प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाको भातृ संगठन ‘राष्ट्रिय युवा संघ’ले संसद विघटनविरुद्ध वकालत गर्ने मिडिया, लेखक, प्राध्यापकलगायतका विरुद्ध प्रतिकार गर्न आफ्नो ‘साइबर सेना’लाई निर्देशन दिएको छ । काठमाडौंमा माघ २५ र २६ गते सपन्न युवा संघको दोस्रो केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध अभियान चलाउनेहरूविरुद्ध प्रतिकार गर्न निर्देशन दिने निर्णय गरेको हो । बैठकले गरेको निर्णयबमोजिम शनिबार युवा संघले सर्कुलर जारी गरेको हो।
‘२०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलव्धिहरु र नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको मौलिकतामा हासिल गरेका उपलव्धिहरु क्षतविक्षत पार्ने धेय राखी नेपाललाई पुनः अस्थिरतातर्फ धकेली सामरिक स्वार्थको खेलौना बनाउनेहरु फरकफरक धारमा उत्रिएको पाइएको छ। त्यस कुकर्मको केहि कथित बौद्धिक अराजकतावादीहरुले अगुवाइ गरिरहेका छन्। तिनमा केहि कम्युनिष्ट शक्तिकै नाउँमा, केहि पुरातनवादी र केहि अतिवादी एवं केहि बाहिरि प्रतिक्रियावादीहरुको गठजोड देखिन्छ। केहि मिडियाका नाउँमा, केहि कोलमिष्टका नाउँमा, केहि विश्वविद्यालयका ब्रुजुकका नाउँमा समेत उभिएको एकखाले पाखण्डीहरुले मुलुकले लिएको मार्गचित्रलाई नै दिग्भ्रमित पार्ने कुचेष्टा गरेका छन्। यस्ता कुचेष्टालाई पराजित गर्नका लागि प्रतिकारमा उत्रिन युवा परिचालन गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णयमा भनिएको छ।












