स्थानीय तहको निर्वाचनमा जुन परिणाम आयो, त्यसमा म सन्तुष्ट छैन। जति हुनुपथ्र्यो त्यति हुन सकेन। नेपालको राष्ट्रिय राजनीतिमा गएको ३ वर्षयता वामपन्थी आन्दोलनभित्र एउटा ठूलो आँधीबेहरी सिर्जना भयो। नेपालको वामपन्थी आन्दोलनका पक्षधरहरू, यसका समर्थक र शुभचिन्तकहरूको लामो समयदेखिको चाहना अनुरुप भएको कम्युनिष्ट पार्टीहरूबीचको एकतालाई हामीले जोगाउन सकेनौँ। त्यो विभाजित भयो।
त्यसपछि आम कार्यकर्ता पंक्तिभित्र, खासगरि एमालेको आन्तरिक एकता बाँचिराख्नुपर्छ र यसलाई पुनः विभाजित हुन दिनुहुँदैन भन्ने अपेक्षा थियो। त्यो पनि पूरा हुन सकेन। नेकपा एमाले पनि विभाजित भयो। यसले चाहिँ नेपालको वामपन्थी पक्षधरहरू बीचमा एकप्रकारको निराशापन छायो। नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि वापपन्थीहरूसँग नेपाली जनता र समाजवादका पक्षधरहरूले उठाएका अपेक्षाहरू पूरा हुन्छन् भन्ने विश्वास पैदा भएको थियो। तर, त्यसमा ठूलो ठेस पुग्यो र पुगिरहेको छ।
त्यसयता चुनावसम्म आइपुग्दा स्वयम् वामपन्थी भनिएका, वामपन्थी विचार राख्ने, कम्युनिष्ट पार्टीको नाममा संगठित भएका, हिजो स्वयम् नेकपा भित्र आवद्ध भएका माओवादी केन्द्र र एमालेभित्र आवद्ध भएको एउटा टिमले तत्कालिन प्रतिपक्षी दल नेपाली कांग्रेससँग गठबन्धन गर्न पुगे। यी पाँच राजनीतिक दलहरू संगठित रुपमा अघि बढे र त्यसको साथमा दृश्य/अदृश्य धेरै शक्तिहरू र भित्र/बाहिरका शक्तिहरू समेत त्यसमा संगठित हुन पुगे। तिनीहरूको एउटै मात्र मुख्य उद्देश्य चुनाव जित्ने भन्दा पनि एमालेलाई हराउने नै रह्यो।
त्यस्तो परिस्थितिमा हामी चुनावमा गएका थियौँ। त्यस विकसित परिस्थितिको आधारमा हेर्ने हो भने हामीलाई प्राप्त भएको मत धेरै हो। तर हाम्रो जुन अपेक्षा थियो र आज नेपालमा जुन एउटा विद्यमान वामपन्थी जनमत छ, त्यस हिसाबले हेर्ने हो भने यो मतपरिणाम एमालेको अपेक्षा अनुसारचाहिँ भएन। यसभित्र एउटा ठूलो राजनीतिक कारण छ। यसभित्र गठबन्धन एउटा कारण हो र कम्युनिष्ट आन्दोलनभित्र आएको विग्रह चाहिँ अर्को कारण हो।
को जिम्मेवार ?
यसो हुनुमा हामी सबैको जिम्मेवारी छ। एउटा व्यक्तिले मात्रै चाहेर विभाजन हुने वा एउटाले मात्रै चाहेर एकताबद्ध हुने होइन। कम्युनिष्ट आन्दोलनभित्र लामो समयदेखि सैद्धान्तिक र वैचारिक बहस कम हुन थालेको थियो। पार्टीभित्र केवल चुनावदेखि चुनावसम्मको प्रवृत्ति विकसित भइरहेको थियो। पार्टीभित्र कार्यकर्ताको मूल्यांकन र व्यवस्थापनजस्ता कामहरूमा कमी आइरहेको थियो। खासगरी पार्टीमा पार्टीले अवलम्बन गरेको विधान कार्यान्वयन गर्ने, संस्थागत जीवन प्रणाली लागु हुने र पार्टीभित्र सामूहिकतालाई स्थापित गर्ने जस्ता मान्यताहरू खण्डित हुँदै गइरहेका थिए। त्यसले गर्दा एकातिर आन्दोलनमा लामो समयदेखि काम गरेको र लामो जीवन यसका लागि समर्पण गरेका मान्छेहरूमा एकप्रकारको निराशापन देखिएको थियो।
पछिल्लो समयसम्म आइपुग्दा, ०४६ सालको आन्दोलनमा वा त्यो वरिपरि वा जो पञ्चायतदेखि संघर्षमा लागेका थिए र त्यसपछिका आन्दोलनमा लागेका तर पार्टीमा संगठित नभएका वा संगठित भएका पुस्तामा पनि निराशा आउनु स्वभाविक थियो। यो हिसाबले हेर्दा सिंगो कम्युनिष्ट आन्दोलनभित्र उत्पन्न भएका विकृति र विसंगतिहरू, अवसरवाद, संगठनात्मक अराजकता र सिंगो देश तथा सिंगो लोकतान्त्रिक प्रणालीमा देखा परेका चुनावदेखि चुनावसम्मको प्रवृत्ति, राजनीतिमा भएको अपराधीकरण र अपराधको राजनीतिकरण झाँगिदै जाँदा कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने कुरामा समस्याहरू देखिए।
कम्युनिष्ट आन्दोलनलाई अझ बलियो बनाउने, लोकतन्त्रलाई अझ पारदर्शी बनाउने, प्रणालीमा रुपान्तरणको प्रयत्नहरू गर्ने, निर्वाचन प्रणाली स्वयम्मा देखा परेका समस्याहरू समाधान गर्नका लागि प्रणालीमा रुपान्तरण गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा थियो। तर, हामी स्वयम् राज्य सञ्चालनको तहमा रहँदा गरेका कामलाई पार्टीभित्र गहन समीक्षा र मूल्यांकन गर्दै ठोस निस्कर्ष निकालेर त्यसका आधारमा अगाडि बढ्नुपर्ने जस्ता विषयमा उत्पन्न भएका जेजस्ता क्रिया प्रतिक्रियाहरू, असन्तुष्टि, आलोचना र सुझावहरू प्रकट भए, तिनलाई हामीले समयमै तदनुरुप सम्बोधन गर्न समेत सकिरहेका थिएनौँ। यी सबै कुराले यो चुनावमा अर्थ राख्यो। र, त्यसअनुरुप मतदान भयो र आज यो परिणाममा हामी छौँ।
समीक्षा गर्ने विषयहरू
पार्टीको केन्द्रीय कमिटीमा यो निर्वाचन सम्बन्धी चार पाँचवटा विषयमा केन्द्रित रहेर यसको समीक्षा हुनुपर्छ। त्यसभित्र निर्वाचनमा भएको भनिएको अन्तरघातको पाटोलाई पनि एउटा बुँदामा राख्नुपर्छ। यस्तै गएको प्रदेश र संघीय संसदको निर्वाचनमा हामी जुन घोषणापत्र र प्रतिबद्धताका साथ गएका थियौँ र जनताले जुन विश्वासका साथ हामीलाई मत दिएका थिए, त्यसलाई सम्बोधन गर्न सक्यौँ वा सकेनौँ भन्ने कुरा त्यो भन्दा महत्वपूर्ण विषय हो।
हाम्रो मूल मुद्दा होः स्थिरता र लोकतन्त्र। यी दुई वटैको सुनिश्चितता हाम्रो एजेण्डा थियो। त्यो निर्वाचनमा हामीले प्राप्त गरेको सफलतापछि त्यही प्रतिबद्धता बमोजिम पार्टी एकता गर्यौँ र देशमा एउटा सबैभन्दा ठूलो विशाल नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्यो। त्यो नेकपाको नेतृत्वको सरकारले देश र जनतासँग गरेको प्रतिबद्धता बमोजिमको लोकतन्त्र र स्थिरताको सुनिश्चितता गर्ने काम यो ५ वर्षमा किन पूरा गर्न सकेन? र, उल्टै हामी विभाजनमा किन पुग्यौँ? यो एउटा समीक्षाको पाटो हो। यो चुनावसँग सम्बन्धित रहेर एउटा बहस गर्नुपर्ने छ।
दोस्रो, हामीले नेकपा एमालेको एकतालाई किन जोगाउन सकेनौँ भन्ने विषयलाई पनि यो चुनावको परिणामसँग सम्बन्धित रहेर छलफल गर्नुपर्छ। तेस्रो, यो चुनावमा हामीले घोषणापत्रमार्फत जनतासँग गरेको प्रतिबद्धताहरू (केन्द्रीय घोषणापत्र, पालिका, प्रदेश र वडाले जारी गरेका प्रतिबद्धताहरू) लाई जनतासमक्ष कति लैजान सक्यौँ भन्ने कुरा पनि अर्को छलफलको विषय हो। ती प्रतिबद्धताहरूलाई जनताले सहज रुपले ग्रहण गर्ने वा त्यसप्रतिको विश्वास गर्ने तहमा हामीले गर्ने प्रचार र कार्यकर्ताको व्यवस्थापनलगायतमा पनि हामीले समीक्षा र छलफल गर्नुपर्ने छ।
चौथो, वडाध्यक्ष र सदस्यदेखि पालिका प्रमुख वा उपप्रमुख सम्मको उम्मेद्वारको छनौट कति ठीक भए वा कति बेठीक र हामीले त्यसमा अवलम्वन गरेका मापदण्ड कति तथ्यपरक र वैज्ञानिक भयो, त्यसमा कहाँनिर उचनिच भयो भन्ने विषयमा समीक्षा जरुरी छ। र, पाँचौँ, देशको कुन पालिकामा, कुन पालिकाको कुन वडामा, कहाँनिर चाहिँ पार्टीभित्र असहयोग र अन्तर्घात भयो र त्यसका कारण के थिए र कसका कारणले भयो भनेर पनि मूल्यांकन गरिनुपर्छ र यसका आधारमा दण्ड तथा पुरस्कार गर्नुपर्छ।
यी पाँचवटा विषयमामा केन्द्रित रहेर केन्द्रीय कमिटीमा समीक्षा गरियो भने बल्ल यसको समग्र मूल्यांकनको चित्र आउँछ। नत्र, एउटाले अन्र्तघात भयो भन्ने र त्यसको पछि लाग्ने, अर्को टिकट वितरणको पछि लाग्ने वा एउटा बुँदामा मात्रै केन्द्रित भएर त्यसको आधारमा मात्रै मूल्यांकन गरियो भने त्यसले ठीक ठाउँमा पुर्याउँदैन।
जनतासँग अपिल
हामीले समग्रमा यो चुनावसँग सम्बन्धित रहेर हाम्रो पार्टीको समग्र जीवनको मूल्यांकन गर्नुपर्छ। किनभने हामी अबको ६ महिनापछि प्रदेश र संघको निर्वाचनमा जाँदैछौँ। त्यसैले यो स्थानीय तहको निर्वाचनमा सम्बन्धित रहेर यी पाँचवटा विषयको समग्र मूल्यांकन गरेर कहाँ कमी भएको हो त्यसलाई सच्याउनुपर्छ।
कहाँ गलत काम भएको छ, त्यसलाई कारवाही गर्ने र समग्र पार्टीले चाहिँ ध्यान दिनुपर्ने विषयमा हामी कहाँ चुकेका छौँ। त्यसलाई करेक्सन गरेर देशलाई एउटा अपिल गर्दै हामीले यी गल्ति गर्यौँ, हामीले आत्मसमीक्षा गर्यौँ, त्यसलाई सच्याएर जान्छौँ, यहाँ नेता कार्यकर्ताबाट कमजोरी भयो र त्यसलाई कारवाही गरेका छौँ भन्ने कुराको सन्देश दिनसक्नुपर्छ।
यो पार्टीभित्र बसेर पार्टीलाई अन्तर्घात गर्ने छुट कसैलाई छैन भन्ने कुराको समेत सन्देश जानेगरी हामीले मूल्यांकन गर्नुपर्छ। यसपटक देखा परेका कमीहरू र अपूर्णतालाई दोहोर्याउने छैनौँ भन्ने प्रतिबद्धता हुनुपर्छ। लोकतन्त्र र राष्ट्रियताको पक्षमा, भ्रष्टाचार, शोषण तथा उत्पीडनका विरुद्धमा र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन्छौँ भन्ने अठोटका साथ कम्युनिष्ट आन्दोलनको, पार्टीको र त्यसको सैद्धान्तिक/वैचारिक ओरयन्टेसनबाट विचलित हुँदैनौँ भन्ने कुरालाई जनतासमक्ष अपिल गर्न आवश्यक छ।
अब ‘भोट बैंक’ रहेनन्
यो चुनाबमा पार्टीबाट उठेका वडाध्यक्षका उम्मेद्वारलाई भोट नदिने, तर सदस्यहरूलाई दिने अथवा पालिकाको प्रमुखलाई नदिने बाँकी सबै प्यानललाई दिने जस्ता प्रवृत्तिहरू देखिए। पार्टीका उम्मेद्वारको सट्टा स्वतन्त्रलाई जिताउने पनि भयो। यसबाट हामीले मतदाताले पार्टीमाथि आफ्नो मतको माध्यमबाट प्रश्न गरेका छन् भन्ने सन्देश लियौँ। पार्टीहरूले अब त्यो प्रश्नको जवाफसहित जनतामा जानुपर्छ। यस्तै नेकपा एमालेसहितका पार्टीहरूले जुन ठाउँलाई आफ्ना भोट बैंक भन्दै आएका थिए, ती अब त्यही अवस्थामा छैनन् भन्ने बुझ्नुपर्छ। अब नेताहरूले माथि बसेर कुनै ठाउँलाई आफ्नो भोट बैंक वा गढ भनेर बस्नुभयो भने तपाईँ फेल खानुहुन्छ। त्यसकारण आफ्नो गढ रक्षा गर्न चाहनुहुन्छ भने सच्चिनुहोस्।
यसैगरी कुनैपनि पार्टीले उठाएको उम्मेद्वार जनताको नजरमा असल मान्छे छैन भने उसलाई जनताले पार्टीको नाममा मात्रै भोट हाल्दैनन् भन्ने कुरा सचेत गराए। हामीले तलको समग्र पार्टी पंक्तिसँग पार्टीको महत्व, पार्टीको नीति, सिद्धान्त, विचार र कार्यक्रम किन सही छन् र हाम्रो पार्टीको संगठनात्मक प्रणाली के हो भन्ने विषयमा जे जस्ता छलफल हुनुपथ्र्यो, त्यसमा हामीले ध्यान दिइरहेका छैनौँ भन्ने अर्थमा पनि म यो निर्वाचनलाई लिन्छु।
एकताः आजको आवश्यकता
नेपालका वामपन्थीहरू एकताबद्ध हुनुपर्छ। यो आजको राष्ट्रिय आवश्यकता हो। यससँग जोडिएका केही यक्ष प्रश्नहरू छन्। आफूलाई कम्युनिष्ट भन्ने राजनीतिक पार्टीले सबैभन्दा पहिला उत्पीडित समुदाय, महिला, जनजाति र आर्थिक रुपले विपन्न वर्गका बारेमा कस्तो धारणा, जनजीविककाको कस्तो विचार राख्छ र त्यसले नेपाली समाजको परिवर्तनका लागि बाधक कसलाई देख्छ भन्ने कुरामा उ स्वयम् स्पष्ट हुनुपर्छ। वामपन्थी पार्टी आफ्नो विचारमा स्पष्ट भइसकेपछि उसले कोसँग मिल्ने र कोसँग नमिल्ने भन्ने कुराको निक्र्यौल गर्नुपर्छ।
आज तपाईँ मलाई नेपाली समाजको बाधक, परिवर्तन र रुपान्तरणको बाधक शक्ति के हो भनेर सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ : दलाल पूँजीवाद। दलाल पूँजीवादको प्रतिनिधित्व गर्ने पार्टी पनि यो देशमा छन्। त्यसको विरोध गर्ने र दलाल पूँजीलाई विस्थापित गरेर राष्ट्रिय पूँजीको विकास गर्दै समाजवादमा जाुनपर्छ भन्ने विचार राख्नेहरू पनि छौँ। अब जसले दलाल पूँजीवादको प्रतिनिधित्व गर्छ वा त्यसको मूल प्रवृत्ति बोक्छ भने त्यो शक्तिसँग मिल्ने र अर्को वामपन्थी पार्टीलाई पराजित गर्ने उद्देश्य राखेर कम्युनिष्ट पार्टी एकताको कुरा गर्नुको के अर्थ छ र?
एमालेले कांग्रेससँग मिलेर जान सकिँदैन भनेर प्रष्ट दृष्टिकोण राखेको छ। माओवादीले पनि आफ्नो दस्तावेजमा कांग्रेसलाई दक्षिणपन्थी विचारको, पूँजीवादी विचारको, दलाल पूँजीवादको नेतृत्व गर्ने शक्ति लगायतको संज्ञा दिएको छ। तर व्यवहारमा भने उसँगै गठबन्धन गरेको कुरा जगजाहेर छ। हिजो पञ्चायतविरुद्धको संघर्षमा डेमोक्र्याट र वामपन्थीबीचको सहकार्य भयो। गणतन्त्र ल्याउने र निरङकुश गणतन्त्रलाई अन्त्य गर्ने कुरामा पनि हाम्रो सहयात्रा भयो। पञ्चायतविरुद्ध संयुक्त संघर्ष बिना यसलाई ढाल्न सकिँदैन भन्ने निस्कर्ष पुष्पलालको थियो र त्यो सही पनि थियो।
यसकारण, म कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा छु। संसारको साम्राज्यवादी र पूँजीवादी दुनियाँमा नेपालको कम्युनिष्ट आन्दोलनले ब्यालेटको माध्यमबाट जुन चुनौती दिइरहेको थियो, त्यसलाई रक्षा गर्न नसक्नु हाम्रो कमजोरी हो। त्यसलाई सच्याएर हामी जानुपर्छ। हामीले मुलुकको रुपान्तरण र परिवर्तन गर्नु नै हाम्रो मूल एजेण्डा बनाएर अगाडि बढिरहेका छौँ भने हामी त्यो ठाउँमा पुग्नुपर्छ। त्यसका लागि एमालेको तर्फबाट पनि करेक्सन गर्ने कुरा छन् त्यसमा बहस गर्न सकिन्छ।
तर, एमाले सच्चिन्छ कि सच्चिँदैन भन्ने बहसलाई छाडेर बुर्जुवा शक्तिसँग मिलेर अर्को कम्युनिष्ट पार्टीलाई हराउने कुरालाई मुख्य केन्द्रविन्दु बनाउँदै अगाडि बढिन्छ भने त्यसले वामपन्थी आन्दोलनको सेवा गर्छ कि प्रतिक्रियावादीको सेवा गर्छ? यसले पक्कैपनि प्रतिक्रियावादीको सेवा गर्छ। नेतृत्वको इगोका कारणले वा मलाई प्रचण्ड मनपरेन वा अर्को साथीलाई केपी ओली मनपरेन भन्दैमा त्यसको आधारमा सिंगो आन्दोलनलाई निर्णय गर्न मिल्छ?
जित के का लागि ?
अबको निर्वाचनमा कम्युनिष्टहरू मिलेर अघि बढ्नका लागि अब यी एकाध महिना धेरै महत्वपूर्ण छन्। समग्र कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट आन्दोलनको रक्षा र यसको विकास, संविधानको रक्षा र यसको कार्यान्वयन, हाम्रो सम्प्रभूता, राष्ट्रियता, स्वभिमान र कम्युनिष्ट आन्दोलनले बोकेका जनजीविकाको एजेण्डाको पक्षधरता, भ्रष्टाचार कमिसनतन्त्रको विरोधको नेतृत्व, शोषण उत्पीडनविरुद्धको एजेण्डा, देशलाई आत्मनिर्भर बनाउनका लागि रोजगारीको सिर्जना, उत्पादनलाई वृद्धि लगायतका विषयलाई मध्यनजर गर्दै कम्युनिष्ट पार्टीहरूले कोसँग सहकार्य गर्ने र कोसँग संघर्ष गर्ने भन्ने कुराको निर्धारण गर्नुपर्छ। आ–आफ्नो मूल्यांकन गरेर त्यो मूल्यांकनको आधारमा कम्युनिष्ट पार्टीहरूले आपसमा सहकार्य र एकताको छलफलको प्रारम्भ गर्नुपर्छ।
हामीले हर्यौँ अब मिलौँ वा भोट ल्याउनका लागि मिलौँ भन्ने होइन। कोही नेतालाई जिताउनका लागि वा कसैलाई प्रधानमन्त्री बनाउनका लागि मिल्ने होइन। देश र जनतालाई बलियो बनाउनका लागि, हाम्रो समाजको विकास निर्माण र सम्मुन्नतिका लागि, न्याय र समानता र स्वतन्त्रता तथा सम्प्रभूताको लागि जनजीविकाको ग्यारेन्टी गर्दै भोलि गएर हामीले देशलाई वैज्ञानिक समाजवादको तहमा पुर्याउने उद्देश्यलाई टेवा पुर्याउनका लागि कम्युनिष्ट पार्टीहरू मिल्नुपर्छ।
जसले गर्दा हामीले मंसिरमा हुने प्रदेश र संघीय निर्वाचनमा विजयी हासिल गर्न सकौँ। र, त्यो विजय कम्युनिष्ट आन्दोलनलाई निस्कर्षका पुर्याउनका लागि हो भन्ने अर्थमा जनतालाई आश्वस्त गर्न सक्यौँ भने आगामी निर्वाचन परिणाममुखी वा फलदायी हुन्छ। त्यसले हाम्रो कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउँछ र मुलुकको हित गर्छ भन्ने मेरो अपेक्षा हो। म त्यसका लागि निरन्तर संघर्षशील रहन्छु।
भिडियो-
नेपाल रिडर्सले एमाले नेता गैरेसँग गरेको कुराकानीमा आधारित।