यो कुरा हामीलाई राम्ररी थाहा छ
हामी के कारण बिमारी पर्छौँ
एउटा छोटो शब्दले बताउन सक्छ
बिमारीको कारण
र, सबैलाई थाहा छ त्यो शब्द
तर जब हामी बिमारी पर्छौँ,
तपाईँ डाक्टरहरू नै रोग निको पार्ने मान्छे हो
भनेर हामीलाई बताइन्छ
जनताको पैसाबाट बनेका
ठूलाठूला मेडिकल कलेजमा
दस वर्षसम्म, धेरै पैसा खर्च गरेर
डाक्टरी शिक्षा पाउनुभएको हो तपाईँहरूले
र, आफूले ज्ञान प्राप्त गर्नका लागि
धेरै लगानी गरेको हुनाले
तपाईँले अवश्य पनि हामीलाई बिसेक पार्न सक्नुहोला
तर के साँच्चै, तपाईँले हामीलाई बिसेक पार्नुहोला?
जब हामी तपाईँकोमा उपचार गराउन आउँछौँ
मैला र च्यातिएका कपडा लगाएर आउँछौँ
र, हाम्रो रोगको कारण पत्ता लगाउन
तपाईँ हाम्रो नाङ्गो शरीरको आवाज सुन्नुहुन्छ
खासमा हाम्रो झुत्रो कपडालाई देख्दै पनि
तपाईँले धेरै थाहा पाउनु पर्ने हो हाम्रो रोगको कारण
किन जर्जर हुन्छन्, हाम्रा कपडा र शरीर?
वास्तवमा दुबैका एउटै मात्र कारण छन्
त्यही एउटा छोटो शब्द हो यी दुबैका कारण,
र, सबैलाई थाहा छ त्यो शब्द
तर पनि कसैले उच्चारण गर्दैन त्यो शब्द
तपाईँ भन्नुहुन्छ हाम्रो काँध दुख्नुको कारण चिसो ओस हो
र, हाम्रो घरको भित्तामा पनि त्यही ओसको टाटो बनेको छ
त्यसो भए डाक्टरसाब बताउनुहोस्, कहाँबाट आउँछ त्यस्तो ओस?
डाक्टरसाब, धेरै काम गर्नुपर्छ हामीले
तर पनि पेटभरी खान पाउँदैनौँ
त्यसले गर्दा हामीलाई कुपोषण हुन्छ र शरीर कमजोर बन्छ
तर ‘तौल बढाउ’ भनेर तपाईँ हामीलाई प्रेस्किप्सन थमाउनुहुन्छ
तपाईँहरूको त भरै छैन,
तपाईँहरू त ‘माछालाई पनि रुख चढ’ भनेर सल्लाह दिनुहोला
डाक्टरसाब्, तपाईँसँग हामीजस्ता मान्छेका लागि
कति नै समय होला र?
र, हामीलाई यो पनि थाहा छ कि
तपाईँको घरको एउटा फ्ल्याटमा हालेको कार्पेटको मुल्य
पाँच हजार बिरामीलाई जाँचेको फिस बराबर छ
निस्सन्देह, तपाईँहरू कार्पेटका बारे आफ्नो निर्दोषिता देखाउनुहोला
र, सायद, हाम्रो घरको भित्ताको ओसको टाटोले पनि त्यही कथा दोहोर्याउला
तर हामीलाई थाहा छ हाम्रो बिमारीको कारण
एउटा छोटो शब्द हो हाम्रो बिमारीको कारण
त्यो शब्द सबैले जानेका छन्,
तर कसैले पनि उच्चारण गर्दैनन्
त्यो शब्द हो ‘गरिबी।’
ब्रतोल्त ब्रेख्त (१८९८–१९५६) प्रसिद्ध जर्मन नाटककार, निर्देशक तथा कवि हुन्। नाटकका क्षेत्रमा उनी ‘एपिक थिएटरुका प्रर्वतकमध्ये एक मानिन्छन्। प्रविधिमा समेत उनी नवीन शैलीका पक्षधर थिए। साहित्यमार्फत ब्रेख्त गरिब, श्रमजीवी र सिमान्तकृतहरूको पक्षमा आवाज उठाउँथे।