नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको राजनीतिक अवधारणा मुताबिक सम्पूर्ण कम्युनिष्ट आन्दोलन नै २००७ सालको प्रजातान्त्रिक क्रान्ति “अपूर्ण” रहेको मान्यताद्वारा सञ्चालित थियो। कलकत्ता, बनारस वा कुनै अन्य भारतीय नगरमा अध्ययनरत् हामी विद्यार्थीहरु पनि यस भावनाबाट अलग्ग थिएनौँ। आफ्ना पढाइ छाडी आआफ्ना जन्मनगरीमा फर्केर पार्टी राजनीति गर्दैजाँदा २००८ सालमा त्रिचन्द्र कलेजमा आई. ए. को दोस्रोे वर्ष देखिका मेरा अभिन्न एवम् अनन्य मित्ररहेका कृष्ण श्रेष्ठ ८७ वर्षको पाको अनुभवपूर्ण जीवन बिताई गत आइतवार, आजको ६ दिन अघि यस संसारबाट सदाको लागि विदा भएको दुखद खबर हिजो मित्र रामजी प्रसाद उपाध्या पोखरेलबाट सुनेँ।
एक न एक दिन मृत्युलाई अङ्गाल्नै पर्ने ध्रुव सत्य, जीवनको एकमात्र सत्यसित साक्षात्कार हुनुपर्दा चाहिँ स्तब्ध (स्तम्भित नभइरहन सकिँदो रहेनछ। मित्र कृष्णको खबरबाट यस्तो नभइरहन सकिँन। हिजै धरानमा फोन गरी उनका कान्छा छोरामार्फत भाउजू र समस्त परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गरेँ।
आज मित्र कृष्णमुरारि भण्डारीबाट यो फोटो प्राप्त भएपछि सम्झनाका यी श्रद्धाञ्जली शब्द कोर्न बसेँ।
कृष्ण आफ्नो शिक्षाउपाधि नै आफ्नो थर भएका दोस्रो राजनीतिक व्यक्ति हुन् — कृष्ण बीए। पहिला व्यक्ति काठमाडौंका भेढासिँहवासी पूर्ण बहादुर एम. ए. हुन् जोसँग कृष्ण पनि विद्यार्थी राजनीतिको क्रममा र पछिसम्म पनि परिचित थिए। तर हाम्रा कृष्ण त पूरै नगरका पर्याय थिए अर्थात् कृष्ण बीए भनेपछि साह्रा नगरले नै चिन्ने।

अत्यन्त सहृदयी ,सहयोगी, भद्र मित्र, शिष्ठभाषी,अध्ययनशील, साहित्यकार, कवि, संघर्षशील राजनीतिक योद्धाको साथै मयालु पति तथा सुयोग्य पिताको अनुपम मिश्रण। त्यतिमात्र नभई नेपालको पूर्वाञ्चलका जाज्वल्यमान बहुमुखी प्रतिभा अनि राजनीति अत्यन्त संकीर्ण एवम् पूर्वाग्रही भएको कालखण्डमा पनि सबैबाट सम्मानित।
अविभाजित कम्युनिष्ट आन्दोलनकालखण्डमा पूर्वाञ्चल क्षेत्रका एक जब्बर खम्बा रहेका कृष्ण कम्युनिष्ट राजनीतिमा उच्च स्थान हासेल गर्दैजाँदा पनि सदा संययित, सन्तुलित एवम् विवेकशील पात्र रहे, बिराटनगरवासी केदारप्रसाद उपाध्याय जस्तै। यस्तो विरल गुणवेत्ता थिए, मेरा मित्र। उनको व्यक्तित्त्वको अर्को आकर्षक पक्ष उनको मधुर मुस्कान थियो। मुटुका बिरामी कृष्ण आवश्यक औषधोपचारको सिलसिलामा काठमाडौं आँउदा उनी मसँग नभेटी जाँदैनथ्ये।
कम्युनिष्ट राजनीति अनेक गुट/उपगुटमा अत्यन्त पूर्वाग्रही रही कार्यरत् रँदा पनि कृष्णले आफ्ना सहृदयी गुण कहिल्यै गुमाएनन्, बरु अरु परिष्कृतरूपले कायम राखे। पछि आफ्नो पार्टीगत निर्णय बमोजिम Nepal Afro- Asian Solidarity Organisation का महासचिव भई काम गर्दा उनको सदाशयताबाट उनकै पार्टीका घनघोरविरोधी रहेका अनेक नेताका सन्तान वा सम्बन्धीहरु पनि सोभियत संघका सम्बन्धित संस्थाहरुका भातृत्व सहयोगबाट प्राप्त उच्च शिक्षाको छात्रवृत्तिसहित निशुल्क वसोबासको लाभ उठाउन वञ्चित रहेनन्।
पछि राजनीति अरु तितरवितर हुँदा आहत कृष्ण आफ्नै राजनीतिक मान्यतामा रहेर आफ्नो प्रियनगरीमै बसी यथाशक्य साहित्यिक तथा सामाजिक कार्यकलापमा संलग्न हुन छाडेनन्, कृतज्ञ संघसंस्था र व्यक्तिहरुले पनि उनको समुचित मानसम्मान गरिरहन चुकेनन्। यो हाम्रो अदूषित, अप्रदूषित सामाजिक सँस्कारको उज्वल परम्परा हो।
श्रवण शक्तिबाट प्राय पूरै वञ्चित हुँदा पनि उनी मलाई सुस्वास्थताको आफ्नो शुभकामना दिन चुक्दैनथ्ये। म आफ्ना कुरा भाउजूमार्फत राख्दथ्येँ। यता निकै समय भएको थियो यस्तो आदानप्रदान नभएको। हिजो अचानक यस्तो दुखद खबर पाएँ। एउटा युगको मैत्रीकथा अचानक टुट्यो, खाली सम्झनामात्र, अब त अलविदा मित्र, विदा कृष्ण मात्र भन्न बाँकी रहने गरी।
कृष्णको अन्तिम यात्रामा पूरै नगर सहभागी भएको र सामाजिक संघसंस्था तथा मिडियाले समुचित श्रद्धाञ्जली दिएको सुन्दा मन आभारले भरिलो भयो।
तिमी जहाँ छौ, त्यहाँ तिम्रो आत्मालाई चिरशान्ति प्राप्त होस् भन्दै अब म पनि जय नेपालको अभिवादनद्वारा यो अन्तिम विदाईपत्र यहीँ टुङ्ग्याउँदछु।










