सिपी मैनालीले “वर्गशत्रुको रगतले हात रङ्ग्याउने”लाई कसरी राजनैतिक बनाए?

कोके देखि मालेको शुरुवाती चरणको समीक्षा– श्रृङ्खला १

0
858

१. झापा विद्रोहका धावाहरु
हाम्रो परिवारका धेरै सदस्यहरुले जीवन आहुति दिए, शत्रुद्वारा मारिए। तपाईंहरु त आरामपूर्वक हुर्कनु भयो, त्यसैले तपाईंहरुलाई पीडा के हो थाहा नै छैन। भविष्यमा, तपाईंहरु दक्षिणपन्थी नबनी मध्यम–मार्गीमात्र रहनु भयो भनेपनि म सन्तुष्ट नै हुनेछु। तपाईंहरुले कुनै पीडा नै भोग्नु भएको छैन भने तपाईंहरु कसरी वामपन्थी बन्नु सक्नुहुन्छ ? –माओ त्से तुङ ।

ज्यामिरगढी
२ जेठ २०२८ सोमवार

“झापा विद्रोहको पहिलो धावा ज्यामिरगढीका कर्णबहादुर गौतमविरूद्ध बोलियो” (मैनाली राधाकृष्ण पृष्ठ २)।

झापाको एक सानो बस्ती ज्यामिरगढीको यो एक सानो वारदात नै नेपाल कम्युनिष्ट आन्दोलनको एक घुम्ती बन्न पुग्यो। यस्तै घटनालाई निरन्तरता दिदैं स्क्वायडले दोस्रो एक्सन २०२९ साल वैशाखमा शनिश्चरे बुटाबारीका बुटन चौधरीविरुद्ध गर्‍यो। तेस्रो, असारमा गरामुनीका विष्णुप्रसाद विमली र ईश्वरीप्रसाद चुडालविरूद्ध भयो। चौथो एक्सन २०२९ साल कात्तिकमा गरामुनीकै र उद्रकान्त राजवंशीविरुद्ध गरियो। लगत्तै पाँचौं २०२९ साल पुस १०  शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालमाथि भयो। छैटौं बुधबारेका भक्तबहादुर (लक्ष्मी नारायण) असार २३, २०३० मा  कोइराला विरूद्ध र सातौं एक्सन २०३० साल कात्तिक ४ गते दुवागढीका ज्ञानबहादुर बस्नेत गरियो (मैनाली राधाकृष्ण पृष्ठ १ र २ )।  ४–५ किलोमिटर परिधिभित्रका घटनाहरुले तत्कालै राष्ट्रिय राजनीतिलाई ध्यानाकृष्ट गराए, खासगरी भूपू रापंस धर्म प्रसाद ढकालको हत्यापछि। यसपछि नेपाली राजनीतिक शव्दकोषमा “झापाली” “वर्ग सफाया” “वर्गशत्रु खतम” “चारु मजुम्दार लाइन” जस्ता धेरै शव्दहरु समाविष्ट भए।

ज्यामिरगढी मेचीनदीको पश्चिमी तटमा भारतको सीमा नजिक अवस्थित छ। र, यहाँबाट मेची नदी पार गर्दै भारत प्रवेश गर्न करीव १० मिनट लाग्छ। यसरी नेपाल भारत सीमामा रहेको यो स्थान युद्ध रणनीतिका लागि उपयुक्त हो। यो स्थानको छनोट गर्नु ज्यादै दूरदर्शिता हो तर झापा काण्डका एक प्रमुख राधाकृष्ण मैनालीले यसलाई रणनीतिक–अवस्थिति भएर छनोट गरेको उल्लेख गरेका छैनन्। उनका अनुसार झापा संघर्षको पहिलो एक्सनका लागि ज्यामिरगढीलाई नै छनोट गर्नुको पनि कारण …२००७ साल आसापासदेखि नै कम्युनिस्टहरूको प्रभाव र पकड क्षेत्र थियो। त्यहाँ कम्युनिस्टप्रति सहानुभूति नराख्ने वा समर्थन नगर्नेले प्रधानपञ्चसमेत जित्न सक्तैनथे ।” (मैनाली राधाकृष्ण पृष्ठ २)।

ज्यामिरगढी भारतको राजनीतिमा ऐतिहासिक कारणले चर्चित नक्सलवारी क्षेत्रसँग सन्निकट छ। नक्सलवारी त्यो स्थान हो, जहाँ ‘२०२३ साल फागुन १९ गते शुक्रवार लापा किशान, साँगु किशान र रतिया किशानले भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका १५० समर्थकहरुको सहयोगमा जमिन्दारको भकारीबाट करीव ३०० मन धान कव्जा गरेका थिए। यसपछिका ५२ दिन नक्सलवारी, खोरावारी र फाँसीदेवामा आक्रमण र प्रतिरोधका करीव सय वारदात भए। ती मध्ये २०२४ जेठ ९ मंगलवारका दिन इन्स्पेक्टर सोनाम वाङ्दीले एक गर्भवति महिलाको पेटमा लात्तामा हानेपछि स्थानीय महिलाहरुले उनलाई मारे।’ यही नक्सलवारीमा भएको वारदातपछि बलेको आगो भारतीय कम्युनिष्ट आन्दोलनभित्र नक्सलवादी आन्दोलनको नाममा चर्चित भयो र हालपनि विभिन्न संस्करणहरुमा भरभराईरहेको छ।

झापाको ज्यामिरगढीबाट शुरु भएको “सफाया अभियान” नै ‘झापा संघर्ष’ को सतहमा देखा परेको कार्वाही हो। तर यस्ता कार्वाहीहरु धनुषा, सिराहा, संखुवासभाका विद्रोहीहरुले पनि गरे। यस्तो अभियान वि.सं. २०३२ सिराहापछि अन्त नै भयो। तथापी यसैको सिकाइको उच्च र विस्तारितरुपमा ’’झापा संघर्ष’’ को अन्त भएको १८ वर्षपछि  देखा पर्‍यो, जसको नेपाल कम्युनिष्ट पार्टीकै अर्को धारबाट सम्वतको ५० मा गरिएको ‘माओवादी जनयुद्ध’ हो। नेपालको अधिकांश भौगोलिक तथा जानसाङ्ख्यीक स्तरमा संचालित माओवादी जनयुद्धसँग झापा संघर्षलाई तुलना गर्नु हुँदैन, तथापी झापा संघर्षले, यसको जग र प्रतापमा, त्यसबेलाका अगुवाहरुको प्रेरणा एवं स्पिरिटलाई नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनले सधैं निर्देशित गरिरहन सकोस्।

झापामा सामन्तविरुद्धका संघर्षहरु यसभन्दा अघि पनि छिटपुट भएका थिए। तर, त्यसबेला कम्युनिष्ट पार्टीको शक्ति कमजोर हुँदा त्यहाँका सामन्तहरुबाट आन्दोलनकारीहरु मारिने गर्थे। २०२६ सालमा धुलावारीको मागुरमाडीमा हरिजंग लप्टनले आफ्नो मोही करुणा सुव्वालाई बन्दुकको आक्रमणलाई असफल पारी सयौं किसानहरुले कुटपिट गरी पुलिस चौकीमा बुझाउन जाँदा बाटैमा मृत्यु भएको थियो। यसैताका बुधबारेमा चन्द्रकान्ता भट्टराईले खेत जोतिरहेका किसानमाथि आक्रमण गरी अंगभंग गरेका थिए। यस्ता कारणहरुले किसानहरुमा जमिन्दार विरोधी भावना विभिन्न प्रकारबाट उद्घाटित हुने गर्दथे र भूमिहिन र जमिन्दारका झडपहरु झापामा मात्र होइन, नेपालका विभिन्न शहरोन्मुख वस्तिहरुमा भइरहेका थिए (नरेश खरेल तथा रविन कोइराला सँगका कुराकानी)। त्यसबेला पहाडे जनसंख्या तराई खासगरी बुटवलदेखि पूर्व तराइमा व्यापकमात्रामा बसाइसराइ गरिरहेको थियो।

पहाडे जनसंख्याको बसाइसराइ हुनुमा तराइमा औलो उन्मूलनको कारणमात्र थिएन। महेन्द्रकालीन भूमि सुधारका कारण भूमिमा पहाडका पुराना जमिन्दारको पकड खुस्किनु पनि हो। पहाडे जमिन्दार भूमि सुधारले कूत उठाउने अधिकार खोस्दाको पराजय मानसिकताका कारण तराइ झर्न थाले र पहाडे भूमिहिनहरु सुकुम्वासी वसोवासक्षेत्र र मलीलो माटो तथा अन्य अवसर खोज्दै तराइ ओर्लेका थिए। यसकारण वि.सं.को अढाइ दशकदेखि तराइका भूमिवालसँग पहाडे तथा तराइका भूमिहिन जनसंख्याबीच एकअर्काबीच स्वार्थ द्वन्द्व तीव्र हुने क्रममा थियो। त्यसवेला स्वास्थ्यका औलो उन्मूलन परियोजना, परिवार नियोजन, शिक्षा योजना, स्कूल कलेजको स्थापना र सरकारका सुरक्षा तथा अन्य निकायहरुको स्थापना र विकासका कारणले तिनीहरुका इकाइमा रोजगारकालागि बौद्धिक जनसमुदाय प्रवेश गरिरहेको थियो। साथै त्यस्तो समुदायसँग जनताहरुको  सकारात्मक तथा नकारात्मक साक्षात्कार भइरहेको थियो।

नयाँ वस्तिहरुको विकास र नयाँ जनसमूहहरुबीचको साक्षात्कारले मुलुकभर नयाँ परिवेश तयार तथा द्वन्द्व विस्तार हुँदै थियो। निर्दलीय पञ्चायतको सक्रियता भूमि सुधार हुँदै गाउँफर्क अभियान, प्रशासन तथा सुरक्षा निकायको विस्तारले पुराना स्थानीय सामन्त र जमिन्दारहरुका हैकम अन्त्य हुँदै गर्दा स्थानीय नयाँ शासकहरु उम्रिरहेका थिए। राज्यका इकाइहरुमा अट्न नसकेका नयाँ र पुराना इलाइटका शिक्षित सन्तानहरु निरकुंशता विरुद्ध तयार भएका थिए। यस्तो परिस्थितिमा नेपाली कम्युनिष्टहरु आफूभित्रको अन्यौलता चिर्न प्रयत्नरत थिए। नेपाली काँग्रेस समेत पञ्चायती व्यवस्था फाल्नका लागि ‘हान र भाग’ को नारा साथ हिंसात्मक संघर्ष गरिरहेको थियो। त्यसले राजालाई बम हान्ने देखिलिएर हिंसात्मक गतिविधि संचालन गरिरहेको थियो।

देशभित्रका शक्तिहरुमात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रसमेतमा हिंसात्मक संघर्षहरु उच्च स्तरमा संचालन भइरहेका थिए। क्युवाको जुलाई २६ आन्दोलनले सफलता पाएको थियो र फिडेल क्यास्ट्रो र चे गुवाराको चमत्कारिक छविले विश्वका विद्रोही युवाहरु गेरिल्ला युद्धप्रति लठ्ठ थिए। यस्तै गेरिल्ला युद्धको बलमा भियतनाम अमेरिकी साम्राज्यवादका विरुद्ध जीवनमरण र करीव विजय हुन लागेको युद्ध लडिरहेको थियो। चीनियाँहरु सांस्कृतिक क्रान्तिको चरमोत्कर्षमा थिए। यस्तो परिवेशले विभिन्न मुलुकका कम्युनिष्ट पार्टीहरु र विद्रोहीहरु भित्र सनसनी मच्याइरहेको थियो। यसैगरी भारतका कम्युनिष्ट पार्टीहरुमा पनि हलचल ल्याएको थियो र सन् ६० को मध्यदेखि भारतमा खासगरी नेपालको सिमावर्ती पश्चिम वंगाल र  विहारका क्षेत्रहरुमा हिंसात्मक संघर्षहरु उत्कर्षमा पुगिरहेका थिए। जुन झापाको सन्धिसर्पन रहेको नक्सलवारी नै इपीसेन्टर थियो।

अवस्था यस्तो थियो, देशभित्र र बाहिरको। त्यसबेलाको परिवेश र अभ्यासलाई कोही पनि क्रान्तिकारीहरुले अनदेखा गर्न मिल्दैनथ्यो। त्यसबेला विश्वभर नै क्रान्ति र संघर्षको प्रवृत्ति हिंसात्मक थियो। त्यसैले झापाका क्रान्तिकारीहरुले पनि हिंसात्मक संघर्षभन्दा परको बाटो देखेनन्। तर त्यो बाटो देख्ने आँखाहरुले आफ्नो संगठन र शक्तितर्फ नजर दिएनन्। यसैकारण नै निहत्थाहरु बत्तीमा परेका पुतलीहरु झैं भए।

निहत्था झापालीहरु

झापाली युवा क्रान्तिकारीहरुसँग सपना, आवेग र जोशबाहेक केही थिएन। कृषि क्रान्तिबारे कुरा गर्थे, तर तिनीहरुले विरासतबाट संगठन र कार्यक्रमहरु केही ल्याएका थिएनन्। ती झापालीहरु मध्ये मदन खपाङ्गी र राधाकृष्ण मैनालीहरु मनमोहन अधिकारी नेता रहेको पूर्वकोशी प्रान्तीय कमिटी अन्तर्गतको ९ सदस्यीय झापा जिल्ला संगठनबाट छुट्टिभिन्न भएका थिए ।

‘‘हामीले संगठनको पकड धेरै बलियो बनाएर, पहिले नै हतियार जम्मा पारेर, सैन्य तालिम लिएर वा दिएर झापा विद्रोह सुरू गरेका थिएनौं। आक्रमणअघि स्क्वायडलाई कहींकतै सैन्य तालिम दिइएको थिएन। विद्रोह सुरू गर्दा हाम्रो सांगठनिक आधार पनि त्यति बलियो थिएन। एक सय पचासको हाराहारीमा युवाहरू संगठित थियौं। रात–बिहान सघाउने किसानहरूसहित कार्यकर्ताहरूको संख्या तीन सयभन्दा बढी थिएन। नेतृत्वको हिसाबले पनि आन्दोलनको राप र अनुभवले खारिएर परिपक्व थिएनौं। सैद्धान्तिक रुपमा मार्क्सवादका धेरै ठेलीहरू पिएका पनि थिएनौं। कतिसम्म भने संघर्ष सुरू गर्नुअघि हामीले क्रान्तिकारी कार्यक्रमको कुनै लिखित दस्तावेजसमेत तयार पारेका थिएनौं”(मैनाली राधाकृष्ण पृष्ठ १ र२)।

ती झापालीहरु साच्चै निहत्था थिए। तिनीहरुले आफ्नो माऊ संगठनबाट ‘‘सशस्त्र संघर्ष’’ को नयाँ मार्गका लागि त के कुरा संगठन संचालनका लागि आवश्यक मार्गनिर्देशनहरुसमेत ल्याएका थिएनन्। त्यतिबेला प्रान्तीय कमिटीका वरिष्ठ नेता मनमोहन अधिकारी नै ‘पञ्चायत एक जिवित सत्य हो’ भनिरहेका थिए भने तेस्रो महाधिवेशनबाट पारित ‘‘राष्ट्रिय कार्यक्रम’’ झापालीहरुले विचारेको ‘‘नौलो जनवाद’’ भन्दा विलकुल भिन्न थियो।

‘‘राष्ट्रिय कार्यक्रम’’ सोभियत धुरीबाट आएको एक कार्यक्रम थियो, तर झापालीहरु चारु लाइनको मार्गनिर्देशनमा शसस्त्र कृषि क्रान्तिका लागि अग्रसर थिए। यस्तो अवस्थामा ‘‘राष्ट्रिय कार्यक्रम’’ लाई तिलाञ्जली दिइनसकेका विराटनगर र धरानका केही बौद्धिकहरु रहेको त्यो प्रान्तीय कमिटी एक क्लव जस्तो थियो। त्यस्तो क्लवबाट विरक्तिएका झापाका युवाहरुले मेची खोला पूर्वको नक्सलवारीमा भइरहेको ‘‘वर्गशत्रु खतम अभियान’’ देखे।

पार्टी टुटफुटको सानो झलक

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना पुष्पलालको अगुवाइमा भारतको कलकत्तामा भयो। यो सांगठनिक विस्तार नहुँदै ‘‘सशस्त्र क्रान्ति’’ गर्ने उद्घोषसाथ नयाँ जनवादको लक्षसहित देखा पर्‍यो। यसको स्थापना लगत्तै ००७ सालको क्रान्तिले राणाको जहानीय शासन फाल्यो। राणा, राजा र काँग्रेसको सरकार बन्यो। सो क्रान्ति र त्यसको परिणामलाई नेपाल कम्युनिष्ट पार्टीले स्वीकार गरेन। यसैबीच अराजक केआईसिंहको विद्रोहको सहयोगी करार गर्दै नेकपालाई प्रतिबन्ध गरियो। तथापी पुष्पलालको अगुवाइमा संगठन विस्तार गर्ने कार्य रोकिएन, उनले खुला हृदयका साथ विभिन्न क्षेत्र र आन्दोलनहरुमा रहेका व्यक्तिहरुलाई समावेश गरी केन्द्रीय संगठन कमिटी निर्माण गरे। जसमा कलकत्ता, बनारसका र भारतीय कम्युनिष्ट पार्टीका संसर्गमा रहेका नेपाली सक्रिय युवाहरु समावेश गरिए। पुष्पलाल महामन्त्री नै रहेपनि पार्टी स्थापना गर्दाका बखतका अन्य ४ व्यक्तिहरु हटाइए र मनमोहन अधिकारी, शैलेन्द्र कुमार उपाध्याय, डिपि अधिकारी, केशरजंग रायामाझी, तुलसीलाल अमात्यहरुले प्रवेश पाए। यस संगठन कमिटीमा भारतीय कम्युनिष्ट पार्टीका नेता अयोध्या प्रसाद सिंहसमेत पोलिट व्यूरोमा राखिनुपर्ने अवस्था बन्न गयो। यसै प्रतिवन्धित अवस्थामा सन् १९५२ को अन्ततिर नेकपा पोलिटव्युरो सदस्य शैलेन्द्र कुमार उपाध्यायको एक सदस्यीय मण्डलले भाकपाको नेतृत्वको सल्लाह लिई फर्कदैं थियो, यसले बाटैमा जनकपुरमा पोलिटव्यूरो बैठक बोलाई पुष्पलाललाई महामन्त्री पदबाट हठात् र अवैधानिकरुपमा निस्कासन गर्‍यो। यसपछि शैलेन्द्र कुमार उपाध्यायलाई पहिलो महाधिवेशनमा महामन्त्री बनाउने योजनाका साथ मनमोहन अधिकारीलाई महामन्त्री बनाइयो। तर, शैलेन्द्र कुमार उपाध्यायको महामन्त्री बन्ने योजना कहिल्यै पुरा भएन।

यसैगरी अनेकन व्यक्तिगत प्रयाश गर्दागर्दै पनि स्थापनाकालका महासचिव पुष्पलाल जीवनभर एकिकृत पार्टीको महासचिव बन्न सकेनन्। बरु उनी बाचुञ्ज्याल सबै कम्युनिष्ट गुटउपगुटका दृष्टिमा ‘‘गद्दार’’, निच’’ र ‘‘पदलोलुप’’ ले आरोपित भइरहे। यस्तो आरोप लगाउने मोहनविक्रमको शुरुवाति कदमलाई पछि धकेल्दै उनीबाट छुटेका मुक्तिमोर्चा समूह अति निस्कृष्ट स्तरमा ओर्लियो । त्यसका सदस्यहरुले पुष्पलाललाई ‘‘चेहरा बदल्दै क्रान्तिकारी … हरुलाई भ्रम र धोका दिने क्रान्तिको … सबभन्दा ठूलो संसोधनवादी दुश्मन र जघन्य अपराधी’’ … ‘‘नेतृत्वको लोभी, पदलोलुप, पतित चरित्र भएको काँग्रेसी दलाल’’ … ‘‘साह्रै नै अवसरवादी र षडयन्त्रकारी अधम योजना लिएर अघि बढेको’’   व्यक्तिका रुपमा लिखतमा दर्ज गरे। गीत रचेर लोकलयमा गाउँदै वनारसबाट नेपाल पसे। हाल सबैका महान क्रान्तिकारी र पूज्यनीय भएका पुष्पलाल तत्कालिन मुक्तमोर्चाका लागि ‘‘उसको नेतृत्वलाई समर्थन गर्ने एकजना पनि सक्रिय, पेशेवर र इमान्दार कार्यकर्ता बाँकी’’ नरहेको ‘‘र आज ऊ दुधबाट माखो जस्तै क्रान्तिकारी कम्युनिष्ट र जनताको तीव्र घृणाको पात्र’’ थिए। उनका आफ्नै सहकर्मीहरुले साथ त दिएनन् अझ उनका अनुयायीहरुले समेत उनलाई सत्तोसराप गरिरहे (सबै आरोपहरुका लागि  मुक्तिमोर्चा अ‌क ६ पृष्ठ ४-१६ हेर्नुहोस्)।

पुष्पलालको निष्काशन गरिनुको अन्तर्य चिनिया जनवादी कार्यक्रमको सारलाई स्वीकार गर्नु र नयाँ जनवादको कार्यक्रममा जनगणतन्त्र हुनु नै मुख्य हुन्, उनका व्यक्तिगत आचरण कपोलकल्पित हुन्। उनको निष्काशन केन्द्रीय कमिटीबाट हुनुपर्ने बैधानिक परिपाटी नाघेर भारतीय कम्युनिष्ट पार्टीको निर्देशन र संग्दीग्ध शैलेन्द्रकुमार उपाध्यायको षडयन्त्रमा भएको थियो। स्मरण रहोस् यी उपाध्याय सुगौली सन्धीमा हस्ताक्षर गर्ने चन्द्र शेखर उपाध्यायका नाति थिए। यसरी तत्कालिन नेकपाको नेतृत्व दरवार र भारतीय हैकमवादीहरु दुवैको कठपुतली बन्न पुग्यो।

पुष्पलालको अपदस्थपछि नेपाल कम्युनिष्ट पार्टीभित्र विवादका भूमरी चलिरहे, जस्मा महेन्द्रको १७ सालको कू पछि दरवारीया पक्षहरुको नकाव उत्रियो। पार्टीलाई व्यवस्थित बनाउन दरभंगा प्लेनम हुँदै तेस्रो महाधिवेशनमा समेत प्रयाशहरु भए। रायामाझी नेतृत्वइतर तत्कालिन कम्युनिष्ट नेताहरुबाट च्भत्रगष्कष्तष्यल अयलनचभकक को रुपमा तेस्रो महाधिवेशन भयो तापनि यसले नेपाली कम्युनिष्टहरुको विभाजन रोक्न सकेन। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विभाजनले नेपालमा पनि ‘‘राष्ट्रिय प्रजातन्त्र’’ र ‘‘नयाँ जनवाद’’ का धुरीहरु देखापरे। ‘‘राष्ट्रिय प्रजातन्त्र’’ शान्तिपूर्ण र राजतन्त्रभित्र प्राप्त गर्न सकिने र ‘‘नयाँ जनवाद’’ का लागि गरिने क्रान्ति हिंसात्मक पनि हुनसक्ने र गणतन्त्रात्मक चरित्रका थिए। यसरी दुई धारहरुबीच प्रष्ट विभाजनरेखा कोरियो।

झापा जिल्लाको केन्द्रसँग र राज्यविरुद्ध विद्रोह

पार्टी विभाजनको क्रममा पुर्व मेचीकोशीमा रहेका अगुवाहरुले सम्मेलन गरी पूर्व कोशी प्रान्तीय कमिटीको निर्माण गरेका थिए। त्यो पनि सक्रिय र आशलाग्दो हुन सकेन। तसर्थ २०२८ को बैशाखमा झापा जिल्ला संगठनले प्रान्तीय कमिटीबाट विच्छेद गर्‍यो, साथसाथै कृषि क्रान्ति गर्ने भनेपनि भारतीय नक्सलवादी आन्दोलनको प्रभावमा परेर चारु लाइन अनुसार वर्गशत्रु खतम अभियान चलायो। यो अभियानको अगुवाइ राजनैतिक कमिसारका रुपमा मोहन चन्द्र अधिकारी, अभियानको खाका बनाउने कालमा मदन खपाङ्गी र अभियान शुरुपछि झापा जिल्ला संगठनको सचिवको रुपमा क्रमश राधाकृष्ण मैनाली र केपी ओली थिए। वर्ग शत्रु खतम अभियानसँगै यसका अधिकांश नेता तथा कार्यकर्ताहरु गिरफ्तार, पलायन भइसकेपछि चन्द्रप्रकाश मैनाली सचिव भए। स्मरणमा राख्नु पर्छ कि उनी झापा आन्दोलनको करीव छिन्नभिन्न अवस्थामा १५ देखि २० वर्षका केटाकेटीहरुलाई राखेर झापा जिल्ला समन्वय समिति बनाएका थिए।

२०३० कार्तिकमा भएको सातौं वर्गशत्रु खतम पछि अभियान रोकियो। अब झापा जिल्ला संगठनमा चन्द्रप्रकाश मैनाली मात्र थिए। उनीसँग भारतेली नक्सलवादी आन्दोलनको चारु लाइन त थियो, त्यसअनुसार व्यक्ति सफाया गर्ने कुनै ‘‘स्क्वाड’’ थिएन। सयौंका संख्यामा झापाली कमरेडहरु जेलमा परेका थिए, जो राजनैतिक बन्दीका रुपमा होइन, उनीहरु राज्यको व्यवहारमा ‘‘व्यक्ति–हत्यारा’’ थिए। राज्यसँगसँगै नेपालका विभिन्न स्थानमा रहेका खासगरी विराटनगर र धरानमा वकालत तथा विभिन्न व्यवशाय चलाएर बसेका कम्युनिष्टहरुले ‘‘व्यक्तिहत्याराहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने’’ वक्तव्य दिएका थिए। यता आफैंभित्रका अगुवा र अनुयायीसमेत ‘‘वर्गशत्रु खतम’’ मा सामेल भएकोमा आत्मभर्त्सना गर्न थालेका थिए। केही आत्मसमर्पणका लागि सूत्र खोजी रहेका थिए, केहीमा असहयोगी भावना जागृत भइसकेको थियो। केही सहयोद्धाहरुलाई गिरफ्तार गराउने काममा प्रशासनका सहयोगी भइसकेका थिए।

त्यसबेलाको अवस्थाबारे तत्कालिन झापा संघर्षका नेता सिपि मैनालीले ठीकै भनेका छन् –सामुहिक बलिमा आफ्ना दशौं हजार, बिसौं हजार राँगा साथिहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें। त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा त्यस्तै भएको थियो। वरिपरिका सारा मान्छेहरु सखाप भएका थिए। धेरै साथीहरु समातिए। मारिए। आतङ्कले भागे। तर पनि मैले हिम्मत हारिन। म उभिएँ। मैले साथीभाई जम्मा पारें र झापा विद्रोहपछि ०३१ सालमा फेरि साथीहरुलाई अपील गरें। ०३२ सालमा कोअर्डिनेशन बनाइयो। फेरि समातिँए। जेल ब्रेक गरें। फेरि बाहिर आएँ। र, काम गरें। (अनलाइन खवरको एक संस्मरण)

यदि सिपि मैनाली पनि पलायन या बन्दी भइरहेका भए झापा संघर्ष एक ‘‘आतंककारी घटना’’का रुपमा कालो अक्षरले लेखिने खतरामा थियो। त्यसैले बचेखुचेका झापालीहरुका लागि पहिलो काम भनेको झापा संघर्षलाई एक विद्रोह र आफू स्वयंलाई, जेलमा परेका तथा फरार रहेका योद्धाहरुलाई राजनैतिक व्यक्तिका रुपमा स्थापित गर्नुपर्ने थियो। यस्तो पहिचान आर्जन गर्न झापा आन्दोलनको निन्दा गरेर होइन, त्यसको ‘स्पिरिट’लाई पक्रर्दै शक्ति आर्जन गरेर मात्र सकिन्थ्यो। त्यस्तो शक्ति एक सुदृढ संगठन निर्माण गर्न सकेमा मात्र प्राप्त हुन्थ्यो।

माओले ‘क्रान्ति गर्नका लागि एक क्रान्तिकारी पार्टी हुनै पर्छ’ भनेका थिए। तर, झापालीहरुका लागि ‘क्रान्ति गर्न’का लागि भन्दा विगतको कार्यलाई वैधता दिनका लागि पनि पार्टी आवश्यक थियो। यसकारण बचेखुचेका झापालीहरुले २०२९ फागुन १६ देखि १९ भेला भई झापा जिल्ला कमिटीलाई बौराए, जसमा सिपि मैनाली, गोविन्द न्यौपाने, तारासाम योङ्गा, सिता खड्का, चन्द्र उप्रेति आदि थिए। यस कमिटिले पनि एक ‘‘असफल’’ २०३० असार २३ मा र एक ‘‘सफल’’ २०३० कार्तिकमा वर्गशत्रु खतम गर्‍यो। त्यसपछि भने झापामा कुनै ‘‘खतम’’ प्रयाश भएनन्।

सन्दर्भस्रोतः  

१. Mao Tse Tong, Talks with Mao Yuan Hsin, July 5, 1964

२.  Raj Kumar Pokhrel (Ph D); A Journey of the Communists of Nepal- Twenty three years’ History of the CPN-UML

२. सिपी मैनालीः अनलाइन खबर २०७५ भदौ ४, १६ः३९ मा प्रसारित सिपी मैनालीको संस्मरण

३. राधाकृष्ण मैनालीः नलेखिएको इतिहास, २०७३ (पहिलो संस्करण)

४. डा.  सुरेन्द्र केसीः  नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास (दोस्रो भाग)

५.  बालचन्द्र मिश्रः  झापा आन्दोलनदेखि एमाले विभाजनसम्म

६. पुष्पलाल स्मृति प्रतिष्ठानः  नेपाल कम्युनिष्ट पार्टी दस्तावेज सँग्रह- भाग ३

७.  वर्गसंघर्ष अंक ९: नेकपा मालेको केन्द्रीय कमिटि,  भदौ, २०३६ ।

(क्षमायाचनासिहत जानकारीः स्रोत सामग्रीहरुलाई व्यवस्थित क्रममा पुस्तकका रुपमा प्रकाशन गर्दा उल्लेख गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया