देशका सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि आज बजेट सार्वजनिक गर्दै छन्। सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो प्रदेशसभा बैठकमा बजेट पेस गर्ने छन्। असार १ गतेभित्र आगामी वर्षको अनुमानित बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेकाले सोही अनुरुप आज सात वटै प्रदेशमा बजेट प्रस्तुत हुन लागेको हो। केन्द्र सरकाले यही जेठ १५ गते आर्थिक वर्ष ०७५/७६ को बजेट सार्वजनिक गरेको थियो। १३ खर्ब, १५ अर्ब, १६ करोड, १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको केन्द्र सरकारले प्रदेशका लागि न्यूनतम १३ अर्बदेखि बढीमा १९ अर्ब रुपैयाँसम्म विनियोजन गरेको थियो। संघले छुट्याएको बजेका साथै आफ्नो आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेका हुन्। प्रदेश नं. १ ले करिब ३५ अर्ब बरावरको बजेट ल्याउने तयारी गरेको छ। यस्तै प्रदेश नं. २ ले करिब ३० अर्ब, प्रदेश नं. ३ ले करिब ४० अर्ब, प्रदेश नं. ४ ले करिब ३० अर्ब, प्रदेश नं. ५ ले करिब ३० अर्ब, प्रदेश नं. ६ ले करिब २२ अर्ब र प्रदेश नं. ७ ले करिब २६ अर्बको बजेट ल्याउने तयारी गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेरि डेस्क
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।