खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
जस्तो कि
धेरै वर्ष लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कँदा
बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरु–
“साला पहाडमें क्या है”
हो, केही छैन ‘साला’ पहाडमा केही छैन,
तर जरुर केही छ पहाडमा जस्तो कि–
नवजात शिशु मरेका आमाहरु झैं
असासध्यै पीडामा आँसु बगाइरहेका
नदीका केही मुहान छन्
चटक्क माया मारेर हिँडे पनि नदीले
अलिकति फोहोर पानी र केही भ्यागुताहरुको पसल थापेर
कत्ति पनि हलचल नगरी चट्टान झैं जमेका केही पोखरी छन्
एकैसात घर रुङ्दै र काल कुर्दै गरेका
केही बूढाबूढी छन्
अनुहार सकिएका केही पर्वत
र यौवनमै ठहरै परेका केही वटवृक्ष छन्
…..
साला पहाडमें क्या है,
‘साला पहाडमें क्या है’ शिर्षकको कविता कृति नेपाली कविताको बजारमा पछिल्लोपटक आफ्नो स्थान बनाउँदै आएको र कवि मीनबहादुर विष्टका कालजयी कविताहरुको संगालो हो। तीसको दशकदेखि कविता कर्म गरिरहेका विष्टको यो पहिलो पुस्तकाकार कृति हो कविताको। मध्यपश्चिम पहाडको प्युठानमा जन्मे-हुर्केका विष्टका कवितामा नेपाली पहाडका गाउँघर, त्यहाँका मानिसहरुका आजिविका र संघर्षहरु, बुढी आमा र पुराना घर आँगनका दुःखका वास्नाहरु उनिएका हुन्छन्। त्यसो त उनी सानासाना बिम्ब र पात्रहरु मार्फत समग्र देशको कथा भनिरहेका हुन्छन्। संग्रहको शिर्ष कविता ‘साला पहाडमें क्या है’ वि.सं. २०४० अर्थात ठ्याक्कै ४० वर्ष अघि लेखिएको कविता पढ्न बस्दा लाग्छ – आजका प्रत्येक नेपाली परिवारको कथा भनिरहेछन् कवि, कतै कुनै गाउँबाट फर्कदा गाउँ पस्ने र निस्कने दुइतर्फी ग्रिन लाइट बालेर बसेको भञ्ज्याङको चौतारीमा सुस्केरा हालेर।
असमयमा गुमेकी छोरीलाई सम्झेर कविले गाएको बिरह गीतसहित ६४ वटा कविता संग्रहित पुस्तकमा समेटिएका सबै कविता कविका आत्मा चिमोटिएर निस्केका सुस्केरा जस्ता छन्। जहाँ देशको या माटोको माया छ। राजनीतिक नेतृत्वका अनुत्तरदायी मनमौजी शासनका कारण दुःख पाइरहेका आम मासिका कथा कहानी छन्। आक्रोश छ, विद्रोह छ र केही मुठ्ठी कोर्राहरु छन् सत्ताधारीहरुमाथि वर्षाउन कविले मुठ्याएर बसेका।
धर्म, संस्कृति, इतिहास, मन्दिर मस्जिद र गिर्जाघर, गीता बाइबल र कुरान कसैले पनि बचाउन नसकेकी अर्थात धर्म, संस्कृति र इतिहासबाट बलात्कृत देशको चित्र यसरी उतारेका छन् उनले कवितामा
एउटा राष्ट्र थियो, ग्लोबमा
मानचित्रमा एउटा सहर पनि थियो
एउटा देवल थियो, चोकमा
एउटा गिर्जाघर पनि थियो
एउटा मस्जिद थियो
गीता थियो, बाइबल थियो, कुरान पनि थियो।
विज्ञान थियो, संस्कृति थियो
त्यसमाथि एउटा लास थियो
लास, एउटी मृत आमाको थियो
त्यसमाथि चढेर एउटा जीवित दुधे बालक
मृत आमाका दुधका लाम्टाहरु चुसिरहेको थियो।
(–मौन, मात्र मौन, बिलकुल मौन)
कवि विष्ट गोपाल प्रसाद रिमाल र भूपी शेरचनकै निरन्तरता जस्ता लाग्छन्। आफ्ना छिमलका अरु कतिपय कविजस्तै अव्बल उनका कविता हामीले बिताएको समयका साक्षी हुन्। उनका कवितामा समयप्रतिको तिव्र असन्तुष्टि पाइन्छ र विद्रोहका स्वरलाई आवाज दिन खोजेको शक्तिशाली आह्वान मिसिएको हुन्छ।
र उनका कविता पढ्दा किन कहिल्यै सन्तुष्टिको आवाज सुनिन्न ? उनले देखेको गाउँको विद्यालय उस्तै छ कि बदलियो धेरै हदसम्म? नयाँ युगमा प्रवेश गरेको देश उनको काव्य यात्राको झण्डै चार दशकपछि लेखिएको भएपनि उस्तै असन्तोष किन छ उनको कवितामा? नेपाल पटक्कै नबदलिएको हो? आम रुपमा यस्तै सुनिन्छ निराशाको उच्छवास मानिसहरुमा। लाहुर जानेहरु उस्तै छन्। एकैसाथ घर रुङ्दै र काल कुर्दै गरेका केही बूढाबूढी अहिले झन थपिएका छन्।
शब्दहरुको गोलाबारी बर्साए जस्तो गरी
घरीघरी भनिएको छ
यो देश नयाँ युगमा प्रवेश गरेको छ
र म खोजीरहेछु नयाँ युगमा प्रवेश गरेको देश
बढी नै निराशावादी जस्ता लागे पनि समग्रमा समयवोध र इतिहासवोधका कविता हुन विष्टको संग्रहमा संग्रहित। उनको विश्वविद्यालय सम्बन्धी कवितामा कलापक्ष कमजोर र राजनीतिक अभिव्यक्ति बढी देखिएको छ। बाँकी कविता कला चेत र समय चेतले समृद्ध छन्। पठनीय र संग्रहणीय छन्। कविताका भाव कविले बुझेजस्तै पाठकले बुझ्न आवश्यक पर्छ भन्ने कुनै वाध्यता हुँदैन। त्यस्तै कविता हरेक पाठकले आफ्नो चेतना र बुझाइ अनुरुप वाचन गर्ने/पढ्ने र अर्थ्याउने विषय हो। कविलाई आफ्नो कृतिका लागि बधाई। कविता संग्रह प्रकाशन गरेर हाम्रो हातसम्म लाने किताब प्रकाशनलाई धन्यवाद।
तस्बिर साभार: कान्तिपुर।