नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष समितिका एक सदस्य दामोदर उपाध्याय ढुङ्गेलको माघ ९ गते (२३ जनवरी २०२४, बेलुकी ९.३० बजे) काठमाडौंमा निधन भएको छ। उहाँ ६७ वर्षको हुनुहुन्थ्यो। अस्कल क्याम्पसमा विएस्सी अध्ययन गर्दैगर्दा ०३५/०३६ सालमा भएको विद्यार्थी आन्दोलनका क्रममा झापा आन्दोलनको प्रभावमा रहेकाहरुका तर्फबाट आन्दोलनको नेतृत्व गर्ने अगुवा मध्ये दामोदर उपाध्याय एकजना हुनुहुन्थ्यो।
अनेरास्ववियू पाँचौको स्थापनार्थ मालेको युवा स्क्वाडमा रही महत्वपूर्ण योगदान गरेका उपाध्याय तत्कालीन मालेको राजनीति विस्तारका लागि सिन्धुपाल्चोकमा शिक्षकका रुपमा र पछि भूमिगत कार्यकर्ताका रुपमा काम गर्नुभएको थियो। ०३९ सालमा तत्कालीन नेकपा माले भित्र सिपी मैनालीको अल्पमत समूह र पार्टीको बहुमत समूहका बिच भएको अन्तरसंघर्षका क्रममा सिपि पक्षधरलाई कार्वाही गर्ने क्रममा धेरै जुझारु कार्यकर्ताको राजनीतिक कत्लेआम भएको थियो जसमध्ये एकजना दामोदर उपाध्याय पनि हुनुहुन्थ्यो। त्यसपछि पनि उहाँले आन्दोलन र राजनीतिलाई निरन्तरता दिनुभयो,आफ्नो पेशा गर्दै ललितपुरमा बसोबास गर्न थाल्नुभयो।
पछिल्लो समय उहाँ नेपाल रिडर्समा कण्ट्रिव्युटर हुनुहुन्थ्यो। खासगरि अर्थपूर्ण लेखहरु अनुवाद गरेर पाठकहरुसम्म पुर्याउनमा उहाँको रुची थियो। आरोहण गुरुकुलले प्रदर्शन गरेको नाटक ‘मार्क्स फर्किए…’ उहाँले हवार्ड जीनद्वारा लिखित ‘मार्क्स इन सोहो’ (Marx in soho) नाटकको नेपाली रुपान्तरण गर्नुभएको थियो।
व्रिटिश सेनामा कार्यरत पिता भवानी शंकरका छोराका रुपमा उहाँको शिक्षा दिक्षा ब्रुनाइबाट शुरु भई अमृत साइन्स कलेज, त्रिचन्द्र बहुमुखी क्याम्पस र त्रि.वि किर्तिपुरमा भएको थियो। उहाँका श्रीमति, १ छोरा र १ छोरी छन्।
मित्रहरुको बुझाइमा दामोदर उपाध्याय
बिरामी भएर अस्पतालमा रहेको बेला र निधनपछि सामाजिक सञ्जाल मार्फत सहकर्मी या समकालीन मित्रहरुले उहाँका बारेमा आफ्ना भनाइहरु राख्नुभएको छ। उहाँको विषयमा हाम्रा पाठकहरुलाई थप जानकारी होस् भनेर हामीले केही भनाइहरु यहाँ साभार गरेका छौं ।
टङ्क कार्की
(१० जनवरी, साँझ ५.५९ बजेको फेसबुक पोष्ट)
दामोदर उपाध्याय ढुङ्गेल र २०३५/३६ साल देखिका साथी। उबेला देखिका राजनीतिक सहकर्मी पनि। उनिसंगको संश्रय या उनको आश्रय र आतिथ्यमा नबसेका उ बेलाका नेकपा मालेका शिर्ष नेताहरु विरलै होलान्। एशियन स्टुडेन्ट असोसिएशन (ASA) संग अखिलको सम्बन्धको कडी उनै थिए। लप्पन–छप्पन र मुलाहिजा नगर्ने इमान्दार र प्रतिवद्ध अभियन्ता नै उनको चिनारी हो। पार्टी जीवनका उपापोहका हामी संगैका भुक्तभोगी पनि हौं । यता केही समय देखि गंभिर विरामी भएर अस्पतालमा सघन उपचार गरी रहनु भएको छ। आज विहान गएर भेटें – अशक्त र शिथिल जसलाई यो रुपमा देख्न जो कोही उनका मित्रहरुलाई गार्हो हुँदो हो। मैले उनको स्वास्थ्य अवस्था बुझ्ने कोसिस गरें – किड्नी, लिवर र आन्द्रामा समस्या छ। थोरै सुधार छ।
शीघ्र एवम पुर्ण स्वास्थ्य लाभको कामना!
(२३ जनवरी २०२४, ११.२८ राती)
भर्खरै दुखद समाचार आयो, अब दामोदर जी हाम्रो स्मृतिमा मात्रै रहने हुनु भयो। हिजो मात्रै दिल्लीबाट काठमाडौं ल्याइएको थियो। उहाँको असामयिक निधनबाट लामो राजनीतिक यात्राको सहयोद्धा, सुख दुःखको साथी हितैषी गुमाउनु पर्दाको पीडा सहनु परेको छ। र झन्डै पाँच दशक उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा नेकपा (माले)/(एमाले) हुँदै जुन इमान र समर्पणका साथ र निस्पृय भावले योगदान गर्नु भयो त्यो संधैभरी उदाहरणीय र स्मरणीय रही रहने छ। उहाँले लगाएको त्यस गुनको सबै साथीसंगी मुक्तकण्ठले प्रशंसा गर्दछन् र यो आन्दोलन उनबाट सधैं ऋणी रही रहने छ ।
हार्दिक श्रद्धान्जली कमरेड सीएनटी!
अलविदा दामु जी !
शोक सन्तप्त सबै परिवार जनमा समवेदना !
घनश्याम भूसाल
महासचिव, नेकपा (एकीकृत समाजवादी)
आदर्शप्रति ईमानदारी र समर्पणका कारणले कमरेड दामोदर उपाध्याय एउटा बेग्लै क्रान्तिकारी थिए । सानाहरूका पक्षमा जस्तासुकै ठूलाहरूसँग प्रश्न गर्नसक्ने उनको जोदाहा व्यक्तित्व हाम्रो पिँढीमा विशिष्ठ उदाहरण थियो । कमरेड दामोदर ! हार्दिक श्रद्धांजली ! परिवारमा समवेदना !
रामप्रसाद श्रेष्ठ
वरिष्ट अधिवक्ता तथा न्यायिक परिषदका सदस्य
दामोदरजी हामीलाई छाडेर जानु भयो भयो भन्दा स्तब्ध भएको छु विश्वास पनि भएको छैन तर विस्वास नगरेर पनि धर छैन। उहाँ आफ्नो विचारप्रति निष्ठावान हुनुहुन्थ्यो। उहाँ जस्तो ब्यक्ति अबको जेनरेशनमा पाउनु दुर्लभ छ। मेरो हार्दिक श्रध्दान्जली।
सुरेश मान श्रेष्ठ
पूर्व पर्यटन सचिव, नेपाल सरकार
२०३५ र २०३६ सालमा अस्कलमा अध्ययन गर्दा ठँहिटी र लाजिम्पाटमा डेरा गरी बस्दा आदरणीय मित्र दामोदर उपाध्याय रुम पार्टनर हुनुहुन्थ्यो। बिएससीको प्रथम सत्रतिर अस्कल होस्टेलमा बसेको थिएँ। अस्कलमा २०३२ सालको हड्तालको कारण I.Sc., B.Sc. समयामानै पूरा हुन सकेको थिएन। कोठा अभावको कारण २०३५ सालको B.Sc. अस्कलमा सञ्चालन हुने अवस्था नभएपछि त्रिचन्द्र बहुमुखी कलेजमा पढ्नु परेको र अस्कल छात्रावासमा मलाई बस्ने व्यवस्था हुँदाहुँदैपनि दामोदरजीसँगको घनिष्ट मित्रताको कारण करिब ९–१० महिनापछि होस्टल छाडेर सँगसँगै ठँहिटीमा डेरा खोजेर बस्यौँ। हाम्रो रुम पार्टनरमा धरानका नर सुनुवार र रुपन्देही मणिग्रामका लक्ष्मण गौतम पनि थिए। हामी सबै त्रिचन्द्र बहुमुखी कलेजमा बिएससी अध्ययन गर्थ्यौं। बेलाबखत अस्कलमा परीक्षा दिन आउँदा हाल नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङ पनि हाम्रो डेरामा बस्न आउनुहुन्थ्यो।
२०३६ सालको आन्दोलनमा बेलाबखत दामोदरजी हामीलाई थाहा नदिई हराउनु हुन्थ्यों र कम्युनिष्ट किताबहरू अध्ययन गर्न प्रोत्साहन गर्नु हुन्थ्यो। २०३६ सालमा रुम पार्टनर हुँदाहुँदै दामोदरजी आफ्नो पिताजी हङकङ गोरखा पल्टनको पुरोहित हुनु भएकोले दशैँ मनाउन हङकङ जानुभएको थियो र दशैँपछि फर्केर आउँदा चिल्लो महँगो लुगा लगाएर आउनु भएको थियो। तर कानमा दादजस्तो देखिने चिलाउने रोग पनि बढेको मैले देखेँ र डाक्टर देखाउन अनुरोध गरेको थिएँ। एक दिन उहाँ बिएससी सर हुन अचानक हामीलाई पनि स्पष्ट स्कुलको ठेगाना नदिई भूमिगत भई जानु भयो र ३ महिना पछि छाला चिलाउने रोग लिएर ओैषधी गर्न हाम्रै डेरामा बस्न आउनु भएको थियो।
२०४१ सालको वैशाख १५ गतेको मेरो शुभविवाहमा किर्तिपुरको होस्टेलमा बस्ने साथी र काठमाडौँका १२ जना साथीहरूसहित उहाँ पोखराबाट नारायणघाटमा जन्ती जान आउनु भएको त्यो रमाइलो क्षणलाई स्मरण गर्न चाहन्छु। पछि उहाँ गोलबन्द भएको राजनैतिक दलमा षड्यन्त्र भएर पाखा लगाइनु भएपछि विक्षिप्त अवस्थामा पनि मसँग शेयर गर्न आउनुभएको क्षण सम्झिरहेको छु। उहाँले सम्पूर्ण जीवन सकारात्मक अवस्था आउनुपर्छ भनी लागिरहनु भएको मैले अनुभव गरेको थिएँ। उहाँ अत्यन्त निष्ठावान व्यक्तित्व भएको व्यक्ति हुनुहुन्थ्यो। यसैवर्ष उहाँको छोरीको शुभविवाहको भोजमा निमन्त्रणा गर्न खोज्दा आफ्नो पुरानो विद्यार्थी साथी नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङलाई फोनमा सम्पर्क हुन नसक्दा दुख मनाउ गर्नु भएको क्षण सम्झन्छु।
टङ्क कार्कीजीको फेसबुकबाट पाटन अस्पतालमा उपचार गराइरहनु भएको खबरले दामोदरजीलाई फोन गरेँ र उक्त पाटन अस्पतालको रुम नं. ३०२ भएको थाहा पाएँ। मिति २०८० साल पौष २५ गते बिहान १०: ५० बजेतिर उहाँलाई भेट्न गएँ जुन समयमा बागमती प्रदेशका माननीय प्रदेश प्रमुख श्री यादवचन्द्र शर्मा पनि उहाँलाई भेट्न जानुभएको पाएँ।
आज मेरो रुम पार्टनर आदरणीय दामोदर उपाध्याय ढुङ्गेलको स्वर्गारोहण भएको दुःखद खबरले भाव विह्वल भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धासुमन टक्र्याउँछु। आदरणीय भाउजु लगायत शोक सन्तप्त सपरिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु। अलविदा दामोदरजी।
जीवन यस्तै त रहेछ।
मितिः२०८० माघ १० गते
अरुण नेपाल
पोलिटव्युरो सदस्य, नेकपा एमाले
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा २०३५/३६ सालको विद्यार्थी आन्दोलनको दुरगामी महत्व छ। त्यहि आन्दोलनको एक योद्धा र त्यस यता नेकपा माले र एमाले निर्माणमा योगदान गर्नु हुने दामोदर उपाध्यायको असामयिक एवम् दुःखद निधनको खबर सुन्दा ठूलो पिडा भयो। आक्कलझुक्कल बाहेक २०५१ साल देखि उहाँसँग खासै भेटघाट हुन सकेको थिएन तर उहाँको सरल तर सधै उत्साहित रहने ब्याक्तित्व स्मरणमा आइरहन्थ्यो। उहाँको निधनबाट देशको बाम तथा प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षती भएको छ। म उहाँप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवार, आफन्त र मित्रजनमा गहिरो समवेदना प्रकट गर्दछु।
सरेस नेपाल
केन्द्रीय सदस्य, नेकपा एमाले
सिन्धुपाल्चोकको वाम आन्दोलनको एउटा क्रान्तिकारी धार अनि एक संगिन कालखण्डको पुस्ताले कहिल्यै बिर्सन नसक्ने प्यारो “दामोदर सर“को भौतिक जीवन सधैको निम्ति अस्तायो भन्ने सुन्दा सारै गहिरो पीडा अनुभूत भैरहेको छ । शायद ०३६ साल ताका हुनुपर्छ जिल्लाको पश्चिमी भेगमा तत्कालीन नेकपा(माले)को संगठनात्मक जग निर्माणको उद्देश्य लिएर शिक्षण पेशाको आवरणमा अहोरात्र कृयाशील एउटा अविस्मरणीय पात्रलाई मैले चिन्न नपाउदै पार्टी कामसँग सम्बन्धित चिठीपत्र भैरहन्थ्यो । उहाँ कस्तो अनुहार, उमेर र जीउडालको मान्छे होला भनेर कौतुहल मनमा उब्जिरहन्थ्यो । पछि भेटमा उहाँले भन्नु भयो “सरेशजी तपाईं नै हो त? मैले त तपाईं निक्कै पाको उमेरको हुनुपर्छ भन्ने ठानेको थिंए “। तिनताका म १९/२० बर्षको थिंए। हामी धेरै तन्नेरी पुस्तालाई लाग्थ्यो “ दामोदर सरसँग कति धेरै उत्साह, क्षमता र युवालाई संगठित गर्ने कुसलता छ, यस्तो कम्युनिष्ट कसरी हुनेहोला!“ आज बिहानै टंक कार्की कमरेडको स्ट्याटसले छाती पोल्यो,आँखा रसाए। उहाँ बिरामी हुनुहुन्छ भन्ने सुनेकै थिएँ। खास बेला उकाली चड्दा चौतारीमा भेटिएका बटुवा जस्तै भयो हाम्रो सम्बन्ध। सायद उहाँसँग भेटघाट नभएको पनि त ३०/३२ वर्ष भयो होला। त्यस बिचमा उहाँ के कस्तो रानीतिक भूमिकामा रहनु भयो मैले कहिल्यै सुन्न पाइन, खोजिन पनि। अस्ति मात्र उपचारको क्रममा दिल्ली लगेर फर्काइएको रहेछ। उहाँको घर परिवार मलाई केही थाहा छैन। धरान तिरको कमरेड रे भन्नेसम्म सुनेको हुँ।भूमिगत जीवनमा निजि कुरा बुझ्न खोज्नु अशोभनीय ठानिन्थ्यो। भावपुर्ण श्रद्वाञ्जली दामोदर उपाध्यय ढुंगेल सर प्रति! गहिरो समवेदना शोकाकुल परिवारजनमा!
विकास गौतम
दाङ
हार्दिक श्रद्धाञ्जली !!
प्रिय मित्र दामोदर उपाध्याय ढुङ्गेल अलि लामो समय देखि अस्वस्थ हुनुहुन्थ्यो। उपचार क्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ,लगनखेल ललितपुरमा भर्ना भएको जानकारी श्रद्धेय मित्र डा. मुकेश चालिसेबाट पाएको थिएँ । थप उपचारकालागि दिल्ली पुगेकोसम्म पनि थाह थियो । तर आज विहानै फेसबुक खोल्दा मित्र टंक कार्कीको फेसबुक वालमा दिल्लीबाट फर्के लगत्तै उहाँ अव परिवार जन र हामी सबैबाट सदाकालागि विदा भएको थाह पाएँ।
तत्कालिन नेकपा( माले)को विद्यार्थी फाँटमा कृयाशिल हुँदा देखि नै हामी परिचित भयौं । उहाँ तिनताक अमृत साईन्स कलेजमा पढ्नु हुन्थ्यो म कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमा । दुबै विज्ञान विषयका छात्र थियौं । २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन देखि हामीबीच बैचारिक समिप्यता अझ गहिरियो । पछि २०३८ साल तिर म काभ्रे जिल्लाको भुम्लुटारमा अवस्थित प्रकाश मा.वि .मा प्रधानाध्यापक थिएँ । उहाँ मलाई भेट्न त्यहाँ २०४० सालतिर आउनुभयो । एक रात संगै वितायौं ।
समय र परिस्थितिले हामी टाढा भयौं । म दाङ तिर लागें । उहाँ अचेल ललितपुरमा हुनुहुन्थ्यो । साह्रै उर्जाशिल , जुझारु एबं परिवर्तनका पक्षधर, नेकपा( माले) हुँदै नेकपा( एमाले )मा पनि निष्ठाको राजनीतिका पक्षधर मित्र गुमाउनु पर्दा साह्रै दुःखी छु ।
अलविदा कमरेड ! उहाँको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली , तपाईलाई यौटा ईमान्दार, देशभक्त एबं क्रान्तिकारीको रुपमा समकालिन विद्यार्थीहरुले सदा याद गरिरहनेछन्।
डा. अच्यूत गौतम
०३५/०३६ का चर्चित विद्यार्थी नेता
Damodar Upadhaya passes away
हार्दिक श्रद्धान्जली कमरेड सीएनटी
“I may be the first one to use a walking stick in our age–group” he had said, during his last call while he was in Patan Hospital some ten days ago, to which I had answered, “it is on me, my friend – which colour?”
“Wooden colour or black”, he had responded…
Damodar, the name of a friend who left me in tears (like a child). A wonderful person at heart seeming to know me more than I know myself and respected me with more meaning than I respected myself. Very intelligent, yet humble as though his intellect denied the grace, forbidding him the space for his own natural being. A hero among the engaged, a fighter beyond familiar faces of the day”. A towering figure of time, yet, self–limiting to a common man down–to–earth, uncommon and openly betraying his talents. I am happy and will be ever happy to have had a friend like you.
I will miss you my friend.
हार्दिक श्रद्धान्जली कमरेड सीएनटी !
अलबिदा दामु जी !
Rest in peace my friend.
शोक सन्तप्त सबै परिवार जनमा समवेदना !
दामोदर उपाध्यायको अन्तिम फेसबुक पोष्ट
हाम्रा मित्र दामोदर उपाध्यायले नेपाल रिडर्स र नेपाल अध्ययन केन्द्रका पात्रहरुलाई लक्षित गरेर जनवरी २, २०२४ फेसबुकमा अन्तिम पोस्ट गर्नुभएको थियो जतिबेला नेपाल अध्ययन केन्द्र आजको वामपन्थ–२ राष्ट्रिय गोष्ठिको तयारी गरिरहेको थियो। दोस्रो दुनियाँको दैलो घच्घच्याउन पुगेको भान भइरहँदा भन्दै उहाँले एकप्रकारले सचेतनतापूर्वक आफ्नो सन्निकट मृत्युबोधको जानकारी साझा गर्नुभएको थियो र आन्दोलनकै चिन्ता गर्नु भएको थियो । पोष्ट गरिएको उहाँको भनाई जस्ताको तस्तै यहाँ साभार गरिएको छः
दोस्रो दुनियाँको दैलो घच्घच्याउन पुगेको भान भइरहँदा मेरो मनमा एउटा प्रश्न उब्जियो,“ आजको २० वर्ष पछि नेपालमा के हुँदै गरेको हुनेछ?“ अधिकाश लब्धप्रतिष्ठित सम्मानित नेताज्यूहरु ईहलोक सुधारी सकेर परलोक सुधार्नमा लागि सकेका हुनेछन्। विभिन्न समयमा फेसबुकमा आएका विविध भावभङ्गीमा सहितका फोटा हेर्दा त्यस्तै अनुभूत हुन्छ। फेसबुकको सुदुर देब्रे कुनामा टंक कार्की सकिनसकी लाओ त्से र खलिल जिब्रानका कथाहरु बुनिरहेका हुनेछन्, जुन कथाहरु क्रान्तिको विकासका लागि हुने वा आफ्नो मनको तुष्टिकरणका लागि उनै जानुन्। बाँझो बारि जोत्दा हल नमिलेको गोरु जस्तो आफ्ना सिद्धान्तमा अडिग मानिने घनश्याम भूसाल पनि सम्भवतः कुनै मञ्चको देब्रे कुनामा उभिएर सारा सान्सारिक फसादको जड नकमाएको सम्पत्तिको संचय र उपभोग हो भनी व्याख्या गरिरहेका हुनेछन्। यो अलग कुरा हो कि हालसम्म यस्तो सञ्चित धनको परिमाण कति छ र त्यसमध्ये कति कति जनहितमा उपयोग गर्न सकिन्छ भनी जान्न अर्को ७० वर्ष खर्चन पर्नेछ। कुनै सेमिनार हलको टेबलको एक कुनामा बसेर कोमल भट्टराई म्याक्रो पोलिटिक्सका रहस्य सुल्झाउन मेहनतपुर्वक लागिरेका हुनेछन्। क्षण क्षणमा बदलिरहने राजनीतिक परिदृष्य भोगिरहेको देशमा यी रहस्य सुल्झाउन उनलाई पनि फलामका चिउरा चवाउनु सरह हुनेछ। एउटी जुझारु महिला नेतृ उषाकिरण तिम्सिनालाई मञ्च त खै कसले पो देला र? तर पनि फ्लोरबाट कुनै मेचको डाँडीमा भर पर्दै बुझ केटा हो! तिमीहरुको भालेवाद चल्नदिइने छैन भनेर हल थर्काई रहेकी हुनेछिन्। यो अलग कुरा हो कि त्यही हलमा उपस्थित भालेहरु थर्किए थर्किएनन्, अहिले सम्म पत्ता लागेको छैन। थाहा लागे खबर गरौंला। अर्का एक जोशिला भाइ छन् गौतम राई। उनी हरेक समस्याको निदान दलाल पुँजीवादलाई नेस्तानाबुद गर्दै राष्ट्रिय पुँजीको जगेर्ना गर्ने मन्त्र सुनाउछन्। योपटक भेट भयो भने कति प्रतिशत दलाल पुँजीवाद नेस्तानाबुद भयो र कति प्रतिशत राष्ट्रिय पुँजी जगेर्ना भयो, अवस्य सोध्नेछु। कृपया यो छोटो लेखोटलाई निरासावादी नठानिदिनु होला। वितेका २० वर्षलाई नियाल्दा थाहा भइहाल्छ।
नेपालको सामाजिक राजनीतिक परिवर्तनका एकजना अभियन्ता, लडाकु मार्क्सवादी तथा विद्यार्थी आन्दोलनका एकजना योद्धा, नेपाल रिडर्सका कन्ट्रिव्युटर र अनुवादक कमरेड दामोदर उपाध्याय ढुङ्गेलप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली!