिच्याइन्, कराइन्, रोइन् तर त्यो अन्धकारमा उनको चित्कार सुनिदिने कोही थिएन।

    करीब एक घण्टादेखि सडकमा उभिरहेकी सपना शैलुनको ठीक पछाडितर्फ रहेको कोठामा पसिन्। सुर्जमान उनीभन्दा पहिल्यै पसिसेका थिए।

    कोठाभित्र छिर्ने बित्तिकै सुर्जमान शौचालय जान भनेर हिडे। सुर्जमान हिडेसँगै एउटा अपरिचित मान्छे कोठामा छिर्‍यो। अपरिचित पुरुष कोठामा छिर्ने बित्तिकै सपनाले कोठाबाट बाहिरिन भनेर पाइला मात्रै के चालेकी थिइन्, बाहिरबाट सुर्जमानले ड्याम्मै ढोका बन्द गरिदिए।

    ढोका बन्द भएसँगै त्यो अपरिचित पुरुष सपनामाथि झम्टिन आइपुग्यो।

    ‘त्यसपछि त, त्यो भित्र छिरेको मान्छेले मलाई झम्टिहाल्यो,’ सपनालाई यो घटना सुनाउन गाह्रो भएको थियो। उनको निधारमा चिट्चिट पसिना आइरहेको थियो। उनको स्वर थर्रर काँपेको थियो, ‘म चिच्याएँ, ढोका खोल्न खोज्दा बाहिरबाट बन्द गरेको थियो। त्यसले मलाई हलचल नै गर्न दिएन… मैले कतिचोटी ढोका तान्न खोजेँ तर बाहिरबाट चुकुल लगाएको थियो…।’ यति भन्दाभन्दै सपनाको बोली रोकियो। यतिञ्जेल थामिरहेको आँखाको आंशु पोखियो। उनले आफूलाई सम्हाल्न सकिनन्। उनी भक्कानिइन्।

    पीडितमाथि तेस्रोपटक बलात्कार भएको धापाखेलस्थित सैलुन।

    त्यसपछि के भयो? सपनाले सुनाउन परेन।

    केहीबेरमा उनी बेहोस् भइन्। होस खुल्दा त्यो अपरिचित पुरुष सपनाले नबुझ्ने भाषामा केही बोल्दै थियो। छेउमा सुर्जमान पनि उभिएका थिए। अपरिचित पुरुष अर्धनग्न थियो। त्यस्तै हालत थियो– सपनाको पनि।

    चिथोरिएको, निचोरिएको थकित ज्यानमा लुगा मिलाएर सपना बाहिरिइन्। लुगा त कसैगरी उनले मिलाइन्, तर सुर्जमानको चंगुलमा फसेको जीवन उनले मिलाउनै नसक्नेगरी बिग्रिसकेको थियो।

    सपना बाहिर निस्किएपछि पछ्याउँदै सुर्जमान पनि निस्किए। आफूले दाइ भनेर सम्मान गरेको सुर्जमानको अनुहारमा हेरिन्। उनलाई हदैसम्म घृणा लाग्यो। उनलाई त्यो मान्छेको अनुहारमा थुक्न मन थियो। घृणाले सपनाको मनमा अलिकति हिम्मत जुटाइदिएको थियो तर थुकिहाल्न सकिनन्। तैपनि हिम्मत गरेर भनिन्, ‘तँलाई जे गर्न मन छ गर्, म अब तेरो पैसा तिर्दिनँ।’ यति भनेर सपना त्यहाँबाट हिडिन्।

    तेस्रोपटक बलात्कार भएपछि सपना भारी मन लिएर घर पुगिन्। उनले आफूलाई सम्हाल्न पनि पाएकी थिइनन्, सुर्जमान दुई जना पुरुष बोकेर सपनाको घरमै आइपुगे। यतिबेला रातको १ बजिसकेको थियो।

    ‘त्यो दिन छोरी मसँगै थिई, ऊ सुतिरहेकी थिई,’ सपनाले सुनाइन्। मामाघर बसेर पढ्ने छोरी त्यसदिन घर आएकी रहिछन्।

    सुर्जमान र उनीसँग आएका दुवै जना रक्सीले मातेका थिए।

    ‘मैले भनेको मानिनस् भने तँलाई मात्र होइन तेरो छोरीलाई पनि यस्तै गर्दिन्छु,’ सुर्जमानले फेरि धम्क्याए। सुर्जमानले छोरीकै नाम लिएर धम्क्याएपछि सपना फत्र्याकफुत्रुक भइन्।

    सुर्जमानले धम्क्याउन छोडेनन्, ‘भोलि वडा कार्यालयमा आइज, कागज गर्नुपर्छ। आइनस् भने तेरो कुरा सबैलाई भन्दिन्छु।’

    सपना रातभरी निदाउन सकिनन्। बोझिलो मन तथा बलात्कार र अनिद्राले ग्रस्त शरीर लिएर ११ बजेतिर वडा कार्यालय पुगिन्। वडा कार्यालयमा सुर्जमानले ५५ लाख रुपैयाँ सपनालाई दिएको तमसुक बनाए। तमसुक तयार पर्दा वडा सचिव र तमसुकमा हस्ताक्षर गर्दा वडा अध्यक्षले बारम्बार सपनालाई सोधेका थिए, ‘नानी तिमीले ५५ लाख लिएकै हो त ? किन लिएको यत्रो पैसा ?’

    उनलाई क्वाँक्वाँ रूँदै भए पनि सबै कुरा भन्न मन थियो तर हिम्मत पुगेन। सुर्जमानले दिएको धम्की उनले एकपछि अर्को गर्दै सम्झिइन्- मैले भनेको मानिनस् भने गाउँभरी हल्ला गर्दिन्छु/मैले भनेजस्तो गरिनस् भने तेरो छोरीलाई पनि यस्तै गर्दिन्छु।

    सपना केही बोल्न सकिनन्। चुपचाप ५५ लाख रुपैयाँ लिएको जाली तमसुकमा हस्ताक्षर गरिन्। यति गरेपछि उनलाई लागेको थियो, ‘अब कम्तीमा सुर्जमानको शारीरिक शोषणबाट मुक्ति पाइन्छ।’

    तर, उनीमाथिको बलात्कार र अत्याचारको शृङ्खला रोकिएन। सुर्जमानले उनीमाथिको यौन शोषण जारी राखे।

    वडा कार्यालयमा ५५ लाख रुपैंयाको जाली कागज गराएको करिब एक महिनापछि सुर्जमानले सपनालाई फोन गरेर आफ्नो घर बोलाए।

    ‘राती ९ बजेतिर उसले मलाई आफ्नो घरमा आउ भन्यो,’ उनी भन्छिन्। उसले त्यो ५५  लाख रुपैयाँको तमसुक च्यातिदिन्छु भनेर बोलाएको थियो। सुर्जमान सपनालाई घरी तँ भनेर सम्बोधन गर्थे, घरी तिमी।

    लिदैं नलिएको ऋणको प्रमाण मेटिने झीनो आशा बोकेर सपना सुर्जमानको घर गइन्, उनलाई अर्को कुनै विकल्प छ जस्तो पनि लागेन।

    सपनालाई सुर्जमानले आफ्नो नभई नजिकै रहेको आफ्ना दाइ धर्मलाल मालीको घरमा लिएर गए। भर्खर बनाएको त्यो घर खाली थियो।

    ‘म घरभित्र जान्न भनी रहेँ तर उसले मलाई घचेटेर घरभित्र लग्यो, त्यसपछि उसले मलाई धकेलेर एउटा कोठामा हुत्यायो,’ सपनाको स्वर फेरि काँप्यो। उनी केहीबेर मौन भइन्। घाँटी सुकेजस्तो लागेर हुनुपर्छ, टेबलमा राखेको बोतल तानिन् र एक घुट्को पानी पिइन् । अनि थर्रर काँपेको आवाजमा त्यो घटना सुनाउँदै गइन् ।

    कोठा अध्याँरो थियो। सपना फेरि यौन पिपाषु हिंस्रक नङ्ग्राको शिकार भइन्। सपनामाथि चौथोपटक बलात्कार भयो। यो पटक उनी सामूहिक बलात्कारमा परेकी थिइन्।

    अध्याँरो कोठामा छिर्ने बित्तिकै दुईजना पुरुष एकैपटक सपनामाथि झम्टिए। भर्खर बनेको घरको चिसो भुईंमा उनीहरुले सपनालाई लछारपछार गरे। उनी चिच्याइन्, कराइन्, रोइन् तर त्यो अन्धकारमा उनको चित्कार सुनिदिने कोही थिएन।

    ती दुई जनामध्ये एक जनाको नाम दिपक हो भन्नेसम्म सपनालाई थाहा छ। ‘एक जनाले दिपक भन्दै बोलाएको थियो त्यति मात्र थाह छ, नाम अनुहार केही थाहा छैन,’ उनी फेरि एकपटक निरिह सुनिइन्। रक्सीले मातेर चुर भएका दुई पुरूषको लगातार बलात्कारमा परेकी उनी धेरैबेर होसमा रहन सकिनन्। उनी बेहोस भइन्।

    यो घटना सुनाउँदा उनी पटकपटक भक्कानिएकी थिइन्। उनी रून्थिन्। एकछिनमा फेरि हिम्मत जुटाउँथिन्। आफूलाई सम्हाल्दै आंशु पुछ्थिन्। अनि फेरि कुरा गर्न सुरू गर्थिन्।

    होस खुल्दा उनको जिउमा भएका लुगा च्यातिएका थिए। चिसो भुईंमा उनी निस्लोट लडेकी थिइन्। यति हुँदासम्म रातको १२ बजिसकेको थियो। उनी आफूलाई सम्हाल्दै घर आइन्।

    घरमा आएर उनी रोइरहिन्। उनलाई आँसुले बाहेक कसैले साथ दिएन। उनीमाथि जे भइरहेको छ, त्यो सुनिदिने पनि कोही थिएन। न त कसैलाई सुनाउने हिम्मत नै थियो।

    पटक-पटक बलात्कारमा परेको कहाली लाग्दो कथा त छँदैछ, यसको अर्को पाटो पनि उस्तै नमीठो छ। दाइ सम्झिएर आपतमा लिएको यही पाँच लाख ऋणको बहानामा सुर्जमानले सपनाको ८० लाख मूल्य पर्ने घरजग्गा पनि हडपे।

    उनलाई कतै न्याय पाइन्छ कि भन्ने आशा जागेको छ। तर, त्यो न्याय कहाँबाट र कसरी पाइन्छ? उनले बाटो पहिल्याउन सकेकी छैनन्। किनभने, उनले न्यायालयबाट समेत आफू ठगिएको महशुस गरिसकेकी छन्।

    आफू र आफ्ना साथीहरु लगाएर सपनामाथि पटक-पटक बलात्कार गराएका सुर्जमानले सपनाविरुद्ध जिल्ला अदालत ललितपुरमा लेनदेन मुद्धा दायर गरे। सुर्जमानले २०७६ सालमा ललितपुर जिल्ला अदालतमा ६५ लाख रुपैयाँ बैना लिएर पनि जग्गा नामसारी नगरिदिएको भन्दै मुद्धा दर्ता गरेका थिए।  सपनाले आफूसँग ६५ लाख रुपैयाँ बैना लगेको नक्कली तमसुक सुर्जमानले अदालतमा पेश गरेको कागजबाट खुल्छ।

    सुर्जमानले अदालतमा मुद्धा हालेको कुरा सपनाले तीन महिनापछि मात्र थाह पाइन्। जिल्ला अदालतबाट आफ्नो नाममा पत्र आएपछि मात्र उनले सुर्जमानले मुद्धा हालेको थाह पाएकी थिइन्। त्यसपछि उनले अदालती प्रक्रियाका लागि कानून व्यवसायी खोज्न सुरु गरिन्। तर, कानून व्यवसायीले महंगो फिस लिने भएपछि उनले जिल्ला अदालतलाई प्रतिउत्तर नै पठाइनन्। ‘म कानुन व्यवसायी कहाँ पुगे। उनले ५० हजार रुपैयाँ लाग्छ भनेपछि म फर्किएँ,’ सपनाले सुनाइन्।

    उनले अदालती प्रक्रियालाई वास्ता गरिनन्। यता सुर्जमानले सपनालाई मुद्धा फिर्ता लिने आश्वासन दिन थाले। मुद्धा फिर्ता गर्ने मिलापत्रको कागजातमा सही गर्न भनेर सुर्जमानले सपनालाई एक बिहान ललितपुर बटुक भैरव अगाडिको ‘फ्यामिली भुजा घर एण्ड रेष्टुरेण्ट’मा लिएर गए।

    फाइल बोकेका तीनजना मानिस त्यहाँ पहिलेदेखि नै सुर्जमान र सपनालाई कुरिरहेका थिए।

    ‘म त्यहाँ पुग्ने बित्तिकै खाली कागज दिएर ल्याप्चे र साइन गर्न लगाए,’ सपना भन्छिन्, ‘कति कागजमा लेख्या थियो कति कागजमा केही लेख्या थिएन्।’ लेखिएको कागज पनि उनले पढ्न पाइनन्। मुद्दा फिर्ता लिने आश्वासन पाएकी सपना सुर्जमानको विश्वास गर्न बाध्य थिइन्।

    सपनाले अदालतमा दिएको प्रतिउत्तर कागज नेपाल रिडर्सले प्राप्त गरेको छ। त्यो कागजमा लेखिएको कुरा पढेर सुनाएपछि उनले त्यो कागज हेर्दै त्यसको बायाँ कुनामा हातले लेखिएको, ‘मस्यौदाकार: यस लिखतको मस्यौदा म आफू स्वयंले तयार पारेको हुँ भनि सही गर्ने निज…’ देखाउँदै आफूले यतिमात्रै लेखेको सुनाइन्। ‘यो कागज खालि थियो, उनीहरुले भने अनुसार नै मैले यति लेखेकी हुँ।’ खाली कागजमा ल्याप्चे गराएको उनी सुनाउँछिन्।

    सपनालाई झुक्याएर जाली तमसुकमा हस्ताक्षर गराइएको बटुक भैरवस्थित रेस्टुरेन्ट।

    यति मात्र होइन, जग्गाको मूल्यबापत भन्दै सुर्जमानसँग लिएको भनिएको ६५ लाख रुपैयाँको बैनापट्टामा समेत सपनाको औंठाछाप र हस्ताक्षर झुक्याएर लिएको देखिन्छ। बटुक भैरवको त्यो रेष्टुरेण्टमा दर्जन बढी कागजातमा सहिछाप र औंठाछाप लगाइएको उनले सुनाइन् तर उनलाई एउटा पनि कागजात पढ्न दिइएको थिएन। सुर्जमानसँगै रहेका एकजनाले ‘यस्तो त गर्न नहुने’ भनेको उनले सुनेकी थिइन्।

    यति सुनेपछि उनले सोधिन्, ‘यो के कागज हो ?’

    ‘मिलापत्रको कागज हो। तँ यहाँ धेरै बस्नुहुन्न, यो ठाउँ ठीक छैन, छिटो साइन गरेर गइहाल,’ सुर्जमानले सपनालाई भने।

    सपनाको मनमा चिसो त पसेको थियो। तर, के भइरहेको छ भन्ने उनले भेउ पाएकी थिइनन्।

    त्यसको केही महिनापछि झुक्याएर सहिछाप गराइएका कागजातकै आधारमा जिल्ला अदालत ललितपुरका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले सपनाले सुर्जमानलाई ब्याजसहित ८० लाख ८२ हजार २ सय ५६ रुपैंया तिर्नुपर्ने फैसला गर्‍यो।

    सपनाले आफूविरुद्ध फैसला भएको समेत थाह पाइनन्। कतिसम्म भने २३ कार्तिक ०७८ मा सपनाको घर र जग्गा लिलामी हुँदा समेत उनले थाहा पाएकी थिइनन्। सपनाको घर र जग्गाको मूल्य ७९ लाख रुपैंया तोकियो। र, सुर्जमान मालीले नै लिलामीमार्फत सपनाको जग्गा हत्याए।

    जाली तमसुकको भरमा सपनाको घरजग्गा हत्याएर मात्रै सुर्जमान सन्तुष्ट भएनन् । उनले अदालती फैसलाअनुसार आफूले पाउनुपर्ने ८० लाख ८२ हाजर दुई सय २७ रुपै‌ंयामध्ये जग्गाबाट ७९ लाख असुल भएपनि थप एक लाख ८२ हजार दुई सय २७ रुपैंया अझै असुल गराइपाउँ भन्दै ललितपुर जिल्ला अदालतमा निवेदन दिएका छन्।

    जग्गा आफ्नो नाममा बनाइसकेपछि सुर्जमानले सपनालाई आफ्नै घरजग्गाबाट उठीबास लगाए। सुर्जमानले अदालती कागजात देखाउँदै आफ्नो घरजग्गा हत्याएपछि सपना आश्रय खोज्दै दिदी भिनाजुको घरमा पुगिन्। हरेकदिन गाउँघरतिर ओहोर-दोहोर गर्दा खोसिएको आफ्नो घर हेर्दै हिड्छिन् । यतिबेला उनलाई असह्य पीडा हुन्छ।

    पाँच लाख रुपैंया ऋण लिएकी उनले दुई लाख रुपैंया त चुक्ता नै गरिसकेकी थिइन्। बाँकी रहेको तीन लाख रुपैंया र त्यसको ब्याज तिर्ने अवसर पनि नदिइ सुर्जमानले उनीमाथि पटक-पटक बलात्कार गराए। पहिलोपटक सुर्जमान आफैंले उनीमाथि बलात्कार गरे। त्यसपछि उनीमाथि तीन पटकमा चार जनाबाट बलात्कार गराए। जाली तमसुक बनाएर उनको घरजग्गा हत्याए। अझै एक लाख ८२ हजार पाउनुपर्ने दाबी गरिरहेका छन्।

    यो सबै भोगिसकेपछि सपनालाई लाग्यो, उनी यो चंगुलबाट कहिल्यै मुक्त हुन सक्दिनन्। उनले अरू कुनै बाटो नदेखेर मृत्युको बाटो रोजेर एकाबिहानै घरबाट निस्किएकी थिइन्। दिदीले म्यासेज गरिदिएको एउटा नम्बरले उनको जीवनको बाटो मोड्यो। उनलाई कतै न्याय पाइन्छ कि भन्ने आशा जागेको छ। तर, त्यो न्याय कहाँबाट र कसरी पाइन्छ? उनले बाटो पहिल्याउन सकेकी छैनन्। किनभने, उनले न्यायालयबाट समेत आफू ठगिएको महशुस गरिसकेकी छन्।

    (तस्बिर: सागर चन्द/महेश पाण्डेय)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सागर चन्द

      सागर चन्द

      सागर चन्द नेपाल रिडर्सका संवाददाता हुन। उनी राजनीति तथा सम-सामयिक बिषयमा लेख्छन्।

      Related Posts

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      गण्डकीमा वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम सम्पन्न

      नेपाल रिडर्स
      मंसिर १०, २०८१

      (पञ्चायती शासन कालमा नेपालमा नयाँ जनवादी क्रान्तिका माध्यमबाट समाज परिवर्तन गर्न विभन्न कम्युनिष्ट पार्टीमा स‌गठित भएर वा स्वतन्त्र रुपमा सक्रिय...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.