“तपाईं म्यानमारको सर्वोच्च पदमा पुग्नाको मूल्य तपाईंको मौनता हो भने पक्कै पनि त्यो मूल्य अत्यन्तै चर्को हुँदैछ।“
प्रिय आङ साङ सुकी,
अहिले म बृद्ध, कुप्रो र अवकाशप्राप्त जीवन व्यतित गरिरहेकोछु, तर तपाईंको देशका अल्पसङ्ख्यक मुस्लिम जनता, रोहिङ्गाको दुर्दशा देखेर उब्जेको चरम दिग्दारीले गर्दा सार्वजनिक विषयमा मुख नखोल्ने आफ्नो प्रण तोडिरहेको छु।
मेरा हृदयमा तपाईं अति नै प्रिय बहिनीको रूपमा रहनुभएको छ। म्यानमारका जनताप्रतिको माया र प्रतिबद्धताका कारण तपाईंले गरेका त्याग र भोगेका अन्यायहरूको सम्झनास्वरूप तपाईंको फोटो मैले वर्षौंसम्म मेरो डेस्कमाथि राखेको थिएँ। तपाईं सदाचारकी प्रतीक हुनुहुन्छ। सन् २०१० हामीले तपाई घरको नजरबन्दीबाट मुक्त भएको खुशीयाली मनायौं र सन् २०१२ मा तपाई विपक्षी दलको नेता चुनिएको उत्सव पनि मनायौं।
सार्वजनिक जीवनमा तपाईंको आगमनले रोहिङ्गाहरूमाथि थोपरिएको हिंसा अन्त्य हुने आसा जगाएको थियो । तर तपाईको मुलुकमा केहीले ‘जातीय सफाया’ र केही ले ‘मन्द जन–हत्या’ भन्ने गरेका कार्यहरुले निरन्तरता पायो— र सुन्दछु हाल अझ बढीरहेको छ। रोहिङ्गाहरूले भोगिरहेका पीडाले हामीलाई दुखित र त्रसित बनाउँछ।
मानिसहरू भिन्न देखिन्छन् र भिन्दाभिन्दै पूजा अर्चना गर्दछन् भन्ने कुरा तपाईं जानकार नै हुनुहुन्छ भन्ने हामीलाई थाहा छ — र, कसैकसैसँग अरुसँग भन्दा बढी हातहतियार हुनसक्छ— तर कोही असल र कोही कमसल हुनसक्दैनन्। आवरण हटाएर हेर्ने हो भने हामी सबै एकै हौं, एकै परिवारका सदस्य हौं, त्यो हो मानव परिवार। बुद्धिस्ट र मुस्लिमहरू बिच कुनै प्राकृतिक भिन्नता छैन; र हामी यहुदी, हिन्दु, क्रिस्चीयन वा नास्तिक जे सुकौ हौऔं, हामीहरू सबै कुनै दुराग्रह नराखी प्रेम गर्न जन्मेका हौं। भेदभाव स्वतः आउदैन; त्यो सिकाइन्छ।
मेरी प्यारी बहिनी,
यदि तपाईं म्यानमारको सर्वोच्च पदमा पुग्नाको मूल्य तपाईंको मौनता हो भने पक्कै पनि त्यो मूल्य अत्यन्तै चर्को हुँदैछ। त्यो देश जो स्वयम्मा शाश्वत छैन, जसले आफ्नै देशका सबै जनताको आत्मसम्मान र महत्वलाई आत्मसात गर्न र त्यसको रक्षा गर्न सक्दैन, त्यो स्वतन्त्र देश हुनै सक्दैन।
यस्तो देशमा एउटी सदाचारकी प्रतीकले शासन गर्नु एउटा असङ्गती हो। यसले हामीलाई पिडा थपीरहेको छ।
पटाक्षेप भइरहेको त्रासका बिच हामी तपाईं फेरि साहसी र दृढ बन्नुहोस् भनी कामना गर्छौं। हामी तपाईं न्याय, मानवअधिकार र आफ्ना जनताको एकताको निम्ति बोल्नुहोस् भनी प्रार्थना गर्छौं। हामी तपाईंले बढिरहेको संकटमाथि हस्तक्षेप गर्नुहोस् र फेरि एकपल्ट आफ्ना जनतालाई सदाचारको मार्गमा डोर्याउनुहोस् भनी प्रार्थना गर्छौं ।
भगवानले तपाईंको कल्याण गरुन्।
सप्रेम
आर्कविसप इमेरिटस् डेस्मण्ड टुटु
हेर्मानस, दक्षीण अफ्रिका
भावानुवादः दामोदर उपाध्याय। साभार दी गार्जीयन ८ सेप्टेम्वर २०१७ बाट।