(सम्वत् १९८१ असारमा जन्मेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको निधन ०३५ साल साउन ७ गते भारतको राजधानी नयाँ दिल्लीस्थित गोविन्द बल्लभ पन्त अस्पतालमा भएको थियो। त्यतिबेला उनी नेकपा पुष्पलाल समुहका महासचिव थिए। ०१७ मा राजा महेन्द्रले संसदीय लोकतन्त्रको हत्या गरेर पञ्चायती व्यवस्था लागु गरेपछि उनी लामो समय निर्वासनमा बसेका थिए । मृत्युपछि उनको शव नेपाल ल्याउन तत्कालिन राजा विरेन्द्रको सरकारले अनुमती दिएन र अस्तु ल्याउनेलाई समेत गिरफ्तार गरेको थियो। नेपाली कम्युनिष्ट आन्दोलनको अग्रणीका रुपमा उनले गरेका कामहरुको स्मरण गर्दै त्यसयता हरेक वर्ष साउन ७ गते स्मृति दिवस मनाउने गरिन्छ। पहिले विभिन्न खेमामा विभाजित कम्युनिष्ट पार्टीहरुले पुष्पलाललाई हेर्ने दृष्टिकोणहरु फरक थिए । पछि उनको नेतृत्व र इतिहासलाई सबैले स्वीकार गरेका छन् तर उनका विचारहरुको अनुशरण नगरेको आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ।
नेपालमा साम्यवादी विचारको प्रचारप्रसार, कम्युनिष्ट पार्टीको स्थापना र किसान आन्दोलनहरुको नेतृत्व, नयाँ जनवादी क्रान्तिको कार्यक्रमका प्रस्तोता र राजाकाविरुद्ध संयुक्त जन आन्दोलनको वकालत गरेका कमरेड पुष्पलालको सम्झना र चर्चा वर्तमान सन्दर्भमा पनि अर्थपूर्ण छ। किनपनि भने अहिले नेपाली कम्युनिष्ट आन्दोलन फेरि वैचारिक संकटमा धकेलिएकोमा चिन्ता गर्न थालिएको छ। दक्षिणपन्थी लोकप्रियतावादले मार्क्सवादलाई मात्र हैन, उदारवादलाई समेत चुनौती दिइरहेको छ। स्वयं कम्युनिष्ट आन्दोलन र मार्क्सवादी विचारको रक्षाका लागि विभिन्न कोणबाट इतिहासको मूल्याङ्कन गर्नुपर्ने माग पनि हुँदै गएको छ।
यसपटक पुष्पलाल स्मृति दिवसको अवसर पारेर साउन ७ गते नेपाल वैकल्पिक अध्ययन समाजले एउटा छलफल गोष्ठी गरेको थियो। उक्त गोष्ठीमा विद्वान रामचन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए। कमरेड पुष्पलालका सम्बन्धमा चासो राख्ने हाम्रा पाठकहरुलाई उक्त गोष्ठीमा व्यक्त विचार अर्थपूर्ण लाग्नेछन्, पुष्पलालका बारेमा थप जानकारीहरु हासिल हुनेछन तथा बहसका लागि प्रेरित गर्नेछन् भन्ने विश्वाससहित रामचन्द्र श्रेष्ठको विचार–पत्र र त्यसमाथि भएको छलफलको भिडियो समेत यहाँ प्रकाशित गरेका छौं (सम्पादक)।
विचार–पत्र
व्यक्तिले इतिहासको निर्माण गर्छ कि इतिहासले व्यक्ति जन्माउँछ ? मार्क्सवादी अध्ययन पद्धतिमा व्यक्ति र इतिहासको सम्बन्ध अविभाजित छ । व्यक्ति इतिहासका घटना, भौतिक परिस्थिति, निश्चित उत्पादन सम्बन्ध र त्यसको जगमा सिर्जित संस्कृतिको उपज हो । तर, त्यहीँ व्यक्ति इतिहास परिवर्तनको संवाहक पनि हुनसक्छ। एक व्यक्तिका सीमाहरू हुन्छन् । दन्त्य कथाका वीरहरूले जस्तो उसले इतिहासलाई उलटपलट पारीहाल्न त सक्दैन, समाजको बदलिँदो गतिलाई पक्रेर सही दिशा दिने प्रयत्न भने गर्नसक्छ । परिवर्तनको लयलाई नेतृत्व गर्न सक्छ । त्यसैले इतिहास पनि व्यक्तिको भूमिकाबाट विमुख भएर स्वतस्फुर्त निर्मित हुने होइन।
जब हामी ऐतिहासिक व्यक्तित्वको चर्चा गर्न थाल्छौं दुई अतिको जोखिमबाट गुज्रिन्छौ । एकातिर हामी व्यक्तिको देवत्करणको अतिमा फस्न सक्छौं। अर्कोतर्फ व्यक्तिका योगदानको न्युन मूल्याङ्कनको गल्ती गर्न सक्छौ। त्यसमाथि पनि यस्तो व्यक्तित्व जो आफैमा आन्दोलन हो, जो आफैमा अनेक नागबेलीपूर्ण जीवनकथा हो, जो कहिले पुजिएको छ भने कहिले निन्दित छ, जसका कर्महरूलाई अनेकौं कोणहरूबाट विवेचना गरिएका छन् भने मूल्याङ्कन जटिल र चुनौतीपूर्ण बनिदिन्छ। अनेकौं सूचनाहरूको बाढीमा सही सूचना पहिचान गर्न मुस्किल परेजस्तै ऐतिहासिक व्यक्तित्वको चर्चा न्यायपूर्ण हुन सक्ला वा नसक्ला भन्ने भय रहिरहन्छ। त्यसैले म पुष्पलालको मूल्याङ्कन गर्दैछैन। पुष्पलालको मूल्याङ्कन मेरा लागि हतार हुन जान्छ। त्यसैले मैले यो विचार पत्र पुष्पलालको अध्ययनमा केन्द्रीत गर्दैछु।
पुष्पलालको निर्माण
कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नु, फरक विचारधाराको पार्टीबाटै विपरीत धारको पार्टी निर्माण गर्नु, आफूभन्दा ज्येष्ठदेखि समकालीन तथा कनिष्ठहरूसँग जीवनपर्यन्त सैद्धान्तिक व्यवहारिक बहसमा उत्रनु, औपचारिक अध्ययनको सीमालाई तोडेर समाज अध्ययन र दर्शनको क्षेत्रमा उल्लेखनीय योगदान गर्नु र सिङ्गो जीवन परिवर्तनको लागि होमिदिनु । आफैमा क्रान्तिका पर्याय बनेको पुष्पलालको निर्माण कसरी भयो ?
माल अड्डाका हाकिमी खरिदार भक्तलाल र आमा तुल्सीमायाको तेस्रो सन्तान र माइला छोराको रूपमा १९८१ असार १५ गते रामेछापको भँगेरी गाउँमा जन्मिएका पुष्पलाल मध्यम वर्गीय परिवारका थिए । सरकारी कर्मचारी भएका कारण बुवाको कार्यक्षेत्र रामेछाप भएको बखत जन्मिए पनि उनको परिवार काठमाडौंको थियो । उनका बुवामात्र नभई बाजे पनि सरकारी जागिरे थिए भने मावली पनि सम्पन्न परिवार नै थियो । राणा शासनको त्यो अँध्यारो युगमा नेपालका दुरदराजका ‘रैती’हरू शिक्षाबाट बञ्चित थिए । त्यो समयमा पनि पुष्पलालकी आमा साक्षर थिइन् (भुसाल र अन्यः२०७८, पृ.४)।
पुष्पलाल १६ वर्षको हुँदा नेपालको शान्तप्रायः समाजलाई तरंगित गर्ने घटना घट्यो । दैवी शक्ति सम्पन्न ठानिएका राणा साहेबहरूको गाथलाई ताक्ने असाध्य साहस गर्दै युवाहरू संगठित हुन थालेका थिए । त्यसमध्ये एक पुष्पलालका दाजु गंगालाल थिए जसले २२ वर्षे जवान छातीमा निरकुंशताको तातो गोली थापेका थिए। दाजुको शहादत, शहादत पूर्व दाजु र उनका साथीहरूको राजनीतिक जमघट र गतिविधि किशोर पुष्पलालका लागि प्रेरक घटना थिए। त्यसमाथि शहादतको अघिल्लो दिनको अन्तिम भेटमा दाजुले भनेका ‘माइला भाइ, यस जन्मभूमिमा प्रजातन्त्रको स्थापनाको लागि मैले बालेर गएको सानु दियोलाई तिमीले प्रज्वलित गरी नेपालको कुनाकाप्चामा समेत पुर्याउनेछौं’ वचनले उनको हृदयलाई पक्कै उद्वेलित गरेको हुनुपर्छ । दाजुले सुम्पेको राजनीतिक कार्यभारलाई दाजुको चितासामु उनले सपथ खाएर स्वीकारेका थिए । र, त्यो सपथ जीवनपर्यन्त निभाए। एक प्रतिबद्ध राजनीतिज्ञ बनेर ।
जीवनमा पुष्पलालको संघर्ष स्थापित नामहरूसँग भएको छ । नेकपा गठन गर्नुअघि आफैँले मार्क्सवादी ज्ञानका लागि भेट गर्न चाहेका महापण्डित राहुल सांकृत्यायनलाई नेपाललाई हेर्ने दोष औल्याउँदै नेहरूको परम्परावादी विचारबाट प्रभावित रहेको र ‘ठूलो राष्ट्र अहंकारवाद’ स्वीकारेको आलोचना गर्न पनि छोडेका छैनन् (भुसाल(सं.):२०७३, पृ.१५८–५९) । स्कुल जीवनमात्र पुरा गर्नुभएका पुष्पलालले परिष्कृत अंग्रेजीमा समाज विज्ञानको गहकिलो निबन्ध लेखेका छन्। वि.सं. २००४ सालमा अथक अध्ययन, स्वपठन र स्वंयप्रशिक्षणले ज्ञानको उचाई छुनभएका पुष्पलाललाई प्रेरित गर्ने अर्को घटना भएको थियो । राणा शासनको विरोधमा सत्याग्रहमा सहभागी भएका पुष्पलाललाई राणा शासकले सोधेको थिए, “के हो नागरिक अधिकार ? के हो राजनीतिक अधिकार ?” तत्काल उत्तर दिन नसकेका पुष्पलालले पछि डिल्लीरमण रेग्मीसँग यही प्रश्न दोहोर्याए । रेग्मीको तीतो उत्तर पुष्पलालको जीवनको प्रेरक घटना बन्न पुर्यो । डिल्लीरमण रेग्मीले भनेका रहेछन्, “त्यो कुरा बुझ्नका निम्ति ठूलो दिमाग चाहिन्छ एम.ए, बी.ए हुनुपर्दछ ।” (पुष्पलालः२०५९, पृ. १९)
तत्काल उत्तर दिन नसकेका पुष्पलालले पछि डिल्लीरमण रेग्मीसँग यही प्रश्न दोहोर्याए । रेग्मीको तीतो उत्तर पुष्पलालको जीवनको प्रेरक घटना बन्न पुर्यो । डिल्लीरमण रेग्मीले भनेका रहेछन्, “त्यो कुरा बुझ्नका निम्ति ठूलो दिमाग चाहिन्छ एम.ए, बी.ए हुनुपर्दछ ।”
रेग्मीको रुखो उत्तरले छटपटिएका पुष्पलाल औपचारिक अध्ययनलाई अगाडि बढाउने प्रयत्न पनि गरे तर राजनीतिको कष्टसाध्य यात्रामा कहाँ क्याम्पसे वातावरणको विद्यार्थी जीवन पाउनु ! विश्वविद्यालयको दैलो टेक्ने अवसरबाट वञ्चित भए पनि पुष्पलालको लागि मार्क्स–एंगेल्स र लेनिनले कक्षा पर्खिरहेका थिए । मार्क्स –एंगेल्सको कम्युनिष्ट घोषणापत्र र लेनिनको ‘गाउँका गरीबहरूसँग’मा उनले राणा शासकले सोधेको प्रश्नको भरपर्दो उत्तर फेला पारे (पुष्पलालः२०५३, पृ.१९)।
कम्युनिष्ट पुष्पलाल
पुष्पलालको राजनीतिक हुर्काई काठमाडौंमा भएको हो । यसको नेपाली राजनीतिमा विशेष अर्थ छ । १९९७ सालपछि २००३ सालमा बनारसमा नेपाली राष्ट्रिय कांग्रेस गठन हुनुअघिसम्म काठमाडौं शान्त थिएन । भारतीय स्वतन्त्रता संग्रामबाट वैचारिक रूपमा प्रभावित भएपनि काठमाडौंका युवाहरूमा आफ्नै बलमा प्रजातन्त्रको स्थापना गर्ने हुटहुटी थियो । त्यहीकारण २००३ सालमा बनारसमा ‘अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस’को सम्मेलनबाट नेपाली राष्ट्रिय काँग्रेस स्थापना हुँदा काठमाडौंका युवाहरू सशंकित थिए । गोपालप्रसाद रिमाल नेतृत्वको नेपाल नेशनल लिग त्यसैको परिणाम थियो । काठमाडौं उद्गम र बनारस उद्गमका पक्षहरुबीचको यो टकरावमा बनारस उद्गम कांग्रेस हाबी भएपनि यसले नेपाली राजनीतिमा राष्ट्रवादी मान्यताको जन्म गरायो । रेग्मी नेतृत्वको नेपाल प्रजातन्त्र काँग्रेसमा संलग्नतादेखि ‘दिल्ली सम्झौता’को विरोधसम्मको पुष्पलालले तय गरेको राजनीतिक यात्रामा यो पक्षले खेलेको भूमिका विचारणीय छ।
पुष्पलालको कम्युनिष्ट यात्रा १९९७ सालको नेपाल प्रजा परिषद्को पर्चा काण्ड र दमन लगत्तै शुरु भएको देखिन्छ । रुसको नाम सुनेको र आमा पढेको प्रसंगबारे पुष्पलालले लेखेका छन्:
१९९७ सालको काण्डपछि म पनि नेपालको राजनीतिक विचार–गोष्ठीहरूमा सरिक हुन थालें । यस्तै गोष्ठीमध्ये जोर गणेश प्रेसमा गोपालप्रसाद रिमाल, विजयबहादुर मल्ल आदिका बीचमा अन्तर्राष्ट्रिय राजनीतिको बहस हुँदा दोस्रोचोटी मैले रुसको नाम सुनें । (पहिलोचोटी उनले गंगालालले साथीहरूसँग बहस गर्दा सुनेको उल्लेख गरेका छन्।)…त्यसै दौरान मैले एक मित्र सूर्यबहादुर भारद्वाजमार्फत् विश्वप्रसिद्ध समाजवादी साहित्य ‘आमा’ नामक उपन्यास पढें । यसरी क्रमिक रूपबाट कम्युनिष्ट विचारधाराले मलाई प्रभावित र उत्साहित गर्दै लगेको थियो । (पुष्पलालः२०५९, पृ.८)
राजनीतिक चेतको विकास हुँदै गर्दा केही गर्ने हुटहुटीकै कारण पुष्पलालले ‘नेपाल प्रजातन्त्र संघ’को पनि गठन गरेका थिए । तर ती सबै प्रयासहरू राजनीतिक गतिविधिका शुरुवात थिए। ती कैयौं हिसाबले अपरिपक्व थिए । त्यसक्रममा पुष्पलालको राजनीतिक यात्राको थालनी ‘नेपाली राष्ट्रिय काँग्रेस’बाट भयो । नेपाली राष्ट्रिय काँग्रेसको सम्मेलनको लागि भारत जाँदा पुष्पलालको संगत मार्क्सवादी साहित्यसँग हुन गयो । उनले कम्युनिष्ट साहित्य अध्ययन मात्र नगरी काठमाडौंमा लगेर प्रचार गर्न पनि थाले । नेपाली राष्ट्रिय काँग्रेसमा कार्यालय सचिवको हिसाबले पनि काम गर्न थाले । त्यसक्रममा उनले रेग्मी र कोइराला गुटबीचको फुट र मनमुटावलाई प्रत्यक्ष अवलोकन गरे । दैनिक व्यावहारिक राजनीतिक संघर्षको क्रममा उनले राणाहरूले काँग्रेसका नेताहरूलाई किन्न खोजेको र नेपाली काँग्रेसको नेतृत्वबाट जनवादी आन्दोलन तल्लो वर्गसम्म पुग्न नसक्ने बोध गरे।
पुष्पलाल इतिहासको निकै असल विद्यार्थी थिए । इतिहासप्रतिको अभिरुचिकै कारण हुनुपर्छ उनले शुरुवातमै प्रजातान्त्रिक आन्दोलनको वर्गीय स्वरूपलाई ठम्याउने क्षमता राखे । शायद फ्रान्सेली राज्य क्रान्तिको अध्ययनले उनलाई त्यो निचोडमा पुर्याएको हुनुपर्छ।
पुष्पलाल इतिहासको निकै असल विद्यार्थी थिए । इतिहासप्रतिको अभिरुचिकै कारण हुनुपर्छ उनले शुरुवातमै प्रजातान्त्रिक आन्दोलनको वर्गीय स्वरूपलाई ठम्याउने क्षमता राखे। शायद फ्रान्सेली राज्य क्रान्तिको अध्ययनले उनलाई त्यो निचोडमा पुर्याएको हुनुपर्छ।
नेपाली राष्ट्रिय काँग्रेसमा भएको नेतृत्वको झगडा र त्यसको वर्गीय दृष्टिकोणको बोध हुन थालेपछि पुष्पलाल काँग्रेसबाट टाढिन शुरु गरे । उनले मार्क्सवादी साहित्यको अध्ययन थाले। अध्ययनसँगै उनले केही साहित्यको नेपाली भाषामा अनुवाद पनि गर्न थाले । तर, ती अनुवाद प्रकाशन गर्ने आर्थिक सामर्थ्य उनीसँग थिएन।
एकातर्फ काँग्रेससँग बढेको दुरी, अर्कोतर्फ आर्थिक अभाव अनि राजनीतिक रिक्तताको छटपटी । यही समयमा उनले सम्पर्कलाई व्यापक बनाउने कोशिस गरेको देखिन्छ । सम्पर्क विस्तारको क्रममा उनको भेट भारतीय कम्युनिष्ट पार्टीका नृपेन्द्र चक्रवर्तीसँग भयो । उक्त भेटलाई पुष्पलालले निकै महत्त्वका साथ उल्लेख गरेका छन् । भेटबारे उनले लेखेका छन्, “अब मेरो अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीसँग विधिवत सम्पर्क भयो । यो मेरो निम्ति एउटा सन्तोषको कुरा थियो।”
त्यतिबेला पुष्पलालमा नेपाली भाषामा कम्युनिष्ट साहित्यको प्रचार गर्ने यति भोक जागेको थियो कि उनले सुवर्ण शमशेरले बर्मामा गएर गुरिल्ला तालिम लिन गरेको प्रस्तावको स्वीकारोक्तीको लागि आफुले अनुवाद गरेका कम्युनिष्ट साहित्य प्रकाशन गरिदिनुपर्ने शर्त तेर्स्याएका थिए । तर, राणाविरोधी संघर्षको लागि पैसाको खोलो बगाएका सुवर्णशमशेरले उनका कम्युनिष्ट साहित्य प्रकाशन गर्ने उत्साह देखाएनन् । यो घटनाले पनि पुष्पलालले वर्गीय दृष्टिकोण व्यवहारमा नै अनुभुत गर्न थालेको हुनुपर्छ । पछि अन्य स्रोत जुटाएर २००५ चैत २३ गते कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवाद प्रकाशित भयो (पुष्पलालः उही, पृ.२९)।
कम्युनिष्ट घोषणापत्रको अनुवादसँगै पुष्पलालले त्यसको भूमिका लेखेका छन्। उक्त भूमिकामा पुष्पलालले कम्युनिष्ट घोषणापत्र प्रकाशन हुनुको पृष्ठभूमि, फ्रान्सेली राज्यक्रान्ति र औद्योगिक क्रान्ति, युरोपको मजदूर आन्दोलनदेखि लिएर दोस्रो विश्वयुद्ध पश्चात विकसित राजनीतिक घटनाक्रमको चर्चा गरेका छन । पुष्पलाल राणा विरोधी संघर्षलाई वर्गीय दृष्टिकोणले पनि परिभाषित गर्दै थिए भन्ने तथ्य उनले उक्त भूमिकामा गरेको यो विश्लेषणले इंगित गर्छः
आज चालीस राणाको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न, त्यस्तै भोलि २०० नेपाली जमिन्दार र पूँजीपतिको आजादीलाई नेपाली जनताको आजादी भन्न सकिन्न । नेपाल तबैमात्र पूर्णरूपले आजाद हुन सक्दछ, जब यो कम्युनिष्ट घोषणापत्र नेपालमा कार्यरूपले परिणत हुनेछ । (भूसालः२०७३, पृ.६)
नेकपा गठन र विकासक्रम
कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादसँगै पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको स्थापनातर्फ सक्रिय हुन थाले । कम्युनिष्ट साहित्यको नेपाली अनुवाद गर्ने र प्रचारप्रसारमा लागिपरेका पुष्पलाललाई छिटोभन्दा छिटो कम्युनिष्ट पार्टीको स्थापना गरी सांगठनिक गतिविधिमा लाग्ने सल्लाह नृपेन्द्र चक्रवर्तीले दिएका थिए।
राणा शासन विरुद्ध संघर्ष गरिरहेका नेपालीहरू मध्ये केही कम्युनिष्ट विचारधाराबाट प्रभावित भइरहेका थिए । जस्तो कि मनमोहन अधिकारी भारतीय कम्युनिष्ट पार्टीको बनारस शाखाको सदस्य भइसकेका थिए । सन् १९४७ तिर कलकत्तामा ‘मार्क्सिस्ट स्टडी ग्रुप’ गठन भएको थियो जसमा केशरजंग रायमाझी, हिक्मत सिंह भण्डारी, डि.पी.अधिकारी, नरबहादुर कर्माचार्यसहित पुष्पलाल पनि थिए।
यी सबै वातावरणको माझबाट फरक ढंगले पुष्पलालले सोचिरहेका थिए । उनले यो बीच धेरैजनासँग भेटघाट र बहस गरेको पाइन्छ । कैयौंसँग उनको मत बाझिएको छ । कम्युनिष्ट पार्टी स्थापनाको पुर्वाद्धमा भएका यस्ता जमघट र छलफलबारे पुष्पलालले यसरी लेखेका छन्:
‘‘मलाई भेट्न भनी दोस्रोपटक गंगालाल पनि आइपुगे । उनी काठमाडौं जेलमा कुटपिट मुद्दामा पर्दा अमर शहीद शुक्रराजको संगतमा परी राजनीतिप्रति झुक्दै गएका थिए । तर उनको स्वभाव उग्रवादी र व्यक्तिवादी थियो ।…सुवर्णका गुमस्ता सुन्दरराज चालिसेसँग पनि उनको भेट भएछ ।…सुन्दरराज चालिसेसँग उनको भेटघाट भएपछि उनले नेपालमा कम्युनिष्ट पार्टीको गठनको साटो मजदुर–किसान या श्रमिक पार्टी गठन गर्ने कुरामा जोड दिन थाले । यो कुरा दार्जिलिङ्गमा उनको र मेरो सल्लाह भएको विपरीत कुरो थियो।
‘दार्जिलिङ्गमा गणेशलाल सुब्बासँग भेट भएपछि उनको र मेरो बीच पनि नेपालको राजनीतिलाई लिएर धेरै नै छलफल भयो । नेपालमा कम्युनिष्ट पार्टीको गठनका सम्बन्धमा उनको र मेरोबीच तीब्र र कटु विवाद भयो ।…नेपालमा कम्युनिष्ट पार्टीको गठनका सम्बन्धमा उनको त्यसबखत भनाइ थियो कि नेपाली कम्युनिष्टहरूले छुट्टै कम्युनिष्ट पार्टी गठन नगरी नेपाली काँग्रेसभित्रै वामपन्थीदलको रूपमा काम गर्दै लाने र पछि उपयुक्त समयमा कम्युनिष्ट पार्टीको गठन गर्ने।’’ (पुष्पलालः उही, पृ.३३–३४)
यो सबै उतारचढावका बीच पुष्पलाल कम्युनिष्ट पार्टी स्थापना गर्न आतुर थिए । अन्ततः नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ मोडले जन्म लियो । २२ अप्रिल १९४९ (२००६ वैशाख १०) गते कोलकताको श्यामबजारस्थित नवीन सरकार लेनको २८ नं. घरमा पुष्पलाल सहित निरञ्जन गोविन्द वैद्य, नारायणविलाश जोशी, नरबहादुर कर्माचार्य र दुर्गादेवी (मोतीदेवी) सहितको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो।
नेपाल कम्युनिष्ट स्थापना हुँदै गर्दा दोस्रो विश्व युद्ध अन्त्य भएर शीतयुद्ध शुरु भइसकेको थियो । शीतयुद्धका बाछिटा संसारभर पर्न थालिसकेका थिए । अर्कोतर्फ औपनिवेशिक देशहरूमा मुक्ति संघर्षको लहर आएको थियो । चीनको नौलो जनवादी क्रान्ति विजयको नजिक थियो । भियतनाम, कोरिया लगायतका देशमा कम्युनिष्ट नेतृत्वको राष्ट्रिय मुक्ति संघर्ष चलिरहेको थियो। भारतमा भर्खर भर्खर तेभागा–तलंगाना किसान आन्दोलन भएको थियो । पूर्वी युरोप तथा एसियाली देशहरूमा कम्युनिष्ट पार्टी स्थापनाको लहर चलेको थियो । नेपालको कम्युनिष्ट पार्टी त्यतिबेला एसियाको कान्छो कम्युनिष्ट पार्टी थियो।
पार्टी स्थापनासँगै ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई अत्यावश्यक अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ शीर्षकको अपिल जारी भयो । उक्त अपिलमा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई विश्व समाजवादी आन्दोलनसँग जोड्ने प्रयत्न गरिएको छ । अपिलमा मजूदर, किसान, विद्यार्थी, महिला सबैलाई आ–आफ्नो अधिकारको लागि सङ्घर्ष गर्न आह्वान गरिएको छ । त्यस्तै, अपीलमा ‘काँग्रेसी नेताहरूको मेलमिलापको बाटो त्यागी अविराम युद्धनीति अपनाउने’ उल्लेख गरिएको छ । नेकपाले स्थापनादेखि नै आफ्नो वर्गीय दृष्टिकोण प्रष्ट पारेको देखिन्छ । काँग्रेसको प्रजातन्त्रभन्दा फरक अपीलको अन्त्यमा ‘नवप्रजातन्त्र’ शब्दको प्रयोग गरिएको छ । यो चीनमा माओत्सेतुङले अगाडि सारेको ‘नौलो जनवाद’को अवधारणा नै थियो।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना र अपील प्रकाशन लगत्तै यसको संगठन विस्तार पनि फैलिँदै गयो । प्रवासमा र देशभित्र पार्टीको सम्पर्क बढ्न थाल्यो । यसैक्रममा पार्टीमा हिक्मतसिंह, केशरजंग रायमाझी, तुल्सीलाल अमात्य, डि.पी. भण्डारी लगायत जोडिन आइपुगे।
सांगठनिक गतिविधि र सैद्धान्तिक दृष्टिकोण प्रष्ट पार्न पार्टीको मुखपत्र प्रकाशनको आवश्यकता भयो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको सैद्धान्तिक दृष्टिकोण र राजनीतिक कार्यक्रममा प्रष्ट पार्न घोषणापत्रको आवश्यकता पनि बोध भयो । फलस्वरूपः ‘कम्युनिष्ट पाक्षिक पत्र’ प्रकाशन गर्ने निर्णय भयो । त्यसको पहिलो अंक १५ सेप्टेम्बर १९४९ (३० भदौ २००६)मा प्रकाशित भयो । पहिलो अंकमा नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशित भयो।
चार भागमा विभाजित घोषणापत्रमा पुष्पलालले सोभियत संघ सहित कम्युनिष्ट देशहरू र ‘अंग्रेज–अमेरिकी’ साम्राज्यवादमा विभाजित तत्कालीन विश्व परिस्थिति, बेलायत–भारत–नेपालबीच भएको गोर्खा फौजलाई कायम राख्ने सम्झौता, काँग्रेस पार्टीका दुवै गुटको वैचारिक दृष्टिकोण आदिको विश्लेषण गरेका छन् । सबैभन्दा महत्त्वपूर्ण घोषणापत्रमा पुष्पलालले नेपाली समाजको विश्लेषण गर्ने कोशिस गरेका छन र नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक कार्यक्रमलाई अगाडि सारेका छन्।
‘जनताको जनतन्त्र’ शब्दावली प्रयोग गरेर खासमा पुष्पलालले नेपाली क्रान्तिको कार्यक्रम ‘नौलो जनवाद’ रहेको ठम्याएका छन। घोषणापत्रमा लेखिएको छः
‘…नेपाल आज त्यस पूँजीवादी आर्थिक–पथतिर लाग्दैछ, जुन आर्थिक संकटमा खल्बलिएर भताभुंग भएको छ । नेपाली जनताको मुक्तिको बाटो यो होइन, पतनको बाटो हो । यसकारण नेपाली जनताले अर्कै बाटो लिनुपर्दछ । यो बाटो हो– वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पूँजीवादी शोषणको जुआलाई सफाचट गर्ने बाटो! हामीले विश्व–प्रजातन्त्रीय गुटहरूसँग काँधमा–काँध मिलाएर अगाडि बढ्नुपर्दछ । अनि मात्र हामी मजदूर–वर्गको नेतृत्वमा पसिना चुहाउने जनताको प्रजातन्त्रीय राष्ट्र खडा गर्न सक्नेछौं । यस (राष्ट्रको) शासन–व्यवस्थामा देशको धन–जनको मालिक जनता हुनेछन् । जनताकै हितको निम्ति सरकारले यस्ता धन–जनहरूको प्रयोग गर्नेछ । अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादको निम्ति लड्नुपर्दछ।’ (भूसाल, २०७३, पृ. ४०)
नेपाल आज त्यस पूँजीवादी आर्थिक–पथतिर लाग्दैछ, जुन आर्थिक संकटमा खल्बलिएर भताभुंग भएको छ । नेपाली जनताको मुक्तिको बाटो यो होइन, पतनको बाटो हो । यसकारण नेपाली जनताले अर्कै बाटो लिनुपर्दछ । यो बाटो हो– वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पूँजीवादी शोषणको जुआलाई सफाचट गर्ने बाटो!
कम्युनिष्ट पार्टी स्थापना र घोषणापत्र प्रकाशनपछि सांगठनिक गतिविधि जोडतोड साथ चल्न थाले । पार्टी केन्द्रमा ‘नियमित पार्टी क्लास’ सञ्चालन हुन थाल्यो । पार्टी क्लासको लागि भारतीय कम्युनिष्ट पार्टीसँग सहयोग लिइएको थियो र अयोध्या सिंह (भाइसाहेब नामबाट चिनिने) प्रशिक्षक भएका थिए । पार्टीलाई जनतामाझ पुर्याउन र संगठित गर्न जनवर्गीय संगठनहरू स्थापना गरिए । त्यस्तै काठमाडौं, पाल्पा, धरान, विराटनगर, बारा, पर्सा, रौतहट आदि ठाउँमा पार्टी कमिटिहरू निर्माण भए।
स्थापनाको निकै छोटो अवधिमा कम्युनिष्ट पार्टीको लोकप्रियता र प्रभाव फैलिएको देखिन्छ। शीत युद्धको आक्रमक विस्तारका कारण पनि नेपालको कम्युनिष्ट आन्दोलनप्रति चासो बढेको हुनुपर्छ । अर्कोतर्फ एक शताब्दीदेखि निरकुंश शासन भोगिरहेको र प्रजातान्त्रिक आन्दोलन पनि नभएको देशमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । अन्य औपनिवेशिक देशहरूमा कम्युनिष्ट पार्टीहरूले राष्ट्रिय मुक्ति युद्ध गरिरहेका थिए भने नेपालमा कम्युनिष्ट पार्टीले निरंकुश सामन्ती राज्य-व्यवस्थासँग संघर्ष गर्नु थियो।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना कतिसम्म प्रभावकारी घटना थियो भने नेकपाको पाक्षिक प्रकाशनको संक्षिप्त विवरण अनुवाद गरेर सिआईएले आफ्नो केन्द्रीय कार्यालय पठाउथ्यो । सिआईएले तत्कालिन समयमा पठाएका रिपोर्टहरूको छानिएका केही अंशहरू पछिल्ला केही वर्षदेखि सार्वजनिक भएका छन् । सार्वजनिक विवरणहरूमा पनि नेपालमा कम्युनिष्ट पार्टी फैलिन थालेको र नेपाली काँग्रेसले राणाविरुद्ध संघर्ष गर्ने नाममा कम्युनिष्ट फैलावट नरोकेको भन्ने उल्लेख छ।
त्यसैले पुष्पलालबाट थालनी भएको यो कम्युनिष्ट यात्रा शुरुवातबाटै प्रभावशाली घटनाको रूपमा देखापरेको थियो।
सात सालको आन्दोलनमा नेकपा
नेपाली काँग्रेसले जहाँनिया राणा शासनको विरोधमा सशस्त्र संघर्ष घोषणा गरेपछि नेपाल कम्युनिष्ट पार्टी पनि उक्त संघर्षमा सामेल भयो । नेकपा राणाविरोधी आन्दोलनलाई सामन्तवाद विरोधी संघर्षको उचाईमा उठाउन चाहन्थ्यो । पुष्पलालले लेखेका छन्:
वास्तवमा नेपाल कम्युनिष्ट पार्टीले आफ्नो विज्ञप्ति प्रकाशित गरी राणाबिरोधी २००७ सालको क्रान्तिलाई समर्थन मात्र नगरी सफलताको मंजिलमा पुर्याउने नीति पनि स्पष्ट रूपमा लिइएको थियो । त्यसका निम्ति नेपाल कम्युनिष्ट पार्टीले सशस्त्र संघर्षलाई भित्री पहाडी इलाकामा फैलाउने र क्रान्तिको दौरानमा नै आमजनतालाई सशस्त्र गरी फटाहाहरूको तमसुक च्यात्ने र किसानलाई जमिनको मालिक बनाउने र त्यसको रक्षाको निम्ति ठाउँ–ठाउँमा जनताले रोजेको सरकार गठन गर्ने नीति लिएको थियो । नेपाल कम्युनिष्ट पार्टी उक्त संघर्षलाई दीर्घकालीन सशस्त्र कृषि क्रान्तिमा परिवर्तन गर्न चाहन्थ्यो। (पुष्पलालः२०५३, पृ.६२)
तर, नेपाली काँग्रेसले आफ्नो वर्गीय अनुहार पर्दाफास गरिहाल्यो। नेकपाका कार्यकर्ताहरू पक्राउ पर्नथाले । मोरङ कब्जा गरेपछि बनेको बिद्रोही सरकारले मनमोहन अधिकारी, डी.पी. अधिकारी, नरबहादुर लगायतलाई कैद गर्यो । काँग्रेसलाई पुरै सहयोग गरिरहेको भारतको नेहरू सरकारले रक्सौलमा तुलसीलाल अमात्य, केदार उपाध्याय लगायतलाई पक्राउ गर्यो । पुष्पलाल पनि भारतमा भूमिगत हुन बाध्य भए।
नेहरू सरकारले नेपाली काँग्रेसकै आन्दोलनलाई पनि आफ्नो नियन्त्रणमा राख्यो । राजा त्रिभुवनलाई पाल्पा पुर्याएर समानान्तर सरकार गठन गरी देशैभर राणाबिरुद्ध सशस्त्र संघर्ष गर्ने काँग्रेसको योजना असफल भयो जसको मुख्य कारक थियो दिल्ली । राजा त्रिभुवनलाई भगाएर दिल्ली लैजान सफल भएको नेहरू सरकार राणालाई दबाबका लागि उनको उपयोग गर्न चाहन्थ्यो । खासमा नेहरूको शुरुवाती नीति थियो, ‘मध्यमार्ग’। प्रजातान्त्रिक सुधार गरेर राणाहरूलाई नै शासनमा राखिरहने उद्येश्यले त्यो नीति तय गरिएको थियो । चिनियाँ कम्युनिष्ट शक्तिलाई नेपालसम्म आउनबाट रोक्न त्यो आवश्यक छ भन्ने ठम्याइमा थिए नेहरू । तर, ज्ञानेन्द्रलाई राजा बनाएर बेलायत र अमेरिकाबाट त्यसप्रति सम्मति लिन राणाहरू लागेपछि नेहरू सरकार अत्तालियो । उसले नेपाली काँग्रेसको सशस्त्र संघर्षलाई छुट दियो । जब सशस्त्र संघर्षको क्रममा काँग्रेस भित्रकै वामपन्थी नेताहरूले स्थानीय सामन्तबिरुद्ध क्रान्तिकारी कदम चाल्न थालेपछि भने क्रान्तिलाई सम्झौतामा टुङ्ग्याउने हतार हुन थाल्यो । भारतले राजा र काँग्रेसको शक्तिको भरमा राणा शासकलाई आफ्नो प्रस्तावमा सहमत हुन बाध्य गरायो । जसको प्रतिफल थियो, दिल्ली सम्झौता । त्रिपक्षीय सम्झौता भनिए पनि नेहरू सरकारले तय गरेर सबैलाई स्वीकार्न बाध्य गराइएको सम्झौता थियो त्यो । दिल्ली सम्झौतालाई नेकपाले विरोध गर्यो।
प्रथम सम्मेलनः एउटा महत्त्वपूर्ण मोड
दिल्ली सम्झौता र परिवर्तित राजनीतिक घटनाक्रमलाई मूल्याङ्कन गरी स्पष्ट दिशानिर्देश गर्न नेकपाको प्रथम सम्मेलन सन् १९५१ सेप्टेम्बर २७ देखि अक्टोबर २ (आश्विन २००८)सम्म ६ दिन चल्यो । सम्मेलन भाारतको कलकत्तामा भएको थियो जसमा एक महिला सहित ५० जना प्रतिनिधिहरू उपस्थित थिए । सम्मेलनमा पुष्पलालले ‘जातिय आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी’ र ‘नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो’ शीर्षकका दुई राजनीतिक दस्तावेज पेश गरेका थिए । सम्मेलनले पार्टीको विधान पनि पारित गरेको थियो । पुष्पलालको भाषामा ‘पार्टीको जीवनमा पार्टीको कार्यक्रम, नीति तथा संगठनात्मक समस्यामा आमपार्टीका प्रतिनिधिहरू बसी छलफल भएको यो पहिलो पटक थियो।’ (पुष्पलालः२०५३, पृ.६५)
सम्मेलनले पार्टीको सांगठनिक ढाँचा र जनवादी केन्द्रीयताको प्रणालीलाई प्रष्ट पार्यो। त्यस्तै पार्टीको महामन्त्रीमा पुष्पलाललाई चयन गर्यो र ५ सदस्यीय राजनीतिक समिति निर्माण गर्यो। राजनीतिक समितिमा भाइसाहेब (अयोध्या सिंह), मनमोहन अधिकारी, तुलसीलाल अमात्य र शैलेन्द्रकुमार उपाध्याय थिए ।
राजनीतिक कार्यक्रममा हिसाबले सम्मेलनले प्रष्ट भाषामा नयाँ जनवादलाई पारित गर्यो । त्यस्तै अधुरो क्रान्तिलाई पूरा गर्ने बाटोतिर अग्रसर हुने, त्यसका लागि राष्ट्रिय स्तरमा संयुक्त मोर्चा गठन गर्ने निर्णय गर्यो । सम्मेलनले सामन्ती शोषण विरुद्ध किसान आन्दोलनलाई तेज गर्ने फैसला गर्यो।
नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा निश्चित दिशा प्रदान गरेकाले यो प्रथम सम्मेलन ऐतिहासिक मोड थियो । सम्मेलनले सांगठनिक ढाँचालाई स्पष्ट गरेको थियो र किसान आन्दोलनलाई महत्त्वपूर्ण जोड दिएको थियो।
प्रथम सम्मेलनको दुई महिनामै ‘जातीय जनतान्त्रिक संयुक्त मोर्चा’ को काठमाडौंमा उद्घाटन भएको थियो । मोर्चामा नेकपा, विभिन्न जन-वर्गीय संगठनहरू र नेपाल प्रजापरिषद् सामेल थिए । संयुक्त मोर्चाको उद्येश्य साल सालको अधुरो क्रान्तिलाई पुरा गर्ने थियो । तर पछि प्रजा परिषद्का नेताहरू मोर्चाबाट अलग भई मातृका मन्त्रीमण्डलमा सहभागी भए।
सम्मेलनको अर्को उपलब्धि किसान आन्दोलनहरूको व्यापकता थियो। किसान आन्दोलन बाँके, बर्दियादेखि रामेछाप, भोजपुर, गोरखा, तनहुँ, कास्की, पाल्पा, डोटी आदि क्षेत्रमा व्यापक भयो । सबैभन्दा लामो समय र सघन रूपमा सप्तरी, धनुसा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीमा किसान आन्दोलन चर्किएको थियो । ती किसान आन्दोलनबारे पुष्पलालले लेखेका छन्, ‘बारा, पर्सा, रौतहट र सर्लाहीमा विशाल रूपमा ‘तमसुक फुक्का’ आन्दोलन उठ्यो । १०/१५ दिनसम्म त्यहाँ सरकारको राज्य खतम भई किसानको राज कायम भएको थियो । ५० सौ लाखका जाली तमसुकहरू आगो फुकिए । जमिन्दारहरूको कचहरीको साटो किसानको अदालत कायम भयो र किसान संघले आफ्नो घुम्ती जेलसम्म पनि खडा गरेको थियो।’ (पुष्पलालः२०५७, पृ. ७७)
तत्कालीन किसान संघर्षका दुई पक्ष थिए । एक, नेपाली काँग्रेसभित्रका वामपन्थी नेताहरूको नेतृत्वमा सञ्चालित । दुई, नेकपाको जन-वर्गीय संगठन अखिल नेपाल किसान सङ्घको नेतृत्वमा सञ्चालित । यसमध्ये भीमदत्त पन्त नेतृत्वको सङ्घर्षलाई भारतीय सेना प्रयोग गरेर दमन गरियो। अन्य किसान आन्दोलनहरू सरकारी दमन, आन्दोलनभित्रकै कमजोरी र कम्युनिष्ट पार्टीले राष्ट्रिय स्तरमा उठाउन प्रयत्न नगरेकै कारणले पनि निस्तेज हुँदै गए । तर, किसान आन्दोलनकै कारण आजपर्यन्त भूमिसुधार नेपाली राजनीतिको एउटा प्रमुख मुद्दा बनिरहेको छ ।
अल्पमतमा पुष्पलाल
नेपालको कम्युनिष्ट आन्दोलनमा ००९ जेठ/असार (१९५२ जुन–जुलाई) मा अप्रत्याशित र अस्वाभाविक घटना भएको थियो । कुनै पनि पार्टीको नेतृत्व परिवर्तनको आवश्यकता नै पर्यो भने पनि महाधिवेशन वा कुनै राष्ट्रिय सम्मेलनले निर्णय लिन्छ । तर, उक्त मितिमा पार्टीको पोलिटब्युरोको बैठक भयो । बैठकमा अनायास महासचिव परिवर्तनको प्रस्ताव आयो । पाँच सदस्यीय पोलिटब्युरोमा चार जनाले पुष्पलाललाई महासचिवबाट हटाएर मनमोहनलाई स्थापित गरे। नेकपाको नेतृत्व हत्याउने यो षड्यन्त्र ००७ चैत्रतिरबाटै शुरु भएको महेशमणि दीक्षितले उल्लेख गरेका छन्।
दीक्षित लेख्छन्ः शैलेन्द्रकुमार उपाध्यायले २००७ चैतको अन्तिमतिर नै वीरगञ्जमा दक्षिण गण्डक प्रान्तीय समितिका सदस्यहरूको बीच पुष्पलाल श्रेष्ठको विरुद्ध र मनमोहन अधिकारीको पक्षमा प्रचार शुरु गरिसकेका थिए । पुष्पलालको विरुद्ध क्रमशः शैलैन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारी, केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र मनमोहन अधिकारीको गुट खडा गरियो । जुन गुटले ००९ जेठ–असारमा बटेश्वरको बैठकमा पुष्पलाल श्रेष्ठलाई महासचिव पदबाट हटाएर मनमोहन अधिकारीलाई महासचिव पदमा नियुक्त गर्यो । बटेश्वरको केन्द्रीय समितिको बैठकले ‘जसको जोत उसको पोत’ को नाराको ठाउँमा जग्गा स्वामित्वको हदबन्दी लगाउने र दरबारको बढ्दो शक्ति प्रभाव र षड्यन्त्रको विरुद्ध कम्युनिष्ट–काँग्रेस एकतालाई कायम गर्नुपर्ने कुरालाई प्राथमिक महत्त्व दियो। (उपाध्याय र अन्यः२०५२, पृ.८५)
दीक्षितले पुष्पलाल विरुद्धको यो कदमलाई भारतीय कम्युनिष्ट आन्दोलनको प्रभावसँग जोडेका छन् । त्यतिबेला भाकपामा राजेश्वर रायको सशस्त्र किसान क्रान्तिको प्रस्थापनाको विरुद्ध अजय घोष र श्रीपाद अमृत डाँगेको डाग दस्तावेज पारित भएको थियो र अजय घोष महासचिव भइसकेका थिए । भारतीय कम्युनिष्ट आन्दोलनको स्थापना र विकासमा बेलायती कम्युनिष्ट पार्टीको प्रत्यक्ष र परोक्ष सम्बन्ध रहेको छ । बेलायती कम्युनिष्ट पार्टी क्रान्तिमार्फत् राज्य व्यवस्थाको परिवर्तन भन्दा पनि चुनावमार्फत् संसदमा सहभागिता, संसदबाटै सरकारमा हस्तक्षेपलाई बढी जोड दिन्थ्यो । भारतीय कम्युनिष्ट पार्टीमा अजय घोष र डाँगेले बेलायती कम्युनिष्टकै लाइनलाई अगाडि बढाइरहेका थिए । खासमा भारतीय कम्युनिष्ट आन्दोलनमा देखापरेको संशोधनवाद नेपाली कम्युनिष्ट आन्दोलनमा घुसिसकेको थियो । नेतृत्वबाट हटाइएको यो कदमबारे पुष्पलालले त्यति खुलेर कतै लेखेको पाइँदैन । नेतृत्वबाट हटाइए पनि पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशा दिन सँधै अग्रसर थिए।
००८ माघ ८ गते भएको डा. केआई सिंह काण्डपछि तत्कालीन मातृका कोइराला सरकारले नेकपामाथि माघ १० गतेदेखि प्रतिबन्ध लगायो। यो प्रतिबन्ध ०१४ वैशाख ४ गतेसम्म रह्यो।
प्रतिबन्धित अवस्थामा नेकपाको प्रभाव झनै बिस्तार भयो। यसै अवधिमा पूर्वी तराईमा किसान आन्दोलन चल्यो। राष्ट्रव्यापी र राजनीतिक उचाईमा उठ्ने सम्भावना बोकेका यी किसान आन्दोलनहरू अनुभवको कमी र पार्टी नेतृत्वका उदासिनताको शिकार बने। सम्भवतः पुष्पलालको नेतृत्वको कमी यहाँ झल्कियो।
प्रतिबन्धित अवस्थामा नै नेकपाले ०१० भदौमा भएको काठमाडौं नगरपालिकाको प्रथम स्थानीय निर्वाचनमा भाग लियो। उक्त निर्वाचनमा १८ वडामध्ये ६ वडामा विजयी भएर काठमाडौंमा आफ्नो उपस्थिति बलियो रहेको पुष्टि गर्यो।
प्रथम महाधिवेशनः
प्रतिबन्धित अवस्थामा नै नेकपाको प्रथम महाधिवेशन ०१० माघ १३ देखि १७ सम्म पाटनको ग्वावहालमा भूमिगत अवस्थामा सम्पन्न भयो । महाधिवेशनले मनमोहन अधिकारीले प्रस्तुत गरेको ‘केन्द्रीय कमिटिको रिपोर्ट’ र ‘नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रम’ एकमतले पारीत गर्यो। महाधिवेशनले १३ सदस्यीय केन्द्रीय नेतृत्व र ५ जनाको पोलिटब्यूरोको गठन गर्यो। पोलिटव्युरोमा मनमोहन अधिकारी, पुष्पलाल, शैलेन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारी र शम्भुराम श्रेष्ठलाई चयन गर्यो भने मनमोहन अधिकारीलाई महासचिवमा चयन गर्यो। २०१२ सालमा भएको पार्टीको दोस्रो सम्मेलनले डा. केशरजंग रायमाझीलाई पोलिटव्युरो सदस्य बनाएको थियो। (के.सी. : २०६५, पृ.१७२)
प्रथम महाधिवेशनले पार्टी स्थापनाको समयमा जारी गरिएको नेकपाको घोषणापत्रलाई संशोधन गर्यो। घोषणापत्रले सात सालको उपलब्धि रक्षा गर्नको लागि सर्वदलीय सम्मेलन र त्यसबाट अन्तरिम मन्त्रीमण्डल निर्माण गर्ने र उक्त मन्त्रीमण्डलले विधान परिषद्को निर्वाचन गर्ने माग राख्यो। तर, महाधिवेशनले पार्टीको प्रथम घोषणापत्रको विपरीत “राज्यको प्रधानलाई कुनै विशेषाधिकार नदिइयोस्” उल्लेख गर्यो। यसको अर्थ संवैधानिक राजतन्त्रको स्वीकारोक्ति पनि हुन सक्थ्यो। यसरी प्रथम महाधिवेशनले गणतन्त्र वा नौलो जनवादको प्रष्ट राजनीतिक कार्यक्रम पारित गरेन । पुष्पलालको शब्दमा ‘कार्यक्रममा रहेको यो कमजोरी पछि गएर समस्त पार्टीमा राजतन्त्र पट्टी भ्रम फैलाउने ठूलो सैद्धान्तिक आधार सिद्ध हुन गयो।’ (पुष्पलाल, छानिएका रचना ३, पृ.१७)
दोस्रो महाधिवेशनः
दोस्रो महाधिवेशन ०१४ जेठ १४ देखि २५ गतेसम्म काठमाडौंमा भएको थियो । महाधिवेशनको उद्घाटन फोहोरा दरबारस्थित प्रभा सिनेमा हलमा भएको थियो। महाधिवेशनको समयमा महासचिव मनमोहन अधिकारी चीनमा उपचाररत थिए भने कार्यवाहक महासचिव डा. केशरजंग रायमाझी थिए। दोस्रो महाधिवेशमा पोलिटव्युरोको चारजनाको बहुमतको तर्फबाट डी.पी. अधिकारीले प्रस्तुत गरेको ‘पार्टी कार्यक्रममा परिवर्तन किन?’ भन्ने दस्तावेज अस्वीकृत भयो। उक्त दस्तावेजले संसदीय व्यवस्था, संवैधानिक राजतन्त्र र शान्तिपूर्ण संक्रमणको लाइन पेश भएको थियो।
सात सालमा दिल्ली सम्झौताका क्रममा विधान सभाको चुनावबाट नयाँ संविधानको निर्माण गर्ने निर्णय गरिएको थियो । तर, राजाले विधान सभाको निर्वाचन गराउन ढिला गरिरहेका थिए । महाधिवेशनले १७ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । महासचिवको लागि केशरजंग र पुष्पलालको उम्मेदवारी परेकोमा १२ मतले केशरजंग निर्वाचित भए।
महाधिवेशनले पुष्पलालको लाइन तथा नीति पारित गर्यो। पुष्पलालको नीति थियो- “गणतन्त्रको नारालाई सुरक्षित गर्दै तत्काल विधानसभाका लागि संघर्ष गर्ने।” सात सालमा दिल्ली सम्झौताका क्रममा विधान सभाको चुनावबाट नयाँ संविधानको निर्माण गर्ने निर्णय गरिएको थियो । तर, राजाले विधान सभाको निर्वाचन गराउन ढिला गरिरहेका थिए । महाधिवेशनले १७ सदस्यीय केन्द्रीय समिति चयन गर्यो। महासचिवको लागि केशरजंग र पुष्पलालको उम्मेदवारी परेकोमा १२ मतले केशरजंग निर्वाचित भए। यसरी दोस्रो महाधिवेशनले नीति पुष्पलालको पारित गर्यो तर नेता भने केशरजंगलाई चयन गर्यो (के.सी. :२०६५, पृ.१७६) । यो नेपाली कम्युनिष्ट आन्दोलनमा संशोधनवादको प्रवेश थियो। संशोधनवादको प्रवेश प्रथम महाधिवेशनबाटै भएको थियो र दोस्रो महाधिवेशनमा नेतृत्व हत्याएको थियो।
चुनावमा पुष्पलाल
अन्तरिम संविधान विपरीत राजा महेन्द्रले संसद्को निर्वाचनको घोषणा गर्दा शुरुमा पुष्पलालको बिरोध रह्यो । नेपाली काँग्रेसले पनि संसद्को निर्वाचन स्वीकारेको हुनाले काँग्रेसको सम्झौतावादी विचारको विरोध गर्दै संविधान सभाको लागि संघर्ष गर्नुपर्नेमा पुष्पलाल अडिग हुनुहुन्थ्यो। पछि राजाको कदमको विरोध गर्दै निर्वाचनमा भाग लिने पार्टी निर्णय भएपछि पुष्पलाल चुनावमा होमिए। चुनावको लागि बनाइएको केन्द्रीय बोर्डको सचिव रहेर पार्टीलाई चुनावमा परिचालन गर्नेदेखि आफैं काठमाडौं निर्वाचन क्षेत्र नं. १ को उम्मेदवार बने । निर्वाचन परिणाममा गणेशमान सिंह विजयी हुँदा उल्लेखनीय मत सहित उपविजेता बने। देशको पहिलो आमनिर्वाचनमा नेकपा ४ स्थानमा विजयी भएको थियो।
०१७ साल, दरभङ्गा प्लेनम र तेस्रो महाधिवेशन
०१७ पुस १ गते राजा महेन्द्रले सैनिक ‘कु’ मार्फत् शासन कब्जा गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पुनःगठन र विचलनको गम्भीर मोडमा पुग्यो। नेकपाका कैयौं नेता, कार्यकर्ता पक्राउ परे भने पुष्पलाल भूमिगत भए। शाही कु हुँदा नेकपा महासचिव डा. केशरजंग रायमाझी मस्कोमा थिए। त्यतिबेला पोलिटव्युरोको ३ सदस्यमात्र काठमाडौंमा थिए। पुष्पलालको पहलमा पोलिटव्युरोको बैठक बसेर राजाको कदमको विरोध गर्दै जनताको मौलिक अधिकार संरक्षण हुनुपर्ने, गिरफ्तार व्यक्ति रिहा हुनुपर्ने माग राखेर वक्तत्व जारी भयो।
डा. रायमाझी मस्कोबाट काठमाडौं नआई दरभंगा आएर त्यहीँबाट राजाको समर्थनमा वक्तव्य जारी गरे। बहुमत पोलिटव्युरो सदस्यले राजाको कदमको विरोध गरिसकेको अवस्थामा पार्टी महासचिवको कदमले नेकपा फुट तर्फ जान थाल्यो।
पार्टी नीति तय गर्न भारतको दरभंगामा पार्टीको केन्द्रीय प्लेनम (केन्द्रीय समितिको विस्तारित बैठक) आयोजना भयो। उक्त प्लेनममा ५ पोलिटब्युरो सदस्य सहित २४ जिल्लाको प्रतिनिधित्व गर्ने ५४ केन्द्रीय सदस्यहरूको उपस्थिति थियो। प्लेनममा तीन राजनीतिक कार्यदिशा प्रस्तुत भए — केशरजंग रायमाझीद्वारा संसदीय व्यवस्थाको पुनःस्थापनाको निम्ति सङघर्ष गर्ने, पुष्पलालद्वारा विघटित संसदको पुनःस्थापनाको लागि सङ्घर्ष गर्ने र मोहनविक्रम सिंहद्वारा संविधानसभाको निर्वाचनको लागि सङ्घर्ष गर्ने। कुनै राजनीतिक लाइन निक्र्यौल गर्न नसके पनि प्लेनमले डा. रायमाझीको राजावादी रुझानको कारण उनलाई महासचिवबाट हटायो । तीन जनाको सचिवालय गठन भयो। सचिवालयमा केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारी रहने निर्णय भयो। प्लेनमले ९ महिनाभित्र तेस्रो महाधिवेशन बोलाउने निर्णय गर्यो।
प्लेनमले निर्णय गरे अनुसार सचिवालय चलेन। महाधिवेशनको कुनै संकेत देखापरेन। बरु डा. रायमाझी दरबारको निकट हुन थाले।
०१९ वैशााख ४–१५ (१९६२ अप्रिल १६–२७) मा भारतको बनारसमा तेस्रो महाधिवेशन सम्पन्न भयो। महाधिवेशनमा तुलसीलाल अमात्यले ‘सर्वसत्ता सम्पन्न संसद्’, पुष्पलालले ‘विघटित संसदको पुनःस्थापना’ र मोहनविक्रम सिंहको तर्फबाट बलराम उपाध्यायले ‘संविधान सभा’को राजनीतिक कार्यदिशा प्रस्तुत गरे। महाधिवेशनले ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पारित गरी तत्काल संघर्षका लागि ‘सर्वशक्ति सम्पन्न सार्वभौम संसद्को स्थापना निम्ति संघर्ष गर’ भन्ने नीति पास गरेको थियो।
पार्टीलाई निश्चित राजनीतिक दिशामा अगाडि बढाउन अन्तर जोन सामन्जस्य समितिको आयोजनामा ०१९ वैशााख ४–१५ (१९६२ अप्रिल १६–२७) मा भारतको बनारसमा तेस्रो महाधिवेशन सम्पन्न भयो। महाधिवेशनमा तुलसीलाल अमात्यले ‘सर्वसत्ता सम्पन्न संसद्’, पुष्पलालले ‘विघटित संसदको पुनःस्थापना’ र मोहनविक्रम सिंहको तर्फबाट बलराम उपाध्यायले ‘संविधान सभा’को राजनीतिक कार्यदिशा प्रस्तुत गरे। महाधिवेशनले ‘राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम’ पारित गरी तत्काल संघर्षका लागि ‘सर्वशक्ति सम्पन्न सार्वभौम संसद्को स्थापना निम्ति संघर्ष गर’ भन्ने नीति पास गरेको थियो। यसरी स्थापनाको समयमा नौलो जनवादको कार्यक्रम बोकेको पार्टी ‘राष्ट्रिय प्रजातन्त्र’मा पुगेको थियो।
‘राष्ट्रिय प्रजातन्त्र’ सोभियत संघले उपनिवेशबाट मुक्त नव स्वाधिन देशका लागि निर्माण गरेको राजनीतिक प्रस्ताव थियो । वास्तवमा ‘राष्ट्रिय प्रजातन्त्र’को अवधारणा निर्देशित प्रजातन्त्रको समर्थन नै थियो, तेस्रो विश्वमा प्रजातन्त्रका लागि आधार तयार नभइसकेकाले शक्तिशाली शासकले निर्देशन गरेको प्रजातन्त्र हुनुपर्छ भन्ने अवधारणा थियो । पुष्पलालले ‘नौलो जनवाद’को पक्षमा तुलसीलालसँग सङ्घर्ष गरिरहे। तत्कालीन परिवेशमा सोभियत संघ र चीन बीच शुरु भएको ‘महान् बहस’ले पनि ‘नौलो जनवाद’ र ‘राष्ट्रिय प्रजातन्त्र’बीचको बहसलाई झनै घनीभूत पार्दैथियो।
अर्कोतर्फ, डा. केशरजंग रायमाझी पक्षधरले २०२३ सालमा काठमाडौंमा तेस्रो सम्मेलन गरेपछि नेकपा विधिवत रूपमा विभाजित भयो।
पुनः नयाँ जनवाद
तुलसीलालको नेतृत्वमा नेकपाले खासै गतिविधि गर्न सकेन । तत्कालीन अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलन अनेकौ फुट वा अलमलमा गुज्रेको देखिन्छ । पार्टीका केन्द्रीय बैठकहरू हुन छाडेका थिए । केन्द्रीय नेताहरूले पार्टीसँग सम्बन्ध तोडेका थिए । देशभित्र फरक–फरक क्षेत्रमा फरक फरक तरिकाले गतिविधि भइरहेका थिए ।
कम्युनिष्ट आन्दोललाई पुनः सही दिशामा डोर्याउन पुष्पलाल प्रयत्नशील हुनुहुन्थ्यो । पुष्पलाल पार्टीलाई नयाँ ढंगले गति दिने सोचमा थिए । त्यसका लागि सैद्धान्तिक आधार निर्माण गर्न सैद्धान्तिक कामलाई बढी जोड दिए । यही क्रममा उनले आफ्नै सम्पादनमा ‘नेपालपत्र’ र ‘नेपाल ट्रिब्युन’ सम्पादन पनि गरिरहेका थिए । पुष्पलालले केन्द्रीय कार्यालयमा उपलब्ध ६ जना केन्द्रीय सदस्यहरू सहित ‘नेपाली जनआन्दोलन एक समीक्षा’ र ‘नेपाल कम्युनिष्ट पार्टीको अठार वर्षको क्रान्तिकारी सङ्घर्षको सिंहावलोकन एवम् शिक्षा’ शीर्षकका दस्तावेजहरू तयार पारे ।
२०२४ भदौमा पुष्पलालले कन्भेन्सनको आयोजना गरे । कन्भेन्सनले ‘पार्टी सिंहावलोकन’ मस्यौदाको रूपमा पारित गर्यो र सम्मेलन आयोजना गर्ने निर्णय गर्यो । (रावलः२०४७, पृ.६८)
कन्भेन्सनको निर्णय अनुसार २०२५ जेठमा भारतको गोरखपुरमा नेपाल कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलन आयोजना भयो । सम्मेलनमा गुल्मीदेखि रौतहट सर्लाहीसम्मका जिल्लाहरूको प्रतिनिधित्व थियो । सम्मेलनमा ४० जना सहभागी थिए । सम्मेलनले पुष्पलाललाई महासचिवमा पुनःस्थापित गर्यो । सम्मेलनले ‘नेपाल कम्युनिष्ट पार्टीको अठार वर्षको क्रान्तिकारी सङ्घर्षको सिंहावलोकन एवम् शिक्षा’, ‘राजनीतिक प्रतिवेदन’, ‘सङ्गठनात्मक प्रस्ताव’ र ‘नयाँ जनवादी कार्यक्रम’ शीर्षकका चारवटा दस्तावेज पारित गर्यो ।
तेस्रो सम्मेलनले पारित गरेको दस्तावेजमा नेपाली समाजको चरित्र अर्धउपनिवेशिक र अर्धसामन्ती रहेको विश्लेषण गर्दै नेपाली क्रान्तिको लक्ष्यबारे यस्तो लेखिएको छः—
दरबारद्वारा नेतृत्व गरिएको नेपालको सामन्त वर्ग तथा अन्तर्राष्ट्रिय पूँजीवाद खास गरेर भारतीय एकाधिकार पूँजीवाद र अमेरिकी साम्राज्यवादद्वारा भैरहेको शोषणले गर्दा हाम्रो देशको सामाजिक स्थिति आज पनि अर्धऔपनिवेशिक तथा अर्धसामन्ती छ । जबसम्म नेपालको माटोबाट सामन्ती शोषण व्यवस्था र यसलाई आड तथा भरोसा दिई शोषण कार्यमा हिस्सेदार भइरहेको विदेशी पूँजीवाद खास गरेर भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई समूल नष्ट गरिदैँन तबसम्म नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थिति पनि खतम हुन सक्दैन । अतः आजको हाम्रो क्रान्तिको लक्ष्य:
१) नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षा गर्ने किल्लाको रूपमा काम गरिरहेको शाही पञ्चायती राज्ययन्त्रलाई समूल नष्ट गर्नु तथा
२) विदेशी एकाधिकार पूँजीवाद, खास गरी भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई खतम पार्नु हो । (भुसाल (सं.) : २०७३, पृ. ११२)
त्यस्तै सम्मेलनले संयुक्त आन्दोलनलाई कार्यनीतिको रूपमा पारित गर्यो । दस्तावेजमा यस्तो लेखिएको छः
सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थासँग अन्तर्विरोध राख्ने समस्त वर्ग तथा वर्गीय स्तरहरूसँग एकता कायम गर्ने र मुख्य रूपले आफ्नो सम्पूर्ण शक्ति पञ्चायती व्यवस्थाको विरोधमा आन्दोलन उठाउनमा लगाउने कार्यनीति हुनुपर्दछ । किनकि सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था विरोधी आन्दोलननै आजको स्थितिमा मुख्य मिलनको बिन्दु हो । (भुसाल (सं.) : २०७३, पृ. १४७)
केही विश्लेषकहरूले २०२५ सालको यो सम्मेलनलाई पुष्पलाल विचलनबाट पुनःक्रान्तिकारी धारमा आएको विश्लेषण गर्छन् । पुष्पलालमा विचलन आएको थियो वा उनी तत्कालीन राजनीतिक परिवेशमा निकास खोज्दै थिए बहसकै पाटो हो । चर्चित वामपन्थी नेता तथा विश्लेषक कृष्णदास श्रेष्ठले लेखेका छन्ः
पुष्पलाल सैद्धान्तिक–राजनैतिक दृष्टिले विचलनवादीबाट पूर्ण अवसरवादीमा विकसित हुनुभएन ।…नयाँ जनवादी दिशातर्फ पुष्पलालको पुनरागमन २०२५ सालतिर भयो र त्यसपछि आफ्ना बाँकी जीवनभर उनी उक्त कार्यदिशामा अविचलरूपमा डटेर लागिरहे। जब उनी नयाँ जनवादी बाटोमा फर्किए, उनले विचलन–स्थितिको बेलाको आफ्नो राजनैतिक अडानलाई छोडेर त्यसको विपरीत अडान लिए । (श्रेष्ठः२०६१, पृ.३७)
यो सम्मेलनले मार्क्सवाद, लेनिनवाद र माओविचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त बनायो। त्यस्तै राजतन्त्रको विरोध, नयाँ जनवादी प्रजातन्त्रप्रति प्रतिबद्धता, ख्रुश्चेवको संशोधनवादको विरोध जनायो ।
यो सम्मलेनपछि पुष्पलालको नेतृत्वमा संघर्षहरू तीव्र गतिमा बढेको देखिन्छ । अनुभवको कमीका कारण केही संघर्षहरूमा भने अराजकता पनि हावी भएको पाइन्छ । खासगरी लुम्बिनी र गण्डकीका भएका संघर्षहरू त्यस्ता देखिन्छन् । यस्तै यस्तै घटनाहरूले भने पुष्पलालसँग युवा कार्यकर्ताको तिक्तता बढेको देखिन्छ । बिस्तारै पुष्पलालबाट टाढिएर आ–आफ्नो बाटो खोज्ने जमर्को शुरु हुन्छ । यही क्रममा मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित अलग्गिएका छन् । यही क्रममा नारायणमान बिजेक्छु ‘रोहित’ ले नयाँ पार्टी स्थापना गरेका छन् ।
जेलबाट निस्किएपछि मनमोहन, शम्भुराम, मोहनविक्रम, जयगोविन्द साह, निर्मल लामा, भरतमोहन अधिकारी लगायतले ‘केन्द्रीय न्युक्लियस’ गठन गरे । ०३१ सालमा मोहनविक्रमलगायतले ‘चौथो महाधिवेशन’ गरे । यसै सेरोफेरोमा मोहनविक्रमले ‘गद्दार पुष्पलाल’ प्रकाशन गरे । नेपाली कम्युनिष्ट आन्दोलनमा वैचारिक र कार्यनीतिक मतभेदहरूलाई हेर्ने सम्बन्धमा रहेको चरम असहिष्णुको उदाहरण बनेको छ मोहनविक्रमको यो प्रकाशन।
समाज अध्येता पुष्पलाल
आफ्ना समकालीन नेताहरूभन्दा फरक पुष्पलाल राजनीतिक कर्महरूमा मात्र सीमित भएनन्। उनले नेपाली समाजको अध्ययन गर्ने, नेपाली इतिहासलाई मार्क्सवादी दृष्टिकोणले केलाउने र त्यसको आधारमा नेपाली क्रान्तिको कार्यक्रम तय गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरे । कम्युनिष्ट घोषणापत्रको अनुवाद प्रकाशनको क्रममा लेखेको भूमिकामा पुष्पलालले नेपालको सामन्तवाद बेलायती साम्राज्यवादको गठजोडले नै कायम रहेको औल्याए। उनले लेखे:
भारतमा अंग्रेजी साम्राज्यवाद भारत र वरपरका देशहरूमा सामन्तवाद मात्रै कायम गरेर बाँच्न सक्दथ्यो । (भुसाल (सं.):२०७३, पृ.४)
नेपाली समाजको विश्लेषणको क्रममा पुष्पलाल नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको निष्कर्षमा पुगे । २०२५ को तेस्रो सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम पारित गर्दा उनी दीर्घकालीन सशस्त्र संघर्षमार्फत् नयाँ जनवाद स्थापना गर्नुपर्ने निष्कर्षमा पुगे।
‘नेपालमा मातृसत्तात्मक समाज’ जस्तो गहन निबन्धमा पुष्पलालले नेपाली इतिहासको सन्दर्भमा रहेका मिथकहरूमाथि प्रश्न गरे । निबन्धमा उनले लेखेका छन्:
नेपाल उपत्यकामा मानव जातिको बसोबासको शुरुवात क्रमशः चीन अथवा भारतबाट मञ्जुश्री तथा ने मुनिहरू आई बसालिएको हो भन्ने गलत सावित गर्दछ । हाम्रो पूर्वज मञ्जुश्री तथा नेमुनि नभई अब बज्रयोगिनी हुन आउँदछ । बज्रयोगिनीका सन्तान भन्नाले हाम्रो पूर्वजको रेखा पितृसत्तात्मक नभई मातृसत्तात्मक समाजमा जान्छ । (भुसाल (सं.) :२०७३, पृ. ३१५)
पञ्चायती व्यवस्थाले स्थापित गर्न कोशिस गरेको ‘‘राजतन्त्र अनादि कालदेखि चल्दै आएको र चलिरहने’ भन्ने अवधारणा र वी.पी. कोइराला पनि ‘राजाको यश कीर्ति नओइलाउने’ निष्कर्षमा पुगेको सन्दर्भमा पुष्पलालले समाजमा राजतन्त्रको उदयको पृष्ठभूमि, त्यसको विकासक्रम र समाज विज्ञानको नियमअनुसार हुने अनिवार्य पतनलाई स्पष्ट पारे ।
‘नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त)’ २०३३ सालमा प्रकाशित पुष्पलालको निकै गहन निबन्ध हो । पञ्चायती व्यवस्थाले स्थापित गर्न कोशिस गरेको ‘‘राजतन्त्र अनादि कालदेखि चल्दै आएको र चलिरहने’ भन्ने अवधारणा र वी.पी. कोइराला पनि ‘राजाको यश कीर्ति नओइलाउने’ निष्कर्षमा पुगेको सन्दर्भमा पुष्पलालले समाजमा राजतन्त्रको उदयको पृष्ठभूमि, त्यसको विकासक्रम र समाज विज्ञानको नियमअनुसार हुने अनिवार्य पतनलाई स्पष्ट पारे ।
पुष्पलाल नेपाली समाजको गहन अध्ययनको क्रममा थिए भन्ने तथ्य विभिन्न कृतिहरूको अध्ययनबाट तयार गरेको नोटहरूबाट देखिन्छ । अध्ययनको क्रममा नेपाली समाजलाई भौतिकवादी दृष्टिकोणबाट सर्वेक्षण गर्नुपर्ने निष्कर्षमापुगेर पुष्पलालले निकै गहन र भविष्यसम्मलाई मार्गदर्शन हुने निबन्ध ‘नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता’ लेखेका छन । उक्त निबन्धमा इतिहास र समाज विकासको नियमबारे आफ्नो समझदारी यसरी लेख्छन्:
इतिहास मुख्यतः सप्राण सामाजिक संगठन हो, जसमा कुनै निश्चित नियम अनुसार संघटन र विघटनको कृया चालुनै भैरहेको हुन्छ । यो सामाजिक कृया एक अन्तहीन रचनात्मक कृया हो, त्यही संघटन र विघटनको कृयाले गर्दा समाजमा हमेशा एक शक्तिको नाश र अर्को शक्तिको विकास भैरहेको हुन्छ । कुनै पनि समाजको उत्पादनको व्यवस्थामा परिवर्तन आउनका साथै समाजको अन्य सम्पूर्ण ढाँचामा त्यसको छाप पर्न थाल्दछ, र तिनमा पनि परिवर्तनको लक्षण देखापर्दछ । उत्पादनको व्यवस्थाबाट उत्पन्न हुने संघटन र विघटनको कृया नै समाज विकासको नियम हो ।(भुसाल (सं.): २०७३, पृ.३५७)
समालोचनका केही विषयहरू
पुष्पलालको राजनीतिक जीवन र वैचारिक योगदानहरूको संक्षेपमा चर्चा गरिसकेपछि म बुँदागत रूपमा समालोचनका लागि केही विषयहरू यहाँ राख्दछु ।
- पुष्पलालको राजनीतिक जीवनबारे विवेचना गर्दा ध्यान दिनुपर्ने पक्ष भनेको उनको व्यक्तित्वको विनिर्माण हो । शीतयुद्ध प्रारम्भ भइसकेको र स्वतन्त्रता संग्रामहरूले विजय प्राप्त गरी स्वाधीन राष्ट्रहरू बनिरहेको त्यो समय नेतृत्वदायी छविको निर्माणको पनि थियो । हरेक देश र हरेकजस्तो विचारधारामा एउटा एउटा आइकन स्थापित भइरहेका/गरिएका थिए । भारतीय राष्ट्रिय आन्दोलनमा गान्धी, नेहरू, चीनमा माओ, भियतनाममा हो चि मिन्हमात्र नभई नेपालमै पनि बीपी कोइराला एउटा नायकको रूपमा स्थापित गराइएका थिए । महेन्द्रको निरंकुश शासनमा जेलमा बन्दी भए पनि वा निर्वासित भए पनि उनी आफ्ना कार्यकर्ता र समर्थकमाझ एउटा नायकका रूपमा स्थापित भए । तर, नेपाली कम्युनिष्ट आन्दोलनको संस्थापक नेता भइकन पनि पुष्पलाल त्यो तहमा स्थापित भएनन् वा गराइएनन्। किन ? यसका केही निश्चित कारण छन् ।पहिलो, नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो चरणमै केन्द्रीय तहका नेताहरू अधिकांश उच्च मध्यमवर्गीय परिवारबाट आएका थिए । उनीहरू पुष्पलालजस्तो उच्च शिक्षा नलिएका मध्यमवर्गीय परिवारबाट आएका व्यक्तिलाई नेता मानिरहन चाहँदैनथे। उनलाई चीन जान रोकेको र उनको कार्यक्रम पारित हुँदा पनि महासचिव नबनाएकोबाट यो पुष्टि हुन्छ । अर्कोतर्फ, आज पुष्पलालको चर्चा गर्नेमध्ये अधिकांश वा सबैजसोको पृष्ठभूमीमा कुनै न कुनैबेला पुष्पलालको विरोधको इतिहास छ । चाहे त्यो झापाली समूहको पृष्ठभूमीमबाट आएको होस् वा पुष्पलालबाट विभाजित भएकाहरू नै। यस्तो किन भयो त ? ०१७ सालपछि रायमाझी भंगालोमा नजाने कम्युनिष्टहरू पनि पुष्पलालको विरोधी किन बने र किन ‘गद्दार’जस्तो उपमा उनलाई लगाइयो ?‘ क्रान्तिकारी रुमानी’ले नेपाली कम्युनिष्ट आन्दोलनमा पारेको प्रभावबारे गहिरो, निर्भिक र स्वतन्त्र समीक्षा जरुरी छ ।
- वी. पी. कोइरालाका जस्ता डायरी, संस्मरण, साहित्य लगायतका पुष्पलालका सिर्जना हामीसँग उपलब्ध छैन् । त्यसैले उनको मानवीय स्वभावबारे विस्तृत थाहा पाउन सकेका छैनौं । २००९ सालमा प्रगतिशील लेखक संघ गठनमा योगदान गरेका पुष्पलालका साहित्यिक रचनाहरू पनि छन् कि ? जीवनको अन्त्यतिर बनारसमा सबै पुराना साथी, कमरेडबाट दुत्कारिएका वा परित्यक्त, आर्थिक अभावले पिरोलिएका, परिवारबाट टाढा रहेका पुष्पलाल आफ्नो जीवनलाई कसरी सिंहावलोकन गर्थे होला ? जीवनको अन्तिम क्षणमा पुष्पलालले आफ्नी पत्नी सहाना प्रधानलाई ‘तिम्रो निमित्त केही गर्न सकिन । अब अगाडिका कामहरू पक्कै पनि तिमीले गर्छ्यौं होला’ भनेका थिए (श्रेष्ठ, २०६०, पृ. ८६) । एकातिर वैयक्तिक सुख दिन नसकेको पीडाबोध र अर्कोतिर बाँकी काम अर्थात् क्रान्तिको अधुरो कार्यभार पूरा गर्ने आशाले पुष्पलालको व्यक्तित्वको एउटा महत्त्वपूर्ण पक्ष उजागर गर्छ ।
देश विश्व पूँजीवादी प्रणालीको अभिन्न अंग भइसकेको छ । परिधिमा धकेलिएको नेपालले विश्व एकाधिकार पूँजीवादको लागि सस्तो श्रम उपलब्ध गराइरहेको छ ।
- भारतीय कम्युनिष्ट आन्दोलनमा कमिन्टर्नको प्रभाव बढी भएकाले नेपालमा पनि रुसी क्रान्तिको सफलताको प्रभाव परेकै थियो । तर, पुष्पलालको वैचारिकी निर्माणमा भने रुसी पद्दति भन्दा बढी चिनियाँ क्रान्तिको सफलता र माओको शैलीको प्रभाव परेको देखिन्छ । माओ विचारधाराबाट प्रभावित नृपेन्द्र चक्रवती लगायतका बंगाली कम्युनिष्टहरूको सरसंगतबाट उनमा कम्युनिष्ट विश्लेषण पद्दतिको निर्माण भएकाले त्यसको प्रभाव प्रष्ट देखिन्छ जसको उदाहरण हो, उनले गरेको समाज विश्लेषण । माओको ‘चिनियाँ समाजमा वर्गहरूको विश्लेषण’ सरह नै नेपाली समाजको वर्ग–विश्लेषण । यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा जगमात्र प्रदान गरेन दीर्घकालसम्म प्रभाव पार्ने राजनीतिक कार्यक्रम पनि दिइरह्यो । नेपाल ‘अर्धसामन्ती र अर्धऔपनिवेशिक’ भएको र यसको क्रान्तिको लक्ष्य ‘नौलो जनवाद’ हुनुपर्ने निष्कर्षले नेपाली कम्युनिष्ट आन्दोलनलाई आज पर्यन्त प्रभाव पारिरहेको छ । आजको नेपाली समाजको विश्लेषण पुष्पलालबाट कति नजिक वा कति टाढा हुन्छ ?
- पुष्पलालले आफ्नो समयको नेपाली समाजको अध्ययन गर्ने कोशिस गरे । हरेक व्यक्तिका जस्तै उनका पनि सीमाहरू थिए । विश्वविद्यालयको लामो पृष्ठभूमि पनि नभएको र अर्कोतर्फ आफुभन्दा अगाडि नेपाली समाजलाई मार्क्सवादी दृष्टिकोणले विश्लेषणको कुनै पनि प्रयत्न नभएको अवस्थामा नेपाली क्रान्तिको कार्यक्रम निर्माण गरेर दिशानिर्देश गर्नु घनघोर अँध्यारोमा दियो बालेसरह नै थियो । तर पनि अर्थराजनीतिको अध्ययनको कमी भने पुष्पलाल र सिँगो नेपाली कम्युनिष्ट आन्दोलनमा खट्किरहेको पक्ष हो ।नेकपाको घोषणापत्रको भूमिका लेख्ने क्रममा नेपालको २५ प्रतिशत जनसङ्ख्या देश बाहिर छ भनी पुष्पलालले उल्लेख गरेका थिए । अहिले देशको कूल ग्रार्हस्थ उत्पादनको २५ प्रतिशत विप्रेषणले धानिरहेको छ । पुष्पलालको समयभन्दा निकै फरक विश्व परिवेशमा छौ हामी । विश्वभर नै औसत आयु बढेको छ, मातृ तथा शिशु मृत्युदर ह्वात्तै घटेको छ, विद्यालय शिक्षामा पहुँच बढेको छ । नेपालकै हकमा हिजोजस्तो चरम गरिबी र अभाव छैन । पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्दा आधारभुत आवश्यकता नै ठूलो विषय थियो । अहिले त्यो अवस्था छैन । तर, असमानताका नयाँ रूपहरू छन् ।
वैयक्तिक स्वतन्त्रतालाई केन्द्रमा राखेको र त्यो स्वतन्त्रताको धेरथोर उपयोग गरिरहेको युवाका निम्ति हिजोको समाजवादी अवधारणाले कत्तिको उद्वेलित गर्ला ? यो प्रश्न किन पनि आवश्यक छ भने, नेपालमा कम्युनिष्ट आन्दोलन अवसानउन्मुखमात्र छैन असन्तोषको कारक पनि भएको छ । एकपछि अर्को आन्दोलनको पतन, नेतृत्वको विघटन, सत्तापासोमा अल्झिएको यथार्थले जुन निराशा पैदा गरेको त्यो निराशालाई चिर्ने आशाको स्रोत हामीसँग के छ ? पुष्पलाल हाम्रा निम्ति आदर्श हुनसक्छन् तर त्यो आदर्शलाई हामी आफैँले सत्ता स्वार्थको भर्याङ बनाएको तितो यथार्थ बिर्सन सकिँदैन ।
देश विश्व पूँजीवादी प्रणालीको अभिन्न अंग भइसकेको छ । परिधिमा धकेलिएको नेपालले विश्व एकाधिकार पूँजीवादको लागि सस्तो श्रम उपलब्ध गराइरहेको छ । विश्वव्यापीकरणसँगै नेपाली युवाहरू विश्व पूँजीवादका मजदूर भएका छन् जसले उनीहरूको वैयक्तिक जीवनस्तर उकासिदिएको छ । तर, श्रम प्रवासन चुलिँदो छ । हातमा स्मार्ट फोन बोकेर डिजिटल प्रविधिको उपयोग गरिरहेको आजको मजदूर वर्ग विश्व पूँजीवादको सपना देखिरहेछ । असिमित आकांक्षाले थिचिएको युवा पुस्ता एक्लो र व्यक्तिवादी बनेको छ । स्पष्टतः अब पुष्पलालको निष्ठा र प्रतिबद्धताले मात्रै हामीलाई पुग्दैन । त्यो भाष्यले मात्रै हामीलाई पुग्दैन ।
वैयक्तिक स्वतन्त्रतालाई केन्द्रमा राखेको र त्यो स्वतन्त्रताको धेरथोर उपयोग गरिरहेको युवाका निम्ति हिजोको समाजवादी अवधारणाले कत्तिको उद्वेलित गर्ला ? यो प्रश्न किन पनि आवश्यक छ भने, नेपालमा कम्युनिष्ट आन्दोलन अवसानउन्मुखमात्र छैन असन्तोषको कारक पनि भएको छ । एकपछि अर्को आन्दोलनको पतन, नेतृत्वको विघटन, सत्तापासोमा अल्झिएको यथार्थले जुन निराशा पैदा गरेको त्यो निराशालाई चिर्ने आशाको स्रोत हामीसँग के छ ? पुष्पलाल हाम्रा निम्ति आदर्श हुनसक्छन् तर त्यो आदर्शलाई हामी आफैँले सत्ता स्वार्थको भर्याङ बनाएको तितो यथार्थ बिर्सन सकिँदैन।
- कम्युनिष्ट घोषणापत्र प्रकाशन लगत्तै नेकपा गठन गर्ने क्रममा पुष्पलालले नृपेन्द्र चक्रवर्तीसँग आर्थिक सहयोगको अपेक्षा गरेका थिए । चक्रवर्तीको भनाई थियो— नेपाली कम्युनिष्ट आन्दोलन नेपाली जनताको खुट्टामा उभिनुपर्छ । चक्रवर्तीको जवाफले पुष्पलाल औधी प्रभावित भएका थिए । आन्दोलन आफ्नै खुट्टामा उभिएको हुनुपर्छ भन्नेमा पुष्पलाल जीवनपर्यन्त सचेत हुनुहुन्थ्यो । यही कोणबाट आजको कम्युनिष्ट आन्दोलनको विमर्श गरौं । नेपाली कम्युनिष्ट आन्दोलन कति नेपाली जनताको भरमा छ? कतिपय कम्युनिष्ट नामधारी पार्टीहरूबाट आइएनजिओ/एनजिओ हटाइदिने हो भने के बाँकी रहँला भन्ने प्रश्न नजायज नहोला । के नेपाली कम्युनिष्ट आन्दोलनले नेपाली समाजको खास अन्तरविरोधहरूलाई पहिचान गर्न सकेको छ ? वा ‘थोपरिएको’ ज्ञानलाई शिरोधार्य गरिरहेको छ ?
- पुष्पलालले कम्युनिष्ट घोषणापत्रको अनुवाद प्रकाशन गर्दै गर्दा सोभियत संघ विश्व कम्युनिष्ट आन्दोलनको स्तम्भको रूपमा खडा थियो भने चिनियाँ कम्युनिष्ट आन्दोलन विजयको सम्मुख थियो । पुष्पलालको जीवनकालमै सोभियत संशोधनवाद शुरु भयो र महान बहसको थालनी भयो । सोभियत संघको २० औं महाधिवेशनमा सहभागी भएका पुष्पलालले स्टालिनको निन्दाप्रति असन्तुष्टि जनाएका अपुष्ट भनाईहरू पनि छन् । तर, अहिले संसारभरी नै वाम आन्दोलन रक्षात्मक अवस्थामा पुगेको छ । सोभियत संघको विघटनपश्चात यो अवस्था सिर्जना भएको विश्लेषण गरिने गरिएता पनि सोभियत अभ्यासबाटै यसको मूल्याङ्कन आवश्यक छ ।राज्यको विलोपीकरणको परिकल्पना गर्ने मार्क्सवादी दर्शनको राज्य अभ्यास किन राज्य केन्द्रित र बलियो राज्य निर्माणमै केन्द्रित भयो ? कर्मचारीतन्त्रमा आधारित शासन व्यवस्थाको वेबर मोडललाई नै किन जोड दिइयो ? र, के त्यो अभ्यास सोभियत संघमा मात्रै सिमित भयो त ? चीनसहित पूर्वी एशियाली अभ्यासहरू किन भिन्नै हुन सकेनन् ? सोभियत संघको विघटनका जगहरू कहाँ थिए ? र, सोभियतको विघटन लगत्तै किन रुस ओलीगार्चीमा विकसित हुनसक्यो ? त्यसका बीजहरू सोभियत समाजवादमै कसरी रोपिए ?यी यस्ता केही प्रश्नहरू हुन् जसले हामीलाई सोभियत र चिनियाँ अभ्यासभन्दा पर उभिएर विश्व कम्युनिष्ट आन्दोलनको विवेचना गर्नुपर्ने बिन्दुमा पुर्याउँछ ।
- पुष्पलालले थालनी गरेको नेपालको कम्युनिष्ट आन्दोलन अनेकौ पार्टीमा विभाजित भयो। अनेकौ धार समातेर अगाडि बढ्यो । पुष्पलालले सारेको तत्कालीन कार्यक्रमजस्तै दुई–दुई पटक संयुक्त जनआन्दोलन भयो । पुष्पलालले ‘सशस्त्र किसान संघर्ष’ भनेजस्तै ‘सशस्त्र संघर्ष’ पनि भयो । नेपालबाट राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना पनि भयो । नेपाली कम्युनिष्टको एउटा धारा संसदीय अभ्यासलाई नै जोड दिन पुग्यो र पटक–पटक सरकारको नेतृत्व गर्यो । पुष्पलाल यसरी ‘बुर्जुवा स्थायी राज्यसत्ता’ विद्यमान भएको सरकारमा सहभागिता र नेतृत्वबारे के सोच्नुहुन्थ्यो होला ? के यो पुष्पलालको ‘नयाँ जनवाद’को कार्यक्रम थियो वा पहिलो महाधिवेशनबाटै देखापरेको मनमोहनको लाइनको विकसित रूप हो ? अर्कोतर्फ, सरकारको नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरूले साँच्चै मार्क्सवादी सिद्धान्त अनुसार कति योगदान गर्न सके? ‘नौलो जनवाद’को कार्यक्रम अनुसार नै सरकारको नेतृत्व गरेको स्वीकार्ने हो भने पनि ‘राष्ट्रिय पूँजी’को विकास गर्दै समाजवादको आधार तयार गर्न के कति योगदान गरे?
राज्यको विलोपीकरणको परिकल्पना गर्ने मार्क्सवादी दर्शनको राज्य अभ्यास किन राज्य केन्द्रित र बलियो राज्य निर्माणमै केन्द्रित भयो ? कर्मचारीतन्त्रमा आधारित शासन व्यवस्थाको वेबर मोडललाई नै किन जोड दिइयो ? र, के त्यो अभ्यास सोभियत संघमा मात्रै सिमित भयो त ? चीनसहित पूर्वी एशियाली अभ्यासहरू किन भिन्नै हुन सकेनन् ? सोभियत संघको विघटनका जगहरू कहाँ थिए ? र, सोभियतको विघटन लगत्तै किन रुस ओलीगार्चीमा विकसित हुनसक्यो ? त्यसका बीजहरू सोभियत समाजवादमै कसरी रोपिए ?यी यस्ता केही प्रश्नहरू हुन् जसले हामीलाई सोभियत र चिनियाँ अभ्यासभन्दा पर उभिएर विश्व कम्युनिष्ट आन्दोलनको विवेचना गर्नुपर्ने बिन्दुमा पुर्याउँछ ।
- नेपाली कम्युनिष्टहरूको विभिन्न तहको शासन अभ्यास हेर्दा खट्किने महत्त्वपूर्ण पक्ष हो— कम्युनिष्ट ढंगको शासन अभ्यास नहुनु । कुनै बुुर्जुुवा सरकार र ‘कम्युनिष्ट सरकार’बीचमा आधारभुत भिन्नता देखिदैन । उदाहरणको लागि, सशस्त्र संघर्ष गरेर आएको माओवादीले नेतृत्व गरेको, माओवादी गढको रूपमा चिनिएको, युद्धकालमा ‘कम्युन’को अभ्यास गरिएको भनिएको रोल्पमा पनि ‘विकास’को परिभाषा र मोडेल ‘भ्यू टावर’ बनाउने नै छ । यो नेपाली कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक विचलन, प्रवृतिगत समस्या वा ज्ञानको कमी के हो ? नेपाली समाजको गहन अध्ययन र ज्ञान उत्पादनमा अरुचि नेपाली कम्युनिष्ट आन्दोलनको सबैभन्दा कमजोर पक्ष हो ।
- भारतमा निर्वासनमा बसेर नेपाली कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु पुष्पलालको लागि सहज थिएन । भारतीय भूमिमा आश्रय लिँदालिँदै पनि उनले भारतीय शासक वर्गको औपनिवशिक सोचको सँधै विरोध गरे । सिक्किमको प्रसंगमा उनले भारतको खुलेर विरोध गरेका थिए । यो पुष्पलालको वैचारिक प्रतिबद्धता र व्यक्तित्वको एउटा विशेष पाटो हो । उनले ‘संयुक्त आन्दोलन’को कार्यनीति अगाडि सारेका थिए तर वी.पी. र सुवर्णको ‘राजासँगको झुकाव’ र बिपीको ‘राष्ट्रिय मेलमिलापको नीति’को आलोचना पनि गरेका थिए । जीवनको अन्तिम क्षणमा पनि उनले भारतीय सहयोगलाई प्राथमिकता दिएनन् । आफ्नो विचारको लागि जीवनको अन्तिमसम्मको त्यो ढृढता र समर्पण उदाहरणीय र शिक्षाप्रद छ । तर, अहिले नेपाली कम्युनिष्ट आन्दोलन र नेतृत्वको जीवनशैली र सम्पर्कका दायराहरू पुष्पलाललाई लज्जित गराउने खालको छैनन् र ?
- दक्षिण एसियामा जबरजस्ता फैलिरहेको मोदी नेतृत्वको ‘फासिवादी’ हिन्दुवादबाट नेपाली कम्युनिष्ट नेताहरू अप्रभावित भइरहन सक्लान् ? यदि पुष्पलाल भएको भए छिमेकमा भईरहेको वितण्डा र अल्पसङ्ख्यमाथिको दमन विरुद्ध आवाज उठाउथे वा मौन बस्थे ? ‘फासिवादी’ पार्टीसँग ‘कम्युनिष्ट’ पार्टीको सम्बन्ध कुन दर्शनमा आधारित छ?
२०३५ साउन ७ गते उपचारका क्रममा नै प्रवासमा पुष्पलालको निधन भयो । निधनको समयमा पनि उनका कैयौं समकक्षी, उनबाट टाढिएका कम्युनिष्ट नेताहरूको उपस्थितिको अभावले नेपाली कम्युनिष्ट आन्दोलनमा रहेको असहिष्णुता, सद्भाव र सांस्कृतिक कमजोरी प्रकट गर्दछ । नेपाली कम्युनिष्ट आन्दोलन यी समस्याहरूबाट माथि उठ्नु आवश्यक छ । पुष्पलालले थालनी गरेको कम्युनिष्ट आन्दोलनको मसाल कहिले तेज र कहिले मन्द भएको छ। वर्तमान परिवेशमा यो मसाललाई अझै तेजिलो बनाउने कैयौं कठिनाईहरू सामुन्ने छन् । चुनौतीपूर्ण समयमा आन्दोलनको कार्यक्रम पहिल्याउन प्रयत्न गर्ने र मार्क्सवादी दर्शनको आलोकमा नेपाली समाजको अध्ययन गर्न प्रयत्न गर्ने पुष्पलाल हाम्रो मार्गदर्शक बनेका छन् । नेपाली कम्युनिष्ट आन्दोलन पुष्पलालभन्दा धेरै पर आइसकेको छ यद्यपि पुष्पलालको जस्तो समर्पण र जुझारु स्वभाव अझै आवश्यक छ ।
हरेक युगको आफ्नै चुनौती र सम्भावना हुन्छ । पुष्पलालले आफ्नो युगको चुनौती पहिचान गरे, सामना गरे र सम्भावना खोजी गरे । हाम्रो युगको चुनौती पहिचान गर्ने र सम्भावना खोज्ने जिम्मेवारी हाम्रो हो ।
चुनौतीपूर्ण समयमा आन्दोलनको कार्यक्रम पहिल्याउन प्रयत्न गर्ने र मार्क्सवादी दर्शनको आलोकमा नेपाली समाजको अध्ययन गर्न प्रयत्न गर्ने पुष्पलाल हाम्रो मार्गदर्शक हुन् । नेपाली कम्युनिष्ट आन्दोलन पुष्पलालभन्दा धेरै पर आइसकेको छ यद्यपि पुष्पलालको जस्तो समर्पण र जुझारु स्वभाव अझै आवश्यक छ ।
वर्तमान नेपाली समाजको गहन विश्लेषण गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई दिशा प्रदान गर्ने हजारौं हजार पुष्पलाल अहिलेको आवश्यकता हो ।
(नेपाल वैकल्पिक अध्ययन समाज र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा साउन ७ गते प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत विचार पत्र ।)
प्रति टिप्पणीः
अन्तरक्रिया कार्यक्रममा तीन जना वक्ताहरूले यस विचारपत्रमाथि टिप्पणी गरेका थिए । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), नेकपा (एमाले)का डा. दीपकप्रकाश भट्ट र नेकपा (समाजवादी)का करुणा पराजुलीले राखेको विचारबारे थप टिप्पणीको महसूस भएकाले केही बुँदा यहाँ प्रस्तुत गर्छुः-

- तीन जना वक्ताहरूले विचारपत्रमा केही टिप्पणी गर्नुभए पनि विचारपत्रमा उठाइएका महत्त्वपूर्ण सवालहरूमा भने प्रवेश नै गर्नुभएन । समयाभावको कमीले पनि यो हुनसक्छ वा कहिलेकाहीँ विषयहरूले माग गर्ने समय र विस्तृत छलफलले पनि त्यता प्रवेश नगरेको हुनसक्छ । म आशा गर्छु, लेखनमार्फत् उनीहरू र अन्य महानुभावहरूले यस विचारपत्रले उठाएका विषयहरूमा विमर्श गरिदिए भने नेपाली कम्युनिष्ट आन्दोलनको ज्ञान निर्माणलाई योगदान नै पुग्नेछ ।
- विप्लवले तीन वटा महत्त्वपूर्ण टिप्पणी गरे । एक, उनले विचारपत्रमा उठाइएका सवालहरूलाई लिएर बुद्धिजीवीको काम आलोचनात्मक हुनुमात्र होइन, समाधान र कार्यदिशा प्रस्तुत गर्ने पनि हो, समाधानका उपायहरू देखाउने हिम्मत गर्नुपर्छ भने । विप्लजीको टिप्पणी निकै सारगर्भित र सान्दर्भिक छ । मार्क्सको ‘दार्शनिकहरूको काम संसारको व्याख्या मात्र होइन, बदल्ने हो’ जस्तै आशयले उनले टिप्पणी गरे । तर, मार्क्स स्वयंले समाजको रूपान्तरण र समाजवादको सिद्धान्त प्रस्तुत गरिरहँदा पूँजीवादको गहन अध्ययन गरे । हामी यसरी पनि बुझ्न सक्छौ, समाज रूपान्तरणको पहिलो बिन्दु समाजको गहन अध्ययनबाटै हुन्छ ।
कोही एकजना ‘दार्शनिक’, ‘समाज अध्येता’, ‘नेता’ वा एकाध पोलिटव्युरो सदस्यले नेपाली समाज अध्ययनलाई निचोडमा पुर्याउन सक्दैनन् । यसको लागि ज्ञान निर्माणको अथक प्रयत्न आवश्यक पर्छ । त्यो ज्ञान निर्माण समग्र समाज विज्ञानमा विश्वभर भएका अभ्यासहरूको आधारमा हुनुपर्छ ।
वर्तमान समाजका खास अन्तरविरोध के हुन्, नेपाली समाज अहिले कुन जगमा अडिएको छ र यसको दिशा कता छ, नेपाली समाजको उत्पादन सम्बन्धको प्रकृति के छ यस्ता महत्त्वपूर्ण विषयहरू नखुट्याइकन नयाँ बाटो वा कार्यदिशा आफैमा अपूरो पो हुने हो कि ! र, त्यस्तो विश्लेषण भावुकता वा राजनीतिक ‘स्वार्थ’ वा ‘उद्धेश्य’को जगमा नभई आजसम्म मानवजातिले निर्माण गरेको ज्ञान, गरेको अभ्यास र हासिल गरेका अनुभवहरूको आधारमा हुनुपर्छ । पक्कै पनि कोही एकजना ‘दार्शनिक’, ‘समाज अध्येता’, ‘नेता’ वा एकाध पोलिटव्युरो सदस्यले नेपाली समाज अध्ययनलाई निचोडमा पुर्याउन सक्दैनन् । यसको लागि ज्ञान निर्माणको अथक प्रयत्न आवश्यक पर्छ । त्यो ज्ञान निर्माण समग्र समाज विज्ञानमा विश्वभर भएका अभ्यासहरूको आधारमा हुनुपर्छ । एकांगी मान्यता र पूर्वाग्रहहरूको आधारमा होइन । आक्षेप, आग्रह, व्यक्तिगत तहको टिप्पणी र निश्चित व्यक्तिहरूको महिमामण्डन यस्ता प्रयत्नमा बाधा भइआएका छन् ।
- विप्लवजीको दोस्रो टिप्पणी ‘जनकम्युन’को सन्दर्भमा थियो । कम्युनिष्टहरूको ‘विकास’को परिभाषाबारे चर्चा गर्ने सन्दर्भमा मैले माओवादी सशस्त्र संघर्षकालमा अभ्यास गरिएका ‘जनकम्युन’को प्रसंग उप्काएको थिएँ । त्यसैलाई सन्दर्भ लिएर उनले युद्धकालमा २३ वटा कम्युनहरू अभ्यास गरिएका र सबै सफल भएको बताए । संघर्षहरूको क्रमा अभ्यास गरिएका अनेक विधिहरू आन्दोलन र समाज रूपान्तरणकालागि महत्त्वपूर्ण सम्पत्ति हुन् । चाहे ती सफल हुन् वा असफल, समाज परिवर्तनका उद्देश्यले गरिएका अभ्यासहरूबाट शिक्षा लिन जरुरी हुन्छ । त्यसैले त्यस्ता अभ्यासहरूको दस्तावेजीकरण, स्वतन्त्र मूल्यांकन र त्यसबाट शिक्षा ग्रहण गर्न आवश्यक छ ।
विप्लवजीको एउटा भनाई भने निकै चर्चित रह्यो । परिवर्तित सन्दर्भमा दर्शनमा हुनुपर्ने परिवर्तनबारे उनको टिप्पणी निकै विवादास्पद पनि रह्यो । चिन्तनको दुनियाँमा कुनै नयाँ विषयलाई विवेचना गर्नु, त्यसमाथि टिप्पणी गर्नु र वक्ताको भनाईको आशयलाई बुझ्ने प्रयास गर्नुभन्दा पनि ‘गालीगलौज’ र ‘अस्वस्थ टिकाटिप्पणी’ले बहसलाई शुरुमै अवरुद्ध गर्छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका टुक्रो भिडियो र त्यसमाथि भएका अस्वस्थ टिप्पणीहरू यस्तै थिए ।
- विप्लवजीको एउटा भनाई भने निकै चर्चित रह्यो । परिवर्तित सन्दर्भमा दर्शनमा हुनुपर्ने परिवर्तनबारे उनको टिप्पणी निकै विवादास्पद पनि रह्यो । चिन्तनको दुनियाँमा कुनै नयाँ विषयलाई विवेचना गर्नु, त्यसमाथि टिप्पणी गर्नु र वक्ताको भनाईको आशयलाई बुझ्ने प्रयास गर्नुभन्दा पनि ‘गालीगलौज’ र ‘अस्वस्थ टिकाटिप्पणी’ले बहसलाई शुरुमै अवरुद्ध गर्छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका टुक्रो भिडियो र त्यसमाथि भएका अस्वस्थ टिप्पणीहरू यस्तै थिए ।खासमा विप्लवजीले द्वन्द्ववादका दुई नियमहरूको सान्दर्भिकतामाथि चिन्तन गर्नुपर्ने आग्रह थियो । द्वन्द्ववादको एक नियम ‘निषेधको निषेध’बारे माओले पनि प्रश्न उठाएको पाइन्छ । भोगिराज चाम्लिङद्वारा अनुदित कृति ‘माओका दुर्लभ रचनाहरू’को एउटा लेखमा माओले निषेधको निषेध नियमको सान्दर्भिकता नरहेको जिकिर गरेका छन्। यद्यपी उक्त किताबको प्रामाणिकताबारे भने प्रश्न बाँकी नै छ ।दर्शनशास्त्रका विज्ञहरूले विप्लवको आग्रहमाथि विमर्श गर्नु उचित नै हुनेछ । विप्लवजीले पनि यसबारे विस्तृत लेखन गरे भने उनको खास आशय र तर्कहरू प्रस्तावित हुनेछन् । डा. दीपकप्रकाश भट्टले नेपाली कम्युनिष्ट आन्दोलनमा अर्थराजनीतिको कम अध्ययन भएको विषयमा छलफल गर्दै ‘जिओपोलिटिकल इकोनोमी’ (भूराजनीतिक अर्थतन्त्र)को अध्ययन गर्नुपर्नेमा जोड दिए। त्यस्तै, करुणा पराजुलीले पनि अहिलेको नेपाली समाज ‘दलाल पूँजीवादी’ भन्दा पनि ‘एकाधिकार वित्तिय पूँजीवादी’ भएको जिकिर गरिन् ।नेपाली समाजको अर्थराजनीतिक अध्ययन निकै महत्त्वपूर्ण र आवश्यक चुनौती हो ।संसार ‘ग्लोबल भ्यालू चेन’ र ‘ग्लोबल लेबर आर्बिटेज’का सञ्जालहरूले बाँधिएको परिस्थितिमा नेपालको स्थान कहाँ हो भन्नेबारे व्यापक बहसहरू आवश्यक छन् । नेपालको कुल गाह्रस्थ उत्पादनको २५देखि २७ प्रतिशत विप्रेषणले ओगटेको अवस्थामा वैदेशिक रोजगारी र वैदेशिक बसाइँसराईंलाई अर्थराजनीतिको दृष्टिकोणबाट विश्लेषण गरिनु जरुरी छ ।नेपाली कम्युनिष्ट आन्दोलनको कार्यक्रम निर्माणदेखि नेपाली राज्यको नीति निर्माण पनि वैदेशिक रोजगारीलाई अर्थराजनीतिक कोणबाट केलाउन जरुरी छ । खास गरेर कम्युनिष्ट आन्दोलनमा मार्क्सवादी अर्थराजनीतिक दृष्टिकोणबाट अध्यनन–अनुसन्धान जरुरी छ ।डा. भट्टको आग्रह स्वीकार्य छ तर केही प्रश्न पनि छन् । खासगरी विदेश नीतिबारे कुरा गर्दा नेपालमा भूराजनीतिको बढी नै चर्चा गर्ने गरिन्छ । तर, भूराजनीति आफैँमा विज्ञान होइन । भूगोलको विशिष्टता अब पुरानै स्वरूपमा कायम छैन।भूगोलसँग जोडिएका रणनीतिक स्वार्थ पुरानै होलान् तर हिमालहरू अभेद्य छैनन् । कर्ताहरूको भूमिका पनि भूराजनीतिको अर्को महत्त्वपर्ण पक्ष हो।र, आजको राज्य एंगेल्स वा लेनिन वा वेबरले व्याख्या गरेजस्तो स्वरूपमा मात्र छैन । राजनीतिक कर्ताहरूको निर्माण, विनिर्माण हिजोभन्दा जटिल छ । राष्ट्रिय हित वा स्वार्थ कसले कसरी परिभाषित गर्छ भन्ने प्रश्नले हामीलाई विश्लेषणका क्रममा सामाजिक विज्ञानको जटिल विधि अवलम्बन गर्नेतर्फ डोर्याउँछ । ‘भूराजनीतिक अवस्थितिका हिसाबले नेपाल रणनीतिक रूपमा महत्त्वपूर्ण छ’ भन्ने कथन जति सही हो, त्यससँगै उठ्ने प्रश्न हो, त्यो रणनीतिक महत्त्व कसका लागि हो ? त्यो महत्त्वको व्याख्या र परिभाषा कसले गर्छ भन्ने महत्त्वपूर्ण हुन्छ ।र, त्यसको कार्यान्वयन गर्ने राजनीतिक सम्भ्रान्तको निर्माण कसरी हुन्छ भन्ने राजनीतिक कार्यक्रम, दर्शन र पार्टी राजनीतिको पाटो हो ।
सन्दर्भ सामग्री:
१) उपाध्याय, बलराम र अन्य (सं.) । २०५२ । क. पुष्पलाल स्मृति अंक । काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान ।
२) के.सी. सुरेन्द्र । २०६५ । नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास । काठमाडौंः विद्यार्थी पुस्तक भण्डार ।
३) पुष्पलाल । मिति नखुलेको । पुष्पलाल छानिएका रचनाहरू ३ । काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान।
४) पुष्पलाल । २०५३ । नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास । काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान ।
५) भुसाल, बेदुराम (सं.) । २०७३ । पुष्पलाल छानिएका रचनाहरू–भाग १ । काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान ।
६) भुसाल, डा. बेदुराम, पन्थी, डा. माधवराज, सापकोटा, डा.ढाकाराम । २०७८ । नेपाल रत्न पुष्पलाल । काठमाडौंः पुष्पलाल स्मृति प्रतिष्ठान ।
७) रावल, भीमबहादुर । २०४७ । नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास । काठमाडौंः पैरवी प्रकाशन ।
८) श्रेष्ठ, कृष्णदास । २०६१ । पुष्पलालः विचार र व्यक्तित्व । काठमाडौंः पैरवी प्रकाशन ।
९) श्रेष्ठ, सुशिला । २०६० । सहाना प्रधानः स्मृतिको आँखिझ्यालबाट । काठमाडौंः स्वप्नवाटिका प्रकाशन
भिडियो –