चुनावको तयारीको क्रममा रोल्पाको थवाङमै दशैं मनाएका माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकताको सम्भावना बढी रहेको उद्घोष गरेका छन्।
एमाले स्थाई समिति बैठकले आइतबार काठमाडौँमा माओवादी केन्द्रसँग आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको केही घण्टापछि नै माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले रोल्पाको लिवाङमा एमालेभन्दा एक कदम अघि बढेर पार्टी एकता नै हुनसक्ने बताएका हुन्।
‘एमाले र हाम्रो पार्टीको राजनीतिक लाइन अहिले नजिक छ, दुवै पार्टीले सामाजवादी क्रान्ति पूरा गर्ने कार्यदिशामा अगाडि बढ्ने निर्णय गरेका छौँ’, पुनले आइतबार लिवाङमा स्थानीय पत्रकारहरूसँग भने, ‘हाम्रो र एमालेको राजनीतिक बाटो समान भएकाले पार्टी एकता हुनसक्छ।’
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल रोल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा पुनले समाजवादी क्रान्तिको मोडालिटिबारे भने माओवादी केन्द्र र एमालेबीच छलफल हुनुपर्ने बताए।
माओवादी केन्द्रको प्रभाव क्षेत्र रोल्पाबाट आगामी चुनावमा उम्मेदवार बन्ने तयारी अन्र्तगत दशैंमा पनि चुनावी तयारीको क्रममा पुन रोल्पामै थिए। आगामी निर्वाचनमा कृष्णबहादुर महरा दाङ र आफु रोल्पाबाट उम्मेदवार हुने बताएका उनले थवाङबाट दशैंको शुभकामना दिँदै फेशबुक पेजमा लेखेका छन्, ‘यसपालीको दशैं ऐतिहासिक गाउँ थवाङमा, सबै मित्रहरुलाई विजया दशमीको हार्दिक शुभकामना।’
पुनले आगामी निर्वाचनमा तीन प्रमुख पार्टी माओवादी केन्द्र, एमाले र कांग्रेसबीच तालमेलको सम्भावना भने अस्वीकार गरे। ‘पहिलो पार्टी बन्ने क्रममा रहेकाले माओवादी एक्लै निर्वाचनमा जान योग्य छ’, पुनले आगामी चुनवामा आफ्नो पार्टीले आर्थिक विकासका एजेण्डासहित निर्वाचनमा जाने खुलाउँदै पुनले भने, ‘निर्वाचनबाट नेतृत्व पनि स्थापित हुने भएकाले अर्को पार्टीको नेतृत्वलाई काँध थापेर जान सकिने अवस्था छैन।’
थवाङबाट सदरमुकाम लिवाङ आइपुगेका पुनले थ्रेस होल्डको व्यवस्थाले गर्दा नेपालमा साना पार्टीहरूको संख्या घट्ने र आगामी निर्वाचन सकिँदासम्म पाँच–छ वटा पार्टीमात्र रहने दावी गरे।
‘नेपालमा मजदुर र पूँजीपति वर्षको समर्थनमा दुई विचार बोक्ने पार्टी मात्र रहने अवस्था आउन सक्छ’, एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको संभावनालाई जोड्दै पुनले थपे, ‘निर्वाचन प्रणालीका हिसावले केही पार्टी अस्तित्वमा रहे पनि विचारका हिसावले दुई वा तीनवटा शक्तिमात्र रहने अवस्था देखिँदैछ।’नेपालखबर