Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

धार्मिक अन्धविश्वास र नेपाली नारी

छोरी जन्मिँदै गएमा छोराको आशामा झुन्डिएर दर्जनभन्दा माथि लागुन्जेल पनि परिवार नियोजन नगर्ने र छोरा भएमा प्रायः दुईजना हुनेबित्तिकै परिवार नियोजन गरिहाल्ने पुरुषवादी सामन्ती चिन्तनले पनि यसमा काम गरेको छ।

nepal_readers nepal_readers
कार्तिक १, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रकृतिको सामान्य नियम र न्यायको कुरा गर्ने हो भने मानव समाजमा महिलाको सङ्ख्या कुल जनसङ्ख्याको करिब पचास प्रतिशत हुनुपर्ने हो। तर, नेपालमा नारी – पुरुषको आनुपातिक असन्तुलन लगातार बढ्दै जान थालेको छ। सामान्यतः महिला सबलीकरण र सशक्तीकरणको दृष्टिले यो खुसीको कुरा पनि हुन सक्ला, तर परिणाममा यसले थप केही सामाजिक समस्याहरू पनि सिर्जना गर्न सक्नेछ। लैङ्गिक विभेदका कारण पनि प्रजनन्मा असन्तुलन पैदा भएको हुनुपर्छ। बाहिर बाहिर धेरै क्रान्तिकारी कुरा गर्ने तर मनले भने ‘छोरा नभई स्वर्गको ढोकै खुल्दैन’ भन्ने भ्रम पालेका मान्छेहरू समाजमा छँदैछन्।

    छोरी जन्मिँदै गएमा छोराको आशामा झुन्डिएर दर्जनभन्दा माथि लागुन्जेल पनि परिवार नियोजन नगर्ने र छोरा भएमा प्रायः दुईजना हुनेबित्तिकै परिवार नियोजन गरिहाल्ने पुरुषवादी सामन्ती चिन्तनले पनि यसमा काम गरेको छ। अन्य कतिपय सामाजिक तथ्यहरूले पनि काम गरेका होलान् ।

    तथ्यांकमा लापरबाही

    जनसाङ्ख्यिक गणनामा जस्तो लापरबाही देखिन्थ्यो, त्यस आधारमा हेर्दा प्राप्त तथ्याङ्क पूर्ण रुपमा शुद्ध होला भन्न सकिँदैन। पछिल्लो जनगणनाको मात्र कुरा गर्दा पनि सानेपा झम्सीखेल जस्तो राजधानीको केन्द्रमा बस्ने मैले समेत गणनामा आफू र आफ्नो परिवारको नाम लेखाउन खोज्दा धेरै भौँतारिनप¥यो, खोज्दै जाने क्रममा साँझ धोबीघाटमुनि एउटा घरको पिँढीमा गणकहरू फेला परे। तिनीहरू त्यहीबाट टोलियाहरूको फाराम भरिरहेका थिए। हामी बढाबुढीले नाम त लेखायौँः तर तिनले नाम, परिवार सङ्ख्या र धर्मबाहेक अरु केही विवरण लेखेनन्। नामहरू त सोधेर लेखे, तर धर्मबारे भने केही नसोधी आफ्नै कलमले लेखिदिए, ‘हिन्दु’।

    जब मैले उनीहरूले लेखिदिएको धार्मिक फैसलाबारे प्रतिवाद गरेँ, तिनले म र मेरी जीवनसंगिनीलाई यसरी हेरे, मानौँ कि तिनका अगाडि कुनै मनुवा होइन, अनौँठो जीवका भालेभोथी आइपुगेका छन्। एकछिन् त तिनले हामीलाई मौन र आश्चर्यको मुद्रामा हेरिरहे। केही क्षणपछि तीमध्येका एकजनाले प्रश्न गरे, ‘त्यसो भए तपाइँहरू क्रिश्चियन?’ उनको यो दोस्रो फैसलाको पनि प्रतिवाद गरियो, ‘होइन, हामी क्रिश्चियन वा अन्य कुनै धर्मावलम्बी पनि होइनौँ। हामी त धर्मनिरपेक्षतावादी हौँ। किनकि, समाजले जेलाई धर्म भन्ने गरेको छ, त्यसप्रति हाम्रो न विश्वास छ न त कुनै लगाव नै। अनि हामी कुनै धर्मप्रति आपत्ति पनि जनाउँदैनौँ’

    हाम्रो जवाफ सुनेर फेरि एकछिन् पालैपालो उनीहरूले हामी दुई बुढाबुढीको मुखमा अचम्मसँग हेरे। सायद तिनीहरू भनिरहेका थिए, ‘हेर, यो चारधाम जाने उमेरमा यी बुढाबुढीको मति बिग्रेको, राम राम राम !’ धर्म र मान्छेको सम्बन्धलाई परम्परावादी समाजले यसैगरी बुझ्ने गरेको छ। यति भनिसकेपछि तिनले फाराममा बडो अप्ठेरो गरी हिन्दु शब्द काटेर केरमेर अक्षरमा ‘धर्मनिरपेक्षतावादी’ लेखे।

    उनीहरूका लागि यो निकै नयाँ कुरा बन्यो जस्तो लाग्छ। फाराममा अन्य विवरण उल्लेख गर्नुपर्ने पचासौँ ठाउँ थिए। मैले तीबारे जिज्ञासा राखेँ। तिनले जवाफमा भने, ‘यी सबै भर्नु पर्दैन, हामी आफैँ मिलाउँछौँँ।’ तिनीहरूले मलाई जग्गा जमिन, पेसा व्यवसाय, आयव्यय, लगनपात आदि के के को मालिक बनाए वा सुकुम्बासीमा दर्ता गरे, थाहा भएन। विषयसँग अप्रासङ्गिक जस्तै लाग्ने यति कुरा यहाँ किन उठाइयो भने देशको वास्तविक तथ्याङ्क लिन खटिनेहरूको सबैभन्दा महत्वपूर्ण विषय नै ‘धर्म’ रहेछ।

    थरिथरिका ‘धर्म’ र ‘भगवान’

    जे होस्, अब नेपाली नारीका निम्ति ‘आधा आकाश’ भन्ने बहुप्रचलित आलङ्कारिक शब्द पनि अपर्याप्त हुँदै गएको हुँदा त्यसको सट्टामा बहुसङ्ख्यालाई बुझाउने कुनै अर्को शब्दको चयन गर्नु उपयुक्त होला। किनकि, नारी जनसङ्ख्याले अब चाहिँ देखिने गरी नै आधा भन्दा बढी नेपाली धर्ती र आकाश ढाकिसकेको छ। नयाँ नेपाल निर्माणका निम्ति जनसाङ्ख्यिक रुपमा बहुसङ्ख्या ओगटेको महिला समुदायले सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि त्यतिकै अहम् भूमिका खेल्न सकोस् भन्ने अपेक्षा हुनु स्वभाविक छ। तर, धार्मिक अन्धविश्वास र कुरीतिमा रुमलिएको नारी चेतनाले त्यो भूमिका निर्वाह गर्न सक्दैन।

    हामीले यहाँ छलफल गर्न खोजको विषय हो, ‘धार्मिक अन्धविश्वास र नेपाली नारी।’ धर्मका सयौँ परिभाषाहरू भेट्न सकिन्छ। परिभाषा नै खोज्ने हो भने तीमध्ये हाम्रा पूर्वीय शास्त्रहरूले धेरै नै मान्न गरेको एउटा छोटो परिभाषा अघि सारौँ, ‘धारणत् धर्म इत्याहु’ (अर्थात् जसले जसरी बुझेर जुन धारणा मनमा बनाएको छ, त्यो नै धर्म हो।)

    यस परिभाषाअनुसार विश्वभरिका सात अर्बभन्दा बढी मान्छेहरूमध्ये ज–जसले जसरी–जसरी बुझेर जे–जे कुरालाई धर्म भनी मानेका छन्, धर्म त्यही नै हो। यही कुरा ‘ईश्वर वा भगवान्’ को बारेमा पनि लागु हुन्छ। किनकि, हरेक धर्म, सम्प्रदाय, समूह वा व्यक्तिले भगवानको नाममा आफ्ना हितानुकूलको बिम्ब निर्माण गर्दछ र आफ्ना सबै अतृप्त आकाङ्क्षाहरूको परिपूर्तिका निम्ति उसैलाई पुकार्ने गर्दछ।

    नेपालकै कुरा गर्ने हो भने पनि एकथरीले निरिह पशुको बलि दिएर स्वर्ग सुधार्ने विश्वास गर्छन् भने अर्काथरीले पूर्ण अहिंसावादी भएरमात्र। नेपालमा गोमांस खाने र गोमुत्र खाने दुवैथरीले धर्मकै पालना गरेको ठान्दने। रक्सी छोए पितृ नरकमा जान्छन् र रक्सी नचढाए पितृ नरकमा जान्छन् भन्ने दुवैले पितृलाई स्वर्गै पु¥याएको विश्वास गर्छन्। लड्डु चढाउनेदेखि खरानीका पिण्ड चढाउने र शङख फुक्नेदेखि किशोरीको नलीहाड बजाउने सबैले भगवान नै खुसी पार्ने हो।

    कुकुर पूजादेखि गौपूजा गर्ने, मूर्ति पूजादेखि आकाश पूजा गर्ने अनि खुट्टा पखालेको पानी खुवाउने सबैको एउटै विश्वास छ, ‘यसो गरेरमात्र मैले आफ्नो कुलधर्म तथा परम्परा थामिरहेको छु र भगवानलाई रिझाइरहेको छु। आफ्ना जातिपाती र कुलधर्म मानेबापत मृत्युपछि मलाई देवदूतहरूले अवश्य पुष्पक विमानमा चढाएर सीधै स्वर्ग लैजानेछन्।’

    एउटी नारी पतिबाहेक दोस्रो पुरुषको मुखमा हेरेमात्र पनि नर्कमा गइन्छ भनी विश्वास गर्छे भने अर्कीले चाहिँ बहुपति प्रथालाई नस्वीकारे कुलधर्म मासिन्छ भनी विश्वास गर्छे। यी दुवैले भगवान नै रिझाएको विश्वास गर्छन्। यद्यपि त्यो ‘भगवान’ के हो, को हो, कस्तो छ र कहाँ बस्छ भन्ने कुराको यकिन जवाफ आजसम्म कसैले दिन सकेको छैन।

    विश्वासको जडता

    पूर्वीय जगत्मा ईश्वरीय चिन्तनको सबैभन्दा पछिल्लो र प्रामाणिक मानिएको दर्शन वेदान्त दर्शन हो। त्यसमा ईश्वर वा ब्रह्मको खोज तथा अनुसन्धान गर्दै जाने क्रममा केही हात नलागेपछि चिन्तकहरूले हार खाए र निष्कर्ष निकाले, ‘खम् ब्रह्म’ अर्थात् ब्रह्म वा ईश्वर कुनै देखाउन सकिने विषय नै होइन रहेछ। त्यसैले शुन्य वा केही नहुनु नै ब्रह्म वा ईश्वर हुनु हो। फेरि पनि यस्तो अमूर्त, अदृश्य र कहीँ कतै कसैले प्रत्यक्ष अनुभूत गर्न नसकिने यही रित्तो भावले विश्वको अधिकांश जनसङ्ख्यालाई वशीभूत पारेको छ।

    धार्मिक अन्धविश्वास भनेको भय, स्वार्थ, अज्ञानता र सामाजिक दबाब आदिले सिर्जना गरेको एउटा भ्रमको मनोविज्ञान हो। जो त्यस्तै अर्को विषयमा सजिलै स्थानान्तरित हुन पनि सक्छ। जस्तो, एउटा शैव कर्मकाण्डीय परम्परामा हुर्केको मान्छे कुनै चतुर वैष्णव व्याख्याताको प्रवचन सुनेपछि तुरुन्तै ठाडो टीका लाएर हिँड्न सक्छ वा अर्को कुनै कसैको व्याख्यानबाट प्रभावित बनेर जनै टुप्पी काटी सन्यासी पनि बन्न सक्छ।

    अथवा हिन्दु, बौद्ध, सिख, इसाई, इस्लाम जुनसुकै धार्मिक परम्परामा हुर्केको मान्छे त्यसै दिनदेखि आफ्नो धार्मिक विश्वास बदलेर अर्को कुनैमा जान पनि सक्छ। यसको अर्थ के हो भने जे भए पनि हुन्छ, तर बाँच्नका लागि एउटा अमूर्त, अदृश्य, अप्राप्य तथा अप्रामाणिक शक्तिद्वारा शासित भइरहनुपर्छ अथवा यस्तो भ्रम चाहिँ अवश्य पालिरहनुपर्छ।

    मान्छेले यसो गरेर अत्याचारै ग¥यो भन्ने लाग्दैन। किनकि, भौतिक जगतको वस्तुगत नियमलाई बुझ्न र ग्रहण गर्न नसकेको तथा दुःख दर्दबाट मुक्तिको अन्य कुनै उपाय नदेखेको मानिसका निम्ति धर्म नै सहारा बन्दछ। यही भ्रमको मनोविज्ञानले जीवनका भयानक दुःख एवम् उत्पीडनबाट त्राण मिलिरहेको आभास पनि हुन सक्छ र मृत्युपछि स्वर्ग प्राप्तिको भ्रम पनि।

    तर, यथार्थमा धर्म केवल एक नसा हो, अफिमजस्तै। त्यसैले होला, धर्मको चर्चा गर्दै महान् दार्शनिक कार्ल माक्र्सले भनेका छन्, ‘धर्म भनेको उत्पीडित समुदायको आन्तरिक चित्कार हो, हृदयविहीन संसारको हृदय हो, आत्माहीन परिस्थितिको आत्मा हो। यसका साथै आमजनताका निम्ति भने यो अफिमको नसाजस्तै हो।’

    अर्को एक ठाउँमा उनले भनेका छन्, ‘धर्म भनेको उल्टो विश्वचेतना हो। अर्थात् यसले जीवन र जगतलाई उल्टो (अवास्तविक र भ्रमात्मक) ढङ्गले प्रस्तुत गर्दछ। धर्म र ईश्वरमाथि विश्वास गर्दा हामी जे होइन र छैन, त्यसलाई सत्य मान्न थाल्छौँ र जे हो र छ, त्यसलाई असत्य मान्न थाल्छौं।

    ‘धर्मकर्म’को अल्झनमा महिला

    हाम्रो समाजले जेलाई धर्मकर्म भन्ने गरेको छ, त्यसको सबैभन्दा बढी सिकार महिलाहरू बनिरहेका छन् । पति परमेश्वर हो र पापको घर नारी नै हो भन्ने मान्यताले अझै पनि धेरै नेपाली नारीहरूको मानसिकतालाई कब्जा गरिरहेको छ। अथवा यसो भनौं, पुरुषद्वारा शासित सामन्ती समाजले नारीमाथि धर्म र परम्पराका नाममा अनेकौँ प्रकारका अन्धविश्वासहरूको भारी बोकाएको छ।

    जहाँ शिक्षादीक्षा र राजनीतिक जागरणको अभाव छ त्यहाँका नारीहरू बढी अन्धविश्वासमा डुबेका देखिन्छन्। त्यसो त विज्ञान प्रविधिमा विद्यावारिधिसम्म गरेका नारीहरू पनि यस्ता कुराहरूबाट मुक्त भएको देखिँदैन। सवाल डिग्री या प्रमाणपत्रको नभई दृष्टिकोणको रहेछ। घरपरिवारमा दैनिक वा आवधिक रुपमा गरिने पूजाआजा, तीर्थव्रत, दानपुण्य, चोखोनितो जस्ता कुराको ठेक्का प्रायः महिलाहरूकै थाप्लोमा हालिएको हुन्छ।

    यी बाहेक बोक्सी, डाइनी, अलच्छिनी आदि लाञ्छना पनि नारीमाथि नै थोपरिन्छ। भूतप्रेत, धामीक्राँक्री, ग्रहदशा, भाग्य, कर्म राशिफल साइत, सगुन इत्यादि भ्रमहरूको काउछो पनि महिलाहरूकै टाउकोमा हालिएको हुन्छ। रजोवती हुनु नारीको प्राकृतिक गुण हो। तर, आमा बन्न तथा सृष्टिको दायित्वलाई बहन गर्नका लागि अनिवार्य हुने र मानव अस्तित्वको रक्षाका लागि हुनैपर्ने यस जैविक गुणलाई पनि हिन्दु परम्पराले अपवित्र र निन्दनीय रुपमा लिएको छ।

    धर्मशास्त्रले यसलाई ब्रह्महत्या गरे बराबरको पाप भनेको छ। युग कहाँबाट कहाँ पुगिसक्यो। तर, अझै पनि यस्तो कुरामा विश्वास गर्ने नेपाली नारीको सङ्ख्या भने ठूलै छ। अभैm पनि हाम्रा दिदीबहिनीहरूले त्यस अवस्थामा आफूलाई अछूत बनाएर राखेको पाइन्छ। पश्चिम नेपालको छाउपडी प्रथा यसैको अति निन्दीय रुप हो। जसका कारण कैयौँको अकालमै ज्यान जाने गरेको छ। यहाँको धार्मिक परम्पराले प्रसूति भइँ नयाँ सन्तान जन्माउने जस्तो सृष्टिको महान् अभिभारा पूरा गर्ने पवित्र कामलाई समेत अपवित्र कर्मको रुपमा लिएको छ।

    हाम्रा समाजमा पुरुषहरू बिहान उठेर ओछ्यानबाटै कक्कड, तमाखु, चिया, चुरोट आदि गच्छेअनुसारको खाएर बाहिरी मेलापातको काम वा समाजिक तथा बौद्धिक कामतिर जान्छन्। बच्चा तथा बुढाबुढीको स्याहारसुसार, दैलोकुचो, घर, करेसा, आँगन, पिँढी, धारा, चर्पी लगायतको सरसफाइ गरी नुहाइधुवाइ गरेर पूजाको भाँडा माझ्न, फूल, धूपबत्ती आदि ठिक्क पारिदिने र आफैँले पनि नानाथरीका पूजा गर्ने वा मठ मन्दिर धाउने जिम्मा नारीहरूको हुन्छ।

    यस्ता दैनिक कामबाहेक वर्ष दिनमा नारीले मात्र गर्नेगरी प्रचलनमा आएका व्रत उपवासहरू पनि दर्जनभन्दा बढी छन्। धेरै समय त यस्तै कुरामा खेर गइरहेको हुन्छ नै, साथै उनीहरूको मनोविज्ञानलाई पनि सधैँ अनेकथरी अदृश्य शक्तिको भयले तर्साइरहेको हुन्छ।

    ‘कम्युनिष्ट’हरूकै मनोदशा !

    म त्यतिवेला अलि असजिलोमा पर्छु, जब माक्र्सवाद र अध्यात्मवादलाई एउटै भाँडोमा राखेर घोलघाल पार्ने वा क्वाँटी बनाउने प्रयत्न गरिन्छ। मैले बितेको बाईस वर्षसम्म डेरा सर्दै हिँड्ने क्रममा धेरै घरभेटी र छिमेकीहरू चहारेको छु। यसरी डेरा फेर्ने क्रममा करिब दस वर्ष त आफूलाई माक्र्सवादी वा कम्युनिस्ट भन्नेहरूकै घरमा बिताएको छु।

    मेरा केही घरभेटीहरू समकालीन वाम आन्दोलनमा सबैभन्दा बढी क्रान्तिकारी मानिने पार्टीको बुद्धिजीवी सङ्गठनको शीर्ष जिम्मेवारीमा पनि थिए। राज्यले खेदिरहेको र खोजिरहेको खतरनाक समयमा पनि उहाँहरूले म र मेरो परिवारलाई (बहाल तिरेरै किन नहोओस्) शरण दिनुभयो। त्यसका लागि उहाँहरूप्रति मैले आभार व्यक्त गर्नैपर्छ।

    तर, ती परिवारभित्र पनि धार्मिक अन्धविश्वासबारे जे–जस्तो अनुभूति रह्यो, त्यसले मनमा आज पनि जबरजस्त सवाल उठाइरहेको छ। ती घरका नारीले मेरो परिवारसँग चिनारी गर्दा सोध्ने पहिलो प्रश्न हुन्थ्यो, ‘तपाई मन्दिर जानुहुन्छ कि जानुहुन्न नि? यो प्रश्न हरेक डेरा सराइपछि घरभेटी तथा छिमेकका नारीहरूले सोध्ने साझा प्रश्न हुने गरेको अनुभव सबै ठाउँमा रहेको छ।

    मेरो अनुभवमा ती माक्र्सवादी बुद्धिजीवी भनिनेका पत्नीहरू झन् बढी धर्मान्ध देखिए। उनीहरू जोगीहरूको पछि पनि त्यतिकै मात्रामा दौडिरहेका देखिए। कतै तिनलाई आफ्ना पतिले त्यसो गर्न अह्राएका पो थिए कि भन्ने शङ्का पनि लाग्छ। किनकि, बाहिर माक्र्सवादी बुद्धिजीवीको खोल ओढेर हिँड्ने र भित्रभित्रै ‘लौ म त यस्तै भएँ बुढी, यो कुलधर्मको रक्षा गर्ने जिम्मा तेरै सिरभर है’ भन्दै आफ्नो धर्मभिरुपना प्रकट गर्ने पनि समाजमा धेरै देखिएका छन्।

    उनीहरूबीच सम्प्रदाय भनेको के हो र मान्छेहरू किन यसको पछाडि दौडिरहेका छन् भन्ने विषयमा कहिल्यै छलफल नै हुँदैन। नेपाली कम्युनिस्ट आन्दोलनको एउटा समस्या के पनि हो भने एउटै सङ्गठनमा आबद्ध पति–पत्नीबीचको वैचारिक भेद अझै पनि हट्न सकेको छैन। घरमा पुग्दा उनकी पत्नी रुद्री या ग्रहशान्तिको पूजा लगाइरहेकी हुन्छिन् त्यतिवेला झन् अन्योलमा परिन्छ, जब कम्युनिस्ट पार्टीको नेताको र नेताजी आफै पनि धोती फेरेर सटरपटर गरिरहेका हुन्छन्।

    हो, यदि कुनै कम्युनिस्ट नेताकी पत्नीले वैचारिक रूपमा बहस गर्दै ’म कम्युनिस्ट पनि होइन र तिम्रो दृष्टिकोणसँग सहमत हुन पनि सक्दिनँ’ भन्छिन् भने त्यसलाई उनको वैयक्तिक स्वतन्त्रता मानेर सहिष्णु बन्नुपर्ला, तर एकातिर उनलाई पनि कम्युनिस्ट कार्यकर्ता बनाउने र अर्कोतिर त्यसोपनि गर्न लगाउने कुरा ढोङ र पाखण्डबाहेक केही होइन। धर्म नामको मानसिक ‘भूत’ ले मान्छे (विशेषतः नारीहरू)लाई यसरी लखेट्दोरहेछ कि कहिलेकाहीँ त उनीहरू कुन खाल्डोमा परिन्छ भन्ने थाहा पनि नपाईकन आँखा चिम्लेर दौडिरहेका हुन्छन्।

    भ्रम र त्रासको चपेटामा महिला

    यसबारे यहाँ एक–दुई रमाइला प्रसङ्गहरू उल्लेख गर्नु उचित नै होला। करिब पैंतालीस वर्षअघिको कुरा हो। चितवन, नवलपरासी आदि जिल्लामा एउटा हल्ला व्यापक बन्यो। त्यो के भने कुनै विवाहित नारीले साउन महिनाको हरेक सोमवार नारायणी नदीमा गई स्नान गर्नुपर्छ। अन्यथा आफ्ना पति र छोराहरू सबैको मृत्यु हुनेछ। ‘हे भगवान्, पति र छोराहरूको मृत्यु!’ एउटी नेपाली नारीका लागि कति त्रासदीको सन्देश हुँदो हो, यो!

    अनि तिनको मनोविज्ञानमा यसले कस्तो भय र आतङ्कको सृजना ग¥यो होला। यस्तो हल्लाको कारण त्यस वर्षको साउन महिनाका प्रत्येक सोमवार चितवन र आसपासको जिल्लाका सबै विवाहित महिलाहरू रोपाइँलगायतका सबै महत्वपूर्ण काम छोडेरै उल्टिएका थिए, नारायणीमा नुहाउन। जस्तो अचेल ‘बोलबम’ को लहर चल्न थालेको छ।

    बाह्र सन्तान जन्माएकी मेरी आमा त्यतिवेला सायद पैंसठ्ठी वर्ष वरिपरि हुनुहुन्थ्यो। उहाँले राप्ती किनारमा अवस्थित जगतपुरबाट करिब पैंतीस किलोमिटर हिँडेर सबै सोमवारको दिन नारायणी स्नानका लागि आउजाउ गर्नुभयो। त्यस्तै चितवनकै कुरा हो, केही वर्षअघि एउटा अर्को भ्रम फैलिएको थियो। त्यो के भने यदि ‘तिमीले आफ्नो घरको भित्तामा गोबरको पन्जाछाप लगाएनौ भने तिमीलाई मध्यरातमा भूतले बोलाउनेछ। भूतले प्रायः महिलाहरूलाई नै बोलाउछ र त्यतिवेला झुक्किएर बोलिहालेमा तिमी सिद्धिनेछौ।’

    अब के चाहियो र? काङग्रेस, कम्युनिस्ट, विद्वान्, मूर्ख सबैको घरको भित्तामा गोबरका पञ्जाछाप हानिए। यो घटना आजका नयाँ पुस्तालाई पनि कण्ठै छ ।

    अन्धविश्वासको पराकाष्ठा

    अर्को एउटा घटना। धेरै पुरानो भयो। जुन वि.सं २०१८ साल माघ महिनाको हो (गते याद भएन)। नेपालका सबै ज्योतिषीहरूले एकमतले भविष्यवाणी गरे कि त्यस दिन सम्पूर्ण पृथ्वी ध्वस्त हुनेछ र मानवसृष्टि सदाका लागि समाप्त हुनेछ। त्यतिखेर मानिसहरूले गाउँदै हिँड्ने एउटा लोकगीतको पङ्क्ति आज पनि कण्ठै छ–‘अठार सालैमा, अठार सालैमा; दुनियाँ पानीको तालैमा…पानीको तालैमा।

    यस्ता कुरालाई महत्वका साथ रेडियोबाट पनि प्रचारप्रसार गरिएको थियो। मलाई सम्झना छ, त्यतिवेला सिङ्गै समाज सर्वनाशको आशङ्काले भयक्रान्त बनेको थियो। अब मान्छेहरूलाई के चाहियो र? कसैले दानपुण्य गर्न थाले। कसैले घरमा भएका घिउ, चामल, कुखुरा र खसीबोका सबै भतेर लाएर खान थाले। गाउँगाउँमा अखण्ड हरिकीर्तन चले, कतै मुरीका मुरी अन्न आगोमा होमेर सिध्याए। मानौं, सारा समाजमा एक प्रकारको पागलपन वा मृत्युउन्माद छाएको छ।

    यो कुरा मेरा अग्रज वा दौँतरी पुस्तालाई अद्यापि राम्रै सम्झना छ। तर, तोकिएको मितिमा एउटा माखो पनि मरेन। तथापि आज पनि मान्छे तिनै ज्योतिषहरूका कथित भाग्य र भविष्यवाणीको पछि त्यत्तिकै मात्रामा दौडिरहेको देखिन्छ। लाखौं होनहार युवायुवतीका दिमाग आज पनि भाग्य र राशिफलजस्ता कुराले कब्जा गरिरहेकै छ।

    हामी बाटोमा हिँडिरहेका हुन्छौं। कुनै अपरिचित मान्छेले हाम्रो हातमा एउटा कागज थमाइदिन सक्छ। मेरै हातमा पनि थमाइदिएका छन्, कैयाँपटक। त्यसमा भनिएको हुन्छ,‘…भन्ने ठाउँमा भगवान÷भगवती प्रत्यक्ष प्रकट हुनुभयो। उहाँको पूजा गरेर एउटा गरीब मान्छेले बाटोमा हिँड्दा हिँड्दै यति लाख रूपैयाँ वा सुनको हार फेला पा¥यो। त्यसको प्रचारमा अर्को एउटा मान्छेले एक लाख पर्चा छ¥यो र उसलाई यति लाखको चिठ्ठा प¥यो। तर, एकजना नास्तिकले यस्तो पर्चा पाएपछि अपमानपूर्वक च्यातेर फालेको हुँदा उसको घरमा आगलागी भयो र उसको एकमात्र छोराको पनि मृत्यु भयो।

    अब तपाई आपत्मा पर्नुहुन्छ। लाख पर्चा छपाएर बाडौँ भने त्यो काम कसरी सम्पन्न गरौं, नगरौं त परिवारको सर्वनाश हुने भयो। काठमाडौँ सहरमै पनि यस्तो पर्चा लिएर हिँड्नेहरूमा हिन्दुवादीमात्र होइन, क्रिश्चयन वा अन्य पनि भेट्ने गरेको छु, मैले। कसैले अचानक यस्तो पर्चा हातमा थमाइदिइहाल्यो भने तपाइँ चिन्ताले बिरामी पर्न सक्नु हुन्छ। सोचौं त, यस पर्चामा उल्लेख गरेजस्तो कुनै ‘भगवान’ त के गुण्डा र डाँकाको नाइके पनि हुँदैन होला। फेरि पनि मान्छेहरू किन अन्धविश्वासको पछाडि विनाप्रश्न आँखा चिम्लेर दौडिरहेका छन् त?

    ‘धर्मगुरु’का प्रचारमोह

    नयाँनयाँ धार्मिक अन्धविश्वासको खेती गर्न छिमेकी देश भारतबाट बर्सेनि विभिन्न सम्प्रदायको नाम लिँदै सयौं जोगीहरू आउने गर्दछन्। ती हरेकले पृथ्वीको सबैभन्दा ठूलो सिद्ध तथा भगवानको एकमात्र प्रतिनिधिको रूपमा आफैंलाई प्रस्तुत गर्दछन्। तिनका नयाँनयाँ चेलाचपेटा नेपालमा पनि बग्रेल्ती फैलिँदै जान थालेका छन्।

    ती स्वघोषित १००८ सिद्ध बाबाका ‘चमत्कार’ बारे रङ्गीन फोटोसहितका भड्किला विज्ञापनहरूद्वारा प्रचार गरिन्छन्। दर्जनभन्दा बढी नेपालका टिभी च्यानलहरूले भाग्यवाद र भक्तिवादमा चुर्लुम्म डुबाउने गरी तिनको व्यापार गरिरहेका छन्। यस्ता गतिविधिहरूले धर्मभीरु मान्छे र विशेषतः नारीहरूमा बढी नै प्रभाव पारिरहेका छन्। कुनै भेषधारी कथित सिद्ध यहाँ आउनुपर्छ, तिनको पछाडि हजारौं भक्तजन को लर्को लाग्छ। अनि निस्किन्छ, एकरङ्गे पोसाकमा हजारौं महिलाहरूको कलशजात्रा।

    योगी, जसको वास्तविक अर्थ हो, आफ्ना इन्द्रियहरूलाई पूर्ण रूपमा वशमा राख्ने मान्छे। अथवा सांसारिक मोह र विषयवासनाबाट मुक्त तथा योग र तपस्यामा लीन व्यक्ति। तर, योगी भन्नेहरू झनै आफ्नो सानमान र सुविधाका कति भोका हुन्छन् भन्ने कुरा त तिनले आफ्नो नामका अगाडि जोड्ने ‘श्री १००८’ र पछाडि लगाउने ‘महाराज’ शब्दबाट पनि पुष्टि हुन्छ।

    यदि योगी र तपस्वी हुन् भने एउटा ‘श्री’ ले काम चल्ने ठाउँमा १००८ श्रीको आवश्यकता किन प¥यो? अनि राजाले भिर्ने महाराजको उपाधि किन भिर्नुप¥यो? यसैगरी धेरै इसाई मिसनका मान्छेहरू शोषित उत्पीडित जाति वा वर्गका मान्छेहरूको घरघरमा पसी नानाभाँतीका भ्रम र प्रलोभनहरू देखाएर धर्म परिवर्तन गराउने गर्दछन्। अनि धर्मभीरु तथा भोक, रोग र भावले आक्रान्त मानिसहरूलाई लाग्छ, ‘हाम्रो धर्मले भन्दा यो धर्मले पो मान्छेलाई गरिबी, अभाव र सारा दुःख कष्टबाट मुक्ति दिने रहेछ ! मुक्तिको बाटो त बल्ला पो फेला प¥यो।’

    यस्तै भ्रमममा परेर इसाई बनिरहेका छन्, मानिसहरू। के दुनियाँका सबै इसाई धर्मावलम्बीहरू सुखी र सम्पन्न छन् त? अथवा आजभन्दा केही वर्षअघि इसाई वा क्रिश्चियन बनेकाहरू आज सबै सुखी र सम्पन्न भएका छन् त? विश्व इतिहास पढ्दा सबैभन्दा बढी युद्ध र रक्तपातको थलो त युरोप नै हो नि ! अनि आज पनि विनाशाकारी शास्त्रास्त्रका निर्माता र युद्धका कारक त युरोप र अमेरिका नै हुन् नि। जहाँका करिब करिब सबैजसो रैथाने बासिन्दा क्रिश्चियन नै छन्। शताब्दियौँसम्म चलेका अनेकौँ धार्मिक युद्धका साथै दुवै विश्वयुद्धको केन्द्र पनि त्यहीँ नै भयो, जहाँ ‘परमेश्वरको राज’ छ। तर, मानिसहरू यस्ता प्रश्न गर्न आवश्यक ठान्दैनन्।

    उपभोक्तावादको भूमरीमा तीज

    हिन्दु नारीले मनाउने तीज पर्वको कुरा गरौँ। प्रत्येक वर्षको तीज अघिल्लो वर्षको भन्दा अझ बढी रमझमपूर्ण बन्दै जान थालेको छ। कमाउ हाकिम, कमाउ व्यापारी, ठेकेदार, जग्गा दलाल र राजनीति भन्दा पैसाको सेवा गर्न जानेका नेताका श्रीमतीहरूले महिना दिनअघिदेखि नै खुब खर्चिला भोजभतेर गर्न थालेका छन्। तिनीहरू रोजी रोजी महँगा लुगा तथा गरगहना किन्छन् र ठाउँ फेरी फेरी प्रदर्शन गर्न थाल्छन्।

    अठार घण्टा काम गरेर पनि दुई छाक ढिँडो गुन्द्रक जोर्न नसक्ने ‘अभागी’ नारीहरूलाई देखाइदिन्छन्, ’यी, तीज त यसरी पो मनाउनुपर्छ त। तर विडम्बना, आज तीजका गीतकै परम्पराको कुरा गर्ने हो भने पनि तिनले गाएका गीत र नृत्यहरूमा तीज देखिन छोडेको छ।

    तीजका गीतहरूमा पोखिन्थे; चेलीले ’पराइघर’ मा खप्नुपरेका बुहार्तन र भोक, प्यास, अवहेलना आदिका व्यथाहरू। माइतीको आँगनमा भयमुक्त वातावरणमा चेलीका आँसुका भाकामा पोखिन्थे, पारिवारिक सामाजिक उत्पीडनका दर्दनाक कहानीहरू। त्यस्तै, तिनमा कतिपय व्यङ्ग्य र विद्रोहको आवाज पनि प्रस्फुटित हुन्थ्यो ।

    नारी शिक्षा, नारी जागरण र राजनीतिक चेतनाको विकाससँगै पञ्चायतको पछिल्लो चरणदेखि विद्रोह र परिवर्तनका स्वरहरू पनि मुखरित बन्दै गएका थिए। तर, आज झन् गणतन्त्रमा आइपुग्दा बढीभन्दा बढी ‘ग्ल्यामरस’ बनाउने कुरामा उपभोक्ता बजार र चल्तीका कलाकार दुवैथरी लागेका छन्। बजारको मागअनुसारका सिडी तथा भिसिडी उत्पादनमा केन्द्रित बन्दै गएका छन्। गाउँगाउँमा समेत अब त आमनेपाली चेलीका बिम्ब तथा मौलिक स्वरहरू गुञ्जिन छोडेका छन् ।

    सहरको त कुरै के भयो र? अचेल सजधजका मञ्चहरूमा गीत बजाइन्छ र कुनै ‘मोडल’ अथवा नृत्यङ्गना तथा सिनेमाका चल्तीका नायक आएर नाच्न थाल्छन्। यति भएपछि व्यापारिक उद्देश्यले त्यसको पुनः दृश्याङ्कन हुन थाल्छ। प्रश्न उठ्छ, क्रान्तिकारी सांस्कृतिक सङ्गठन र महिला सङ्गठन तथा सञ्जालहरूको भूमिका आखिर कहाँनेर हो त? परिवर्तन त अनिवार्य छ नै, तर के त्यसको यही दिशा र दशामा हामी सबै पनि रङ्गिदै जाने हो त?

    तीज र ऋषिपञ्चमी व्रत

    अझै हाँसोउठ्दो छ, तीजको धार्मिक पक्ष। तीजका कथाहरूमा बताइन्छ, कन्या भए राम्रो पति पाउनका लागि र विवाहित भए सुस्वास्थ्य तथा दीर्घायुका लागि नारीले तीजको दिन निराहार बस्नैपर्छ। भनिन्छ, त्यस दिन पानीमात्र पिए पनि लोग्नेको रगत पिएको पाप लाग्छ। तीजकै एक शृङ्खला हो, ऋषिपञ्चमी व्रत। यसको पौराणिक कथा झन् विचित्रको छ। देवराज इन्द्रले बाहुनको हत्या गरेपछि उनलाई ब्रह्महत्याको पापले पोलेछ। उनले त्यो पाप आगो, पानी, रुख र नारीमा खन्याएछन्।

    नारीको मासिक धर्ममा त्यही पाप प्रकट भएको रे। अर्थात्, ब्रह्महत्याको पाप पोखिएको। वा, क्या गजबको कथा छ, यो। पुरुषले अपराध गर्छ, अनि त्यसको पाप पनि नारीकै टाउकोमा खन्याइदिन्छ। अनि त्यही पाप कटनीका लागि जिन्दगीभर तड्पिनुपर्छ, नारीले। रजोवती भएको अवस्थामा पुरुष वा पुरुषका भाँडा तथा लुगा कपडा छोएमात्र पनि लोग्ने गोरु र आफू कुकुर्नी भएर जन्मिनुपर्छ रे। यही पाप काट्न गरिन्छ पञ्चमी पूजा! हाय हाम्रो संस्कृति!

    प्रश्न गरौं

    जब कुनै वर्ष साउनमा पाँचवटा सोमबार परेका हुन्छन्, लाखौँ नेपाली नारीहरूले ती सबै सोमबारहरूमा पतिको स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै दिनभरि भोकभोकै बसेर मन्दिर चाहर्न थाल्छन्। यतिमात्र होइन, केही दशकदेखि तिनीहरूले ऋणै काढेर पनि हरिया सारी, हरिया ब्लाउज तथा हरियै चुरापोते, टीका, नङपालिस, लिपिस्टक किनेर हरियो साउन मनाउन थालेका छन्।

    धर्म र व्रतकोरुपमा कतै उल्लेखसम्म पनि नभएको यस्तो नयाँ फेसनको निम्ति कथित धर्मको हरियो रङमा घोलेर व्यापारीहरूले सामानको व्यापार गर्न थालेका छन् र तिनका प्रचारकर्ताको रुपमा काम गर्न थालेका छन्ः केही पण्डित, पुरेत एवम् सञ्चारमाध्यमहरूले। अन्धविश्वासी समाजमा धर्मको दुहाइ दिएर एकचोटी दिमागमा यस्तै कुनै काउसो लगाइदिनुपर्छ, अनि आँखा चिम्लेर जिन्दगीभर कन्याइरहन्छन् मानिसहरू।

    हामी आफ्नै आमा, दिदीबहिनी तथा छोरीहरूको दिमागमा यसरी थरीथरीको पापको भूत सल्काइदिन्छौँ कि उनीहरू तिनलाई चुपचाप अनुसरण गर्न बाध्य हुन्छन्। जुन नारीलाई धर्मशास्त्रले जनै लगाउने, गायत्री जप्ने र वेद पढ्नेसम्मको अधिकार पनि दिँदैन, तिनैलाई धार्मिक अन्धविश्वासलाई अगाडि बढाउने ठेक्का भने दिइरहन्छ।

    पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने व्रत पत्नीले लिनुपर्छ। तर, पतिले चाहिँ किन नपर्ने? लोग्नेको दीर्घायुका निम्ति नै सही, त्यसो भए यस्तो व्रत बस्ने नारीमध्ये कोही विधवा बनेका छन् कि छैनन् ? कोही पतिबाट परित्यक्त भएर रुँदै हिँडेका छन् कि छैनन्? अथवा गर्नेले के पाएका छन् र नगर्नेले के गुमाएका छन्? सुशिक्षित नारीहरू समेत कुनै प्रश्न नउठाईकन आँखा चिम्लेर पछ्याइरहेका छन्, यस्ता कुरा? अनि आजको समाजका यी ‘पतिदेव’हरू किन पुजिन तयार छन्? आफ्नै जीवनसङगिनीबाट?

    त्यसैले नारीहरू, तपाइँहरू सृष्टि र सिर्जनाका आमा हुनुहुन्छ। तपाइँहरूको ठूलो त्याग र समर्पणविना एउटा सन्तानले जन्मिने, संसार देख्ने र सुरक्षापूर्वक संसारमा जीवित रहने कल्पना पनि गर्न सकिँदैन। वास्तवमा ‘पति’ शब्दले त नारी–पुरुषको सहजीवनको होइन, दास–मालिकको भाव नै व्यक्त गर्दछ। बरु सामान्य जनताले बढी प्रयोग गर्ने ‘लोग्नेस्वास्नी’ शब्द नै बढी उपयुक्त देखिन्छ।

    कहिले हुने भ्रमबाट मुक्त ?

    पारिवारिक जीवनमा तपाइँहरूको योगदान अनुपम छ। तपाइँको सहयोगविना कुनै पुरुष एक्लै सफल हुन त के जन्मिनै सक्दैन। यदि दुःखी, गरीब, निर्धा तथा निमुखालाई धोका दिनुभएको छैन, तिनको पसिना चुस्नुभएको छैन, तिनलाई हेलाँहोचो र भेदभाव पनि गर्नुभएको छैन भने तपाइँहरूले मात्र थप पाप कहाँ, केमा गर्नुभयो र यसरी डराउनुप¥यो? यदि समाजमा गरिने अकल्याणकारी कामलाई पाप भन्ने हो भने त्यसको प्रायश्चित त फेरि सचेत भई राम्रा काम गरेरमात्र पो हुन्छ।

    धर्मको नाममा भेष बदली बदली आउने कुनै ठगहरूको पछाडि दगुरेर वा बिहानबिहानै दस ठाउँका पाषाण मूर्तिलाई ढोग्दै हिँडेर वा भोकभोकै बसेर त हुँदैन नि। पुरुषले भन्दा दुईगुना श्रम गरेर एक पेट खानु कुनै पाप र अपराध होइन। बरु ठूलो पुण्यको काम पो हो। त्यसैले आफ्नो जिन्दगीलाई पापको कुण्ड सम्झेर भोकभोकै हिँड्नु आवश्यक छैन। त्यसो गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा समेत नकरात्मक असर परिरहेको हुन्छ। असल सामाजिक कार्यलाई धर्म भनी नाम दिनुभएको छ भने शब्दको विरोध गर्न आवश्यक छैन। अन्यथा कम्तिमा अबका नारीहरूले अनेक भ्रमजाल र हीनताबोधबाट मुक्त हुनु जरुरी छ।

    त्यसो भए के पुरुषहरू चाहिँ अन्धविश्वासबाट मुक्त छन् त? छैनन्। अनि के नारीहरू आफैँ रुढिग्रस्त भएका हुन त? होइनन्। निःसन्देह पुरुषप्रधान समाज, धर्मशास्त्र र राज्यले नै महिलाहरूलाई यस्तो अवस्थामा पु¥याएको हो। फेरि पनि महिला मुक्तिका लागि महिलाहरू नै जाग्रात् र सङ्गठित नबनी त हुँदै हुँदैन। त्यसैले यो लेखमा कुनै एक नारीलाई मात्र इङ्गित नगरी सङ्गो नारी समुदायलाई जोड दिइएको हो। सबै कुराको फैसला गर्ने अधिकार  त महिला दिदीबहिनीहरूकै हो। जेसुकै भएपनि अबको चेतनाले यसप्रकारका अन्धविश्वासमा आधारित मानसिक भ्रम तथा त्रासहरूलाई मिल्काउन तयार हुनैपर्छ। अनि धर्मरिनपेक्ष राज्यका पुरुषहरूले पनि आफ्नै जीवनसङगिनीका थाप्लामा यस्ता कुप्रथाहरूको भारी बोकाएर आफू सम्मानित, पूजित र सुरक्षित बनेको ठान्नु नै नालायकीपन र लज्जाबोधको विषय होइन र?

    घनश्याम शर्मा पौड्यालको पुस्तक ‘धर्म, समाज र संस्कृति’को एक अंश

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.