Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

वेदकालिन विद्रोही चार्वाक र भौतिकवाद-२

रुखको फूलले त फल दिन्छ, किन्तु चढाउने भनेर ढुंगामाथि खसालिएको फूलले कुन चाहिं फल दिन्छ? हे नारीको निन्दा गर्नेहरू हो, राम्ररी सोंच–विचार गर त, तिमीहरू पनि तिनीहरू जस्तै नै मांस, मेदादिबाट बनेको शरीर भएकाहरू हौ भने फेरि यस जन–वंचना (सर्वसाधारण जनतालाई ठग्ने काम) को के अर्थ?

nepal_readers nepal_readers
भदौ २७, २०७८
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    महाकवि श्री हर्षले आफ्नो महाकाव्य ‘नैषधीय चरितम्’ मा आफ्नो कल्पना र कवि कौशल–कर्मद्वारा एउटा मनोरञ्जक उच्छृंखल मतको उद्भावना गरेका छन्। उनले कलियुगका स्तुतिपाठक नन्दीको मुखबाट उक्त मत प्रस्तुत गराएका छन्। यद्यपि यो मत उनको कल्पनाशीलताबाट अतिरञ्जित छ, तापनि यसबाट यति त ज्ञात हुन्छ नै कि ईश्वरवादको घोर आलोचनाको तर्क त्यस जमानाको जनमानसमा यदाकदा तैरने गर्थ्यो; अति प्रभावी हुँदाहुँदै पनि ईश्वरवाद शंकादेखि पर थिएन।

    कलियुगको नन्दीको मुखबाट श्री हर्षले नैषधीय चरितको सत्रौं सर्गको ३७ औं श्लोकदेखि ८३ औं श्लोकसम्म भन्न लगाएका छन् – “यज्ञफलको प्रतिपादन गर्ने वेदहरूको सत्यता त्यसरी नै प्रमाणित छैन, जसरी ढुंगा पानीमा तैरन्छ भन्ने कुरा प्रमाणित छैन। यिनमाथि कसरी श्रद्धा गर्न सकिन्छ ? त्यसैले विद्वानहरु हो ! तिमीहरूले यदृच्छाचार (जस्तो इच्छा लाग्छ त्यस्तै आचार पालन गर्ने काम) र काम मार्गको किन परित्याग गर्छौ? यिनै वेदहरूको मर्मलाई बुझ्न बोधिसत्व उत्पन्न भए। उनले वेदहरूलाई अप्रामाणिक बताएर जगतई अस्थिर र क्षणिक भने।

    नारी र कुल शुद्धता
    अग्निहोत्र, त्रयीतन्त्र, त्रिदण्ड–धारण, भस्मलेपन यो बुद्धि र पौरुषले हीन भएका मानिसहरूको जीविकाको साधन हो। अनादि कालदेखि वंश–परंपरा चल्दै आइरहेको छ, त्यस्तो स्थितिमा फेरि कुलको शुद्धि वा पवित्रता भन्नुको के अर्थ? जातिको के अर्थ? काम वेग बढ्दाखेरि यतै उतै कामिनी–संसर्ग गर्नबाट कुन चाहिं समाज बचेर रहन सक्छ? स्वयं यस प्रकारका स्मरान्ध (कामान्ध) हरूले पनि आफ्ना स्त्रीहरूलाई घरमा थुनेर आफ्नो कुलको शुद्धताको धाक लगाउने गर्छन्, तिनीहरू निन्दनीय हुन्।

    अरुहरूका स्त्रीहरूको भोग गर्नु हुँदैन भनिएको छ। तर यस नियमलाई स्वयं इन्द्रले नै अहिल्यागमन गरेर तोडे। गुरु पत्नीको सम्भोग गर्नुलाई महापातक बताउने हे ब्राह्मणहरू हो ! द्विजराज कहलाउने चन्द्रमाले न केवल गुरु वृहस्पतिकी पत्नीलाई सम्भोग गरे, उनबाट उत्पन्न पुत्र बुधका लागि समेत आफ्नो दावी पेश गरे।

    “पापबाट ताप र पुण्यबाट सुख मिल्छ, यस्तो कुरा वेदहरूले बताएका छन्, किन्तु जो कोहीले यस कुरालाई प्रत्यक्ष जाँचेर देख्न सक्छ– ‘यो सिद्धान्त प्रायः सत्यमा उत्रेको छैन।’ हे वैदिकहरू हो यदि तिमीहरूले जन्मान्तरको डरले पाप गर्न छाड्छौ भने हिंसा दोषले भरिपूर्ण भएका यज्ञहरू गर्न किन छाड्दैनौ? किन बन्द गर्दैनौ? हेर, तिमीहरूका वन्दनीय व्यासले पनि भनेका छन् – काम विव्हला रमणीको हात समात्नुमा कुनै दोष छैन (अर्जुनको तीर्थ यात्रा प्रसंगमा –नागाङ्गना सम्बन्ध)। उर्वशी आदिका सम्बन्धमा भनिएको छ –

    स्मराति विव्हला दीनां यो न कामयतेस्त्रियम् ।
    ब्रह्महा स तु विज्ञेयो व्यासो वचनमब्रवीत् ।।

    (अर्थ–व्यासको वचन छ – काम–वासनाले आत्तिएर दुःखी भएकी नारीको कामेच्छालाई जुन पुरुषले तृप्त गर्दैन त्यस पुरुषलाई ब्रह्मघाती भन्नुपर्छ ।)

    ‘‘पुरुषले त्यही कर्म गर्नु पर्छ जसबाट उसलाई सुख मिल्छ।’’ यदि त्यसो हो भने फेरि कामिनी–रति–विषयलाई सुखकर किन नमान्ने? बलात् गरिएका पापहरूलाई मनुले ‘अकृत’ (कर्मफल नदिनेवाला) मानेका छन् भने भविष्यमा कुनै बेला बलात् केही पाप गरेर मनुको वचन त मान। श्रुति र स्मृतिको अर्थ बोधमा एक मत छैन। मानिसहरू आ–आफ्नो बुद्धि बल अनुसार अर्थ लगाउने गर्छन्।

    बुद्धि त्यही आदरणीय हुन्छ जुन सुखोन्मुखी हुन्छ। एउटा देह चाहिं कर्म गरेर विनष्ट हुन्छ। जमान्तर पछि अर्को देहमा त्यस कर्मको फल भोग्नु पर्ने, यो कहाँको न्याय हो ? जब कर्म गर्ने देह नै स्थायी छैन भने कर्मफल कसरी स्थायी हुन सक्छ? जन्मान्तरमा कर्मफल प्राप्ति, एकलाई ख्वाउँदा अर्कैलाई तृप्ति यो सब धूर्तहरूको वार्ता (कुरा) हो। धूर्तहरूका कुराको कहाँसम्म बखान गर्ने?

    गर्भबाट छोरा वा छोरी दुईमध्ये एक निस्कन्छ नै। त्यसो हुँदा हुँदै पनि उसको मन्त्रजपले छोरा भएको हो भन्नु धूर्तता होइन भने अर्थोक (अरु थोक) के हो? यदि जन्मान्तरवाद साँचो हो भने एकात्मवादका अनुसार सबैबाट गरिएका पापहरू खालि तिनै शिरमाथि चढेर तिमीलाई मात्र धम्क्याउन आउने छैनन्। ढुंगाको पूजाका लागि रुखबाट फूल टिप्नु, चुंड्नु कसरी उचित हुन्छ?

    रुखको फूलले त फल दिन्छ, किन्तु चढाउने भनेर ढुंगामाथि खसालिएको फूलले कुन चाहिं फल दिन्छ? हे नारीको निन्दा गर्नेहरू हो, राम्ररी सोच–विचार गर त, तिमीहरू पनि तिनीहरू जस्तै नै मांस, मेदादिबाट बनेको शरीर भएकाहरू हौ भने फेरि यस जन–वंचना (सर्वसाधारण जनतालाई ठग्ने काम) को के अर्थ?

    स्वर्गको कल्पना नगर!
    अरे मूर्ख हो ! जब तिमीहरूका ब्रह्मा, विष्णु आदि देव नै कामदेवका आज्ञाकारी छन् भने भला तिमीहरूले के भनेर कामवासनाको निन्दा गछौं? तिमी मीमांसकहरूको बुद्धि त झनै (झन् नै, ज्यादै) मोटो छ, त्यसैले त हो एकातिर श्रुति (वेद) को प्रत्येक अक्षरलाई तिमीहरू नै सार्थक मान्छौ, अर्कोतिर चाहिं यूप हस्तीदान (यूपे यूपे हस्तिनो बधत्वा ऋत्विग्भ्यो दद्यात् = खाँबो–खाँबोमा हात्तीहरू बाँधेर ऋत्विक अर्थात् पुरोहितहरूलाई दोओस्)लाई तिमीहरूले नै लोभमूलक वाणी भनेर छाड्न – त्याग्न आदेश दिन्छौँ।

    जब तिमीहरूको श्रुतिले नै भन्छ कसलाई थाहा छ, कसले जान्दछ परलोकमा सुख मिल्छ भन्ने कुरा? तब सर्वसाधारण जनताले किन सन्देह नगर्ने? आफू स्वयं व्यभिचारबाट जन्मेका र स्वयं पनि व्यभिचारी भएका, बनेका व्यासको थोत्रो, खोक्रो कल्पनामा विश्वास गर्छौ। भला माछाले पनि कहीं उपदेश दिन्छ? तिमीहरूका मनुले माछाबाट पनि उपदेश लिए। अरे ! यो व्यास पाण्डवहरूको पण्डित मात्र होइन, चाटुकार कवि पनि थियो, यसैले पाण्डवहरूद्वारा प्रशंसित वस्तुहरूको प्रशंसा गर्ने गर्‍यो र पाण्डवहरूद्वारा निन्दित वस्तुहरूको निन्दा गर्ने गर्‍यो। उ आफ्ना भाइ विचित्रवीर्यकी स्त्रीमा मात्र आसक्त दासीमा पनि रत भयो। के त्यस कामका लागि पनि उसलाई आमाको आज्ञा थियो?

    “देवता र ब्राह्मणहरूले तिमीहरू जस्ता आफ्ना अनुयायीहरूका लागि मात्र वेद र धर्मशास्त्रहरूको रचना गरे। तिनैलाई प्रमाण भनेर चल्नाले तिमीहरू सबैको बुद्धि यसरी भ्रष्ट भइसकेको छ कि तिमीहरू गाई आदि पशुहरू जस्ताका सामु पनि नतमस्तक हुने गर्छौ? यज्ञ गर्ने साधु र शान्त स्वभावका तपस्वीहरू समेत यहाँ, यस लोकमा भने कामुकताको परित्याग गर्ने उपदेश गर्छन्, किन्तु स्वर्गलोकमा अप्सराहरूसित विहार गर्ने लालसा राख्छन्। हे आफूलाई आफैले विद्वान् मान्नेहरू हो ! यस किसिमको शम (शान्ति, मानसिक स्थिरता) धारण गर्नाले के लाभ? अरे, यहीं नै तिमीहरूले आफ्नी प्रियालाई सन्तुष्ट पार्ने काम गर।

    भस्मीभूत तिमीहरूका शरिरको पुनः आगमन कसरी हुन सक्छ? (भस्मी भूतस्य देहस्य पुनरागमनं कुतः ?) “अपवर्गे तृतीया“ सूत्र लेखेर पाणिनिले पनि यही भनेका छन् – ‘जो स्त्री हो र जो पुरुष हो, तिनीहरूले यहीं आनन्द प्राप्त गरून्।’

    अप्रमाणित तथ्य
    माथि (स्वर्गमा) जानका लागि स्नान गर्ने बेलामा जुन मानिस तल (पानी मुनि) डुब्ने गर्छ, त्यसलाई के मान्ने? भेडाहरू लड्न अघिपछि हट्छन् र फेरि वेगसित आक्रमण गर्छन्। त्यस्तै नै त हो तिनीहरूको चाला ! पाप गर्नाले शूद्रयोनिमा जन्म हुन्छ भनेर भय देखाउने गरिन्छ। अरे, क्षुद्र जन्तुहरू नै किन नहुन्, आ–आफ्नो योनिमा तिनीहरूले पनि त सुखानुभव गरेकै हुन्छन्। युद्धमा मर्नेहरू यदि स्वर्ग जाँदा हुन् त विष्णुबाट मारिएका दैत्यहरू स्वर्गमा पुगेर त्यहाँ पनि विष्णुसित लडी नै रहनेछन्।

    “मोक्ष भएपछि केवल ब्रह्म मात्र शेष (बाँकी) बच्छ (रहन्छ)”, यसो भनेर वेदवादीहरूले आफ्नै उच्छेद गरे। चेतन प्राणीहरूलाई अचेतन पत्थर समानको मुक्तिका लागि प्रेरित गर्न गौतम ऋषिले शास्त्र बनायो, उसलाई गोतम (पक्का गोरु) नै मान्नु पर्छ।

    विष्णु र शंकरका स्त्रीहरू लक्ष्मी र पार्वती किन ती सबैसित कामबन्धनले जकडिएका (बेसरी बाँधिएका) छन्? यदि साँच्चै कुनै कारुणिक गुण सम्पन्न ईश्वर छ भने त्यसले आफ्नो अमोघ वाणीले नै हामी सबैलाई किन सुखी बनाई दिन्न? यदि ईश्वरले कर्म अनुसार फलको विधान गर्छ अर्थात् पाप कर्मको बदलामा दण्ड दिन्छ भने त्यो ईश्वर हाम्रो अकारण बैरी भयो तथा सकारण बैरी भएका यहाँकाहरूभन्दा पनि झन् खराब बैरी भयो। ईश्वर र धर्मका यी सारा मतहरू तर्कबाट अप्रतिष्ठित (टिक्न नसक्ने) छन्, जस्तो अनन्तता आदि भएमा सत् प्रतिपक्षको तर्कमा अप्रमाण हुन्छन् ।

    अर्थात् यिनको विपरीत पक्ष यो संसार, यसको कार्य प्रणाली प्रमाणित छ। विपक्ष प्रमाणित भएमा पक्ष आफैँमा अप्रमाणित हुन्छ। आफूलाई तपस्वी भन्ने यिनीहरूले अरुहरूलाई अक्रोधको शिक्षा दिन्छन्, तर स्वयं आफू भने भयंकर क्रोधी छन्, जस्तै – दुर्वासा। आफू स्वयं भने निर्धन छन्, तर अरुहरूलाई चाहिं धनवान् बनाई दिन्छु भन्छन्। हे मनुष्य हो ! तिमीहरू आफैले विचार गर, तिमीहरूले जुन स्वर्ण, मुद्रा, यज्ञान्न दक्षिणा आदिको त्याग गछौं, त्यागिएका तीनै चीज–वस्तु नै त हरिप्रिया लक्ष्मी हुन्। तिनको त्याग गर्‍यौं भने उनी कसरी प्रसन्न होलिन्?

    अरे, हेर्नु नै छ भने दानको फल–बन्धनमा परेका राजा बलिलाई हेर र जानी लेऊ। यदि दान दिनेवाला त्यागी हो भने लिनेवाला चाहिं लोभी। के थाहा, यो दानको विधान लोभीहरूद्वारा नै बनाइएको हो कि त? कुनै वस्तुलाई अभक्ष्य घोषित गर्नु आफ्नो पेटको वञ्चना हो। सुखको आर्जनका दिशाको अन्वेषण र त्यस दिशातिर बढ्ने स्वतन्त्रता नै हितकारी हुन्छ, त्यसैलाई अँगाल, अंगीकार गर।”
    स्वर्ग र नरक मुर्खहरूको कल्पना

    चार्वाक मत केवल कल्पना विहारी कविहरूका काव्य ग्रन्थहरूमा मात्र पाइने होइन। यसलाई एक विकसित दर्शन प्रणालीको समतुल्य मान्यता प्राचीन कालमा पनि प्राप्त थियो। दार्शनिक ग्रन्थहरूले यद्यपि चार्वाक मतप्रति न्याय गरेका छैनन्, तापनि उक्त मत उल्लेख गर्न चाहिं चुकेका छैनन्। सायण माधव रचित ‘सर्वदर्शन संग्रह’ मा चार्वाक दर्शनको पृथक वर्णन छ। यो वर्णन विष्णु पुराणमा भएको वर्णनबाट प्रभावित छ अथवा विष्णु पुराण स्वयं सर्व–दर्शन संग्रहबाट प्रभावित भएको हुनु धेरै सम्भव छ। माधवले कुल एघार–बाह्र श्लोकमा चार्वाक मतलाई प्रस्तुत गरेका छन् । बहु प्रचलित “यावज्जीवेत् सुखं जीवेत्, ऋणकृत्वा घृतं पिवेत्” यहीं को श्लोक हो। यसमा संग्रहकारले चार्वाक दर्शनलाई त्यो पढ्नासाथ पाठकहरू पराङ्मुख (मुख फर्काउने काम) हुन जाने किसिमले प्रस्तुत गरेको पाइन्छ।

    हरिभद्र सूरि रचित ‘षड्–दर्शन–समुच्चय’ मा पनि चर्वाक मतलाई निन्दात्मक स्वरूपमा उपस्थित गरिएको छ। ग्रन्थकारले चार्वाक मतको परिचय दिदै लेखेका छन्–‘लोकायतहरूको भनाइ छ, न त देवताहरूको अस्तित्व छ, न स्वर्ग वा अपवर्गको। धर्म, अधर्म पनि केही छैन, फल पनि केही छैन।

    लोकायतहरू कुनै महिलासित भन्न चाहने छन्, ‘हे भद्रे ! जे जुन तिमीले देखिराखेकी छौ, तिनलाई नै प्रामाणिक सम्झ। जुन अनेक धार्मिक विद्वानहरू पाप पुण्यादिका सम्बन्धमा बक्ने गर्छन्, तिनलाई तिमी वृकपद (ब्वाँसोको खुट्टा) ठान। हे रमणी ! खाऊ, पिऊ, मोज गर, जुन कुरा बित्न जाने छ, त्यो तिम्रो हुने छैन। गएको समय फर्कदैन। जहिलेसम्म शरीर जवान छ, तहिलेसम्मको समय नै वास्तविक हो। चार्वाक मतमा पृथ्वी, जल, तेज, वायु यी चार तत्व मात्र छन् र यिनै चैतन्यका आश्रय हुन्। केवल इन्द्रिय–प्रत्यक्ष मात्र प्रमाण हो। जौ या चामल आदि कुहिएपछि जसरी मद्य (मदिरा, रक्सी) को उत्पत्ति हुन्छ, त्यसरी नै पृथ्वी आदि भूत (पदार्थ) हरूमा चैतन्य उत्पन्न हुन्छ। यसैले दृष्ट ऐहिक (यस लोकका) फलहरूलाई छाडेर जुन मानिसहरू अदृष्ट पारलौकिक फलहरूका लागि प्रवृत्त हुन्छन्, तिनीहरू मूढ हुन्।”

    भनिन्छ, सर्व–सिद्धान्त–संग्रह आद्यशंकराचार्य रचित ग्रन्थ हो। यस ग्रन्थको द्वितीय प्रकरणलाई लोकायतिक पक्ष प्रकरणको नाम दिइएको छ। यसमा पनि माधवकृत सर्व–दर्शन–संग्रहकै शैलीमा चार्वाक मत प्रस्तुत गरिएको छ –

    “लोकायतिकहरूले चारवटा भूत (तत्व)हरूको मात्र अस्तित्व मान्छन्। तिनीहरूका लागि केवल प्रत्यक्ष मात्र प्रमाण हो, अदृष्ट मान्य छैन।” यदि कसैले अदृष्टलाई देखेको छ भने त्यसलाई अदृष्ट किन भन्ने? यदि कसैले पनि अदृष्ट देखेको छैन भने त्यसलाई फेरि सत् कसरी मान्न सकिन्छ? सुख र दुःखको आधारमा धर्म र अधर्मको कल्पना गर्न सकिन्न। किन कि केही मानिसहरू स्वभावैले सुखी वा दुःखी रहने गर्छन् ।
    अतः सुख–दुःखको कारण व्यक्तिको स्वभाव हो। मयूरको प्वाँखलाई चित्रित गर्ने को हो? कोइलीलाई मधुर कूजन गर्न (आवाज निकाल्न) कसले सिकाउँछ ? यी तिनका जैविक गुण हुन्, तिनको स्वभाव हो । म मोटो छु, बूढो छु इत्यादि खालका प्रतीतिहरू शरीरका सम्बन्धमा मात्रै हुन्छ।

    अतः शरीरका अतिरिक्त अन्य कुनै आत्मा हुँदैन। चेतनाको प्रादुर्भावलाई पान, सुपारी, चूना र खयरको संयोगबाट जुन रातो रंग उत्पन्न हुन्छ, त्यस समान सांयोगिक सम्झनु पर्छ। यस लोकदेखि बाहेक अर्को कुनै लोक छैन। स्वर्ग, नरक र शिवलोक आदि मूर्खहरूको कल्पना हो। राम्रो लुगा, सुगन्धित मालाहरू, चन्दन–लेपन यही सब स्वर्ग हो।

    शत्रुहरूको अस्त्र र रोगहरूको कष्ट नारकीय अनुभव हुन्। मृत्यु नै मोक्ष हो। तप, उपवास आदि गरेर शरीरलाई सुकाउनु अज्ञान हो। पातिव्रत्य, सुवर्ण– दान, भूमिदान आदिको विधान ती दुर्बल मनुष्यहरूद्वारा बनाइएका हुन्, जो बुद्धिमान त थिए, तर कुनै अर्थमा दरिद्र भएका कारणले उक्त साधनहरूदेखि वञ्चित थिए तथा आफ्नो बुद्धि–बलले अरुहरूलाई मूर्ख बनाएर आफ्नो पेट भर्न चाहन्थे।

    यसैले आचार्य वृहस्पतिले अग्निहोत्र, वेदपारायण, त्रिदण्ड–धारण, भस्म–लेपन आदिलाई सामर्थ्यहीन व्यक्तिहरूको जीविका बताएका छन्। बुद्धिमानहरूले खेती, गोरक्षा, वाणिज्य (व्यापार) आदि दृष्ट उपायहरू गरेर सांसारिक भोगको अनुभव गर्नु पर्छ र दण्डनीतिको प्रयोग गरेर समाजको लागि साधनहरूको व्यवस्था गर्नु पर्छ ।”

    धर्मको दासता
    लोकायतिक (नास्तिक) पक्षलाई प्रस्तुत गर्दा शंकराचार्यले पछि आफूले खण्डन गर्नु पर्दा सजिलोसित खण्डन गर्न सकियोस् भन्ने कुराको ख्याल राखेर प्रस्तुत गरेका हुन्। किन्तु उनको यो अन्तिम श्लोक:

    “कृषि गोरक्ष्य वाणिज्यं दण्डनीत्यादिभिर्बुध:।
    दृष्टेरैव सदोपायैर्भोगाननुभवेत् भुवि ।।”

    अर्थ–विद्वान् बुद्धिमानहरूले खेती–किसानी, गोपालन, बन्द–व्यापार, दण्डनीति (साम, दान, दण्ड, भेद आदि नीति) आदि दृष्ट उपायहरूद्वारा संसारमा (विभिन्न) भोगहरू भोग्ने गरून्। समुचित सामाजिक व्यवस्था र भौतिक साधनहरूको विकासका लागि लोकायतिकहरूले मात्र चिन्ता गर्ने गर्दथे भन्ने कुराको बलियो प्रमाण हो।

    धार्मिक परम्पराले खालि त्याग, वैराग्य, उपासना र संसारदेखि पलायनको संदेश मात्र दिने गरिरहेको थियो। श्री कृष्ण मिश्रले ’प्रबोधचन्द्रोदय’ नामको एउटा नाटक संस्कृतमा प्रस्तुत गरेका छन्। यसमा दार्शनिक मतहरूलाई पात्रहरूका माध्यमबाट प्रस्तुत गरिएको छ। चार्वाक् मत पनि अन्य दार्शनिक मतहरू सरह थियो। अतः नाटकमा त्यसलाई पनि स्थान प्राप्त छ। द्वितीय अंकमा शिष्य सहित आचार्य चार्वाक प्रवेश गर्छन् र आफ्ना शिष्यलाई संबोधन गर्दै भन्छन्, “वत्स ! तिमीलाई थाहा छ – दण्डनीति नै एक मात्र विद्या हो। वार्ता शास्त्र त्यसैमा अन्तर्भुक्त छ । परलोक आदिका प्रतिपादक त्रयी विद्या धूर्तहरूको बकवाद हो । होता, हवन, हव्य तीनवटै नष्ट हुँदा पनि यदि स्वर्ग प्राप्त हुन्छ भने आगोले डढेको जंगलका रुखहरूमा फलहरू झुण्डिन आउँथे होलान्। यदि मरेको व्यक्तिका लागि श्राद्ध आदि तृप्तिकारक हुन्छन् भने निभेको दीप शिखा (बत्तीको ज्वाला) स्वयं तेलले भरिन्थ्यो होला।”

    यसमा शिष्यले सोध्छ, “आचार्य ! सांसारिक सुखहरू पनि नियमतः दुःख मिश्रित हुन्छन्। अतः दुःखबाट बच्न केही सुखहरूको पनि त्याग गर्नु पर्ने हुन्छ ।” त्यस पछि आचार्य चार्वाक हाँस्दै भन्छन्, “ भला चाँवल चाहने व्यक्तिले भुस भएको भनेर के धानको त्याग गर्छ ? आचार्य चाणक्यले आफ्नो ‘अर्थशास्त्र’को विद्योद्देश प्रकरणमा लेखेका छन्–“आन्वीक्षिकी त्रयी वार्ता दण्डनीतिश्चेति विद्या चतस्र एवं विद्येति कौटिल्यः।’’

    अर्थात् विद्या चार प्रकारको हुन्छ आन्वीक्षिकी, त्रयी, वार्ता, दण्डनीति। यिनमा सांख्य, योग, लोकायत–यिनीहरू आन्वीक्षिकी अन्तर्गत पर्छन्। धर्म, अधर्मको प्रतिपादन त्रयीमा आउँछ; अर्थ, अनर्थको प्रतिपादन वार्ताशास्त्रमा तथा नीति, अनीतिको कुरा दण्डशास्त्रमा। त्यस पछि फेरि आन्वीक्षिकीको महत्व बताउँदै कौटिल्य भन्छन् –

    प्रदीपः सर्वविद्यानामुपायः सर्वकर्मणम्।
    आश्रयः सर्वधर्माणां शस्वदान्चीक्षिकी मता ।।

    (अर्थ – आन्वीक्षिकी विद्या सारा विद्याहरूको लागि प्रदीप (दीपक, बत्ती) हो, सारा कर्महरूको उपाय हो, सारा धर्महरूको आश्रय हो ।)

    आचार्य कौटिल्य प्राचीन विद्वान्हरूमध्ये लोक–व्यवस्थापक तथा राज्य व्यवस्थापक जस्तै अनौठा विद्वान् थिए। उनको दृष्टिबाट आन्वीक्षिकी कसरी छुट्थ्यो ! प्राचीन भारतको आन्वीक्षिकीले यदि साँच्चै नै विकास गर्न पाएको भए आजको विज्ञानलाई हजारौं वर्ष पहिले नै प्रतिस्थापित गर्थ्यो होला। प्राचीन भारतको चार्वाक् परम्पराको संक्षिप्त उल्लेख गरेर मैले देखाउन चाहेको छु–‘ईश्वर र ईश्वरवादी धर्महरूको रुग्णतामाथि प्रत्येक कालमा औंला ठड्याइएको पाइन्छ’ भन्ने कुरा।

    यी धर्महरूद्वारा समाजमा जुन रुग्णता फैलियो, त्यसको अनुमान विचारकहरूलाई ईश्वरको जन्मको साथसाथै भएको थियो। विचार शास्त्रको विकासलाई प्रभावित गर्ने अनेकानेक सामाजिक, राजनीतिक भू–भौतिक परिस्थितिहरू हुन्छन्। भारतमा आन्वीक्षिकीको विकास कुण्ठित हुन पुग्यो र त्यसको फलस्वरूप भारत दासतामा जकडियो (बेसरी बाँधियो)। यसमा तिनै परिस्थितिहरू मध्ये कुनै कारक रह्यो होला।

    यो पनि पढ्नुहोस् –

    वेदकालिन विद्रोही चार्वाक् र भौतिकवाद – १ #चार्वाक् #भौतिकवाद
    via @nepalreaders https://t.co/5PxUNXw3Y7

    — Nepal Readers (@NepalReaders) August 29, 2021

    डा. सच्चिदानन्द मिश्रको पुस्तक ‘ईश्वर मरिसक्यो’ को एक अंश।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.