यस कार्यक्रममा आउनुभएका सबै साथीहरूलाई स्वागत छ। अघि पिताम्बरज्यूले आफूलाई भन्न मन लागेका कुराहरू काइदाले भन्नुभयो। सहभागीहरूले उहाँका कुरालाई कति ग्रहण गर्नुभयो, त्यस विचारमा कति सहमत हुनुभयो या हुनु भएन, त्यो आफ्नो कुरा भयो। तर यस कार्यक्रममा आउनुअघि मेरो मनमा जिज्ञासाहरू थिएः ‘वामपन्थबारे छलफल गर्ने र त्यस छलफल कार्यक्रममा ६०–६५ जना आउने। त्यो ६०–६५ जनामा कोदेखि कोसम्म होलान्? कसरी त्यत्रा मान्छे जुट्लान्?’ कार्यक्रममा आएपछि सहभागीहरू अनुहार नियाल्दैछु।
र, तपाईँलाई वामपन्थउपर विमर्श र चिन्तनकै लागि डाकेपछि तपाईँ ‘पदेन वामपन्थी’ हुनुभयो। त्यसपछि त यहाँ सहभागीमध्ये को वामपन्थी हो या को होइन भन्नेमा तर्क–वितर्क नै रहेन। तर पनि प्रश्न फेरि पनि के रहन्छ भने वामपन्थी, प्रगितिशिल, प्रगतिवादी, जनवादी, मार्क्सवादी र साम्यवादी सबैलाई ‘वामपन्थ’ले प्रतिनिधित्व गर्छ? पिताम्बरज्युले भन्नुभयो, ‘प्रतिनिधित्व गर्छ। वामपन्थ भनेपछि त्यसले सबैको प्रतिनिधित्व गर्छ।’ तर यो उपस्थितिका यी अनुहारहरू, यो चिन्तन, संलग्नता, धारणा र विश्वासले के देखाउँछ भने वामपन्थले ती सबै कुराहरूको प्रतिनिधित्व भने गर्दैन।
वामपन्थी एटा कुरा होला, मार्कसवादी भन्नु अर्कै हो। साम्यवादी भन्या पनि अर्कै हो। मार्क्सवाद भन्ने कुरा एउटा ‘ब्रड क्याटगरी’ हो भन्ने लाग्छ मलाई। सजिलो भाषामा भन्ने हो भने समाजमा अग्रगामी परिवर्तन चाहनेलाई वामपन्थी भनिएको होला। तर परिवर्तन चाहनेको चाहनाका सीमा होलान्, चाहना पूरा गर्न उस/उनले गर्ने हस्तक्षेपका पनि सीमा पनि होलान्। उस/उनको प्रतिवद्धता र समर्पणका पनि सीमा होलान्। परिर्वतन चाहनेलाई सजिलो भाषामा वामपन्थी भनिएको होला। यसो हेर्दा त नेपालमा वामपन्थ त बलियै छ। र, यो गम्भीर विषय हो छलफलका लागि।
नेपालमा अस्तिमात्रै दुई तिहाई कम्युनिष्टको त सरकार नै बनेको थियो। त्यसको चिन्तन, चरित्र, त्यसको कर्म र परिणती हामी सबैले भोगेका छौँ। त्यसकारण पिताम्बरजीले भनेको त्यस कुराले भने मलाई घत पर्यो। उहाँले भन्नुभयो, ‘वामपन्थलाई वामपन्थीहरूबाट जोगाउँ।’ जर्जर भएकाहरू, पथभ्रान्त भएकाहरू, पतित भएका वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ। त्यसको अर्थ हामी यहाँ वामपन्थ के हो भनेर बुझ्न र त्यसलाई परिभाषित गर्न उपस्थित भएका छौँ। यसर्थ, यो भेला अत्यन्त सामयिक र प्रासंगिक छ भन्ने मलाई लाग्छ।
कम्युनिष्ट सभामा आएपछि यो प्रसंग पनि जोडौँ। कम्युनिष्टहरूको सभामा प्रायः के हुन्छ भने सभा जति लामो भयो, त्यति नै गजब भयो भन्ने ठानिन्छ। अनि सभामा उभिएपछि नेताले यस्सो दर्शक/स्रोतातर्फ नियाल्छ। उसले देख्छ–सभामा पचास या सय मान्छेहरू जुटेका छन्। मंच बनाइदिने कोही अर्कै छ। माइककको बन्दोबस्त मिलाइदिने अर्कै छ र भाषण सुनिदिने अर्कै छ। ‘एकबारको जुनीमा भोलि यति टाउकाहरू कहाँ फेला पर्लान् र!’ भन्ने ठान्दै नेता निरन्तर दिन थाल्छ (भाषण दिन थाल्छ)।
त्यसो हुँदा कम्युनिष्टहरूको सभाभन्दा उच्चाटलाग्दो अरु कुनै ठाउँ हुँदैन। कांग्रेसले त्यति लामो बोल्दैनन्। उनीहरूले नजानेर नबोलेका होइनन्। त्यो कुरोमा कांग्रेसहरूका सभा र विचार विमर्शका कार्यक्रमहरू हाम्रोभन्दा होलो छन्। यद्यपि, कांग्रेसमा सबै कुरा होलो/खुकुलो छँदैछ, त्यो बेग्लै कुरा हो।
(२०७८, साउन १४ र १५ गते नेपाल अध्ययन केन्द्रले काभ्रेको पनौतीमा ‘आजको वामपन्थ’ शीर्षकमा राखेको विचार/विमर्श कार्यक्रममा लेखक खगेन्द्र संग्रौला राख्नुभएको संक्षिप्त मन्तव्यको संक्षिप्त अंश।)
यो पनि –
नेपाली समाजका ७ अन्तरविरोध – पीताम्बर शर्मा
बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन – राम कार्की ‘पार्थ’
सिद्धान्तबिहिन हुनु भनेको कुहिराको काग बन्नु हो – टंक कार्की
आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने? – रोशन जनकपुरी
वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने? – भूपाल राई