नेकपा एमाले ओली समूहले पार्टीको नीति विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेका चार नेताले उल्टै पार्टी अध्यक्षको गतिविधिमाथि प्रश्न उठाउँदै पत्र पठाएपछि एमालेमा ‘पत्र वार’ सुरु भएको छ।
पार्टी महासचिव ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको जवाफ पठाउँदै पार्टी नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले अलग–अलग जवाफ पठाए। सबैले आफ्नो पत्रमा पार्टी अध्यक्ष ओलीले पार्टीको विधान विपरीत काम गरेकाले उनीमाथि नै किन कारबाही नहुने भन्ने जवाफ माग गरेका छन्।
उनीहरूले पत्रको शीर्षक एकै राखेका छन्। स्पष्ट गर्नुहुन लेखिएको पत्रमा माधव नेपालले ओलीलाई सोधेका छन्‘ गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नामको राजनीतिक दल नरहने भएकोले साबिकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु भनी गरेको फैसला तथा सोही अनुरूप निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाको बारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईँले छलफल किन गराउनु भएन?’
उनले अगाडि प्रश्न उठाए‘ यसरी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजित बनाई राख्ने तपाईँको गलत मनसाय रहेको छ किन नभन्ने?
नेपालको पत्रमा लेखिएको छ‘ तपाईँबाट फागुन २८ गते अवैधानिक रूपमा गरिएको निर्णय बदर गरौँ भन्दा तपाईँले किन मान्नु भएन ? यसको तात्पर्य तपाईँमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने?’
पार्टीको विधान उलङ्घन गरेको,पार्टीको सदस्य नै नरहेको व्यक्तिलाई पार्टीको केन्द्रीय समितिमा ल्याउने, बैठकमा राख्ने, केन्द्रीय कमिटीको बैठक बोलाएर छलफल गर्ने आँट किन नगरेको लगायतका प्रश्न सोधेका छन् नेपालले।
एमाले उपाध्यक्ष रहेका रावलले पठाएको पत्रको अधिकांश भाषा र प्रश्नहरू नेता नेपालको पत्रसँग मेल खाएका छन्।
पार्टी एकीकरणको पूर्वसन्ध्यामा २०७५ वैशाखमा विष्णु प्रसाद पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर आम निर्वाचनमा बहुमत आए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पाँच वर्ष मध्ये अढाई÷अढाई वर्ष पालैपालो प्रधानमन्त्री हुने भनी गरिएको सम्झौता भङ्ग गरेको, पार्टीमा अन्तर्विरोध सिर्जना गरेको, पार्टीको झन्डै दुई तिहाइ बहुमत हुँदाहुँदै पार्टीमा कुनै छलफल र निर्णय नभई सरकार निर्माण गर्दा सुरुमै विपक्षीसँग साँठगाँठ गरी उनीहरूलाई सरकारमा सामेल गरेको लगायतका आरोप लगाएका छन्।
उनले पत्रमा ‘मदन भण्डारी फाउण्डेशनको नाममा देशभरि आफ्नो गुट सञ्चालन गरी भविष्यमा पार्टी विभाजन हुनसक्ने भएकोले यही फाउन्डेसनमा आबद्ध व्यक्तिहरूले त्यस पार्टीको आधारमा रूपमा काम गर्नुपर्छ’ भनी अभियान चलाएको’ आरोप समेत लगाएका छन्।
दुवै समूह आ–आफ्नै तयारीमा
स्पष्टीकरण सोध्ने र त्यसको जवाफमा उल्टो प्रश्नहरू सोधेर पत्र पठाउने क्रमसँगै दुवै गुट आ–आफ्नो रणनीति बनाउन सक्रिय भएका छन्। ओली समूहले एमालेको संसदीय दलको बैठक बोलाएका छन्। नेपाल समूहले आफू निकट केन्द्रीय कमिटीका सदस्यहरूको बैठक राखेका छन्।
नेपालले शुक्रवार बेलुकै पार्टीको नामको कानुनी विवादमा पार्टी एकीकरणमा प्रवेश गरेर दुवै पार्टीलाई पूर्ववत् अवस्थामा फैलाउने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन गर्नेबारे छलफल गरेका छन्। -उकेरान्यूज










