Saturday, July 2, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

छिन्नभिन्न झापा आन्दोलन सीपी मैनालीको अगुवाईमा कसरी राष्ट्रव्यापी बन्यो ?

कोमल भट्टराई by कोमल भट्टराई
January 14, 2021
- मत-अभिमत, विमर्शका लागि
A A
97
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

‘‘यता ५ जना ‘वर्गशत्रु’ खत्तम भइसकेका थिएनन्। ओली (खड्ग प्रसाद) र अधिकारी (मोहनचन्द्र) ती शत्रुहरुबाट बगेको रगतको छिर्काबाट आतङ्कित भई झापाबाट बेपत्ता भए।

झापाको यस हिंसात्मक कार्यविरुद्ध त्यसप्रकारका भगौडाविरुद्ध मात्र होइन सम्पूर्ण माथि दमन र पक्राउ शुरु भयो। उक्त सन्दर्भमा सरकारले २०३० श्रावण ३० मा आर.के. लाई पक्राउ गर्‍यो भने उनीसँगै गौरा प्रसाइँ, हर्कबहादुर खड्का, लिला कट्टेल, नारद वाग्ले र चन्द्र डाँगी झापाको नडियावारीमा पक्राउ परे । यतिमात्र होइन सरकारले कुल ५०० विरुद्ध पक्राउ पूर्जी जारी गर्यो भने झण्डै २०० गिरफ्तार भए। ९७ जनालाई ३ महिना माथि र ५ वर्षभन्दा कम, १० जनालाई ५ वर्षभन्दा बढी, १५ जनालाई जन्मकैद र ७ जनाको हत्या भएको यस काण्डमा भगौडाहरुको संख्या झण्डै १०० पुग्यो। ओली र अधिकारी बाहेकका भगौडाहरुमा पुण्य शर्मा, खडानन्द वाग्ले, डम्बर बानिया, तिलविक्रम ढकाल, शिव अधिकारी, गणेश मगर र खड्ग पकवाल प्रमुख थिए।

यतिको गिरफ्तारी, हत्या, पलायन, प्रवास र आतङ्कपछि झापा आन्दोलनको मैदानमा राजेन राजवंशी र सीपी मैनाली मात्र बाँकी रहे।’’ (सुरेन्द्र केसी –पृष्ठ ५७)

सीपी ‘वर्गशत्रु’ खतम अभियानबाट सँगठनको निर्माण अभियान

झापा आन्दोलनको मैदानमा राजेन राजवंशी र सीपी मैनाली मात्र बाँकी रहेका थिए। राजेन राजवंशी भारतीय क्रान्तिकारी थिए। उनी सँगठन निर्माणका सहयोगी हुनसक्थे तर अगुवा हुन सक्दैनथे। झापाका सारा आन्दोलकारीहरु गिरफ्तार, तितरवितर र पलायन भइसकेका थिए। हिजोसम्म आश्रय दिने धनी किसान र गरीव किसानहरुले यी बचेका दुईका लागि ढोका बन्द गरिसेका थिए। तथापी यिनीहरुले हरेस खाएनन्। सीपी भन्छन्– म उभिएँ । मैले साथीभाई जम्मा पारें र झापा विद्रोहपछि ०३१ सालमा फेरि साथीहरुलाई अपील गरें। ०३२ सालमा कोअर्डिनेशन बनाइयो। समातिँए । जेल ब्रेक गरें। फेरि बाहिर आएँ। र, काम गरें। (अनलाइनखबर २०७५)

करीव ३ वर्षसम्मको झापा जिल्लामा चलेको वर्गशत्रु खतम अभियानपछि सीपीले झापा वरपर रहेका क्रान्तिकारी व्यक्ति र समूहहरुबीच सम्पर्क गर्ने कार्यको शुरुवात गर्न थाले। ०३० को वर्षायाममा इलामका झलनाथ खनालसँग सिपी भेट्न पुगेका थिए। यसै फेरोमा उनको मोरंगमा कार्यरत रामचन्द्र यादव, र माधव नेपालहरुसँग भेट भयो, जो नेपाल क्रान्तिकारी संगठन (माले) मोरङ को नाममा कार्यरत थिए।

RelatedPosts

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

July 1, 2022
Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

June 28, 2022
प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

June 25, 2022
पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

June 23, 2022

नेपाल क्रान्तिकारी संगठन (माले) मोरंग पनि भारतीय नक्सलवादी आन्दोलनकै प्रभावमा थियो। यसका संस्थापकहरुमा विश्व भट्ट, रामचन्द्र यादव, अन्य दुई थिए भने पछि माधवकुमार नेपाल सामेल भएका थिए। यादव, भारतीय कम्युनिष्ट पार्टी मालेका सम्पर्क प्रतिनिधि थिए (बालचन्द्र मिश्र २०५८ पृष्ठ ५३)।  त्यसैले २०३० देखि भाकपा (माले)का नेताहरु क. जोहर र उनको निधनपछि  क. विनोद मिश्र माधव नेपालको डेरामा आउनेजाने गर्दथे । त्यसबेला सो संगठन पनि सशस्त्र संघर्षकै पक्षमा थियो, र ‘विराटनगरमा एक असईलाई मार्न दुईतीन दिन ढुकेर पनि असफल भएको’  थियो (बालचन्द्र मिश्र २०५८ पृष्ठ ५५)।

झापा ‘‘विद्रोह अगाडिदेखि झापामा अलग अलग समयमा ‘जिल्ला कोअर्डिनेशन कमिटी’ जिल्ला पार्टी संगठन समिति’ ‘जिल्ला कमिटि, (ने.क.पा.) आदि नाम दिइएका क्रान्तिकारी कम्युनिष्ट पार्टी संगठन थियो। … त्यसबेला देखि नै … संसदीय रोगबाट पूर्णरुपले मुक्त राष्ट्रिय स्तरको एउटा नयाँ  क्रान्तिकारी पार्टी निर्माण गर्ने उद्देश्य’’ (वर्ग संघर्ष अंक ९,२०३६ भदौ पृष्ठ ३६) थियो। तर ‘‘ त्यस्तो पार्टीको निर्माण तथाकथित राष्ट्रिय स्तरका नेताहरुको भेला गरेर होइन, इलाका इलाकामा रहेका संघर्षशील कार्यकर्ताहरुलाई संगठीत र वर्गसंघर्षमा सक्रिय पार्ने’’ … तिनीहरुको ‘प्रतिनिधिहरुलाई भेला गराई केन्द्रीय कोअर्डिनेशन बनाउने र त्यसबाट पार्टी निर्माण र अन्य समस्याहरु हल गर्ने’ उद्देश्य रहेको थियो (वर्ग संघर्ष अंक ९,२०३६ भदौ पृष्ठ ३६)। यसैबमोजिम भारतीय नक्सलवारी आन्दोलनको प्रभावमा परेका झापा जिल्ला कमिटि (ने. क. पा.) र नेपाल क्रान्तिकारी संगठन (माले) मोरङ दुवैले देशभरिका मार्क्सवादी–लेनिनवादी कम्युनिष्ट क्रान्तिकारीहरुलाई समन्वय हुन २०३१ जेठ १४ मा एउटा अपील जारी गरे। त्यसमा तिनीहरुले ‘‘आफ्ना संघर्षका अनुभवका आधारमा निम्नलिखित शर्तहरु मान्ने कुनैपनि कम्युनिष्ट क्रान्तिकारी वा ग्रुपसँग समन्वय कायम गर्न तयार भएको’’ उल्लेख गरेका थिए। ती शर्तहरु थिएः

क)  अध्यक्ष माओलाई विश्व क्रान्तिका प्राधिकार मान्ने माओत्सेतुङ विचारधारालाई वर्तमान समयको माक्र्सवाद–लेनिनवादको सर्वोच्च रुप हो भनी स्वीकार गर्ने तथा मार्क्सवा–लेनिनवाद– माओत्सेतुङ विचारधारालाई निशर्त रुपले देशको क्रान्तिको ठोस व्यवहारमा लगाउन स्वीकार गर्ने,

ख)  नेपालको हरेक क्षेत्रमा जबर्दस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ भनेर मान्ने

ग)  स्थानीय रुपमा सत्ता कब्जा गर्ने संघर्षको राजनीतिलाई स्वीकार गर्ने।

घ)   गेरिल्ला पद्धतिले मात्र आज हामीहरु सशस्त्र संघर्षलाई उठाउन र विकसित गर्न सक्छौं र यसलाई कमरेड चारु मजुमदारको वर्ग शत्रु खतम सम्बन्धी विचारहरु अनुरुप जमीन्दार दलाल खतम वा प्रतिक्रियावादी सशस्त्र शक्तिमाथि हमला गर्ने कामद्घारा शुरुगर्न सकिन्छ भन्ने कुरालाई मान्ने। (नेपाल कम्युनिष्ट पार्टी दस्तावेज सँग्रह– भाग ३, पृष्ठ १०)

यी उल्लेखित शर्तहरु राखेर अपील जारी गर्ने र स्वीकार गर्ने दुवै पक्षका व्यक्तिहरुको त्यसबेलाको अडानलाई प्रष्ट गर्छन्, त्यसबेला यसका हस्ताक्षरकारी र सहमतिमा कोकेमा आवद्ध हुनेले यसबारे कुनै कुरा उठाएका थिएनन्। यो अपील झापाको वर्ग खतम अभियानलाई स्वीकार गर्ने मात्र होइन, यसलाई विस्तार र सुव्यवस्थित गर्ने मनशाययुक्त दस्तावेज थियो। यस अपीलले नै माओलाई विश्व क्रान्तिको प्राधिकारका साथै माओ विचारधारालाई आजको माक्र्सवाद–लेनिनवादको सर्वोच्च रुप हो भन्ने स्वीकार गरेको  थियो। त्यस विचार प्रणालीले त्यो विचारधारा निशर्तरुपमा नेपाली क्रान्तिको ठोस व्यवहार लगाउन सकिने, जबर्दस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ भन्दै स्थानीय रुपमा सत्ता कब्जा गर्ने, सशस्त्र संघर्षलाई उठाउन र विकसित गर्न गेरिल्ला पद्धति र चारु मजुमदारको वर्ग शत्रु खत्तम सम्बन्धी विचारहरु मान्ने कुरा स्पष्ट दोहोर्‍याएको छ।

यस अपीलले ‘सोभियत धुरीका रायामाझी गुट, क्रान्तिकारी परिस्थिति विद्यमान छैन भन्ने जस्तै मनमोहन गुट र पुष्पलाल गुटहरुलाई नौलो जनवादी क्रान्तिको विरोधमा खडा भएको’  चित्रण गरेको छ (नेपाल कम्युनिष्ट पार्टी दस्तावेज सँग्रह – भाग ३, पृष्ठ ४)। यसैकारण सो अपीलका हिमायतिहरुले ती समूहहरुसँग कुनैपनि एकता तथा सहकार्यका लागि छलफल चलाउन मिल्ने कुरा नै भएन। तिनीहरुका लागि नेपालमा कुनै कम्युनिष्ट पार्टी नै नभएको र २००६ सालमा गठीत पार्टीका सबै नै नेताहरु उनीहरुका लागि संसोधनवादी गद्दार भइसकेका थिए। यसर्थ आफूले स्वीकारेको विचारप्रणाली अनुसार तिनीहरुले देशका विभिन्न भागमा रहेका स्वतन्त्र क्रान्तिकारीहरुसँग मात्र छलफल चलाउने निधो गर्नु स्वभाविक थियो र, एक सुदृढ पार्टीका लागि एक जुट हुन आव्हान गर्नु मुनासिव नै थियो।

अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटि (कोके) को गठन

यही अपीलको आधारमा ती झापा र मोरंगका क्रान्तिकारीहरुले देशका विभिन्न स्थानमा रहेका स्वतन्त्र र विद्रोही क्रान्तिकारीहरुसँग छलफल चलाए। खासगरी इलामका झलनाथ खनाल, सिन्धुपाल्चोकका अमृत बोहरा, सिराहामा रहेका मणीलाल राईसँगको छलफलपछि सीपी मैनाली एक देशव्यापी समन्वय समिति गठन गर्ने निर्णयमा पुगे। फलस्वरुप २०३२ साल जेठ २५ गते एक ८ सदस्यीय अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (जुन का‍े‍ के. नामले परिचित भएको थियो) गठन भयो, जसमा सीपी मैनाली, रामचन्द्र यादव, माधवकुमार नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, मणिलाल राई, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, चुनिएका थिए।  यसमा  सिपी मैनाली झापा विद्रोहका उत्तरािधकारी र मुकुन्द झापा विद्रोहको सुरुआत लगत्तै पन्छिएका थिए भने अन्य झापा विद्रोहमा असंलग्न थिए। ती मध्ये विराटनगरको बैंकमा कार्यरत माधव, शिक्षण पेसामा रहेका इलामका झलनाथ र चौथो महाधिवेशनमा संलग्न सिराहाका मणीलाल, भद्रपुर अस्पतालमा कार्यरत अहेव गोविन्द थिए र पुष्पलाल समूहसँग असन्तुष्ट रहेका सिन्धुपाल्चोकका अमृत बोहरा थिए।

यसरी निर्माण गरिएको कोकेले ‘राष्ट्रिय जनवादी क्रान्तिलाई अगाडि लानको निम्ति एउटा मार्क्सवादी–पार्टी गठन गर्न … देशभरीका तमाम क्रान्तिकारी कम्युनिष्टहरुलाई यसको झण्डा मुनि एकत्र हुन आह्वान’ गर्‍यो। तर, यसले रायमाझी, पुष्पलाल, मनमोहन, मोहन विक्रम तथा नेपालका अरु संसोधनवादी गद्दार गुटहरुलाई निषेध गरेको थियो’ (नेपाल कम्युनिष्ट पार्टी दस्तावेज सँग्रह – भाग ३, पृष्ठ १६)।

कोअर्डिनेशन केन्द्रको तीव्र यात्रा

दरभङ्गा प्लेनमले विवाद सुल्झ्याउन नसकेपछि र विश्व कम्युनिष्ट आन्दोलनको विभाजनका बाछिट्टाले नेपाली कम्युनिष्ट आन्दोलन १०–१२ वर्षसम्म अस्तव्यस्त र अंगभंग हुन पुग्यो। यस अवधिमा नेपालका कम्युनिष्ट आन्दोलनभित्र चिनीयाँ मार्गको संघर्षका अनुयायीहरु सशक्तरुपमा देखा परे। यसपछि यस मार्गको आधारमा आन्दोलनलाई एकत्रित र व्यवस्थित गर्न पटक–पटक सामुहिक तथा व्यक्तिगत प्रयाशहरु भए तर ती प्रयाशहरु नै अर्को समूह निर्माणका बैधताका कारण बन्न गए। ती मध्ये २०२८ मङसीर २० गते निर्माण गरिएको केन्द्रीय न्युक्लियसको आडमा मोहनविक्रम सिंहले २०३१ भाद्र ३० देखि असोज ७ सम्म ‘‘चौथो महाधिवेशन गरेर’’ एक समूह निर्माण गरे, जुन नेपाली कम्युनिष्ट आन्दोलनको एक जवर्दस्त धार बन्न पुग्यो। अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटि (कोके) ले त्यस चौम समूह लगायत नेपालका अन्य सबै कम्युनिष्ट समूहहरुलाई संसोधनवादी करार गर्दै तथा हालसम्म नेपालमा कम्युनिष्ट पार्टीको निर्माण नै हुन सकेको भन्दै नेपालमा एक क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने अपील जारी गरेको थियो।

– कोमल भट्टराई

कोकेको अपीलले विभिन्न समूहबाट असन्तुष्ट र अलग रहेका स्वतन्त्र व्यक्तिहरुलाई ‘झापाली स्पिरिट’को आधारमा आकर्षित र संगठित गर्न थाल्यो, जसमा पूर्वाञ्चल तथा राजधानीका कलेज र अन्य वाम विद्यार्थी तथा युवाहरु अत्यधिक थिए। तर, कोकेको अपील प्रचार हुनथालेको १० महिना नपुग्दै यसको ३ सदस्यीय पोलिट व्यूरोका सबै सदस्यहरु नै पक्राउ परे। यसका नेता रामचन्द्र यादव २०३२ पुषमा बिराटनगरबाट, सीपी मैनाली र को. के. सदस्य गोविन्द नेउपाने २०३२ माघ १७ मा झापाबाट र माधव कुमार नेपाल २०३२ माघ २९ मा धनुषाबाट पक्राउ परेका थिए। यसरी ८ सदस्यीय को.के.का पोलिट व्यूरोका ३ जना सबै र अन्य १  सदस्य गरी ४ सदस्यहरु पक्राउ पर्दा कोकेको अभियान संकटमा पर्न गएको थियो। यसपछि झलनाथ खनाल कार्यबाहक सचिव भएका थिए तर ती पनि ०३३ असोजमा गिरफ्तार भए। यसरी एकपछि अर्को नेताहरु पक्रा पर्दा यसको अभियानमा शिथिलता आउनु स्वभाविक थियो।

यस अवधिमा मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा चौथो महाधिवेशनको देशव्यापी विस्तार भइरहेको थियो तर पुष्पलाल समूहमा भने विभिन्न पैरोहरु गइरहेका थिए। रोहित, रुपलाल विश्वकर्मापछि मोदनाथ र जीवराज आस्रितको अगुवाइमा पुष्पलाल समूहमा अर्को विद्रोह भयो। यस विद्रोहका सदस्यहरुले नेपाल क्रान्तिकारी बुद्धिजीवी संगठन नामक एक समूह बनाए तथापी यिनीहरु मुक्तिमोर्चा पत्रिकासँग सम्बन्धित भएकाले ‘‘मुक्तिमोर्चा समूह’’ बाट परिचित भए।

पुष्पलाल समूहबाट भिन्न हुन यस समूहले २०३३ आषाढ १५ मा रुपन्देहीमा एक भेला गरेको थियो। त्यसपछि यसले मोहन विक्रमबाट छेडिएको अभियानमा सरिक हुँदै पुष्पलाललाई ‘‘गद्दार पुष्पलाल’’ भनि दुत्कार्न थाल्यो। त्यसबेलाको मुक्तिमोर्चा पत्रिकाले पुष्पलाल मृत्युशैयाँमा भएको अवधिमा समेत तिनका वैचारिक तथा राजनीतिक अडानबारे अतार्तिक र असान्दर्भिक निष्कृष्ट गाली गर्दथ्यो। त्यसका २ देखि ४ अंकहरुमा लेखिएका कुरामा त्यसका एक सदस्य मोदनाथ प्रश्रितले पश्चताप त गरेका छन्। तथापी पुष्पलाललाई लगाइएका आरोपहरु विर्सनै नसकिने र नहुने छन्। त्यसबेलाको मुक्तिमोर्चामा प्रकासित  उनकाबारे लेखिएका थिए ‘‘नेपालका गद्दार संसोधनवादीमध्ये पुष्पलाल, मनमोहन, रायमाझी, तुल्सीलाल, शम्भुराम र मोहनविक्रम आदि अगुवा हुन्। विशेषगरी पुष्पलालले … चेहरा बदल्दै क्रान्तिकारी … हरुलाई भ्रम र धोका दिदैं आएको छ। यो गद्दार क्रान्तिको … सबभन्दा ठूलो संसोधनवादी दुश्मन र जघन्य अपराधी हो। … नयाँ जनवादलाई व्यवहारमा लागू गर्ने प्रयाश जीवनमा पुष्पलालले कहिल्यै गरेन। … पुष्पलाल नेतृत्वको लोभी, पदलोलुप, पतित चरित्र भएको काँग्रेसी दलाल हो…। पुष्पलाल साह्रै नै अवसरवादी र षडयन्त्रकारी अधम योजना लिएर अघि बढेको थियो।  ऊ ने का ले बम आन्दोलन चलाउँदा त्यसको खुब गुणगान गर्थ्यो तर पार्टीभित्र कहिं पनि सशस्त्र संघर्षको कुरा गर्दा रिसले चुर हुन्थ्यो।  … यस्तो देखा पर्‍यो कि उसको नेतृत्वलाई समर्थन गर्ने एकजना पनि सक्रिय, पेशेवर र इमान्दार कार्यकर्ता बाँकी रहेन र आज ऊ दुधबाट माखो जस्तै क्रान्तिकारी कम्युनिष्ट र जनताको तीव्र घृणाको पात्र भएको छ (बालचन्द्र मिश्र २०५८ पृष्ठ ७६ देखि ८२)।

पुष्पलालसँगै मोहन विक्रमसँग बोली मिलाउनुको कारण त्यसबेला मुक्तिमोर्चा समूहले ‘चौथो महाधिवेशनमा संलग्न हुन प्रयाश गरेको थियो तर यी वीच कार्यक्रमिक र साँगठनिक व्यवस्थापनका विषयमा सहमत हुन सकेन। त्यसपछि उक्त समूह देशमा रहेका स्वतन्त्र व्यक्ति र समूहलाई गोलबन्द गर्ने प्रयत्नमा लाग्यो। त्यसै मेलोमा यसका एक सदस्य मदन भण्डारीले पूर्वमा रहेको रातो झण्डा समूहसँग वार्ता चलाए तर ती बीच एकता हुन सकेन (राजकुमार पोखरेल पीएचडी  पृष्ठ ७८)।

यसैताका चैत्र १२, २०३३ मा झापा विद्रोहका नेता चन्द्र प्रकाश मैनाली र अन्य नेताहरुसहित नक्खु जेलबाट भागे। नक्खु जेल ब्रेकका कारण झापा विद्रोह, त्यसमाथि भएको दमनबारे नेपाली राजनीतिमा चर्चाको विषय बन्न पुग्यो। यस चर्चासँगै सिपीको चमत्कारिक र रहस्यात्मक व्यक्तित्वको परिकल्पना गर्दै त्यसवेलाका युवा र विद्यार्थीहरु कोर्डिनेशन केन्द्र प्रति आकर्षित हुन थाले। खासगरी ०३४/३५ साल यसप्रतिको आकर्षणबाट कोके का युवा संगठकहरुले संगठनको सञ्जाललाई देशव्यापी तन्काउन सके। त्यसपछि भने पछि कम्युनिष्ट ध्रुवीकरणको एक तीव्र लहर उठ्न थाल्यो।

नक्खु जेल ब्रेकले नेपालको कम्युनिष्ट पार्टीको विस्तारमा निकै महत्व राख्यो र राख्दछ पनि। यस ब्रेकबाट उम्केका १५ जना मध्ये ५ जना पुनः पक्रा परे भने १० जना पक्राउ परेनन्। यसै मध्ये प्रदीप नेपाल एक थिए, जसले मुक्तिमोर्चा समूहसँग सम्बन्ध गाँस्दै सो समूहलाई कोकेमा प्रवेश गराए। भाद्र १४, २०३४ मा भएको मुक्ति मोर्चाको “एकता” भएको भनिएपनि यसका सबै सदस्यहरु कोर्डिनेशन केन्द्रमा विना शर्तमा प्रवेश भएका थिए। यसमा कोकेले समूहको प्रदर्शित गरेको अहकांरको दोष सीपीलाई लगाइयो। यस कुरालाई ०३९ सालमा सिपीलाई कारवाही गर्ने एक अदृश्य कारण बनेको थियो। तथापी यो “एकता” नेपालको छितरिएको कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने शुरुवाति आधार बन्यो। मुलुकको पूर्वमा मात्र रहेको कोर्डिनेशन केन्द्रको  संगठन पश्चिम र प्रवाशमा विस्तार भयो। त्यसपछि यो  संगठनको गुणनात्मक विस्तार हुन थाल्यो।

यो पनि पढ्नुहोस् –

भारतको नक्सली समूहहरुबीच चारु लाइनमा मतभिन्नता आउन थालेपछि, कोके संगठनभित्र पनि ‘‘वर्गशत्रु खतम लाइन’’ बारे प्रश्नहरु उठ्न थालेका थिए। तर, यसैबेला पूर्वको रातो झण्डाको एक नेताले संखुवासभामा २०३४ चैत्र २३ गते एक ‘‘वर्गशत्रु खतम’’ गरे। यस घटनालाई लिएर तत्कालिन सरकारमात्र चनाखो भएन कि, नेपाली कँग्रेसपक्षीय राष्ट्रपुकारले समेत ‘‘पूर्वी नेपालमा उग्रवादी पुनः सक्रिय’’ शिर्षक दिदैं ‘चन्द्रप्रकाश मैनाली समूह झापा, धनकुटा, कमला खोंच (सिराहा), धनुषा, उदयपुर र सिन्धुलीमा सक्रिय भइरहेको’ बतायो । तर, संखुवासभाको घटनाले पूर्वको रातो झण्डा समूहका सक्रिय सदस्यहरु र इकाइहरु कोर्डिनेशन केन्द्रसँग एकता गर्नुपर्ने अवस्था बन्यो।

रातो झण्डा समूहको पनि आफ्नै विगत थियो। आफ्ना नेता तथा सहकर्मीहरु धमाधम पञ्चायतमा प्रवेश गरेको हेरिरहेका र झापा विद्रोहलाई सूक्ष्मअवलोकन गरिरहेका कोशी अञ्चलका युवाहरुले ०३१ मा धनकुटामा रातो झण्डा समूह गठन गरेका थिए। र, यो समूहको सक्रियता र विस्तारले कोशी अञ्चलका पहाडी तथा तराइमा समेत समूहहरु निर्माण गरी रातो अञ्चल समिति बनाएको थियो। तथापी यसका नेता तथा सदस्य सबैजसो पूर्णकालिन थिएनन् र नेतृत्वको अभाव थियो। यस्तो परिस्थिति र कोकेको २०३५ श्रावण ४–९ को तेस्रो केन्द्रीय सम्मेलनले चारु लाइनलाई अस्वीकार गरिसकेको अवस्थामा २०३५ भाद्र २६ मा रातो झण्डा समूह कोकेमा मिसिन पुग्यो। रातो झण्डा समूहको प्रवेशबाट कोअर्डिनेशन केन्द्रले अर्धभूमिगत रहेर काम गर्ने मध्यमस्तरीय कार्यकर्ताहरु हासिल गर्‍यो। ती कार्यकर्ताहरु कोशी अंचलका जिल्लाहरुमा प्रभावशाली र सक्रिय थिए। जसमध्ये वासु शाक्य, चित्र निरौला, कुमार राई, हिमाल धन राई, गोपाल गुरागाइँ आदि थिए। 

यस अवधिसम्ममा कोकेले आफ्नो सञ्जाल पूर्व मेचीदेखि लुम्विनीसम्म विस्तार गरिसकेको थियो। तर सुदुरपश्चिमाञ्चलमा केही सम्पर्क व्यक्तिहरु भएपनि सँगठन बनाइहाल्ने अवस्था थिएन। यसैबीच २०३४ साल चैत्रमा नेत्रलाल अभागी, रोमहर्ष धिताल, शोभाराम बस्नेत लगायत केही सहकर्मीहरुले नेकपा चौथो महाधिवेशनबाट अलग हुने निर्णय लिए। जस्मा साहित्यिक तथा सामाजिक क्षेत्रमा संलग्न रहेका परिचित व्यक्तिहरु थिए। तिनीहरुले सन्देश नामक एक साहित्यक तथा राजनैतिक पत्रिका प्रकाशन गर्दथे । यसैकारण पछि यस समूहलाई सन्देश समूह भनियो। यो समूहका अगुवा नेत्रलाल पौडेल र अन्यमा रोमहर्ष धिताल, शोभाराम बस्नेतहरु थिए। यस समूहले करीव ९ महिनासम्म स्वतन्त्र रही आन्दोलनको समीक्षा गर्दै २०३५ साल मसिंर ११ मा कोकेसँग एकता गर्ने निर्णय लियो। सन्देश समूह एकिकृत हुने निर्णय अघि नै कोकेले पार्टी गठनका लागि राष्ट्रिय सम्मेलन बोलाइसकेको थियो। यसैबमोजिम २०३५ साल पौष ११–१७ सम्म जम्मा २५ जना प्रतिनिधि रहेको भेला नै कोकेको प्रथम राष्ट्रिय सम्मेलन भयो। जसले नेकपामाले गठन गर्नुका साथै यसको १० सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्‍यो।

सन्दर्भस्रोतः 

1.  Raj Kumar Pokhrel (Ph D); A Journey of the Communists of Nepal- Twenty three years’ History of the CPN-UML

२. सिपी मैनालीः अनलाइन खबर २०७५ भदौ ४, १६ः३९ मा प्रसारित सिपी मैनालीको संस्मरण

३. राधाकृष्ण मैनालीः नलेखिएको इतिहास, २०७३ (पहिलो संस्करण)

४. डा.  सुरेन्द्र केसीः  नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास (दोस्रो भाग)

५.  बालचन्द्र मिश्रः  झापा आन्दोलनदेखि एमाले विभाजनसम्म

६. पुष्पलाल स्मृति प्रतिष्ठानः  नेपाल कम्युनिष्ट पार्टी दस्तावेज सँग्रह- भाग ३

७.  वर्गसंघर्ष अंक ९: नेकपा मालेको केन्द्रीय कमिटि,  भदौ, २०३६ ।

(क्षमायाचनासिहत जानकारीः स्रोत सामग्रीहरुलाई व्यवस्थित क्रममा पुस्तकका रुपमा प्रकाशन गर्दा उल्लेख गरिनेछ।

 

Share97Tweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
कोमल भट्टराई

कोमल भट्टराई

लेखक समसामयिक राजनीति, समाज र जन-स्वास्थ्य सम्बन्धमा कलम चलाउछन्।

Related Posts

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

कम्युनिष्ट एकताको नेतृत्व एमालेले नै गर्नुपर्छ

by डा. सुरेन्द्र मानन्धर
July 1, 2022

संसदीय राजनीतिमा पार्टीहरूको चुनावी नतिजा तलमाथि हुनु स्वभाविक नै हो। तर यो स्थानीय निर्वाचन अबिघ नेकपा एमालेले आफू पहिलो पार्टी...

Auto Draft

कम्युनिष्ट नेताहरूले कम्तिमा सरल जीवनशैली अपनाऔँ

by nepal_readers
June 28, 2022

स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जित्नकै लागि मात्र जस्तोसुकै कदम पनि चालेको देखियो। दलहरू नैतिकता, मूल्य र जनतालाई दिने सेवाको...

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

प्रेमचन्दकी ‘पार्कमा निर्लज्ज सुतिरहेकी युवती’

by पूजा राठी
June 25, 2022

कल्पना गर्नुहोस् त, यदि तपाईँले कुनै पार्कमा एउटी युवती निस्फक्री र निर्धक्क सुतिरेहेको देख्नुभयो भने तपाईँको मनमा कस्तो विचार आउला?...

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

by संजय श्रमण
June 23, 2022

अघिल्लो सालको कुरा हो, कक्षा १२ मा टप गरेका मेरा मित्रको छोरासँग मेरो कुराकानी भइरहेको थियो। उ आफ्नो कुकुरलाई लिएर...

अबको विश्व संकट कसरी सामना गर्ने?

अबको विश्व संकट कसरी सामना गर्ने?

by मौरिसिओ कार्डेनस
June 22, 2022

कोभिड–१९ को महामारी भोगिरहेको विश्वले फेरि अर्को संकटको सामना गर्नु नपर्ला भन्ने छैन। जलवायु परिवर्तन तथा बढ्दो तापक्रमका कारण हाम्रो...

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

फेरि पनि ओलीजी र प्रचण्डजीहरूकै नेतृत्वमा एकता हुन्छ भन्ने लाग्दैन

by हेमराज भण्डारी
June 22, 2022

गठबन्धनको अपेक्षाअनुसारको निर्वाचन परिणाम आएन। गठबन्धन गरिएका ठाउँमा क्रस चुनाव चिन्हका कारणले धेरै भोट बदर पनि भए। धेरै मात्रामा भोट...

Recommended

वाङ्मय शताब्दी पुरुष सत्यमोहनलाई सम्मान, रथयात्रा र रातो कार्पेट

5 years ago
देउताले किन अपराध रोक्न सक्दैनन् ?

देउताले किन अपराध रोक्न सक्दैनन् ?

4 months ago

Connect with us

Popular Post

  • मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    मदन भण्डारीको त्यो व्याख्यालाई पनि यिनीहरूले फालिदिए

    0 shares
    Share 0 Tweet 0
  • मार्क्सवादको सान्दर्भिकता घटेको हैन, झनै बढेको छ

    0 shares
    Share 0 Tweet 0
  • पढ्ने विज्ञान, पुज्ने ‘उडुवा घोडा’

    0 shares
    Share 0 Tweet 0
  • ‘तन्नेरी शरीरमा गाँसिएका बुढा टाउकोहरू’ले यो आन्दोलनलाई लैजान सक्दैनन्

    0 shares
    Share 0 Tweet 0
  • नेपालका वामपन्थीहरू एकताबद्ध हुनुपर्छ, यो राष्ट्रिय आवश्यकता हो

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In