Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मार्क्सअघिका विचारकहरू

यस्ता विद्वान्लाई काल्पनिक समाजवादी भनिन्छ। किनभने उनीहरू समाजमा रहेका दोषलाई हटाउने मानिस नभएर समाजै हुनुपर्दछ भन्ने विचार राख्थे।

nepal_readers nepal_readers
मंसिर ५, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    आजको सामाजिक जीवनलाई राम्ररी हेर्ने हो भने जताततै मानिसका असन्तोष र कलह पाउँछौँ। समाजमा होचीअर्घेली छ। साना र ठूला, हुने र नहुनेबीच ठूलो भेद छ। कतै मानिसको जीवनलाई सुख दिनेखालका नौला सामाग्री धमाधम पत्ता लाग्दैछन्, बनिंदैछन्। कतै खुट्टा लागेदेखि दिनहुँ काममा जोत्तिएको जोतिएकै गर्दा पनि मानिसले दुई छाक राम्ररी टार्न सकेका छैनन्। आफूआफूबीचमैं को भन्दा को सुखी हुने भन्ने हानाथाप छ।

    समाजमा खालखालका झगडा बढिरहेका छन्। देश–विदेशमा सबैतिर अशान्ति छ। यसले गर्दा हाम्रो सामाजिक व्यवस्थामा थुप्रै दोष छन् भन्न कर लागेको छ। आजको मानिस यस उकुसमुकुसको अप्ठ्यारो जिन्दगीबाट फुक्का भएर स्वतन्त्र विकास गर्न छट्पटाइरहेका छन्।
    समाजमा यस्तो असन्तोष र अशान्ति अहिले उब्जिएको होइन। जङगली युगमा छँदा मानिसले बडो मुश्किलसाथ जाडो, गर्मी र जङ्गली जनावरसँग जुधेर जीवन निर्वाह गर्नुपर्‍यो। जब बिस्तारै मानिसको ज्ञान छिप्पिदै गयो, खेतीपातीजस्तो सजिलो किसिमले जीवननिर्वाह गर्न सकिने बाटा फेला परे अनि मानिस पहिलाको भन्दा बढ्ता बलवान् भयो। अरू जनावरलाई आफ्नो फाइदाका निम्ति काममा लगाउन सक्ने भयो।

    यसका साथसाथै मानिसमा झन् सुखसँग जीवन निर्वाह गर्ने इच्छा बढ्दै गयो। यसका लागि आफूआफूमै हानाहान हुन लाग्यो। साधन र शक्ति भएकाले निर्धानिमुखालाई आफ्नो सुखका निम्ति प्रयोग गर्न लागे। समाजमा हुने र नहुने, ठूला र सानाको भेदभाव जन्मियो अर्थात् मानिसमानिसमा असमानता उब्जियो।

    यसैले गर्दा समाजमा असन्तोष, विद्रोहको जन्म भयो। यही नै मानवसभ्यताको सुरूआत थियो। जान्ने विद्वान्ले खोज गरी पत्ता लगाएअनुसार यसरी संसारका मानिसले जङ्गली अवस्थालाई पार गरेर सभ्यजीवन सुरू गरेको चानचुन साढे ६ हजार वर्ष भयो।

    यसरी त्यसबेलाको समाजमा आएको हेरफेरले ठूलो आर्थिक, राजनीतिक विकास गर्‍यो। अहिलेसम्मको लामो अवधिमा आएको प्रत्येक परिवर्तनले समाजको विकासमा मद्दत पुर्‍यायो। ज्ञानविज्ञान, कलाकौशल आदिको प्रशस्त विकास भयो। तर यसका साथसाथै समाजमा एकपटक उम्रिएको असमानताको विरूवा झन्–झन् बढ्दै, फैलिंदै गयो। समाजका थोरै मानिसका हातमा अगाध शक्ति र साधन जम्मा हुँदै गयो। यस्ता मानिसले असङ्ख्य निर्धा मानिसलाई आफ्नो मोजमज्जाका लागि कजाउन थाले। यी थोरै बाठा मानिसले धेरै मानिसलाई काबुमा राख्नका निम्ति खालखालका ऐन, कानुन बनाए। उनीहरूले गरेका कामको ज्याला तोकिदिए।

    लाटासोझा मानिसले शक्तिको वशमा परेर हजारौं वर्षसम्म अनेक किसिमको अत्याचार खप्नुपर्‍यो। तर भित्रभित्रै विद्रोहको आगो बलि नै रह्यो। यस लामो अवधिमा स्वतन्त्र, सुखी समाजको रचना गर्न खोज्ने विद्वान्हरू पनि समय–समयमा थुप्रै जन्मिए। समाजको असमानता र त्यसबाट उत्पन्न हुने थरिथरिका अत्याचारले उनीहरूको मन के गरी सबै मानिसलाई बराबर पार्न सकिएला भन्नेतर्फ गयो।

    उनीहरूले मानिसको दिमागमा परिवर्तन ल्याएर, समानताको उपदेश दिएर मानिसलाई बराबर पार्ने, निजी सम्पत्तिलाई हटाएर सारा सम्पत्तिलाई सामाजिक पार्ने र स्वार्थहीन, पवित्र संसारको सृष्टि गर्ने कोसिस गरे। यस्ता विद्वान्लाई काल्पनिक समाजवादी भनिन्छ। किनभने उनीहरू समाजमा रहेका दोषलाई हटाउने मानिस नभएर समाजै हुनुपर्दछ भन्ने विचार राख्थे। तर उनीहरूको यस्तो समाजवादी सोचाइलाई साकार गराउने उपाय मनगढन्ते र व्यवहारमा लागू हुन नसक्नेखालका थिए।

    सिद्धान्त र व्यवहारको मेलमा आधारित मार्क्सले स्थापना गरेको समाजवादलाई वैज्ञानिक समाजवाद भन्छन्। योभन्दा पहिले मार्क्सवादी समाजवादको उदय हुनुभन्दा अघिका विचारकले सुखी समाजको रचनाका निम्ति गरेका प्रयत्नबारे जानकारी राख्नु जरूरी छ।

    गौतम बुद्ध
    बुद्ध आजभन्दा २५३३ वर्षअघि नेपालको कपिलवस्तु भन्ने ठाउँमा जन्मेका थिए। उनी खास गरेर एउटा नयाँ धर्मका जन्मदाता हुन्। हिन्दू धर्मद्वारा जनताको निर्मम शोषण र निरङ्कुश अत्याचारको पृष्ठभूमिमा बुद्धका विचार निर्मित र विकसित भए।

    उनी ब्रम्हाण्डका प्रत्येक वस्तुलाई परिवर्तनशील र विकासको एउटा रूप मान्थे। उनको विचारमा वस्तुगत होस् वा मानसिक नफेरिने र अनादी, अनन्त वस्तु कुनै छँदैछैन। यसको तात्पर्य भगवानको अस्तित्व नमान्नु हो। तर छक्कलाग्दो कुरा के छ भने जुन बुद्धले अजरअमर भगवान्को अस्तित्वलाई अस्विकार गरे, पछि उनैको भगवान्को रूपमा मूर्तिपूजा हुन लाग्यो।

    बुद्ध कुनै पनि ग्रन्थ वा उक्तिलाई आँखा चिम्लेर स्वीकार गर्ने कुराको घृणा गर्दथे, यसलाई ज्ञानको विकासमा तगारो ठान्दथे। समाजवादी विचारधाराको विकासमा उनको योगदान नगण्य छ। तैपनि हिन्दू समाजमा व्यक्तिगत सम्पत्तिको विरोध गर्ने पहिलो व्यक्ति बुद्ध नै हुन्।

    उनका चेलाचेलीको समुदायमा कसैले पेवा सम्पत्ति राख्न पाउँदैनथ्यो। समाजमा सबैको भलो एकैपटक गर्न सकिदैन भन्ने कुरामा उनको विश्वास थियो। त्यसैले उनले व्यक्तिगत हितको ठाउँमा सामूहिक हितको कुरा उठाएका थिए। यसमा अविकसित वर्गीय दृष्टिको छनक पाइन्छ । उनले एक प्रकारको आर्थिक साम्यवाद चलाएका थिए ।

    प्लेटो
    प्लेटो आजभन्दा २३९७ वर्षअघिका एथेन्सका दार्शनिक हुन्। उनले एथेन्सको सामाजिक व्यवस्था र शासनलाई अन्यायपूर्ण र कुहिएको देखे। उनका अगाडि दुई किसिमका जगत् थिए। एउटा देखिने, परिवर्तनशील भौतिक जगत् र अर्को भौतिक जगत् बाहिरको सधैं अटल रहने आदर्श जगत्। उनले यो दोषपूर्ण जगत्लाई हटाएर आफ्नो मनले चिताएअनुसारको त्यस आदर्श जगत्को सिर्जना गर्ने योजना तयार पारे।

    उनको योजनाअनुसार समाजमा तीन वर्ग हुनुपर्दछ– साधारण जनता, सैनिक र शासक। साधारण जनताले राजनीति, शिक्षाजस्ता कुरासँग कुनै चासो राख्नु हुँदैन। शिल्पकला र खेतीपातीमा मात्र घर मुलुकको रक्षा गर्नु मात्र हुन्छ। यसका लागि उनीहरूले हतियार चलाउने र निडर हुने शिक्षा पाउनु पर्दछ।

    शासन लागि ठूलो प्रतिभा र योग्यता हुनुपर्छ। शासकहरू निःस्वार्थ, कर्तव्यपरायण र दार्शनिक हुनुपर्छ। प्लेटोले शासकवर्गका निम्ति ३५ वर्षको उमेरसम्म विभिन्न प्रकारको शिक्षा लिएर पारङ्गत हुनुपर्ने व्यवस्था गरेका छन्। प्लेटोलाई मानिस ठूलो पदमा पुगेर लोभी हुन सक्छन् भन्ने डर थियो। त्यसकारण उनले के योजना बनाए भने शासकवर्गको व्यक्तिगत घर, जायजेथा केही हुनुहुँदैन। सबै शासकले एकै ठाउँ बस्नु, खानुपर्दछ। उनीहरूलाई चाहिने खर्च राज्यले व्यवस्था गर्नुपर्छ। यसप्रकार प्लेटो साधारण जनतालाई राजनीतिमा कुनै हक दिन चाहँदैनथे।

    त्यसबेला कमाराकमारीको प्रथा पनि थियो। तर तिनीहरूलाई कसैले मानिसमा गन्दैनथे। प्लेटो एउटा माथिल्लो तहको दार्शनिक समूहले आफ्नो सदिच्छाबाट बाँकी जनतामा शासन गरोस् भन्ने चाहन्थे। यो उनको मनको लड्डु मात्र हो।

    सरटायर मोर
    पन्ध्रौं शताब्दीमा बेलायतका चान्सलर सरटायर मोरले किसानमाथि भइरहेको दर्दनाक अत्याचारको अनुभव गरे। तर उनले समाजवादको वास्तविक र व्यावहारिक आधार खोज्नुको सट्टा आफ्ना मनको काल्पनिक स्वार्थलाई एउटा ‘उटोपिया’ भन्ने पुस्तकमा चित्रण गरेर चित्त बुझाए।

    ‘उटोपिया’ एउटा द्वीपको नाम हो। मोरले बयान गरेअनुसार ‘उटोपिया’मा व्यक्तिगत सम्पत्ति पटक्कै छैन। प्रत्येक चार घण्टा काम गरे पुग्छ। ठूलो, सानो भन्नु छैन। कसैलाई कुनै कुराको डर, चिन्ता छैन। उब्जेको सबै चीजमा सबैको बराबर हक छ, सबै एकै ठाउँमा खान्छन् । घरमा साँचो लगाउनु पर्दैन। शासनमा सबैको उत्तिकै अधिकार छ। समाजमा यस किसिमको परिवर्तन ल्याउनका निम्ति चाहिने उपयुक्त आधारतर्फ वास्तै नगरी रचिएको साम्यवादी समाजको यो वर्णन मीठो दन्त्यकथाबाहेक अरू केही होइन।

    सेन्ट साइमन
    आधुनिक युगमा सामाजिक विषमताविरुद्ध आवाज उठाउने पहिलो फ्रान्सेली विचारक सेन्ट साइमन हुन्। उनी सन् १७६० मा जन्मिएका थिए। त्यसबेला युरोपमा औद्योगिक क्रान्ति भर्खरै भएको थियो। उत्पादनका साधनका रुपमा ठूलाठूला मिसिन र कारखाना पाएका पुँजीपतिहरू धेरै मुनाफा कमाउने दौढमा हाँप र झाँप गर्दै थिए।

    उनीहरू सस्तो ज्यालामा धेरै काम लिन ५/६ वर्षसम्मका नानीलाई र महिलाहरूलाई कारखानामा भर्ना गर्दथे र दिनहुँ १४÷१५ घन्टासम्म काममा जोत्दथे। यस्तो बिजोगको जिन्दगी बिताउने मजदुरको सङ्ख्या बढिरहेको थियो। यस्तो अवस्थामा सेन्ट साइमनले आफ्ना सुधारवादी विचारको प्रचार सुरु गरे।

    उनको भनाइ के थियो भने सम्पूर्ण कलकारखाना व्यक्तिको होइन, समाजको अधिनमा रहनुपर्छ। समाजका सबै व्यक्तिले आफ्नो योग्यताअनुसार उत्तिकै मौका पाउनुपर्छ। सामाजिक, राजनीतिक नेतृत्व शिक्षित मानिसका हातमा रहनुपर्छ।

    साइमनले आर्थिक विषमतालाई हटाउने प्रयास गरे। तर विषमताको मूल कारण के हो, त्यो खुट्याउन सकेनन्। उनले सामथ्र्यहीनलाई शोषण गर्न थिचेर राख्न सक्ने शक्तिको स्रोत केही व्यक्तिको हातमा थुप्रिएर बसेको अगाध सम्पत्ति हो भन्ने कुरा बुझ्न सकेनन् र यसैको परिणामस्वरुप कमजोरलाई बलियाको दयामायाका भरमा छाडिदिए।

    रबर्ट ओवेन
    सेन्ट साइमन भन्दा ११ वर्षपछि सन् १७७१ मा जन्मेका रबर्ट ओवेन बेलायतका पहिला साम्यवादी विचारक हुन्। उनी एउटा साधारण पसलेका छोरा थिए। तर आफ्नो व्यवहार कुशलताले गर्दा उन्नाइस वर्षको उमेरमा नै उनले कपडाको मिलमा म्यानेजरको पद पाए। केही समयपछि उनी मिलको साझेदार भए। पछि उनी स्वयम् लखपति भएर एउटा साझे मिल किने।

    ओवेनको केटाकेटी अवस्थादेखि नै मिल र व्यापारसँग सम्बन्ध भएकोले उनलाई मजदुरको अवस्था राम्रारी थाहा थियो। उनले लण्डन करेस्पोन्डिङ सोसाइटीका काम र सन् १८१३ को मजदुर विद्रोह आफ्नै आँखाले देखेका थिए। निजी फाइदा निमित्त वस्तु उत्पादन गर्ने पुँजीवादी व्यवस्थाको परिणाम डरलाग्दो हुनेछ भन्ने उनले बुझे। उनको विचारमा साम्यवाद नै सम्पूर्ण अप्ठ्याराको औषधी हो। यसका निम्ति समाजमा पैदा भएका सम्पत्तिले बिस्तारै–बिस्तारै मजदुरको अवस्था सुधार गर्नुपर्छ। गाउँका काम नपाउनेलाई मद्दत गर्नुपर्छ।

    ओवेनले मजदुरको अवस्थामा सुधार ल्याउन अट्ठाइस वर्षसम्म कपडा मिलमा आफ्ना विचार प्रयोगमा ल्याए। व्यक्तिगत पैसा खर्च गरेर मजदुरका निम्ति राम्रा घर बनाए। सस्तोमा सामान दिने पसल खोले। शिक्षा, स्वास्थ्य, आदिको प्रबन्ध गरे। उनका यी कामबाट न्यु–लनार्कका मजदुरको अवस्थामा केही परिवर्तन आयो। तर यी काम गरिबहरूप्रति सहानुभूति र दयाको भावनाले एकजनाबाट मात्र गरिएको थियो। यसबाट कुनै खास सामाजिक, आर्थिक परिवर्तन आउन सकेन। पछि ओवेनको आफ्नै आर्थिक अवस्था कमजोर हुँदै गयो। उनका प्रयोगले कुनै स्थायी प्रभाव छाड्न सकेनन्।

    ओवेन काल्पनिक समाजवादी त छँदै थिए। कारखानामा आफ्नो प्रयोग असफल भएपछि सन् १८२४ मा तीस हजार पौण्ड खर्च गरेर तीस हजार एकड जमिन किने र एउटा वस्ती बसाए। तर त्यो पनि असफल भयो। उनले मजदुरको अवस्था सुधार्न संसदमा कानुन पास गराउने कोसिस गरे।

    सन् १८१७ देखि उनका विचारमा केही परिवर्तन आयो। उनले साम्यवादको शत्रु पुँजीपति मात्रै होइन, धर्म समेत रहेछ भन्ने चाल पाए। धर्मको विषयमा उनले भने, ‘सबै धर्म कपट हुन्। यिनीहरूले मानिसलाई आफ्नो वास्तविक सुख थाहा पाउनबाट रोक्छन्।’

    ओवेनले पुँजी र श्रमको विषयमा यसो भने, ‘सम्पूर्ण पैदावार मजदुर र किसानको मेहनतबाट नै हुन्छ, तर यी सारा वस्तु उब्जाएर पनि उनीहरूले चाहिँ बाँच्न मात्र पुग्ने खाने कुरामा सन्तोष गर्नुपर्छ। बाँकी पुँजीपति, जिमिदार, राजा र पादरीको गोजीमा जान्छ।’ उनको यस भनाइमा हामी मार्क्सका ‘अतिरिक्त मूल्यको सिद्धान्त’को नजानिंदो सङ्केत पाउँछौँ।

    ओवेनले सामाजवादी कल्पना गरेर मात्र चित्त बुझाएनन्। व्यवहारमा प्रयोग गरे। यो प्रयोग असफल हुनु स्वभाविकै थियो। तर यी प्रयोगको महत्व के मा छ भने यिनीहरूले ठोस वैज्ञानिक आधारबिना मनले सोचेअनुसार। समाजको असमानतालाई हटाउन सकिँदैन भन्ने प्रमाणित गरिदिए।

    लुइल्वाँ
    यिनी सन् १८१३ मा फ्रान्समा जन्मेका थिए। त्यसबेलाका समाजवादी विचारकमध्ये यिनमा एउटा नौलो कुरा के पाइन्छ भने यिनले आफ्नो भलाईका निम्ति मजदुर, किसानले राजनीतिक शक्ति आफ्नै हातमा लिनुपर्छ भन्ने अनुभव गरे।

    यिनको विचारमा हरेकले आफ्नो व्यक्तित्व विकास गर्न समान अवसर पाउनुपर्छ। समाजका सबै मानिसले एउटै परिवारका सदस्य झैँ भएर बस्नुपर्छ। सरकारको काम जनताको इच्छाअनुसार चल्नु हो। सरकारको तर्फबाट ठूलाठूला उद्योग र बैंक चलाउनुपर्छ र सरकारले निजी कारखानालाई पनि सरकारी नीतिअन्तर्गत सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ।

    यसो गर्नका निम्ति उनले कुन तरिका सोचे भने सरकारी उद्योगसँग होडमा टिक्न नसकेर निजी उद्योगले बिस्तारै–बिस्तारै आफैं सरकारी कारखानाको संघमा मिसिनुपर्नेछ र यसरी सहजै समाजवादमा आउने छ।

    मजदुर र कारिन्दाले नै कारखानाका ठूला अधिकारीको चुनाव गर्न पाउनुपर्छ र आएको नाफा सबैले आवश्यकता अनुसार बाँडेर भोग गर्नुपर्छ। लुइल्वाँले ‘प्रत्येकबाट योग्यता अनुसार र प्रत्यकेलाई आवश्यकता अनुसार’ भन्ने सूत्रको प्रचार गरे।

    प्रुधो
    फ्रान्सेली दार्शनिक प्रुधो समाजमा स्वतन्त्रता, समानता र बन्धुभावका पक्षपाती थिए। उनको विचारमा मानिसमाथिको शासन अत्याचार हो। यसले गर्दा मानिसको व्यक्तिगत विकास गर्ने मौका गुम्छ। उनी कुनै शासक र सरकारको आवश्यकता छैन भन्थे। प्रुधो समाजवादी भन्दा पनि अराजकतावादी विचारक थिए। तर उनका केही आर्थिक विचारले वैज्ञानिक समाजवादको दरो जग तयार पार्न महत्वपूर्ण काम गरेका छन्।

    प्रुधोको भनाइअनुसार ‘थुपारेर राखेको सम्पत्ति चोरी हो।’ कुनै पनि वस्तुको दाम त्यसको उत्पादनमा लागेको परिश्रमअनुसार नै रहेको हुन्छ। तर उद्योगपतिले दाम बढाएर बेच्छन् र नाफा कमाउँछन्।

    यसरी वस्तुको निर्माणमा नलागेको मूल्य थपेर किन्नेबाट असुल गर्नु चोरी हो। उनको भनाइ के पनि थियो भने उत्पादनका साधन आफूसँग नभएकाले गर्दा नै मजदुरले ठगिनु परेको हो। त्यसकारण मजदुरमा ज्यालाको समानता ल्याएर हुँदैन। उत्पादनका साधन सबैलाई बराबर हुनुपर्दछ।

    चार्टिस्ट आन्दोलन
    बेलायतमा सन् १८३७ देखि १८५४ सम्म संसारमा कहिल्यै नभएको मजदुर आन्दोलन भयो। मजदुरहरूको गरिबी मानिसले सहन नसक्ने अवस्थामा पुगिसकेको थियो। उनीहरू सुधारका लागि सफल हुन नसक्ने चिप्ला र नरम कुराबाट वाक्क भइसकेका थिए। मालिकले माया गरेर राजनीतिक हक दिन्छन् कि भन्ने आशा मर्दै गएको थियो।

    सन् १८३६ मा मजदुरहरूले ‘लण्डन मजदुर संघ’ नामक एउटा राजनीतिक सङगठनको स्थापना गरे। यस संघको काम मजदुरलाई राजनीतिक अधिकार दिलाउन सङ्घर्ष गर्नु थियो। संघले सन् १८३७ मा छ बुँदे माग तयार पा¥यो। यसैलाई ‘चार्टर’ भन्छन् र यसका लागि भएको आन्दोलनलाई ‘चार्टिस्ट आन्दोलन’ भन्छन्।

    सन् १८३९ को मई महिनादेखि बेलायतका मुख्य–मुख्य सहरमा दुई/दुई, तीन/तीन लाखको उपस्थितिमा आमसभा र जुलुसमा हुन थाले। सडकमा जोसिलो क्रान्तिकारी गीत गाउँदै लामका लाम विद्रोही हिँड्न थाले। गुप्त सङ्गठन र फौजी परेड सुरु भयो। चार्टिस्टहरूले ७ मईका दिन साढे चार लाख मानिसको सही भएको लामो दरखास्त संसद्मा पेस गरे।

    त्यतिञ्जेलसम्म पुँजीपति, जिमिदार र सरकार मजदुरहरूको बढ्दो क्रान्तिकारी शक्ति देखेर आत्तिइसकेका थिए। उनीहरूले विद्रोहीको माग खारेज गरिदिए। यसले गर्दा विद्रोह झन् चर्केर गयो। सरकारले खुल्लमखुल्ला विद्रोहीमाथि दमन गर्न थाल्यो। ठाउँठाउँमा मार्सल लगाइयो। बर्मिङ्घम भन्ने सहरमा विद्रोही र सैनिकबीच घम्साघम्सी पर्‍यो। पाँच दिनसम्म सहरमा मजुदरहरूले कब्जा गरे।

    यसैबेला वेल्स र अरु सहरमा समेत चार्टिस्ट विद्रोह भयो। एकपछि अर्को गर्दै चार्टिस्टहरूले संसद्मा चारवटा आवेदन पेस गरे। सबभन्दा पछिल्लो आवेदनमा ५७ लाख मानिसका सही थिए। तर सरकारले आन्दोलनकारीहरूलाई क्रुरतापूर्वक दबायो। हजारौँ विद्रोही मारिए, घाइते भए। र, पाँच सय भन्दा बढी विद्रोहीलाई पक्रेर मुद्दा चलाइयो। उनीहरूका सारा अखबार बन्द भए। चार्टिस्टको शक्ति घट्दै घट्दै सन् १८५४ सम्ममा लुप्त नै भयो।

    चार्टिस्ट आन्दोलनले ठोस सफलता प्राप्त नगरी रोकियो। किनभने यो पक्का सैद्धान्तिक आधारबिनाको मजदुरहरूको स्वतःस्फूर्त विद्रोह थियो। तर चार्टिस्ट आन्दोलनले त्यतिन्जेलसम्मका काल्पनिक सामाजवादीको विचारको अव्यवहारिकतालाई प्रमाणित गरिदियो। यसबाट शोषितलाई आफ्नो शक्ति र कमजोरीको बोध भयो। यस विद्रोहले वैज्ञानिक समाजवादको प्रतिपादन गर्न मार्क्सका निम्ति आवश्यक स्थितिलाई पाको तुल्याइदियो।

    भरतमोहन अधिकारीको सम्पादन र लेखकहरू महेश उपाध्याय, नारायणप्रसाद आचार्य, केशव गौतम र कृष्ण पोखरलको लेखनमा रहेको पुस्तक ‘मार्क्सवादको पहिलो पुस्तक’को एक अंश।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.