नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरू जलाएको छ । चलनचल्तीमा रहेका कागजी नोटको सरदर आयु २ देखि ५ वर्षसम्म रहने राष्ट्र बैंकको भनाइ छ । आर्थिक वर्ष ०७३-७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाखबराबरका नोट जलाएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू फिर्ता ल्याएर जलाउने गर्छ । बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणसँग रहेका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोटहरू आफ्नो नोटकोषमार्फत फिर्ता ल्याएर समय–समयमा जलाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ ।

४ खर्ब ३ अर्बको नोट चलनचल्तीमा

अर्थतन्त्रको आकारसँगै बजारमा चलनचल्ती हुने नोटको परिमाणसमेत बढ्दै गएको छ । हाल नेपालमा ४ खर्ब ३० अर्ब रुपैयाँबराबरका नोट चलनचल्तीमा छन् । यो अघिल्लो वर्षको भन्दा ११.६१ प्रतिशतले बढी हो । नोटको मूल्य र परिमाण दुवै बढेको राष्ट्र बैंकको तथ्यांक छ । ०७३ असारसम्म विभिन्न दरका ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँबराबरका नोटहरु चलनचल्तीमा रहेका थिए । ०७४ असारमा आइपुग्दा नोटको परिमाण ११.६१ प्रतिशतले बढेर ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँबराबर पुगेको हो ।

अर्थतन्त्रको आकार, आर्थिक वृद्धि, मूल्य वृद्धि, बजारमा हुने कारोबारको प्रवृत्तिलगायतले नोटको आवश्यकता निर्धारण गर्ने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । ‘सामान्यतः अहिले हाम्रो अर्थतन्त्रको आकार तथा आर्थिक गतिविधि बढ्दै जाँदा बजारमा नगद प्रवाह पनि बढ्दै गएको छ,’ उनले भने, ‘सोहीकारण चलनचल्तीमा हुने नोटको मात्रा बढेको हो ।’ निष्कासित नोटका लागि सुरक्षणबापत विदेशी मुद्राहरू र विदेशी सुरक्षणपत्र राख्ने गरिन्छ ।

२ अर्ब १९ करोड थान नोट बजारमा

अहिले बजारमा विभिन्न दरका २ अर्ब १९ करोड थान नोट चलनचल्तीमा छन् । राष्ट्र बैंकले आर्थिक वर्ष ०७३-७४ मा १ हजार दरको २० करोड थान, १ सय दरको १२ करोड थान, ५० दरको १५ करोड थान र २० दरको ५ करोड ५० लाख थान नोटहरू छपाइ गरी बैंकको ढुकुटीमा दाखिला गरिसकेको छ । त्यस्तै, ५ दरको नोट २६ करोड थान, १० दरको २४ करोड थान छपाइका लागि सम्झौता भइसकेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७-७४ मा विभिन्न दरका ३८ करोड २१ लाख ५० हजार थान नोट चलनचल्तीका लागि निष्कासन गरेको हो । यो ८९ अर्ब ४ करोड २ लाख रुपैयाँबराबरको नोट हुन् । उक्त अवधिमा नोट छपाइ खर्च ९३ करोड ८७ लाख भएको उनले बताए ।

७७ नोटकोषबाट नोट आपूर्ति

राष्ट्र बैंकले आफ्ना शाखा तथा सरकारी कार्यालयका शाखाहरूमार्फत नोटको आपूर्ति गर्दै आएको छ । ती शाखा कार्यालयमार्फत चलनचल्तीका लागि योग्य नभएका नोटहरू खिच्ने (फिर्तालिने) पनि गरिन्छ । नेपालभरि नेपाली मुद्राको आपूर्ति व्यवस्था सरल, सहज र प्रभावकारी रूपमा कार्यान्वय गर्न र नेपाल सरकारको साधारण र पुँजीगत खर्चका लागि आवश्यक पर्ने रकम ७५ वटा नोटकोषबाट उपलब्ध गराइरहेको उनले बताए । राष्ट्र बैंकले आफ्ना ८ शाखा (उपत्यकाभित्र र बाहिरसमेत गरी), राष्ट्रिय वाणिज्य बैंकका ४३ र नेपाल बैंकका २४ वटा शाखा कार्यालयसमेत गरी ७७ वटा नोटकोषहरूमार्फत नेपाली नोटको आपूर्ति गर्ने तथा चलनचल्तीमा पठाउन योग्य नभएका नोटहरू खिच्ने कार्य हुँदै आएको छ ।

यसरी साट्न सकिन्छ नोट

सर्वसाधारणले आफूसँग भएका चलनचल्तीका लागि अयोग्य नोटहरू राष्ट्र बैंकको काठमाडौं उपत्यकाको एउटा र उपत्यकाबाहिर रहेका ७ वटा शाखाबाट सटही गर्न सक्छन् । त्यस्तै, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट समेत नोट सटही गर्न सकिन्छ । राष्ट्र बैंकले आफ्नो शाखा र नेपाल बैंक तथा वाणिज्य बैंकका शाखासमेत गरी ७७ वटालाई नोटकोष तोकेको छ । ती नोटकोषबाट ‘नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली,२०५९’ अनुसार नोट साट्न सकिन्छ । नोटको दर र पुरा नम्बरसहित पचास प्रतिशतभन्दा बढी भाग भएको र दोहोरो सट्टा भर्ना जान नसक्ने यकिन भएमा नोट कोषले नयाँ नोट साटिदिन्छन् । तर, जोडा नमिलेको, सच्याइएको, मनोमानी लेखेको नोटको भने सट्टा भर्ना हुनेछैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया