कवि यतिकै कवि जस्तो बन्दैन र सबै कविता कविता जस्ता हुँदैनन् । समाजको अन्तरतहमा हुने संघर्ष र घर्षणमा सहभागी भएका या त्यसलाई अनुभूति गरेर उत्पीडनका विपक्षमा, राज्य सत्ता, संस्कृति सत्ता र धनसत्तालाई चुनौती दिन तम्सिनेहरू सबैभन्दा बलशाली कवि भएर निस्कन्छन्। यसको अर्थ कसैलाई धारेहात लगाएर सत्तोसराप गर्दैमा शब्दहरूको गुजुल्टोले कविता बन्ने होइन। यो एउटा लयवद्ध झंकार सिर्जना गर्ने हुतिको हुनुपर्छ।
एउटा आवेग जन्माउने, मानिस भित्र निदाएको मानिसलाई ब्युँताउने, झक–झकाउने र उठ्न, हिँड्न लगाउने ल्याकत पनि चाहिन्छ सुन्दर कवितामा। समाजबोध या समयबोध गरेका कविता नै कालजयी हुन्छन् । हाम्रो समयमा जन्मेका यस्ता कवि मध्येका एक हुन्, राजु स्याङ्तान। कविता यात्राको छोटो समयमै उनले एउटा शक्तिशाली कविका रुपमा आफ्नो अलग पहिचान बनाएका छन्।
सात कक्षा पास गरेर जनवाद ल्याउन हिँडेका राजु कलाकारका रुपमा खटिए, पछि हुर्केपछि छापामार बने र शहर कब्जा गर्न ०६३ को जनआन्दोलनपछि काठमाडौँ आइपुगे । केही वर्ष माओवादी सपनामा अफ्नो भविष्यको रेखा कोर्दै बसेका उनलाई पछि आफ्नो विश्वासले धोका दिएको आत्मबोध भयो।
राजु महोत्तरीको चुरे फेदिमा रहेको खयरमारामा जन्मेर एउटा सीमान्त समुदायको गरीब किसान परिवारको सन्तानले व्यहोर्ने जिजीविषाका अनेकवली समस्या झेल्दै हुर्केका हुन्। उनका बाबु आफ्नो गुमेको जमिन फर्काउने र सामान्य जीवन बिताउने लालसासहित कम्युनिस्ट पार्टीको राजनीतितिर आकार्षित भएका थिए, जसको छाप बोकेर उनी हुर्के। जीविकाका लागि मजदुरी गर्दै हिँड्ने र आइपरेका अनेक काम गर्दै परिवार पाल्ने पिताका दुःख देखेर हुर्केका राजु किशोर अवस्थामा पाइला टेक्दा नटेक्दा माओवादी छापामारहरूको संगतमा लागे।
सात कक्षा पास गरेर जनवाद ल्याउन हिँडेका राजु कलाकारका रुपमा खटिए, पछि हुर्केपछि छापामार बने र शहर कब्जा गर्न ०६३ को जनआन्दोलनपछि काठमाडौँ आइपुगे। केही वर्ष माओवादी सपनामा अफ्नो भविष्यको रेखा कोर्दै बसेका उनलाई पछि आफ्नो विश्वासले धोका दिएको आत्मबोध भयो। आफ्नो पढाइ पूरा गरे र शहरमा आफ्ना लागि अलग बाटो बनाए। त्यो बाटो कविताका हरफहरूमा कोरियो र ‘ओ पेङ्दोर्जे’ का रुपमा हाम्रो हातमा आइपुगेको छ।
एउटा प्रचण्ड
ओत लाग्ने झुपडी बनाउन
आराले बुढो रुख काट्दा काट्दै
उतै जङ्गलका खोँचहरूमा छुट्यो
अर्को प्रचण्ड
रगत र आँसुको वर्षा भइरहेको झरिमा
रुझ्दै रुझ्दै सहर पसेपछि
त्यही सहरको भिडमा कतै छुट्यो
मेरी प्रिय छापामार सङ्गी
गिट्टी फोरेको हातको निसानी र
पाठेघरछेउमा बल्झिदै गरेको बमको घाउ बोकेर
खुमलटार वरपर
अब कुनै प्रचण्ड नखोज
(छुटेको प्रचण्ड)
स्वभाविक छ, जीवनले लय समात्ने समयमा क्रान्तिका लागि भनेर बिताइएका तर आधाबाटोमा क्रान्ति अलपत्र परेपछि व्यर्थ लागेका दिनहरूको स्मृति दंशले लखेटिएर उनी कविता लेख्छन्। हजारौंले बलिदान गरेर बनेको जनयुद्धका नायकहरू तिनकै हाडखोरमा उभिएर सत्ताको सिंढी चढेपछि भुइँमान्छेलाई बिर्सदैँ गएको आक्रोश उनको कविताको मूल कथानक हो। ‘छुटेको प्रचण्ड’ यहि आक्रोशको एउटा प्रतिनिधि कविता हो।
उनका कविता जनयुद्धमा लाम लागेका र शान्ति प्रक्रियापछि भुइँमा अलपत्र छाडिएका हजारौं योद्धा, दलित, महिला, किशोर–किशोरी र घाइते अपाङ्ग माओवादीका मात्र होइनन्। प्रकारान्तरले जनयुद्धको विपक्षमा रहेर धेरै कुरा गुमाएका असंख्य नेपालीका पनि प्रतिनिधि कविता हुन्।
कवितामा कतै उनी आफैं पात्र बनेका छन्, कतै आफ्नो वरपरका कमरेडहरूलाई विम्व बनाएका छन्। कतै आफ्नै आपालाई पात्र बनाएका छन्, कतै आफ्नै भाइलाई। कतै सीमान्त वर्गका नेपालीहरूका आम समस्या केलाएका छन् कतै महिला, जनजाती र दलितहरूका दमनका दर्दनाक अवस्थाहरूलाई।
पहिचान उनको कविताको अर्को धारा हो। ‘नयाँ युगको पिपा र सुसारे बन्न अस्वीकार गर्नेहरू’ का नाममा समर्पण गरिएको उनको कविताले सबै नेपाली आदिवासी र जनजातिसहित खासगरी महाभारत श्रृंखलाका तामाङमाथि शासकले थोपरेको युगौंको दमन र उत्पीडनको विपक्षमा युद्ध घोषणा गर्छ।
पुर्खाको हाडखोर साक्षी राखेर
अब अस्वीकार गर्छु दासत्व
चुँडाउँछु अदृष्य जन्जिरहरू
र लेखिदिन्छु आफ्नै रगतको मसीले
यो गोलो पृथ्वीको निधारमा
यो संसार हाम्रो हो ।
(एउटा दासको घोषणापत्र)
कुल्ली बनेर, मिस्त्री बनेर या मजदुर बनेर निर्माणका क्षेत्रमा काम गर्ने श्रमजीवीहरूका कथा उनको कविताको पहिलो खण्डमा छापिएका छन्। आधुनिक पुँजीवादले निर्माण गरेका महानगरका विशाल भवन र भव्य दरवार या सडकहरू बनाउने तर आफ्नै लागि ओत र वास नपाउने आम मान्छेका ब्लुजहरू छन् उनका कवितामा।
कति कवितामा बव मार्लेको ‘वफेलो सोल्जर’को झल्को आउँछ। उमेरमा महेन्द्र राजमार्ग बनाउन खटेका आफ्ना पिताका सम्झना सुन्दै हुर्केका राजु लेख्छन्ः
जब टेक्छु यो लमतन्न राजमार्ग
टेकेँ जस्तो लाग्छ –आपाको आङ
हिजो साँझ
पिएपछि एक डबका जोस
आपा निस्किएछन् राजमार्गमा
कराएछन् जोड–जोडले
‘साला को हो महेन्द्र भनेको ?
यो महेन्द्र राजमार्ग होइन
मैले बनाएको हुँ मैले’
बिहान टोल छिमेक ब्युँझदा
राजमार्ग छेउमा लडिरहेको थियो
आपाको लास
…तर
किन भन्न पाउँदिन
रामबहादुर मार्ग
(रामबहादुर मार्ग)
यो कविता पढिरहँदा खुशीराम पाख्रिनले गाएको ‘गैती बेल्चा उचालेर, …. के पायो नि कुल्ली दाइले, के पायो नि कुल्ली भाइले अर्कैले मोटर गुडायो…’ गीतको सम्झनामा आउँछ । अहिले पनि कतार र सउदी अरब या हङ्कङ या कोरियामा नेपालीहरू अनौपचारिक क्षेत्रमा काम गरिरहेकै छन्। विशाल संरचनाहरू बनाएकै छन्। कतार विश्वकपका समयमा स्टेडियम बनाउँदा मृत्यु अँगालेका कैयन् नेपाली युवाहरू वाकसमा कैद भएर नेपाल फर्केका थिए। पसिनाको साटो जहिले पनि आफू मजदुरको मजदुरै रहने र नयाँ मजदुरको पुनर्उत्पादन गरेर असमयमा बुढो हुने बाध्यतामा छन् नेपालीहरू।
बजारलाई जीवित राख्न र पुँजीपतिलाई निरन्तर चाहिने नाफा कायम राख्न बुनिएका वित्तिय जालोले मानिसलाई दास बनाइरहन्छ । हरेक आवश्यकतालाई किस्ताबन्दीमा पूरा गर्न पाइने बजार संयन्त्रको जालोमा पसेपछि मानिस उम्कनै सक्दैन र अन्तमा जब ऋण तिरिसक्छ उसको बाँच्ने उमेर पनि सकिन्छ। यो हाम्रो समयको महाआख्यान हो।
‘रामबहादुर राजमार्ग’ हजारौं मजदुरको कथा हो, जसले राजमार्ग त बनाए तर त्यसमा यात्रा गर्न सवारी साधनमा तिर्नुपर्ने भाडाको अभाव झेलिरहे। कविका आफ्नै अनुभवहरूको आख्यानीकरण गरिएको यो कविता मर्ममा भेदन गर्ने खालको छ।
समृद्धिको साइनबोर्ड टाँसिएको
यो खण्डहर बाटो नछाडी जानु
अलि पर पुगेपछि देखिनेछ
गरिबको मुटु, कलेजो र आँखा लुछेर
क्विण्टलका क्विण्टल भारी बोकी
सुख्खा बन्दरगाहतिर जाँदै गरेको
ट्रकको लामो लस्कर
(समृद्ध दुःख)
कवितामा अर्थतन्त्र र राजनीतिका विसंगत अवस्थाहरूमाथि श्रमजीवीपक्षीय हस्तक्षेपको प्रभावशाली विम्ब प्रयोग भएको छ। बजारतन्त्रले कसरी मानिसहरूलाई दास बनाउँछ भन्ने महाआख्यानलाई उनले ६ लाइनको छोटो कवितामा यसरी व्यक्त गरेका छन्ः
जुन दिनदेखि
किस्ताबन्दीमा निकालेँ
यो मोटरसाइकल
त्यस दिनदेखि
स्वतन्त्र भयो मोटरसाइकल
बन्दी भएँ म
(किस्ताबन्दी)
बजारलाई जीवित राख्न र पुँजीपतिलाई निरन्तर चाहिने नाफा कायम राख्न बुनिएका वित्तीय जालोले मानिसलाई दास बनाइरहन्छ । पढाइकै लागि लिइने ऋणबाट युवाहरूको जीवन आरम्भ हुन्छ। हरेक आवश्यकतालाई किस्ताबन्दीमा पूरा गर्न पाइने बजार संयन्त्रको जालोमा पसेपछि मानिस उम्कनै सक्दैन र अन्तमा जब ऋण तिरिसक्छ उसको बाँच्ने उमेर पनि सकिन्छ। यो हाम्रो समयको महाआख्यान हो। र, पनि उनमा भविष्यका प्रति आसावादीता जीवित छ र त लेख्छन्ः
हेर्दा हेर्दै भन्ज्याङमाथि
घाम टुक्रुक्क बसेर निदायो
अब अँध्यारो हुन्छ
यहाँ कतै उज्यालोको अस्तित्व हुनुपर्छ
र त अँध्यारो भइरहेछ
(अस्तित्व)
हाम्रो समाजमा सदियौंदेखि पितृसत्ताका अनेकवली दमन र उत्पीडन सहेका कलिला बुहारी, आमा र आम महिलालाई विद्रोहका लागि उठ्न आह्वान गरिएका छोटा कविता उत्तिकै शक्तिशाली छन्।
आमा तिमी मात
तिमी मातेको मन पर्छ
यो दुनियाँ तिम्रै रगत चुसी
मातिरहेछ आदिमकालदेखि
मातेकै सुरमा
शासन गरिरहेछ तिमीमाथि
(आमा तिमी मात !)
जँड्याहा बाउले कुट्यो भनेर
लुगाको पोको बोकी
त्यसरी रुँदै रुँदै
मामाघर नजाऊ आमा
त्यहाँ पनि त मामाले
यसरी नै कुट्छन् माइजूलाई
(मामाघर)
लामा छोटा गरी ५१ वटा कविता रहेको संग्रहमा मजदुरको घोषणापत्र, आमा तिमी मात, योद्धा, अन्तिम प्रेमपत्र, एकदिन, पिपाको कथा गरि छवटा खण्डहरू छन्। मजदुरको घोषणापत्र नेपालमा सामन्तवादले खियाएर खिरिला भएका पसिना बगाएर पनि मूल्य नपाएका, माटो भिजाएर या सहर बनाएर पनि उत्पादन र वासमा अधिकार नपाएका पुँजीवादले पिँधमा धकेलेका श्रमजीविहरूको घोषणापत्र हो।
पहिलो खण्डको दोस्रो कविता ‘जानेहरू’ कोरोनाकालको लकडाउनका समयमा नेपाल र भारतका राजमार्गहरू पैदलै नापेर सहर छाडेर गाउँ देहात तिर लम्केका हजारौं लाखौं श्रमजीवीहरूको कथा हो।
सबैभन्दा धेरै सहर बनाएर
कहिल्यै सहरवासी हुन नसकेका
सहरका ती असली हकदारहरू
विपतमा सहर
झनै बिरानो बनेपछि
चिउरा र दालमोठ
चपाउँदै चपाउँदै गए
उनीहरू गए
खाली हात गए
रित्तो रित्तो गए।
लकडाउनका समयमा काठमाडौँदेखि धनगढी या सप्तरी, सुनसरी तिरसम्म, वैशाख जेठको चर्को घाममा भोकै आफ्ना लालावाला र केही पोकामा अटेको घर समेटेर हिँडेका हजारौं श्रमिकको कथा हो यो।
कतै बन्धकी राख्न नमिल्ने
दुःखका लालपुर्जा बोकेका
कमिलाका अन्तहीन ताँतीजस्ता
ती सिसिफसहरू
भोकले पट्पटी फुटेका ओठ
दस रुप्पेको मास्कले छोप्दै छोप्दै गए
(जानेहरू)
कुनै बेला गोपालप्रसाद रिमाल र युद्धप्रसाद मिश्रहरूले रोपेको र जतन गरेर हुर्काएको काव्य परम्परामा इँटा थपेर हिँड्नेहरूको निरन्तर नयाँ पुस्ता हुर्केको छ। विमल निभा, श्यामल, कुन्ता शर्माहरुको पुस्तापछि आहुति, भूपाल किराँती, श्रवण मुकारुङ्हरू बलशाली भएर उभिए। पछिल्लो समय विनोदविक्रम केसी, स्वप्निल स्मृति, चन्द्र तुम्वापो, शकुन्तला जोशी, केशव सिलवाल, कल्पना चिलुवाल, सरिता तिवारीहरू यो पंक्तिमा लामवद्ध छन्। (सबै पुस्तामा अरु थुप्रै पो छन् नाम नलिँदा अन्याय हुने कदका धेरै नाम छन्) यिनै कविहरूको लाममा परबाटै चिनिने गरि ‘ओ पेङ्दोर्जे’ बाट राजुले आफ्नो स्थान बनाएका छन्।
समकालिन नेपाली समाजका आन्तरिक संघर्षहरूको प्रकृतिबारे बुझ्न पढ्नै पर्ने एउटा पुस्तक हो– ‘ओ पेङ्दोर्जे ।’
‘आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ। राजु स्याङ्तान त्यस्तै कवि हुन् जसले समकालीन नेपालको अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन्।’ कवि र कविताका बारेमा मञ्जुश्री थापाको यो भनाइसँग हरेक पाठकको सहमति होला।
अपेक्षाकृत युवावयका राजुको यो उर्जा सरकारी अधिकारी बन्न पदासिनहरूलाई बुझाइने पुर्जा नबनोस्, बजारले हस्तक्षेप गरेर उनको अन्तरहृदयलाई बन्दी नबनाओस्। आफ्ना कविताका भावहरूप्रतिको उनको निष्ठा जीवन र व्यवहारमा पनि उत्रिरहोस्। उनलाई बधाई र शुभकामना।
समकालिन नेपाली समाजका आन्तरिक संघर्षहरूको प्रकृतिबारे बुझ्न पढ्नै पर्ने एउटा पुस्तक हो– ‘ओ पेङ्दोर्जे।’
पुस्तक: ओ पेङ्दोर्जे
विधा: कविता
लेखक: राजु स्याङ्तान
प्रकाशकः नेपालय, २०२३
पेजसंख्या: १५१
मूल्य: ३४५