चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउने भनेर गरेको उद्घोष महत्त्वपूर्ण भएको नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका सांसद घनश्याम भूसालले बताएका छन्।
काठमाडौंमा मदन भण्डारी अध्ययन केन्द्रद्वारा आयोजित ‘चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण: एक परिचर्चा’ कार्यक्रममा बोल्दै नेता भूसालले राष्ट्रपति सीको उक्त भनाइमा विश्व कुटनीति, अर्थतन्त्र र राजनीति सबै रहेको विश्लेषण सुनाए।
नेता भूसालले उक्त कार्यक्रममा भने – “राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना गरेको राजकीय भोजमा राष्ट्रपति सीले सबैभन्दा महत्त्वपूर्ण कुरा बोलेका थिए। उनले चीन नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउन चाहन्छ भन्ने कुरा राखेका थिए। राष्ट्रपति सीको त्यो भनाइमा राजनीति, कुटनीति, अर्थतन्त्र सबै छ। त्यो कुनै चीनको सामान्य व्यक्तिले भनेको होइन, राष्ट्रपतिले भनेको हो।
नेपालको इतिहासमा नेपाल राष्ट्र जन्मेदेखि नै भूपरिवेष्ठित थियो कि भने जसरी पढाइन्छ। तर त्यो सत्य होइन। भलै त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग धराशयी भइसकेको छ। नेपालको इतिहासमा मल्लकालसम्म नै कलकत्ता र तिब्बतलाई नाका बनाएर व्यापार हुन्थ्यो, यसको मतलब नेपाल भूजडित थियो भन्ने हो। सिक्किममा अंग्रेजहरूले कब्जा गरेपछि नेपाली अर्थतन्त्रको घाँटी समातिएको हो। त्यसपछि सन् १९२३ मा ब्रिटिस इन्डियासँग भएको सन्धिपछि नेपाल करिबकरिब उनीहरूको नियन्त्रण र खटनपटनमा चलेको थियो। नेपालको मन्त्रिपरिषदमा भारतको कर्मचारी बस्ने र राजाको एडिसी भारतीय नागरिक हुने भएपछि पनि गाह्रो भएको हो। भलै वि. सं. २०१५ सालमा त्यसलाई सच्याउने कोसिस भएको थियो। बिपी कोइराला, टंकप्रसाद आचार्य र राजा महेन्द्र शाहलगायतले भारतको दबदबालाई हटाउने प्रयास गरेका थिए। नेपालको शासन पद्धति अनौपचारिक रूपमा राणाकालमा ब्रिटिसको कब्जामा गएजस्तै प्रजातन्त्र आएपछि भारतको कब्जामा थियो। तत्कालिन नेपाली शासकहरूले भारतको सामू आफैं खुट्टा टेक्न र प्रतिरोध गर्न खोज्दा गाह्रो भएको थियो। भारतसँग नेपालका शासकले बेलाबेलामा लड्ने र जुट्ने क्रम जारी रह्यो। अहिले पनि दिल्लीले नेपाललाई इतिहासदेखि हाम्रो ‘त्वम् शरणम्’ गरेको र खटनपटनमा रहेको देश टाउको उठाउन खोज्नेहरु भन्ने दृष्टिकोणले हेर्छ। नेपाली जनता अहिले पनि हामी भारतभन्दा जेठो हो, सार्वभौम हो भन्ने धारणा राख्दछ। तर, अवस्था यस्तो पनि आयो कि हामी बिरामी भयौँ र अलि ठूलो रोग लागे उतै दिल्लीतिर जाने गर्न थाल्यौँ। राम्रो पद पाउन, सांसद हुन र आफ्नै पार्टीमा टिकट पाउनका लागि लैनचौर जाने गर्न थाले। भारतसामू कुनै बेला नेपालले घुँडा टेक्यो। कहिले खुट्टा टेक्दै प्रतिरोध गर्यो। संविधान बनाउने नेपाल र बन्न नदिने भारतसँगको सीधा लडाइँ भयो।
यसबेला भारतले नेपाल विरुद्ध नाकाबन्दी गर्यो तर त्यो जनतासँगको सरोकारको कुरा थियो। भारतले नेपालमा नाकाबन्दी त पहिले पनि गरेको थियो तर यो पटक जनताले सरकारलाई खबरदारी गरेर मर्न तयार छौँ तर भारतसामू घुँडा नटेक भनेको थियो। नेपालमाथि भारतको नाकाबन्दीपछि भुजडित हुनुपर्छ भन्ने चेतना पनि नेपाली जनतामा र नेतामा बढेको थियो। भारतीयले जुन निर्ममताका साथ, भूकम्पले थिलथिलो भएको देशमाथि नाकाबन्दी लगायो त्यसले नेपाललाई चीनसँग जोडेको छ। नेपाललाई अप्ठेरो परेको अवस्थामा चीनले सहयोग गरेको हो। त्यसैले पनि चीनका राष्ट्रपतिले भनेको भूजडित भन्ने विषय महत्त्वपूर्ण हो।
चीन विश्व शक्ति बन्दैछ। भारत पनि शक्तिराष्ट्र बन्दैछ। यी दुई देशमा तानातानी छ र नेपाल यी दुईको बीचमा छ। यिनीहरू मिल्दा र टकराव हुँदा हामीलाई गाह्रो पर्छ। यिनीहरू मिल्दा के हुन्छ भन्ने लिपुलेक सम्झौता हेर्दा हुन्छ। यी दुई देशमा रंगरमाइलो छ। यिनीहरूले रमिता गर्दा हामी बीचमा गरिब हुने हौँ कि भन्ने लाग्छ। हाम्रो अवस्था धनी छिमेकीको बिहेमा नाच्दै गरेको गरिब बालकको जस्तो हुने हो कि भन्ने चिन्ता छ। हामीले चीन र भारतले देलान् र हाम्रो विकास होला, अलि चीनले देला अनि अलि भारतले देला र हामी समृद्ध हौँला भन्ने सोच्नु हुँदैन। कुनै पनि राष्ट्र आफ्ना कर्मले समृद्ध हुन्छ, वैभव हुन्छ र सकिन्छ पनि!
राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा चीसँग गरेका सम्झौता कुनै पार्टीको वा कुनै गुटको सफलता होइन, मुलुकको सफलता हो। पार्टी नेतृत्वले आदेश मात्रै गर्ने होइन। आदेश सधैं पालना हुन्नन्। हाम्रो पार्टीमा आदेश मात्रै हुन्छ। सहमति, छलफल भएन भने पार्टीको एकता अँध्यारो रातमा चुडिन्छ। त्यसैले पार्टी संचालन गर्नका लागि कार्यकर्ताबाट सहमति लिनुपर्छ।
चीन अहिले विश्वको आर्थिक शक्ति राष्ट्र बनेको छ, ७० वर्षकै अन्तरालमा। त्यो प्रगतिबाट हाम्रा नेताले सिक्नुपर्छ। यो सँगै भारतसँग पनि सहमति, छलफल गर्नुपर्छ। औपचारिक तवरबाटै आउनुपर्ने बाटोमा भारतलाई ल्याउनुपर्छ। राष्ट्र बनाउन हाम्रा राजनीतिक दलहरूले नै भूमिका खेल्नुपर्छ। दलहरूले राम्रो भूमिका खेल्न सकेनन् भने गडबड सुरु हुन्छ। अझ जोड दिएर भन्छु कि हामी कतै धनी छिमेकीको बिहेमा नाच्ने बालक देखेर खुसी हुने त होइन! हामी व्यवस्थित हुन सक्नुपर्छ।’
हेर्नुहोस् भिडियो –