‘दुइटा विकल्प मध्ये म के गरू ? म अहिले नै भोकै मरू’ या ‘आठ-दश वर्षपछि एड्स लागेर मरू’ ? – जिम्वाबेकी एउटी याैनकर्मी

‘वेश्या’हरूलाई भोकै नमर्न भनियो र ‘वेश्या’ शब्द अपमानवोधक भएकाले उनीहरूलाई गैरसरकारी संघसंस्थाहरूको वकालत (?) मार्फत् यौनकर्मी भनिन थालियो । अहिले ती यौनकर्मी बनेका छन् र पेशागत हकहितका लागि सरकारमा दवाव दिन गैरसरकारी संघसंस्थाहरूको वकालत अभियानमा सरिक हुन थालेका छन् । सम्भ्रान्त महिलाहरूले चलाएको नारी आन्दोलनले यौनकर्मी भनाएपनि यो पेशा सम्मानित बन्न सक्यो सकेन जवाफ पाउन कठीन छ । यसै आन्दोलनभित्र यौनपेशामा लाग्नुलाई महिलाको प्रजनन अधिकारको रूपमा लिने भ्रमहरू पनि यदाकदा देखिन्छन् । अधिकार होला तर अङ्गको सदुपयोग हो कि दुरुपयोग हो ? र, जुन वर्गकाले यसतो नारी आन्दोलन चलाइरहेका छन् ती वर्गका नारीहरु यसतो कर्ममा लाग्न पर्ने स्थीति पनि छैन । तर पनि यौनपेशालाई वैधानिक बनाउने काममा नेपालका पर्यटन व्यवशाय कब्जा गरेर बसेको सम्भ्रान्त वर्ग र गैरसरकारी संघ–संसस्थाहरूबीच अघोषित सहकार्य हुन थालेको छ । हाल कार्यनीतिमा मेल भएका यिनीहरूमध्ये पर्यटन व्यवशायीहरूको यौनपर्यटन बढाउनु र गैरसरकारी संघसंस्थाहरूको एड्सको नियन्त्रण गर्नु फरकफरक रणनीतिक लक्ष्यहरू रहेका छन् । यी लक्ष्यहरू हाम्रा जस्ता मुलुकको परिवार र समाजभित्रको सकारात्मक नैतिक बन्धनलाई धुजाधुजा पार्न र यहाँ कण्डम–बजारको निर्माण गर्न नै जुटेका छन् । कण्डम–बजारको निर्माण जनसंख्या नियन्त्रणको नाराबाट पार नलागेपछि अहिले अमेरिकी कण्डम निमार्णकर्ताहरू एड्स, प्रजनन स्वास्थ्य, किशोरावस्थाको स्वास्थ्यभित्रको जस्केलोबाट प्रवेश गर्न लागेका छन् । अझ राज्यले समेत एड्सलाई प्रमुख जनस्वास्थ्यको रूपमा स्वीकार्दै यसको रोकथाम र नियन्त्रणका उपायहरूमा स्वास्थ्य सेवामा गरिने नगन्य व्यय यसैमाथि खन्याइरहेको छ । यसैगरी अन्तर्राष्ट्रिय दाताको सहयोग र ऋण समेत यसैमा ओइरिन थालेको छ । तर के यो समस्या जनस्वास्थ्यका प्रमुख समस्याहरू मध्ये उच्च प्राथमिकतामा पर्न सक्दछ रु के यसको रोकथाम कुनै प्रविधि आस्रित हुनु उचित छ? यी प्रश्नहरूको उत्तरको खोजी गर्नु नै यस लेखको आशय रहेको छ ।

एड्सप्रति हाम्रो समाजको सुझबुझ र प्रतिक्रिया

नेपालमा सन् १९८८ मा केन्याको एउटा लागू औषधको तस्कर एड्सको जिवाणु भएको व्यक्ति फेला परेपछि काठमाडौंका पाँचतारे होटलहरूमा सरकार र गैरसरकारी संघसंस्थाहरूद्वारा कार्यशालाहरू गरिइन थालिए । अफ्रिका र अमेरिकामा त्रास र आतङ्कको रूपमा फैलिइरहेको एड्स हाम्रो देशमा पनि फैलिइने कुरालाई हाम्रो समाजले तुरून्तै पत्यायो । मैथुन क्रिया गर्दा सर्ने नयाँ रोग एड्स नामक रोग रहेछ भन्ने उनीहरूले बुझे । जे बुझे सतप्रतिशत ठीकै बुझे । हाम्रो समाजमा जथाभावी या एक भन्दा बढी व्यक्तिसँग मैथुन क्रियागर्ने कुरालाई जसरी तिरस्कारपूर्वक ग्रहण गर्थ्यो त्यसरी नै यस रोगलाई तिरस्कारपूर्वक ग्रहण गर्‍यो । हाम्रो परम्पराले वैवाहिक सम्बन्ध नरही गरिएको यौनक्रिया र बहुव्यक्तिसँगको यौनक्रियालाई अनैतिक र व्यभिचार ठान्ने गरेकाले यो नयाँखाले यौनरोगलाई पनि प्रचलित अन्य रोगहरू सरह प्रतिक्रिया गर्नु उचित सुझबुझ नै थियो । यस रोगलाई अरूभन्दा बढी महत्व नदिनु पनि उचित नै थियो । उहिले सिफिलिसलाई रोगहरूको राजा र राजाहरूको रोग भनिन्थ्यो, यसरी नै एड्सलाई नेपाली समाजले उछृंखलहरूको रोग भन्ने बुझ्यो । यसैकारण १९९० को शुरूमा एड्सको रोकथामका लागि बहुव्यक्तिसँगको मैथुनक्रिया गर्नुनहुने प्रचार भयो, जुन कुरा हाम्रो नेपाली समाजको नैतिक मूल्यमा आधारित थियो ।

अन्तर्राष्ट्रिय जगत, दाता र दातानिर्देशित गैरसरकारी संघसंस्थाहरूको प्रतिक्रिया

अन्तर्राष्ट्रिय जगत, दाता र दातानिर्देशित गैरसरकारी संघसंस्थाहरूले नेपाली समाजको वैवाहिकसम्बन्ध आधारित यौन सम्पर्कलाई आधुनिक मानेनन् । यिनीहरूले नेपाली समाजमा नयाँ खाले यौनरोग–एड्सबारे जनचेतना जगाउन कार्यशाला गोष्ठि, सभा, दिवश, कण्डम दिवश र र्‍याली आयोजना गर्न थाले । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरू खासगरी एम्फार, एड्सक्यापको सहयोगको थैली खुलेपछि विभिन्न गैरसरकारी संघसंस्थाहरू दर्ता हुनथाले । यस्ता संस्थाहरू १९९४ मा ९५ वटा दर्ता भइसकेका थिए । यी सवै संस्थाहरूको मुख्य लक्ष्य एड्सको रोकथाम र नियन्त्रण गर्नका लागि जनचेतना फैलाउनु रहेको थियो र छ । यस लक्षप्राप्तिका लागि यिनीहरूले नेपाली समाजमा रहेको यौनप्रतिको धारणामा परिवर्तन गर्न अभियान चलाए । उनीहरूको विचारमा यौन व्यक्तिको प्राकृतिक चाहना हो र यस चाहनालाई नियन्त्रण गर्न सकिँदैन । यसकारण यौनलाई सामाजिक बन्धनमा बाँध्नु हुँदैन । यही दृष्टिकोणको जगमा नै एड्सको रोकथाम र नियन्त्रणका उपायहरूकावारेमा प्रचार हुन थाल्यो । त्यो उपाय भनेको यौन कार्यका बखत कण्डमको प्रयोग गर्नु ।

यसपछि एड्सरएचआइभी संक्रमित व्यक्तिप्रति सहानुभूतिरसमानुभूति प्रकट गरिनुपर्ने स्वास्थ्य शिक्षाको प्रसार हुन थाल्यो । यसो नगर्नु मानव अधिकारको बर्खिलाप भनियो । यसका लागि तारे होटलहरूमा देशविदेशका विद्वानहरूको भेला गोष्ठीहरू हुनथाले । अमेरिकी डलरहरू ओइरिने क्रममा ओठ निचोर्दा दुधआउने स्कुले नानीहरूलाई कण्डमदिवशमा सहभागी गराउन थालिए । कण्डम रामवाण भयो, एड्सको रोकथाम गर्न । शहरबाट गैरसरकारी प्राडो र पजेरो गाउँतिर हानिन थाले– एड्सपीडितको मानव अधिकारको रक्षार्थ । अन्तर्राष्ट्रिय जगत, सरकार र गैरसरकारी संघसंस्थाहरूले जनतालाई एड्सरोगीको मानव अधिकारको सम्मान गर्न सिकाउन थालेपनि एड्सरोगीको प्रमुख हक ओझेलमा पार्ने काम यिनीहरूले नै गरे । अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकले नै राज्यको लोककल्याणकारी चरित्रलाई नष्ट गरिरहेको वेला उनीहरूसँग ऋण लिएर चलाइएको कार्यक्रमहरूले एड्सरोगीको मानव अधिकारको रक्षा गर्छ भन्नु वाहियातमात्र थियो र भयो पनि । यसकारण अन्तर्राष्ट्रिय जगत, सरकार र गैरसरकारी संघसंस्थाहरूका सवै प्रयत्नहरू कण्डमप्रबद्र्धनका लागि सहयोगसिद्ध भए । तर सर्वसाधारण र एड्स रोगीका जस्तै गरिवि, खाद्यान्न, रोजगारी र स्वास्थ्यसेवा उपलव्धता जस्ता वास्तविक र प्रमुख सरोकारहरू लत्याउने काम भइरहेका छन् ।

एड्सको नियन्त्रणको प्रचारको क्रममा वादी वस्तिमा कण्डमका पोकाहरू पुग्न थाले, लामो दूरीका चालकहरू उनीहरूका लक्षित समुह बने साथै कारपेट बुन्ने चेलीबेटीहरूलाई यौन शिक्षाका साथै कण्डमको महत्ववारे जनचेतना दिन थालिए । तर यी कुनै समुहलाई व्रम्हचर्य पालन गर्न भनिएन र बहुव्यक्तिसँगको यौन सम्पर्कलाई हाम्रो समाजले गर्ने गरेको तिरस्कारबारे वताइएन । जनचेतना अभियानले हजामलाई उनीहरुका परम्परागत छुराहरुको सट्टा व्लेड प्रयोग गर्न सिकाए । यसैगरी अस्पतालमा त्यहाँबाट निर्मूलीकृत गर्न सकिने सुईको सट्टा डिस्पोजेवल सुई प्रयोग गर्न अ¥हाए । यी कुराहरु स्थानीय रुपमा नै समाधान गर्न सकिने थिए ।

अहिले यौन पेशालाई सम्मानजनक बनाउन व्यापारिक स्थलको पहिचान र व्यवस्था गर्न सरकारलाई परिरहेको दवाव आश्र्चयजनक छ । नेपालको पर्यटन व्यवशाय खासगरी होटल व्यवशायका लागि यौन पर्यटन विकास गराउन वेश्यावृत्ति चाँडैनै वैधानिक हुने सम्भावना छ । पश्चिमा पर्यटकहरू नेपालका खास जनजातिसँग यौन सम्पर्क राख्न इच्छुक छन् भन्ने विश्वासले पनि नेपालमा वेश्यावृत्तिलाई वैधानिक गराउन आर्थिक सहयोग जुटाइरहेका छन् । यस काममा राज्य पनि लागेको छ किनकि राज्यसत्ताको तालाचावी लिएर बसेका सम्भ्रान्त वर्ग यौन पर्यटनमा संलग्न छ, अर्कोतिर राष्ट्रको चेतनाको रक्षक मानिने नागरीक समाज खासगरी गैरसरकारी संघसंस्थाहरू पनि दाता निर्देशित कार्यक्रम चलाउन विना हिचकिचावट वेश्यावृत्तिलाई मानव अधिकारको खोलमा वैध गराउन उद्यत छन् । अझ राज्यसँग वैकल्पीक रोजगारको माग नगरी वेश्यावृत्तिलाई सम्मानजनक पेशाको रूपमा प्रचार गर्ने काममा नारी आन्दोलन पनि संलग्न हुनु दुखद छ । राज्यले स्वास्थ्यसेवामा गर्ने र दाता राष्ट्रहरूबाट गर्ने आर्थिक प्रबन्ध समेत घुमाइफिराई कण्डम प्रबद्र्धन र विक्रिका लागि भएको देखिन्छ । पाठ्यक्रममा यौनशिक्षाको थप, प्रजनन अधिकार तथा स्वास्थ्य, जनसंख्या नियन्त्रण, र सुरक्षित मातृत्वमा जन्मान्तरको पुलिन्दा यी सवैको मकसद कण्डमप्रयोगमा आधारित र केन्द्रित छन् ।

हाम्रो समाजको बुझाईमा यौन रोगरएड्स, यौनक्रिया र कण्डम हिन्दू शास्त्रको वीष कन्या र गाँउघरको भिरूङ्गी सरकार र गैरसरकारी संघसंस्थाहरूको एड्सवारे गरिएको जनचेतना अभियान पछि यौनरोग भएको छ । यी अभियानमा यौनरोग र एड्सलाई पृथक गरिएका कारण गाँउघरमा एड्स रोगबारे बढी (३९.८५) जानकारी र यौनरोगबारे कम जानकारी (२९.६५) भएको कुरा स्वास्थ्य मन्त्रालयको अध्ययनले बताएको छ । यदि हाम्रो समाजको बुझाइको आधारित भएको भए एड्सलाई यौनरोगकै रूपमा बुझिइन्थ्यो । वास्तवमा शुरू देखि नै हाम्रो बुझाइ सत्प्रतिशत ठीक थियो । सन्देह त आखिर सरकार र गैरसरकारी संघसंस्थाहरूको जनचेतना अभियान पश्चात् न उव्जिएको हो । हाल आएर सरकार र गैरसरकारी संघसंस्थाहरूले एड्सलाई यौनरोगमा नै संलग्न गराएका छन् । तर , उनीहरूले बुझ्न बाँकी छ, त्यो के भने यौनरोगको संक्रमण त्यसवेलासम्म भइरहन्छ, जवसम्म यौनक्रिया सन्तान उत्पादनका लागि अनिवार्य भइरहन्छ ।

कण्डम परिवार नियोजनको अस्थायीसाधनका रूपमा हामो देशमा सन् १९५८ देखि निशुल्क वितरण गर्न थालिएको हो । यसको सामाजिक बजार नीति अनुसार विक्रि गर्न सन् १९७८ मा सिआरएस कम्पनी स्थापना भयो । १९९० पछि एड्स नियन्त्रणका लागि वर्सेनि ७ – ८ करोड कण्डमहरू निशुल्क वितरण गरिन थालियो । त्यसपछि पनि कण्डमको माग अनुसार पूर्ति हुन नसकेको कुरा स्वास्थ्य मन्त्रालयको विभिन्न प्रतिवेदनहरूमा उल्लेख छन् । सरकारका स्वास्थ्य मन्त्रालय र जनसंख्या मन्त्रालय समेतको प्रयत्न, गैरसरकारी संघसंस्थाको जनता लक्षित यौन शिक्षा र एड्स विरूद्धको अभियानको कारण कण्डमको मागमा वृद्धि हुनु आश्चर्य पनि होइन अझ अमेरिकन प्राइवेट कम्पनी समेत सामाजिक बजार प्रवद्र्धन गरिरहेको छ । हाल नेपालमा २९ खाले व्राण्डका कण्डमहरू प्रचलनमा रहेको कुरा त्रिविको अनुसन्धान संस्था सेडाको एक अध्ययनमा उल्लेखित छ । नेपालको बजारमा ८६ पैसा देखि १५ रूपैँया पर्ने कण्डमहरू विक्रिमा छन् । ती कण्डमहरू सवै अमेरिकन तथा अमेरिकी साझेदारीबाट विभिन्न देशमा संचालित कारखानाहरूमा निर्मित छन् । सेडाको अध्ययनले कण्डमको पुरियामा एचआइभी रोकथाम गर्ने साधन लेखिनुपर्ने सुझाव गरेको छ । यो सुझावको कार्यान्वयन पछि कण्डमले अनौठो हड्डामा मच्चाउने छ ।

कण्डम विकसित मुलुकका जनताले स्वाभाविक मनोदशाले प्रयोग गर्दै आएका छन् । पहुँच, प्राप्यता र क्रयक्षमता त्यहाँका जनतामा छन् । तैपनि गोनोरिया, सिफिलिस जस्ता यौनरोगहरू जनस्वास्थ्य समस्याका रूपमा ज्यु का त्यु“ छन् । यसकारण सिफिलिसका किटाणु ट्रिपोनेमा पालिडम कण्डमबाट छिर्न सक्छ कि सन्देह गरिएको छ । यसैगरी पश्चिमी देशहरूमा अनिच्छुक गर्भधारणको व्यापकताले पनि कण्डमको असफलतालाई स्पष्ट गरिरहेको छ । अझ ट्रिपोनेमा पालिडम भन्दा सानो एचआइभी कण्डमबाट छिर्न सक्दैन भन्न कठिनाई पर्दछ । भारतेली एक चिकित्सक एन। एस। देवदारले अष्ट्रेलियामा ‘कुनै कुनै कण्डमबाट एचआइभी छिरेको कुराको अभिलेखन गरिएको छ’ भन्ने लेखेका छन् । कण्डमका यस्ता अप्रभावकारिताको परिणामले नै विकसित मुलुकहरूमा र त्यहाँबाट एचआइभी संक्रमण फैलियो यो संक्रमण अन्तर्राष्ट्रिय महामारी बन्यो । हाम्रो देशमा यसैलाई रोकथामको औजारका रूपमा प्रचार गरिरहदा यस दृष्टान्तलाई राम्ररी मनन गर्नु पर्दछ । मास्क लगाएर काठमाडौंको वायु प्रदुषणबाट बच्नेकुरा र वहुव्यक्तिसँग यौन सम्पर्कको कारण हुने यौनरोगको महामारी कण्डमबाट नियन्त्रण गर्न सकिन्छ भन्नु उस्तै कुरा हो ।

एचआइभी संक्रमणको यथार्थता र प्रमुख जनस्वास्थ्य समस्याको निर्क्यौल

नेपालमा सन् १९८८ मा एड्सको जिवाणु भएको व्यक्ति फेला परेपछि सरकारले यस संक्रमणका विरूद्ध आफ्ना कार्यहरू शुरूवात र विस्तार गरिरहेको छ । कुनैपनि राज्यको आफ्नो मुलुकका समाजमा फैलने महामारी रोक्नु दायित्व हो । यसका लागि राज्यले संक्रमितररोगी व्यक्तिहरूको पहिचान गर्ने, संक्रमितररोगीहरूको स्थीति संकलन गर्ने र यसको नियन्त्रण या उन्मूलन गर्ने यी ३ वटा कदमहरू तुरून्त चाल्नु पर्दछ । तर नेपालको सरकारले यी प्रक्रियाहरू पुरा गरेन । अन्तर्राष्ट्रिय प्रयाश स्वरूप केही सागंठनिक संरचना खडा गरिए तर प्रभावकारी ढंगले समस्याको स्तरको पहिचान गर्न र स्थानीय मान्यता र व्यवहार अनुकुलित नियन्त्रणात्मक उपायहरू अवलम्वन गरेन । यतिसम्मकि यस समस्याको वास्तविक भार अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । संक्रमित व्यक्तिको संख्या दर्ता भएका र अनुमान गरिएका बीचको दूरी आनका तान फरक छ । दृष्टान्तका लागि स्वास्थ्य मन्त्रालयको सन् २००० को वार्षिक प्रतिवेदनमा यस अवधिभित्र जम्मा १६७ जना व्यक्तिहरू एड्स भएर मरेको र स्वैच्छिक जाँच गर्न आएका र रखवारी निगरानीबाट गरिएको जाँचबाट करीव २९४२ जना एड्स जिवाणुबाट ग्रसित रहेको दर्ता छ । तर, सोही प्रतिवेदनमा गणितीय आकलन अनुसार सन् २००० मा नै ३३ हजार ५३२ व्यक्ति एड्सको जिवाणुले संक्रमित छन्, भने २५३५ व्यक्ति एड्स भएर मरिसकेको उल्लेख छ । दर्ता भएका र आकलित तथ्याङ्कहरूमा संक्रमित व्यक्तिको मृत्यु या अस्वस्थ संख्याको बीचमा व्यापक अन्तराल हुनु सरकारको निगरानी प्रकृया खोट भएकाले हो या एड्सलाई प्रमुख महामारीको रूपमा प्रचार गर्ने अन्तर्राष्ट्रिय हावा हो ? भन्ने जस्ता प्रश्नहरू उव्जिएका छन् ।

जनस्वास्थ्य समस्याको प्राथमिकता निर्धारण

रोगबाट हुने मृत्यु तथा अस्वस्थपन, आर्थिक तथा सामाजिक हानि र लागत अनुसार प्रभावकारी तथा सम्भव हुने रोकथाम र नियन्त्रणका उपायहरूको प्राप्यताको आधारमा गरिन्छ । खोटपूर्ण सर्वेक्षण अनुसार आकलित मृत्यु या अस्वस्थ संख्याले पनि एचआइभी संक्रमण भन्दा बढी प्राथमिकताका अरू जनस्वास्थ्य समस्याहरू हाम्रो देशमा छन् । केन्द्रीय तथ्याङ्क विभाग सन् २००० को जनगणनाअनुसार १२ महिनामा हैजा र झाडापखालाबाट ५ हजार १ सय १९, न्युमोनियाबाट ४ हजार ४ सय २९, दमखोकीबाट ७ हजार १ सय ७० र एपेन्डीसाइटिसबाट ४ सय २३ को ज्यान गएको छ, तर एड्स र यौनरोग दुवैको कारण ३४५ को मात्र ज्यान गएको कुरा उल्लेख छ । स्मरण रहोस् सन् २००० पछिको नेपाल सरकारसँग यसबारे देशव्यापी तथ्याङ्क छैन । सन् २०१० को जनगणनामा सूचना संकलन गरेपनि यसको प्रशोधन तथ्याङ्क विभागले गरेन । यसका लागि तथ्याङ्क विभागमा जनशक्ति र बजेट नभएको बताइयो । यसकारण यस अध्ययनका लागि पुरानै तथ्याङ्क राखिएको छ। यसैगरी स्वास्थ्य मन्त्रालयले सन् २००० भर अस्पताल स्वास्थ्यसंस्थामा आएका बिरामीहरुको आधारमा वर्गीकरण गरिएको दसवटा प्रमुख अस्वस्थता र स्वास्थ्य समस्याररोगहरूमा एड्स पर्दैन । सरकारको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि एड्स प्रमुख जनस्वास्थ्यहरू मध्ये एक हुन सक्दैन।

एड्सको हरेक प्रचारमा ‘हरेक व्यक्ति एचआइभी संक्रमण हुनसक्ने जोखिममा छन्’ भनिन्छ, तर त्यसो होइन । एचआईभी संक्रमणको जोखिम यस्तो व्यक्तिलाई मात्र छ जसले सामाजिक मान्यतालाई उल्लंघन गर्ने (Social deviant) गर्दछ। यसर्थ एचआईभी संक्रमण प्रत्यक्षरूपमा आम व्यक्तिको स्वास्थ्य समस्या होइन। यसैगरी प्रचार गरिएअनुसार युवा समूह यसको जोखिममा रहेकाले आर्थिक हानी र सामाजिक हानी बढी हुने कुरा पनि तथ्यसंगत छैनन् । निश्चय नै युवा शक्ति उत्पादक वर्ग हो तर वेश्यागमन गर्ने, लागू औषध गर्ने वर्ग लम्पट वर्ग हो । यसबाट उत्पादनको आश गर्न सकिदैन । हो यो वर्गलाई सुरक्षा गर्नुपर्छ, तर वेश्यागमन या लागूऔषध सेवनको छुट दिँदै कण्डम वा सुइ र लागूऔषध पाउने अवस्था रहिरहन हुँदैन। यसका लागि सामाजिक हस्तक्षेप आवश्यक छ।

यसैगरी एचआईभी संक्रमणको रोकथाम र नियन्त्रणको प्रशंगमा पनि छलफल हुनु जरूरी छ । एक त लागत नाफा विश्लेषण सकारात्मक छैन । दृष्टान्तका लागि भ्यालेण्डर टर्नर र एन्ड्रयू म्याकइन्टाइर द्वयको जनवरी १९९९ को लेखअनुसार एड्स बिरामीको उपचार खर्च वार्षीक १५,००० डलर लाग्छ । तर यति रकमले नेपालमा ७८०० व्यक्तिको न्युमोनियाको उपचार हुन सक्छ । राज्यले एड्सको बिरामीको उपचार दिनुपर्ने अधिकार विश्वव्यापी वकालत भइरहेको छ । यो एड्सको सन्दर्भमा उचित देखिए पनि बढि मृत्यु र अस्वस्थपन गराउने हाम्रो देशका प्रमुख जनस्वास्थ्य समस्याहरूको रोकथाम र उपचारलाई ओझेलमा पारिरहेको छ । अहिले हाम्रा स्वास्थ्य संस्थाहरूमा आइरन चक्कीदेखि एड्रिनालिन सुईसम्म रोगीले किन्नु पर्ने र अस्पतालका हरेक द्वारमा फिस तिर्नुपर्ने स्थिति छ । विश्वव्यापी वकालतको सन्दर्भमा हाम्रो के सरोकार छ भने हाम्रा जनस्वास्थ्यका प्रमुख समस्याहरूका बारेमा पनि सम्वोधन गरियोस् र एड्समा गरिने व्ययले अन्य स्वास्थ्य समस्याहरूलाई असर नगरोस् । स्वास्थ्यमा सामाजिक न्याय अहिलेका सवै आन्दोलन र आन्दोलनकारीरअभियानकर्ताहरू सवैको सरोकार हो ।

एचआइभी र एड्सको नियन्त्रण

कुनैपनि महामारी सदाकालका लागि हावी भएर रहन सक्दैनन् । यसको संक्रमणता (virulent) को विरूद्ध मानवले शारीरिक प्रक्रिया अनुसार प्रतिरोध विकास गर्दछ । एचआइभीको मामलामा पनि जीव विज्ञानले यस्तै आशा राख्न सक्दछ । तर, मानव समुदायले आफ्नै अप्राकृतिक हस्तक्षेपले पनि महामारीलाई नियन्त्रणमा लिएका छन् । महामारीहरू निश्चित आर्थिक तथा सामाजिक वातावरणमा मौलाउने गर्दछन् । वेलायतमा औद्योगिक क्रान्तिले व्यापक फैलाएको हैजा, क्षयरोग, टाइफाइड जस्ता महामारीहरू राजनैतिक हस्तक्षेपको कारण नियन्त्रणमा आयो । जब कि त्यसवेला सरूवा महामारी कसरी फैलन्छ र के कारणले उब्जन्छ भन्ने ज्ञान चिकित्सा शास्त्रसँग थिएन। तर १८४० को दशकमा चाडविक र फ्रेडरिक एङ्गेल्सको तत्कालिन वेलायती मजदुरहरूको स्थीतिको वेग्लावेग्लै अध्ययनहरूले समस्याका अन्तरनिहित कारणहरूको पहिचान गरे। फलस्वरूप राज्यबाट गरिएको सफाई अभियान (sanitary movement) र मजदुरबाट गरिएको ज्याला, आवासको सुप्रवन्धका लागि गरिएका आन्दोलनहरूले ती महामारीलाई नियन्त्रणमा ल्यायो ।

एड्सको महामारी वर्तमान साम्राज्यवादको देन हो । यसको उत्पत्ति साम्राज्यवादको विशेष क्यान्सर–भाइरस प्रोग्राम, चिम्प्याञ्जीवाट निर्मित पोलियो भ्याक्सिनको प्रयोग, या बाँदरहरूको अङ्गको मानवमा प्रत्यारोपण या गरिवीको कारण बाँदरहरू खाइएको स्थिति– यी मध्ये कुनै कारण हुनसक्ने सिद्धान्तहरू छन् र यिनीहरूबारे अध्ययन भइरहेको छ । यसकारण एड्सका जीवाणु संक्रमण जस्ता महामारीको अन्तरनिहित कारणहरूको नियन्त्रण साम्राज्यवादको अन्तसँग पनि सरोकार राख्दछ । साम्राज्यवादीहरूले विकाश गरेका जैविक हथियारको कारणले मात्र होइन, उनीहरूले विस्तार गरेका रोगहरू र स्वास्थ्य समस्याहरूका उपचार र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि र उपचारप्रविधिहरू माथि भएको हैकम समाप्त पार्न पनि यसको अन्त हुनु जरूरी छ । यस प्रशङ्गमा एड्सको जीवाणु संक्रमण नियन्त्रणका लागि दक्षिण अफ्रिकाले गरेको एक्लो प्रयत्न हामी जस्ता तेस्रो विश्व मुलुकहरूका लागि प्रेरणादायी छ ।

एचआइभी र एड्सको नियन्त्रणको सन्दर्भमा हाल विश्वको स्वास्थ्य प्रणाली पनि दुई धारामा विभाजित छ । यो विभाजन स्वास्थ्यको जैविक मोडल या स्वास्थ्यको सामाजिक मोडेल दृष्टिकोणको आधारमा भएको छ । जैविक मोडलले जीवलाई विभिन्न अङ्गहरूमा विभाजन गरेर यन्त्रको विग्रेको पाटपूर्जा मर्मत गरे झैं उपचार खोज्दछ । तर सामाजिक मोडल अनुसार स्वास्थ्य भनेको आर्थिक तथा सामाजिक अवस्थाको प्रतिविम्व हो । यसैगरी एड्स जीवाणु संक्रमण पनि आर्थिक तथा सामाजिक अवस्थाको प्रतिविम्व हो । धेरै वर्षसम्मको एचआइभी र एड्स नीतिको असफलता पछि दक्षिण अफ्रिकी राष्ट्रपति थाबो म्बेको भन्छन् ‘हामी एउटा जावो भाइरसलाई मात्र दोष दिन सक्दैनौं । गरिवी नै औषत आयु कम गर्ने, अपाङ्गता, कुपोषण, मानसिक अस्वस्थता, आत्महत्या, परिवार विखण्डनको अन्तरनिहित कारक तत्व हो ।’ यसकारण एचआइभी र एड्सको सन्दर्भमा पनि गरिवी, वेरोजगारी, शान्ति र स्वास्थ्यसेवा प्रणाली ज्यादै निर्णायक छ ।

हालको स्वास्थ्यसेवा प्रणाली नेपाली जनताको पहुँच, क्रय र स्वीकारयोग्य मात्र छैन, यो प्रणाली स्वास्थ्यको जैविक मोडलको आधारमा स्थापित छ। यसले एउटा जावो भाइरसलाई मात्र दोष दिएर यसको रोकावटका लागि कण्डम प्रयोग गर्न उत्साहित गराइहेको छ। यौनकर्मको वैकल्पिक पेशा, बेरोजगारका लागि स्थानीय रोजगारको व्यवस्था र भविष्यप्रति निराश बनेका युवा पुस्ताहरूको कुलत र पलायनप्रति राष्ट्रको सम्बोधन नभई एड्स लगायत अन्य महामारी नियन्त्रणमा आउन सक्दैनन् । त्यसैले देशभित्र एड्स नियन्त्रण गर्न एड्सको जोखिममा रहेका भनिएका लक्षित समूहहरूका एचआइभी संक्रमण हुने अन्तरनिहित कारणहरू समाधानार्थ सामाजिक तथा आर्थिक हस्तक्षेप गरिनु आवश्यक छ ।

(यो लेख करीव १५ वर्ष अघि नेकपाएमालेको राजनैतिक मुखपत्र ‘नवयुग’मा प्रकाशन भएको थियो। यसपछि एचआइभी र यसका विरुध्दको अभियानबारे धेरै भिन्नता आइसकेको छ र दाताको कमीका कारण अभियान स्थगीत जस्तै भएको छ। त्यसबेलाको तीब्र अभियान देखेर लेखिएको यो आलेखमा एचआइभी र एड्स एक केश स्टडीका रुपमा थियो । तथापी यहाँ स्वास्थ्यलाई सम्वोधन गर्न गरिएका व्याख्या र तथ्यहरु उत्तिकै सान्दर्भिक छन् । त्यसमाथि नेपालका हरेक स्वास्थ्य समस्यालाई बायोमेडिकल तौरतरिकाबाट हेरी सम्वोधन गर्ने कार्यमा कमी आएको छैन, झन् विस्तार भइरहेकोछ। यसकारण नीतिनिर्मातालाई स्वास्थ्य र त्यसको सम्वोधन गर्ने तौरतरिका बुझ्न यो आलेख अझै उपयोगी हुने ठानेर पुन: प्रकाशन गरिएकोछ।) – सम्पादक ।

फेसबुकबाट तपाईको प्रतिक्रिया