भारतको राजधानी नयाँ दिल्लीका स्कुले विद्यार्थी छुट्टिमा छन्। यो छुट्टि कुनै चाडपर्व वा उत्सव मनाउन दिइएको होइन, प्रदूषणबाट बच्न हो।

केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। स्वास्थ्य जोखिम बढेको भन्दै राज्य सरकारले नै स्कुल विदा दिने निर्णय गरेको हो। करिब चार हजार स्कुल एक साता निम्ति बन्द गरिएका छन्। उडान र रेल तालिका पनि हेरफेर भएको छ। तुँवालोले ढाकिँदा जहाजको उडान र अवतरण प्रभावित छ। तुँवालो यति बाक्लो छ, गाडी चलाउँदा दुई–तीन मिटर दूरीकै दृश्य देखिँदैन।

रूघाखोकी तथा फोक्सोसम्बन्धी बिरामीको संख्या बढेको छ। तीन दशकदेखि दिल्लीमा कार्यरत छातीका डाक्टर अर्विन्द कुमारले धूमपान नगर्ने मान्छेको पनि फोक्सो गुलाबी हुन छाडेको बताएका छन्। ‘अचेल फोक्सोमा दाग देखिन चुरोट खानै पर्दैन। धेरै भयो, चुरोट नखानेको पनि गुलाबी फोक्सो देख्न छाडेको,’ उनले भने, ‘वातावरण यति प्रदूषित भएको छ, धूमपान नगर्ने पनि छातीको समस्याबाट ग्रसित छन्।’

केही दिनयता दिल्लीवासी बिना मास्क हिँडडुल गर्न छाडेका छन्। आइतबारयता नै मास्कको व्यापार तीन हजार प्रतिशत बढेको मास्क व्यापारी जयधर गुप्ताले बताएका छन्। मोटरसाइकल सवारले पनि सल वा टिसर्टले मुख छोपेको देखिन्छ। बुधबार फुटपाथमा हिँडिरहेकी एक युवतीले धुँवाधुलोबाट जोगिन आफ्नो कालो लामो कपाल तानेर नाकमुख छोपेकी थिइन्।

दिल्लीको यो प्रदूषण कति भयानक छ भने, मुख्यमन्त्रीले नै सहरलाई ‘ग्यास च्याम्बर’ को संज्ञा दिएका छन्। यो विषालु तुँवालो दिल्लीमा नयाँ भने होइन। हरेक वर्ष यो याममा छिमेकी राज्य हरियाणामा बाली जलाउँदा निस्कने धुँवाले दिल्लीको हावा प्रदूषित हुन्छ। हरियाणामा बाली लगाएका खेतबारी सफा गर्न जलाउने चलन परम्परागत हो। भर्खरै सकिएको हिन्दुहरूको पर्व तिहारमा पड्काइने पटाकाले पनि वातावरण प्रभावित पारेको विज्ञ बताउँछन्।

यस वर्ष भने यो समस्या उत्कर्षमै पुगेको छ। मंगलबार दिल्लीको हावामा प्रदूषण मात्रा प्रतिघनमिटर ७ सय माइक्रोग्राम पुगेको छ। यो भनेको दैनिक दुई प्याकेट चुरोट खाए बराबर हो। विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा यो प्रदूषणस्तर ३० गुणा बढी हो।

चार करोड ५० लाख जनसंख्या रहेको राजधानी दिल्लीको प्रदूषण नियन्त्रण गर्न अधिकारीहरूलाई सकस परिरहेको छ। यस वर्ष तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरे पनि खासै प्रभावकारी हुन सकेन। त्यसमाथि बालीमा लगाइने अवैध आगलागीले तुँवालोको मात्रा बढाउँछ, जुन भर्खरै सुरु भएको छ।

बढ्दो प्रदूषणप्रति टिप्पणी गर्दै मुख्यमन्त्री अर्विन्द केजरीवालले ट्विटरमा लेखेका छन्– दिल्ली ग्यास च्याम्बर भएको छ। हरेक वर्ष यो याममा यस्तै हुन्छ। हामीले छिमेकी राज्यहरूमा बाली आगो लगाउने समस्याको विकल्प खोज्नुपर्छ।

दिल्लीका वातावरणमन्त्री इमरान हुसेनले गत अगस्टमै छिमेकी राज्य हरियाणा, पन्जाब, राजस्थान र उत्तर प्रदेशमा आगलागी नियन्त्रण गर्न पत्राचार गरेको बताएका थिए। हालसम्म ती राज्यले कुनै कारबाही अघि बढाएका छैनन्। यसको कारण भारतको विकेन्द्रित शासन प्रणालीलाई पनि मानिएको छ। जुन ठाउँमा बाली जलाइन्छ, त्यो त्यही राज्यको अधिकार क्षेत्रमा पर्छ। दिल्लीको आग्रह मान्न ती राज्य बाध्य हुँदैनन्।

बाली जलाउँदै । फाइल तस्बिरः स्क्रोल इन डटकम

प्रदूषण बढ्नुको कारण आगलागी मात्र होइन। सवारीसाधन र उद्योगबाट निस्कने धुँवाका साथै फोहोरमैला जलाउँदा निस्कने धुँवाले पनि हावा जोखिमपूर्ण बनाएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले जनाएको छ। चिसो मौसमका कारण पनि प्रदूषण बढेको हो।

मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा गत महिना प्रकाशित एक लेखअनुसार प्रदूषणकै कारण मृत्यु हुने सूचीको अग्रस्थानमा भारत छ। सन् २०१५ मा प्रदूषणबाट लाग्ने विभिन्न रोगले २५ लाख मान्छेको मृत्यु भएको उक्त लेखमा जनाइएको छ।

उप–मुख्यमन्त्री मनिष सिसोडियाले प्रदूषण नियन्त्रण गर्न सबै विकल्पमा काम गरिरहेको बताएका छन्। यसमा सवारीसाधन व्यवस्थापन प्रमुख हो। सरकारले निजी गाडीलाई एक दिन बिराएर मात्र गुडाउन पाउने र हेलिकप्टरबाट सहरमा पानी छर्केर हावा सफा गर्ने उपाय सिफारिस गरेको छ।

स्कुल तथा अफिसहरू बन्द गर्ने सुझाव पनि सरकारकै हो। उप–मुख्यमन्त्री सिसोडियाले प्रदूषणको समस्या झल्काउने आफ्नै एक अनुभव सुनाए, ‘म एउटा बैठकमा सहभागी हुन गाडीमा जाँदै थिए। नजिकै एउटा स्कुल बस थियो। त्यसमा विद्यार्थीहरू प्रदूषणका कारण उकुसमुकुस थिए। तीमध्ये दुई जनाले अचानक झ्याल खोले र वान्ता गरे। यो घटना मेरो लागि अत्यन्त दुखद थियो। त्यसपछि मैले तुरुन्तै स्कुल बन्द गर्ने निर्देशन दिएँ।’

तस्बिरः दी हिन्दुस्तान टाइम्स

गत वर्ष पनि प्रदूषणकै कारण १८ सय वटा स्कुल केही दिन बन्द भएका थिए। प्रदूषण नियन्त्रणसम्बन्धी एक स्वतन्त्र अध्ययन समूहका विशेषज्ञ डाक्टर शरत कुमार गुट्टिकुन्डाले स्कुल बन्द गरेर केटाकेटीलाई घरै बस्ने वातावरण बनाउँदा उनीहरू केही हदसम्म सुरक्षित भएको बताएका छन्। खासगरी अत्यधिक सवारी आवागमन हुने ठाउँमा यो विकल्प प्रभावकारी देखिएको उनको भनाइ छ।

छाती शल्यचिकित्सक डा. कुमार भने प्रदूषण नियन्त्रणको यो उपायबाट सन्तुष्ट छैनन्। यसलाई ‘टालटुले’ उपाय बताउँदै उनले भने, ‘दीगो समाधान गर्न दिल्लीका सबै जनता मिलेर सरकारलाई दबाब दिनुपर्छ।’

‘अहिलेको अवस्थामा दिल्लीवासीसँग तीन विकल्प छन्,’ उनले भने, ‘पहिलो, सास फेर्न छोड्नु पर्यो। जुन सम्भव छैन। दोस्रो, दिल्ली नै छाड्नु पर्यो। यो पनि सम्भव छैन। तेस्रो भनेको स्वच्छ हावामा सास फेर्न पाउने अधिकारका निम्ति आन्दोलन सुरु गर्नु हो। दिल्लीवासीसँग भएको एक उपाय यही हो।’ दी न्युयोर्क टाइम्स/सेताेपाटी डटकममा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया