Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

टेकनाथ बराल: एक सन्तको सम्झना

पुष्पलाल समूह भनिने नेकपा, नेकपा माले र एमाले तथा माओवादीलाई उनले विभेद नगरिकन सहयोग गरे। आफ्नो दिए तर उनीहरुबाट लिएनन्। उनको परिवारले गरेको सहयोग कमसेकम पोखरा जेलमा दुई वर्ष बिताएका कमरेड केपी ओलीलाई थाहा हुनुपर्ने जो दुईपटक देशको प्रधानमन्त्री बनेका थिए। प्रचण्डलाई नि थाहा हुनुपर्ने किनकि जोखिमको समयमा या संकटको समयमा बराल सहयोग गर्न उपस्थित हुन्थे।

झलक सुवेदी झलक सुवेदी
भदौ १६, २०८०
- राजनीति, विमर्शका लागि
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत शनिबार मणिपाल शिक्षण अस्पतालको तेस्रो तलामा रहेको सिसियु कक्षमा अक्सिजनको सहारामा प्राणयन्त्र सञ्चालन गरिरहेका आदरणीय टेकनाथ बरालसँग अन्तिम भेट भएको थियो। बोल्न र उठेर बस्न बल गरेपनि नसक्ने अवस्थामा रहेका बेला पनि उनीसँग अझै हामीलाई भन्ने एउटै कुरा रहेछ, ‘मलाई केही भएको छैन, साह्रै गाह्रो पनि भएको हैन।’ जीवनको गति कुनै पनि समय निभ्नसक्छ भन्ने जानेर पनि यति भन्ने साहस योगी, ध्यानी र ज्ञानीहरुले मात्र राख्छन्।

    हामी उनै बरालले गण्डकीमा कम्युनिष्ट विचार र संगठन फैलाउन सक्रिय रहेको समयका ७० वर्ष माथिका वामपन्थीहरुको एउटा भेला गर्ने तयारीका सिलसिलामा पोखरा पुगेका थियौं। बराल र उनका सहयोद्धाहरु कस्तो प्रेरणा र उद्देश्यले आन्दोलनमा लागेका थिए, उनीहरुले के कसरी काम गरे, आन्दोलनमा के कस्तो योगदान पुर्‍याए अनि अहिलेको राजनीतिलाई आफ्नो योगदानको सापेक्षतामा हेर्दा कस्तो देख्छन् भन्ने विषयमा कुरा गर्नु र अभिलेख उतार्नु कार्यक्रमको एउटा लक्ष्य हो।

    हामीले भेटेर फर्केको तेस्रो दिन नै उनको मृत्युको समाचार आयो। उनीसँग जीवन यात्राका अनेक मोडहरुबारे कुरा गर्ने र त्यसलाई अभिलेखिकरण गर्ने योजना अब संधैका लागि बन्द भएको छ। पोखरामा सबै वामपन्थी र मानवअधिकारवादीहरुका साझा अभिभावक रहेका टेकनाथ बरालको जीवनका सबै पाटा मलाई पनि थाहा छैन। पछिल्ला केहीवर्ष यता भेटघाट हुँदा केही निजी र राजनीतिक जीवनबारे थोरै कुरा थाहा पाउने अवसर मिलेको थियो। रेकर्ड नगरिएका तर मेरो स्मृतिमा रहेका तीनै कुराकानीका आधारमा यहाँ अविच्युरीका रुपमा टेकनाथका कार्य र जीवनका केही पाटा बारे चर्चा गर्ने जमर्को गरिएको छ।

    उनीबाट सुनेको उनैको कुरा

    संविधान निर्माणका विषयमा काठमाडौंमा भइरहेका संघर्षहरु र मत्थर हुनु साटो प्रदेशतिर सर्दै गइरहेको समयमा काठमाडौं आएका बरालसँग एकसाता मेरो संगत भयो। आफ्ना छोरी ज्वाँइसँग मातातिर्थमा रहेको अमरावती आवासमा बस्न आएको बेला हामी पनि नजिकै बस्ने भएकोले यो भेट सम्भव भएको थियो। आफ्नो स्वास्थ्य परिक्षणका लागि आएको भएपनि राजनीतिका अनेक तिर्सनाले उनलाई लखेटिरहन्थे।

    उनका पिताले बहु-विवाह गरेका थिए। आमाहरु मध्ये कान्छीबाट जन्मेका एकमात्र र सबै मिलाएर कान्छा छोरा टेकनाथको बाल्यकाल र किशोरकाल त्यति सुखद थिएन। परिवार भने सम्पन्न थियो जग्गा जमिनको कुनै दुःख थिएन। पामेदेखि चौरासीबिरुवासम्म धानखेत थियो। नुवारथोकको बारीपाखो प्रशस्तै थियो। आमा बाबुको मृत्युपछि सानै रहँदा कान्छो भाइका रुपमा आफूप्रति दाजुहरुले गरेको व्यवहारलाई लिएर उनमा चित्त दुखाइ थियो। गोठ धन्दा गरेरै अलि हुर्केपछि उनी पढ्न थाले। आठ पास गरेपछि नर्मल तालिम गरे र शिक्षक हुन गोर्खाको बारपाक र पछि स्याङजाको वालिङ पुगे।

    सानैदेखि राजनीतिक सामाजिक काममा चासो राख्ने भएकोले जहाँ जान्थे त्यहाँ स्थानीय जनतासँग घुलमिल हुन्थे। पछि वैदाममा खुलेको प्राविमा शिक्षक भए। प्रअका रुपमा काम गर्दै गण्डकी अञ्चल युवक संगठनको अध्यक्ष भए जसको नेतृत्व पञ्च नेता विश्ववन्धु थापाले गर्थे। युवक संगठनको सभापति भएपछि सामाजिक काममा सक्रिय हुन सजिलो भयो। तर, विद्यालयमा दुईपक्षका बिच गुटबन्दी सुरु भएपछि केही काण्डहरु घटे। सरकारले उनलाई पोखरा बस्न नपाउने गरी निकाला गर्‍यो।

    गिरफ्तारीबाट बच्न उनी बाग्लुङ पुगे र त्यहाँको अञ्चलाधिशसँग सम्पर्क गरे। उनकै सल्लाह अनुसार काठमाडौं आएर संगठनका अध्यक्ष विश्ववन्धु थापालाई पनि भेटे। तर, उनीहरुका कुराले बराललाई चित्त बुझेन। त्यसपछि उनी बनारसतिर लागे। यसबिचमा बिहे भएर पनि छोरा विद्या र छोरी शोभा जन्मिसकेका थिए।

    बनारसले बरालको जीवनलाई अर्को बाटो तिर मोडिदियो। पोखरा बाटुलेचौरका बलराम उपाध्याय बनारसमा पुष्पलालसँगै राजनीतिक काम गर्थे। उक्त समूहका उनी मुख्य नेता मध्येका थिए। बराल पनि उपाध्यायसँगै बस्न थाले। बलराम मार्फत् पुष्पलालसँग भेट भएपछि कम्युनिष्ट पार्टीमा लागे र त्यसकै युवा विद्यार्थी फाँटमा काम गर्न थाले। गण्डकी क्षेत्रका धेरै युवाहरु पढ्न बनारस गइरहन्थे। उनीहरुलाई सहयोग र संगठित गर्दै गएकोले गण्डकीभरी उनको सम्पर्क सञ्जाल स्थापित भयो।

    २०२४ सालमा नेपाल फर्केपछि त्यही सञ्जाललाई प्रयोग गरेर पुष्पलाल समुहको कामलाई गण्डकी क्षेत्रमा बिस्तार गर्न सक्रिय भए। उनको मुख्य कार्यथलो कास्की थियो। उनी दाजुभाइबाट भिन्न भएर परिवारको डुङ्गा पनि चलाइरहेका थिए।

    काम गर्दै जाँदा पुष्पलाल समूहमा ‘मनी एक्सन’को कार्यक्रम बन्यो। यो निर्णयमा पुष्पलाल सहमत थिएनन्। उनको समूहका लुम्बिनी र गण्डकीका कार्यकर्ताहरुको निर्णय थियो यस्तो एक्सन। लुम्बिनीमा यसकामको नेतृत्व केशरमणी पोख्रेलले गरेका थिए। गण्डकीमा माथवर सिंह (एमएस) थापाको नेतृत्वमा मनी एक्सनका कार्यक्रम भए। टेकनाथ बराल भने मनी एक्सनका विपक्षमा थिए।

    पर्वतको चुवाका एकजना साहु अनन्तराजको घरमा ‘मनी एक्सन’ गरिएको थियो। स्थानीय रुपमा चुवा काण्ड भनेर चिनिने यो घटनापछि प्रशासनले धरपकड गर्‍यो। पर्वतका तोयनाथ चालिसे, खड्गबहादुर गुरुङ लगायत पक्राउ परे। टेकनाथहरुमाथि पनि पक्राउ पुर्जी जारी भयो। पछि तत्कालिन स्याङ्जा हाल कास्कीमा पर्ने कृष्तिमा पनि यस्तै एक्सन भयो। उक्त एक्सनपछि पाउँदुरका पुण्य पौडेल, कर्णबहादुर र इन्द्र गुरुङ, बैदामका टेकनाथ बराल, रामराज पहारी, हरी पौडेल लगायतकालाई पक्राउ पुर्जी जारी भयो। यसमध्ये १४ जना पक्राउ परे। टेकनाथ बराल भने भूमिगत भए। खड्गबहादुरहरु २०३५ सालतिर दमौली जेलब्रेक गरेर निस्केका थिए।

    भूमिगत हुने क्रममा बराल पहिले आफ्नी दिदिको घर भएको लाहाचोकतिर गए र त्यहाँबाट गोठालाहरुसँग लेकतिर पसे। केही महिना गोठ र कहिलेकाँही गाउँमा आउजाउ गरेपछि लुकीछिपी आफ्नो मावली गाउँसमेत रहेको तनहुँको रिसिङ गए। केही महिना त्यहाँबसेपछि भने उनी बनारसतिर लागे जहाँ कमरेड पुष्पलाल र बलराम उपाध्याय बरालजस्तालाई छहारी दिन सधैं उपस्थित थिए। उनीहरुसँग पनि बाँड्नलाई दुःख बाहेक खासै केही थिएन।

    बनारसमा पुग्दा मुक्तिमोर्चा समूह पुष्पलालबाट अलग हुने तरखरमा थियो। उनले मदन भण्डारी र मोदनाथ प्रश्रितहरुलाई विभाजनमा नजान सम्झाउने प्रयास पनि गरे। तर, समूह अलग्गियो। केही समय बनारसमा दुःखपूर्ण जीवन बिताउँदै संघर्ष गरेपछि बराललाई पुष्पलालले बनारसमा रल्लिनभन्दा आसाम मेघालयतिरका नेपाली बस्तिमा जान र संगठन गर्न भनेर खटाए।

    बराल आसाम पुगे। गाउँ गाउँमा जाने, विद्यार्थी जम्मा गर्ने र केही महिना पढाउने, स्कुल खोल्ने र फेरि अर्को गाउँमा जाने गर्दै उनले दर्जनजति स्कुल खोले शिक्षक बने। पेट पनि पालियो केही केही संगठनको काम पनि भयो। यसबिचमा घरमा भने खासै सम्पर्क हुँदैनथ्यो।

    २०३४ सालमा उनी फर्केर पोखरा आए। यता आउँदा पुष्पलाल समूह बिस्तारै कमजोर हुँदै थियो। ०३५ साउनमा पुष्पलालको मृत्यु भएपछि यो समूह थप कमजोर बन्यो। माले र मशालको जाग्दो शक्तिको समय थियो। विभाजित कम्युनिष्ट पार्टीहरु एकअर्काको अस्तित्व स्वीकार गर्न सक्दैनथे। यस्तोमा पुष्पलाल समूहमै बसेर काम गरिरहेका बरालले वामपन्थीहरुलाई एकै मोर्चामा ल्याउन निकै प्रयास गरे।

    उनी प्राय: गुफाको घरमा एक्लै बस्थे। परिवार नुवारथोकमै थियो। दुई ठाउँको दुरी मुश्किलले चारसय मिटर हुँदो हो। गुफाको घर भने भूमिगत नेताहरुलाई शेल्टर भएको थियो। पुष्पलाल समूहका मात्र हैन माले र मशालका भूमिगत नेता कार्यकर्ता पनि पुगिरहन्थे। वरपर प्रशस्त फलफुलका बिरुवा भएको र घाँसपातको पउल भएको पाखाको त्यो घर अहिले सायद बरालको अन्तिम अवस्थाको काया जस्तै जिर्ण भएको हुनुपर्छ।

    बरालका छोराछोरी पहिले कुनै संगठनमा नलाग्ने तर वामपन्थी आन्दोलनलाई सहयोग गर्ने भन्दै बसेपनि पछि गएर तत्कालीन नेकपा मालेलाई सहयोग गर्न थाले। संगठित हुन थाले। संगठनमा सक्रिय हुनेदेखि जेलमा रहेका नेताहरुलाई सहयोग गर्ने, आएका नेतालाई खाना बनाएर खुवाउने गर्दागर्दै शोभा र प्रभा राजनीतिक कार्यकर्ताका रुपमा चिनिन थाले। यो परिवारको हाँगाबिँगा नै राजनीतिक थियो। बरालका साला रमेश पौडेल पञ्चायती राजनीतिमा सक्रिय थिए र जिल्ला पञ्चायतका उपसभापति भएका थिए। पछि माले एमालेका नेताका रुपमा युवा उमेरमै चर्चामा आएर अस्ताएका रविन्द्र अधिकारी बरालकी सालीका छोरा हुन्।

    माहिली छोरी प्रभा ०७४ को निर्वाचनमा चितवनको खैरहनी नगरपालिकाको मेयर निर्वाचित भएकी थिइन्। राजनीतिक रुपमा अहिले पनि सक्रिय छन्। जेठी छोरी शोभा पनि पार्टी र अनेमसंघको काम गरिरहेकी छिन्। छोरा विद्या भने राजनीतिक रुपमा सक्रिय रहँदा रहँदै अमेरिकातिर गएकाले अहिले संगठित छैनन्। कान्छी छोरी क्यानाडा छिन् उनी भने सक्रिय राजनीतिमा आएको थाहा भएन।

    संयोगले बरालका तीनैजना ज्वाइँहरु राजनीतिक सचेत र सक्रिय वामपन्थी छन्। जेठा ज्वाइँ भरत पहारी एमालेका नेता छन्। छोराछोरीको राजनीतिक यात्रा जहाँ पुगेको छ आफ्ना पिताले बनाएको गोरेटोमा चालेकै पाइलाले डोर्‍याएर पुगेका हुन्।

    वाममोर्चाको नेताका रुपमा

    कहिलेकहीँ राजनीतिक कामका शिलशिलामा भेटघाट भएपनि हाम्रो निकट सम्बन्ध भने २०४६ को जनआन्दोलनभन्दा केही पहिलेबाट बनेको हो। टेकनाथ बराल हरदम पञ्चायत विरोधी आन्दोलनका पक्षमा थिए र पुष्पलालको संयुक्त जनआन्दोलनको वकालत गर्थे। म माले निकट अखिलको केन्द्रीय सदस्य र पृथ्वीनारायण कलेजको स्ववियु सभापतिका रुपम खुला राजनीतिमा सक्रिय थिएँ।

    २०४६ माघमा पोखरा बाटुलेचौरस्थित सोमनाथ प्यासीको डेरामा एकसाँझ हामी जम्मा भयौं। सोमनाथ प्यासी, टेकनाथ बराल, तिलक पराजुली, त्रिलोचन ढकाल लगायतका नेताहरु थिए। पोखरामा सक्रिय मशाल र मसाल बाहेकका सबै वामपन्थी समूहका प्रतिनिधिहरु रहेको उक्त जमघटले गण्डकी वाममोर्चाको गठन गरेको थियो जसको अध्यक्षता टेकनाथ बरालले गरेका थिए। म पनि गण्डकी वाममोर्चाको सदस्य बनेको थिएँ। गण्डकी अञ्चल वाममोर्चा भने पनि समितिमा प्रतिनिधित्व चैं पोखरामा रहेर सक्रिय रहेका नेता कार्यकर्ताको धेरै थिए।

    वाममोर्चाको अध्यक्षका रुपमा नेपाली काँग्रेससँगको संयुक्त जनआन्दोलनलाई वामपन्थीहरुका तर्फबाट नेतृत्व गर्ने जिम्मेवारी बराललाई आएको थियो। यो उनीप्रति सबैले देखाएको सम्मानको विषय पनि थियो। वाममोर्चाको दोस्रो बैठक २०४६ फागुन ४ गते मालेपाटनस्थित कमरेड तिलक पराजुलीका घरमा बस्ने तयारी भएको थियो। तर त्यही दिन म क्याम्पसबाट गिरफ्तारीमा परें र जनआन्दोलन भन्दा पहिलेका बैठकमा समेल हुन सकिनँ।

    कष्टडीमा

    मसँगै स्ववियु सदस्य रविन्द्र अधिकारी तथा विष्णु शर्मा र विद्यार्थी नेताहरु बाबुराम पन्त, भीम सोमै लगायत ५२ जना एकैदिन गिरफ्तारीमा परेका थियौं। मलाई हतकडी लगएर राखियो। यो फागुन ४ गतेको कुरा थियो। भोलिपल्ट जिल्ला प्रहरी कार्यालय चलान गर्ने बेला रविन्द्र र मेरो हातमा एउटै हतकडी लगाइदिए। केही दिनसम्म त हामी त्यही हतकडी लगाएर ट्वाइलेट जानुपर्ने, खाना खानुपर्ने, एकजनालाई भेट्न बोलाउँदा दुवै उठ्नुपर्ने अवस्थामा फस्यौं। सायद फागुन ८ गते टेकनाथ बरालहरु समातिए। टेकनाथ बराल, सोमनाथ प्यासी र ख्याम नारायणहरुलाई हाम्रो अवस्था देखेर रिस उठेछ। एकदिन सबैले प्रहरीलाई हकारे। त्यसपछि हाम्रो हतकडी झिकियो। उनी कष्टडीमा पनि हामीलाई हौसला दिइरहने अभिभावक थिए। एक दुई दिनमा नै उनीहरुलाई जेल चलान गरेको थियो। हामी भने थप एक महिना कष्टडीमा बस्नुपरेको थियो जेल जानु अगाडि।

    जनआन्दोलन सफल भयो दलमाथिको प्रतिबन्ध हट्यो। जेलबाट छुटेर आएपछिका केही दिन वामपन्थीहरु र नेपाली काँग्रेसले संयुक्त आमसभाहरु गर्थे। टेकनाथ बराल वामपन्थीहरुको तर्फबाट बोल्ने गर्थे। बिस्तारै सबै दलले आफ्ना आफ्नै कार्यक्रम आयोजना गर्न थाले। वाममोर्चाको आवश्यकता घट्दै गयो। हामीले चिप्लेढुंगामा एउटा कार्यालय स्थापना गरेका थियौं।

    यता मलाई यो सक्रिय राजनीतिमा रहिरहने कुनै जाँगर थिएन र छाडेर हिँड्ने उपयुक्त समय पर्खिरहेको थिएँ। त्यस्तैमा एक दुइमहिना पछि मैले गण्डकी अञ्चल वाममोर्चा छाडेँ। म मालेको प्रतिनिधित्व गर्दै त्यहाँ गएको थिएँ। छाडेको जानकारी पार्टीलाई पनि दिएँ र छाड्नु अघि श्रीनाथ बराललाई वाममोर्चामा प्रतिनिधित्व गर्न सल्लाह दिएँ। उनले त्यसलाई निरन्तरता दिए। त्यस यता टेकनाथ बरालसँग संगठनमा नभएर समान रुचि भएका साथीका रुपमा भेटघाट भइनै रह्यो।

    अनेक भूमिकामा

    जनआन्दोलनको १ वर्ष पहिले नै पुष्पलाल समूह मनमोहनहरुसँग मिलेर नेकपा मार्क्सवादी बनिसकेको थियो। जनआन्दोलनको १० महिनापछि मार्क्सवादी समूह र माले मिलेर नेकपा एमाले बन्यो। त्यसपछि त टेकनाथ बराल कुनै पनि पार्टीमा आबद्ध नरहेर साझा व्यक्तित्व निर्माणतिर लागे। जब पार्टीहरुलाई अरुसँग संवाद गर्नुपर्छ, त्यतिबेला बरालको खोजी हुन्थ्यो। संयुक्त कार्यक्रम गर्नुपरे पनि बरालकै खोजी हुन्थ्यो। टनकपुर सन्धीविरुद्धको आन्दोलनमा त उनी अग्रमोर्चामा नै थिए। सबै वामपन्थी दलहरु टनकपुर समझदारीका विपक्षमा भएकाले सजिलो पनि भएको थियो।

    पछि महाकाली सन्धीका समयमा भने नेकपा एमाले बाहेकका कम्युनिष्ट पार्टींहरु आन्दोलनमा थिए। बरालले यो समयमा पनि आफ्नो अडान कायम राखे र अग्रमोर्चामा बसेर सन्धीका विपक्षमा भएका आन्दोलनमा सहभागी भए। यी आन्दोलनमा हामी जहिले पनि सँगै थियौं।

    त्यसबिचमा माओवादी सशस्त्र विद्रोह सुरु भयो। बरालले खुला रुपमा हैन अप्रत्यक्ष रुपमा माओवादी आन्दोलनलाई पनि सहयोग र भरथेग गरे। एउटा घटनाको सम्झना हुन्छ। २०५५ तिरको कुरा होला। माओवादीहरुले तनहुँको कालिकाटार सिचाइँ आयोजनाबाट विष्फोटक पदार्थ लुटेर लगेका थिए। खोज्ने क्रममा प्रहरीले चलाएको गोली लागेर दुईजनाको मृत्यु भएको थियो। मृतकहरुको शव गण्डकी अस्पतालमा राखिएको थियो। माओवादीहरु अगाडि आउन कठिन। अस्पतालबाट लास बुझ्ने कोही भएन। म त्यतिबेला नेकपा मालेको जिल्ला सचिव थिएँ। जिल्ला विकास समितिका सभापति पुण्य पौडेल, टेकनाथ बराल र म गयौं। हाम्रो साथ लागेर केही माओवादी नजिकका कार्यकर्ता पनि पुगे। हामीले नै प्रशासनसँग कुरा गरेर लास बुझ्यौं र रामघाटमा दाहसंस्कारको व्यवस्था मिलायौं।

    जता चाहिन्छ त्यता बराल कमरेड अर्थात् टेकनाथ बा पुगिहाल्थे। मानव अधिकार मञ्च, निर्वाचन पर्यवेक्षण समिति, नागरिक समाज कास्की आदि संस्थाका प्रमुख थिए। यस्तो लाग्थ्यो उनी सार्वजनिक जीवनका लागि जन्मेका हुन्, निजी जीवन नै छैन।

    २०५१ सालमा बनेको एमालेको अल्पमतको अल्पकालीन सरकारले बराललाई गण्डकी अस्पताल विकास समितिको अध्यक्ष बनाएको थियो। सात आठ महिनासम्म उनले नियमित अस्पताल गएर सकेसम्म सुधारका प्रयासहरु गरे। त्यस यता कुनै संस्थागत जिम्मेवारीमा पुगेनन्।

    पुष्पलाल समूह भनिने नेकपा, नेकपा माले र एमाले तथा माओवादीलाई उनले विभेद नगरिकन सहयोग गरे। आफ्नो दिए तर उनीहरुबाट लिएनन्। उनको परिवारले गरेको सहयोग कमसेकम पोखरा जेलमा दुई वर्ष बिताएका कमरेड केपी ओलीलाई थाहा हुनुपर्ने जो दुईपटक देशको प्रधानमन्त्री बनेका थिए। प्रचण्डलाई नि थाहा हुनुपर्ने किनकि जोखिमको समयमा या संकटको समयमा बराल सहयोग गर्न उपस्थित हुन्थे।

    जीवनको नयाँ मूल्यको खोजी

    उनको जीवनको अर्को महत्वपूर्ण पाटो समाजवादी संस्कृतिको निर्माणको पक्षमा गरेको वकालत र प्रयास थियो। सादा र सहज जीवन, उत्पादनमुलक श्रममा सहभागिता, सामन्तवादी र पूँजीवादी संस्कृतिबाट समाजवादी साँस्कृतिमा रुपान्तरणका पक्षमा अनवरत आवाज उठाउँथे। हरेक मानिसलाई समान देख्ने र सम्मान गर्ने, कसैप्रति विभेद नगर्ने र आफूलाई सधैं श्रमजीवि जनताका पक्षमा उभ्याउने उदात्त विचार उनको जीवन दर्शनको अङ्ग थियो।

    विभिन्न धर्म र समुदायका मानिसहरुले अपनाइ आएका सांस्कृतिक चाडपर्व, बिहे व्रतवन्ध र मृत्युसंस्कार जस्ता विषयमा कम्युनिष्टहरुले कस्तो विकल्प दिने भन्ने विषयमा उनको ठूलो चासो थियो। उनी गणतान्त्रिक व्यवस्थामा गणतन्त्रका लागि आन्दोलन गरेका नेता कार्यकर्तामा परम्परागत मूल्यसंस्कृतिप्रति रहेको मोह र विकृत पूँजीवादी संस्कृतिको फैलदो‌ं प्रभावबाट आजित देखिन्थे।

    उनी जहाँ जान्थे व्यक्ति र समाजले अँगालेका साँस्कृतिक मूल्यमा रहेका नमिल्दा पक्ष हटाउन आवाज उठाइरहन्थे। उनको एउटा प्रमुख व्यक्तित्व समाज सुधारकको थियो।

    साँस्कृतिक रुपान्तरण र समाज सुधारका लागि उनले काठमाडौंमा आएर मनमोहन अधिकारीदेखि सबै मुख्य नेताहरु सहित साहित्य संस्कृतिको क्षेत्रमा सक्रिय रहेका मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौलाहरुलाई भेटे। एउटा कार्यक्रम गरेर त्यस्तो विधि विकास गर्ने प्रयास पनि गरेका थिए। तर उनको जीवनभर यस्ता विकल्पबारे कुनै औपचारिक धारणा पार्टीहरुले बनाएनन् अब बनाउने त झन कुनै गुञ्जायस नै छैन। आफ्ना प्रयासहरुलाई दलहरु र त्यसको नेतृत्वले मूर्तरुप दिन नचाहेकोमा उनी चरम असन्तुष्ट र निराश थिए। उनको यो प्रयास बारे उहिल्यै मैले एउटा लेख लेखेको थिएँ जुन मेरो एउटा पुस्तकमा पनि समेटिएको छ।

    आफ्नो समयको एउटा विद्रोहका रुपमा बाँदरको मासु खाएका, साँस्कृतिक पर्व र परम्पराहरुलाई महत्व नदिएका, कानून नबन्दै छोरीहरुलाई अंश दिएर सकारात्मक पहल थालेका उनका कतिपय स्वभाव भने समाजसँग तालमेल नमिलेका जस्ता लाग्थे।

    सबैका तर एक्ला वामपन्थी नेता

    २०७४ को निर्वाचन पछि नेपाल एकपटक वामपन्थीमय भएको थियो। संघीय सरकार, राष्ट्रपति र उपराष्ट्रपति, प्रदेश सरकार र प्रदेश प्रमुखहरु वामपन्थी दलका नेताहरु बनेका थिए। म कुनै काम विशेषले पोखरामा हुँदा एकदिन पृथ्वीचोकमा हाम्रो भेट भयो। काठमाडौं फर्कन माइक्रो बस पर्खिरहेकोले म हतारमा थिएँ। हामी सडक छेउमा एउटा पसल अगाडिको पेटीमै थ्याच्च बसेर गफ गर्न थाल्यौं।

    उनले मतिर संकेत गर्दै वामपन्थीहरुको जगजगीका बेला सरकार र पार्टीका नेताहरुले कुनै भूमिका देलान कि भन्ने जिज्ञासा राखे। मैले भनेँ, ‘पार्टीका नेताहरुसँग मेरोे त्यति राम्रो सम्बन्ध छैन। प्रधानमन्त्री ओलीसँग त मेरो भेट नभएको पनि पन्ध्र वर्ष भइसकेको छ। त्यसमाथि म उनको आलोचक हुँ। यस्तो बेला मैले कुनै अपेक्षा राख्नुपनि अर्घेलो हुन्छ, केही मागें नै भने पनि दिने सम्भावना छैन र कसैले मलाई बोलाएर यस्तो काम गर भन्ने सम्भावना त झन कत्तिपनि छैन। बरु तपाईंलाई पो नेताहरुले सम्झनु पर्ने।’ मैले प्रश्न उतै फर्काएको थिएँ।

    उनले सम्भवत पहिलोपटक यस्ता कुनै सम्भावना भए ठिकै हुन्थ्यो भन्ने भावमा जवाफ फर्काएका थिए। समस्या के थियो भने म यस्तो केही प्रस्ताव लान र कसैसँग लविङ गर्नसक्ने हैसियतमा थिइनँ। जसलाई भन्नसक्थेँ, भनेँ। गण्डकीका नेताहरुले उनलाई कुनै भूमिका दिन आवश्यक नै नठानेका हुनसक्छन्। उनले राष्ट्रिय सभाको सदस्यको जिम्मेवारी निर्वाह गर्न पाएको भए उनको उचित सम्मान हुनेथियो।

    उनलाई न एमालेले सम्झ्यो न माओवादीले। घरमा फलेको पहिलो काँक्रो या बेलौती अथवा बिगौती पनि छोरीहरुका हात कास्की कारागारमा थुनिएका केपी ओलीदेखि अनेक राजबन्दीहरुकहाँ पठाएर सहयोग गरेका बराल सबैका लागि भए तर उनका लागि कोही पनि भएनन् अर्थात् एक्लो वामपन्थी नेता बने।

    यसमा उनको कुनै पछुतो र गुनासो पनि सुनिएन।

    यसरी हेर्दा उनको मृत्युपछि उनीप्रति एमाले र माओवादीका नेताहरुले दिएको श्रद्धाञ्जली देखावटीजस्तो लाग्छ।

    जीवनभरी उनले लोकतन्त्र, समाजवाद र सामाजिक न्याय सहित मानवअधिकारका अनेक आयामका पक्षमा गरेको योगदान देशले सम्मान दिनुपर्ने गरी उच्चतहको थियो। त्याग, समर्पण र निरन्तरताका पर्याय थिए बराल। यही ठम्याएर, राज्यले दिने मान पदवी उनले पाए हुन्थ्यो भन्ने उद्देश्यले तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लक्ष्मी कार्कीले पहल गरेकी थिइन्।

    त्यसलाई राष्ट्रपतिले सकारात्मक रुपमा लिएको भएपनि तत्कालिन देउवा सरकारले सम्मान दिन रुची देखाएन। गठबन्धनमा सामेल माओवादी र एकीकृत समाजवादीका नेताहरुले पनि यसलाई अघि बढाउन आवश्यक ठानेनन्। यद्यपि यसमा बरालको स्वीकृति के कसो हुन्थ्यो भन्ने प्रश्न भने बाँकी नै थियो। देशले दिनसक्ने सम्मानको हकबाट उनी बञ्चित हुन पुगे।

    उनी जीवित छँदै उनका जीवनका भोगाइ र अनुभव तथा जीवन दृष्टिका विषयमा कुरा गरेर अभिलेख बनाउने काम गर्न नसकेकोमा म पछुतोमा छु। आत्मालोचित छु। उनी लाखमा एक थिए। आदर्श व्यक्तित्व थिए। एकजना सन्त थिए। उनको इतिहास र भोगाइको अन्तरकथा पछिल्लो पुस्तासम्म हस्तान्तरण गर्ने अवसर गुम्यो। गण्डकीका ज्येष्ठ वामपन्थीहरुको मिलन कार्यक्रम सफल बनाउन सकियो भने यसले थप व्यक्तिका अनुभव अभिलेख गर्न छुटेकोमा पछुताउनु पर्नेछैन्।

    अन्तिम दिनहरु

    पछिल्ला केही वर्ष उनले पोखराको महतगौंडास्थित ओशो ध्यान केन्द्रमा बिताए। केही महिना पहिलेमात्र पुरानो घर भएकै ठाउँमा घर बनाएर बस्न थालेका थिए। सायद उनी नयाँ घरमा बसेर सार्वजनिक कार्यक्रममा जान पाएनन्। शरीर गल्दै गयो र रोगले च्यापेपछि यही भदौ १२ गते उनको छोराछोरीहरुकै काखमा प्राण गयो।

    वैयक्तिक जीवनमा उनका पनि कमी कमजोरी होलान्। आन्दोलन र समाजसेवामा एकोहोरो लाग्दा परिवार र समाजका अन्य सहज कर्तव्य र दायित्व निर्वाह गर्न नसकेका पनि हुनसक्छन्। वामपन्थ र समाजवादका प्रति कडा निष्ठाका बावजुद उनमा मार्क्सवादका शास्त्रीय भाष्य र विश्वको कम्युनिष्ट आन्दोलनका इतिहासबारे कम जानकारी थियो। सायद यसैले पनि अरुले जस्तो आफैंलाई छोपछाप पार्दै आदर्श छाँट्ने पाखण्ड उनले कहिल्यै प्रदर्शन गरेनन्।

    हाम्रो समयका एकजना इमान्दार, लप्पनछप्पन केही नभएका र मुख्यतः लोभ नभएका, धन सञ्चयमा नलागेका, परम्परागत मूल्यप्रति सदा विद्रोह भाव पालेका प्रगतिशिल विचारधाराका यी आदरणीय व्यक्तित्वप्रति हार्दिक श्रद्धाञ्जली! उनको घर परिवार र समाजको बृहत परिवारका सदस्यहरु सबैप्रति हार्दिक समवेदना!

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      झलक सुवेदी

      झलक सुवेदी

      सुवेदी नेपाल रिडर्सका सम्पादक हुन्।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.