‘म आज निकै गम्भीर मुद्दामा बोल्नका लागि उभिएको छु। मैले यसबारे विपक्षका नेताहरुलाई अवगत गराइसकेको छु र अब म क्यानाडाका सबै नागरिकसँग कुरा गर्न चाहन्छु। गत केही हप्तादेखि क्यानाडाका सुरक्षा एजेन्सीहरु क्यानडेली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टहरुको सम्भावित संलग्नताका विषयमा छानबिन गरिरहेका थिए। क्यानाडाले भारतका गुप्तचर एजेन्सी तथा सुरक्षा अधिकारीहरुलाई आफ्नो चासोबारे अवगत गराइसकेको छ। क्यानाडाको धर्तीमा, क्यानेडेली नागरिकको हत्यामा विदेशी सरकारको हात हुनुलाई कुनै पनि मूल्यमा स्वीकार्न सकिँदैन। यो क्यानाडाको सम्प्रभूताको उल्लघंन हो।’ – क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडो
१ असोज सोमबारका दिन संसदमा उभिएर ट्रुडोले आफ्ना नागरिकको हत्यामा विदेशी सरकारको संलग्नतालाई कुनै पनि मूल्यमा स्वीकार्न नसकिने बताए लगत्तै क्यानाडाकी विदेशमन्त्री मेलाने जोलीले पत्रकार सम्मेलनमा भनिन्– ‘यो मामिला सतहमा आएसँगै हामी तीन सिद्धान्तमा हिँडिरहेका छौँ। पहिलो, हामी जसरी पनि सत्यसम्म पुगिछाड्छौँ। दोस्रो, हामी क्यानडेली नागरिकलाई सुरक्षा दिन प्रतिवद्ध छौँ। तेस्रो, हामी क्यानाडाको सम्प्रभूताको रक्षा गर्न प्रतिबद्ध छौँ। मैले यसबारेमा आफ्नो भारतीय समकक्षलाई सूचित गरेकी छु र हामीलाई के विश्वास छ भने उनीहरु सत्यसम्म पुग्ने हाम्रो प्रयासमा पूर्ण सहयोगी हुनेछन्। यसैका फलस्वरुप हामीले भारतका एक शीर्ष कुटनीतिज्ञलाई क्यानाडाबाट निश्कासित गरेका छौँ।’
प्रधानमन्त्री ट्रुडोले संसदमा आफ्नो कुरा राखेसँगै चिसिन शुरु गरेको क्यानाडा–भारतबीचको सम्बन्ध परराष्ट्रमन्त्री जोलीले भारतीय कुटनीतिज्ञ पवनकुमार रायलाई देश निकाला गरिएको सुनाएसँगै दुबै मुलुकबीच सम्बन्ध थप चिसिन पुगेको छ। हालसम्म दुबै मुलुकले आ–आफ्नो देशबाट एक–एक जना कुटनीतिज्ञलाई देश निकाला गरेका छन्। भारतले क्यानाडाको अभिव्यक्तिलाई राजनीतिबाट प्रेरित बताएको छ।

दुबै मुलुकबीच त्यस्तो के घटित भयो, जसले गर्दा उनीहरु तिक्तताको यो बिन्दुसम्म आइपुगे। यसबारे बुझ्न हामी क्यालेन्डरमा दुई महिनापछि फर्कनु पर्ने हुन्छ।
भारतीय मुलका क्यानडेली नागरिक ४५ बर्षिय हरदीप सिंह निज्जरलाई यसै बर्ष १८ जूनमा ब्रिटिश कोलम्बिया प्रान्तको गुरुद्वारा बाहिर गोली हानी हत्या गरियो। निज्जर भारतमा ‘मोस्ट वान्टेड’ को सूचीमा थिए। निज्जर स्वतन्त्र शिख राज्य खालिस्तान समर्थक ‘टाइगर फोर्स’ को समर्थक रहेको भारतीय सरकारको भनाई छ।
शिख समुदायको प्रतिनिधित्व गर्ने निज्जर विदेशी भुमिमा मारिनेहरुमा चौथो व्यक्तिमा पर्छन्। यसअघि खालिस्तान समर्थक भएको आरोप लागेका अवतार सिंह खण्डाको बेलायतमा हत्या भएको थियो। परमजीत सिंह उर्फ पञ्जबडको पाकिस्तानको लाहोरमा हत्या भएको थियो। पाकिस्तान प्रहरीका अनुसार उनलाई अज्ञात बन्धुकधारीले टाउकोमा गोली हानेका थिए। त्यसैगरी क्यानाडाको ब्रिटिश कोलम्बियामै सन् २०२२मा रिपुदमन सिंह मलिकको गोली हानेर हत्या भएको थियो। निज्जरको हत्या बाहेक अन्य हत्यामा भारतीय गुप्तचर एजेन्सी तर्फ औँला नउठे पनि क्यानाडामा हत्या गरिएका निज्जर हत्याको छानबिन गरिरहेका प्रहरी अधिकारीहरुले उनको हत्या ‘टार्गेटेड किलिङ’ भएको बताएका छन्।
‘उनको हत्या किन गरिएको हो भन्ने स्पष्ट नभए पनि यो टार्गेटेड किलिङ हो।’, अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतले बीबीसीसँग भनेका छन्।
भारत सरकारले जुलाई २०२०मा एउटा विशेष अधिसूचना जारी गर्दै गैर–कानूनी गतिविधि रोकथाम अधिनीयम (यूएपीए) अन्तर्गत नौ जना ‘आतंकवादी’ को नाम सार्वजनिक गरेको थियो। परमजीत सिंह उर्फ पञ्जवड त्यसै मध्येका एक थिए।
निज्जरको हत्याको विरोधमा क्यानाडाको टोरन्टोमा रहेको भारतीय दुतावास अघिल्तिर ८ जुलाईका दिन ठूलो संख्यामा शिख समुदायले प्रदर्शन गर्यो। त्यति मात्रै होइन निज्जरको हत्याको विरोधमा बेलायतको राजधानी लण्डन, अष्ट्रेलियाको मेलबर्न र अमेरिकाको सन फ्रान्सिस्कोमा पनि प्रदर्शन भयो। प्रदर्शनकारीहरुले पछिल्ला हत्याहरुमा भारत सरकारको भूमिका रहेको अशंका व्यक्त गरेका थिए। भारतले ती हत्याहरुमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ।
यो घटनालाई बुझ्न हामीले शक्ति सम्बन्धको दुईवटा राजनीतिक पाटा बुझनु पर्ने हुन्छ। पहिलो, खालिस्तान आन्दोलन र सन् १९८४ को शिख विरोधी दंगा। दोस्रो, क्यानाडामा शिख समुदायको आर्थिक, सामाजिक अवस्थिति र उनीहरुको राजनीतिक झुकाव।
सन् १९४७ देखि नै भारतमा खालिस्तान आन्दोलन चल्दै आएको छ। जसको मुल उद्देश्य मुलतः पञ्जाबलाई भारतबाट छुट्टै स्वतन्त्र देशको दर्जा दिनु थियो। खालिस्तानी आन्दोलनको पटाक्षेप स्वर्ण मन्दीरमा भएको ‘अपरेशन ब्लु स्टार’ बाट भयो। सन् ८०को दशकमा भारत र पाकिस्तानमा रहेको पञ्जाब राज्य र भारतको राजस्थानका केही क्षेत्रलाई समेट्दै छुट्टै राष्ट्रका लागि सशस्त्र आन्दोलनको नेतृत्व गरेका थिए– सन्त जरनेल सिंह भिन्डरावालेले। त्यस्तै खालिस्तान आन्दोलनलाई बौद्धिक आकार दिन जगजीत सिंह चौहानले विदेशमा बसेर काम गरेको विश्वास गरिन्छ।
खालिस्तान आन्दोलनलाई बलपूर्वक दमन गर्नका लागि भारत सरकारले अपरेशन वुड रोज, अपरेशन ब्लैक थंडर–१, अपरेशन ब्लैक थंडर–२ र अपरेशन ब्लुस्टार सञ्चालन गरेको थियो। सेनाले चलाएको अपरेशन मार्फत सरकारले आन्दोलनलाई नेस्तानाबुत त गर्यो तर सेनामाथि मानवअधिकार उल्लंघन गरेको आरोप लाग्यो।
अमृतसरको स्वर्ण मन्दिरलाई मोर्चा बनाएर बसेका खालिस्तान आन्दोलनका तत्कालिन नेता सन्त जरनेल सिंह भिन्डरावालेको हत्या गर्ने गरी सञ्चालित अपरेशन ब्लुस्टार ६ जून १९८४ मा सफल भएसँगै खालिस्तान आन्दोलनको निस्तेज भयो। तर, सेना र प्रहरीको व्यापक दमनका कारण शिख समुदाय भारतीय राज्यप्रति नकारात्मक बन्यो। त्यसको चरम रुप सन् १९८४मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याका रुपमा भयो। त्यसपछि चर्किएको शिख विरोधी दंगामा सयौंको संख्यामा शिखहरु मारिएका थिए। अहिले पनि त्यसले बनाएको घाउ र पारेको फाटो मेटिन सकेको छैन।
यसअघि जसरी भारतले पाकिस्तान र नेपालमा घुसेर आफूूले लक्षित गरेका व्यक्तिहरुको हत्या गर्ने गरेका थिए, त्यही मोडस ओपेराण्डी अपनाएर निज्जरको हत्या गरेको देखिन्छ। तर, क्यानाडा सरकार र फाइभ आइवाला देशहरु यो घटनालाई सामान्य रुपमा लिन तयार छैनन्। जसले गर्दा भारत भरखरै सम्पन्न जी २० देशहरुको सम्मेलनबाट बनाएको विश्व सम्बन्ध र प्राप्त सफलता गुमाउँदै रातो अनुहार लगाउनु पर्ने अवस्थामा धकेलिएको छ।
अपरेशन ब्लुस्टारपछि खालिस्तान आन्दोलनमाथि व्यापक दमन भयो र भारतमा शिख राज्यका लागि आन्दोलन कमजोर भयो। त्यसयता खासगरि क्यानाडा, बेलायत, अमेरिका र अष्ट्रेलियामा रहेको शिख डायस्पोराले आन्दोलन जगाइरहेको छ। गतवर्ष बेलायत र अमेरिकामा रहेका भारतीय दुतावासहरुमा भएका हमला तथा सिड्नी, लण्डनलगायतका शहरमा भएका प्रदर्शनले उनीहरुको संगठित अभियान जारी रहेको देखाउँछन्।
गतवर्ष पञ्जावमा खालिस्तान आन्दोलनका पक्षमा आवाज उठाइरहेका धर्मगुरु अमृतपाल सिंह सन्धु र उनको समुहलाई भारतले पक्राउ गरेर छिन्न भिन्न पारेको थियो र यसका विरुद्ध सिख डायस्पोरा आन्दोलित भएको थियो।
भारतमा शिखहरुको संख्या कुल भारतीय जनसंख्याको तीन प्रतिशत छ भने विदेशमा बसोबास गर्नेको संख्या झण्डै २१ लाख रहेको अनुमान गरिन्छ। जसमध्ये क्यानाडामा ७.७ लाख, अष्ट्रेलियामा ६.७३ लाख, ब्रिटेनमा ५.२४ लाख र अमेरिकामा २ लाखको संख्यामा बसोबास रहेको छ।
भारतबाट शिखहरु १९औँ शताब्दीको अन्त्यमा क्यानाडासहित विश्वका अन्य मुलुकमा गएका हुन्। ब्रिटिश उपनिवेशवादीहरुले आफूसँगै सैन्य डफ्फा तथा घरेलु कामदारको रुपमा उनीहरुलाई प्रयोग गर्न लगेका थिए। सन् १८९७ मा महारानी भिक्टोरियाले ब्रिटिश भारतीय सैनिकको एउटा टुकडीलाई हिरक महत्सोवमा सामेल हुन लण्डन आमन्त्रित गरेकी थिइन्। तिनै सैनिकहरु मध्येका एक रिसालेदार मेजर केसर सिंह क्यानाडा बसाई सर्ने पहिलो भारतीय शिख हुन्।
त्यसदेखि हालसम्म क्यानाडामा बस्दै गरेका शिखहरुको जनसंख्या बढेसँगै क्यानडाली राजनीतिमा प्रभाव विस्तार हुन थाल्यो। सन् २०१९ को निर्वाचनमा शिख समुदायका जगमीत सिंहले नेतृत्व गर्ने न्यू डेमोक्रेटिक पार्टीले १५.९ प्रतिशत मत हासिल गर्दै २४ सिटमा विजय हासिल गरेको थियो। जगमीत सिंहको पार्टी क्यानाडाको चौथो ठूलो पार्टी हो। यस अघिको निर्वाचनमा उनको पार्टीले ३९ सिट हासिल गरेको थियो।
क्यानाडाको शिख समुदाय भारतमा मुसलमानमाथि भइरहेको ज्यादतीको विरोधमा पनि मुखर छ। क्यानाडाको राजनीतिमा शिखहरुकै प्रभावका कारण प्रधानमन्त्री जस्टीन ट्रुडोले समेत भारतमा शिख समुदायका किसानले नेतृत्व गरेको किसान आन्दोलनमा समर्थन जनाएका थिए। शिख समुदायको समर्थनतिर संकेत गर्दै किसान आन्दोलनलाई बद्नाम गर्न भारत सरकारले खालिस्तान आन्दोलनसँग जोडेर प्रचार गराएको थियो।

खालिस्तानको समर्थनमा सबैभन्दा प्रभावकारी आन्दोलन क्यानाडामा हुने गरेको छ। शिख समुदायको बाक्लो उपस्थिति, राजनीतिमा सक्रिय हस्तक्षेप र अपेक्षाकृत खुकुलो वातावरणलाई प्रयोग गरेर शिखहरुले क्यानाडमा अभियानलाई जीवित राख्ने र गतिदिने प्रयास गर्दै आएका थिए। निज्जर २०१५ पछि क्यानाडाली नागरिक भएका हुन र उनी त्यहाँ स्थायी रुपमा बसोवास गर्नु अघिदेखि नै खालिस्तान आन्दोलनमा लागेको बताइन्छ।
अपरेशन ब्लुस्टारका मुख्यकर्ता अजित डोभाल नै अहिले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार छन्। उनले भारतीय गुप्तचर संस्था र मार्फत क्यानाडमा रहेका सिखहरुमाथि दमन गरेर तहलगाउने योजना बनाएका हुन भने अनुमान गर्नेका लागि पनि पर्याप्त आधार रहेको छ। यसकै परिणामस्वरुप भारतीय दुतावसाका कुटनीतिक अधिकारीहरु सक्रिय भएको र क्यानाडाली विदेश मन्त्रालयका अनुसार कुटनीतिक नियोगका उच्च तहका मानिसहरु र हत्यामा संलग्न व्यक्तिबीच प्रत्यक्ष संवाद भएर योजना कार्यान्वयन गरिएको अडियो सुरक्षित रहेको क्यानडाले दाबी गरेको छ।
यसअघि जसरी भारतले पाकिस्तान र नेपालमा घुसेर आफूूले लक्षित गरेका व्यक्तिहरुको हत्या गर्ने गरेका थिए, त्यही मोडस ओपेराण्डी अपनाएर निज्जरको हत्या गरेको देखिन्छ। तर, क्यानाडा सरकार र फाइभ आइवाला देशहरु यो घटनालाई सामान्य रुपमा लिन तयार छैनन्। जसले गर्दा भारत भरखरै सम्पन्न जी २० देशहरुको सम्मेलनबाट बनाएको विश्व सम्बन्ध र प्राप्त सफलता गुमाउँदै रातो अनुहार लगाउनु पर्ने अवस्थामा धकेलिएको छ।
यो हत्यामा भारतले आफ्नो कुनै पनि हात नभएको र क्यानाडाले लगाएको आरोप निराधार रहेको भन्दै सबै आरोप खारेज गर्दै आइरहेको छ। भारतीय विदेश मन्त्रालयले ‘क्यानाडाका प्रधानमन्त्रीले संसदमा जे कुरा भनेका छन्, त्यसलाई हामी खारेज गर्छौं। हामी क्यानाडाको विदेशमन्त्रीको भनाई पनि खारेज गर्छौँ। क्यानाडामा भएको कुनै पनि हिंसामा भारतलाई मुछ्नु ठीक होइन। यो सबै राजनीतिबाट प्रेरित छ।’ भन्दै आफूमाथिको आरोपको खण्डन गरेको छ।
विज्ञप्तीमा अगाडि भनिएको छ, ‘क्यानाडाका प्रधानमन्त्रीले हाम्रो प्रधानमन्त्री समक्ष पनि यस्तै आरोप लगाउनु भएको थियो र हामीले त्यतिबेला पनि खारेज गरेका थियौँ।’ तर, भारतको दाबी आफ्नो लाज छोप्ने प्रयासमात्र सावित हुँदैछ जसलाई पुष्टि गर्ने कुनै आधार देखिन्न।
दुबै मुलुकबीच सम्बन्ध कतिसम्म चिसिएको छ भने क्यानाडाले आफ्नो सार्वभौमसत्तामा भारतले हस्तक्षेप गरेको बताउँदै आफ्ना नागरिकको रक्षाका लागि आफू प्रतिवद्ध रहेको बताएको छ। यसैकारण उसले सुरक्षा एजेन्सीका तर्फबाट क्यानाडास्थित भारतीय दुतावासमा नियुक्त पवनकुमार रायलाई देश निकाला गर्ने निर्णय सुनायो भने भारतले पनि पाँच दिन भित्र भारतमा रहेका क्यानडेली कुटनीतिज्ञलाई देश छोड्न निर्देश दियो।
त्यसैगरी क्यानाडाले आफ्ना नागरिकलाई भारत नजान एडभाइजरी जारी गरेको छ। त्यसको प्रतिक्रिया स्वरुप भारतले क्यानडेली नागरिकलाई भारतको भिसा सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिदिएको छ।
यसैबीच खालिस्तान समर्थक सुखदूल सिंह उर्फ सुक्खा दुनेकेको पनि बिहीबार क्यानाडामा हत्या भएको छ। क्यानाडाको विन्निपेगमा भएको गोलीबारीमा उनी मारिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। लोरैन्स विश्नोई समूहले उनको हत्याको जिम्मेवारी लिएको छ। एएनआईका अनुसार सुखदूल सिंहको पञ्जाबको मोगा स्थित घरमा पुलिसले छापा हानेको छ र खालिस्तानी तत्वको खोजी गरिरहेको जनाएको छ।
सुखदूल सिंहको हत्यामा प्रयोग गरिएको अपरेशन शैली नेपालमा मिर्जा दिलसाद वेगको हत्याको जस्तो देखिएको छ। ऐजेन्सीहरुले आफूूले गरेको हत्यामा लोरेन्स विस्नोइलाई जिम्मेवारी लिन लगाएका छन्। जसरी नेपालमा दिलसाद वेगको हत्यामा बब्लु श्रीवास्तवलाई दोष स्वीकार गर्न लगाइएको थियो।
अमेरिकी सुरक्षा सल्लाहकार ज्याक सुलिभानले यस मामिलामा अमेरिका कसैलाई विशेष छुट
दिने पक्षमा नरहेको बताएर भारतलाई यस मामिलामा दवाब दिने र प्रकारान्तरले
हत्यामा संलग्न व्यक्तिहरुलाई दण्डित गर्न भारत बाध्य हुनुपर्ने संकेत गरेका छन्।
यी घटनाहरुले क्यानाडा र भारतका बीचमा मात्र होइन पश्चिमा शक्ति राष्ट्रहरुको भारतसँगको सम्बन्धमा पनि कहिँ न कहिँ चिसोपना आउन सक्नेतिर संकेत गर्छ। न्युयोर्कमा राष्ट्रसंघीय साधारणसभाको साइडलाइनमा क्यानाडेली प्रधानमन्त्री ट्रुडोले प्रचलित विश्व व्यवस्था र त्यसका नैतिक तथा कानूनी पक्षको कुरा उठाएर भारतलाई प्रहार मात्र गरेका छैनन् आफ्ना सहयोगी पश्चिमा देशहरुलाई पनि यसमा तान्न दवाव सिर्जना गरेका छन्।
बीबीसी हिन्दी सेवाका अनुसार अमेरिकी सुरक्षा सल्लाहकार ज्याक सुलिभानले यस मामिलामा अमेरिका कसैलाई विशेष छुट दिने पक्षमा नरहेको बताएर भारतलाई यसमामिलामा दवाव दिने र प्रकारान्तरले हत्यामा संलग्न व्यक्तिहरुलाई दण्डित गर्न भारत वाध्य हुनुपर्ने संकेत गरेका छन्।
भारतीय जनता पार्टी, यसको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र प्रधानमन्त्री मोदीले पछिल्लो समय लिएको हिन्दू अन्धराष्ट्रवादी विचार र त्यसले बढाएको दक्षिणपन्थी अतिवाद अब पश्चिमी शक्ति राष्ट्रहरुसंग टक्राउने अवस्थामा पुगेको छ। देशभित्र फासिवादी अभ्यास गरेर विरोधीहरु र खासगरि मुश्लीम तथा अल्पसंख्यकहरुमाथि दमन गर्दै आफ्नो शक्ति बढाइरहेको भारतका लागि यो आफैले थापेको पासोेमा परेसरहको घटना बन्न सक्छ।
यस सम्बन्धमा फाइनान्सियल टाइम्सको २० सेप्टेम्बरको सम्पादकीय घतलाग्दो छ। लेखिएको छ, सिख अभियन्ताको निधन सम्बन्धी अनुसन्धानमा विश्वसनीय सहयोग गरेन भने भारतको प्रतिष्ठामा चिन्ताजनक धक्का लाग्नेछ।