Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

झिँगा

राजेन्द्र पराजुली राजेन्द्र पराजुली
भदौ ३०, २०८०
- पुस्तक, विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका थिए। उनका विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चस्मा लगायतका कथा सङ्ग्रह प्रकाशित छन्। यसैगरीअनायिका उपन्यास, भ्रष्ट संवेदना कवितासंग्रह र कोटेश्वरको केटो संस्मरण प्रकाशित छन्। उनले केही साहित्यीक पत्रिकाको सम्पादन पनि गरेका थिए। एक महिना अघि मात्र जन्तरमन्तर कथा सङ्ग्रह प्रकाशित गरेका पराजुलीको यही भदौ २६ गते निमोनीयाका कारण निधन भएको छ। उनी ५८ वर्षका थिए। नेपाल रिडर्स कथाकार पराजुलीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।

    उनी काठमाडौंको कोटेश्वरमा जन्मे हुर्केका हुन्। काँठबाट शहरीकरण भएको आफ्नो क्षेत्रको परिवर्तनका एकजना साक्षी पनि हुन् जसले उनको लेखनलाई निरन्तर प्रभावित गरिरहेको देखिन्छ। आफ्ना कथामा उनी मूलतः नेपाली राजनीति र त्यसका पात्रका पछिल्ला प्रवृत्तिहरु माथि व्यंग्य गर्ने, विसंगतिहरुमाथि निर्धक्क आलोचना गर्ने र प्रश्न गरिरहन्थे । यसपटक हामीले दिवंगत पराजुलीको हालसालै प्रकाशित कथासङ्ग्रह जन्तरमन्तरबाट झिंगा कथा यहाँ साभार गरेका छौं। उनले यो कथामा नेपाली राजनीति र त्यसको नेतृत्वमात्र हैन हाम्रो बौद्धिक जगत पनि कति भ्रष्ट र अनैतिक छ भन्ने देखाएका छन् र आफ्नो आक्रोश व्यक्त गरेका छन् । जन्तरमन्तर शिखा बुक्सले प्रकाशनमा ल्याएको हो।

    कथा 
     

                                             झिँगा

    लामो समय मौन बसे, प्रोफेसर सुवेदी।

    जिन्दगीका दिव्य २५ वर्ष मौन बसेका प्रोफेसर गणेशप्रसाद सुवेदी अचानक बोल्न थाले। पक्षधरता प्रकट गर्न थाले। उनी अचानक सिद्धान्तका कुरा गर्न थाले। लोकतन्त्र र खुल्ला बजार अर्थतन्त्रका हिमायती बनेर एकाएक प्रकट भए।

    मानिसहरू छक्क परे। विशेषगरी उनलाई चिन्नेहरू एकापसमा प्रश्न गर्न थाले, के भएछ हँ यो प्रोफेसरलाई!

    अचानक किन यो प्रोफेसरका नसाहरु उल्टो चल्न थाले?

    उनको मौनव्रत जसरी लय नमिलेको देखिन्थ्यो, सैद्धान्तिक कुरा पनि उसैगरी लयहीन थियो। बेसुरा थियो मौन। अधिकांशले त्यो लयहीन र बेसुरा मौनव्रत मन पराएनन्।

    उल्टिएको उनको स्वभाव देखेर मानिसहरू उनलाई झिँगाको उपमा दिन थालेका थिए। ‘झिँगाले कता छ गुलियो– त्यो खोज्न थालेको छ,’ भन्न थालेका थिए।

    प्रतिष्पर्धात्मकताले बजार नियन्त्रण गर्ने, उपभोक्ता लाभान्वित हुने र मुलुकमा त्यसलाई लागू गर्न सक्ने एकमात्र दल नेपाली काङ्ग्रेस रहेको व्यहोराको डेढ हजार शब्दको आलेख एउटा ठूलो आकारको दैनिक पत्रिकामा छपाए उनले। नामका अघिल्तिर प्राध्यापक देखेपछि पत्रिकाले त्यसलाई अग्रलेख बनाइदिएको थियो।

    आलेख छापिएको दिनको पत्रिका उनले दर्जन वटा किने। काङ्ग्रेस सभापतिले त्यो आलेख पढून् भन्ने उनको भित्री मनसाय थियो। त्यसैले त्यो दिनको पत्रिका सात बजेको हाराहारीमा उनले सभापतिका पीएलाई दिँदै अनुरोध गरे, ‘‘जसरी हुन्छ सभापतिज्यूका आँखामा यो आलेख पारिदिनु है, मिल्छ भने पढेर भए पनि सुनाइदिनू।’’ पीए उनका नातेदार थिए। त्यसैले उनको चाहना पूरा हुने सम्भावना बलियो थियो।

    पीएले प्रोफेसरको अनुरोध टाउको हल्लाएर स्वीकार गरे, निकै लामो हाइ काड्दै। पीएको नाकमा त्यसै बखत ठूलो झिँगा आएर बसेको थियो। उनले झिँगा हटाउन बेस्सरी आफ्नो नाकमा हिर्काए। झिँगा भाग्यो, तर उनलाई अलि बढी नै दुख्यो। केहीबेर उनले नाक सुमसुम्याए। झिँगा कतो गयो– खोजे, तर त्यो सानो जीव कतै हराइसकेको थियो।

    पार्टी सरकारमा नभएका बखत बिहान ढिलोसम्म सुत्ने आदत थियो उनको। त्यसमाथि छिप्पिएर बूढो भएको जाडोको महिना। माघको अन्तिम साता।

    निख्रिँदो जाडो उसै पनि कडा हुँदै गएको थियो, अघिल्लो दिन पानी परेको थियो। मान्छेहरू जाडो भगाउने पानी भन्थे त्यसलाई। तर त्यसले जाडो झनै बढाइदिएको थियो। त्यो बिहान अघिल्लो दिनभन्दा थप चिसो बनेको थियो। हल्का हुस्सु लागेको थियो, काठमाडौंको बिहानको सात बजेको आकाशमा।

    पीएलाई आफूले बोलेका कुरा जाडोका कारण जमेर बाहिर ननिस्केला जस्तो लाग्थ्यो। त्यसैले उनी मुख खोलिरहेका थिएनन्। मुख खोल्दा बाहिरको चिसो आफ्नो दाँतमा ठोक्किएला झैं गरिरहेका थिए।

    उनका नाकका फोहोराबाट इँटाभट्टाबाट निस्कने मुस्लोजस्तो बाफ उत्पन्न भइरहेको थियो। सुवेदीलाई नाकको प्वालबाट निस्कने त्यो बाफ अचम्मको लाग्यो। उनले त्यति बाक्लो बाफ मान्छेको नाकबाट निस्केको आजसम्म देखेका थिएनन् वा याद गरेका थिएनन्।

    जाडोमा पीएलाई बिहान १० बजेसम्म सुत्न मन लाग्थ्यो। कोठामा बाक्लो पर्दा हालिएको थियो, सिरक झनै बाक्लो थियो। शरीरबाट स्विटर निकालेका थिएनन् उनले। सुत्ने बेला अल्छी लागेर ज्याकेटमात्र फुकालेर सुतेका थिए। उनी कामना गर्थे– हिउँदमा पार्टी सरकारमा नरहोस्। पार्टी सरकारमा भएका बखत त उनी के जाडो के गर्मी, फुर्सदै पाउँदैनन्। लामो समयदेखि सभापतिको विश्वासपात्र जो थिए उनी।

    जाडो उनको मन नपर्ने महिना, शत्रु भन्दा हुन्छ यो यामलाई। उमेर छँदा उनलाई जाडो खुब मन पर्थ्यो, ४० कटेपछि जाडो मन पर्न छाड्यो। उनलाई जाडो मन पर्न छाडेको पनि अब त दुई दशक पुग्न लागिसकेको थियो।

    त्यस दिन प्रोफेसरको फोनको घण्टीले उनको निद्रा बिउँझाइदिएको थियो। घण्टी बज्न थालेपछि सुरुमा त उनलाई रिस उठेको थियो। मोबाइलमा नाम देखियो, घण्टी बजाइदिनेको। नाताका मानिस, त्यसमाथि प्रोफेसर। कुनै बेला काम लाग्ने उनले देखे। त्यसैले फोन उठाए र घरमा आउन भने। तर घरमा आएपछि उनको कुनै पनि बोली निस्केको छैन। जेजे प्रोफेसर भन्थे, सबैमा उनी टाउको हल्लाएर जवाफ दिन्थे। सय ग्रामको जिब्रो मौन थियो, चार–पाँच हजार ग्रामको टाउको बोलिरहेको थियो।

    उनको पार्टी थुप्रै हिउँद र वर्षा सरकारबाहिरै बसिसकेको थियो, एकप्रकारले स्थायी प्रतिपक्षजस्तो। लामो समय सरकारमा जान नपाएपछि त्यस्तै लाग्दो रहेछ। अघिल्लो निर्वाचनमा पार्टी नराम्ररी पछारिएको थियो। फेरि निर्वाचन आउँदै थियो। छरिएका वामपन्थीहरू एकजुट भइरहेका थिए भने त्यो पार्टी आन्तरिक किचलोले ग्रस्त। त्यही कुराबाट दिक्क बनेका सभापतिले घरमा सप्ताह लगाएका थिए। उनी कुनै पनि उपाय लगाएर पार्टीमा एकताको सन्देश दिन चाहिरहेका थिए। तर असफल भइरहेका थिए। सप्ताहमा पार्टीका जिल्ला तहका नेतासम्म बोलाइएको थियो। सरकारमा रहेका पार्टीका उच्च नेता पनि आमन्त्रित थिए।

    सभापतिले चुनाव जिते पनि पार्टीले हार्नुको मुख्य कारण उनैलाई मानिएको थियो। अधिकांश नेताले दोष उनको टाउकोमा खन्याएका थिए। उनीहरू पार्टीभित्रको किचलो नै हारको प्रमुख कारण देखिरहेका थिए।
    …

    एकाएक किन र कुन अवसरमा बोले प्रोफेसर?

    के त्यस्तो अवस्था आइपर्‍यो र आफूलाई अराजनीतिक मानिस भन्न रूचाउने प्रोफेसरले मुख खोले? लोकतान्त्रिक सिद्धान्तका कुरा गरे? हिजोका दिनमा उनी किन मौनताप्रेमी थिए? के उनी अब जिन्दगीको उल्टो यात्रा सुरू गर्न चाहिरहेका छन्? चासो परेका मानिसहरू यही प्रश्नमा अल्झिरहेका थिए।

    अरूका आँखाले उनले उल्टो यात्रा गरिरहेको देख्थ्यो, तर उनी आफ्ना आँखाले त्यसलाई नितान्त सुल्टो देखिरहेका थिए।

    के मुलुक र राजनीतिलाई सङ्कट परेका बखत चुपचाप बस्नु, जनताले परिवर्तन चाहिरहेका बखत मौन रहनु सचेत मानिसको काम हो? यसको उत्तर प्रोफेसरले कहिल्यै दिन सक्ने छैनन्– उनलाई चिन्नेहरूको जबाफ यस्तो आउँथ्यो।

    यी प्रश्नहरूले सबैभन्दा बढी प्रोफेसर सुवेदीको कुनै समयको रूमपार्टनर जगत्‌लाई पिरोलेको थियो। जगत् अहिले पनि सुवेदीको छिमेकी। जगत् हिजो त्यही पार्टीका निम्ति सारा कुरा त्यागेर लागेको पात्र, जुन पार्टीमा अहिले सुवेदी प्रवेश गरेका छन्।

    जगत् ४६ सालमा विद्यार्थी आन्दोलन हुँदा सडकमा अग्रपङ्क्तिमा उभिएका थिए। जगत्‌ले जेलयात्रा गरिरहँदा सुवेदी मौनयात्रामा थिए। उनले सुवेदीलाई पनि आन्दोलनमा हिँड्न अनुरोध गरिरहन्थे। तर सुवेदी मौन थिए, उनको अस्त्र ‘मौन’ थियो। ‘विद्यार्थीले राजनीति गर्ने हो र, पढ्ने पो हो त’ एक दिन सुवेदीले यत्ति जवाफ फर्काएका थिए। सकेसम्म जगत्‌लाई पनि आन्दोलनमा नलाग्न सल्लाह दिइरहे उनी। कुनै एक दिन तिनै सुवेदीले जगत्‌लाई पक्रन प्रहरीको मद्दत गरेको कुरो धेरै समयपछि घरबेटीले सुनाएका थिए। ४६ को आन्दोलन कुनै पनि हालतमा सफल नहुने उनको ठोकुवा थियो। सोही छेकोमा सुरू भएको उनको मौनयात्रा साढे दुई दशकसम्म चल्यो। र, अहिले आएर त्यो यात्रा अचानक स्थगन भयो।

    कसैगरी जगत्‌लाई थाहा भयो– सभापतिले घरमा लगाएको सप्ताहमा सुवेदीले मौनव्रत भङ्ग गरेको। सप्ताहमा ‘गणेश’ बसेका बखत सत्तारूढ दलका वैकल्पिक अध्यक्षलाई व्यङ्ग्य गर्दै मौनव्रत तोडेको पनि थाहा भयो। सप्ताहमा जगत्‌लाई बोलाइएको थिएन।
    …

    प्रोफेसर सुवेदीले सबैभन्दा कडा मौनव्रत २०४६ सालदेखि कायम गरे। रूमपार्टनर जगत्‌लाई आन्दोलनमा नलाग्न निरन्तर दबाब दिए। त्यतिमात्र होइन, जगत् खतरनाक मान्छे भएकाले उसलाई कोठाबाट हटाउन घरबेटीलाई सुझावसमेत दिए पटकपटक। तर घरबेटीले उनलाई कोठाबाट कहिल्यै निकालेनन्। जगत्‌ले उनलाई आन्दोलन, परिवर्तन, लोकतन्त्रजस्ता विषयमा राम्ररी बुझाएका थिए। पढेलेखेको मानिसले अन्याय, अत्याचार र थिचोमिचोको विरूद्ध बोल्नुपर्ने घरबेटीले बुझेका थिए।

    जगत्‌ले सत्तालाई सधैं प्रश्न गरिरहे। उनी कहिल्यै मौन रहेनन्, रहनै सकेनन्। उनका प्रश्नहरू जसरी जायज थिए, उसैगरी लययुक्त पनि थिए। अधिकांश मानिस उनका प्रश्नहरू मन पराउँथे।

    २०४६ मात्र होइन, २०६२ साल।
    र, अन्य समयमा पनि।
    संविधानसभाको निर्वाचन।
    राजाको वहिर्गमन।
    गणतन्त्र घोषणा।
    गणतन्त्रपछिको राजनीतिक अवस्था।
    जनजीविकामा नआएको परिवर्तन।
    जगत् कहिल्यै मौन रहेनन्।
    जगत्‌ले सबैभन्दा बढी प्रश्न आफ्नै पार्टी र त्यसका शीर्ष नेताहरूलाई गरिरहे।
    …

    सभापतिलाई लाग्थ्यो– आफ्नो पार्टीलाई दशा लागेको छ। पार्टीलाई दशा लागेपछि चुनाव हार्नु ठूलो कुरो हुँदै भएन। अब यो दशा हटाउन आफूले घरमा सप्ताह लगाउनु, पूजापाठ गर्नु आवश्यक रहेको उनको ठहर थियो। पार्टीलाई दशा लागेको कुरो उनी आफैंले भनेका चाहिँ होइनन्। उनका गुरू श्री श्री गोपालदासजी महाराजले केही समयअघि नेपाल आउँदा बताइदिएका थिए। त्यसबाट मुक्त हुन उनको माझी औंलामा गुरूले एउटा औंठी पनि लगाइदिएका थिए। भारतमा चर्चित गोपालदासजी महाराज कहिलेकाहीँ नेपाल आउँथे, पशुपतिनाथको दर्शन गर्न।

    केही वर्षअघि गोपालदासजी महाराजलाई भारतमा मुद्दा लगाइयो। उनीमाथि बालिका बलात्कारको आरोप थियो। केही समय जेल पनि बसे। त्यसबेला यता तिनै सभापतिको पार्टी सत्तामा थियो र उनी देशको प्रमुख कार्यकारी बनेका थिए। यताबाट उनले गुरू महाराजलाई जेलबाट छुटाउन आर्थिक सहयोग गरेको कुरो पत्रपत्रिकाले लेखेका थिए। त्यतिमात्र होइन, गुरूजस्ता संसारको भलो चाहने असल मनलाई कुनै आरोप नलगाउन उनले त्यहाँका नेताहरूसँग ‘लबिङ’ पनि गरेको समाचार आयो। भलै, सभापतिले उक्त समाचारको खण्डन गरेका थिए। बालुवाटारमा सम्पादकहरूको भेला नै डाकेर समाचार गलत रहेको जिकिर गरेका थिए उनले। त्यसबेला पनि उनले श्री श्री गोपालदासजी महाराज गलत हुनै नसक्ने दाबी गर्न भने छोडनन्।

    नेपाल आउँदा गुरू महाराज सभापतिकै घरमा बस्थे। सभापतिका उनी परम् आदरणीय गुरू। महाराजलाई नेपाल आउने जहाज भाडा, बस्नेखाने बन्दोबस्त, घुम्नेफिर्ने सुविधामात्रै होइन उनलाई विमानस्थलबाट भीआईपी सम्मान दिलाएर ल्याउन सभापति स्वयम् अग्रसर हुन्थे। उनलाई लिन आफैं विमानस्थल पुग्थे।
    …

    निर्वाचनको ठीक दुई महिनाअघि उनको निवासमा सप्ताह महापुराणको आयोजना गरिएको थियो। त्यसलगत्तै शान्ति स्वस्तिको कार्यक्रम पनि तय भएको थियो। यी दुवै अनुष्ठानको तिथि उनै गोपालदासजी महाराजले तोकिदिएका थिए।

    सप्ताहमा प्राध्यापक सुवेदीलाई ‘गणेश’ बनाइएको थियो। सुवेदीलाई गणेश बनाउन सभापतिका पीएले ठूलै भूमिका खेलेका थिए। सुवेदीलाई जसरी भए पनि सभापतिको नजिक बनाइदिने र विश्वासपात्रका रूपमा प्रस्तुत गरिदिने अभियान थियो पीएको। र, पुराणवाचक थिए– संस्कृत विश्व–विद्यालयका पूर्वउपकुलपति। त्यही सप्ताहमा पहिलो पटक प्राध्यापक सुवेदीले आफ्नो राजनीतिक मौनव्रत भङ्ग गरेका थिए।

    उनी गणेश बस्दा एउटा ठूलो झिँगाले खुबै दुःख दिइरहेको थियो। झिँगा सीधै उनको नाकमा आएर बसिदिन्थ्यो। सुवेदीको नाक निकै लाम्चो र घुमेको थियो, सुगानाके थिए उनी। घोप्टिएको नाकको टुप्पोमा बस्थ्यो झिँगा। सभापतिको पीएले जस्तै उनले पनि धेरै पटक आफ्नो नाकमा हिर्काए, झिँगा भगाउन। झिँगा एकछिन भाग्थ्यो, फेरि फर्किएर सुवेदीको नाकमा आउँथ्यो ! उनले झिँगा भगाउन आफ्नो नाक निकै पटक रगडे। रगड्दारगड्दा नाकको टुप्पो रातो भइसकेको थियो।

    टीका लगाउन सप्ताहमा देखा परेका थिए, देशकै ठूलो कम्युनिस्ट पार्टीका वैकल्पिक अध्यक्ष। उनलाई धार्मिक समारोहमा देख्दा गणेश छक्क परे। छक्कभन्दा पनि ठूलो कुरा त उनले त्यो संयोगलाई आफ्ना निम्ति सुवर्ण अवसर ठाने। सबैका अगाडि उनले भने, ‘‘कम्युनिस्ट भएर पनि सप्ताहको प्रसाद खान र टीका लगाउन आउने तपाईं? तपाईंको सिद्धान्तले दिन्छ? यस्ता धर्मकर्म त हामीजस्ता लोकतन्त्रवादीले पो गर्ने हो !’’ समारोहमा उपस्थित सबै गलल हाँसे। सभापतिले पनि आफ्नो हाँसो थाम्न सकेनन्, अरूले जस्तै गरी उनी पनि हाँसे। त्यो दिन सभापतिले प्रोफेसर सुवेदीलाई गम्भीर ढङ्गले हेरे। सभापतिको ध्यान प्रोफेसरतिर सोझिएको देखेर पुलकित भयो उनको पीए। आफ्नो अभियानले सार्थकताको बाटो समातेको देखेर ऊ दङदास थियो।

    प्रोफेसरको वचनले वैकल्पिक अध्यक्षलाई अपमानबोध भयो, हुनु स्वाभाविकै थियो। उनले गणेशका हातबाट टीका लगाएनन्। सभापतिसँग हात मिलाए र बधाई–शुभकामना भन्दै तत्कालै फर्किए। प्रसाद पनि खाएनन्।

    सप्ताह सकिएको साता दिनमा प्रोफेसर सुवेदीको पहिलो राजनीतिक–आर्थिक आलेख छापिएको थियो दैनिक पत्रिकामा। त्यो दिन उनले आफ्नो लेख दर्जनौं पटक पढे। पत्रिकामा आफ्नै फोटो छापिएको देखेर चकित परे।

    त्यसलगत्तै सरकारले सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा सभापति आफै गएका थिए। त्यो बैठक विशेषगरी प्रतिपक्षीलाई खुसी पार्न सत्तापक्षले डाकेको थियो। देशका अधिकांश विश्व–विद्यालयमा उपकुलपति पद रिक्त थियो। केही देशमा राजदूत पनि खाली भएको अवस्था थियो। केही संस्थानहरूमा महाप्रबन्धक, निर्देशकजस्ता उच्च पद पनि रिक्त हुन पुगेका थिए। रिक्त रहेका केही पदमा नियुक्तिको जिम्मा प्रतिपक्षलाई लगाउन पाउँदा तिनले सरकारको विरोध गर्न नसक्ने ठहर वैकल्पिक अध्यक्षको थियो। उनले पार्टीका जिम्मेवार नेताहरुलाई यो कुरा बताएका थिए। उनको कुरालाई काट्न कसैले सकेका थिएनन्।

    बैठकमा सभापतिले त्रिभुवन विश्व–विद्यालयको उपकुलपति र केही महत्वपूर्ण देशमा राजदूत आफूले भनेको मानिस नियुक्त गर्नुपर्ने माग जोडदार ढङ्गमा राखे। अन्यथा, कडा आन्दोलन गर्ने र सडकबाटै सरकार ढालिदिने चेतावनी पनि दिन भ्याए।

    सर्वदलीय बैठकमा प्रधानमन्त्री अनुपस्थित थिए, अघिल्लो दिनमात्रै उनी विदेश भ्रमणमा गएका थिए। त्यो बैठकको नेतृत्व वैकल्पिक अध्यक्षले गरेका थिए। वैकल्पिक अध्यक्ष कुरा मिलाउन खप्पिस थिए। उनले प्रतिपक्षी पार्टीका सभापतिलाई एउटा कुनामा लगेर सम्झाए– त्रिविको नमाग्नुस्न न संस्कृत विश्व–विद्यालयको उपकुलपति तपाईंहरूलाई। त्रिवि त हामीलाई चाहियो नि! बरू खाद्य संस्थानको महाप्रबन्धक तपाईंलाई दिन्छु। अनि केही देशको नाम भन्दै उनले नियुक्ति दिनुपर्ने मानिसको नाम र योग्यता पनि मागे।

    सभापतिले त्रिवि भन्नु र संस्कृत विश्व–विद्यालय भन्नु एकै त हो नि भन्ने ठाने र सहमतिमा टाउको हल्लाए। नियुक्ति पाउने मानिसको नाम खुसुक्क वैकल्पिक अध्यक्षलाई सुनाए। त्यो नाम देखेर वैकल्पिक अध्यक्ष एकछिन त रिसाए पनि। पेस गरिएको नाम तिनै प्राध्यापक गणेशप्रसाद सुवेदीको थियो। यी तिनै मानिस थिए जसले सप्ताहमा अध्यक्षको अपमान गरेका थिए, सारा मानिसका सामुन्ने। सप्ताहमा ‘गणेश’ बसेका सुवेदीलाई कुनै पनि हालतमा उपकुलपति नदिने अध्यक्षले अडान लिए।

    ‘‘अध्यक्षजी, त्यसो भए अब हाम्रो आन्दोलनको सामना गर्न तयार हुनुस्,’’ सभापति बम्किए, ‘‘अब हाम्रो पार्टीले कसलाई नियुक्ति गर्ने हो, त्यो कुन नाम हुने हो भन्ने कुरो पनि तपाईंले निर्णय गर्ने हो? वाहियात कुरा नगर्नुस् त!’’

    क्षणभरमै वैकल्पिक अध्यक्षको आवेग मत्थर भयो। उनी कुनै पनि हालतमा प्रतिपक्षले आन्दोलन नगरोस्, सरकारको विरोधमा नउत्रियोस् भन्ने चाहन्थे। गणेशप्रसादको नामसँगको वैरभाव हराएर गयो। चतुर र व्यवहारनिपुण वैकल्पिक अध्यक्ष धेरैबेर कसैसँग पनि रिसाउँदैनथे। उनको खुबी भनेकै त्यही थियो। यही खुबी बेचेरै उनी पार्टीको माथ्लो पदमा पुगेका थिए।

    …

    नियुक्ति पाएपछि सुवेदीले पहिलो भेट नै जगत्‌सँग गरे। जगत् छिमेकी भएकाले पनि भेट्न सजिलो थियो। भेटमा उनले भने, ‘‘देख्यौ त मित्र, मौन रहनुको फाइदा? तिमी धेरै बोल्यौ र प्रायः असफल भयौ। म बोल्दै नबोली सफल भएँ। मैले पहिलो पटक कुन दिन, कहाँ, के बोलेँ भन्ने कुरो त तिमीले पक्कै थाहा पाइसकेका छौ। यो दुनियाँले मलाई उल्टो बाटो हिँड्ने मानिस करार गर्‍यो, तर को सुल्टो र को उल्टो? तिमीले पनि अब त थाहा पाइहाल्यौ होला!’’

    र, पदबहाली गरेको दिन विश्व–विद्यालयको कुर्सीमा बसेर गणेशप्रसाद झनै आक्रामक ढङ्गमा बोले। वीपीको समाजवाद, गणेशमानको त्याग, गिरिजाप्रसादको चट्टानी अडान, सुशीलको सादगीलगायत सारा कुरा उनले पहिलो दिन कुर्सीमा बस्दा भन्न भ्याए। केही समय सुवेदीले विश्वेश्वरप्रसाद कोइरालाको साहित्य र भाषामा रहेको योगदानको चर्चा गर्न पनि भ्याए।

    नेपाल टेलिभिजनले उनको भाषण खिचिरहेको थियो भने रेडियो नेपालले रेकर्ड गरिरहेको थियो। उनले त्यो दिन शेरबहादुर देउवा, सुजाता कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौलालगायत झण्डै दुई दर्जन नेताका कारण नै देशमा लोकतन्त्र जोगिएको घोषणा गरे– टेबुल ठोक्दै। अन्त्यमा उनले आफ्नो लामो समयदेखिको ‘मौन’ तपस्याको कदर भएको भन्दै मुलुकको राजनीतिक अवस्थाको प्रशंसा गरे।
    …

    साढे दुई दशक मौन बसेका प्रोफेसर सुवेदी यति बोल्न थाले कि उनलाई चिन्ने मानिसहरू छक्क परिरहेका थिए। सबैभन्दा चकित परिरहेको थियो जगत्। जगत्ले उसको भाषण नेपाल टेलिभिजनमा हेरेको थियो। टेलिभिजनले उसको सम्बोधन पूरै देखाएको थियो।

    टेलिभिजनले सुवेदीको भाषण खिचिरहँदा पनि झिँगो नाकको टुप्पोमा आएर बसिदिएको थियो।

    सुवेदीको पदबहाली समारोहमा उपस्थित कर्मचारी, शिक्षकलगायतलाई ताली बजाउने कुनै जाँगर चलिरहेको थिएन। तर ती विवश थिए। तिनले लामो समयदेखि यस्ता उपकुलपतिहरूको पदबहालीका दिन ताली बजाउनुका साथै फूलमाला, खादा ओढाइदिइसकेका थिए। ताली बजाउँदा तिनलाई आफ्ना दुई हात एकापसमा जोडिएका छन् कि छैनन् भन्ने महसुस हुन पनि छाडिसकेको थियो। त्यस्ता कामका लागि ती दुई हातले स्पर्श थाहा पाउनै छाडिसकेका थिए।
    …

    अचेल मुलुकमा जगत्‌को मौनयात्रा जारी छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राजेन्द्र पराजुली

      राजेन्द्र पराजुली

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.