प्रिय केटीहरु,
सयौं बर्ष पहिले नै केहि केटीहरु हामीभन्दा धेरै अगाडिको देख्ने र सोच्ने भइसकेका थिए।
उनीहरुको सामाजिक/राजनीतिक चेतना अग्लो थियो। सायद, म नापेर भन्न सक्दथे भने निर्धक्क भएरै यस्तो भनिदिन्थे,”ती केटीहरुका चेतना स्तर ट्रेङ्गुलेसन या अनेकौं मापन विधिले नाप्न पनि हम्मे हम्मे पर्यो, बहुतै उच्चो र फराकिलो रहेछ”। ती केटीहरु रोजाहरु थिए, क्लाराहरु थिए।
जुनबेला हाम्री जिजुबज्यैहरु ढिकिजाँतोमा आफ्नो खुशी पिन्दै थिए, जुनबेला हाम्री बज्यैहरुले बाजेहरुका अनुहारमा आफ्नो खुशी केलाउँदै गर्थे र जुनबेला ईश्वरको आशीर्वाद भन्दै बर्षेनि गर्भ सहर्ष स्विकारी रहेका थिए र त्यस्ता नियतिहरु पुस्तान्तरण गर्दैथिए। त्यति नै बेला मेरी बज्यै/जिजुबज्यैहरु उभिएकै भूगोलको कुनै कुनामा ती केटीहरु महिला मुक्तिका नारा घन्काउदै थिए। उनीहरु आफुभित्र क्रान्तिको राँको बाल्दै थिए। ती केटीहरु रोजाहरु थिए, क्लाराहरु थिए।
एउटै समयमा जन्मेका थिए। तर मेरी जिजुबज्यैहरु,बज्यैहरु ती केटीहरु जस्तै नहुनुमा उनीहरुले बाँचेका फरक फरक जिन्दगीका अनेक कथाहरू बाधक बने होलान्। गाउँको टुप्पोबाट देखिने दुनियाँ, यस्तो परिवेशमा हुर्केका जीवनका भाषा र भाकाहरु तर आफू के हो भनेर चिनिसकेका, आफू र आफूजस्ताहरुकोलागि लड्न जानिसकेकाहरुको कथा एउटै कहाँ हुन्छ र ! त्यसैकारण धेरै अगाडि थिए-ती केटीहरु, रोजाहरु, क्लाराहरु।
ए मेरा दौंतरी केटीहरु!
नढाँटी भन्दा म आफूलाइ यो समयको पुस्ता हो भन्दा कता कता संकोच मान्दछु। सय बर्ष अघिका ती केटीहरुका आवाजहरु सम्झिन्छु अनि त लाजले झन् शीर निहुरिन्छ। १०० बर्ष पछिको आजको समयमापनि हाम्रो पुस्ताका केहि केटीहरु खुशी खुशीका साथ बजै/जिजुबज्यैहरुको नियति भोग्न तयार छन्। कस्तो शर्मनाक !
कानून भन्छ- तिमीहरुलाई स्वच्छ हावा समेतको अधिकार छ तर त्यही हावाले छुने मनहरु यहाँ एकैनासका छैनन्। केहि केटा मनहरु छन्, केहि केटी मनहरु छन्। हो! हामी ती हावाहरुलाइ एउटै जस्तो भएर स्पर्श गरिरहेका छैनौ।
म निडर थिएँ तर पनि मेरो बाबालाई कहिल्यै प्रश्न गर्नसकिन,”मेरी आमाको जीवन तिम्रो भन्दा फरक किन छ?”, भाइ/दाइहरुलाई कहिल्यै भनिन ,”तिमी र म हर एक कुरामा समान हक राख्दछौ”, श्रीमानलाई कहिल्यै बुझाउन चाहिन,”मैले तिमीजस्तै भएर बाच्नुछ”। हो! म जब जब इतिहासका ती खास खास केटीहरुलाइ सम्झन्छु, मलाई खस खस हुन्छ। आफूलाइ दुनियाँको सबैभन्दा फुच्चे केटी भएको सोच्न बाध्य हुन्छु जो आफूभित्र कुनै आगो हुर्काउन संकोच मान्दछे।
आज आएर इतिहासका केहि खास पात्रहरुबारे यसरी गम्भीर हुनुका धेरै कारणहरु छन्। उनीहरु प्रविधि र पहुँचका हिसाबले आज हामी बाँचेको भूमि भन्दा धेरै पछाडि थिए तर उनीहरुको चेतना धेरै अगाडि थियो। केटीहरु ! हाम्रा हात हातमा दुनिया बुझाउने प्रविधि छ, त्यस प्रविधिको सूचनाको प्रयोगमा आफूलाई अब्बल साबित बनाउँदै छौं। तर त्यस सब्बलताले हामीलाई बोल्न पर्ने वाणी बोलाएन। कता कता हामी आफ्नो समयको आवाज बन्न डराएँ झैं लाग्दैछ। हाम्री बज्यैहरु, जिजुबज्यैहरु नजानेरै धेरै कुराहरु बोलेनन् र नियतिवादका अगाडि घुँडा टेके तर हामी बुझेरैपनि बोल्ने हिम्मत गरिरहेका छैनौ। बरु, सहनशील केटी हुनुमा खुशी मान्दैछौ।
ए हामी केटीहरु !
रोजाहरु, क्लाराहरु झैं महिला मुक्तिको कुरा त हामीले गरिनैरह्यौं तर नढाँटी भन त के हामीहरु मुक्त भयौ?
तिमीहरुकै माझकी एक केटी
सरिता श्रीस