पृथ्वीसुब्बा गुरुङ नेकपा एमाले भित्र प्रष्ट वक्ताका रुपमा चिनिएका र वैचारिक दृष्टिकोण राख्ने नेता हुन्। पार्टीको दशौं महाधिवेशनबाट उपमहासिचवमा निर्वाचित भएका गुरुङ यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री थिए भने अहिले प्रतिनिधि सभामा लमजुङबाट प्रतिनिधित्व गर्छन्। उनै गुरुङसँग नेपालमा कम्युनिष्ट पार्टीहरुले भन्ने गरेको जनवादी क्रान्तिको अवस्था, समाजको चरित्र निरुपण, समाजवादी क्रान्तिको तयारी, अरु कम्युनिष्ट पार्टीसँगको सम्बन्ध लगायतका विषयमा नेपाल रिडर्सका लागि सम्पादक झलक सुवेदीले गरेको संवादको सम्पादित अंश।
नेपाली समाजको आजको मुख्य चरित्र के हो? एमालेभित्र सामन्तवाद सकियो, पूँजीवाद आयो भन्ने र क्रान्ति पूरा भयो/भएन भन्ने विषयमा फरकफरक मत देखिन्छ। तपाईंले यसलाई कसरी हेरिरहनु भएको छ?
कतियलाई लाग्छ राजा ज्ञानेन्द्रले २०६२/०६३ को १९ दिने शसक्त जनविद्रोहको दबाबमा सजिलै सत्ता छाडेका हुन्। उनले नेपाली जनतामाथि सदाशयता देखाएर ‘म अब लोकतान्त्रिक भएर जनताकै अधिनमा बस्छु’ भनेर छाडेका होइनन्। यथार्थ के हो भने – नेपाली समाजमा सामन्ती उत्पादन पद्धतिको, सामन्ती उत्पादन सम्बन्धको जरा भत्किसकेको थियो। आर्थिक, सामाजिक, राजनीतिक सांस्कृतिक रुपमा आफूलाई सहयोग गर्ने जरा नभेटिएको कुरा ज्ञानेन्द्रले राम्रैसँग अनुभूत गरेको हुनुपर्छ। यसको अर्थ के थियो भने नेपाली समाज सामन्तवादको विघटनतिर उन्मूख थियो। ०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिले सामन्तवादी युगको अन्त्य गरेको हो। सामन्ती युगको अन्तसँगै सामन्तवादका सामाजिक, आर्थिक संरचना पनि भत्किए। तर, पुरानो संरचना भत्किदैंमा त्यसका अवेशष पनि तुरुन्तै समाप्त हुँदैनन्।
लेनिनले धेरै पटक उल्लेख गरेका छन्- ‘अक्टोबर समाजवादी क्रान्तिपछि रुसमा समाजवादी उत्पादन सम्बन्धसँगै पूँजीवादी उत्पादन सम्बन्ध पनि छ। अझ कतिपय ठाउँमा त सामन्ती उत्पादन सम्बन्धका अवशेषहरू पनि बाँकी छन्।’ अर्थात्, एउटा राज्य प्रणालीभित्र कुन उत्पादन सम्बन्धको वर्चस्व छ भन्ने कुराले त्यो राज्य समाजवादी हो कि, पूँजीवादी हो कि, सामन्तवादी हो भन्ने तय हुन्छ।
हाम्रो समाजमा अहिले पनि आदिम साम्यवादी उत्पादन प्रणालीका कतिपय अवशेष बाँकी नै छन्। राउटेहरू आजसम्म आदीम साम्यवादी युगमै छन्। उनीहरूको समुदायमा वर्ग छैन। नीजि सम्पत्ति छैन्। नेपालमा अझै पनि दास प्रथाको अवशेषका रुपमा कता-कता हरूवा, चरुवा, कमैया प्रथा देखिन्छ। सामन्ती युग अन्त गरेर भर्खरै पूँजीवादी युगमा प्रवेश गरेका हुनाले नेपाली समाजमा सामन्ती युगका अवेषहरू पनि थोरबहुत मात्रामा छन्।
‘सामन्ती युगका अवशेषहरू अझै बाँकी छन् क्रान्ति भइसकेको छैन भनेर प्रश्न गर्नेहरू पनि छन्। यस्तो प्रश्न गर्नेहरू ‘राजनीतिक क्रान्ति मात्र भएको हो, आर्थिक, सामाजिक क्रान्ति भएको छैन’ भन्छन्। एमालेकै दस्तावेजमा पनि यस्तो व्याख्या देखिन्छ। यस अर्थमा नेपालका कम्युनिष्टहरू क्रान्तिका सवालमा भ्रममा छन्।
म के भन्छु भने शान्तिपूर्ण जनक्रान्तिका माध्यमबाट सामन्तवादी युगको अन्त्य भयो। सामन्तवाद अन्त भएर पूँजीवादी युगमा प्रवेश गरेपछि हाम्रो वर्गीय संरचनामा पनि परिवर्तन भएको छ। आज नेपाली समाजमा सामन्तवाद र सामन्तीहरूको प्रभावकारी उपस्थिति छैन। आजको नेपाली समाज पूँजीवादी उत्पादन सम्बन्ध हाबी भएको छ। पूँजीवादी उत्पादन सम्बन्ध मुख्य, प्रधान भएको समाजमा छौं हामी। आजपनि कतिपय हाम्रा साथीहरू उहिले माओ त्सेतुङले चीनमा गरेको वर्ग विश्लेषण समातेर हिडिरहेका छन्। आजको दिनसम्म माओ त्सेतुङकै वर्ग विश्लेषण सुनाइरहेका छन्। एमालेको पनि यस्तै अवस्था छ।
कम्युनिष्ट आन्दोलनभित्र कतिपयले राजनीतिक क्रान्ति पूरा भयो आर्थिक क्रान्ति पूरा भएको छैन भन्छन्। ०४६ सालको जन–आन्दोलनले नै उपरी संरचनामा हाम्रो उपस्थिति स्थापित गरिसकेको थियो। तर, उत्पादन पद्धतिमा पर्याप्त परिवर्तन आएको थिएन।
आज त त्यो सबै तोडियो। यसर्थ ०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिले एक युगको परिवर्तन गर्यो, सामन्ती युगको अन्त गर्यो। जनवादी क्रान्ति, जनताको बहुदलीय जनवादी क्रान्ति जे भनेपनि ०६२/०६३ ले पूरा गर्यो। एक चरणको क्रान्तिको कार्यक्रम पूरा भएको हुनाले अब अर्को कार्यक्रम जरुरी छ हामीलाई।
पूँजीवादी जनवादी क्रान्ति पूरा भयो। अहिलेको समाज पूँजीवादी समाज हो भनिरहँदा अब कम्युनिष्टहरूको रणनीति, कार्यनीति, कार्यक्रम के हुनुपर्छ त ?
यो विषयमा बहस, छलफल भएको छैन। एमालेको १० औं महाधिवेशनको समयमा हामीले यस विषयमा छलफल गर्ने प्रयत्न गरेका हौं। तर, हामी पार्टी विभाजनको अवस्थामा भएकाले यथेष्ट र पर्याप्त बहस हुन पाएन।
एउटा क्रान्ति सम्पन्न भयो पुरानो वर्गीय संरचना भत्कियो नयाँ वर्गीय संरचना बन्यो। नेपालीहरूको मुख्य अन्तरविरोध हल भयो। अर्थात् हिजोको नेपाली समाजको प्रधान दुश्मन, शत्रु पराजित भयो। तर, त्यो शक्ति पारजित हुँदैमा समाजवाद नै आइसकेको भन्ने होइन। समाजवादको आधार पनि तय भइसकेको छैन।
यस विषयमा एकीकृत समाजवादीमा अलिकति बहस सुरु भयो। माओवादीमा त सुरु भएकै छैन। नेपाल मजदुर किसान पार्टीको आफ्नै व्याख्या छ जुन कसैले थाह पनि पाउँदैन। अरुको त कुरै गर्नै पर्दैन।
नेकपा एमालेले पनि यस विषयको सटिक व्याख्या गर्न सकेको छैन। एउटा क्रान्ति पूरा भयो भनेपछि एउटा समस्या हल भयो। त्यसपछि तुरुन्तै अर्को चरणको समस्या पनि सुरु हुन्छ। अर्को सामाजिक वर्ग अस्तित्वमा आयो, उसको वर्चस्व स्थापित भयो भन्ने वित्तिकै हाम्रो क्रान्तिको कार्यक्रम, क्रान्तिको रणनीति, कार्यनीति पनि परिवर्तन हुन्छ।
हिजो हाम्रो रणनीतिक लक्ष्य भनेको जनताको जनवाद प्राप्त गर्नु थियो। अधिकतम लक्ष्य समाजवाद, साम्यवाद थियो भने, न्यूनतम लक्ष्य जनताको जनवाद/नौलो जनवाद हो। हामीले जनताको जनवाद, नौलो जनवादको कार्यक्रम पूरा गर्यौं।
पूँजीवादी क्रान्ति कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्भव हुन्छ। फ्रान्स, अफ्रिका, बेलायतमा क्रान्तिबाट उदाएकाहरू एकाधिकार पूँजीवादमा गइसके। अहिलेको पूँजीपति वर्गमा राष्ट्रिय चरित्र छैन, प्रगतिशील चरित्र छैन त्यसकारण उनीहरूले अब क्रान्तिको नेतृत्व गर्न सक्दैनन्। त्यस्तो क्रन्तिको नेता कम्युनिष्ट पार्टी, मजदुर वर्ग हो। सामन्तवाद, साम्राज्यवाद क्रान्तिको मुख्य शत्रु हो। साम्राज्यवादी शक्तिसँग समन्वय र संसर्ग गरेर जन्मिएको नोकरशाही पूँजीवाद पनि पनि क्रान्तिको शत्रु हो। राष्ट्रिय पूँजीपति र मजदुर, किसानले क्रान्तिको समर्थन गर्छन्।
क्रान्तिपछि पूँजीवादी व्यवस्था आउँछ। तर, त्यो पूँजीवादी जनवादी व्यवस्था हुन्छ। फ्रान्सको क्रान्तिपछि स्थापित भएको व्यवस्था जस्तो व्यवस्था हामीले भनेका होइनौ। क्रान्ति सम्पन्न भइसकेपछि स्थापित हुने राज्य व्यवस्था कतातिर जान्छ त? भन्ने प्रश्न पनि छ। हामीले भनेको क्रान्तिको दिशा समाजवाद उन्मुख हुन्छ। संसारभर हुने पूँजीवादी क्रान्तिको मुख्य चरित्र यही हो।
आज हाम्रो मुख्य अन्तरविरोध दलाल नोकरशाही पूँजीवादसँग छ। वर्गीय हिसाबले दलाल पूँजीपतिसँग हाम्रो मुख्य अन्तरद्वन्द्व छ।
यस अर्थमा २०६२/६३ को क्रान्तिले सामन्तवाद विस्थापित गरेर हामीकहाँ पूँजीवादी उत्पादन पद्धतिको बाहुल्यता भएको समाज बनेको छ। भनेपछि अब कम्युनिष्ट पार्टीहरूले कस्तो कार्यक्रम बनाउनुपर्छ?
हिजो क्रान्तिको रणनीति अनुरुपको कार्यक्रम थियो। रणनीतिलाई सहयोग गर्नेगरी विभिन्न अवस्था अनुसार संगठन निर्माण गर्ने, संघर्षका खाका तयार गर्ने, नारा बनाउने, हिंसात्मक र शान्तिपूर्ण वा संवैधानिक संघर्षका उपाय अपनाइन्थ्यो। आज आईपुग्दा हामीले भनेको क्रान्तिका चार वटा आधारभूत सिद्धान्त अब पूर्ण रुपमा परिवर्तन भए।
क्रान्तिको नेता, नेतृत्वकर्ता अब सर्वहारा भन्दा पनि श्रमजीवी वर्ग हो। ‘वर्किङ क्लास’ले नै अब क्रान्तिको नेतृत्व गर्ने हो। ‘वर्किङ क्लास’को नेतृत्व कम्युनिष्ट पार्टीले गर्ने हो। हिजो सामन्तवाद र दलाल नोकरशाही पूँजीपति क्रान्तिको मुख्य शत्रु थियो। आज वर्गीय तवरमा दलाल नोकरशाही पूँजीपति वर्ग र प्रणालीका हिसाबले दलाल नोकर शाही पूँजीवाद हाम्रो मुख्य शत्रु हुन्। दुईवटा वर्गमा एउटा वर्ग सकियो एउटा वर्ग मात्र बाँकी छ। क्रान्तिको मुख्य शत्रु त्यही हो। त्यो वर्गलाई क्रान्तिले निषेध गरेपछि मात्र बल्ल समाजवाद आउँछ।
अबको क्रान्तिपछि स्थापित हुने राज्य व्यवस्था समाजवादी व्यवस्था हो। क्रान्तिको दिशा समाजवाद हो। समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हो। क्रान्तिको दिशा साम्यवादतिर र क्रान्तिपछि स्थापित हुने राज्य व्यवस्था भनेको समाजवाद हो भन्ने कुरामा प्रष्ट हुनुपर्छ। अब समाजवादी कार्यक्रमको युग प्रारम्भ भयो।
हिजो जनवादी क्रान्ति पूरा हुनुपर्छ भनेर सबै कम्युनिष्टहरू जसरी लागेका थिए त्यसैगरी आज समाजवादी क्रान्तिको युग सुरु भयो भनेर लागेका छैनन्। समाजवादी क्रान्तिको चरण सुरु भयो भन्न पनि हाम्रा कम्युनिष्टहरू अलमलमा छन्। कन्फ्युजनमा छन्।
पूँजीवादी क्रान्ति सम्पन्न भएपछि समाजवादी क्रान्तिको चरण त सुरु भयो नि। सामन्तवादी क्रान्ति समाप्त भएपछि पूँजीवादी युग आउँछ। पूँजीवादी क्रान्तिको चरण समाप्त भएपछि समाजवादी क्रान्तिको चरण आउँछ। यदि यसो नहुने हो भने त ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको किन यति लामो व्याख्या गर्नुपर्ने थियो र ?
यी सबै युगको परिवर्तनमा वर्ग संघर्षको मुख्य भूमिका छ। वर्ग संघर्षसँगै त्यहाँ उत्पादन सम्बन्धको संघर्ष पनि हुन्छ। यी दुई संघर्षका कारण समाज परिवर्तन हुँदै आउने हो। त्यसलाई राजनीतिक दलले नेतृत्व दिएर फड्को मार्न सिकाउने हो। क्रान्ति गलत दिशातिर नजाओस् भनेर त्यसको नेतृत्व गर्ने हो।
एमालेको भाषामा जनताको बहुदलीय जनवादी क्रान्ति, माओवादीको भाषामा नौलो जनवादी क्रान्ति सम्पन्न भयो भनेर सबैले भन्नुपर्छ। अब पूँजीवादी जनवादी व्यवस्थामा टेकेर त्यसको उपरी–संरचनालाई प्रयोग गरेर त्यसको आर्थिक आधारमा पूँजीवादी जनवादी उत्पादन पद्धतिलाई बल पुर्याउने, विकास गर्ने, प्रश्रय दिने हो। पूँजीवाद अधिकतम रुपमा विकास गरेर त्यही पूँजीवादमाथि टेकेर समाजवादको आधार तयार पार्ने हो।
हामीकहाँ कम्युनिष्ट पार्टीहरूले ‘दलाल पूँजीवाद’ भनेर भन्ने गर्छन्। दलाल पूँजीवाद सबैखाले पूँजीपतिहरू हामीलाई दलाल भन्यो भनेर तर्सिन्छन्। तपाईले क्रान्तिको चरण व्याख्या गरिरहँदा कुन चरित्रको पूँजीपति दलाल पूँजीपति वर्ग हो। फेरि क्रान्तिले सेवा गर्ने क्रान्तिको साथि हुने पूँजीपति वर्ग कुन हो भनेर पनि छुट्याउनु पर्ला कि ?
हामीले कुनै व्यक्ति वा संस्था भन्नु भन्दा पनि दलाल पूँजीपतिको प्रवृत्ति बोकेको पूँजीपति वर्ग हो कि वा राष्ट्रिय पूँजीपतिको चरित्र बोकेको पूँजीपति वर्ग हो भनेर छुट्याउनु पर्यो। दलाल पूँजीलाई निरुत्साहन गरेर राष्ट्रिय पूँजीलाई प्रोत्साहन गर्ने, बलियो बनाउने गर्नुपर्छ।
हामी त गरिबीमा छौं, गरिबिबाट मुक्त हुनु पर्यो। हाम्रोमा व्यापक बेरोजगारी छ। बेरोजगारीबाट पनि मुक्त हुनुपर्यो। दलाल पूँजीवादले १० वटा रोजगारी सिर्जना गर्छ भने राष्ट्रिय पूँजीवादले १०० वटा रोजगारी सिर्जना गर्छ। राष्ट्रिय पूँजीपतिले नै आज हामीलाई आवश्यक पर्ने राष्ट्रिय उत्पादन र उत्पादकत्व बृद्धि गर्छ।
४० प्रतिशतको हातमा ५ प्रतिशतभन्दा कम जिडिपीको हिस्सा छ। १० प्रतिशतको हातमा २६ प्रतिशत जिडिपिको हिस्सा छ। भनेपछि त असमानता त एकदमै बढ्दै गएको छ नि। दलाल पूँजीपति प्रवृत्तिले, नोकरशाही पूँजीपति प्रवृत्तिले धनि र गरिबको बिचमा खाडल बढाउँदै लैजान्छ। थोरै परिवारको हातमा राष्ट्रको सम्पत्ति, स्रोत साधन केन्द्रित हुँदै जान्छ।
दलाल पूँजीपति प्रवृत्तिले, नोकरशाही पूँजीपति प्रवृत्तिले उत्पादकत्व बढाउने कुरालाई प्रोत्साहन गर्दैन्। राष्ट्रिय पूँजीवादी चरित्रका उद्योग, व्यापार, उत्पादन, गरिबी निवारण, रोजगारी सिर्जना गर्ने र धेरै भन्दा धेरै सम्पत्ति विस्तारै सार्वजनिक बनाउँदै लगेर समाजवादको आधार तयार पार्ने हो।
एमाले क्रान्तिको नेता हो, एमालेले समाजवादी क्रान्तितिर जाने क्रान्तिको नेतृत्व गर्छ भन्नुभयो। जनवादी क्रान्ति पूरा भइसकेपछि जनताको बहुदलीय जनवादले समाजवादी क्रान्तिको वैचारिक नेतृत्वगर्न सक्छ कि सक्दैन भन्नेमा अलमल देखिन्छ नि ?
त्यही एउटा मनोविज्ञान छ मानिसको। जनताको बहुदलीय जनवाद पूँजीवादी क्रान्तिको मार्ग निर्देशक सिद्धान्त थियो। समाजवादी क्रान्तिको चरण सुरु भयो भन्ने वित्तिकै जनताको बहुदलीय जनवादको औचित्य सकिन्छ। जनताको बहुदलीय जनवादलाई जनै समाते झै समात्ने प्रवृत्तिले नै क्रान्ति भा’को छैन भन्ने हो।
कतिपयले पूँजीवादी क्रान्ति पूरा भयो भन्ने स्वीकार गर्दा जनताको बहुदलीय जनवादको औचित्य समाप्त हुन्छ कि भनेर चिन्ता मानेको देखिन्छ। निश्चय नै औचित्य समाप्त हुन्छ। एउटा कार्यक्रमका लागि ल्याएको विचार अर्को कार्यक्रममा पनि फिट हुन्छ भन्ने त हुँदैन। त्यसरी फिट हुन्छ भन्नु भनेको त द्वन्द्वात्मक भौतिकवाद विपरित कुरा हो।
अब अगाडि बढाउने समाजवादी क्रान्तिको कार्यक्रम हो। हामीले अगाडि बढाउने समाजवादी क्रान्तिको मुख्य नेता नेपालको कम्युनिष्ट पार्टी हो। त्यो भनेको अहिलेको मूलधार नेकपा एमाले हो। श्रमजीवी वर्गको पार्टी हो।
पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्दा सर्वहारा वर्गको पार्टी भन्नुभयो। पाँचौं महाधिवेशनमा मदन भण्डारीले अहिले सर्वहारा वर्ग कति छ र हाम्रो मुलुकमा ? भनेर प्रश्न गर्नुभयो। अनि उहाँले हामी त नयाँ परिवशेमा आईसक्यौं, शान्तिपूर्ण भनेर चुनाव लड्नु पर्ने अवस्थामा आईसक्यौं। त्यसमाथि यो देशमा सर्वहारा वर्गको सख्ंया पनि २ प्रतिशत जति मात्र छ त्यसैले अब हामी सर्वहारा श्रमजीवी वर्गको पार्टी हौं भन्नुभयो।
नवौं महाधिवेशनमा आएर सर्वहाराको होइन अब श्रमजीवी वर्गको पार्टी भनियो। नेपालको वर्गीयसंरचना परिवर्तन भईरहेको छ त्यसकारण कुन वर्गको पार्टी भनेर आफ्नो हिस्सेदारी प्रकट गर्ने क्रममा यसरी परिवर्तन भएको हो। समाजवादी क्रान्ति गर्नका लागि क्रान्तिको नेता कम्युनिष्ट पार्टी नै हो। त्यो क्रान्तिको मुख्य शक्ति श्रमजीवी वर्ग हुन्।
आफ्नो मुलुकको भौगोलिक, राजनीतिक, सामाजिक र वर्ग संघर्षको अवस्था कस्तो छ भन्ने आधारमा क्रान्तिको बाटो तय गर्ने हो। जसले आफ्नो मुलुकको विशेषता अनुसार क्रान्तिको बाटो तय गर्न सके ती सफल भए।
मदन भण्डारीले स्पष्टताका साथ, किटानीका साथ आफ्नो देशको विशिष्टता अनुसार क्रान्ति गर्ने भनेका हुन्। अर्थात् आफ्नो देशको आवश्यकता अनुसार क्रान्तिको बाटो तय गर्ने भनेको हो।
तपाईंहरूको ढिलो चाँडो महाधिवेशन होला। छलफल होला र कार्यक्रम आउला भन्ने आश गरौं।
तपाईंको भनाई अनुसार एमाले नेपालका कम्युनिष्ट पार्टीहरूमा मुख्य शक्ति त हो, गतसालको निर्वाचनले पनि त्यसलाई पुष्टि गरेको छ। सँगसँगै के छ भने जनमत एमालेको पनि घट्दो क्रममा रहेको छ। पार्टीहरू विभाजित भएको र अस्तव्यस्त भएको अवस्थामा एमाले र अरु पार्टीको भूमिकालाई एकै ठाउँमा ल्याउनुपर्ने मोर्चा बनाउनुपर्ने, सँगै हिड्नुपर्ने, कार्यक्रमिक एकता गर्नुपर्ने, अथवा साझा कार्यक्रम बनाएर हिड्नुपर्ने पाटोतिर पनि केही सोच्नुभएको छ कि ?
सबैलाई एकठाउँमा ल्याउने विषयमा मदन भण्डारी सफल थिए। त्यो सफलता मालेको विरासतबाट प्राप्त भएको थियो। माले पार्टी नै विभिन्न टुक्रिएका, विखण्डित भएका कम्युनिष्ट समूहहरूलाई जुटाएर बनेको थियो।
मदन भण्डारी महासचिव भएपछि उनले कम्युनिष्ट पार्टी (माओले भने अनुसार क्रान्ति सम्पन्न गर्न कम्युनिष्ट पार्टीका तीन हतियार हुन्छन्– क्रान्तिकारी कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टीको नेतृत्वमा चलने शसक्त जनसेना, र व्यापक संयुक्त मोर्चा। यी तीन चिज क्रान्तिका महत्वपूर्ण हतियार हुन्।) ले सफलता प्राप्त गर्नका लागि संयुक्त मोर्चा जरुरी छ भने। संयुक्त मोर्चाको नीति पनि स्पष्ट हुन जरुरी छ भने। त्यो स्पष्ट नीति मदन भण्डारीले अबलम्बन पनि गरे।
कम्युनिष्ट र काँग्रेस मिलेर पञ्चायत फाल्ने भनेका त छन् तर, कम्युनिष्टहरू विभाजित छन्। तर, विभाजित कम्युनिष्टको कुन खेमासँग मिलेर आन्दोलनमा जाने भनेर काँग्रेसले प्रश्न गर्यो।
त्यसपछि मदन भण्डारीले संयुक्त वाम मोर्चा बनाउने प्रस्ताव गरे। उनको त्यो प्रस्ताव अहिलेको माओवादी त्यतिखेरको मोटो मशालले अस्वीकार गर्यो। मोहन विक्रम सिंह नेतृत्वको पातलो मसाल पनि मोर्चामा बस्न अस्वीकार गरेर हिड्यो।
अरु बाँकी सबै समूह संयुक्त वाम मोर्चामा आए। बृहत खालको राजनीतिक मोर्चा बन्यो। एउटा वाम शक्ति अर्को काँग्रेससहित दुई शक्ति एकातिर अर्कोतिर राजा भएपछि राजा पराजित भए।
त्यस यता आएपछि संयुक्त मोर्चामा नेपालका कम्युनिष्टले राम्रोसँग अभ्यास गर्न सकेका छैनन्। ०७२ को नाकाबन्दिको विरुद्धमा सबै कम्युनिष्टहरू एकठाउँमा आए। सरकारमा समेल भए। नेपाल मजदुर किसान पार्टी सरकारमा नआएपनि उसले पनि समर्थन गरेको थियो। केपी ओलीको प्रधानमन्त्रीत्वकालमा एउटा व्यापक संयुक्त मोर्चाको अवधारणा बन्यो।
त्यो मार्चा राजनीतिक रुपले बनेको थिएन। ओली सरकारमा हुँदा बनेको थियो। चुच्चे नक्सा बनाउँदा नेपाल एउटै पक्षमा उभियो। यो संयुक्त मोर्चाको सफल कार्यान्वयन थियो। आजको दिनमा वामपन्थी संयुक्त मोर्चाको कुरा गर्छु म। वामपन्थी संयुक्त मोर्चा बनाउने कुनै प्रयत्न गरेका छैनौं हामीले। शान्तिपूर्ण जनक्रान्ति पूरा भएपछि हामी दोबाटोमा छौं। पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो दोबाटोमा उभियौं। एउटा बाटोबाट हिड्दा समाजवादमा पुगिन्छ, अर्को बाटो हिड्दा साम्राज्यवाद या दलाल पूँजीवादमा पुगिन्छ। यहाँबाट अब प्रष्ट रुपमा दुई वर्गका बाटा छुटिन्छन्। कमसेकम देव्रे बाटो हिडेर समाजवादमा पुग्छौं भन्ने शक्तिहरू एउटै ठाउमा हुनुपर्ने हो। राजनीतिक रुपले त्यस्तो खालको व्यापक संयुक्त मोर्चा आजको आवश्यकता हो।
अहिले कमसेकम नीतिगत रुपमा संयुक्त मोर्चा बनाउन सकिन्छ। अहिले समाजवादी मोर्चा भनेका छन्। यो त सत्ता चलाउन, एमालेको विरुद्ध खडा भएको मोर्चा हो। आफ्नो अस्तित्व जोगाउन खडा भएको यो मोर्चाको कुनै नीतिगत आधार छैन। नीतिगत आधार छ भने त्यसले त भन्नु पर्यो नि हामी सबैको लक्ष्य समाजवाद हो। हामी राष्ट्रिय पूँजीको प्रर्वद्धन गर्छौं। आत्मनिर्भर अर्थतन्त्र बनाउने, जनवादी संस्कृतिको बाटोबाट समाजवादी संस्कृतितिर जाने भनेर घोषणा गर्नुपर्यो। कुटनीति, अर्थनीति, संस्कृति, गणतन्त्र, संघीयता यस्ता केही आधारमा समाजवादमा जानका लागि संयुक्त मोर्चा बनाउँछौं भन्नुपर्यो। समाजवादी भन्ने शक्ति त सबै यसरी जुट्नु पर्यो।
अहिले माधव नेपालको पार्टीमा पनि संकट छ। माओवादीमा पनि संकट छ, भित्रभित्रै मानिसहरू एमालेमा आउन तयार भएर बसेकाछन्। उनीहरू सरकारमा भएर केही न केही फालिराख्या हुन्छ त्यसैले मान्छेहरू ती पार्टीमा टिकेका छन्। आफ्ना मान्छे त ध्रुवीकृत हुँदैछन्, यही ध्रुवीकरणलाई रोक्नका लागि उनीहरूले मोर्चा बनाएको देखिन्छ।
काँग्रेससँग मिलेर जसले सरकार बनाउँछ तिनीहरूको मात्र त्यहाँ मोर्चाबन्दी देखिन्छ। त्यो मोर्चामा नेपाल मजदुर किसान पार्टी किन नभएको ? सिपी मैनालीको नेकपा माले किन भएको ? अरु शक्ति किन नजोडिएका त ? हामी संयुक्त मोर्चाको विरोधी, कार्यगत एकताको विरोध हैनौं। पछिल्लो कालखण्डमा आएर सरकारको माध्यमबाट व्यापक संयुक्त मोर्चाको अभ्यास एमालेले नै गरेको हो। ०७२ मा संविधान बनाउने बेलामा पनि काँग्रेसलाई साथ लियौं। एमाले त यस्ता कुरामा धेरै उदार देखिन्छ। ०४६ सालको परिवर्तनमा पनि काँग्रेससँग मालेले मोर्चाबन्दी गरेको थियो। त्यतिखेर पनि मालेको नीति सफल थियो।
संविधानसभाको माध्यमबाट संविधान बनाउँदै गर्दा संविधाको मुलभूत कुरामा एमाले, काँग्रेस, माओवादीसहितका सबै दलहरू एकै ठाउँमा आएका हुन्। एमालेले सबै दलसँग कार्यगत एकता गरेको हो। संविधान बनाउँदाको त्यो अस्थायी प्रकृतिको कार्यगत मोर्चा थियो। एउटा विषयका लागि बनाइएको मोर्चा थियो।
पछिल्लो कालमा क्रान्ति सम्पन्न भईसकेपछि माओवादी केन्द्रसँग मोर्चा बनाइयो, पार्टी एकता गरियो। तर, त्यो हतारमा गरेको तीन वर्षपछि लतार भइहाल्यो। पार्टी एकताका लागि धेरै कुरा मिलाउनु पर्ने थियो। त्यो मिलाउन नसक्दा हाम्रा लागि पार्टी एकता आत्मघाती भयो। आत्मघाती किन भयो भने नेकपा हुँदासम्म पार्टी पंक्ति नै चलेन। एउटा पनि सदस्य थपिएन। हामीलाई पुग्यो भन्ने ठानियो। समाजवादतिर जानका लागि त्यो एकताले नोक्सान पुर्यायो हामीलाई।
पछिल्लो कालमा एमालेले सरकारको माध्यमबाट जुन संयुक्त मोर्चाको अवधारणा अगाडि ल्यायो त्यसका लागि त हामीले धेरै कसरत गर्यौ। वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूको एकता चाहिन्छ। मुलुकलाई समाजवादमा रुपान्तरण गर्ने बेला हो। कुटनीतिक सम्बन्धलाई विस्तार गर्ने बेला हो। मुलुकलाई गरिबीबाट मुक्त गर्ने बेला हो। अल्प विकसित अवस्थाबाट मुलुकलाई विकासशील मुलुक हुँदै देशलाई विकसित राष्ट्रको दाँजोमा पुर्याउने बेला हो। यी काम गर्न दक्षिणपन्थी गठबन्धमा बसेर हुँदैन।
वर्गीयरुपले मुख्य प्रतिद्वन्द्वी, राजनीतिक रुपले मुख्य प्रतिद्वन्द्वीको पछि लागेर जानु भनेको आत्मसर्मपण हो। राजनीतिक रुपले लम्पसारवादी नीति हो। त्यसमा पनि विदेशी, साम्राज्यवादी शक्तिहरूको अगाडि घुँडा टेक्नु त झन् खतरनाक छ। त्यसकारणले तिनीहरूले कम्युनिष्ट आन्दोलनलाई ठूलो घात गरेकाछन्।
भिडियो–