नयाँ सरकारका लागि समीकरण जस्तो बनिराखेको छ, त्यो निर्वाचनमा अभिव्यक्त भएको जनमतकै अनुशरण हो। अघिल्लो सत्ता गठबन्धनको पक्षमा पनि स्पष्ट जनमत आएन। ‘हङ पार्लियामेन्ट’ नै रह्यो। हङ पार्लियाम्मेन्ट भन्नु शक्तिहरूको ‘रिअलाइनमेन्ट’ (Realignment) हो।
सामान्य तर्कअनुसार, पहिलेकै गठबन्धनले सरकार निर्माण गर्ने पहलकदमी लिनुपर्ने हो। तर, उनीहरूबीच स्वार्थ मिलेन। अन्य विकल्प खोजी हुँदा अहिलेको परिणाम देखियो।
नेपाली राजनीतिमा तत्काल बाचा गर्ने र भोलि त्यसको अवज्ञा गर्ने रोग झाङ्गिएको छ। त्यस्ता अभ्यासहरू पहिले केपी ओलीले गर्थे, हिजो शेरबहादुर देउवाले गरे। तर, यो रोगबाट राजनीतिलाई बचाउन जरूरी छ। राजनीतिलाई सफा पार्न जायज बाचा गर्ने, बाचा पालन गर्ने, असम्भव कुरा नगर्ने अभ्यास आवश्यक छ।
राजनीति र युद्धमा सबै कुरा जायज हुन्छ भन्ने गरिन्छ। तर त्यसो नभइ, एउटा मूल्य प्रणालीभित्रै राजनीति चलेको छ भनेर देखाउन जरूरी हुन्छ।
अबको वाम एकता कस्तो?
हिजो भए गरेका गल्तीहरू घोषित या अघोषित रूपमा महसुस गरेर नै अहिले नेकपा एमाले र माओवादी केन्द्रको नयाँ गठबन्धन सम्भव भएको हुनुपर्छ। केही न केही ‘रियलाइजेसन’ पक्कै भएको होला। यो सत्ताको लेनदेन मात्रै पक्कै होइन।
अब इतिहासमा भए गरेका गल्तीहरूलाई महसुस गरेर सच्च्याउँदै वाम एकतालाई फराकिलो, सुदृढ बनाउन जरूरी छ। यसलाई निश्चित मूल्य प्रणालीमा डोहोर्याउन जरूरी छ। त्यसका लागि शीर्ष नेताहरूले मात्रै होइन, सबै तहका कार्यकर्ताले धेरै गृहकार्य गर्न बाँकी छ। खाली नेता-नेताले मात्रै बुझेर र सत्ताको लेनदेन गरेर हुने एकताले अब हुँदैन।
जुन मूल्य प्रणालीले हिजो नेकपाको एकता भङ्ग भयो, ती मूल्य प्रणालीलाई करेक्सन गर्नुपर्छ। वाम आन्दोलनलाई एकताबद्ध गरियो भने स्वयम् वाम आन्दोलन र मुलुकको निम्ति हितकारी हुन्छ।
कसले के गर्नुपर्छ?
तत्काल सत्ता संरचनाकै कुरा गर्ने हो भने, अहिले प्रचण्ड प्रधानमन्त्री चुनिएका छन्। सत्ताको स्वरूप चाहिँ अलि बृहत्तर राष्ट्रिय हितको हुनुपर्छ। कांग्रेस सत्तामा नबस्ने भए पनि अबको सत्तापक्षले प्रतिपक्षसँग समेत प्रजातन्त्रका मूल आदर्श र राष्ट्रका आवश्यकतामा हातेमालो गरेर अगाडि बढ्नुपर्छ। त्यसका लागि निश्चित ‘फ्रेम’ बनाउनुपर्छ। राज्यले के-के गर्नुपर्ला भनेर नीतिहरू बनाउनुपर्छ। न्यूनतम कार्यक्रमसहित अघि बढ्नुपर्छ।
सरकारको स्वरूलाई पूर्णता दिने क्रममा सबैलाई समेट्ने अहिलेको प्राथमिकता हो। मेरो व्यक्तिगत विचारको कुरा गर्ने हो भने, जुन चुनौतीहरूका सम्मुख नेपाल उभिएको छ, त्यसका लागि त राष्ट्रिय मेलमिलापको सरकार चाहिएको छ।
जति दल अहिले सरकारमा सामेल भइरहेका छन्, ती धेरै ठूला शक्ति हुन्। यसले पक्कै पनि राम्रै काम गर्छ। त्यसो हुँदा कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने तथा प्रचण्ड नेतृत्वको सरकार चाहिँ राष्ट्रिय सरकारका रूपमा बृहत्तर हितमा लाग्ने नै अबको राजनीतिक मार्ग हो। हिजो शासनमा देखिएका कमीकमजोरीबाट मुक्त हुने, स्वच्छ सरकार बनाउने र जनतालाई ‘डेलिभरी’ दिनेमा सरकारको प्राथमिकता हुनुपर्छ। सरकारको डेलिभरीमै जनताका धेरै गुनासो छन्। आफूसँग भएको साधनस्रोतको सदुपयोग गर्ने हैसियतमा अब सरकारले काम गरोस्।
सामाजिक रूपान्तरणका लागि मार्क्सवादी कमिटमेन्ट जेजे हुन्, ती प्रतिबद्धताबाट यो सरकार बाहिर जानुभएन। सत्ताकेन्द्रित होइन, मिसन केन्द्रित हुनुपर्छ। गत चुनावको जनमतले पनि जनता नेकपाको फुट र बिग्रहदेखि खुशी छैनन् भन्ने देखिएको छ। जनताले कम्युनिष्ट विभाजनलाई नरुचाएकै हुन्। त्यसको असर एमाले, माओवादी र एकीकृत समाजवादी सबैले चुनावमा भोगे।
यदि, हिजो गलत भएका कुरालाई नसच्च्याउने हो भने आगामी दिन नेपाली वाम आन्दोलनको निम्ति फेरि संकटमय हुनेछ। अहिले सत्तामा को बस्ला या नबस्ला, त्यो आफ्नो ठाउँमा होला। तर हिजोका भूलहरू करेक्सन नगर्ने हो भने त्यसका नकारात्मक प्रभावहरू कसिँदै जान्छन्।
भूललाई नीतिगत, संगठनात्मक, सैद्धान्तिक र वैचारिक तहमा नै सच्याउनु आवश्यक छ। त्यो भनेको हिजो र अहिलेकै नेता केन्द्रित प्रणालीबाट मुक्त हुनु हो। सामूहिक प्रणाली, सामूहिक नेतृत्व र सामूहिक विचार प्रणालीमा पार्टी बन्नुपर्छ। हिजो बिग्रनुको कारण त्यसो नहुनु नै हो।
के नेकपा ब्युँतन्छ?
हिजोका घोचपेच र विषवमनहरू सांस्कृतिक निम्छरोपन, स्वेच्छाचारी र व्यक्तिवादको अभिव्यक्ति थियो। शिष्ट, मर्यादित, जिम्मेवार, वैज्ञानिक, तार्किक राजनीतिको ठाउँमा गालीगलौज, निन्दा, भर्त्सना र विरोधले स्थान लिँदा त्यस्ता अभिव्यक्तिहरू आए। व्यक्तिवाद हाबी भएपछि हुने त्यही नै हो।
पार्टी संगठनमा विचार र सिद्धान्त हाबी हुन्थ्यो भने त निन्दा र भर्त्सना हुने नै थिएन। तर, त्यो आम बौद्धिक अभिव्यक्ति होइन, एकाध हुन्। किनभने, सबैजसो वाम पार्टीका सबै नेता कार्यकर्ता मर्यादित राजनीतिकै पक्षमा छन्। ह्वास्सै आउने गरी झुसिलो डकार्ने काम वैचारिक होइन।
ओली, प्रचण्ड र नेपालको रियलाइजेसनले अलिअलि एकता प्रकृयालाई गति दिनसक्ला। तर एकताको औचित्य त्यतिखेर हुन्छ, जब तलदेखि पार्टीमा हस्तक्षेप हुन्छ। माथिबाट मात्र रियलाइजेसन भएर हुने एकता प्रक्रिया टिकाउ हुँदैन।
वामपन्थी आन्दोलनमा सरोकार राख्ने हर व्यक्ति र कमिटीले पार्टीको एकतामा चासो दिनुपर्छ। नत्र भने हिजो जसैगरी भएको एकतालाई फेरि विभाजनमा लगिनेछ। नेताहरूका निहित स्वार्थमा आन्दोलनलाई साधनका रूपमा मात्रै प्रयोग गरिनेछ। तलदेखिका पार्टीका कार्यकर्ताले एकतामा हस्तक्षेप गरेर अघि आए भने माथिका नेताका तलबितलले मात्र पार्टी एकता भंग हुने छैन। कम्युनिष्ट पार्टीको मजबुती र एकताको आधारचाहिँ कार्यकर्ता नै हो।
यद्यपि, माथिको कुरा मिल्नेबित्तिकै धेरै हौसिनु जरूरी छैन। तलैदेखि हस्तक्षेप नहुने हो भने सामूहिक ‘इन्टेलिजेन्स’मा पार्टीलाई ल्याउने गरी संयन्त्र बनाउने र तलैदेखि प्रयत्न नहुने हो भने फेरि पनि एकता दिगो हुँदैन। वाम एकता हुँदा मात्र यो देशले सामाजिक न्याय, विकाश र समृद्धि पाउँछ।
उकालो डटकमबाट साभार।