मेरो जन्म काठमाडौं जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने मूलपानीमा वि. सं २०१०, जेठ २४ गते शनिबार भएको हो । मेरो प्रारम्भिक शिक्षा घरमा भयो । मेरो बाजे राधाकृष्ण ढकाल ज्योतिषी हुनुहुन्थ्यो। हाम्रो क्षेत्रमा उहाँ प्रख्यात हुनुहुन्थ्यो। संस्कृत अध्ययन एकदमै राम्रो भएका मेरा बाजे विद्धान हुनुहुन्थ्यो। उहाँले मलाई नेपाली अक्षर र अंकगणित घरमै सिकाउनुभयो। म हजुरबुवासँग १० दिन पढे। त्यसपछि विद्यालय खुल्यो र ६ वर्षको उमेरमा मेरो औपचारिक शिक्षा सुरु भयो।
पढाईमा उतारचढाव
विद्यालय भर्ना हुने बेलामा समान्य मौखिक जाँच भएको थियो। हेमराज पौडेल भन्ने एकमात्र शिक्षक हुनुहुन्थ्यो। उहाँले मलाई कक्षा दुईमा पढ्न सक्ने ठानेर एकैचोटी दुईमा राखिदिनुभयो। म भर्ना भएको नेपाल राष्ट्र निर्माण प्राथमिक विद्यालय औपचारिक स्थापना भने वि.सं. २०१८ सालमा भएको हो। तर त्यसमा वि. सं.२०१७ देखि नै कक्षा सञ्चालन भएको थियो।
विद्यालय दर्ता नगरीकनै सामाजिक सेवाको उद्देश्यले लोकनाथ ढकाल लगायतले सञ्चालन गरीरहनुभएको थियो। म दुई कक्षा र ४ कक्षामा त्यहाँ पढे। दुई कक्षामा म प्रथम भएँ, त्यसपछि शिक्षकहरूले चार कक्षामा राखिदिनुभयो, चारमा पनि प्रथम भएँ। तर कक्षा पाँच त्यहाँ थिएन। अंग्रेजी पढाउन जान्ने शिक्षकहरू नभएकोले पाँच कक्षा पढ्न पशुपति मित्र माध्यमिक विद्यालय धाएँ। पशुपति हाईस्कुल र मित्र शिक्षालय गाभेर पशुपति मित्र माध्यमिक विद्यालय बनाइएको थियो। जुन अहिले पनि छ।
आठ कक्षासम्म त्यहीँ पढेँ। त्यसपछि मेरा केही छिमेकी दाईहरूको सिफारिसमा पुतलीसडकमा रहेको पद्मोदय हाईस्कुलमा गएँ। कक्षा ८ सम्म पढ्दा म राम्रै पोजिसनमा आउँथे । तर पद्मोदय पढ्न थालेपछि मेरो पढाई बिग्रियो। किनभने मुलपानीबाट दुईघन्टा हिँडेर आउनुपर्ने। त्यसकारणले गर्दा कक्षा नौँ मा म त्यसअघिकै जस्तो पोजिसनमा आउन सकिन। अनि १० कक्षामा पढ्दा डेरा गरेर बसेपछि मैले पढाईलाई बल्लतल्ल पुनर्संगठित गर्न सकेँ। जसले गर्दा एसएलसीमा दोस्रो श्रेणीमा आउन सफल भएँ र त्यसबेला मेरो गाउँसहित त्यतातिरका ८ वटा गाउँमा कोही दोस्रो श्रेणीमा आउन सकेनन्। मैले २०२५ सालमा पद्मोदयबाट एसएलसी गरे।
धेरैजसो साथीहरू ऐच्छिक विषय ‘ऐनश्रेस्ता’ लिएर पास हुन्थे। ज्योमेट्री, अल्जेब्रा, अंकगणीत लगायतका विषय गाह्रो हुन्छ भनेर अन्य विद्यार्थीहरू ऐनश्रेस्ता विषय लिन्थे। दोस्रो श्रेणीमा पास गर्नेहरूले सिधै आइएससी पढ्न पाउँथे। आईएससीमा समेत दोस्रो श्रेणीमा पास गर्न सक्ने या त इन्जिनियर हुन्छ या कोलम्बो प्लानमा डाक्टर हुन पाउँछ। एलएलसी पास गरेपछि मेरो बाले मलाई आईएससी पढाउने हुनुभयो। आईएससी पढ्ने क्रममा पनि मेरो पढाई बिग्रियो। आनन्दकुटी साइन्स कलेज, स्वयम्भुमा मैले आईएससी पढेको हुँ।
म धेरै घोक्थें। त्यसअघिका मेरा सबै पोजिसनहरू घोकेरै ल्याएको थिएँ। म पूरै किताब घोक्न सक्थें। कक्षा ९ मा पढ्दा विज्ञान पढाउने शिक्षकले के भन्नुभएको थियो भने ‘तेरो पढाई ठिक भएन बाबु, अब बुझेर पढ्ने गर, घोक्न छाड्।’ त्यसपछि मैले घोक्न छोडेँ।
आईएससी पढाई बिग्रनुका विभिन्न कारण थिए। पहिलो त सबै विषय अंग्रेजी माध्यमबाट हुन्थ्यो। म साधारण स्कुलबाट गएको विद्यार्थी। शिक्षकहरू बेलायतका थिए। त्यसैले आईएससीमा फिजिक्समा शुन्य, केमेस्ट्रीमा ३ र बायोलोजीमा सात अंक प्राप्त भएको थियो। तर म अंग्रेजी र नेपाली विषयमा पास भएको थिएँ।
अनिवार्य अंग्रेजी विषय सबै संकायका विद्यार्थीका लागि एउटै कोर्ष थिय । तर डाक्टर हुने उद्देश्यले पढेपनि बायोलोजीमा राम्रो नभएपछि मलाई मेरो इज्जत गएको अनुभव भयो। क्याम्पसले मलाई ट्रान्सफर लिएर जाने वा सुरु देखि पढ्ने विकल्पहरू दियो। सुरु देखि पढ्दा इज्जत जाने डर ! त्यसैले ट्रान्सफर लिएर पढ्दै पढिन। ट्रान्सफर लिएर आएर त्रिचन्द्रमा भर्ना हुने कोशिस पनि गरेँ। तर लिएन। त्यसपछि म बिग्रिए।
साहित्यिक यात्रा
क्याम्पस छोडेपछि दुई वर्षसम्म म त्यत्तिकै अलमललिए, आवारा नै भएँ भन्दा पनि हुन्छ। घरबाट भाग्ने र ढाट्ने गर्न थालियो। त्यसबेला म काठमाडौँमा डेरा गरेर बस्थे। केही होटलहरूमा काम पनि गरेँ। होटल ब्लु स्टार र सोल्टी होटलमा काम गरेँ। ‘हंग्री जेनेरेशन’ भन्ने साहित्य तिर त्यसै बेला लागेको हुँ।
एक वर्षजति आईएससी पढेँपछि २०२७ सालतिर आफ्नो शक्ति कहाँ हुन्छ होला भन्ने ध्याउन्नमा लागेँ। विद्यालय तहमा पढाई राम्रो थियो। गाउँघरकाले राम्रै पढेको भन्थे। मेरो क्षेत्रभरि एसएलसीमा दोस्रो श्रेणीमा आउने विद्यार्थी नै थिएनन्। त्यसकारण पढाईका कारण मेरो धेरै ठूलो शक्ति थियो। पढाई बिगारेपछि शक्ति कसरी प्राप्त हुन्छ?
त्यसअघि साहित्यप्रति मेरो केही रुची थिए । गोरखापत्रका शब्दहरू पनि म बुझ्दिन थिएँ। गोरखापत्रका शब्दहरू संस्कृत शब्दजस्तो लाग्थ्यो। शब्दसम्बन्धी मेरो धेरै तल्लो स्तरको ज्ञान थियो। त्यो अवस्थामा मैले पत्रपत्रिकाहरू पढ्न थालेँ। नबुझिए पनि पढ्न थालेँ। गोरखापत्र पढ्न थालेँ, कविताहरू लेख्न थालेँ र केही कविताहरू छाप्नका पत्रिकामा पठाउँथे। तर कुनै छापिदैनथ्यो।
पत्रिकाका लागि पठाएका हजारौं कविताहरू खेर गए। त्यसबेला गोरखापत्रको सम्पादक भैरव अर्याल हुनुहुन्थ्यो। उहाँ हाम्रै गाउँतिरको भएकाले एकदिन उहाँसँग मैले सहयोग मागेँ। उहाँसँग मैले भने ‘आफ्नै गाउँको भाई अगाडि बढाइदिनु पर्यो यत्रो कविताहरू लेखेर दिइसकेँ एउटै छापिदैँन।’ उहाँले भन्नुभयो ‘राम्रो लेख्या छैनस्, कसरी छापिदिनू ? राम्रो लेखेर ल्याऊ।’
त्यसपछि मलाई रिस उठ्यो। भैरव अर्याल मेरा शत्रु रहेछन् भन्ठाने। त्यति भएर पनि छोडिनँ पछि गएर थाह भयो, भैरव अर्याल मेरा शत्रु होइन रहेछन्, उनी त मेरा असाध्य ठूलो गुरु रहेछन्। त्यसपछि कविता लेख्न छोडेर म गद्य लेख्न थालेँ। मेरो पहिलो गद्य मधुपर्कमा २०३० सालमा छापियो। त्यो नाटक थियो। त्यो लेख अमूर्त थियो। त्यसपछि मैले अमूर्त कलाबारे लेख लेखेँ। त्यो गोरखापत्रमा छापियो। म अरु किताबहरूबाट विचार लिएर लेख्ने गर्थेँ।
चोरेर लेख्थें म
एक पटक गोरखापत्रका सम्पादकसमेत रहेका मधुपर्कका प्रधानसम्पादक एंव कला समिक्षक नारायण बहादुर सिंहले ‘पैसा लिन आयो भने यो केटालाई रोक्नू’ भनेर भन्नुभएको रहेछ। त्यसपछि म गोरखापत्रमा पैसा लिन जाँदा मलाई पैसा नदिई रोकेर राखियो। किन रोकिएको थाह थिएन। अरु किताबहरूबाट पनि सारेर लेखेको हुनाले मलाई एकदमै डर लाग्यो। म थर्रर काम्दै बसें। मलाई त्यहाँबाट भित्र जानु भनियो अनि म डाउदै डराउदै गएँ। भित्र पुग्नेबित्तिकै नारायण बहादुर सिंहले मलाई अंगालो मारे।
‘तिमीजस्तो सानो भाई, कलामा यस्तो राम्रो गर्ने मान्छे, तिमी कलामा अघि बढ्नुपर्छ ’ उनले भने। वास्तवमा मैले नारायण बहादुर सिंहलाई ठगेको थिएँ। न म कला समिक्षक, न म अमूर्त कलाको पक्षधर नै। मधुपर्कमा छापिएका ती दुईवटा रचनाहरू कुनै इतिहास त हुन्, तर ती कुनै संग्रहमा समेटिदैनन्। किनभने ती मेरा कुनै रचना थिएनन्, चोरिएका रचना थिए। तर पछि विस्तारै कथाहरू लेख्न सक्छु कि जस्तो लाग्न थाल्यो। कथाहरू लेख्न थालेँ। ‘दमना’ भन्ने पत्रिकामा मेरो एउटा कथा छापियो, ‘विस्थापन’ शिर्षकको। त्यो पाठकहरूको बिचमा भन्दा पनि साहित्यकारहरूको बिचमा चाहिँ लोकप्रिय भयो। आफूभन्दा अग्रजहरूले ‘गज्जब राम्रो लेख्यौ’ भनेर प्रसंशा गरे।
पाइसकेको ‘सम्पादक’ गुम्यो
त्यसपछि अर्को कथा मधुपर्कमा छापियो। त्यसबेला केशवराज पिँडाली सम्पादक हुनुहुन्थ्यो। त्यो कथा चाहिँ धेरै चर्चित भयो। कथाहरू छापियो कि म चर्चित भइहाल्ने। त्यसबेला ‘धुँवा’ भन्ने कथा छापिएको थियो। त्यसबेला नारायणबहादुर सिंह हटेर केशवराज पिँडाली आउनुभएको थियो। पिँडालीले मैले कथा लेखेको देखेर मलाई धेरै माया गर्नुहुन्थ्यो। ३६ सालतिर मेरो जागिर पनि थिएन। उहाँले मलाई ‘जागिर छ कि छैन ?’ भनेर सोध्नुभयो।
मैले भनें, ‘छैन।’
‘गोरखापत्रमा सम्पादक खाने?’
अनि मलाई पर्सी आउनु भन्नुभयो। संयोग के भयो भने भोलिपल्टै मलाई पुलिसले समात्यो र जेल हालिदियो। सम्पादक हुन नमिल्ने संयोग रहेछ। त्यस घटनाको जानकारी पाएपछि उहाँ धेरै तर्सिनुभएछ। केटो वामपन्थीको समर्थक रहेछ भनेर। त्यसबेला अनेरास्ववियु अवैधानिक थियो। ३६ सालको काण्डमा म जेल परेपछि, मैले पाइसकेको उपसम्पादक गयो।
त्यसै बेला म पढ्दै पनि थिएँ। ३६ सालमा मास्टर्स सकिसकेको थिएँ। जेल परेका बेला पनि पढेँ। म ३१ र ३२ सालमा गरेर दुई पटक जेल परेको थिएँ। त्यसबेला म भन्दा पनि मेरा साथीहरू नेता थिए। जस्तैः प्रेम कैदी र शरण विक्रम मल्ल। शरण विक्रम किन हराए र कैदी भन्ने त अहिले अर्कै बाटोमा गइसके। उनको राजनीति खेतिपाति अहिले म बुझ्दिनँ। पछि ३६ सालसम्म शरणविक्रम मल्लहरू मेरा साथीहरू थिए। बलबहादुर केसी त कांग्रेसतिर थिए। ०३६ सालपछि नेविसंघको अध्यक्ष नै भएका थिए ।
‘हिप्पी आन्दोलन’ हुँदै कम्युनिष्टतिर
मलाई केही गर्नुथियो। मेरो बाजे ज्योतिषी, बा पनि ज्योतिषी, मलाई पनि ज्योजिषी बनाउन खोज्नुभएको थियो, तर मलाई त्यतातिर विश्वास थिएन। त्यसको गणित त पुरानै कुरा हो। गणित ठिकठिकै भएपनि म त्यतातिर लागिन। अनि हामी अर्धकिसान पनि हौँ र बा जागिरे पनि। उहाँ सिंहदरबारमा नायव सुब्बा भएर रिटायर्ड हुनुभयो।
बाले नौसिन्दादेखि जागिर खानुभएको। नौसिन्दा भन्ने पद हुन्थ्यो पहिले। बैदार, मुखियाजस्तै। हजुरबुवाले संस्कृत पढाउन खोजेपनि बाले चाहिँ मलाई अंग्रेजी पढाउन खोज्नुभयो। सरकारी जागिर नखाएकाले हजुरबुवालाई संस्कृत महत्वपूर्ण लाग्थ्यो। तर बाले चाहिँ अंग्रेजी पढेकाहरू अफिसर भएको र आफू अंग्रेजी नपढेका कारण सुब्बामा मात्रै रहनुपरेकोले छोरालाई अफिसर बनाउने उद्देश्यले मलाई अङ्ग्रेजी पढाउनु चाहनुहुन्थ्यो।
बा जागिरेसँगै किसान पनि हुनुहुन्थ्यो। हजुरबुवा जस्तो पेशागत रुपमा चाहिँ ज्योतिषी हुनु हुन्थेन बा। जसले जति दिन्थे त्यति नै लिनुहुन्थ्यो। कसैले दिएन भने पनि काम गरिदिनुहुन्थ्यो। हजुरबुवा त त्यो समयमा राम्रो ‘वकिल’ पनि हुनुहुन्थ्यो, कानून बुझेको। हजुरबुवाले कयौँ मोहीहरूको जग्गा जिताइदिनुभएको छ। त्यसवापत् कतिले आधा जग्गा दिन खोज्थे। तर उहाँले लिनुभएन। आफ्नैले पुग्छ र गर्ने मान्छे पनि छैनन् भन्नुहुन्थ्यो।
बाले हामीलाई पढाउनका लागि निकै ठूलो संघर्ष गर्नुपर्यो । बिचमा म बिग्रिसकेपछि म प्रति बाको लगाव अलि कम भयो। मैले बाआमालाई धोका दिएको भान उहाँहरूमा परेको थियो। मेरा बालाई मैले एकातिर नपढेर धोका दिएँ। अर्कोतिर, म हिप्पीहरूको आन्दोलनतिर लागेको थिएँ। लामोलामो कपाल पाल्ने गरिन्थ्यो।
‘म गाँजा खाइरहेको छु र मार्क्स पढिरहेको छु’
त्यसताक हिप्पी आन्दोलन भारतको बंगालमा लेखकहरूको निकै ठूलो समूहले गरेको थियो । यसले सभ्यता, पूँजीवाद र राज्यको विरोध गर्दथ्यो। त्यो चाहिँ अराजकतावादी सिद्धान्तअनुसार चलेको हो। त्यसको ठूलो मान्छे भनेको एलेन गिन्सवर्ग हुन् जो अमेरिकन कवि थिए। उनी क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर पनि थिए। उनी विटर्स मुभमेन्ट र हिप्पीहरूको क्यालिफोर्नियामा भएको अन्तर्राष्ट्रिय भेलाको सांस्कृतिक कमाण्डर पनि थिए। मैले आफू हिप्पी आन्दोलनमा लागेपछि गिन्सवर्गका कविताहरू पढ्न थालेँ। ‘हउल एण्ड अदर्स पोएम्स्’ भन्ने कविता संग्रह पढेँ।
उनका कविताहरू चाहिँ वास्तवमा भियतनाम युद्धविरोधी र अमेरिकन युद्धविरोधी छन्। अमेरिका भन्ने कवितामा उनले ‘म गाँजा खाइरहेको छु र मार्क्स पढिरहेको छु’ भन्ने कविताको लाइन नै छ। त्यो पढिसकेपछि म त्यतैतिर लागे र हामी गाँजा खानतिर लाग्यौँ। पाँचवर्षसम्म म हिप्पी आन्दोलनमा लागेँ र यता प्रगतिशिल आन्दोलनमा पनि साथीहरू भएका कारण म जेल पुगें। र, पछि मैले त्यो मुभमेन्ट छोडेँ । मलाई कम्युनिष्ट मुभमेन्टका साथीहरू मनपरेको थियो। उनीहरू असल र सज्जनजस्तो लाग्थ्यो। उनीहरू अरुजस्ता उत्ताउला र छाडा पनि थिएनन्।
मैले हिप्पी र कम्युनिष्ट आन्दोलनबाट महिलाहरूलाई जिस्क्याउनु असभ्यता हो भन्ने सिकेँ। प्रगतिशीलहरू महिलाहरूको मामलामा असाध्यै राम्रो व्यवहार गर्दा रहेछन्। पञ्चायतका मण्डले त मण्डले नै भइहाले, मलाई नेविसंघका मान्छेहरू पनि अलि छाडाजस्तो लाग्थ्यो। त्यसकारण, मलाई कम्युनिष्ट मुभमेन्ट मनपर्यो, जहाँ महिलाहरूको पनि सम्मान गरिन्थ्यो। पछि लेनिन पढ्दा पनि मलाई महिलाहरूको मुक्तिका लागि गरिएको संघर्षले प्रभाव पार्यो। अनि म ०३२ सालपछि विस्तारै अलि बढी कम्युनिष्ट मुभमेन्टमा लागेँ र ०३६ को आन्दोलनमा लागेँ।
शोषणः महिला र बालबालिकालाई ढिँडो
केही ठाउँहरू बाहेक काठमाडौँ एउटा कृषि शहर जस्तो लाग्थ्यो। नयाँ सडक, भुगोल पार्क, इन्द्रचोक, असनबाहेकका ठाउँहरूमा कृषकहरूको बाहुल्यता थियो। तर ती ठाउँहरू र मूलपानीको बिचमा झण्डै २ सय वर्षको फरक छ जस्तो लाग्थ्यो। यो त्यति अन्धकारमय ठाउँ थियो। मूलपानीमा पढेलेखेका मान्छेहरू धेरै कम थिए। मेरोसहित अरु केही परिवार पढेलेखेका थिए। किसानहरूको उत्पादकत्व एकदमै कमजोर थियो।
मेरा बा जागिरे भएपनि बिहान खेतको काम गर्नुहुन्थ्यो। तरपनि हामी त्यो गाउँको सबैभन्दा माथिल्लो वर्ग हो। हामी आफैं श्रम गर्थ्यौं। वर्गीय हिसाबले सबैभन्दा माथिल्लो वर्ग थियो। कर्मकाण्डमा पुरहेतहरूलाई पनि कमाण्ड गर्न सक्ने सामर्थ्य मेरो हजुरबुवामा थियो। मुद्दा मामिलादेखि लिएर वादी प्रतिवादी लेखिदिने सामर्थ्य राख्नुहुन्थ्यो। कति अन्यायमा परेकाहरूलाई उहाँले मुद्दा जिताउनुभएको थियो। तर उहाँले त्यसको कुनै पारिश्रामिक लिनुभएन। एकपटक गुरुदक्षिणाका रुपमा जग्गा पाउनुभएको थियो। ती जग्गाहरू अहिले हामीसँग छैनन्। जग्गा दान गर्नेहरूकै दाजुभाईबिच मुद्दा पर्दा आफ्नै नाममा पारे। किनभने त्यो जग्गा हामीलाई पास गरिएको थिएन। अनि मोहीमा लेखिएको कारणले गर्दा हामी त्यो मोही खान पनि गएनौँ।
पञ्चायत आएपछि उहाँ वडासदस्य पनि बन्नुभयो। सबैको भलो गरेकाले उहाँलाई अहिले पनि धेरैले सम्झिन्छन्। म चुनाव लड्दा कतिपय भोट हजुबुवाको कारण पनि प्राप्त गरेको छु। र थोरै भोट बा को नामबाट। बा पनि प्रतिष्ठित व्यक्तिकै रुपमा रहनुभयो। म स्कुल नजाउन्जेलसम्म म सँग एक जोर कपडा मात्रै हुन्थ्यो। स्कुल जाने भएपछि दुई जोर कपडा हुने भयो। स्कुल जाने लुगा लगाएर मावल पनि जान्थ्यौँ।
हाम्रो घरमा मोटामोटी तीन किसिमको भोजन मिल्थ्यो। हजुरबुवाले खाने छुट्टै, बा ले खाने छुट्टै र आमा र हामी केटाकेटीले खाने छुट्टै भोजन हुन्थ्यो। इज्जतको कारणले गर्दा बा ढिडो खानुहुन्न थियो। आमा र हामी ढिडो नै खान्थ्यौं। त्यस समयमा गाउँका जमिनदारको घरमा पनि ढिडो नै पाक्थ्यो। आजभोलि त विभिन्न रोगले गर्दा ढिडो नै इज्जत बनेको छ।
त्यो युग
हामी सानो छँदा साना केटीहरूले लगाउने लुगा भोटो र सुरुवाल हुन्थ्यो भने ठूली भएपछि गुन्यु र चोलो लाउँथे। म पढ्दा मेरो कक्षामा दुईजना मात्रै केटीहरू थिए। ती पनि बाहिर जागिर खानेहरूका छोरी थिए। मेरै घरमा मेरी दिदिलाई विद्यालय पठाउनुभएन। पछि बहिनीलाई पठाइयो। परिस्थिति बदलिँदै आएकाले बहिनीले पढ्न पाईन्।
गाउँमा कसैको शौचालय थिएन। पानीको एउटा धारो थियो। त्यसमा लाइन बस्नुपर्थ्यो। बाटो थिएन। धेरैजसो मान्छेहरू झारफुकमा विश्वास गर्थे। कतिपय मान्छेहरू वैद्यकहाँ पनि जान्थे। अन्तिममा केही नलागेमा मात्रै डाक्टरकहाँ जाने गर्थे। करिब ९९ प्रतिशत मान्छेहरूको पहुँच अस्पतालसम्म थिएन।
४ कक्षासम्म पढ्ने एउटा विद्यालय बाहेक गाउँभरी अरु विद्यालय थिएनन्। अर्को विद्यालय थियो, गान्धी आदर्श। यो अलि पुरानो विद्यालय हो। आर्य समाजले चर्खा प्रचार गरेकाले यो ‘चिठ्ठा परेको’ जस्तो हो। यो विद्यालय गोठाटारमा भएकाले हामीलाई धेरै टाढा पर्थ्यो। हामीलाई हाइस्कुल जानुपर्दा चावाहिल नै सबैभन्दा नजिक पर्दथ्यो। अलि पछि साँखुमा पनि खुल्यो। साँखु पनि पायक पर्दैनथ्यो । हाम्रा लागि साँखु पुग्नु र काठमाडौँ आउनु बराबर हो।
धेरैजसो घरहरू कच्ची ईंटका र फुसको छाना भएका हुन्थे। टायलका छाना भएका घरहरू एकदमै कम हुन्थे। राणाकालमा काम गरेकाहरूको घर पक्की हुन्थ्यो। तर ति पनि फुंग उडेको। एकचोटी पर्खाल लाएपछि अर्कोपटक लगाउने पैसा हुँदैनथियो। १६/१७ सालतिर यो गाउँ सिमान्तकृत थियो। अहिले त्यस्तो गाउँ देशको कुनै भागमा खोजे भने पनि पाउँदिन।
म चार कक्षासम्म पढेको विद्यालयमा दलितहरू थिएनन्। थोरै मात्रै महिलाहरू विद्यालय आउन पाउँथे। हामी चार कक्षा सकेर पढ्न आएको चावाहिल विद्यालयमा मूलपानी मात्रै होइन अन्य गाउँबाट पनि विद्यार्थीहरू पढ्न आउँथे। तर त्यहाँ केटीहरू आएर पढेको मलाई थाहा छैन। त्यसबेला महिलाहरूमाथि त्यस्तो विभेद थियो। वर्णव्यवस्था पनि एकदमै चर्को थियो।
सर्किनी दिदीको भटमास’देखि बुटपालिस आन्दोलनसम्म
चावहिलको विद्यालयमा शिक्षकहरू प्रगतिशील विचारको हुनुहुन्थ्यो। उहाँहरूले जाति व्यवस्था एकदमै नराम्रो व्यवस्था हो भनेर सिकाउनु हुन्थ्यो। उहाँहरू ‘ जाति व्यवस्थाले मान्छेहरूमाथि विभेद गरेको छ’ भन्नुहुन्थ्यो। यो कुराले मेरो चित्त बुझ्यो।
मेरो गाउँ नजिकै साथीको गाउँ छ। म १२/१३ वर्षको हुँदा म त्यहाँ गएर उसिनेको भटमास खाइरहेकी एकजना सर्किनी दिदिको भटमास खाइदिएँ। त्यतिबेला मेरो ब्रतबन्ध भइसकेको थियो। यो कुरा थाह पाएर मेरो हजुरबुवाले मलाई घर पस्न दिनुभएन। नुहाएर र जनै फेरेर मात्रै भित्र पस्न दिइयो। साँझको समयमा गाग्रीको पानी खन्याएर नुवाइयो र जनै फेरेपछि मात्रै घर पस्न दिइयो। यसबाट मलाई शुद्धीकरण भएको वा आनन्दित भएको महशुस भएन। मलाई यातना दिइएको वा सजाय दिइएको जस्तो अनुभव भयो।
हाम्रो समाजमा जाँड रक्सी खानेकुरा एकदमै वर्जित थियो। जसले जाँड खाएर आएको हुन्छ, त्यसलाई हामीले कथामा पढेको जस्तो राक्षसको चित्रण गरिन्थ्यो। तर म काठमाडौँ आइसकेपछि त्यसो होइन रहेछ भन्ने लाग्यो। जुन कुरा मेरा हजुरबुवाले गर्नुहुन्न भन्नुहुन्थ्यो, त्यही काम गर्न थालेँ। गाँजा चरेस त खाइयो नै, भट्टीमा पसेर जाँडरक्सी पनि खान थालियो र मैले जनै चुँडाइदिए।
हाम्रो एकजना लेखक साथी छन्, राजव । ३०/३१ सालतिर हामी दुवैले जनै चुँडाएका हौँ। हामीले नेवारी संस्कारमा खाइने राँगाको मासु पनि खायौँ। म बुटपालिस मुभमेन्टमा पनि लागेँ। मैले राँगाको मासु खाएको र बुटपालिस मुभमेन्टमा लागेको खबर मेरो गाउँसम्म पुगेछ। पछि म गाउँमा पुग्दा ‘सार्की आयो’ भन्ने गर्थे। त्यो मेरो एउटा विद्रोह थियो। यो कुरा नबुझेकाले यसबाट सबैभन्दा बढी मेरा बा र आमालाई पीडा भयो। बाले मलाई घृणा गर्नुहुन्थ्यो र मेरा कारण आमा रुनुहुन्थ्यो।
वामपन्थ र पत्रकारिता
त्यसपछि म जाँड रक्सी खान छोडेर कम्युनिष्ट पार्टीतिर लागेँ। त्यसले पनि बाआमामा अर्को त्रास थपिदिएछ। किनभने त्यतिबेला जोगमेहर श्रेष्ठको आतंक थियो। जोगमेहर भनेका पञ्चायतका धेरै ठूला नेता थिए। दरबारको विश्वासपात्र। जोगमेहरतिर लाग्यो भने सबैभन्दा सुरक्षित भइन्थ्यो र उनीविरुद्धको खेमामा लागियो भने ज्यान जान पनि बेर नलाग्ने।
३६ सालपछि १० वर्षसम्म पूर्ण रुपममा जाँड रक्सी र गाँजा पनि नखाने प्रतिवद्धता लिएँ। सत्यवादी भएँ। अहिले हेर्दा आफ्नो इतिहासप्रति रमाइलो लाग्छ। तर कम्युनिष्ट आन्दोलनमा लाग्नुपनि बाआमालाई पीडा दिने नै कुरा भयो। मैले जिन्दगीमा बा आमालाई सुख नै दिएको छैन। बा बितिसक्नुभयो, आमा हुनुहुन् । अहिले चाहिँ आमाले ममाथि विश्वास गर्नुहुन्छ। किनभने ०४६ सालपछि परिस्थिति बदलियो। जिल्ला विकास समितिको उपसभापति बनेँ। म सांसद पनि भएँ। मान्छेहरू मेरो घरमा आउने र मेरो तारिफ गर्ने समूह बढ्दै गयो। मेरो नामले चिनिन थालेपछि उहाँले पनि सम्मान पाउनुभयो र उहाँले मलाई विश्वास गर्न थाल्नुभयो।
मैले जीवनमा पत्रकारिता पनि गरेँ। साप्ताहिक पत्रिकाहरू जस्तैः छलफल, प्रकाश र दृष्टि। प्रकाशको कार्यकारी सम्पादक र दृष्टिको सम्पादक भएँ। त्यसपछि मैले जीविकाका लागि भनेर अन्नपूर्ण पोस्टमा १० वर्ष लेख, रचना विभागको प्रमुख भएर पनि काम गरे। त्यहाँ सम्पादकीय पनि लेख्थें। स्वतन्त्र लेखक भएर राजनीतिक विषयमा अहिले पनि स्तम्भ लेख्छु। अहिलेसम्म हजारौँ लेखहरू भइसके होलान्। मिसन हो र पैसा पनि आउँछ। वामपन्थीको सामग्री नै लेख्ने गर्छु। कतै संगठित नै नभएपनि म वामपन्थी नै हुँ र त्यसो भनिहरनुपर्दा गौरवान्वित पनि छु।
ओली कम्युनिष्ट होइनन्
ओली कम्युनिष्ट नै होइन। उहाँ हिजो पनि हुनुहुन्थेन। हिजो पनि उहाँ आन्दोलनकारी होइन। त्यसकारण मैले उहाँसँग मित्रवत् ढंगले प्रतिवाद गरेँ। जेल बसेको कुरालाई प्रमाणपत्र बनाएर इतिहासलाई धोका दिनु हुँदैन। जेल अरु पनि बसेका छन्। उहाँको तुलनामा कम होला, उनले बसेको आधाकाल सबै हिसाबकिताब गर्दा म पनि सात वर्ष बसेँ। हिजो मित्रवत अवस्थामा मैले उहाँलाई जुन किसिमले हेर्थे, अब त्यो अवस्था रहेन। जब उहाँले संविधानमै नभएको अवस्थामा प्रतिनिधि सभाको विघटन गर्नुभयो।
उहाँले लगभग अर्कै कोर्ष खोजेको जस्तो म बुझ्छु। संविधान नै च्यातिसकेपछि चुनाव गराएर पनि के अर्थ भयो? उहाँसँग मेरो तीनवटा कुरामा शंका छ। एउटा, उहाँ संघियताको पक्षधर होइन। अर्को कुरा, गणतन्त्र पनि उहाँको एजेण्डा होइन।अन्तस्करणभित्रको एजेण्डा होइन। किनभने जसले गणतन्त्रको नारा लिएर सडकमा आयो, त्यसलाई उहाँले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेर भनिसक्नुभएको छ। तेस्रो शंका, उहाँलाई लोकतान्त्रिक संस्था र कम्युनिष्ट पार्टीको व्यवस्थामा रुची छैन। उहाँले पहिलेदेखि नै गुटबन्दी गरेर पार्टीभित्रै अप्ठ्यारो पार्नुभएको हो। त्यो वैचारिक गुटबन्दी होइने, स्वार्थ समूहको झुण्ड हो।
त्यसकारण अहिलेको परिस्थितिमा त उहाँ प्रतिगमनकै बाटोतिर लाग्नुभयो। इतिहासमा राजाहरूले चालेको कदम आज जनताको छोरो हुँ भन्दै ओलीले गर्दैछन्। मेरो शंका कत्तिको सावित हुन्छ भनेर भोलि इतिहासले पनि देखाउला। अहिले पनि हामीसँग आशाका केही क्षणहरू छन्। सर्वोच्च अदालतले उहाँको कोर्ष करेक्सन गर्ने संभावना प्रवल छ। अहिलेसम्म म सर्वोच्च अदालतले आफ्नो जात फाल्दैन भन्ने अपेक्षा गर्छु।
‘ओली अर्कै कोर्स खोज्दैछन्’
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मैले पहिले नै भनेको थिएँ ‘तपाईंसँग मेरो राजनीतिक मिल्दैन’ भनेर। वास्तवमा मेरा पनि कमजोरीहरू होलान्, कि मैले उहाँलाई त्यतिबेला अध्यक्ष माने। अहिले त धेरै समयदेखि म पार्टीमा छैन। यसबारे कसैले चासो राखेको पनि छैन।
ओलीजीले २०५० देखि पार्टीमा गुटबन्दी सुरु गर्नुभयो। उहाँ जेलबाट छुटेर आइसकेपछि नै गुटबन्दीको दाउ सुरु भइसकेको रहेछ। गृहमन्त्री भएका बेला उहाँले शक्तिको बढी अभ्यास गर्नुभयो। पछि महाकाली सन्धीमा उहाँले एक किसिमको वातावरण बनाएर त्यसबाट पनि धेरै लाभ लिनुभयो होला। त्यही लाभ गुटबन्दी गर्न उहाँले प्रयोग गर्नुभयो।
उहाँले आठौँ महाधिवेशनमा आफ्नो टिममा काम गर्न आग्रह गर्दा मैले उहाँसँग मेरो राजनीति मिल्दैन भनेर भनेको हुँ। फोनमा भएको कुराकानीका क्रममा मैले त्यसो भनेपछि उहाँले सोध्नुभयो ‘मैले प्रजातन्त्रको झण्डा उठाएकाले तपाईँ नमानेको?’ मैले भनेँ ‘तपाईं प्रजातन्त्रको झण्डा भर्खर उठाउँदै हुनुहुन्छ। कांग्रेसले २००३ सालदेखि उठाइरहेको छ।’
ओलीको राजनीतिक आयु धेरै छैन
आजसम्मको हाम्रो अनुभवहरू र इतिहासले सिद्ध गरेका तथ्यहरू नै हामीले हेर्नुपर्ने हुन्छ। यसले देखाउँछ, ओलीको राजनीतिक आयू अब धेरै छैन। राष्ट्रपतिको पनि राजनीतिक आयु अब सकियो। राष्ट्रपतिले कानूनसम्मत सिफारिसलाई पो अनुमोदन गर्नुपर्ने हो। म संविधानविद् होइन, तर एउटा सामान्य नागरिकको हिसाबले म संविधान पढ्न सक्छु।
म आन्दोलनको कार्यकर्ता हुँ। वामपन्थी कार्यकर्ता हुँ। दुवै संस्थाहरूलाई उहाँहरूले बिटुल्याइसक्नुभयो। ती संस्थाहरूको गरीमा चिरहरण गरीसक्नुभएको छ। जहाँसम्म मलाई लाग्छ, अदालत त्यस्तो नहोला। भइहाल्यो भने अर्को राजनीतिक पुनर्संरचनाका लागि आन्दोलन हुन्छ। त्यो सामना गर्न तयार हुनुपर्छ। म ७० वर्षको हुन लागेको छु। म जुनसुकै बेला पनि सडकमा जान तयार छु।
बीचमा मलाई कतिले पद नपाएको भन्छन् तर मलाई पद चाहिदैन। बरु नयाँ पुस्तालाई त्यो ठाउँ देऊ। म त बुढो भइसकेँ, कतिपय कुराहरू नै बिर्सन्छु। हामीजस्तो मान्छेलाई होइन, अब एकदमै नयाँ पुस्तालाई नेतृत्व दिइनुपर्छ । पहिलो नम्बरमा, दोस्रो तहलाई दिनुपर्छ । दोस्रो तह पनि ७० वर्ष पुग्न लागेको छ, त्यसकारण तिनीहरूले पनि छोड्नुप¥यो ।
अहिले कस्तो भइदियो भने मैले हेर्दाहेर्दै कम्युनिष्ट कार्यकर्ताहरू हिजोका मण्डलेभन्दा पनि चारित्रिक रुपले गिरेका मान्छेहरूको जमात देखिन्छ। तर्कहरू छैनन्। दुर्वचन र उखानमा ताली बजाउने भए। यस्तो किसिमको दास पल्टनहरू बनाइएको छ।
अन्ततः जनताले अग्रगमनको बाटो लिन्छन्
राष्ट्रपतिले अफ्नो भूमिकाले राष्ट्रपति संस्थालाई बद्नाम गरिदिनुभयो। त्यो संस्था सम्मानित हुनुपर्नेमा विवादास्पद बनाइदिनुभयो। कार्यपालिका त सकिहाल्यो, भइरहेको व्यवस्थापिका विघटन गर्नुभएको छ। यदि सर्वोच्च अदालतले पनि यसलाई रोकेन भने उसप्रतिपनि औंला ठडिनेछ। शक्तिको पृथकीकरणमा राज्यका जुन अंगहरूप्रति विश्वास हुने छैन। हुन्छन्, त्यसपछि एउटा बाँकी रहन्छ, त्यो हो, प्रेस।
प्रेसमाथि पनि भोलि संकटकाल आउने र अंकुश लगाउने संभावनाहरू नरहलान् भन्न सकिन्नँ। उहाँको अहिलेको जुन ढंगको साँठगाँठ देखिन्छ, संविधानलाई मन नपराउने बाहिरका शक्तिहरूसँगको साँठगाँठले चाहिँ वास्तवमा त्यतातिर नपुर्याउला भन्न सकिन्न। यो गम्भिर राजनीतिक अपराध उहाँले गर्नुभएको छ ।
पार्टीभित्र अल्पमत र बहुमत हुन्छ। आफैं अल्पमतमा परियो भन्दैमा संविधान नै च्यात्ने, देश र लोकतन्त्रलाई नै डुबाउने काम गर्नुभएन नी! त्यसकारण उहाँ लोकतन्त्रवादी पनि होइन। मलाई उहाँमा एउटा हिन मनोविज्ञान छ जस्तो लाग्छ। किनभने उहाँले आफ्नो शैशवकालमा धेरै दुःख पाउनुभएको थियो। दुःख पाएको मान्छेमा एउटा बदलाको भावना हुन्छ। सबैसित बदला लिने उन्माद उहाँमा हो कि जस्तो लाग्यो। किनभने जेलमा पनि उहाँले धेरै दुःख पाउनुभयो। उहाँलाई धेरै यातना दिइयो । यस्तै प्रवृत्तिहरूमाथि लेखिएको मेरो एउटा कविता पनि आउँदैछ।
हुनत यो राजनीतिक विश्लेषण नहोला। मान्छेको अन्तस्करणमा किन कुनै मान्छे त्यस्तो किसिमको कोर्षमा अघि बढ्छ भन्नेमा तर्कहरू चाहिँ हुन्छन् । काम गर्न दिएनन् भनेर संसदमा विश्वासको मत लिनुपर्थ्यो। विश्वासका मत पाइएन भने विधानमा जे छ त्यतातिर जानुपर्थ्यो। अविश्वासको प्रस्ताव आएको भए सामना गर्नुपर्थ्यो वा पद छोड्नुपर्थ्यो।
यदि उहाँ लोकतन्त्रवादी हुनुहुन्थ्यो भने सडकमा पनि बस्न तयार हुनुपर्थ्यो । उहाँमा राजनीतिक र नैतिक संस्कार देखिदैन। जनताले हिजो बलिदान गरेर प्राप्त गरेको उपलब्धीको रक्षा गर्न भोलि जनता पनि आउँछन् क्षणिक रुपममा पश्चगमन हुनसक्छ। अन्ततः जनताले अग्रगमनको बाटो लिन्छन्।
‘शुद्धीकरणको बेला आएको छ’
उहाँले दुईवटा कुरा गर्न सक्ने प्रायोजित हल्ला चलाइदैंछ। आन्दोलन बढ्दै गएमा संकटकाल लगाउने, संकटकाल लगाइसकेपछि एउटा सम्झौता गर्ने। अरु पनि जति दलहरू छन् तिनीहरू पनि गतिला होइनन्। ओलीजीहरूसँग टक्कर लिएका ती दलहरूले पनि आफूलाई शुद्धीकरण गर्दै लोकतान्त्रिक संस्थाहरूलाई बलियो पार्ने दिशातर्फ जानुपर्छ।
दलहरूले आफ्नै मान्छेहरूलाई र आर्थिक स्वार्थ समूहहरूलाई प्रबर्द्धन गर्नतिर जाने कि संस्थाहरू बनाउने ? योजना आयोगमा हनुमान पठाउने कि देश बुझेको मान्छे पठाउने ? विश्वविद्यालयमा शिक्षा, पेशा र नैतिकता बुझेको मान्छे पठाउने कि हनुमान पठाउने ? एकेडेमीमा कुनै सामर्थ्य र क्षमता नै नभएको मान्छे पठाउने ?
अनेकौँ संस्थाहरू छन् राज्यसँग। ती संस्थाहरू बनाउनतिर अरु दलहरू नि जानुपर्छ। पार्टी बनाउनेदेखि लिएर सबै कुराहरूमा शुद्धीकरण गर्ने बेला आएको छ। तर उहाँ यसलाई बिगार्दै लैजाने, संकटकाल घोषणा गर्नेतिर लैजाने र पुरानो राजसंस्थासँग मिलेर सम्झौता गर्नेतर्फ जाने संभावना उहाँको छ। किनभने यहाँ दुईवटा कुरा छन्, एउटा कुरा संवैधानिक राजतन्त्रको माग हुँदै आएको छ । अर्को, केही मित्र राष्ट्रहरूलाई धर्म निरपेक्षता चित्त बुझेको छैन।
तिनीहरूको पनि सहयोगमा नयाँ किसिमको गठबन्धन हुनसक्ने संभावना छ । त्यो मुलुकको लागि भयंकर ठूलो दुर्घटना हो । अहिले पनि संविधानमा सुधारका गुञ्जायस छन् । किनभने विधिको बाटोबाट सुधार हुनुपर्छ । प्रदेशहरू हुनु धेरै राम्रो कुरा हो । प्रदेशलाई काम गर्न दिनुपर्यो। स्वायत्त हुन दिनुपर्यो। तर दिइएको छैन। प्रधानमन्त्रीले नै प्रदेशलाई आफू मातहतको हो भन्ने ठान्नुभएको छ। त्यस्तै स्थानीय तहहरूलाई पनि बलियो पारेर यो संविधानको आडमा बसेर समाजवाद ल्याउनसक्ने संभावना पर्याप्त छ।
यही संविधान नै च्यातीसकेपछि हामी पश्चगमनतिर जाने हो। तर प्रेत बौराइयो भने त्यो दुर्भाग्य हुन्छ र त्यसलाई जनताले स्वीकार गर्दैनन्। लडाईँ त निरन्तर हुन्छ। म लडिनँ भने पनि अर्को मान्छे लड्छ। नागरिक अस्मिता र आफ्नो स्वाभिमानको लागि लड्छ।
(नेपाल रिडर्सका लागि साहित्यकार नारायण ढकालसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित। तस्बिर: महेश पाण्डेय)