Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

एक्काइसौं शताब्दी सुरु हुनुभन्दा अगाडिको दशकमा विश्व राजनीतिमा नयाँ चरण देखा परेको थियो। राजनीतिक क्षेत्रमा स्वच्छन्द पूँजीवादको उन्नति र अवनतिका चक्रहरू, सोभियत संघको पतन र विश्वको आर्थिक, सामरिक र साँस्कृतिक क्षेत्रमा अमेरिकाको एकलौटी वर्चस्व। अक्टोबर क्रान्ति पच्छ्याइरहेको वामपन्थ या साम्यवादी धाराको ओरालो यात्रा र सुधारवादी साम्यवादी र बृहत्तर वामपन्थको उत्थानको संकेत। र, यो संकेतको मुख्य क्षेत्र बनेको थियो ल्याटिन अमेरिका।

झलक सुवेदी झलक सुवेदी
भदौ २८, २०८०
- राजनीति, विमर्शका लागि, विश्व
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सेप्टेम्बर ११ भन्नेबित्तिकै धेरैलाई सन् २००१ मा न्युयोर्कको ट्विन टावर हमलाको सम्झना गराउँछ। पर्ल हार्वरपछि अमेरिकामाथि कुनै शक्तिले गरेको त्यो नै भयानक आक्रमण थियो। आधुनिक राजनीतिक इतिहासमा अझ महत्व राख्ने अर्को घटनाको पनि त्यही मिति थियो जुन दिन अमेरिकी गुप्तचर संस्था सिआइएको प्रत्यक्ष संलग्नता र राष्ट्रपति निक्सन र सुरक्षा सल्लाहकार हेनरी किसिञ्जरको प्रत्यक्ष निर्देशनमा चिलीका निर्वाचित राष्ट्रपति तथा लोकप्रिय नेता सल्भाडोर अलेन्देविरुद्ध सैन्य विप्लव गराइएको थियो। अलेन्देसहित सयौं समाजवादी तथा वामपन्थी नेता र कार्यकर्ता मारिएका थिए। अर्को दुई दशक सैन्य तानाशाह पिनोचेको अधिनायकवादी शासन चलेको थियो।

    संसारभर अमेरिकी स्वार्थविरुद्ध कुनै पनि सरकार र नेतालाई छुट दिइने छैन भन्ने सन्देश पनि त्यसले सम्प्रेषित गरेको थियो। अमेरिकाले जप्ने प्रजातन्त्र र स्वतन्त्रताको नारा ठूला पूँजीपतिहरूको वर्ग रक्षा र आफ्नो आर्थिक रणनीतिक वर्चस्व विस्तारको भित्री आकांक्षाका आवरण मात्र हुन् भन्ने बुझ्न दुनियाँलाई सजिलो बनाइदिएको थियो।

    बिसौं शताब्दीलाई सम्झनुपर्ने अनेक कारणहरू छन्। विज्ञान र प्रविधिको क्षेत्रमा मानव जातिले गरेको अभूतपूर्व प्रगती, स्वास्थ्य उपचार सेवा, शिक्षा, कला र संस्कृतिका क्षेत्रमा भएको तिव्र बिस्तार। हरेक दशकमा तिव्र रुपमा फैलदों विश्वव्यापीकरण, दुइवटा विश्वयुद्धहरू र उपनिवेशवादको पराजय, विभिन्न देशका समाजवादी जनवादी क्रान्ति र प्रतिक्रान्तिहरू तथा लामो समयको शीतयुद्ध। त्यसबेला समग्र विश्व विचारधाराका आधारमा दुई भागमा विभाजित थियो। सोभियत संघको समर्थन प्राप्त वामपन्थी कम्युनिष्ट या राष्ट्रवादी शक्तिहरू एकातिर थिए। उदारवादी विचारको समर्थन गर्ने ठूलो पूँजीपतिवर्ग र सत्तारुढ सैनिक तानाशाहहरू अर्कोतिर। सम्भ्रान्तवर्ग एकातिर, आम मानिसहरू अर्कोतिर।

    बिसौं शताब्दीको मध्यबाट तेस्रो विश्वका उपनिवेशहरू स्वतन्त्र त हुँदै गए तर उपनिवेशको ठाउँ नवउपनिवेशी आर्थिक नीति र त्यसको समर्थनमा टिकेको दलाल सत्ताले लिन थाल्यो। पुराना साम्राज्यवादी देशहरूको व्यापारिक स्वार्थलाई निरन्तरता दिने नव उपनिवेशवादी युग आरम्भ भयो। हालसालै मध्य अफ्रिकी देशहरूमा भएको शृङ्खलाबद्ध सैन्य विप्लव र त्यसमा आएका पश्चिमा प्रतिक्रियाले नवउपनिवेश अझै कति बलशाली छ भन्ने देखाउँछन्।

    एक्काइसौं शताब्दी सुरु हुनुभन्दा अगाडिको दशकमा विश्व राजनीतिमा नयाँ चरण देखा परेको थियो। राजनीतिक क्षेत्रमा स्वच्छन्द पूँजीवादको उन्नति र अवनतिका चक्रहरू, सोभियत संघको पतन र विश्वको आर्थिक, सामरिक र साँस्कृतिक क्षेत्रमा अमेरिकाको एकलौटी वर्चस्व। अक्टोबर क्रान्ति पच्छ्याइरहेको वामपन्थ या साम्यवादी धाराको ओरालो यात्रा र सुधारवादी साम्यवादी र बृहत्तर वामपन्थको उत्थानको संकेत। र, यो संकेतको मुख्य क्षेत्र बनेको थियो ल्याटिन अमेरिका।

    सल्भाडोर अलेन्दे, पाब्लो नेरुदा र ग्वाटोमालाका नेता अरेवालो।

    ल्याटिन अमेरिका र वामपन्थ
    ल्याटिन अमेरिकी धेरैजसो देशहरू लामो समयसम्म स्पेन र केही पोर्चुगलका उपनिवेशहरू थिए। सन् १८२१ मा मेक्सिको स्पेनी उपनिवेशबाट स्वतन्त्र भएको थियो। अनेक उतारचढाव पछि सन् १९१० मा तानाशाही शासनबाट मुक्त भएको मेक्सिकोमा बिस्तारै वामपन्थी राजनीतिक प्रभाव फैलँदै गएको थियो। उक्त क्रान्तिको लक्ष्य रहेका विषयहरू प्रभावकारी प्रजातन्त्र, भूमि सुधार मार्फत किसानहरूलाई जमिनको वितरण, कामदारहरूको पक्षमा श्रम ऐनमा सुधार, आदिवासी अधिकारको रक्षा, विदेशी लगानीको नियन्त्रण जस्ता विषयलाई १९१७ को संविधानमा नै समावेश गरिएको थियो। १९३४ देखि १९४० सम्म राष्ट्रपति रहेका लाजारो कार्डिनास ल्याटिन अमेरिकी वामपन्थका एकजना अग्रदुत जस्ता थिए। मेक्सिकन क्रान्तिका कार्यभार पुरा गर्ने सन्दर्भमा उनको समयमा भूमिसुधार लागु गरियो तथा विदेशी तेल कम्पनीहरूको राष्ट्रियकरण गरियो।

    ल्याटिन अमेरिकामा जम्मा २१ देशहरू छन्। अर्थात संयुक्त राज्य अमेरिकाको दक्षिण सिमापारीका जम्मा २१ देशमध्ये दुइ तिहाई देशमा बामपन्थीहरूले नेतृत्व गरेका सरकार छन्।

    उपनिवेशवादको पतनपछि नै नवस्वाधिन देशहरूले कस्तो अर्थराजनीतिक मार्ग अपनाउने भन्ने विषयमा विश्वव्यापी बहस जारी थियो। कामदार वर्ग, वामपन्थी या प्रगतिशिल शक्तिहरू र कम्युनिष्टहरू एकातिर थिए भने अर्कोतिर नवउपनिवेशवादका पक्षधर ठूला पूँजीपतिहरू र तिनको समर्थक उच्च मध्यमवर्ग। यसप्रकारको विभाजनको सबैभन्दा टड्कारो अभिव्यक्ति ल्याटिन अमेरिकी देशहरूमा भएको थियो। प्रतिरोध र वैचारिक संघर्षको लामो परम्परा रहेको यो महाद्विप क्युवाली क्रान्ति र चे ग्वेभाराका रोमाञ्चकारी अभियानहरूको प्रभावमा पनि थियो। समग्र ल्याटिन अमेरिकी समाजलाई प्रभाव पार्ने नेताहरू मुख्यतः वामपन्थी नै थिए। ल्याटिन अमेरिकी वामपन्थलाई नजिक्याउने काम एडवार्डो ग्यालियानो जस्ता लेखक र पाब्लो नेरुदा, मार्खेज जस्ता चर्चित साहित्यिक व्यक्तित्वहरूले पनि गरेका थिए।

    कोलम्बियामा आफ्ना पाठकहरुमाझ मार्खेज। (सन २००७)

    शीतयुद्धको समयमा अमेरिका सैन्य तानाशाहको बलमा ल्याटिन अमेरिकालाई आफ्नो राजनीतिक आर्थिक र रणनीतिक प्रभाव क्षेत्र बनाउन लागि परेको थियो। ब्राजिल (१९६४ –१९८५), चिली (१९७३ –१९९०), अर्जेन्टिना (१९७६–१९८३), पेरु (१९६७–१९८०), बोलिभिया (१९६४–१९८२), होण्डुरस (१९६२–१९८२) अमेरिकी समर्थनमा त्यस समयमा स्थापित सैन्य तानाशाहीका केही उदाहरणमात्र हुन्। दक्षिणपन्थी सत्ताहरू भएको सन् १९८० को दशकमा ल्याटिन अमेरिकी देशहरू संरचनागत समायोजन कार्यक्रम र बजारमुखी नीतिहरूका कारण असमानता र गरिबीतिर धकेलिएका थिए।

    त्यसको विकल्पमा बिस्तारै वामपन्थीहरू, कम्युनिष्टहरू, समाजवादीहरू समेत आदिवासी जनताका संगठनहरू र मजदुरहरू प्रतिरोधमा उत्रे र तानाशाहीहरू ढल्दै गए। निर्वाचनहरूमा कहिले दक्षिणपन्थी र कहिले वामपन्थीहरू सरकारमा जाने सिलसिला नै आरम्भ भयो।

    सन् १९९८ पछिको दशकमा ल्याटिन अमेरिकाभरी वामपन्थी उभार देखियो। भेनेजुएलामा (१९९८), चिली (२०००), ब्राजिल (२००२), अर्जेन्टिना (२००३), उरुग्वे (२००४), बोलिभिया (२००५), इक्वेडर (२००६), पेरु (२००६), निकारागुवा (२००६) र पाराग्वे (२००८) वामपन्थी सुधारवादी वा समाजवादी क्रान्तिकारीहरू सत्तामा आए। यी वामपन्थी सरकारहरू मजदुर (ट्रेड युनियन) आन्दोलनहरू, सामुदायिक र वर्गीय आन्दोलनहरू, समाजवादी, वामपन्थी, र्‍याडिकल र कम्युनिष्टहरूको समर्थनमा बनेका उदारवादी संवैधानिक संरचनाभित्रै वामपन्थी सुधारका पक्षधर सरकारहरू थिए।

    ल्याटिन अमेरिकी बामपन्थीहरूको एउटा साझा विशेषता के छ भने उनीहरू कम्युनिष्ट, सोसलिष्ट, र्याडिकल र सुुधारवादीका रुपमा विभाजित भएपनि केही साझा मुद्धाहरूमा एकै ठाउँमा आउँछन्।

    यी सबै निर्वाचनमा प्रतिस्पर्धा गरेर दक्षिण तथा मध्य दक्षिणपन्थी प्रतिस्पर्धीहरूलाई परास्त गरेर आएका, आफ्ना नीतिहरूको पक्षमा लोकप्रिय समर्थन प्राप्त गरेका निर्वाचित सरकारहरू थिए। उनीहरूले कतिपय ठाउँमा समाजवादी कार्यक्रमहरू लागु गरे र कतिपय ठाउँमा नवउदारवादी अर्थनीतिमा हस्तक्षेप गरेर सामाजिक न्याय र उत्पादन तथा रोजगारमुखी स्वाधीन अर्थतन्त्र निर्माणमा जोड दिए। सन् १९७३ मा अलेन्देको हत्या गरेर वामपन्थी र समाजवादीहरूलाई नियोजन गर्ने अमेरिकी प्रयास सन् २००० मा पुग्दा पुरै असफल भइसकेको थियो।

    यतिबेला पनि ल्याटिन अमेरिकाका सबै ठूला अर्थतन्त्र भएका देशले वामपन्थी झुकाव लिएका छन्। र सरकारको नेतृत्वमा वामपन्थी नेताहरू निर्वाचित भएका छन्। जसमा म्यानुएल लोपेज (मेक्सीको), लुला डा सिल्भा (ब्राजिल), अल्वेर्टो फर्नान्डेज (अर्जेण्टिना), ग्याव्रियल बोरिक (चिली) र गुस्तावो पेत्रो (कोलम्वीया) मुख्य छन्। यस बाहेक पनि भेनेजुएला, होण्डुरस, निकारागुवा, क्युवा, बोलिभिया, ग्वाटेमाला (निर्वाचित), पनामा, उरुग्वे गरि १४ देशमा वामपन्थी सरकारहरू छन्। ल्याटिन अमेरिकामा जम्मा २१ देशहरू छन्। अर्थात संयुक्त राज्य अमेरिकाको दक्षिण सिमापारीका जम्मा २१ देशमध्ये दुइ तिहाई देशमा वामपन्थीहरूले नेतृत्व गरेका सरकार छन्।

    ल्याटिन अमेरिका।

    क्युवामा १९५९ देखि कम्युनिष्टहरूले सत्ता चलाएका छन् र अमेरिकी प्रतिबन्ध र नाकाबन्दीको सामना गर्दै समाजवादी व्यवस्थाको रक्षा गरिरहेका छन्। यद्यपी नाकाबन्दीका कारण आर्थिक विकास अवरुद्ध छ तर मानवीय विकासका कतिपय पक्षमा क्युबाले संयुक्त राज्य अमेरिकालाई उछिनेको छ।

    ल्याटिन अमेरिकी वामपन्थीहरूको एउटा साझा विशेषता के छ भने उनीहरू कम्युनिष्ट, सोसलिष्ट, र्‍याडिकल र सुधारवादीका रुपमा विभाजित भएपनि केही साझा मुद्धाहरूमा एकै ठाउँमा आउँछन्। अमेरिकी समर्थनमा हुने सैन्य विद्रोहबाट स्थापित हुने अथवा पपुलिष्टका रुपमा निर्वाचन जितेर आउने दक्षिणपन्थीहरूले लागु गर्ने वासिङ्टन सहमति अनुसारका आर्थिक कार्यक्रमका विरुद्ध, नवउपनिवेशवादी नीतिहरूका विरुद्ध, श्रम गरिखाने वर्गका पक्षमा, स्वतन्त्र र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको पक्षमा उभिन्छन्। श्रमजीवि वर्ग र आदिवासीहरू र सिमान्तिकृत जनसमुदायका पक्षमा दृढतापूर्वक उभिन्छन्। भोजन, शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन, भूमिसुधार मार्फत किसानको उत्पादकत्व र आयस्ता बढाउन जनपक्षीय सुधारहरू लागु गर्छन्।

    सल्भाडोर अलेन्दे र उनको राजनीति
    सल्भाडोर अलेन्दे (२६ जुन १९०८–११ सेप्टेम्वर १९७३) सन् १९७० मा भएको निर्वाचनमा वामपन्थीहरूको साझा मोर्चाका तर्फबाट निर्वाचित भएर सोही वर्षको नोभेम्बरमा चिलीको राष्ट्रपति भएका थिए। उनी शिक्षाले मेडिकल डाक्टर थिए र विद्यार्थीकालमा नै मार्क्सवादी प्रभावमा परेर राजनीतिक गतिविधिमा सामेल भएका थिए। त्यहि क्रममा उनी सन् १९३३ मा चिलीको सोसलिष्ट पार्टीको स्थापना गर्न सक्रिय भएका थिए। त्यसपछि चुनावी राजनीतिमा सामेल भएका उनी १९३९ मा उदार वामपन्थी खेमाका राष्ट्रपति पेद्रो अगुइरे सेर्दाको मन्त्रीमण्डलमा स्वास्थ्य मन्त्री बनेका थिए। उनी पहिलो पटक १९४५ मा चिलीको सिनेटमा निर्वाचित भए।

    चिलीमा कम्युनिष्ट पार्टी प्रतिबन्धित थियो। अलेन्दे १९५२ मा पहिलो पटक राष्ट्रपतिको उमेद्वार बने तर प्रतिबन्धित कम्युनिष्ट पार्टीको समर्थन लिएको आरोपमा केही समयका लागि समाजवादी पार्टीबाट निस्कासित समेत भएका थिए। त्यसपछि पनि उनी १९५८, १९६४ को निर्वाचनमा राष्ट्रपतिको उमेद्वार भए र निकटतम प्रतिद्वन्दीका रुपमा पराजित भए। त्यतिबेलासम्म कम्युनिष्ट पार्टी पनि वैध भइसकेको थियो। उनी समाजवादी दलका नेता भएपनि कम्युनिष्टहरूले उनलाई निरन्तर समर्थन दिइरहेका थिए।

    चे ग्वेवारा।

    त्यसबीचमा सन् १९५९ क्युबामा फिडेल क्याष्ट्रो र चे ग्वेवाराहरूको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो। ल्याटिन अमेरिकी समाज वामपन्थी र दक्षिणपन्थी कित्तामा जरैसम्म ध्रुविकृत भएको थियो। क्रान्ति प्रतिक्रान्तिको लहर पनि सँगै चलिरहेको थियो। चिलीयन अर्थतन्त्र अरु ल्याटिन अमेरिकी अर्थतन्त्र जस्तै अमेरिकाको नवउपनिवेशमा बदलिएको थियो। अमेरिका हर हालतमा वामपन्थी उपस्थिति रोक्ने र आफ्नो नवउपनिवेशवादी शासनलाई निरन्तरता दिन, प्राकृतिक स्रोतको दोहन गर्न र कच्चा पदार्थ ल्याएर तयारी माल बेच्ने बजार बनाउन दिलोज्यानले लागेको थियो। चिलीको तामा खानी लगभग अमेरिकीहरूको नियन्त्रणमा थियो। चर्को सामाजिक असमानता र गरिबीबाट छट्पटिएको समाजमा अलेन्देजस्ता वामपन्थीहरू लोकप्रिय बन्दै गएका थिए।

    सन् १९७०मा भएको निर्वाचनमा अलेन्देले समाजवादीहरू, कम्युनिष्ट, क्रान्तिकारीहरू, क्रिश्चियन डेमोक्र्याटका असन्तुष्ट तप्काको समेत सहयोग पाए र ३६ प्रतिशत भन्दा धेरै मत ल्याएर निर्वाचित भए। चिलीयन समाजलाई समाजवादी बाटोबाट परिवर्तन गर्ने र मजदुर किसान र सिमान्तकृत आदिवासीको जीवन बदल्ने उद्देश्यले अलेन्देले अघि सारेको शान्तीपूर्ण रुपमा समाजवादमा जाने राजनीतिक परियोजना उनले सक्रिय राजनीति आरम्भ गरेको ३७ वर्षपछि जनातबाट अनुमोदन भएको थियो।
    सन् १९१० देखि १९४० सम्ममा मेक्सिकोमा भएको वामपन्थी सुधार र क्युबाको क्रान्तिपछि ल्याटिन अमेरिकामा वामपन्थी या समाजवादी कार्यक्रम लागु गर्ने पहिलो नेता अलेन्दे नै थिए। अलेन्देले समाजवादको चिलीयन बाटो भन्दै आफ्नो कार्यक्रम अगाडि सारेका थिए। उनको नारा नै गजब थियो: रेड वाइन एण्ड इम्पेनाडास, अर्थात चिलीयनहरू पूर्ण पोषणयुक्त खानासँग रेडवाइन खान सक्ने होउन् भन्ने उनको आसय थियो। अर्थात यो एकप्रकारको भोक विरुद्धको क्रान्तिको योजना थियो। उनले सबै केटाकेटीहरूले दूध खान पाउन भनेर बजेट नै छुट्याएका थिए।

    चिली सम्भावनाले भरिएको धनी देश हो तर हामी गरिबीमा बाँचिरहेका छौं। हामी ऋण पाउनका लागि हात पसारेर ढोका चाहर्दै हिँडिरहेका छौं –यद्यपी हामी पूँजीका ठूला निर्यातक हौं–यो नै पुँजीवादी आर्थिक प्रणालीको भयानक विरोधाभाष हो।

    विद्यालय र उच्च शिक्षामा सबै र खासगरि गरिब परिवारका सदस्यहरूको पहुँच होस् भनेर सुनिश्चित गरेका थिए। अर्थतन्त्रमा अमेरिकीहरूको अत्यधिक हस्तक्षेप रोक्न तामा खानीहरूको राष्ट्रियकरण गरेका थिए। ६० प्रतिशतसम्म ज्याला वृद्धिको घोषणा गरिएको थियो। परिणामतः श्रमजीवी वर्ग र सिमान्तकृत समूह उनको समर्थनमा आयो। तर, जब अमेरिका र युरोपले ऋण दिन रोके, स्थानीय ठूला व्यापारीहरूले या त सामान आयात निर्यात गरेनन् या त कालोबजारी गरे, बजारमा अत्यधिक मुद्रास्फिती भयो। हड्ताल र प्रदर्शनहरू भइरहे। खासगरि बुर्जुवा वर्ग अलेन्देलाई जसरी पनि सत्ताबाट हटाउने अभियानमा लाग्यो।

    संसोधनवाद विरोधी अनलाईन इन्साइक्लेपिडिया (Encyclopedia of Anti-Revisionism On-Line) का अनुसार अलेन्देको सरकारको समयमा छिटो छिटो परिवर्तनहरू गरिएका थिए। त्यस अघि चिलीको झण्डै ६० प्रतिशत अर्थतन्त्र अमेरिकीहरूको नियन्त्रणमा थियो र बाँकी हिस्सा पनि अमेरिकीहरूप्रति निर्भर अवस्थामा थियो। अलेन्दे शासनको प्रारम्भबाटै अमेरिकी कम्पनीको नियन्त्रणमा रहेका तामा खानीहरू, विदेशी कम्पनीहरू र बैंकहरूलाई राष्ट्रियकरण गरिए। ठूला जमिन्दारको जमिन खोसेर किसानहरूलाई वितरण गरिएको थियो। राजबन्दीहरू रिहा गरिए। उत्पादन बढ्दै गयो र ज्यालादरमा ६० प्रतिशतसम्म वृद्धि भयो। चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेर विश्व मामिलामा अमेरिकी धुरीमा रहन अस्वीकार गरियो।

    उनको सरकारले केही समाजवादी कार्यक्रम लागु गर्नासाथ चिलीयन पूँजीपति वर्ग र त्यसको बाह्य साझेदारलाई झस्काइदियो। उनीहरू अलेन्देका विपक्षमा एकजुट भए। अमेरिकीहरू आफ्नो नाकैमुनी भएका यी परिवर्तनबाट खुशी थिएनन्। छिटोछिटो अलेन्देका विरुद्ध कदमहरू चालिए। अमेरिकी विदेश मन्त्री हेनरी किसिञ्जरको नेतृत्वमा रहेको ४० कमिटि सक्रिय भयो। चिलीका ठूला व्यापारी र पूँजीपतिहरूलाई उक्साएर आयात निर्यात व्यापार ठप्प पारियो। पूँजीपतिहरूले नै उत्पादन बन्द गराएर हड्ताल गर्नथाले। ऋण र प्राविधिक सहयोग दिन रोक लगाइयो। पारामिलिटरी गुण्डा समूहहरू बनाइए र विस्तारै सैन्य विद्रोहका लागि जर्नेलहरूलाई उक्साउन थालियो।

    निक्सन–किसिञ्जर नेतृत्वको अमेरिकी सरकारले उनलाई आँखाकै कसिङ्गर झैं देख्नुमा अरु कारणहरू पनि थिए। अलेन्देले सन् १९७२ को राष्ट्रसंघीय साधारण सभामा दिएको वक्तव्यको यो हिस्सा हेरौं: म एउटा सानो देश चिलीबाट आएको हुँ, जहाँ आज हरेक नागरिकले आफूलाई स्वतन्त्र रुपमा व्यक्त गर्न पाउँछ, जहाँ जातिय विभेदलाई कुनै स्थान छैन, सांस्कृतिक धार्मिक र विचारधारात्मक भिन्नतालाई सहज रुपमा स्वीकार गरिन्छ। चिली सम्भावनाले भरिएको धनी देश हो तर हामी गरिबीमा बाँचिरहेका छौं। हामी ऋण पाउनका लागि हात पसारेर ढोका चाहर्दै हिँडिरहेका छौं –यद्यपी हामी पूँजीका ठूला निर्यातक हौं–यो नै पूँजीवादी आर्थिक प्रणालीको भयानक विरोधाभाष हो।

    अलेन्देले उपनिवेशवादका विरुद्ध आक्रामक रुख अपनाइरहे। कम्युनिष्ट क्युवासँग सम्बन्ध मात्र बढाएनन्, बरु फिडेल क्याष्ट्रोको २३ दिने चिली भ्रमणको चाँजोपाँजो मिलाए। सोभियत संघसँग विशेष सम्बन्ध स्थापित गर्ने प्रयास गरे। त्यही बेला उनले आफ्नो देशमा रहेका अमेरिकी कम्पनीहरूकोको सम्पत्ति अत्यन्त न्युन क्षतिपूर्ति दिएर या नदिएरै राष्ट्रियकरण गरिदिएका थिए। यसले उनको सिधा टक्कर अमेरिकासँग पर्न गएको थियो।

    फिडेल क्याष्ट्रो र अलेन्दे ।

    अमेरिका र युरोपले चिलीलाई दिँदै आएको ऋण रोके र अरु संस्थाहरूलाई पनि ऋण प्रवाह गर्न बन्देज लगाए। यता गठबन्धका र्‍याडिकल सहयोगीहरू भने उनलाई थप क्रान्तिकारी हस्तक्षेप नगरेको भन्दै विरोध गर्न थालेका थिए। अलेन्दे चेपुवामा पर्दै गए। यस्तै समयमा १९७३ को संसदीय निर्वाचनमा उनको गठबन्धनले ४४ प्रतिशत लोकप्रिय मत हासिल गर्‍यो। यस्तो लोकप्रिय भएकै कारण राजनीतिक प्रक्रियाबाट उनलाई हटाउन नसक्ने देखेर चिलीको प्रतिक्रियावादी वर्गसँग मिलेर सिआइएले षडयन्त्र रच्यो र सिनेटको निर्वाचन भएको ६ महिना पनि नबित्दै सैन्य विद्रोह गराइयो।

    यस अघि जुन १९७३ मा नै एउटा असफल सैन्य विप्लव भएको थियो। राष्ट्रपति भवनमा रहेका अलेन्देले सिमिति सहयोगीहरूका साथ आफूलाई अपदस्थ गरेर गिरफ्तार गर्न आउने सेनाको टुकडीका विरुद्ध आफै हतियार लिएर लडे। राष्ट्रपति भवनमा हवाई सेनाले वमवर्षा गरायो।

    ३० हजारलाई यातना दिइयो, तानाशाहीको विरोध गरेको आरोपमा २२ सयलाई मृत्युदण्डको सजायँ दिइयो। २० हजार बालबालिकालाई अवैध रुपमा युरोप र अमेरिका तिर धर्मपुत्र/पुत्रि बनाएर पठाइयो। मारिएका, बेपत्ता पारिएका, कैद गरिएका र यातना दिइएका नागरिकको संख्या मात्र ४० हजार १७९ पुगेको थियो।

    उनले लड्दै गर्दा र मर्नुभन्दा अगाडि रेडियोबाट चिलीयन जनतालाई सन्देश पनि दिइरहे, ‘जनता जिन्दावाद। कामदारहरू जिन्दावाद। यी नै मेरा अन्तिम शब्दहरू हुनेछन्। र म विश्वस्त छु कि मेरो बलिदान खेर जाने छैन। म निश्चित छु कि अन्ततः यो एउटा नैतिक पाठ हुनेछ जसले हत्याराहरू, कायरहरू र गद्धारहरूलाई सजाय दिनेछ।’ उनले विरतापूर्वक कू को सामना गरे र शान्तीपूर्ण बाटोबाट समाजवादमा जान सम्भव छ भन्ने आफ्नो मतको परिक्षण गर्ने जिम्मेवारी अरुलाई सुम्पेर मृत्युवरण गरे। यसरी तीनवर्ष पुग्दानपुग्दै चिलीको समाजवादी सरकार र चिलीयन प्रजातन्त्र दुवैको एकैपटक हत्या भयो।

    कू पछि पिनोचेको सैन्य तानाशाहीले वामपन्थी राजनीतिक कार्यकर्ता, लेखक, कलाकार, शिक्षक सबैमाथी आततायी दमन गर्न थाल्यो। सत्य निरुपण आयोगका अनुसार ११ सय ६२ जनालाई जबर्जस्ती वेपत्ता पारियो (यस सम्बन्धमा चिलीयन लेखक इजावेला अलेन्देको उपन्यास दि हाउस अफ स्पिरिटमा बिस्तारमा चर्चा गरिएको छ)। ३० हजारलाई यातना दिइयो, तानाशाहीको विरोध गरेको आरोपमा २२ सयलाई मृत्युदण्डको सजाय दिइयो। २० हजार बालबालिकालाई अवैध रुपमा युरोप र अमेरिकातिर धर्मपुत्र/पुत्रि बनाएर पठाइयो। मारिएका, बेपत्ता पारिएका, कैद गरिएका र यातना दिइएका नागरिकको संख्या मात्र ४० हजार १७९ पुगेको थियो।

    प्रोजेक्ट सिण्डिकेटको ८ सेप्टेम्वर २०२३ को अंकमा जर्ज जि क्याष्टानेडा र कार्लोस ओमिनामी ‘आजको चिलीमा अलेन्देको छायाँ’ शिर्षकमा लेख्छन् “अलेन्दे कम्युनिष्ट थिएनन्। प्रजातान्त्रिक समाजवादी थिए। उनी एउटा शान्तिपूर्ण क्रान्तितर्फ अग्रसर थिए। उनी समाजमा जबर्जस्ती लादिने समाजवादमा हैन स्वतन्त्र निर्वाचनबाटै प्रतिस्पर्धा गरेर जनताको मत जितेर लागु गरिने कार्यक्रमका माध्यमबाट समाजवाद हासिल गर्ने कुरामा विश्वास गर्थे। ……यसअघि कहिल्यै पनि कुनै राष्ट्रपति भवनमा वम वर्षाइएको थिएन। न त कुनै राष्ट्रपतिको शव भग्नावशेषबाट निकालिएको थियो। यसमाथि उक्त सैन्य विप्लव संस्थागत थियो। समग्र सैन्य शक्ति र प्रहरी कू बाट स्थापित पिनोचे सत्ताको पक्षमा देखिएको थियो। तर, पिनोचे या चिलीयन प्रतिक्रियावादीहरूले भन्दा बढी यो कू को तयारी र योजना अमेरिकी राष्ट्रपति निक्सन र उनका सुरक्षा मामिला सल्लाहकार हेनरी किसञ्जरले गरेका थिए। चर्च कमिटि रिपोर्ट र अमेरिकी सिनेटको छनौट कमिटिले १९७५/०७६ मा गरेको अध्ययनले यसलाई अभिलिखित गरेको थियो।” (चिलीमा सैन्य विप्लव भएको १०औं दिनमा किसिञ्जर राष्ट्रपति निक्सनका विदेशमन्त्री नियुक्त भएका थिए।)

    तानाशाह पिनोचेसँग हेनरी किसिञ्जर।

    अलेन्देको सुधार कार्यक्रमले आत्तिएको बुर्जुवावर्गको यो षडयन्त्रपछि चिलीमा १७ वर्षसम्म पिनोचेको सैन्य तानाशाही चल्यो। अमेरिकी उक्साहटमा नवउदारवादी कार्यक्रमहरू लागु गरिए। चिलीलाई एकप्रकारको प्रयोग थलो नै बनाइयो। सन् १९९० को क्रान्तिपछि फेरि उदारवादी व्यवस्था भित्रै वामपन्थीहरू र उदारवादी या दक्षिणपन्थी अनुदारवादीहरूकाबीच प्रतिस्पर्धाको राजनीति जारी छ। मिशेल बाचेल र अहिले ग्याव्रियल बोरिकले समाजवादी नेता सल्भाडोर अलेन्देका कतिपय अधुरा योजना लागु गर्ने प्रयास गरिरहेका छन्।

    अलेन्दे र नेपाली वामपन्थ
    बोलिभियामा चे ग्वेभाराको हत्या, क्युवामाथि नाकाबन्दी, चिलीमा अलेन्देको हत्या र सन्दानिष्टा विरुद्धको षडयन्त्रका माध्यमबाट ल्याटिन अमेरिकामा समाजवादी र वामपन्थीलाई तह लगाउने प्रयास अमेरिकाले गरेको भएपनि पचास वर्ष पछि फर्केर हेर्दा उसको योजना असफल भएको प्रमाणित भएको छ। चिलीमा मात्र हैन, अर्जेन्टिना, बोलिभिया, मेक्सिको, ब्राजिल, भेनेजुएला, निकारागुवा लगायतका देशमा वामपन्थी सरकारहरू निर्वाचित भइरहेका छन्। ल्याटिन अमेरिकामा निर्णायक जनमत वामपन्थी झुकावमा सर्दै गएको देखिन्छ। क्युबा बाहेकका सबै देशका वामपन्थी सरकारहरू निर्वाचनकै माध्यमबाट सत्तामा आउने जाने गरिरहेका छन्। भेनेजुएलामा सन् १९९८ मा निर्वाचन जितेर आएका वामपन्थी नेता ह्युगो चाभेजले त हरेक महत्वपूर्ण निर्णयहरू पनि जनमत संग्रहका माध्यमबाट गर्ने जनवादी अभ्यासको बाटो समातेका थिए।

    नेपालको कम्युनिष्ट आन्दोलनले लिएको बाटो र अहिले भइरहेका बहसहरूलाई पनि ल्याटिन अमेरिकाका यी घटनाहरूले कहिँ न कहिँ छुन्छन्। सन् १९८९ बाट तत्कालिन नेकपा माले र पछि एमालेमा आरम्भ भएको बहस र स्वीकार गरिएको बहुदलीय जनवादको कार्यक्रम सारतः सल्भाडोर अलेन्देको भन्दा भिन्न देखिन्न। कार्यान्वयनको तहमा भने एमाले नेतृत्वको सरकार भन्दा अलेन्देको समाजवादी सरकार धेरै क्रान्तिकारी रहेको भन्न सकिन्छ। राजनीतिक कार्यदिशाका रुपमा उदारवादी प्रणालीभित्रै अन्य प्रतिस्पर्धी वर्गहरूसंग शान्तीपूर्ण र कानूनी प्रतिस्पर्धा गरेर सरकार बनाउन र समाजवादी कार्यक्रम लागु गर्न सकिन्छ भन्ने अलेन्देको कार्यक्रमसँग सैद्धान्तीक रुपमा जनताको बहुदलीय जनवादको समानता देखिन्छ।

    नेपालका कम्युनिष्ट पार्टीहरू अहिले लिवरल फ्रेमभित्रैबाट प्रतिस्पर्धाको बाटोमा हिँडिरहेका छन्। तर, वामपन्थको आधारभूत चरित्र गुमाउँदै गएका र कार्यक्रमिक झण्डाबिना भौंतारिरहेका जस्ता देखिन्छन्। ल्याटिन अमेरिकी वामपन्थीहरूबाट यीनले सिक्न सके स्वयं कम्युनिष्टहरू र नेपाली जनताको पनि भलो हुने थियो।

    यसको अर्थ जबज आफैमा नयाँ र नौलो प्याटेण्ट राइट पाउने कुनै सिर्जना थिएन। राजनीतिक प्रणालीका हकमा ल्याटिन अमेरिकी वामपन्थी र कम्युनिष्टहरूले प्रतिस्पर्धाको जुन बाटो रोजेका छन्, त्यो एमालेले जबज सुरु गर्नुभन्दा निकै अघिको कुरा थियो। ल्याटिन अमेरिकीहरू र भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) र भाकपा तथा युरोपेली कम्युनिष्टहरूले लिएको बाटो यहाँ लागु गर्दा जबजको खोल हालिएको थियो भन्ने तर्क इतिहासका तथ्यहरूसँग बढी मेल खान्छन्।

    नेकपा (माओवादी केन्द्र) पनि सशस्त्र बिद्रोहको बाटो बिसाएपछि शान्तिपूर्ण प्रतिस्पर्धाकै बाटोमा हिडिरहेको छ तर यसले आफ्नो आगामी यात्राको कुनै पनि सैद्धान्तिक प्रस्ताव अगाडि सारेको देखिदैन्।

    नेपालका कम्युनिष्ट पार्टीहरू (एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत) अहिले लिवरल फ्रेमभित्रैबाट प्रतिस्पर्धाको बाटोमा हिँडिरहेका छन्। तर, वामपन्थको आधारभूत चरित्र गुमाउँदै गएका र कार्यक्रमिक झण्डाबिना भौंतारिरहेका जस्ता देखिन्छन्। ल्याटिन अमेरिकी वामपन्थीहरूबाट यीनले सिक्न सके स्वयं कम्युनिष्टहरू र नेपाली जनताको पनि भलो हुने थियो।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.