पश्चिमोत्तर झापा र दक्षिणी इलामका यस्ता गाउँ छन्, जहाँका विद्यार्थी हिउँदमा मात्र विद्यालय जान पाउँछन्। तीनतिरबाट खोलाले घेरिएको वस्ती भएकाले खोलामा पानी बढ्नासाथ खोलाका डिलसम्म पुगेर फर्कनुपर्ने गरेको विद्यार्थीहरूको गुनासो छ। यो बाध्यता हो, इलामको चुलाचुली– ४ र झापाको कमल गाउँपालिका– ५ सिम्लेको।

चुलाचुलीको आइतबारेमा माध्यमिक तहको विद्यालय मात्र छ। झापाको कमलतर्फ त ५ कक्षासम्मको आधारभूत विद्यालय मात्र। त्यसैले झापातर्फका विद्यार्थीहरू ५ कक्षापछि अध्ययनका लागि इलामको आइतबारेतर्फ धाउँछन्। तर १० कक्षा पार गरेपछि भने त्यो विकल्पले पनि काम दिँदैन। त्यसैले सिंगो चुलालुचीका विद्यार्थी झापाको दमकतर्फ धाउनुपर्छ। सिम्लेका २५० परिवारमा रहेका विद्यार्थीको अवस्था पनि यही हो।

दमक नै धाए पनि वर्षाको समयमा भने खोलामा पानी बढेपछि विद्यालय जानै नसकिने बाध्यता छ उनीहरूको। दमकको हिमालय माविमा कक्षा ११ मा अध्ययनरत सुनिल वाग्लेले भने, ‘स्कुल जाने त खोलामा पानी घटेको बेला मात्र हो, पानी बढ्यो भने जानै सकिँदैन।’  माध्यमिक तहको अध्ययनका लागिसमेत कमल गाउँपालिकातर्फका विद्यालय जान दुईवटा खोला तर्नुपर्छ। तर दमक आए एउटा खोला तर्दा हुने भएकाले यहाँका अधिकांश विद्यार्थी ५ कक्षापछि दमकका विभिन्न विद्यालयमा अध्ययनका लागि धाउने गरेका छन्।

हिउँदका बेला मात्र नियमित विद्यालय जान पाइने अर्का विद्यार्थी समिल लिम्बूले बताए। वर्षाको बेला त खासै विद्यालय नै जान नपाइने उनको गुनासो छ। ‘वर्षाको बेला त विद्यालय होइन, बिरामी भएमा अस्पताल जानसमेत नसकिने अवस्था आउने गरेको छ’, उनले भने।  यस्तै बाध्यता सुनाउँछन्, चुलाचुली–४ का अनिल जोगी। आर्थिक अवस्था बलियो भएकाहरू झापातिरै डेरा गरी बस्ने भए पनि त्यो सम्भव नहुनेहरूले घरैबाट धाउनुपर्ने उनको भनाइ छ। डेरा गरी बस्नेले वर्षभरि विद्यालय जान पाउने, ट्युसनसमेत पढ्ने तर गाउँमा हुनेले खोलामा पानी कम भएका दिन मात्र जान सक्ने भएकाले आफूहरू पछि पर्नुपरेको उनको गुनासो छ। रतुवा खोलामा पुल निर्माणाधीन अवस्थामा रहे पनि त्यो कहिले पूरा हुने हो टुंगो नभएको चुलाचुली र सिम्लेवासीको भनाइ छ। भर्ना पाउनसमेत कठिन सिम्ले र चुलाचुलीबाट थप अध्ययनका लागि झापाका विद्यालयमा पुगेका विद्यार्थीले त्यहाँका विद्यालयमा भर्ना पाउन पनि कठिन छ।

नेपाली माध्यमबाट १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई दमकतिरका सामुदायिक विद्यालयले पनि ११ कक्षामा भर्ना लिन गाह्रो मान्ने सिम्लेमा रहेको शहीद रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक हरिप्रसाद चम्लागाईं बताउँछन्। विद्यार्थीहरूलाई परेको यही समस्या समाधानका लागि आफूहरूले पनि अंग्रेजी माध्यममा पठनपाठनको तयारी गरे पनि कठिनाइ भएको उनले सुनाए। ‘एक त सबै शिक्षकहरू अंग्रेजी माध्यमबाट पढाउन सक्नुहुन्न, नयाँ शिक्षक ल्याइहाल्ने अवस्था पनि छैन’, उनले भने, ‘फेरि अंग्रेजी माध्यमबाट पढाउँदा केही अतिरिक्त पुस्तकहरू पनि खरिद गर्नुपर्छ, यसका लागि अभिभावकहरू तयार हुनुहुन्न।’ अभिभावकहरूमा शिक्षाप्रतिको चेतना नभएका कारण विद्यालयले मात्र चाहँदा शिक्षाको गुणस्तर उकास्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरुङहाङ लावतीले बताए। अधिकांश अभिभावक विपन्न भएका कारण उनीहरू दिनभरि मजदुरीका लागि जाने गरेका छन्।

विद्यार्थी पढे नपढेको प्रति उनीहरूको ध्यानै हुँदैन। लावतीले भने, ‘अलिकति खर्च बढ्दा राम्रो ढंगबाट पढाइ सुरु गरौँ भन्दा अभिभावकहरूले मतलबै गर्दैनन्।’  यहाँ अध्ययन गरेका विद्यार्थीहरूको शैक्षिक पृष्ठभूमि कमजोर भएका कारण दमकका सामुदायिक विद्यालयमा पनि आफ्ना विद्यार्थी उपेक्षित भएको उनले बताए।  गाउँपालिका नै एकादेश चुलाचुलीवासीहरू गाउँपालिका पुग्नसमेत झापाको दमक हुँदै पुग्नुपर्छ। कुनै कामले गाउँपालिका जानुपर्दा दिन नै माया मार्नुपर्छ। चुलाचुली हुँदै जाने गोरेटोसम्म छैन। झापा हुँदै जानसमेत सवारी साधन चल्ने बाटै छैन। अधिकांश विपन्न छन्, सबैका घरमा मोटरसाइकल छैन।

अधिकांश महिला साइकल चलाउन पनि जान्दैनन्। त्यसैले गाउँपालिका पनि आफूहरूका लागि एकादेशको गाउँ जस्तो भएको चुलाचुली– ४ की गंगा घतानी बताउँछिन्।  गाउँपालिका पुग्न करिव २५ किलोमिटर दूरी तय गर्नुपर्छ। ‘गाउँपालिका जान झापाको दमक चोकदेखि केर्खासम्म मात्र सवारी साधन पाइन्छ। जाँदा आउँदा करिव ४० किलोटर दूरी पैदल नै धाउनुपर्दा अर्कै देश गएर आएजस्तो लाग्छ’, उनले भनिन्।  चुलाचुलीसँगै जोडिएको झापातर्फको गाउँ सिम्लेका बासिन्दा पनि हालत पनि उही हो।

यहाँबाट गाउँपालिका कार्यालय पुग्न २५ किलोमिटरकै हाराहारी पार गर्नुपर्छ। तर सिम्लेवासीले भने चुलाचुलीवासीको भन्दा आधा मात्र पैदल दूरी पार गरे पुग्छ। बाँकी दूरीमा सवारी साधन चल्ने गरेका छन्। थाहाखबर डटकमकाे सहयाेगमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया