Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

काफ्लेगाउँको स्वास्थ्य प्रणाली बर्बादीको कथा

कोमल भट्टराई कोमल भट्टराई
माघ ३, २०८०
- विचार, विमर्शका लागि, स्वास्थ्य /शिक्षा
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कथाराम्भ
    केही दशकअघि त्यहाँ हजुरआमा थिए, आमा–काकी–फुपू थिए, दिदिबहिनी–दाइभाइ थिए। सिकर्मी र डकर्मीका सिप भएका तामाङ् थिए। गडीको डाँडामुनि दाहाल पुरेत थिए, बाघखोरमा लामा। थाक्से कमिनीको घरमुनि घर्तिनीहरू थिए। भार्ती गाँउमा एक विजुवा, बहरको बोटछेउ बिष्णे धामी, उसैको घरमुनि एक्ली कमिनी थिइन्। भदौरेमा एक घर्ते–सार्की, पोखरेमा गोपाल डाक्टर, टक्सारमा बद्री कम्पाउण्डर थिए। त्यसो त हजुरबाउ, ठूलाबाउ, बाउ, काकाहरू पनि थिए। घरगाउँमा वनबुट्यान थिए, घोडताप्रे, बोझो, चरीअमिलो, बोझो लगायत अनेकन वनस्पति लाग्दथे। त्यहाँ एक अनुपम – एउटा काफलको रूख थियो, त्यसैले गाँउको नाम काफ्ले भयो। त्यो काफल तीन सर्कार (राणाकालमा श्री ३ को सरकार) लाई बर्षेनी पठाइन्थ्यो। त्यसै आसपास पँधेरा थिए। घरैपिच्छे गाईबाख्रा पालिएका हुन्थे। हिउँदतिर शेर्पा–शेर्पिनी जडिबुटी बेच्न आउँथे र हजुरआमाहरूले किन्थे। नयाँ प्रकारका भए घर्तिनीहरूको सल्लाह लिन्थे। नेपालका अरु ठाउँमा झैं असारमा बाली छरिन्थ्यो, हिउँदमा उठाइन्थ्यो। ज्यान पालनका लागि अधिकांश वस्तुको उत्पादन र खपत यहीँ नै हुन्थ्यो। उत्पादनका स्रोतसाधनहरू यहीं उपलव्ध थिए। र, यही सेरोफेरोमा दुखम् सुखम् जीवनमरण प्रणाली वा स्वास्थ्य प्रणाली सञ्चालनमा थियो।

    स्वास्थ्यसम्बन्धी धारणा
    स्वास्थ्य प्रणाली जीवन र मरणलाई सञ्चालन तथा व्यवस्थापन गर्ने एक प्रणाली हो। त्यस प्रणालीलाई काफ्लेबासीले आफ्ना लागि, आफैद्वारा र आफ्नै बल–बुतामा सञ्चालन गर्थे। काफ्ले पनि नेपालका अरुजस्तै भोजपुरको एक गाँउ थियो। यहाँ पनि नेपाली सभ्यताका उपज संस्कृति र संस्कार थिए। त्यहाँका चेतहरू आम नेपाली समान नै थिए होला, जुन त्यहाँका परिस्थितीय सूचनाबाट ज्ञान निर्माण, व्यवस्थापन र आफ्नै चालमा उन्नत भइरहेका नै थिए। त्यहाँका बासी “जीवन मरण दैवको हातमा छ” भन्थे तर जीवन जोगाउन र मरणबाट बच्न शताव्दियौंदेखि विकसित अनुभवजन्य स्वास्थ्य प्रणाली सञ्चालन गर्थे। स्वास्थ्य उनीहरूका लागि आफूलाई र अरुलाई भार नदिने अवस्था थियो। मेरा हजुरबा बारबार भन्नुहुन्थ्यो “गम्भे जस्तो भएर त के बाँच्नू?”

    हजुरआमा थप्नुहुन्थ्यो– अँ त सार्‍है दुःख पायो। हिजो त दुखाइ सहन नसकेर रक्सी माग्यो रे! बरु गइहाले अरु जहानले त सुख पाउँथे नि। गम्भेको स्वास्थ्य शारिरीक रूपले हलचल गर्न नसक्ने, मानसिक रूपमा बेसुरे र परिवारका लागि मात्र होइन, सामाजिक दुःखाहाको अवस्थामा थियो। उसको अवस्था (स्वास्थ्य) विश्व स्वास्थ्य सङ्घले भनेजस्तो थिएन।

    काफ्लेका हजुरबाउहरू स्वास्थ्यबारे बातचित गर्थे, के गर्ने भनेर नीति र ‘कार्जेनीति’ बनाउँथे। महिलाहरू भने कसरी स्वास्थ्य बनाउने (उत्पादन गर्ने) भनेर दिनरात चिन्ता गर्थे। त्यस चिन्तालाई दूर गर्न ती महिला र हाम्रा हजुरआमाहरूको काफ्लेमा एक अनुपम स्वास्थ्य प्रणाली थियो।

    स्वास्थ्य प्रणाली कस्तो थियो त?
    काफ्लेजस्ता समुदायहरूको स्वास्थ्य प्रणाली जीवन र मरणलाई दुखम्–सुखम् व्यवस्थापन गर्न सक्षम थियो। उनीहरूको स्वास्थ्य प्रणालीमा (१) सुरक्षित र सफासुग्घर घर, बाटो, पँधेरोको व्यवस्था, धुँवा नआउने दाउरा र चुल्हो जस्तो सक्षम वातावरणीय प्रणाली तथा आधारभूत संरचना प्रणाली, (२) भोकै बस्नु नपर्ने अवस्था र बढ्ने बालबच्चालाई तागतिला खुराक पुर्‍याउने कृषि/खाद्यसुरक्षा प्रणाली (३) रोगको उपचार र बचावट गर्ने एक स्वास्थ्य सेवा प्रणाली (४) अनुभवका आधारमा स्वचालित उपरोक्त प्रणालीहरू सम्बन्धी अनुसन्धान प्रणाली आदि समावेश थियो। यी सबै प्रणालीहरू एकआपसमा अन्योन्यास्रित, समपूरक र अन्तरक्रियात्मक थिए। यो एक पूर्ण तर सरल प्रणाली थियो जुन स्थान विशेषको हावापानी माटोमा उत्पत्ति र विकास हुनसक्थ्यो। बाह्य आक्रमण नभएको भए आजका हाम्रा जीवन-मरण (स्वास्थ्य) सम्बन्धी आधारभूत आवश्यकताका लागि उपयुक्त हुनेगरी विकसित हुन्थ्यो।

    स्वास्थ्य प्रणाली कसरी चल्थ्यो ?
    काफ्ले गाउँको स्वास्थ्य प्रणाली सुचारु थियो। मुख्यतः वातावरणीय प्रणाली, आधारभूत संरचना प्रणाली र स्वास्थ्य सेवा प्रणाली स्थानको परिस्थितीय र आवश्यकताका आधारमा गतिशील नै थिए तर अनुसन्धान प्रणाली सुस्त र असरल्ल थियो तथापि अनुभवहरू पुस्तान्तरण र हस्तान्तरण हुने गर्थे। खासगरी स्वास्थ्य प्रणालीभित्रको एक घटक स्वास्थ्य सेवा प्रणाली भने हजुरआमा र महिलाहरूको पूर्णत: जिम्मेवारीमा थियो। तिनीहरू श्रीमान् र घरका बालवृद्धका हेरचाहकर्ता थिए। यसका जनशक्ति सबै वयस्क काफ्लेवासी थिए। सिकर्मी–डकर्मी, पुरेत, लामा, धामी–विजुवा, घर्तेसार्की, घर्तिनीहरू, कृषकहरू सबै थिए। तिनीहरूका एकअर्काका भूमिका स्पष्ट थिए।

    स्वास्थ्य प्रणालीभित्रको स्वास्थ्य सेवा प्रणाली
    स्वास्थ्य सेवा प्रणाली भनेको स्वास्थ्य प्रणालीको एउटा घटक मात्र हो। स्वास्थ्य सेवा प्रणालीमा बचावट सेवा, उपचार सेवा, स्वास्थ्य सपार्ने सेवा र रोगले थला परेपछिको सहयोगी सेवा, मरण तयारी सेवा, सन्निकट समुदायका अभ्यासका अनुभव र आविष्कार बाँडचुँड गर्ने अनुसन्धान प्रणाली समेत समावेश हुन्छ।

    हजुरआमाहरू निरक्षर थिए, तिनीहरूले पश्चिमा स्वास्थ्य सेवाका बारे सुनेका थिएनन् तर गैसस तथा पश्चिमाहरूले भनेजस्तै उनीहरूमा अचेतपना र ज्ञानको अभाव चाहिँ थिएन। स्मरण गर्नुहोस् त ! उनीहरूले नै युगौँदेखि हालसम्मको जीवनमरण प्रणाली थामिरहेका थिए।

    रोगलाई हाम्रा हजुरआमाहरूले पापको परिणाम भन्थे। पाप भने “गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरेको” ले लाग्थ्यो। पानीको मूलमा हग्नु र मुत्नु पाप थियो। काँचो वा देउतालाई नचढाई फलफूल खानु ह्वालह्वाल्ती रगत छाद्ने खालको पाप थियो। बासी भात नखानु उनको एक धर्म। र तिनीहरू खान नहुने वस्तु हेरेर वा छामेर, सुँघेर नै थाहा पाउँथे। हजुरआमाहरू पनि मान्छे नै थिए– दुख, चिन्ता र त्रास उनीहरूमा पलाउँथ्यो। यस्तो ग्रह बिग्रेर हुन्थ्यो। दाहाल पुरेतले ग्रहशान्ति गरिदिन्थे। हजुरआमाको मनको रोग निको पार्ने उपचार सेवा र बचावट सेवा यस्तो थियो। यस्तै मानसिक सेवा दिने विष्णे धामी वा भार्ती विजुवा थिए। यिनीहरूले बालखको सातो फर्काउन जोखाना हेर्थे र फुकेर च्वाट्ट पार्थे – बच्चाको भन्दा आमाको मन। तर यसले कहिलेकाहिँ काली कमिनीलाई बोक्सी भन्थ्यो, जो एक विधुवी र निसन्तान थिइन्। काफ्लेको खेद गर्ने कुरा यो थियो।

    काफ्ले धनीमानीको थलो त होइन। त्यहाँ मकै, कोदो, कहींकहीं तोरी, बोडी, सिमी र मटर पनि उत्पादन हुन्थ्यो। बालबच्चा ख्याउटे देखिन्थे तर त्यहाँका नाति–नातिनाहरूले आफ्ना दौँतरीहरू भोकै मरेका सुनेनन्। अरुले नै रोगका कारणले पनि नगण्य नै मरे होलान्। काफ्लेका हजुरआमाहरू भन्थे– बुहारी गेडागुडीको रस ख्वाउ न। हेर त त्यो खुट्टीको रसमा तागत हुन्छ नि। माथ्लो काफ्लेका सिकर्मीहरू “चामलको भात आडिलो हुँदैन, च्याँख्ला छैन” भन्थे। उनीहरूको पोषण शिक्षा यस्तो थियो। तिनीहरू खान जान्दथे– भएका कुरा खान्थे। खान नजानेर होइन, पेटभर भोजन खान नपाएर गर्भवती र शिशुहरू कुपोषित हुन्थे।

    काफ्लेमा उपचार औषधीयुक्त र औषिधरहित गरिन्थे। तातो ढुङ्गा, तातो पानी र न्याना लुगा आदि औषिधरहित उपचारमा रामवाण थिए। हजुरआमाहरूसँग एउटा प्राथमिक उपचार थैलो हुन्थ्यो। त्यसमा हर्रोबर्रो, पिपलादी, ल्वाङ्, कुड्की जस्ता जडिबुटी राखिएका हुन्थे। त्यसो त भान्सामा अदुवा, ज्वाँनो, बेसार हुन्थ्यो। सबैजसो घरमा यस्ता थैला हुन्थे, ती आवश्यक पर्दा बाँडचुँड गरिन्थे।
    पिलोसिलो सफा गरिदिने नैनी वा हजाम थिए। हाडजोर्नी विशेषज्ञ घर्ते–सार्की थियो। उसले काम्रोले बानेर भँचाइ जोड्थ्यो। त्यति मात्र होइन उसले बोकालाई खसी पार्थ्यो। जेठी घर्तिनी धाई थिइन् र सालनाल उनैले गर्थिन्। सुत्केरीलाई तेल मालिस गरिदिन्थिन्। ज्यान दुखाइको ठूलो ओखती बनाइन्थ्यो। यस्ता थिए हजुरआमाका प्रसूतीपश्चात्‌का सेवा र स्वास्थ्यकर्मी।

    काफ्लेबासी असामयिक मृत्युलाई पनि दैवको लीला भनेर मन बुझाउँथे। “यस्तै हो छरेको जति कहाँ उम्रन्छ र अनि उम्रेको जति कहाँ हुर्कन्छ”–उनीहरूको जीवन–मरणको सिद्धान्त यस्तो थियो। विरामी धेरै समय थला नपरुन् र विरामीले पनि परिवारलाई दुख नदिऊँ, आफू गई हाले अरु जहानले त सुख पाउँथे भन्ने सोच्थे। मर्न लागेकाले ऋणधन परिवारलाई बुझाउँथे, मृत्यु स्वीकार्य थियो। नाडी छाम्नेको इसारामा बिरामीलाई आँगनमा सार्ने, गङ्गाजल खुवाउने, ‘नाराएन–नाराएन’ भन्न लगाउने चलन थियो। लामा वा पुरेतले सत्गत् कार्य गर्थे। यसरी स्वचालित थियो हाम्रो स्वास्थ्य सेवा प्रणाली।

    भत्कियो स्वास्थ्य सेवा प्रणाली
    काफ्लेको उपचार प्रणालीमा आयुर्वेदका कविराजहरू नआउँदै गोपाल डाक्टर र बद्री कम्पाउण्डर आइपुगेका थिए। ती आरएमपी र कम्पाउण्डरहरू हजुरआमाहरूसँगको उपचार प्रणालीसँग मिलेर काम गर्दैथिए। उनीहरूका एकाध पश्चिमा औषधीहरू चमत्कार गर्दैथिए। उनीहरू ‘फिस’ का लागि कस्दैनथे–औषधिको रकम छाड्दैनथे। उनीहरू दिनरात नभनी घरघरमा आउँथे र फलोअप समेत गर्थे। उनीहरू साँच्चै गरिबका डाक्टरहरू थिए। उनीहरू हाम्रा गाउँका धाई र सुँडेनीलाई सिकाउँथे। त्यहाँका सुडेनी, धाई, नर्स दिदी भनेका जेठी र माइली घर्तिनी नै त थिए। तिनीहरूले उनकै आमाहरूबाट प्रशिक्षण लिएका थिए, उनकी आमाले उनकै आमाबाट।

    भोजपुर सदरमुकाममा अस्पताल खुल्यो। त्यहाँ के देखियो भने युगौँदेखि स्वास्थ्य सेवा प्रणालीका प्रवीण र रक्षक महिलाहरूको स्थानमा सेता कोटधारीहरू थिए। नर्स दिदीहरू डाक्टरका पछिपछि फाइल बोक्दै थिए। अब बिरामीलाई नाममा बोलाइन्नथ्यो,–नम्वर, केश वा बेड नम्वर बोलाइन्थ्यो। त्यहाँ मानव थिएन मानौ मुढो तेर्सिएको छ। अब काफ्ले गाउँका हजुरबाले हजुरआमालाई “तँ नाथे आइमाई के बुझेकी छस् र ?” भन्न थाले। बाफ रे बाफ! बेलायती लिङ्गभेद यहाँ हस्तान्तरण। यसरी काफ्लेको स्वास्थ्य सेवा प्रणाली मात्र होइन, मान्छे गुमनाम भयो र उपचार सेवामा महिलाको हैसियत अपदस्थ भयो। युरोपको इतिहासमा यस्तै भएका थिए– एलोपेथिकवालाहरूले महिलाको हातबाट स्वास्थ्य पेशा खोस्न पादरीहरूसँग सहकार्य गरेका थिए। औषधी उपचारक “बोक्सी” लाई लाखौंको सङ्ख्यामा जिउँदै पोलेर मार्न लगाएका थिए। यहाँ तिनीहरूले सजिलै सके।

    यो पश्चिमा प्रणाली भारतमा अङ्ग्रेजले ल्याए, नेपालमा क्रिश्चियन धर्मका प्रचारकले। तिनीहरूले बनाएको ब्याडमा अमेरिकी लगायत पश्चिमाहरूले उब्जाए, हुर्काए र उन्मुक्त जवान बनाए। यसपछि पश्चिमा उपचार प्रणालीले हाम्रो कृषि तथा वनपैदावर आधारित साधनस्रोत र पूर्वी भूगोलमा विकसित ज्ञान र यसबाट प्रशिक्षित जनशक्तिले सञ्चालित स्वास्थ्य प्रणाली लगायत सबै उपचार प्रणालीलाई समेत किनारामा पुर्‍याइदियो।

    यसपछि उपचार सेवाको रनबन नै एलोपेथिकले ढाक्यो। सरकारले एलोपेथिकलाई बढावा दियो। यसले, यसैका लागि जनशक्ति चाहियो। उनीहरूको ज्ञान स्थापना र व्यापार विस्तार गर्न एजेन्ट चाहिएको थियो। हेल्थ असिष्टेन्ट र अन्य मेडिकल कोर्स खोल्नैपर्ने अवस्था बन्यो। एकाध चिकित्सकहरूको प्रयत्नले जनतामा पुग्ने जनशक्तिका लागि चाहिने समुदाय–आधारित स्वास्थ्य सेवाका लागि पाठ्यक्रम बन्यो, जुन बजारमुखी थिएन। यसले हरेक दूरदराजका विद्यार्थी छानिने र छानिएकालाई छात्रवृत्ति दिने अवस्था बनायो। तिनीहरूलाई ४ वर्षसम्म स्वास्थ्य सेवा दिनैपर्ने शर्त गराइयो। तिनीहरूलाई मेडिकल प्रविधि र औषधीको दुरुप्रयोग गर्न नसक्ने ऐन देखाइयो। यसरी तिनीहरू पश्चिमाहरूले सोचेजस्तो पश्चिमा मेडिकल उद्योगका एजेन्ट भएनन्। तर, पूर्वीय सभ्यता हार्ने क्रममा ‘मोडर्न’ विचारधारा स्थापित हुँदा ग्रामीण स्वास्थ्य सेवा प्रणाली तहसनहस भइसकेको थियो।

    अब के गर्ने होला ?
    जबसम्म हाम्रो प्रणालीमा बाह्य आक्रमण भएको थिएन, तबसम्म त हाम्रो प्रणालीको निर्माण, सञ्चालन, विकास र उन्नत हाम्रा परिस्थितीय अनुभवजन्य निष्कर्ष या आविष्कारले भइरहेका थिए। काफ्ले गाउँहरूमा पनि त्यस्तै भइरहेका थिए। कुनै प्रणाली या स्वास्थ्य प्रणाली भन्नुस् या स्वास्थ्य सेवा प्रणाली भन्नुस् – ती सबै खास स्थानविशेष, खास समयमा, र खास स्रोतसाधन तथा शक्ति–आधारित परिकल्पना, रचना वा निर्माण वा विकास भइरहेका हुन्छन्। यसरी नै काफ्ले जस्ता समुदायहरूमा त्यहाँको स्वास्थ्य सेवा प्रणालीको विकास र पुनर्मार्जन हुनुपर्थ्यो।

    पश्चिमाहरूले के गरेका थिए भने– इजिप्ट, युनानका उपचार अभ्यासका राम्रा तत्त्वहरूलाई आफ्ना सेवा प्रणालीभित्र प्रवेश गराउँदै गए। कसाइँ (चिरफार गर्ने), नैनी, हाड जोड्ने पेशाकर्मी र ज्ञान तथा अभ्यासलाई यसमा समावेश गराउँदै गए। युरोपमा भएका अभ्यास र अनुसन्धानलाई घुसाउँदै गए। यसरी नै हालको एलोपैथिक प्रणाली धनी बन्यो। तर तिनीहरूले हाम्रो हरेक प्रणालीलाई रुढीग्रस्त भन्दै तहसनहस बनाइदिए। हामीले सामना गर्नै सकेनौँ। अब हामीसँग व्यापारलाई सेवामुखी बनाउने मार्ग बाहेक केही छैन जुन कोशौं दूर छ।

    जब उनीहरूलाई मैकेयावलीका “ब्राउन इङ्गलीसम्यान” चाहियो– सकलमा नेपाली अकलमा इङ्गलिस्तानी, तब उनीहरूले पश्चिमा पाठ्यक्रममा आधारित चिकित्सक तयार गर्ने भए। हो! हामीले अब सतिदेवीको लाश बोक्दै हिँड्ने विक्षिप्त महादेव झैँ पूर्वीय स्वास्थ्य सेवा प्रणाली लिएर भौतारिन हुँदैनथ्यो। हामीलाई थाहा छ, विश्वको ज्ञान र विकासमा अङ्शीयार हुन कोर्समा एकरूपता ल्याउन जरुरी छ। तर, हाम्रो कोर्सले राज्यका धनले पढेकाहरूमा गरिबलाई सेवा दिने भावनालाई हुर्काउनुपर्छ। यस्तो प्रयास चिकित्सा शास्त्र अध्ययन संस्थान (चिशाअंस) का तत्कालीन डिन डा. मोइन शाहका टीमले गरेका थिए। सुरुमा चिशाअंसको स्नातक कोर्सलाई एमबिबिएस नभन्न खोजिएको थियो। यसको मनशाय “ब्रेन ड्रेन” नहोस् र मुलुकको धनमा पढेकाहरूको मन नेपालमा अड्याउन सकोस् भन्ने थियो। तर उनीहरूलाई यसरी पढाइयो कि हाम्रा दक्ष जनशक्तिका लागि काफ्ले गाउँका पाखा त के वीर अस्पताल पनि खण्डहर भयो।

    यिनीहरू एक दवाव समूहका रूपमा उपस्थित भए। त्यस्तै समूहले एउटा हातमा राज्यबाट निःशुल्क पढ्न पाउने “समाजवादी अधिकार” को र अर्को हातमा नेपालमा सेवा गर्न बाध्य बनाइनु नपर्ने व्यक्तिको “मानव अधिकार” को झण्डा बोकेर सरकारसँग मानवीय व्ल्याकमेल गर्‍यो। अन्ततः सरकार झुक्न बाध्य भयो, जसले जनशक्तिको ब्रेनड्रेन हुने ठूलो भ्वाङ्ग बन्यो। अब पश्चिमालाई निःशुल्क दक्ष स्वास्थ्य जनकर्मी उपलव्ध हुने अवस्था रोक्न या ब्रेनड्रेन हुन नदिन “अधिनायकत्व शासन” गर्नुपर्ने अवस्था छ, जुन असम्भव छ।

    आयुर्वेद क्याम्पसमा बिएएएमएसको ४ वर्षे कोर्ष खोलियो। यो आयुर्वेद र एलोपैथिक उपचार प्रणाली एकीकृत गर्ने र नितान्त नेपालमा अड्याउने कोर्स थियो तर यसलाई सरकारले हुर्मत नै लियो। सरकारले जागिर दिएन र एलोपैथिक औषधी लेख्न नहुने अवस्था बनाइदियो। स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य बन्ने कोटासमेत खारेज गरिदियो। अब पनि यो कोर्स पुनः बौराउन सकिन्छ जसले आयुर्वेद र एलोपैथिक ज्ञानका साथै मानव खासगरी गरिबकेन्द्रीत मुख्य तत्त्वहरूलाई स्थापित गरोस्। यसरी आयुर्वेद र एलोपैथिक कोर्सलाई एकीकृत गर्ने कुरामा समीक्षा गरे हुन्छ।

    अब सरकारले स्वास्थ्य जनशक्तिको समस्या समाधान गर्न अरु उपाय खोज्नैपर्छ। जुन भारतका दक्षिणी भाग र अफ्रिकाका केही मुलुकहरूमा प्रयोग हुँदैछ। त्यहाँ “व्याचलर इन मेडिसन एण्ड व्याचलर इन सर्जरी” लाई दुई फ्याक पारेर “व्याचलर इन मेडिसन” को एउटा कोर्स र “व्याचलर इन सर्जरी” को अर्को कोर्स बनाइएको छ। यसबारे अध्ययन गरिनुपर्छ– यस्तो कोर्सको जनशक्ति पलायन हुन सक्दैन।

    अन्तमा, मानवीय मूल्यहीन बजारीया पश्चिमा एलोपैथिक उपचार प्रणाली सुधारका साथ अन्य विकल्प खोज्ने प्रयासहरू र स्वास्थ्य उपचार सेवाको शोषण विरुद्ध लड्ने मञ्च तथा अभियानहरू विश्वमा सञ्चालन भइरहेका छन्। यसमा नेपाली र नेपाल सरकारले सहभागी हुनैपर्छ। हेक्का रहोस् ! पश्चिमा एलोपैथिक ठूलो उद्योग त हो नै साथै यसले जहिले पनि बृहत् र खर्चालु पद्धतिको माग गर्छ, जुन नेपालको बजेटले धान्दैन। दुर्गमका जनसाङ्ख्यिक बनोट र सञ्चार अवस्थामा ठूला मेडिकल कलेज र अस्पताल खोल्न र सञ्चालन गर्न सम्भव छैन। वर्तमानमा गर्न सकिने कुरा हो– प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालको स्तरोन्नति, यसमा पूर्वीय स्वास्थ्य उपचार र अभ्यासको सम्मिश्रीकरण।

    (उल्लिखित नामहरू वास्तविक हुन्। ती स्वर्गीय वा जीवित नाम समाजमा उहाँहरूका योगदानको कदर स्वरूप ससम्मान उल्लेख गरिएका हुन् – लेखक)।

    साभारः परिसंवाद अनलाइन।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कोमल भट्टराई

      कोमल भट्टराई

      लेखक समसामयिक राजनीति, समाज र जन-स्वास्थ्य सम्बन्धमा कलम चलाउछन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.