Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कथा : इरफान अली

त्यसपछि जेलको धर्म परम्परा अनुसार उसको देहलाई जेलबाट बाहिर रहेको अस्पतालतिर लगियो। यो त्यो अस्पताल हो जसले मानिसको हत्यालाई सहज दुर्घटना भनेर प्रमाणपत्र लेख्ने गर्दछ र त्यो घटनामा पनि त्यस्तै गरियो।

नारायण ढकाल नारायण ढकाल
साउन १६, २०७८
- यो हप्ता, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    चोरीको अभियोगमा थुना परेको इरफान अलीलाई आठ नम्बर चौकीमा लगियो भन्ने खबर सुकेको खर डढे झैं सम्पूर्ण जेलभरि एक्कसी फैलियो।

    “त्यसो हो भने आज पनि अनिष्ट हुँदैछ।” जेलभित्रको चौबाटोमा बसेको एउटा बूढोेले भन्यो।
    “साले मुसल्टेलाई साढे सातको दशा लागेको थियो कि ?” अर्कोले थप्यो।

    दिउसो चार बजेतिर यो घटना घट्यो। चैतको आखिरी दिन भएकोले जाडो धेरै घटिसकेको थियो। इरफान अलीले फूलवारीको छेउबाट आल्मोनियमको थोत्रो डेकचीमा माटो उठायो र त्यसलाई बोकेर आफ्नो कोठातिर लाग्यो। चुल्हो बनाउने विचार थियो उसको। हिजो मात्र उ वीरगञ्जबाट महनागरको यो जेलमा सारिएको थियो। राती अबेर भएकोले हिजो र आज बिहान उसले चौकिदारहरूकै भान्सामा खायो।

    इरफान अली भ-याङको तीन खुड्किला मात्र उक्लेको थियो – कोठा नाइके दलसिङले पछाडिबाट कठालो समात्यो। दलसिङको श्वासप्रश्वास निकै तेज रफ्तारमा गतिमान थियो। यसबाट बुझिन्थ्यो – दलसिङले निकै टाढाबाट इरफानको यो कार्यलाई देख्यो र तेज रफ्तारमा कुदेर कठालो समात्न आइपुग्यो।

    “साला मुसल्टे, चौकीमा हिड्।” दलसिङले घचेड्दै आदेश दियो। इरफान अली एकछिन अक्क न बक्क भयो। उसले दलसिङको कुरा बुझेन।

    “अझै कुरा बुझिनस् साला। चौकीमा हिड्।”

    त्यसपछि दलसिङको पछि लागेर इरफान अली आठ नम्बर चौकीमा छिर्‍यो।

    राजधानीको जेलको आठ नम्बर चौकी कुनै पनि कैदीहरूको निम्ति आतंकको नाम थियो। यो नम्बरमा कुनै कैदीलाई लानु भनेको एउटा दुर्भाग्य पूर्ण घटनाको थालनी मानिन्छ । यो नम्बरमा पुर्‍याइएको कैदी कहिल्यै सग्लो रुपमा फर्कन पाउँदैन। पाकेटमारदेखि चोर, डाँका, हत्यारा वा राजनेताहरूलाई ठीक ठाउँमा ल्याउनु पर्‍यो भने जेल प्रशासनले यहाँ ल्याउँथ्यो। यहाँ ल्याएपछि शारीरिक यातनाको असह्य सिलसिला चलाइन्थ्यो र यस्तो यातनाबाट कयौंले ज्यान पनि गुमाएका थिए।

    यो त्यस जेलको सनातन र वैधानिक नियम थियो– जबकि कुनैपनि कैदीहरूलाई कुटेर मार्न पाउने कुरा राज्यले पारित गरेका कानूनका पोथीहरूमा थिएन।

    इरफान अलीलाई मूल चौकिदारको अघि उभ्याइयो। उ डरले थरथर कामिरहेको थियो।

    “मालिक फूलबारीको माटो चोर्ने मुसल्टै यही नै हो।”

    “बीरगञ्ज जेलमा साम्प्रदायिक दङ्गा भएर यहाँ सारिएको कैदी होइन यो?” मूल चौकिदारले सोध्यो।

    “हो मालिक, यसलाई हिजोमात्र यहाँ ल्याइएको हो।”–दलसिङले भन्यो।

    “ए, त्यसो भए त्यसलाई त्यहाँ कुनामा लगेर बाँध।” मूल चौकीदारले आदेश दियो।

    मूल चौकीदार आफ्नै स्वास्नी मारेको अभियोगमा बीस वर्षे जेल सजाय काटिरहेको थियो। झण्डै चौध वर्ष काटिसकेको ऊ जेल र व्यवस्थाप्रति बढी बफादार थियो। किनकी आगामी राजाको शुभ जन्मोत्सवको आममाफीमा छुट्ने उसको लालसा थियो।

    इरफान अलीले उसलाई त्यहाँ किन ल्याइयो र किन डोरीले बाँधियो भन्ने कुरा पटक्कै बुझेन। उसको विचारमा उसले कुनै गलत काम गरेको पनि थिएन। हिजो यहाँ पसेदेखि नै उसले कसैसित एक शब्द पनि बोलेको थिएन।

    पहिले त उ नयाँ थियो। दोस्रो देहाती भाषा मात्र बोल्न उ अभ्यस्त थियो। त्यसले पनि त्यसलाई कठिनाई उत्पन्न भएको थियो।

    बिहानै उठेपछि उसले कसैसित एक शब्द पनि नबोलेपछि कसैसित झगडा हुने पनि प्रश्न नै उत्पन्न हुँदैनथ्यो। फेरि उ झगडालु स्वभावको मानिस पनि होइन।

    त्यसो भए उसलाई यो नरकमा किन ल्याइयो? के अपराध छ उसको ? तर त्यो समय मुलुकमा तानाशाही व्यवस्थाको दबदबा थियो र त्यो व्यवस्थामा कुनै पनि प्रश्नको उत्तर पाइँदैनथ्यो।

    तसर्थ इरफान अलीले आफ्नै आत्मालाई त्यो प्रश्न सोध्यो। आत्मामा अल्लाह बास बसेका हुन्छन् भन्ने उसको विश्वास थियो। कुरान उसले पढेको थिएन। तर पढ्नेहरूले उसलाई त्यही भनेका थिए।

    धेरै समयसम्म प्रश्नको प्यासले छटपटिएको इरफानमाथि एक्कसी दलसिङका लात, घुस्सा र डण्डा बर्सन थालेपछि उसको अनुहार क्रमशः रंगहीन हुन थाल्यो। यसरी श्याम वर्णको त्यो सज्जन मुसलमानको अनुहारको आकृति पीडा र भयले गर्दा नराम्रोसित खजमजियो। “मालिक दया करी, हमर कुछो भूल नैखे।” उसले भन्यो।

    “अझै भूल छैन भन्छ ए रण्डीको छोरो त” मूल चौकीदार ठूलो आवाजमा कड्कियो।

    “जेल परेपछि जेलको कानून काइदा पालन गर्नुपर्छ भन्ने कुरा थाहा छैन गधा।” मूल चौकिदारकै आजावमा लय थप्दै दलसिङपनि गर्जियो।

    आवाजको विस्फोट हुन थालेपछि अलीले फेरि आफ्नो आत्माको ईश्वरलाई सोध्योः अल्लाह मबाट के गल्ती भयो ? कुनै गल्ती गरे जस्तो त लाग्दैन ?

    अनि प्रकटमा मूल चौकिदारतिर फर्केर भन्यो ! “मालिक हमरासे जे भइल अन्जानमा भइल। हमर कुछो भुल नैखे, दया करीं।”
    उसले जतिसुकै विनम्र भावमा माफी मागे पनि मूल चौकिदारको मन पग्लेन। उसको मन मैन झै कमलो पनि थिएन। दयावान्त हुँदो हो त मूल चौकिदारको पद कसरी प्राप्त गर्न सक्थ्यो? किनकी जेलको अलिखित विधान अनुसार मूल चौकीदार त्यस्तो व्यक्ति बन्नसक्छ जो अत्यन्त क्रुर र कुटिल हुन्छ।

    अझ उपत्यकामा रहेको अर्को जेल नख्खुमा झापा आन्दोलनका राजबन्दीहरूले पैतालिस मिटर लामो सुरुङ खनेर फरार भएपछि गृह मन्त्रालयले जेल प्रशासनहरूलाई अझ बढी तानाशाही बन्ने आदेश जारी गरेका थिए। त्यसै अनुरुप जेलभित्र कुनै पनि प्रयोजनको निम्ति माटो खन्न निषेध गरिएको थियो। सेन्ट्रल जेलका सबै कैदीहरूलाई त्यो कुरा थाहा थियो। बिचरा इरफान अलीलाई मात्र यो कुरा थाहा भएन।

    “होइन ए गाँठे, यसले यस्तो कडा कानूनलाई कसरी चुनौती दिने आँट ग-यो हँ?” मूल चौकिदारले उदेक मान्दै प्रश्नको ओथारो हाल्यो।“यो पनि अराष्ट्रिय तत्व भित्रैकै एउटा मतियार होला मालिक, नत्र कसरी यत्रो जोखिम मोल्न सक्छ ?” दलसिङले आफ्नो हाकिमको समर्थनमा केही शब्दहरू थुपार्‍यो।

    समय बित्दै गयो। आठ नम्बर चौकीमा सुत्ने मूल चौकिदारको पल्टन विभिन्न कामबाट फर्किए। अब त्यो सुरुङ जस्तो लामो कोठामा झण्डै एक दर्जन जति शासक कैदीहरू उपस्थित थिए।

    त्यसपछि अझ बढी जंगली यातनाको पटकथा आरम्भ भयो। त्यहाँ प्रदर्शित बर्बरताको दृश्यावली कुनै पनि भलादमी मानिसले आफ्नो आँखाले हेर्न सक्दैनथ्यो।

    सबैभन्दा पहिले इरफान अलीमाथि एक घैटो पानी खन्याइयो। त्यसपछि उसको चिसो कपाल भुत्याउँदै मुखैमुखमा प्रहार गरियो। मुखबाट रगतको तातो झेल बग्न थाल्यो अनि यातनाको असह्य पीडाले बटारिँदै उसले फेरि प्रार्थना गर्‍यो–“हमारा कुछो भूल नैखे, दया करी।”

    तर इरफान अलीको यो प्रार्थना कसैले सुनेनन्। लगभग आधा घण्टासम्म यातनाको यो सिलसिला जारी भएपछि आक्रोस र घृणा मिसिएको स्वरमा इरफानले जेल प्रशासनका मानिसहरूतिर फर्केर भन्यो – “हाय अल्लाह! शैतानके हातसे हम असायह के रक्षा करी।”

    उसको गालीलाई मूल चौकीदारले राम्ररी सुन्यो–आफूलाई शैतान भनिएकोमा उसको रिसको तह अचनाक उकालो चढ्यो।

    “के भनिस ? कसलाई भनिस् ए रण्डीको छोरा ? तिमीहरूले सुन्यौ, यसले के भन्यो ? अब म ठोकेर भन्छु यो अराष्ट्रिय तत्व नै हो। यो कुनै सामान्य कैदी हुनै सक्दैन।”

    “ठीक मर्जी भो मािलक, यो अराष्ट्रिय तत्व नहुँदो हो त यसलाई किन जेल सरुवा गर्नु पथ्र्यो?” दलसिङले भन्यो।

    “ओहो, यो त निकै डरलाग्दो विषय हो।” मूल चौकीदार निकै चिन्तित देखियो। उसले फेरि आफ्ना पल्टनतिर हेरेर भन्यो।

    “अब तिमीहरू नै भन, यदि यो जेल, जेल जस्तो भएन भने व्यवस्था कसरी चल्छ? अनि व्यवस्था भएन भने…?”

    “ठीक भन्नु भो मालिक।” आफ्नो सेनाका तीन चार जना एकै आवाजमा कराए।

    इरफान अलीको पछिल्लो संवादपछि उनीहरू विभिन्न कोणबाट उसको जीवन चरित्रबारे आ – आफ्नो ज्ञान बुद्धि अनुसार विचारमन्थन कार्यमा सामेल भए। उता इरफानको सिङ्गो शरीर रगतले लथपथ भइसकेको थियो।

    “भन ए मुसल्टे, तँ कुन उग्रवादीको दलाल होस?कुन एम्वेसीको पैसा खान्छस् भन्?” आफ्नो खाटबाट मूल चौकीदार उठ्यो र आफैं इरफानतिर जोतियो।

    तर उसले मूल चौकीदारको यो प्रश्नको जवाफ दिएन। पहिलो कुरा त यो प्रश्न नै उसको निम्ति अमूर्त चित्रकला जस्तो क्लिस्ट थियो। दोस्रो लगातारको पिटाइले उ यति क्लान्त भइसकेको थियो कि अब आवाज भन्ने चिज उसको जीब्रोबाट धेरै टाढा भइसकेको थियो।

    जेलको आफ्नो विधानअनुसार यातनाको दोस्रो परिच्छेद आरम्भ भयो। सामान्य शिक्षा दीक्षाले नपुग्ने कैदीलाई यो पच्छिेदअनुसारको व्यवहार गरिन्छ। नङमा पिन घुसार्ने, पैतालामा तातो फलामको रडले पोल्ने र उल्टो मुन्टो पारेर झुण्ड्याउने आदि कर्महरू यस प्रकरणमा पर्छन्।

    दोस्रो परिच्छेद आरम्भ भएको एकै छिनमा इरफान अलीको मुखबाट मानिसको हृदय भएकाहरूले सुन्नै नसक्ने चित्कारहरू निस्कन थाले। यसपटक आठ नम्बर चौकीमा उत्पन्न भएको चित्कार त्यसको भित्र र प्वालहरू नाघेर जेलका अरु कोठाहरूमा पनि पुग्यो। त्यसपछि उ अनन्त अनन्त सम्मका निम्ति बेहोस भयो।

    जेलको नियमअनुसार साँझ छ बज्दा नबज्दा सबैले खाना खाइसक्नु पर्छ। जेलको आन्तरिक प्रशासनलाई पनि यो नियम लागू हुन्थ्यो। त्यसैले उनीहरू डोरीले बाँधेर लडाएको मृत इरफानलाई त्यही छोडेर भान्सा कोठातिर हिँडे। त्यसदिन साँझको भान्सामा सबैले खाने कुराको भन्दा पनि उही अभागी कैदीको माटो खनेको विषयलाई लिएर अनेक किसिमको व्याख्यान र तर्कहरू पेश गरे।

    सात बजेको समाचार आयो। जेलभरिका कैदीहरू विभिन्न कोठाबाट रेडियो सुन्न जेल माझको चौतारोमा आए। तर आज कसैले पनि समाचारमा आफ्नो कान लगाएनन्। उनीहरूका निम्ति अली नै त्यस दिनको सबैभन्दा चर्चित र ठूलो समाचार थियो।

    “अभागी मुसल्टे, काम गर्नुअघि हामीसित सोधेको भए कमसेकम यस्तो दुर्भाग्यमा फस्ने थिएन।” समाचार सुन्ने निहुमा त्यहाँ उभिएको एउटा कैदीले नजिकैको अर्को कैदीसित भन्यो।

    “त्यो अली कपटी खालकै रहेछ। कमसेकम आएपछि कसैसित मित्रभाव पनि राख्न सकिन्थ्यो।” साथी कैदीको कुरामा अर्कोले थप्यो।

    “आएदेखि नै निकै उदास उदास देखिन्थ्यो। जेल परेपछि त्यसको घर व्यवहार चौपट भएर पिर गरेको थियो कि?” अर्कोले दुःख व्यक्त गर्‍यो।

    “त्यसलाई किन त्यति विधि शंका गरियो ? कुनै राजनीतिक पार्टीतिर लागेकै थियो कि त्यो ?”

    समाचार सकिएपछि कैदीहरू आ – आफ्नो कोठातिर लागे। बाहिर शहरमा आवाजहरूको कोलाहल अझै मथ्थर भएको थिएन। तापनि जेल चाडै नै शान्तिपूर्वक सुतेको अजिङ्गर झैं देखियो। त्यसपछि त्यहाँ पहरा दिने पहरेदारको ‘खबरदार खबरदार’ कर्कश आवाजमा मुखर हुन थाल्यो।

    उता आठ नम्बर चौकी भने अझै आफ्ना गलत र अमानवीय कर्तुतहरूको निम्ति सक्रिय र जागरुक थियो। यो सबै गतिविधिले दर्शाउथ्यो–तत्कालिन नेपालको प्रतिविम्ब यहाँ प्रदर्शित छ। अर्थात् राजधानीको जेलको त्यो कोठा एउटा दर्पण हो जहाँ सिङ्गै नेपालको छायाँ हेर्न सकिन्छ। जहाँ देशको अन्याय र अत्याचार हेर्न सकिन्छ। इरफान अलीमाथि अनाहकमा भएको अत्याचार पनि सिङ्गै मुलुकमा हुने अत्याचारको एउटा बोनसाई रुप न थियो।

    रातको दश बजेसम्म मूल चौकीदारको पल्टन रक्सीले टिल्ल परिसकेको थियो। जेलभित्र यही एउटा वर्गलाई रक्सी मात्र खाने छुट थियो।
    त्यसैबेला अघिपछि बन्दुक बोकेका गार्डहरू लिएर जेलर आइपुग्यो। सामान्यता जेलर आउने समय पनि यही हो। आउनासाथ उसले भन्यो–“के छ यसको हालखबर ?”

    “एकदमै ठीक छ सर।” मूल चौकीदारले भन्यो।

    “शिक्षादीक्षा पायो कि पाएन अधमले?” पुनः जेलरले सोध्यो।

    “शिक्षादीक्षा मात्र होइन सर यसले त पूरै मुक्ति पाइसक्यो।” मूल चौकीदारले भन्यो।

    आन्तरिक प्रशासनका कैदीहरूको उत्साह बढाएर चौकीबाट जेलर हिँडेपछि इरफानको शरीरको लुगा फुकालिदियो। त्यसैबीच मूल चौकीदारले दलसिङलाई भन्यो– “ए दले हेर हेर यो असली मुसलमान हो कि नक्कली?”

    “कसरी थाहा हुन्छ मालिक यो कुरा ?”

    “त्यति पनि थाहा छैन गधा, त्यो असली मुसलमान हो भने त्यसको गुप्ताङ्गको छाला काटिएको हुन्छ।”

    त्यसपछि मूल चौकीदार ठूलो स्वरमा हाँस्यो र पछि त्यो हाँसोलाई नेता मानेर कोठाभित्रका सबै कैदीहरू अट्टहास छोड्न थाले।रातको एघार बजेतिर नाङ्गो इरफान खानलाई ओल्टाइ पल्टाइ पारियो। उसको छातीमा मुटु र फोक्सो चलेको छ कि छैन भनेर दलसिङले विभिन्न ठाउँमा घोचघाच गर्‍यो। रक्सीले रन्थनिएर होला एकछिनसम्म उसले ठम्याउन सकेन त्यहाँ जीवन छ या मृत्यु। तर केही समयमै थाहा भयो – उसको शरीर अब कतै पनि तातो छैन। त्यो हिउँको डल्लोमा परिवर्तन भइसकेको छ।

    “यसले सिलटिम्मुर चाखिसक्यो मालिक।”

    निकै समयको खोजपछि दलसिङले घोषणा गर्‍यो।

    त्यसपछि जेलको धर्म परम्परा अनुसार उसको देहलाई जेलबाट बाहिर रहेको अस्पतालतिर लगियो। यो त्यो अस्पताल हो जसले मानिसको हत्यालाई सहज दुर्घटना भनेर प्रमाणपत्र लेख्ने गर्दछ र त्यो घटनामा पनि त्यस्तै गरियो।

    भोलिपल्ट।

    भोलिपल्ट बिहानैबाट राम्रो घाम लागेन। जेलमाथिको आकाश उदास बादलका काला पत्रहरूले ढाकियो। अपरान्ह बाह्र बजेतिर सिदा थाप्ने ठाउँमा सबै कैदीहरू जम्मा भए। त्यसैबेला मूल चौकीदारले अन्य कैदीहरूलाई सम्बोधन गर्दै भन्यो–सुन ए कैदीहरू, जेलभित्र नियम नमान्नेहरूले इरफान अली नामको मुसल्टेले झैं आफ्नो जीवनको अन्त्य रोज्नुपर्छ। तसर्थ म तिमीहरूलाई भन्छु। कसैले पनि त्यस्तो निच काम नगरोस्। सरकारले सबैलाई दुई छाक खान दिएकै छ। बिरामी पर्दा ओखति मूलोको बन्दीबस्त पनि गरेकै छ। यहाँ बस्ता सकभर कुनै तकलिफ नहोस् भनेर हर वर्ष बजेटको रकम वृद्धि गरिएको छ। त्यसैले सबैले सरकारको जय मनाउनु पर्छ। सरकारको द्रोह गर्नेलाई देशद्रोही, उग्रवादी वा अराष्ट्र्यि तत्व भनिन्छ। तिमीहरूले मैले भन्न खोजेको कुरा त बुझ्यौ होइन ?

    “बुझ्यौ मालिक।” विद्यालयका बालकहरूले झैं केही कैदीहरू एकै स्वरमा चिच्याए। साथसाथै त्यसरी जवाफ दिँदा उनीहरूको आँखाबाट आँशुका साना साना गेडाहरू तलतिर गुडे।

    (यसरी इरफान अली नामको एउटा सिधासिधा नेपाली मुलसमानको जीवनको इतिहासको समाप्त भयो। त्यसबेला अखबार वा कुनै संचार माध्यममा नआएको यो करुण घटना अघिल्लो पुस्ताका कमै मानिसहरूलाई मात्र थाहा भएको पुरानो समयका कथाहरूको सूचीमा यसलाई पनि समावेश गरिएको हो।)

    (नारायण ढकालको इरफान अली नामक कथासंग्रह (प्रथम संस्करणः२०५१) बाट लिइएको कथा। यो कथा मधुपर्कमा ज्येष्ठ, २०५० मा प्रकाशित थियो।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नारायण ढकाल

      नारायण ढकाल

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      दिपकराज घिमिरे
      जेष्ठ २६, २०८१

      जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.