नेपाली राजनीतिक शक्तिको संरचना तीनवटा शक्तिहरूले बनेको छ। एक : वामपन्थीहरू, जो कम्युनिष्ट नामले चिनिन्छन्। दोस्रो, दक्षिणपन्थी शक्तिका रूपमा चिनिने पुरातनपन्थीहरू र तेस्रो, प्रजातान्त्रिक तथा मध्यपन्थी शक्तिका रूपमा चिनिएको नेपाली काँग्रेस। यी तीनवटा शक्तिहरूको अन्तरसम्बन्धले नेपाली राजनीतिको दिशा निर्धारण हुन्छ। यी तीन शक्तिहरूको रस्साकस्सी कस्तो हुन्छ भन्ने कुराकानीले नेपाली राजनीतिको भविष्य निर्धारण गर्ने गरेको छ। वि.सं. २००७ सालपछिको कोर्सलाई हेर्ने हो भने यही देखिन्छ। त्यो सन्तुलन कायम राख्नका लागि यी शक्तिहरूबीचको आपसी सम्बन्ध कस्तो छ भन्ने बुझ्नुपर्छ। त्यसमध्ये यी शक्तिमध्ये कुनै एउटा कमजोर भयो भने यो अर्को दिशातिर गइहाल्छ। वामपन्थी शक्ति कमजोर भयो भने दक्षिणपन्थी र मध्यपन्थीबीचको एकताले अर्को रूप लिन्छ। वामपन्थी बलियो भयो भने मध्यपन्थी शक्ति पनि अलिकति सेन्टर टु लेफ्ट आउनुपर्ने हुन्छ।
वामपन्थी फुट्दा दक्षिणपन्थी शक्तिलाई खुदो
अहिले खासगरि कम्युनिष्ट आन्दोलनमा दुई समानान्तर वामपन्थी शक्तिहरू देखिन्छन्। यद्यपि, सानातिना अरु घटकहरू पनि छँदैछन्। नेकपा एमाले र नेकपा माओवादी दुईवटा समानान्तर शक्तिका रूपमा विकास भएका छन्। यि कम्युनिष्टहरूको सम्बन्ध र एकताचाहिँ भएकै राम्रो हुन्थ्यो। अन्य विद्यमान शक्तिहरूको सम्बन्धलाई हेर्दाखेरि वामपन्थीहरू एकतावद्व हुँदा यिनीहरूको पोजिसन पनि राम्रो हुने र सामाजिक तथा राजनीतिक प्रभावहरू पनि राम्रो हुने थियो। र, विभाजन फराकिलो भए या वेमेल बढ्दै जाँदा मध्यवर्ती तथा दक्षिणपन्थी शक्तिहरूलाई खुदो पल्टिने स्थिति छ।
गएको निर्वाचनमा वामपन्थीहरूको एकता हुनेबित्तिकै त्यसको परिणामस्वरूप झण्डैझण्डै दुई तिहाई जनमत संसदमा उपस्थित देखियो। नेकपा एमाले र नेकपा माओवादीको एकता हुनेबित्तिकै त्यसको सिनर्जिक (सहयोगात्मक) प्रभाव देखियो। अथवा २ र २ जोड्दा सामान्य अवस्थामा ४ हुन्थ्यो। तर एकताले ४ भन्दा बढी परिणाम देखियो। तर नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपालाई धान्न नसकेर आज हामीले विभाजनको दिन देख्नुपरेको छ। र, चरम कटु सम्बन्धको अवस्थामा यी दुई वामशक्तिहरू रहेका छन्।
वामपन्थी नेतृत्वमा अहम् र लिप्सा हावी भएका कारणले नै वास्तवमा आन्दोलन विभाजन भयो भन्ने मेरो आँकलन छ। नेकपाको विभाजन हेर्दा नेतृत्व तहमा रहेका यी दुई दुर्गुण नै पार्टी विभाजनमा जिम्मेवार रहेको छ। एउटाको दम्भ, अहम् र अर्काको सत्तालिप्साको टकराव नै अन्ततः पार्टी विभाजनसम्म पुग्यो भन्ने लाग्छ। सँगसँगै, वाम आन्दोलन आज भित्रभित्रै वृहत आत्मसमिक्षाको कोर्सबाट गुर्जिरहेको छ। योचाहिँ सुखद लक्षण पनि हो। हिजो जुन मूल्य प्रणाली र पद्वतीमा पार्टीलाई सञ्चालन गर्ने गरिएको थियो, त्यो प्रणालि आज नाकाम सावित भएको छ। अतः हाम्रा पद्वतिमा रहेका दोषहरूका बारेमा हामीले अब गम्भीर समिक्षा गर्नुपर्छ। यो आन्दोलनले के राम्रा काम गरे, के नराम्रा काम गरे, कहाँकहाँ कमी भयो? अब खोजिनीति हुन जरुरी छ।
त्यसका लागि नेतृत्वमा रहेका दुई प्रवृत्तिबारे मैले कुरा गरेँ। तर पद्वतिको कुरा गर्ने हो भने योचाहिँ निकै अति केन्द्रित संरचना भयो। हामीले निर्माण गरेको कम्युनिष्ट आन्दोलन आज मुखिया र कारिन्दाको सम्बन्धमा सिमित हुनथाल्यो। पार्टीमा सामूहिक इच्छा शक्तिलाई अभिव्यक्त गर्ने वर्गीय भावना, केन्द्रित ढाँचाबाट शासन गर्ने संस्थागत परिपाटीबाट विकाश गर्यौँ। त्यसमा हामीले पुनःविचार गर्नुपर्छ। निर्णय प्रक्रियालाई संस्थागत ढंगले छलफल गर्ने, माथिको निर्णय तल झार्ने होइन कि तलबाट छलफल गर्दै निर्णय गर्ने तथा सामूहिक इच्छाशक्तिलाई मिसनसँग संगति राख्ने खालको संरचना पार्टीमा बनाउन आवश्यक छ।
शक्ति : बाई हुक ओर् बाइ क्रुक
पार्टीभित्र असहिष्णुता र नेतृत्वलाई तुष्टिकरण गर्ने संरचनाहरू बने। पार्टीको मिसन भनेको वाइयात कुरा हो भन्ने भाष्य बलियो बन्दै गयो पार्टीभित्र। सिद्वान्त र वर्ग पक्षधरताका कुरा बेकार हुन् भन्ने मान्यता बलियो भयो। मुख्य कुरा शक्ति हो र जसरी भएपनि शक्ति आर्जन गर्नुपर्छ भन्ने मान्यताले गर्दा आज पार्टीमा संकट आएको छ। बाई हुक या बाई क्रुक शक्ति प्राप्ति गर्ने संस्कृति विकास भएको छ। जो सत्तामा पुग्यो, उसले आफूलाई अधिनायक ठान्यो। तलका कार्यकर्ताचाहिँ चाकरीबाट फुली प्राप्त गर्ने कोसिसमा हिँडे, अहिले पनि हिँड्दैछन्। तर कम्युनिष्ट आन्दोलन भनेको त क्रिटिकल मानिसहरूको समूह पो हो त! विचारमा संगती राख्ने मानिसहरूको अभियान पो हो त !
अनि हामीहरूबीच त अहिले धेरै नै असहिष्णुता देखियो। त्यसकै परिणास्वरूप कम्युनिष्ट सत्ता नै ढल्यो। हामी त अहिले ३–४ टुक्रा भइसक्यौँ। तर यति हुँदा पनि कोही बौरेका छैनन्। बरु ‘चुनाबमा जित्ने हामी नै हौँ’ भनेर हुंकार गरेर हिँडिरहेका छौँ। तर यो ख्याली पुलाउ हो। हामी ४६ सालअघि सत्ता–फ्याक्टर अर्थात् पावर र प्रिभिलेजभन्दा पर थियौँ। २०४६ सालपछि सत्ता हाम्रा अगाडि मेनकाझैँ नाच्न थालिन्। मेनकाको छमछम नृत्यमा हामी भुल्न थाल्यौँ। हामी सत्ताबाट सम्मोहित र लठ्ठ भयौँ। सत्तारूपी मेनकासँग अँगालो हालेर नाच्न पाइयो भने त झनै मजा होला भनेर जुट्न थाल्यौँ। तर सत्ताको तामस हुँदोरहेछ। महाभारतमा उल्लेखित कौरब र धृतराष्टका कथाहरूले पनि यस्तै बताउँछन्। अहिले महाभारतमा उल्लेख त्यस्ता दुर्गुणहरू हाम्रा संरचनाहरूमा समेत प्रकट भएका छन्। र, यसलाई सामान्यीकरण गर्ने चलन बढेको छ।
मलाई केही पहिले साथीहरूले भन्नुभयो, ‘टंकजी, तपाईँले राजनीति गर्न जान्नुभएन।’ नेतृत्वलाई मैले तुष्टिकरण र चाप्लुसी नगरकोतर्फ उनीहरूको संकेत थियो। ‘मूल्यमा बसिस.् कि बसिनस्’ होइन, ‘तैँले तुष्टिकरण गर्ने कला जानिनस्’ भन्ने उनीहरूको चासो थियो। मोहनचन्द्र अधिकारीलगायतका अन्य कमरेडहरूलाई पनि यस्तै प्रश्नहरू सोधिँदा हुन्। केपी ओलीलाई राजनीतिमा हात समातेर डोहोर्याउने मोहनचन्द्र अधिकारी आज कहाँ छन्? यसको अर्थ आज केपी ओलीले लगाएको फुली मोहचन्द्रले नै लगाउनुपर्छ भनेको होइन मैले। मेरो मतलव हो, हामी कहीँ चुकेका छौँ, हाम्रो प्रणालीमा केही गम्भीर त्रुटी भएको छ। पार्टी संचालनको हाम्रो प्रणाली संकटमा परेको छ।
टाउकोमात्रै मिलेर हुँदैन
हामीले यो पनि बुझ्यौँ कि संकट ल्याउने जुन कारणहरू छन्, ती कारणलाई नै नामेट नगरिकन माथिमाथि टाउका–टाउका मिलेर एकता गर्दा पार्टी एकता हुँदो रहेनछ। त्यसले परिणाम दिँदो रहेनछ। त्यो कुरा त प्रमाणित भइसकेको छ। र, अहिले नेताहरूका कुराकानी हेर्नुहुन्छ भने सबै नेताहरूमा एउटा प्रवृत्ति देखिन्छ। आन्दोलनको ठेक्काचाहिँ कुनै व्यक्ति विशेषले लिएको ठान्नुहुन्छ उहाँहरू। आफ्नो इच्छा, आकांक्षा, सदिच्छा र आफ्नो शक्तिमा पार्टी चल्यो भने ठीक, नत्र भने सबैकुरा बेठीक। यस्तो आत्मकेन्द्रित सोच हाम्रा नेताहरूमा व्याप्त छ। ‘म अधिनायक होइनँ, वारिसमात्रै हुँ’ भन्ने चेत हाम्रा नेताहरूमा जबसम्म आउँदैन या उहाँहरूलाई त्यसो गर्न वाध्य पारिँदैन, तबसम्म यो आन्दोलनको कोर्स करेक्सन हुने दिशामा जान्छजस्तो लाग्दैन।
हिजोको आफ्नो अडान, विचार र मिसनबाट आज हाम्रा नेताहरू क्रमसः चिप्लँदै गएको देखिन्छ। हिजो सोभियत कम्युनिष्ट पार्टीभित्रै गोर्बाचोभ र यल्तसिनहरू जन्मिएका होइनन् र? हिजो आन्दोलनमा लडेभिडेकाहरू एउटा आदर्श र सपना लिएर हिँडेका थिए। तर आज ती मानिसहरूलाई समेत लखेटेर, दरकिनारा लगाएर हामी कस्ता मान्छेहरूलाई आन्दोलनमा भित्र्याउँदै छौँ?
अर्को कुरा, निर्णय गर्नका लागि उपयुक्त संरचना पनि चाहियो हामीलाई। उदाहरणका लागि भनौँ, सोभियत कम्युनिष्ट पार्टीको ७० वर्षको जीवनमा लगभग ३७ सय केन्द्रीय कमिटी सदस्यहरू बनेका थिए, त्यो पनि पूर्ण केन्द्रीय समिती सदस्य र वैकल्पिक केन्द्रीय सदस्य गरेर। त्यति ठूलो मुलुकको ७० वर्षको कालखण्डमा जम्मा त्यति केन्द्रीय सदस्यहरू बने। तर हाम्रो आन्दोलनमा कुनै बेला ४ हजारको समेत केन्द्रीय कमिटी बनाइयो। त्यसो भएपछि निर्णय गर्ने र सामूहिक छलफल गर्ने खालको बलियो र सामूहिक संरचनै रहेन हामीसँग। केबल औपचारिक संगठनमा सिमित भयो हाम्रो पार्टी।
र, हामीले अल्लि गहिरिएर हेर्यौँ भने पार्टीभित्रै पार्टीका अभ्यासहरू भइरहेका छन् हाम्रोमा। यस्तो अवस्थामा पनि बदलाव ल्याउनुपर्छ। हाम्रोमा अहिले पनि ३०० या ४०० जनाको केन्द्रीय कमिटी छ। त्यसो हुँदा ‘२ दिनपछि मिटिङ छ’ भनेर बोलायो, न एजेण्डा बाँडिन्छ, न छलफल नै गराइन्छ। बैठकमा गएपछि एकाध सदस्यले मात्रै एकाध मिनेट बोल्ने या बोल्नै नपाइने अवस्था छ। त्यसो हुँदा केन्द्रीय कमिटीको बैठकमा गम्भीर छलफल नै नहुने अवस्था छ। हामीसँग भएका अनेकौँ एजेण्डाहरूमा त्यति धेरै केन्द्रीय समितिका सदस्यहरूले गम्भीर छलफल गर्ने हो भने कति महिना लाग्ला? अनुमान गरौँ त।
त्यसो हुँदा हाम्रा केन्द्रीय कमिटीहरू प्रतिनिधित्वमूलक संस्थाका रूपमा पनि रहेनन्। देख्दाखेरि चाहिँ लोकतन्त्रको पोस्चरमा ठूलो संरचनाजस्तो देखियो तर निर्णय प्रक्रियाचाहिँ एकदमै केन्द्रिकृत भयो। जसका कारण हामी हाम्रो मिसन, जनतासँगको सम्बन्ध, वर्ग पक्षधरता, हाम्रा कार्यक्रम र योजनासँग तालमेल खाने अवस्थै रहेन। र, यस्तो तरिकाबाट बन्ने संरचना कसरी लोकतान्त्रिक हुन्छः? यो त सामन्ती समाजको अभिव्यक्ति हो। सामन्ती समाजमा राजामहाराजाहरूले एकल निर्णय गर्थे। अरु सबै भाइभारदार र रैतीहरूले राजाको निर्णयको अनुपालन गरेर जान्थे। हामीकहाँ त्यही अभ्यास हुन थालेको छ।
दलीय भावना हरायो
दलहरूभित्र अहिले दलीय भावना नै हराएको छ। ओली, प्रचण्ड, माधव वा शेरबहादुरले निर्णय गरिसकेपछि सकियो, अरुले केही पनि गर्न नपर्ने अभ्यास चलिरहेको छ। पार्टीभित्र त अनेकौँ विचारहरू हुन्छन्, ती विचारहरूबीच सम्वाद भएर एउटा निश्कर्षमा पुग्दा पो त्यो जीवन्त पार्टी बन्छ। एउटाले फर्मान जारी गरेर अरु लुरुलुरु हिँड्ने परिपाटी त लोकतान्त्रिक हुनै सक्दैन। अझ त्यो कम्युनिस्ट पार्टी त हुनै सक्दैन। तर पार्टीभित्र फरक मत राख्नेबितिक्कै शत्रुतापूर्ण व्यवहार गर्ने र पार्टी प्रक्रियाबाटै बाहिर पार्ने कुरा त हाम्रै जीवनकालमा भोग्दै आएका छौं हामीले।
र, यस्तो तरिका गलत छ भनेर हामी निरन्तर पार्टीभित्र अन्तरसंघर्ष गरिरहेका छौँ। सोभियत संघको दुर्घटनापछि, भारतमै पनि कम्युनिस्ट आन्दोलनका दुर्घटनाहरू देखेका छौँ हामीले। तर दुखको कुरो, हामी युद्धकालीन वा स्टालिनकालिन सांगठनिक अभ्यासभन्दा माथि उठ्न सकेका छैनौं। सामान्य सामाजिक परिस्थितिमा कम्युनिस्ट पार्टी कस्तो हुनुपर्ने, कस्तो सांगठनिक अभ्यास अपनाइनुपर्ने भन्ने विषयमा हामी गतिशील हुन सकेनौँ। यो नै आजको हाम्रो कम्युनिस्ट आन्दोलनको समस्या हो।
मैले कम्युनिस्ट आन्दोलनको कुरा गर्दामात्रै ओली वा प्रचण्डहरूको कुरा गरिरहेको छैन, बरु समग्र वामपन्थी शक्तिहरूको कुरा गरिहेको छु। यिनीहरूलाई आफूहरूबीचको भिन्नतालाई कम गर्दै न्युनतम साझा कार्यक्रम तयार गरेर सँगै अघि बढ्न कुन सिद्धान्त र कार्यदिशाले रोकेको छ? कम्युनिष्ट भनिने यी पार्टीहरूबीच सिद्धान्त, विचार र कार्यदिशा एउटै छ। समस्या छ भने व्यक्तिगत इगो, कुण्ठा, रिस र आग्रहमात्रै हो। आन्दोलनमा यस्ता व्यक्तिगत कुण्ठा, इगो र आग्रहको कुनै स्थान र मूल्य हुँदैन। किनकि, यस्तो कुण्ठा र इगोले आन्दोलनलाई सत्यानासमात्रै गराउँछ। साथै, त्यसमाथि हामीले हस्तक्षेप गर्ने खालको आन्तरिक शक्ति निर्माण गर्न नसक्दा पनि अहिले त्यस्ता नीजि मामिलाहरूले स्थान पाइरहेका छन्। पार्टीभित्र आलोचनात्मक मतहरूलाई स्थान दिने अभ्यास नहुँदा पनि आजको समस्या झेल्नुपरिरहेको छ।
आत्मघाति बाटो
अहिले कम्युनिस्ट आन्दोलनभित्र जुन खालका व्यक्तिगत समस्याहरूलाई पार्टीको समस्या वा आन्दोलनको समस्याका रुपमा देखाएर विभाजन र गालीगलौजमा उत्रिएकाहरू छन्, यो आत्मघाति बाटो हो। नत्र, आ–आफ्ना कमजोरी स्वीकार गरेर सँगै अघि बढ्नसक्नुपर्छ। हिजो ०७४ को चुनावको बेलामा पनि माओवादी काँग्रेससँगको गठबन्धन सरकारमा थियो, तर पनि प्रतिपक्षी एमालेसँग पार्टी एकता गर्ने घोषणासहित चुनाबी तालमेल गरेर लडेका थियौँ। त्यसो गर्न आज किन असम्भव?
यदि नेतृत्वले आफ्ना कमजोरीहरूमाथि निर्मम समीक्षा गरेर व्यक्तिका नीजि कुराहरूलाई ध्यान नदिईकन आन्दोलन र समाजको विकासका लागि सोच्ने हो भने त आज पनि त्यो सम्भावना छ। त्यसो नगर्ने हो भने हामीलाई शंका छ कि नेतृत्वको अहम्को वशमा परेर मात्रै यसो भइराखेको छ या बाह्यशक्तिको दबाबमा परेर यसो गरिराखेको छ। यदि यो कुरा नेतृत्वको नीजि मामिला मात्रै होइन भने आन्दोलनलाई स्वयम् नेतृत्वले बाह्यशक्तिको षड्यन्त्रको शिकार बनाउँदैछ। किनकि, आज नेपालमा कम्युनिस्ट आन्दोलन जुन उर्वरतामा उभिएको छ, त्यसलाई समाप्त पार्ने ठूलो षड्यन्त्र समेत भइरहेको छ। त्यसकारण आज कतै स्वयम् नेतृत्व नै हाम्रो आन्दोलन समाप्त पार्ने शिखण्डी त बनिरहेको छैन? यो गम्भीर प्रश्न इतिहासमा उठ्नेछ। यदि त्यसो हो भने यो आन्दोलनको नेतृत्व इतिहासको कठघरामा उभिनुपर्नेछ ।
कम्युनिस्ट आन्दोलनमा भिन्नताहरू हिजो पनि थिए तर आजको हदसम्मको तिक्तता थिएन। किनकि विचारमा भिन्नता भएपनि आन्दोलनका ध्येय र मिसनप्रति विश्वास थियो। तर आज त्यो विश्वास स्खलित हुँदै गएको छ। व्यक्तिगत स्वार्थ, महत्वकांक्षा, रिस, र कुण्ठाहरू हावी भएका छन्। यो बिल्कुलै गलत बाटो हो। नेतृत्वको नीजि मामिलाका कारण आन्दोलन समाप्तिको बाटोमा जाँदैछ र सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूले सोच्नुपर्ने बेला आएको छ। अब कार्यकर्ताहरू नेताको रबरस्ट्याम्प बन्नु हुँदैन। यदि नेताका कारणले विभाजन भएको छ भने अब पार्टीबीचको एकता पनि कार्यकर्ताकै तहबाट गर्नेबेला आएको छ। यदि त्यसो हुन सकेन भने यसले निम्त्याउने दुष्परिणाम सामान्य हुनेछैन।
बोराका कुहिएका आलु
र, अहिले नेताहरूले ‘मेरो बोराको आलु सद्धे छ, अरुको बोराको आलु कुहिएका छन्’ भनेर जसरी कम्युनिस्ट जनमतलाई नै विभाजित गरिरहेका छन्, एकअर्कालाई गालीगलौज गरेर जनतालाई दिग्भ्रमित गरिरहेका छन्, यो नेतृत्वले यसको महंगो मूल्य चुकाउनुपर्नेछ। यिनीहरूको झगडाकै कारण हिजो कम्युनिष्टलाई मत दिएका जनता आज एकदमै तीतो अनुभव गरिरहेका छन्। त्यसको हिसाबकिताब चाँडै चुक्ता पनि होला। जनताकै मतले किनारामा पुगेको काँगे्रस आज सत्ताको केन्द्रमा छ, बिरालाको झगडामा बाँदरले रोटी बाँडेकोजस्तो भएको छ। तरपनि कम्युनिष्टहरू आज एकअर्कालाई सिध्याउन लागिपरेका छन्। यिनीहरू एकले अर्कालाई हराएर/सिध्याएर जित्छु भन्ने जुन भ्रमको खेती गरिरहेकाहरू छन्, त्यसले अन्ततः तिनीहरू स्वयम् हार्ने/सिद्धिने छन्।
अब तल्लो तहबाटै आत्मसमीक्षा गरेर, हिजोका गल्ती कमजोरीहरूमाथि निर्मम समीक्षा गरेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बेला आएको छ। फेरि दोहोर्याउँ, यदि नेतृत्व तह आफ्ना कमजोरी र गल्तीहरूमाथि आत्मसमीक्षा र सुधार गर्न तयार भएनन् भने अब कार्यकर्ताको तहबाट नै समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले व्यापक पूर्नजीवनका लागि अघि बढ्नुपर्छ। किनकि, कम्युनिष्ट आन्दोलन कुनै नेताको नीजि कुण्ठाको बन्धक बन्न सक्दैन। त्यसैले कम्युनिष्ट एकता अब नेताको तहबाट मात्रै होइन, तल्लो तहका कार्यकर्ताबाटै गर्नुपर्दछ। त्यसो गर्न सम्भव छ र त्यो नै दिगो बाटो हुन्छ। किनकि, हिजो विभाजनअघि नेकपा कालमा हामीले माओवादी धाराका कमरेडहरूसँग काम गर्दाको अनुभवले भन्छ कि माओवादीभित्र पनि वामपन्थ, वैचारिकता र कमरेडपना बलियो छ। त्यसरी नै एमाले धारामा पनि त्यो खालका वैचारिक धारबीच सहकार्य बलियो हुनसक्यो भने कम्युनिष्ट एकता दिगो हुनेछ।
नेपाल रिडर्सका लागि एमाले नेता कार्कीसँग प्रकाश अजातसँग गरेको कुराकानीमा आधारित।
यो पनि पढ्नुहोस् –
०७४ को जनमतले वाम एकता सही थियो भन्ने प्रमाणित गरिसकेको छ
कम्युनिष्ट एकताः कति सम्भव कति असम्भव?