सोमवार, फाल्गुन ६, २०७५
मत-अभिमत

नेपाल राष्ट्रको निर्माणमा गोपाल तथा अन्य राजवंशको योगदान – श्रृङ्खला १

19 Comments
रामचन्द्र झा

एउटा राष्ट्रका रुपमा नेपालको व्याख्या कसरी गर्ने ? यो प्रश्न बेलाबेलामा उठ्ने गरेको छ। बौद्धिक तथा प्राज्ञिक दायरामा भन्दा राजनीतिक उद्देश्यहरुसँग गाँसिएर आउँदा यस विषय गरिने दावीहरुको प्रामाणिक हैसियत कमजोर हुन जाने गरेको छ। नेपालका विभिन्न जातीय-जनजातीय वा क्षेत्रीय समुदायलार्ई नै राष्ट्रका रुपमा र नेपाललाई बहुराष्ट्रिय राज्यका रुपमा व्याख्या गर्ने प्रवृत्ति एकातिर छ भने अर्कोतिर नेपालको इतिहास पृथ्वीनारायणबाट मात्रै आरम्भ हुन्छ जस्तो गरी अर्थात् शाह वंश र नेपालको इतिहासलाई पर्यायवाचीजस्तो गरी बुझ्ने र व्याख्या गर्ने प्रवृत्ति छ। यी दुवैभन्दा अलग एउटा प्रवृत्ति पनि छ जसअनुसार नेपाल हजारौँ वर्षसम्म विभिन्न जाति-जनजातिहरुको साझेदारीले बनेको एउटा राष्ट्र हो। यसै सन्दर्भमा रामचन्द्र झाको प्रस्तुत आलेख एउटा सार्थक छलफलका लागि महत्वपूर्ण सामग्री हुन सक्छ।
–सम्पादक

विश्वमानचित्रमा सैकडौँ राज्यहरुको उदय र अन्त्य भएको तथ्य सर्वविदितै छ। जुन राज्यको उदय सवल जगमा र पर्याप्त आधारसहित भएको थियो, उसको अस्तित्वको ध्वजा हजारौं वर्षदेखि अद्यावधिसम्म फहराइ रहेको छ। तर जुन राज्य कमजोर आधारशीलामाथि उभिएको थियो वा जो आवेश र उत्तेजनामा प्रकट भएको थियो, ती राष्ट्रहरु विश्व मानचित्रबाट विलिन भए।
राज्यहरुको राजनीतिक अस्तित्वको विश्लेषण गर्दा समुच्च आधारलाई केलाउनु पर्दछ। अंशलाई मात्र नियाल्दा त्यसको सर्वाङ्ग र सार्थक निष्कर्ष निकाल्न कठिन हुन्छ। अटूट मानवशृङ्खला नै मानव इतिहास हो। कुनै पनि राज्यको अध्ययन त्यस समाजको विकासको अवस्थाको अध्ययन हो अर्थात त्यस समाजको विकासको स्तरको अध्ययन हो। विजेताहरुले आफ्नो योगदानलाई मात्र यशोगान गर्न लगाउँदा त्यहाँको पुरानो गौरवपूर्ण इतिहासको जानकारीबाट त्यहाँका सन्तति वञ्चित हुन पुग्छन् र एकाङ्की ऐतिहासिक पाटो त्यस मुलुकको अन्य सामाजिक समूह जसजसको योगदानबाट ती राज्य निर्माण भएको हुन्छ आफ्नो पूर्वजको भूमिकालाई निषेध वा ओझेल पार्दा असहज बोधसँगै कहिले काहिँ विस्फोटक भई अनिष्ट पनि निम्त्याउँछ।
जुन राज्यको इतिहास जति लामो हुन्छ त्यसको अस्तित्वलाई चीरकालसम्म कायम राख्न सकिन्छ। तर टाढाको चीज देख्न त्यति सहज हुँदैन, जति नजिकको देख्न सहज हुन्छ। परन्तु, राजनेता, विद्वान्, इतिहासकारहरुले अटूट मानव सभ्यतालाई आफ्ना सन्ततिहरुसमक्ष निष्पक्ष ढङ्गले पस्किनुपर्दछ जसले सभ्यताको क्रमलाई अविच्छिन्न राख्दछ अर्थात् उनीहरुले टाढाका चीजहरु पनि उत्तिकै स्पष्टताका साथ देख्नु पर्दछ।
यसै क्रममा नेपालमा राज्यको उदयबारे इतिहासमा भएका निष्पक्ष योगदानहरुलाई तोडमोड गरिएको छ, जसको कारण राज्यको अस्तित्वमाथि यदाकदा सङ्कट देखापर्ने गरेको छ। एकातिर केही व्यक्तिहरु एकाङ्गी ढङ्गले खासगरी मधेश वा मुलुकको समतल भूभागलाई आफ्नो एकाङ्गी अध्ययनद्वारा पृथक रहँदै आएको विषय जोडदार रुपमा प्रस्तुत गरिरहेका छन् भने अर्कोतर्फ अहिलेका संस्थापन वा शासकवर्ग नेपालको वास्तविक इतिहासलाई ढाकछोप गरी आफ्नो समुदायको सानो भूमिकालाई आफ्ना स्तुतिकर्ताहरुमार्फत यसोगान गर्न लगाउने सर्वविधितै नै छ। नेपाली इतिहासका लेखकहरुमध्ये पनि कतिपयले पृथ्वीनारायण शाहको राज्यविस्तारको यात्रालाई विशेष जलप लगाई प्रस्तुत गर्ने गरेको (वि.सं. १८०१) मानौ यहीबाट नेपाल राज्यको जन्म भएको हो कि भान पार्ने गरी तिनकै यशोगानमा सम्पूर्ण सामथ्र्य खर्चेका छन्। उक्त कालभन्दा पहिलाका सम्पूर्ण ऐतिहासिक घटनाहरुलाई नेपत्थ्यमा पन्छाउने प्रयास गरेका छन्। जब कि उक्त कालभन्दा हजारौं वर्ष पूर्व नेपाल नामक राज्य अस्तित्वमा आइसकेको थियो। नेपालको भौगोलिक सीमा विस्तार सकारात्मक मान्न सकिन्छ तर त्यस भन्दा पूर्वका ऐतिहासिक घटनाहरु जसको जगमा उक्त अभियान सफल भयो, त्यसलाई ओझेलमा पार्नु दुर्भाग्यपूर्ण हो।
१. गोपालवंशी एवम् नेपाल राज्य
गोपालराज वंशावली’ नाम पुस्तक एवम् ज्ञानमणि नेपाल, प्रा.डा. रामप्रसाद उपाध्याय, डा. सुरेन्द्र केसीलगायत नेपालका प्रायः जसो इतिहासकारहरुले गोपालवंशीहरु नै नेपालका संस्थापक हुन् भन्ने तथ्य स्वीकार गरेका छन्।
काठमाडौं उपत्यका पानीपोखरीको रुपमा रहेको एवम् चोभारडाँडाबाट पानी बगिसकेपछि सम्पूर्ण उपत्यका घाँसेमैदानको रुपमा विकसित भएपछि उपत्यकाको तल्लो क्षेत्र जो ‘विदेह गणराज्य’को रुपमा हजार वर्षभन्दा पहिलेदेखि अस्तित्वमा रहेको थियो। त्यस ठाउँका पशुपालकहरु आ-आफ्नो पशुहरुको लागि उपयुक्त चरणक्षेत्रको खोजीको क्रममा उपत्यका प्रवेश गरी आफ्ना पशुहरुसँगै आफू बस्न थाल्दा यहाँ ‘पशुपतिनाथ’ को स्थापना, राज्यव्यवस्थाको सूत्रपात, ‘नेपाल’राज्यको नामाकरण, वस्ती बसाल्ने कामको थालनी आदि काम प्रारम्भ भएको हो।
(क) ‘कैली गाई’, ‘ने’ मुनि एवम् ‘गोपाल’ सरदारका किंवदन्तीहरु
वाग्मतीको किनारामा रहेको एउटा ढुङ्गामाथि कैलीगाईले सधैं दूध चढाउने घटना देख्दा गोपाल सरदारले त्यस ढुङ्गालाई उत्खनन् गर्न खोज्दा एउटा अलौकिक प्रकास उत्पन्न हुँदा सरदार त्यहाँ भष्म भए। त्यसपछि ती सरदारका ‘ने’ नामक गुरुले तिनै सरदारको छोरालाई पशुपतिनाथको स्थापना, नेपाल राज्यको स्थापना, राज्यव्यवस्थाको सूत्रपात, व्यवस्थित वस्ती बसाल्ने कामको सुरआत गर्न लगाए र उसैलाई शासक घोषित गरे। ‘भुक्तमान’ भन्ने ‘भूमिगोप’ जो पहिलो शासक भए। उनले ८६ वर्ष शासन गरे। त्यसपछि क्रमशः जयगोपले ७३ वर्ष ३ महिना, धर्म गोपले ९१ वर्ष, हर्ष गोपले ६७ वर्ष, भीम गोपले ५० वर्ष, मणि गोपले ३७ वर्ष, विष्णु गोपले ४६ वर्ष, जीत गोपले ७१ वर्ष गरी यस वंशका राजाहरुले जम्मा ५२१ वर्ष राज्य गरे (हेर्नुहोस्–नेपालको प्राचीन एवम् मध्यकालीन इतिहास–प्रा.डा. रामप्रसाद उपाध्याय, पृ.सं. १६, नेपालको ऐतिहासिक रुपरेखा –डा. सुरेन्द्र केसी, पृ.सं. ९, नेपाल परिचय –निर्मला पोख्रेल, पृ.सं. ३३ र ज्ञानमणि नेपाल– नेपालको प्राचीन इतिहास, गोपाल राजवंशावली एवम् नेपालको सांस्कृतिक इतिहास–डोलराज काफ्ले)।

(ख)गुप्त थर र गोपाल वंशः
गोपाल वंशीहरुको थर प्रायः जसो नेपाली इतिहासकारहरुले ‘गुप्त’भनी लेखेका छन्। गुप्त थर प्रायः वैश्य समुदायको हुने गर्दछ। जबकि पुरानो जमानामा यादव वा गोपालवंशीहरुको थर प्राय ‘गोप’ लेख्ने गरिएको थियो। त्यसरी हेर्दा ‘गोप’ लाई भ्रमबश ‘गुप्त’ भनिएको हुनुपर्दछ।
नीपवंशी’गोपालहरु द्वारिका वा मथुराबाट त्यतिबेला नेपाल आई बस्ने इतिहासकारहरुले अनुमान गरेका छन्। तर गङ्गालगायत त्यति ठूला नदीहरु तरेर उनीहरु उपत्यका पसेको कुरा तर्कसंगत देखिँदैन। बरु त्यसको ठाउँमा ‘विदेह गणराज्य’ वा मिथिलाबाट ती पशुपालकहरु आएका हुनुपर्दछ किनकि ‘मिथिला’ को उदय ‘नेपाल’ को उदयभन्दा १००० देखि १५०० वर्षपूर्व नै भइसकेको तथ्य इतिहासकारहरुले उल्लेख गरेका छन्। इतिहासमा विदेह गणराज्यका तैइसौं राजा शिरध्वजका भाइ कुशध्वजलाई नेपालसँग सम्वद्ध भनिएको छ। राज्यको तत्कालीन सीमा पूर्वमा दूधकोशी, पश्चिम त्रिशूली, उत्तर गोसाईंकुण्ड, दक्षिणमा चित्लाङ्सम्म फैलिएको थियो। प्रमुख वस्तीहरुमा वर्तमान कीर्तिपुर, थानकोट, बल्खु, टिस्टुङ, पालुङ, साँखु, मणिचूड, चाँगु आदि त्यस बखतका वस्तीहरु थिए।
वैदिक सभ्यताः वैदिक कालमा पशुपालन एवम् कृषि सभ्यताको प्रचूर मात्रामा विकास भएको इतिहासकारहरुले उल्लेख गरेका छन्। ‘शिवसभ्यता’, ‘शिव पशुपति’, ‘वृषम–त्रिशूल’सहित देवता, नागदेवता, लिङ्गपूजा, पशुपूजा आदि ‘वैदिक सभ्यता’का विषयहरु हुन्। ती विषयका आधारमा हेर्दा पशुपतिरुपको शिवको पूजा गर्दा आफ्नो पशु एवम् वालीको रक्षा हुन्छ भन्ने मान्यता बनेको हुनुपर्दछ। विभिन्न श्रोतहरुलाई हेर्दा के देखिन्छ भने गोपालवंशीहरुले मातातीर्थबाट आफ्नो राज्य सञ्चालन गरेका थिए।(हेर्नुहोस्, सिन्धुसभ्यता– किरणकुमार थपलिया र संकटाप्रसाद शुक्ला पृ.सं. १७८)।

२. महिषपाल वंशः
जीतगोप निःसन्तान भएपछि महिषपालहरुको हातमा नेपालको सत्ता आइपुग्यो। ‘गोपाल राजवंशावली’ ले महिषपालहरु १६१ वर्ष २ महिना शासन गरेको देखाएको छ। जसमा राजा श्रीवरसिंह ४९ वर्ष, राजा जय सिंह ७१ वर्ष २ महिना, राजा त्रिभुवन सिंह ४१ वर्ष राज्यसञ्चालन गरे। कतिपय नेपाली इतिहासकारहरुले उनीहरुलाई क्षेत्रीय वंशको भने पनि उनीहरु ग्वाला नै थिए भन्ने देखिन्छ किनकि, यदुवंशीहरु चन्द्रवंशी क्षेत्रीय हुन् भन्ने पुराणमा वर्णित छ।
महिषपाल र अहिरहरु पेशाका रुपमा केहि फरक देखिए पनि मूलतः यिनीहरु यदुवंशी नै हुन्, अहिले पनि यिनीहरुलाई ग्वाला, गोप, अहिर, गोपालवंशी, यदुवंशी आदि नामले चिनिन्छ।
महिषपालहरुको मूल थलो विदेह गणराज्य नै रहेको बुझिन्छ ( हेर्नुहोस् –डा. सुरेन्द्र केसी–नेपालको ऐतिहासिक रुपरेखा, पृ.सं. १० र नेपालको प्राचीन र मध्यकालीन इतिहास प्रा.डा. रामप्रसाद उपाध्याय पृ.सं. १७–१८)।
३. किरात वंश एवम् नेपाल
यलम्बरको नेतृत्वमा किरातहरुको आक्रमणपछि नेपालमा महिषपालहरुको पतन र किरात शासनको थालनी भएको इतिहासमा उल्लेखित छ। किरातहरुको शासन ई.पु. १००० वर्षको सेरोफेरोमा रहेको हुनुपर्दछ। ‘महाभारत’ युद्धमा किरातहरु पाण्डवको पक्षमा युद्धमा संलग्न भएको देखिन्छ। गौतम बुद्धको समयमा र मगधमा चन्द्रगुप्त मौर्यको शासनकालमा ‘नेपाल’ का शासक किरातहरु नै रहेका थिए।
कर्कपेट्रिक र राइट्सजस्ता इतिहासकारहरुले २७ देखि २९ शासकहरुको नाम उल्लेख गरेका छन्। ती इतिहासकारहरुका अनुसार यलम्बर, पवी, स्कन्ध, वलम्ब, हुती, हुमती, जितेदास्ती, गलिज, पुस्क, सूर्यमा, पप, बुङ, स्वनन्द, स्थुंको, जिघ्रो, नाने, लुक, थोर, थोकी, वर्म, गुन्ज, पुस्क, केशु, सुज, संस, गुणम्, खिम्बु, पटुक, गस्ती आदि नामका राजाहरुले शासन गरेका थिए।
किरातकालीन शासन व्यवस्था तुलनात्मक रुपमा राम्रो थियो। शासनको स्वरुप राजतन्त्रात्मक भए पनि अड्डा अदालतहरु, कुथर, सुल्त्नी, लिगवन्त, मापचोकजस्ता राज्यसञ्चालनका सोपानहरुद्वारा शासनलाई विकेन्द्रित रुपमा व्यवस्था गरिएको थियो। परराष्ट्र सम्बन्ध सर्वप्रथम किरात कालमा प्रारम्भ भएको देखिन्छ। दक्षिणतिरका मगध सम्राटहरु –विम्वसार, अजातशत्रु आदि–सँग किराँतहरुले राम्रो सम्बन्ध कायम गरेका थिए। व्यापार–व्यवसायमा पनि मगधसँग नेपालमा निर्मित लत्ताकपडाको लोकप्रिय व्यापार सञ्चालन गरेको कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको छ। मूर्तिकलाको विकास किरातकालदेखि फस्टाएको थियो।
नेपाल कोलिय, लिच्छवी, शाक्य, विदेह, मल्ल, आदिहरुको शरणस्थल रहेको र सामाजिक, आर्थिक अवस्था पनि सुदृढ रहेको पनि इतिहासमा उल्लेख छ।
किरातहरुले ८/९ सय वर्ष शासन सञ्चालन गरेको अनुमान गर्न सकिन्छ। त्यो शासन अन्ततः आन्तरिक अव्यवस्थाका कारण पतन भएको देखिन्छ।
४. विदेह गणराज्य र नेपाल
वैवश्वस्त मनु का नाति इच्छ्वाकुका छोरा निमीलाई अयोध्याबाट निर्वासित गरी ‘सदानीरा’ अर्थात् गण्डकी नदीभन्दा पूर्वतिर पठाइयो। आफू निर्वासित भएको ‘गण्डक’ पूर्वको दलदल भूमिमा कडा परिश्रम गरेर उनले बसोबास योग्य बनाए, बस्ती बसाए। आफैले आवाद गरेको त्यस ठाउँमा औपचारिक रुपमा राज्यसञ्चालन गर्न ‘राजसुय’ यज्ञको आयोजना गर्नका लागि आफ्ना कुलगुरु वशिष्ठलाई उक्त यज्ञकर्म सम्पादन गर्न आग्रह गर्दा इन्द्रकहाँ जान अनिवार्य भएको बहाना बनाएर गुरु वशिष्ठ पन्छिए। तत्पश्चात् गौतम ऋषिद्वारा उक्त यज्ञ सम्पादन गराइएको थियो। यज्ञ सम्पन्न भएको कुरा थाहा पाएपछि क्रुद्ध भएका गुरु वशिष्टले राजा निमिलाई देहरहित हुने श्राप दिए र त्यसैअनुसार राजा देहरहित भएको किंवदन्ती छ। देहरहित निमीको उद्दार गर्न गौतम ऋषिले निमीको शरीर मन्थन गरे। त्यसबाट एउटा बालक प्रकट भयो। मन्थनबाट जन्म भएकाले उक्त बालककोे नाम मिथि राखियो। राजा मिथीको नाममा ‘ला’ प्रत्यय लगाउँदा ‘मिथिला’ बनेको हो भन्ने देखिन्छ। यसैलाई विदेह पनि भनियो र तीनतिर नदीले घेरिएकोले यो भूभागलाई त्रिभुक्ति र पछि ‘तीरहुत’ समेत भनियो। साथै, विना पिताको बालक भएकोले त्यसको नाम जनक राखियो। जनक वंशका तेइसौँ राजा शिरध्वजका भाई कुशध्वजलाई नेपाल राज्यमा शासन गर्न दिएको विषय ‘मिथिलादर्पण’, ‘विहार हेरिटेज’ सिरिज–८, ‘तिरहुतको इतिहास’, आदिमा उल्लेख गरिएको छ। तर त्यसबारे विस्तृत विवरण खोज्न अझै बाँकी नै छ।
सङ्क्षेपमा भन्ने हो भने अहिलेसम्मको अध्ययनलाई हेर्दा नेपाली राष्ट्रियता विकासको गोरेटो विदेह गणराज्य हुँदै अगाडि बढेको देखिन्छ, चाहे ती गोपालवंशी होउन् वा महिषपाल वा लिच्छवी होउन्। सेनवंशी तथा कर्नाटवंशीसमेतको आगमन मिथिला क्षेत्र हुँदै भएको थियो। कला–संस्कृति, वास्तुदेखि भाषा–साहित्यद्वारा नेपालको निर्माणमा समेत मिथिला क्षेत्रको वृहद् योगदान रहँदै आएको छ।

५. लिच्छवीहरुको नेपालमा उदय
किरातहरुभन्दा पछी नेपालमा लिच्छवीहरुले शासन गरेका थिए। बज्जी महासंघभित्र लिच्छवी, विदेह, शाक्य, मल्ल, काशी, कौशल, रामग्राम (कोलिय) संघहरु संघीय गणतन्त्रात्मक व्यवस्थामा आबद्ध भई सहअस्तित्वको आधारमा शासन गरेका थिए। चन्द्रगुप्त मौर्यका शासनकालदेखि मगधको शक्ति बढ्दै गएको थियो। आक्रामक स्वभावका शासक अजातशत्रुले लिच्छवीमाथि आक्रमण गरी तिनीहरुलाई पलायन हुन विवश तुल्याए। र, उनीहरु विदेहहरुसँगै नेपालमा शरण लिन आइपुगे। किरातहरु आन्तरिक कारणले कमजोर भइसकेकाले लिच्छवीहरुले किरातहरुलाई पराजित गर्न सके। यसरी नेपालमा लिच्छवीहरुले शासन गर्न थालेको समय इ.पु. २ सय वर्ष लगभग हो भन्ने अनुमान इतिहासविद्हरुले गरेका छन्।
लिच्छवीहरु पहिलेको मुजफ्फरपुर (विहार)को वैशालीका थिए। त्यहाँ भेटिएका प्राचीन वैशालीका अवशेषले त्यसको गौरवशाली इतिहासलाई स्मरण गराउँछ। सम्राट अशोक काठमाडौं आउँदा आफ्नो साथमा छोरी चारुमतीलाई पनि ल्याएका थिए। जसको विवाह नेपालकै क्षेत्रीय युवक देवपालसँग गरिदिएका थिए। सँगसँगै देवपत्तन नामक सुन्दर शहर पनि अशोकले नै बसाएका थिए जुन मगधको राजधानी पटलीपुत्र भन्दा पनि सुन्दर थियो। त्यसको छ सय वर्षपछि आएका चिनीयाँ यात्री फाहियानले देवपत्तनको सुन्दरताको चर्चा गरेका छन्। गङ्गा वारि–पारी भएकाले गुप्त र लिच्छवीहरुकाबीचमा रहँदै आएको वैवाहिकसम्बन्ध नेपाल आउँदा पनि कायम रहेको बुझिन्छ।
लिच्छवीहरुले आठ सय वर्षभन्दा बढी समयसम्म नेपालमा शासन गरेका थिए। यद्यपि पशुपतिमा लेखिएको एक अभिलेखअनुसार जयदेवलाई लिच्छवीका प्रथम शासकका रुपमा लेखिए पनि चाँगुनारणको अभिलेखअनुसार मानदेवलाई नै प्रथम प्रमाणित शासकको रुपमा मानिएको छ। त्यसपछि वसन्तदेव, अंशुवर्मा, नरेन्द्रदेव, वृषभदेव, शंकरदेव, धर्मदेव, गुणकामदेव आदिले शासन गरेका थिए।

(क) लिच्छवीकालीन प्रशासन व्यवस्था
लिच्छवी कालमा केन्द्रीय, प्रादेशिक र स्थानीयतहका प्रशासनिक, न्यायिक तथा सैनिक प्रबन्ध वैज्ञानिक र व्यवस्थित रहेको थियो। मुद्राको प्रचलन पनि सर्वप्रथम मानदेवकै शासनकालदेखि भएको हो। त्यति मात्र होइन उक्त त्यस कालमा ऐतिहासिक अभिलेखीकरण, भवन निर्माण, मूर्तिकलाका साथै साहित्य, संगीत एवम् कला पनि उच्चस्तरमा विकास भएको पाइन्छ। चीन र भारतसँग दूतहरुको आवत–जावतबाट कुटनीतिक सम्बन्ध पनि विकास गरेको पाइन्छ। त्यसैगरी आर्थिक रुपमा कृषि व्यवस्था, पशुपालन, विभिन्नखाले उत्पादनका कामहरु भएका थिए। साथै नेपालमा पहिलो पटक भन्सार र करको पनि व्यवस्थाको सूत्रपात भयो।

(ख) लिच्छवीकालीन नेपालको सीमा
लिच्छवीकालमा नेपालको सीमाको पनि निकै नै विस्तार भएको देखिन्छ। लिच्छवीका तेह्रौं राजा वृषभदेवकी छोरीसँग गुप्तवंशीय चन्द्रगुप्त प्रथमको विवाह भएको थियो। उनका छोरा समुद्रगुप्तसमेत अत्यन्त वलशाली शासक थिए। उनीसँग तात्कालिन नेपालको सम्बन्ध सुदृढ थियो जुन सम्बन्ध नेपालको सीमा अद्भूत रुपमा विस्तार गर्न सहयोगी भएको थियो। त्यसरी फैलिएको राज्य पूर्वमा आसामको कामरुप कामख्या, पश्चिममा कास्मिर, उत्तरमा तिब्बत र दक्षिणमा गङ्गासम्म चौथो शताब्दीदेखि छैठौं शताब्दीसम्म थियो। त्यसपछि आठौँ शताब्दिसम्म आउँदा उक्त लिच्छवी शासन पूर्वमा टिस्टा, पश्चिममा सखिका–लेक, उत्तरमा तिब्बत एवम् दक्षिणमा गङ्गासम्म खुम्चनु पुगेको तथ्य भारतीय इतिहासकारहरुले उल्लेख गरेका छन्। त्यसपछि मूगल सम्राज्यको शक्ति बढदै जाँदा लिच्छवीकालीन नेपाल खुम्चदै गयो। अहिलेको नेपाल लिच्छवीकालको नेपालको चतुर्थाँश पनि छैन (हेर्नुहोस्, गुप्तकालिन उत्तर भारतका राजनीतिक ईतिहास पृ.सं. ४९–५३,९२ र ९३)।

६. कपिलवस्तुका शाक्यहरु एवम् नेपाल
दिग्घनिकाय र सुमङ्गल विलासिनी नामक प्रसिद्ध बौद्ध ग्रन्थअनुसार आफ्नी कान्छी रानीका छोराहरुलाई राज्य दिनका लागि कौशल राज्यका राजाले जेठी पट्टीका चार जना राजकुमारहरु र पाँच जना राजकुमारीहरु र निष्कासन गरी दिए। उनीहरु उत्तर हिमालय तर्फ लाग्ने क्रममा जङ्गलमा तपस्या गरी बसेका कपिलमुनिसँग उनको भेट भयो। कपिलमुनिको आदेशअनुसार उनीहरु शकवृक्ष(साल)को जङ्गल फडानी गरी त्यहाँ वस्ती बसाले। सालको जंगल फडानी गरी वसेको वस्तीका कारण उनीहरुलाई शाक्य भनिएको हुनु पर्दछ।
शाक्य गणराज्यको नामबाट उनीहरुले राज्यव्यवस्था संचालन गरे पनि कपिल ऋषिको आश्रम त्यहिँ भएको र उनको प्रभावले गर्दा त्यस ठाउँको नाम कपिलवस्तु रहन गएको अनुमान गर्न सकिन्छ। यसको सीमाना पूर्वमा रोहिणी नदी, पश्चिममा राप्ती नदी, उत्तरमा हिमालय र दक्षिणमा पवा कुशीनगरसम्म फैलिएको थियो। समयक्रममा शाक्य गणराज्य वज्जी महासंघसँग मिसिएर सहशासन चलेको थियो। त्यसबेला सडक मार्गद्वारा लुम्बिनीलाई पावा कुसिनगर, वैशाली र राजगृहसँग जोडिएको थियो। मगध र कौशललाई जोड्ने बाटो कपिलवस्तु, लुम्बिनी र रामग्राम हुँदै गएको थियो। कपिलवस्तु, सुसुमार, शिलावती, शककर इत्यादि नामक शहरहरु पनि थिए। माथि भनिएझैँ चिनियाँ यात्रीहरु फाहियान र ह्वेनशान कपिलवस्तुको उत्कृष्ट कला–संस्कृति र वास्तुकलाको वर्णन गरेका छन्। गौतम बुद्धले महानिर्वाण प्राप्त गरेको २९४ वर्ष पछि ई.पू. २४९ मा प्रियदर्शी अशोकले त्यस ठाउँको भ्रमण गरेका थिए। त्यस भ्रमणका क्रममा उनका गुरु उपगुप्त पनि सँगै थिए।
कौशल राज्यका राजा विरुद्धक(प्रसेनजीतका छोरा)ले रोहिणी नदीको पानीको बाँडफाँडबारे भएको झगडाका क्रममा शाक्य गणराज्यमाथि आक्रमण गरे जसमा ठूलो नरसंहार भयो। उक्त आक्रमणबाट आक्रान्त शाक्य एवं कोलियहरु भागेर उपत्यका प्रवेश गरे। यसरी शाक्यहरु नेपाली राष्ट्रियताको निर्माणमा संलग्न भए। त्यसपछि ती भागहरु नेपालको अभिन्न अंगको रुपमा रहँदै बौद्धकालीन गौरवपूर्ण अध्यायहरुद्वारा नेपालको गौरव वृद्धिमा योगदान गरेको तथ्य स्पष्ट छँदै छ।
७. नेपालमा सेनवंशीयहरुको उदय
भारतीय इतिहासकार राधाकुमुद मुखर्जीद्वारा लिखित प्राचीन भारत पुस्तकका अनुसार सेनवंशको संस्थापक सामन्त सेन थिए जसको जन्म बंगालको राढ नामक स्थानमा भएको थियो र उनी ब्राह्मणबाट झरेर बनेका क्षेत्रीय थिए। पछि १२ औं शताब्दीमा विजय सेन नामक व्यक्तिले धेरै प्रदेशहरु जित्ने क्रममा नेपाल मिथिलाको भूभागमाथि आक्रमण गरी कब्जा गरेका थिए। विजय सेनका छोरा बल्लाल सेनका वंशज (लक्ष्मण सेनलगायत)ले सन् ११८५ देखि १६६५सम्म शासनमा रहे। तिनीहरुले नै राढ, वीरेन्द्र वागदी, वङ्ग र मिथिला सँगसँगै नेपालमा पनि शासन गरेका थिए। लक्ष्मण सेनको शासनकालमा साहित्य, संगीतको निकै विकास भएको पाइन्छ। प्रसिद्ध संस्कृत गीतकार जयदेवले ‘गीत–गोविन्द’, छलयुद्ध, पवनदूतजस्ता साहित्यिक कृतिहरुको रचना गरे।
अर्को एउटा ऐतिहासिक तथ्यअनुसार सेनवंशीहरु चित्तौरगढका सिसौदिया वंशीय राजपूत थिए। वंगाली सेन र सिसौदिया वंशज बीचमा कहाँनिर फ्युजन भएको हो इतिहासका पुस्तकहरुमा प्रष्ट हुन सकेको छैन।
यस क्रममा लोहाङसेन, राधव सेन, हारहर सेन, शुभसेन, मानिक सेन, हेमकर्ण सेन, दिगबन्धन लगायत सेनवंशीय शासकहरुले शासन गरेका थिए। त्यसबेला सेन राज्यको सीमा पूर्वमा मोरङ विजयपुर चौदण्डी, पश्चिममा अर्घाखाँची र गुल्मीसम्म पुगेको थियो। मकवानपुरगायत भूभागबीचमा रहेका थिए। यिनीहरुको शासनकाल विक्रम सम्वत् १३८१ देखि १८३१ सम्म रहेको थियो। यता उपत्यकामा मल्लहरुको शासन विक्रम संवत् १२७४ मा अरि मल्लबाट शुरुआत भएको पाइन्छ। यता पृथ्वीनारायण शाहको राज्य विस्तार अभियान विक्रम सम्वत् १८०१ असोज ५ का दिन नुवाकोटमा आक्रमण गरी प्रारम्भ भयो र क्रमशः १८०३ मा कान्तिपुरमा विजय, कीर्तिपुरमा विजय, १८२६ मंसिर १ मा भक्तपुरमा आक्रमण र पूर्वको एकीकरण अभियान, १८२९ मा चौदण्डी विजयपुरको आक्रमण हुँदै १८३१ मा पृथ्वीनारायण शाहको मृत्यु भएको पाइन्छ।

८. कनाटवंशीहरुको तराई क्षेत्रमा उदय
भारतको उज्जैनका चालुक्य वंशीय शासक विक्रमादित्य छैठौंले आफ्नो शासनकालमा दक्षिणसम्म आक्रमण गरी भारतको सुदूर दक्षिणी भूभागलाई शासनको अधिनमा ल्याएका थिए। सँगसँगै, तत्कालीन मगध साम्राज्यको अधीनमा रहेका गङ्गाभन्दा उत्तरका क्षेत्रहरुमाथि आक्रमण गरेर मगध साम्राज्यबाट ती क्षेत्रलाई कनाटवंशीयहरुले आफ्नो अधीनमा ल्याएका थिए। र, उनीहरुले सम्वत् ११५४ (तदनुसार इश्वी १०९७)मा तिरहुत राज्यको स्थापना गरेका थिए। जसअन्तर्गत गङ्गाभन्दा उत्तरका तत्कालीन मुजफ्पुर, पूर्णिया, दरभङ्गालगायतका पुराना जिल्लाहरु र नेपालको मोरङदेखि पर्सासम्मका भूभागलाई ‘तिरहुत’(तिनैतिरबाट– पश्चिममा गण्डकनदी, पूर्वमा कोशी नदी र दक्षिणमा गङ्गा नदीले घेरिएका कारणले) नामाकरण गरिएको थियो। तिरहुत शासनको प्रथम राजाका रुपमा नान्यदेवले शासन गरेका थिए। त्यसभन्दा पहिले उनी चालुक्य वंशीय विक्रमादित्य छैठौँको प्रधान सेनापति थिए। त्यसपछि क्रमशः गङ्गादेव, अर्जुनदेव, रामासिंह देव र अन्तिम शासक हरिसिंहदेव आदि सात राजाले राज गरे।
तिरहुत राज्यमा कनाटवंशीय सात वटा राजाहरुले राज्य गरेका थिए। उनीहरु सैन्य शक्तिको हिसाबले सबल हुनाका साथै वीरता र विद्वता दुवैमा निपूर्ण थिए। ज्योतिरेश्वर, गुणेश्वर, चन्द्रेश्वर ठाकुरजस्ता प्रकाण्ड विद्वान्हरु कनाटवंशी राजाका मन्त्री बनेका थिए। ती विद्वान् मन्त्रीहरुले ‘वर्णरत्नाकर’, ‘रत्नावली’ लगायत थुप्रै मैथिली कृतिहरु रचना गरी मैथिली साहित्यको यात्रालाई प्रारम्भ गरेका थिए। भनिन्छ ‘वर्णरत्नाकर’ भन्ने पुस्तक भारोपेली भाषा परिवारकै प्रथम ग्रन्थ हो जसको रचना ज्योतिरेश्वर ठाकुरले गरेका हुन्। ऐश्वर्य र वैभवको हिसाबले पनि तिरहुतको राजधानी सिमरौनगढ अत्यन्त सम्पन्न थियो। गयासुद्धिन तुग्लकले १३८२ माघ तृतीयाका दिन आक्रमण गरी थुप्रै सम्पत्तिहरु लुटेर लगेको घटनाले समेत तिरहुतको सम्पन्नतालाई पुष्टि गर्छ। मगध साम्राज्यमाथि आक्रमण गरी मिथिलाको भूभाग आफ्नो हातमा लिएको घटनाले यिनीहरुको वीरताको परिचय दिन्छ। साथै, काठमाडौं उपत्यकामा मल्लवंशीयहरुको आन्तरिक विग्रहमा सहयोग स्वरुप सम्वत् १३०१, १३०२, १३५६, १३६७, १३७०, १३७१ गरी छ पटक आक्रमण गरेका थिए। गयासुद्धिन तुगलकद्वारा गरिएको आक्रमणमा राजा हरिसिंह देव घाइते भई दोलखाको तीन पाटनमा गए र त्यहिँ नै उनको मृत्यु भयो। राजा रुद्र मल्लकी छोरीसँग हरिसिंह देवका छोराको विहे भएपछि कर्नाटवंशीयहरुले आफूलाई मल्लका रुपमा प्रस्तुत गर्न थालेको पाइन्छ।
९.मधेश र नेपाल
यसरी नेपालको समग्र ऐतिहासिक घटनाहरुको सिंहावलोकन गर्दा लगभग ३६ सय वर्षको इतिहासमध्ये शाह वंशको योगदान २ सय ६१ वर्षको मात्रै रहेको पाइन्छ। त्यसबाहेक ३ हजार ३ सय ५० वर्षको नेपाल राष्ट्र निर्माणको नेतृत्व तराईवासी तथा मधेसीहरु र आदिवासी जनजातिहरुले नै गरेका छन् अर्थात् तराईवासी, मधेसी र आदिवासी जनजातिहरुको रगत–पसिनाले नेपालको ढुंगा–माटो सिञ्चित भएको छ, रंगिएको छ। र, समग्रतामा नेपाल राष्ट्रको शिलान्यासदेखि राज्य व्यवस्थाको प्रबन्ध तथा विस्तारसम्ममा तराईवासी–मधेसी एवम् आदिवासी जनजातिको योगदान छ। नेपाल राष्ट्रको निर्माणमा तिनीहरुको प्रमुख भूमिका मात्र होइन स्वामित्व समेत रहेको छ। त्यसैले नेपालको कुनै खास भूभागमाथि मात्र हाम्रो दावी छैन। सम्पूर्ण नेपाल हाम्रो पुर्खाले आर्जेका छन्, त्यसैले सम्पूर्ण नेपालमाथि हाम्रो संस्थापकीय दावा छ।

(क) तराईवासीहरु नै नेपाल राष्ट्रका संस्थापक
२०६२–०६३ को दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधानमा संघीयता, गणतन्त्र र समावेशितालगायतका जनआन्दोलनका गन्तव्यहरुलाई मुख्य राजनीतिक दलहरुले बेवास्ता गर्दा मधेश विद्रोहद्वारा आफूप्रति हुँदै आएको विभेदप्रति आक्रोस व्यक्त गर्दै तराईवासी जनताका तर्फबाट सयभन्दा बढी होनहार सपूतहरुले शहादत वरण गरेका थिए। आज पनि आफूप्रति हुँदै आएको अपमान, उपेक्षा र वहिष्करणप्रति विद्रोही मानसिकता शान्त हुन सकेको छैन। दोस्रो संविधानसभापछि उपरोक्त विभेदमा कमी आएन बरु त्यो उन्मत्त भएर अझ कुतर्कहरुद्वारा अभिजात्य राष्ट्रवादी आकाङ्क्षालाई व्यक्त गर्न थालेको छ। यस परिप्रेक्ष्यमा तराईवासी जनसमुदाय आक्रोसित हुनु स्वाभाविक छ। विगतमा आफूप्रति अपमानको मनसायसाथ प्रयोग गर्ने गरिएका ‘मदेसि’, ‘मधेशिया’, ‘मर्सिया’ जस्ता शब्दावलीका ठाउँमा समतल मैदानी इलाकाका वासिन्दाहरु ‘मधेसी’ नामावली गर्वसाथ स्वीकार गरेका छन्। अपमानितहरुबीच वृहत्तर एकताको सन्दर्भमा उक्त ‘मधेसी’ शब्दावलीले एकखालको राजनीतिक अर्थ राख्दछ र सम्पूर्ण तराईवासी जनसमुदायका लागि ‘मधेशी’सर्वनाम सुपाच्य भइसकेको छ।
शाषक वर्गद्वारा जनताको वास्तविक इतिहासलाई ढाकछोप गरी इतिहासमा आफ्नो सानो भूमिकालाई बढाइ–चढाइ गराउँदै आफ्ना स्तुतिकर्ता मार्फत् मित्थ्या यशोगान गाउन लगाउने काम हुने गरेको सर्वविदितै नै छ। तर विद्रोहका नाममा आफ्नै पूर्खाको भूमिकालाई संकुचितपारी मधेशको माटोदेखि हिमाल र पहाडका ढुँगाहरु हाम्रा पुर्खाको रगत र पसिना सिंचिएको तथ्यलाई कुल्चनु कुनै पनि हिसाबले इमन्दार प्रयास मान्न सकिदैन। हामी सिँगै नेपालका संस्थापक, रक्षक एवम् यसका उपभोक्ता पनि हौँ। आउनु होस्, हामी उठौं र स्वाभिमानका साथ अखण्ड नेपालको पक्षपोषण गर्दै अपमान र विभेद विरुद्घ एकजुट होऔं। मधेशलाई अलग्गै राष्ट्रका रुपमा व्याख्या गर्ने तराई–मधेशकै कतिपय व्यक्तिहरुले तथ्य सङ्गतभन्दा पनि भावनामा बगेर इतिहासमा हुँदै नभएका र काल्पनिकरुपमा आफ्ना धारणाहरु अगाडि सार्ने गरेका छन्। त्यस्तो भनाइले नेपाल राज्यको निर्माणमा मधेसीहरुको भूमिकालाई झन् संकुचित गरी तराईसम्ममात्र सीमित गर्दछ। वास्तविक इतिहासको तोडमोड गरिएको महसुस गरी आफ्नो केही भनाई राख्न आवश्यक ठानेको हुँ, किनकि इतिहासजस्तो गम्भीर विषयमा खेलबाड हुँदा मौन धारण गर्नु आफ्ना गौरवशाली इतिहासप्रति अन्याय गर्नु हुनेछ।
सन्दर्भ सामग्रीहरु
१) गोपाल राजवंशावली, धनवज्र वज्राचार्य, साझा प्रकाशन
२) नेपालको प्रचीन र मध्यकालीन इतिहास, प्रा.डा. श्री रामप्रसाद उपाध्याय
३) नेपालको ऐतिहासिक रुपरेखा, डा. सुरेन्द्र के.सी.
४) नेपाल परिचय, उप प्रा. निर्मला पोखरेल, त्रि.वि.
५) नेपालको साँस्कृतिक इतिहास, ज्ञानमणि नेपाल
६) नेपालको इतिहास, डोलराज काफ्ले
७) भारतीय संस्कृतिका विकास, सत्यकेतु विद्यालंकार
८) प्राचीन भारतीय इतिहासका वैदिक युग, सत्यकेतु विद्यालंकार
९) सिंधु सभ्यता, डा. किरण कुमार थपलिया र डा. संकटा प्रसाद शुक्ल
१०) भारतीय संस्कृति और कला, वाचस्पति गोरौला
११) गुप्तकालीन उत्तर भारतका राजनीतिक इतिहास, डा. प्रशान्त कुमार जयसवाल
१२) प्राचीन भारत, राधाकुमुद मुखर्जी आदि।

शुक्रबार, साउन ६, २०७४ मा प्रकाशित
Print Friendly, PDF & Email

फेसबुकबाट तपाईंको प्रतिक्रिया

सम्बन्धित शीर्षक

%d bloggers like this: