Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

क्यान्सर लागेका समयमा विपी: मलाई ईश्वरको अनुकम्पा हुन्छजस्तो लाग्दैन

विपी कोइराला विपी कोइराला
मंसिर १६, २०७८
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन। म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको भयो होला। ती सबै कुराहरू देख्ता भने मलाई ईश्वरको विशेष अनुकम्पा हुन्छ भन्ने पत्यार लाग्दैन।

    अस्ति चन्द्रशेखर यहाँ आएका थिए। उनले पशुपतिनाथ जान्छु भने र मेरा डाक्टरलाई लिएर गए। त्यहाँबाट दुई बोहता प्रसाद लिएर आए, एउटा सुशीलालाई दिए र अर्को अरू कसैलाई दिए। उनले ल्याएर मलाई टीका लगाइदिए, भनेँ– उनले प्रसाद लिँदा केही भने होलान् नि पशुपतिनाथलाई ? उनको भावना जो छ, त्यसलाई म कदर गर्दछु। एक जनाले साइबाबाको विभूति मेरी जहानलाई दिएको रहेछ यो लगाइदिनोस् भनेर। मलाई विभूति दिने व्यक्तिको वा त्यस विभूतिलाई पवित्र ठान्ने मेरी पत्नीको भावनालाई म असाध्यै कदर गर्छु। यो पनि मलाई थाहा छ– मानिसको आत्मबलमा छ। सानो एउटा संकट छ, कतिलाई छटपटाएर मारिदिन्छ। कोही मान्छे त्यो संकटमाथि विजय प्राप्त गर्दछ। त्यो पनि मलाई थाहा छ दैवी शक्ति भन्ने कुरा त्यसबाट निःसृत हुन्छ।

    यसपालि म बम्बईको एउटा क्यान्सर हस्पिटलमा थिएँ। क्यान्सर हस्पिटलको वातावरण बडो निन्याउरो किसिमको छ, किनभने क्यान्सर भयो भन्नेबित्तिकै त त्यस व्यक्तिलाई मृत्युदण्ड दिएजस्तो नै भयो। एउटा मान्छेलाई मृत्युदण्ड हुन्छ, त्यसको अपील इत्यादि गर्दागर्दा पाँच–छ वर्षमा त्यो कार्यान्वित हुन्छ। त्यस्तै हो क्यान्सर भनेको पनि। जसलाई क्यान्सर भयो भनेको छ, त्यो आधा त्यसै मरिसकेको जस्तो हुन्छ।

    त, म टहलिइरहेको थिएँ बम्बईको क्यान्सर हस्पिटलको छतमा। सानो छत छ। अरूभन्दा पहिले गएर म टहलूँ भनेर गएको थिएँ। अरू कोही बिरामी जाँदैनन् त्यहाँ। त्यहाँ मैले देखेँ एउटी स्वास्नीमान्छे सूर्योदयको प्रतीक्षामा उभिरहेकी थिई। उसले देखी मलाई। म पनि एउटा कुनामा टहलिइरहेको थिएँ। उसले आफ्नो चप्पल फुकाली र बडो आर्तरोदन र करुणाको बरमा प्रार्थना गरी त्यो सूर्यलाई। मलाई लाग्दछ– त्यसको छोरा अथवा दुलाहा मजस्तै रोगी होला। अनि मलाई लाग्यो– सबैको परिवारलाई त त्यहाँ चोट परिरहेको छ, जस्तो उसलाई पर्यो होला, त्यस्तै मेरो परिवारलाई र अरू परिवारलाई पनि पर्यो होला चोट।

    अब देवताले क–कसलाई बचाइहिँड्ने ? अब एउटी स्वास्नी मानिस जसको तमाम आधार नै डुब्न थालेको छ, केही आधार नभएर उदाउन लागेको सूर्यलाई अर्घ दिएर प्रार्थना गर्न लागेकी छ, रोएर बलिन्द्र आँसु झारेकी छ। मन्दिरमा भएको भए त अर्कै कुरा हुन्थ्यो होला । तर, अस्पतालको यस छतमा त्यस हस्पिटलकै कुनै रोगीका निम्ति त्यसले पुकारा गरी होली। अधबैंसे थिई, त्यसै हुनाले आफ्ना दुलाहाका लागि होला वा छोरा वा छोरीका लागि होला, ऊ प्रार्थना गरिरहेकी थिई। अब देवताले त्यसलाई सुन्ने ? कतिलाई सुन्ने ?

    मेरो समस्या के छ भने मैले कसैलाई बुझ्न खोँजे भने त्यही ठाउँमा बसिदिन्छु। मैले देवतालाई बुझ्न खोजेँ भने म के सोच्तछु भने म देवता भएको भए के गर्थें ? मैले या त क्यान्सर रोग हुँदै नहुने पार्नुपर्यो। क्यान्सर भएपछि त कति मान्छे मर्छन्, कति मान्छे मर्दैनन्। देवताले कसलाई बचाउने ? कसलाई नबचाउने ? त्यसको मापदण्ड के ?

    अस्ति एउटा जोगी आए मकहाँ। ती पाखण्डी जोगी होइनन्, भित्रैदेखि लागेर जोगी भएका। पहिले हाम्रै पार्टीमा थिए, पछि के–के विरक्त लागेर उनी जोगी भए। उनी आएर भने– मेरो गुरुले थाहा पाए तपाईं बिरामी हुनुहुन्छ।

    उनका गुरु हृषीकेशभन्दा माथि बस्ता रहेछन्। गुरुले भने त्यसो हुनाले केही न केही त गर्नुपर्यो। म पनि गर्छु, तिमी पनि गर भनेर मलाई पठाएको हुनाले म आएको हुँ भने। उनले भने– तपाईंका निम्ति जे गर्नुपर्छ, कुनै अनुष्ठान वा यज्ञ, त्यो म कुनै पवित्र स्थलमा गएर गर्छु।

    अनि मैले प्रश्न गरेँ, ‘यतिका मान्छेहरू मरिरहेका छन्, देवताका अगाडि कति लडाइँ र नरसंहारहरू भइरहेका छन्। त्यस लडाइँमा कति बालकहरू मारिए होलान्। मेराबारेमा मात्र देवतालाई किन फिकिर हुने ?

    उनले भने, ‘मेरा गुरुले भनेका छन् कि साधारण लाखौं मानिस महत्वका हुँदैनन् । तर, असाधारण एउटा व्यक्ति पनि बडो महत्त्वको हुन्छ देवताको नजरमा। त्यसलाई बचाउने वा रक्षा गर्ने खाँचो देवतालाई पनि पर्छ। त्यस ठाउँमा राम्रो उद्योग भएको छ र देवतालाई पनि खाँचो परेको छ भने देवताले बचाउँछन्।’ उनले त्यो एउटा तर्क दिए।

    भनाइको मतलब के हो भने अहिले हामी त हिन्दुशास्त्रको मुताबिक र आजकालको विज्ञानको मुताबिक पनि विकासमान स्थितिमा छौं। हामीहरू मानव सबैभन्दा ठूला र सबैभन्दा परिष्कृत जीव हौं अरूका तुलनामा। यो कसरी भयो ? भन्दा विकासवादीहरू भन्दछन्– तलबाट विकास हुँदाहुँदै यस रूपमा आयो। अध्यात्मवादीहरू पनि त्यस्तै कुरा भन्दछन् र हामीहरूमा अझ पनि अगाडि बढ्ने क्षमता छ भन्दछन्। हामीले त्यस क्षमतालाई बुझेर काम गर्यौं भने मानवबाट अतिमानवमा पुग्न सक्तछौं, र हुन सक्छ भोलिको मानव समाज अतिमानव समाज भएर जाओस्। त्यस दृष्टिबाट एउटा अतिमानव दस वटा साधारण मानिसभन्दा, एउटा साधारण मानिस लाख वटा फट्याङ्ग्राभन्दा महत्त्वपूर्ण हो भन्ने कुरा मान्ने हो भने त अलिकति बुद्धिले भ्याउँछ।

    अर्को कुरा के छ भने मैले जहिले पनि भन्ने गरेको छु, हामीहरूको तर्क मानव तर्क हो र हामीहरूको दृष्टि मानवदृष्टि हो। जस्तो भ्यागुतोले हेरेको छ भने उसको देखाइमा पर्ने उसको रेटिनामा पर्ने रूप अर्कै हुन्छ। मानव चक्षुले त्यही कुरा हेर्दा अर्को रूप देखिन्छ। त्यस्तै, देवताको आँखामा पर्ने रूप विश्वको अर्कै हुन्छ, उसको तर्क पनि अर्कै छ। त्यसो हुनाले त्यो त बुद्धिले तर्कमा गर्न सक्ने कुरा उसको दृष्टिले हेर्न सक्तैनौं। देवताको कानले सुनेको कुरालाई बुझ्न सक्तैनौं। त्यसो हुनाले भन्छन् ती हाम्रा अध्यात्मवादीहरू– त्यो त असभ्य छ, केही लाग्दैन। जब तर्कले भेट्टाउँदैन, तिनले पनि अन्त्यमा भनिदिएका छन्– मायाबाट प्रवाहित भएर जानुपर्दछ, यथार्थमा बाटो हिँड्दाहिँड्दै एउटा खाल्डो पर्दछ, त्यस खाल्डोलाई श्रद्धा र भक्तिकै आधारमा पार गर्नुपर्दछ।

    केही व्यक्तिले मानोस्–नमानोस्, तर यत्रो विश्वास जब मेरा मानिसहरूले गर्दछन्– कसैले प्रसाद ल्याइदिएको छ, कसैले के–के ल्यादिएको छ, के–के गरेको छ, अनुष्ठान र यज्ञ गरेको छ मेरा लागि, त्यसले त मलाई अभिभूत नै गर्दछ।

    हिन्दुस्थानमा अहिले मेरा मित्रहरू धेरैले धेरै कुरा मेरा लागि गरिरहेका छन्। कसैले जप गराएका छन्, कसैले बाबालाई भेटेका छन्। एउटा मेरा बंगाली मित्र छन् कलकत्तामा, उनले बारम्बार सुशीलालाई खबर गरेका छन्– तिमी आऊ एकपटक भनेर। पहिले पनि मलाई पनि लिएर आउनु भनेका थिए, तर म नआए पनि सुशीलालाई आऊ भनेर खबर पठाइरहेका छन्। एउटा त्यता कतै गजबकी देवी छन्, तिनका पुजारीले यिनलाई केही पूजा गर्न बताएको रहेछ। अब मैले सुशीलालाई जाऊ भन्ने कि नभन्ने ? मेरो मात्रै कुरा भएको भए किन जानुपर्यो बरु भन्थेँ।

    तर मेरो मात्रै विश्वासको कुरा त भएन। यहाँ त विश्वास मेरा मित्रमण्डलीको विश्वास, मेरी पत्नीको विश्वास, मेरा परिवारको र परिवारका व्यक्तिहरूको विश्वासको कुरा छ। त्यसो हुनाले यत्रो ठूलो विश्वासका साथ मलाई जुन मानिसहरूले आ–आफ्नो तरिकाबाट ईश्वरको अनुकम्पा दिलाउन चाहन्छन्, म त छक्क पर्छु कहिलेकाहीँ। कहिलेकाहीँ मलाई आएको चिठ्ठीहरूको खाम जब म उघार्छु, त्यसमा दुई–चारवटा फूलका पातहरु पाउँदछु, त्यसमा सिन्दुर, चन्दन इत्यादि भएको। हिजो एउटा खाम खोल्दाखेरि एक जनाले मनकामनादेवीको पूजा गरेर खाममा केही फूलका पात र सिन्दुर पठाएको थियो। अब त्यत्रो ठूलो श्रद्धालाई म अस्वीकार गर्छु त भन्न सक्तिनँ।

    धर्म भनेको मेरो दृष्टिमा के छ भने, दुई लोकमा मानिसहरू विचरण गर्दछन्। एउटा भौतिक लोक। यो धर्तीबाट उत्पन्न हुन्छ– गुलाफ, चमेली। त्यसमा कुनै पौष्टिक तत्व हुँदैन। मानवलाई एउटा भौतिक पदार्थ, भोजन इत्यादि चाहिन्छ। सूर्य उदयले, गुलाफ फक्रेको कुराले पनि तपाईंलाई रिझाउन सकेन भने तपाईंको जीवनको एउटा पक्ष त सुकेको रहेछ। मरेतुल्य भएको रहेछ, तपाईंले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन र रोमाञ्चित हुनुभएन भने। हो, त्यो रोमाञ्चकता जसले उत्पन्न गर्दछ, त्यही ठाउँमा धर्म पनि बसेको हुन्छ।

    मेरो एकपटक बहस चलेको थियो जयप्रकाश नारायणसँग। त्यहाँ अरू पनि थिए। केही वैज्ञानिकहरू आएका थिए। तब यही सब तर्कहरू दिइरहिएको थियो। धर्म र ईश्वरका कुरामा, धर्मको कस्तो आवश्यकता छ। साँच्चि भनौं भने ठूला–ठूला धार्मिक मानिसहरू त त्यस कर्मकाण्डपट्टि जाँदै जाँदैनन्। हिन्दु धर्मशास्त्रकै कुरा गरौं भने पनि कर्मकाण्डलाई नमानीकन, मुसलमानले अर्को, क्रिश्चियनले फेरि अर्कोलाई धर्म मानेका छन्। तर, सबै तल त्यही भावजगतबाट उम्रेका तत्वहरू हुन्, जो आध्यात्मिक भनौं वा आधिभौतिक भनौं, भौतिकताभन्दा बाहिरका कुरा हुन्। हामी कविता पढ्दछौं।

    अलि रमाइलो गरी भनौं भने तपाईंहरू आफ्नी प्रेयसीलाई गुलाफसँग तुलना गर्नुहुन्छ होला वा चन्द्रमासँग। यो तुलना के हो ? साँच्चि कुरा हो ? तपाईंले कसैलाई माया गर्नुभयो भने त्यसको अनुहार चन्द्रमाजस्तो छ भन्नुहुन्छ। तपाईंलाई धोका हुन्छ चन्द्रमा हो कि भनेर। यो धोका पर्नु साँचो कुरा हो ? एउटी केटीलाई गुलाफजस्ती सुन्दरी हेर्नुभयो भने झूटो कुरा हो त्यो ? मैले जयप्रकाश नारायणसँग के भनेँ भने चन्द्रमाजस्ती उज्याली छ, गुलाफजस्ती छ भन्ने भ्रम भएन भने तपाईंले त्यसलाई माया नै गर्नुभएन। होइन, त्यो त लड्की हो, सामान्य स्वास्नीमानिस हो, रगत मासु र हाडबाट बनेको शरीर हो मात्र तपाईंले भन्नुभयो भने तपाईंले त यथेष्ट किसिमबाट माया नै गर्नुभएन, तपाईंलाई मायाको अनुभव नै भएन ।

    जस्तोः कालिदासले भनेका छन् – कैलाशको वर्णन गर्दाखेरि, कस्तो लाग्दछ त्यो धर्म त्रयम्बक भनेको शिव न बस्तछन् कैलाशमा त्रयम्बकले हाँस्दाखेरि जो उज्यालो हुन्छ, त्यसैको राशिकृति जमेर बनेको कैलाश हो। त्रयम्बकस्य अट्टहास भनेका छन्, अर्थात् त्रयम्बकले खुला दिलले अट्टहास गर्दाखेरि जो निस्क्यो होला, त्यो चमक सधै थपिँदा थपिँदा यो कैलाश बनेको हो। अब यो झूटो होइन ? तर, झूटोलाई तपाईंले अनुभव गरेर खुसी हुनुहुन्छ कि हुनुहुन्न ? या भनौं के फजुलको कुरा भनेको, यो त यथार्थ कुरा हो, झूटो कुरा हो भन्नुभयो भने तपाईंको व्यक्तित्वको एउटा अशक्त सुकेको रहेछ, त्यसमा रसै रहेनछ भन्नुपर्छ।

    धर्म भनेको त्यस क्षेत्रको कुरा हो। यसमा कविले भन्दछ कि शंकर बस्ने कैलाश भनेको उनको हाँसो जमेको हो। त्यसो हुनाले धर्मका विरुद्धमा त म छँदै छैन, पटक्कै छैन। तर सबैलाई थाहा छ, म धर्मको अभ्यास गर्दिनँ।

    म कहिलेकाहीँ पशुपतिनाथको मन्दिरमा जान्छु। बनारसमा विश्वनाथको मन्दिरमा जान्छु। त्यहाँ मैले के देखेको छु भने हजारौं लाखौं मानिस ती देवताका अगाडि, त्यो पत्थरको मूर्तिका अगाडि, नबोल्ने मानौं त्यसको हृदय छ कि छैन, त्यसले सुन्छ कि सुन्दैन, त्यो पनि मलाई थाहा छ आर्तनाद गरेका छन् त्यसका अगाडि। त्यो मैले सुनेको छु। त्यसका अगाडि लाज नमानी रोएका छन्। जो अरूका अगाडि आँखाको आँसु देखाउन चाहदैनन्, त्यहाँ खुलेआम र सबैका अगाडि देवताका सम्मुखमा बसेर बच्चालाई लिएर रुन्छन्। बच्चालाई नकरा भनेर थप्पड पनि लगाइरहेका छन्, त्यो पनि भइरहेको छ। त, मलाई त्यहाँ विश्वको एउटा रूप देखिन्छ। समाजको मात्रै हो कि अति करुणामय हाम्रो जीवन छ, कति संवेदना खोजिरहेको छ हाम्रो जीवनमा। हामीहरूले त त्यो गर्दैनौं, तर त्यहाँ गएर त्यो थाहा पाइन्छ। त्यही स्वास्नीमान्छे, जसले क्यान्सर अस्पतालमा त्यसरी रोई, त्यसको मलाई छाप परेको छ, मैले केही गर्न सक्ने भए त्यसको लागि म केही गर्ने थिएँ भन्ने लागेको छ।

    म नास्तिक हुँ कि होइन भन्दा मलाई बताउनुपर्छ– यो कुरा मान्छौं कि मान्दैनौ। शिवपुराणमा वर्णन भएको शिवका सम्बन्धमा त्यो सच्चा ऐतिहासिक घटना हो भनेर मसँग सोधे भने म भन्छु– म मान्दिनँ, म यसमा नास्तिक। यो गरुडपुराणमा मान्छे मरेपछि के–के हुन्छ भनेको कुरा म मान्दिनँ, म नास्तिक भएँ। तर, त्यसलाई कुनै प्रतीकात्मक रूपबाट भन्ने हो भने त्यसमा भएका धेरै कुरा म मान्दछु। त्यसो हुनाले मलाई बताइदिनुपर्छ– कुनै खास कुराको सम्बन्धमा मेरो आस्था छ कि छैन भनेर।

    धेरै कुराबारे म जान्दिनँ। त्यसो हुनाले म भनिदिन्छु– अंग्रेजीमा एउटा शब्द छ, जो नास्तिक पनि होइन, आस्तिक पनि होइन, त्यसलाई ‘एडनोस्टिक’ भन्दछन्। त्यसले प्रश्नचिह्न राख्छ आफ्नो मनमा। यो झूटो पनि भन्दैन, साँचो पनि भन्दैन, मेरो मस्तिष्क खुला छ भन्दछ।

    अब पुनर्जन्मको कुरा गर्दछन्। म यस विषयमा पण्डित होइन। मेरा आफ्ना धारणा छन्। बुद्धको मात्र होइन, हिन्दुकै विचार यो छ कि– मान्छे वासना या वाञ्छाको अनुकूल रहेसम्म त्यसले त्यो भोग गर्नलाई जन्म लिइरहनुपर्छ। त्यसो हुनाले ती भन्दछन्– ज्यादाभन्दा ज्यादा कोशिस तिम्रो हुनुपर्दछ मोक्षको लक्ष्य प्राप्त गर्नु। जन्मेपछि त दुःख पाउनुपर्छ। यो जीवनमुक्तिको आवागमनबाट मुक्ति पाउनु नै मोक्ष हो। जबसम्म मुक्ति पाइँदैन, यो चक्करमा त परेको छ, परेको छ।

    यद्यपि जन्मेर मर्नु त्यस्तो दुःखको कुरा मलाई लाग्दैन। धर्मका प्रवर्तकहरूले किन त्यसलाई दुःख मान्दछन्, म त मान्दिनँ। हामी जन्मनुभन्दा पहिल्यैदेखि संस्कारलाई लिएर आएका हुन्छौं। हाम्रा बुबाआमाको, हाम्रो समाजको, हाम्रो जातिको एउटा संस्कारमा हामी आएका छौं। जस्तो तपाईं अमेरिकन समाजमा जन्मनुभएन, तपाईंको भाग्य हो। तपाईंले आफ्ना बाबुआमा जस्तो पाउनुभयो, त्यो पनि तपाईंको नियति हो। तपाईंले आफ्ना बाबुआमा जस्तो पाउनुभयो, त्यो पनि तपाईंको नियति वा भाग्य हो। भन्दछन् नि– मेरो यस्तो भाग्य रहेछ। पुर्पुरोमा लेखिएको हुन्छ भनेको होइन।

    जुन समाजमा तपाईं जन्मनुहुन्छ, त्यो तपाईंको हातभन्दा बाहिरको कुरा हो। जुन रङरोगन तपाईंले पाउनुहुन्छ, जस्तो आँखा तपाईंले पाउनुहुन्छ। यी सारा तपाईंको हातभन्दा बाहिरका कुरा हुन्। त्यही हो भाग्य। र, तपाईंसँग स्वतन्त्र निर्णय लिने सानो क्षेत्रमात्र छ। अरू त सबै कुरा पहिलेदेखि नै निर्धारित छ।

    त्यसलाई मान्ने हो भने तपाईंको नियति त पहिलेदेखि नै तय भएर आएको छ। त्यसलाई तपाईं भाग्य भन्नोस् या नियति भन्नोस्, त्यो त पहिले नै तय भइसकेको कुरा छ। तपाईं यहाँ नेपालमा जन्मनु नै तपाईंको विशेष किसिमको भोगको प्रारम्भ हो। अमेरिकामा जन्मेको भए तपाईंको प्रारब्ध अर्कै किसिमको हुने थियो। त्यस दृष्टिबाट म प्रारब्धलाई मान्दछु। मैले आफ्ना बाबुआमा आफैं चुन्न पाइनँ, पहिले नै चुनिए। मैले आफ्नो बुद्धिको क्षमता चुन्न पाइनँ, मैले आफ्नो छाला गोरो, कालो कस्तो हो त्यो चुन्न पाइनँ। यी धेरै महत्त्वपूर्ण कुरा पहिले नै कसैले चुनेर मलाई दिए। त्यही हो प्रारब्ध, त्यही हो नियति, त्यही हो भाग्य।

    अनि अलिकति, एउटा सानो क्षेत्रमा हामीलाई स्वतन्त्रता छ। त्यसैलाई धर्मका मान्छेहरू के भन्छन् भने त्यस स्वतन्त्रतामा तिमीले अब प्रयत्न के गर भने तिम्रो नियतिले झन्झन् तिमीलाई बाँधेर नजाओस्, तिमी त्यसबाट मुक्त हुन निम्ति प्रयत्न गर।

    सबैले भन्दछन् कि वाञ्छा, अतिरिक्त कामनाले गर्दा नै भाग्य गर्न जोगी भएर हठयोगद्वारा विजय पाउने कुरा कसैले भनेको छ, कतिले भनेका छन् भोगद्वारा त्यसलाई सिध्याऊ भनेर। जस्तो अंग्रेजीमा एउटाले भनेको छ– कुनै लालच छ भने त्यसबाट कसरी मुक्ति हुने ? भन्दा दुईवटा तरिका छन्– एउटा तरिका छ त्यसतर्फ पिठ्युँ फर्काइदेऊ। तर पिठ्युँ फर्काएर त मानिसको लालसा जस्ताको तस्तै बनिरहन्छ। त्यो लालसा सिद्धिदैन। त्यो नसिद्धिएको लालसा तिमीले आएर भोग गर्छौ।

    ममाथि धर्मको ठूलो असर परेको छ। तर, कसैले सोधोस्– बिहान नुहाउँछस् कि नुहाउँदैनस् ? जनै लगाउँछस् कि लगाउँदैनस्, टुप्पी छ कि छैन ? आस्तिक हो कि नास्तिक हो ? मलाईं यो निरर्थक लाग्छ। मैले भनिहालेँ म देवताकहाँ प्रार्थना कहिल्यै पनि गर्दिनँ। किनभने मैले देखेको छु– मेरोभन्दा बढी आवश्यकता परेका मानिसहरूको प्रार्थना देवताले सुन्न सकेका छैनन् भने म त्यत्रो दम्भी कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौं ? त्यो दम्भ मलाई छैन। त्यसो हुनाले मैले देवताकहाँ कहिल्यै पनि प्रार्थना गरिनँ।

    राष्ट्रपुकार, साप्ताहिक, २०३८ पुस, यो विपी कोइरालाको अन्तिम लेख पनि हो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      विपी कोइराला

      विपी कोइराला

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.