कवि ओमप्रकाश वाल्मीकि (३० जुन १९५०–१७ नोवेम्बर २०१३) भारतीय दलित साहित्यका प्रतिनिधि रचनाकार हुन्। हिन्दी साहित्यमा उनको लेखन हस्तक्षेपकारी मानिन्छ। सन् ८० को दशकबाट लेखन आरम्भ गरेका वाल्मीकिको ‘जूठन’ आत्मकथा उत्कृष्ठ कृतिमध्येको एक हो। उनको कथा, कविता र नाटकमा दलित चेतना तथा अस्मिताको गहिरो बोध पाइन्छ। ‘सदियों का संताप’, ‘बस बहुत हो चुका’, ‘अब और नहीं’, ‘शब्द झूठ नहीं बोलते’ कविता संग्रह हुन् भने ‘सलाम’, ‘घुसपैठिए’, ‘छतरी’ कथा संग्रह हुन्। त्यसैगरी ‘दो चेहरे’, ‘उसे वीर चक्र मिला था’ उनका नाटक हुन्। ‘ठाकुर का कुआँ’ वाल्मीकिको उत्कृष्ठ कविताहरुमध्ये एक हो। यो कवितालाई नरेश ज्ञवालीले अनुवाद गरेका हुन् ।
मालिकको इनार
चुलो माटोको
माटो पोखरीको
पोखरी मालिकको ।
भोक रोटीको
रोटी कोदोको
कोदो खेतको
खेत मालिकको ।
गोरु मालिकको
हलो मालिकको
अनौ समाउने हात आफ्नै
तर, अन्न मालिकको ।
इनार मालिकको
पानी मालिकको
खेत-बारी मालिकको
गल्ली र टोल मालिकको
त्यसो भए आफ्नो के त ?
गाउँ ?
शहर ?
देश ?